Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me
Showing posts with label प्रकृति पर्यावरण. Show all posts
Showing posts with label प्रकृति पर्यावरण. Show all posts

रामनाथ खनाल
पवित्र पाल्चोकी मन्दिर


सालघारीको उकालो, तल नागपेली पर्दै बगेको मेलम्ची खोला, माथी सेता लहरै मिलेका आकर्षक हिमालहरु यति मात्रै त्यस ठाउँको परिचय होइन । न यति नै बर्णनले त्यस क्षेत्रको महत्व उजागर पार्न सकिन्छ । यो त संरक्षण र विस्तारको पर्खाइमा रहेको सिन्धुपाल्चोक जिल्लाको महत्पूर्ण धार्मिक पर्यटकीय पवित्र स्थल जयबागेश्वरी भगवती मन्दिर (पाल्चोकी मन्दिर) हो ।

पाचौँ शताब्दी अघि देखि पुजा आजा गरिँदै आएको यस मन्दिर अझै उचित संरक्षण र सम्वद्र्धनको अभावबाट गुज्रँदै आएको छ । राजधानीबाट नजिकैको दुरीमा रहे पनि उचित प्रचार र व्यवस्थित यातायात असुविधाको कारण अनन्य सम्भावना बोकेर पनि पाल्चोकी भगवतीको मन्दिर ओझेल परेको छ ।

मेलम्ची बजारबाट डेढ घण्टा ९२० किमी० को दुरीमा रहेको सो पवित्रस्थल हाल त्यस जिल्लाका मात्र  नभई जिल्ला बाहिरबाट पनि दर्शन गर्न आउनेहरुको भीड लाग्ने गर्दछ । देवीको दर्शन गरे मनोकामना पुरा हुने जनविश्वास समेत छ । देवीको दर्शन तथा भाकल गरी पुजा गर्न आउने तथा बली चढाउन आउनेहरुको घुइँचो नै लाग्ने गर्दछ ।

एकादशी, औँशी, रामनवमी, महाशिवरात्री, साउन महिनाभरी, श्रीकृष्ण जन्माष्टमी र घटस्थापना देखि अष्टमी सम्म त्यहाँ बली चढाउन नहुने प्रचलन छ ।

पाल्चोकी मन्दिरमा बली चढाइएको


सुन्दर हिमालको काखमा, मनोरम प्राकृतिक दृष्यावरणको सामिप्तमा हजारौँ श्रद्धालु भक्तजनहरुको मनोकामना पूर्ति गरिदिने साक्षात् देवीको बासस्थल मानिएको उक्त स्थानलाई धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना हुँदाहुँदै पनि त्यस तर्फ सरोकारवालाहरुको ध्यान नपुगेको स्थानीयबासीहरुको गुनासो छ । ‘यस क्षेत्रलाई धार्मिक पर्यटकीय केन्द्र बनाउन सकिन्थ्यो, मन्दिर संरक्षण समिति अध्यक्ष तथा स्थानीय दमैसिंह तामाङले भने ‘तर राज्यले यस विषयमा उचित ध्यान पुर्याउन नसक्दा वर्षौ पुरानो देवीभूमी पनि ओझेल परेको छ ।’

 मन्दिर अगाडि रहेको घण्टा


उनका अनुसार त्यस स्थानमा पाँचौ शताव्दी पूर्व नै तत्कालिन राजाहरुले कोत र मौला पुजाको रुपमा पुजाआजा गर्दै आएको किम्वदन्तीमा पाइन्छ । बिचमा टुटेको तथा  एघारौँ र वाह्रौँ शाताव्दीमा तत्कालिन रानी धेरै विरामी परेको र तेम्वा नामको झाँक्रीलाई हेराउँदा पाल्चोकी माईको दोष देखिएकोले पुनः पुजा सुरु हुन थालेको पनि उनले बताए । त्यसपछि उक्त स्थानमा नियमित पुजाआराधना हुँदै आएको छ ।

 पवित्र पाल्चोकी भगवतीको मन्दिर प्रांगण


रानीलाई निको भए पछि राजा खुसी भइ त्यस क्षेत्रका जनताहरुले राजालाई बुझाउनु पर्ने गोलझारा (कूत) मिनाहा समेत गरिदिएको जनस्रुती पाइन्छ । यसरी आदी कालदेखि नै पुजाआजा हुँदै आएको पवित्र पाल्चोक मन्दिरको संरक्षण र विस्तार गर्न सकिए त्यस क्षेत्रको पर्यटन प्रवद्र्धनमा राम्रो सघाउ पुग्ने उनले विश्वास समेत व्यक्त गरे ।

राजधानी काठमाडौँको सन्निकट सिन्धुपाल्चोक जिल्लाको पाल्चोक गाउँमा अवस्थित विस्वास र आास्थाकी देवी पाल्चोकी भगवतीको मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकास गराउन ढिला भैसकेको छ । मेलम्ची र इन्द्रवती नदी बिच भागमा अवस्थित १७५० मि. उचाइमा रहेको सो स्थल विकासका लागि त्यती पसिना खर्चनु पर्दैन । यस तर्फ सरोकारवालाको ध्यान जाओस् । Published onhttp://nepalpati.com/news/1801/palchok-bhagawati-temple


पवित्र पाल्चोकी भगवतीको मन्दिर प्रांगण

-रामनाथ खनाल

डाँडाको दुई छेऊबाट वगेका दुईवटा नदीले फरक–फरक अनुभुती त साट्छन् नै तर एउटै मुहानबाट रसाएको पानी खाएर हुर्किएकाहरुले पनि फरक–फरक जीवन बाँचे । डाँडाको एक तिरमा जन्मिएर जङ्गल छिचोल्दै सहर पसेको पवित्र वागमती एक कोष झर्दा नझर्दै प्रदुषित बन्न पुग्यो । सहरी सभ्यतामा अभ्यस्त आधुनिक भनिएकाहरुले नदीको जीवन समाप्त पारे । कुनै जीव जीवात्माको अस्तिवको रहेन ।  बाँच्न सकेनन्  । सहरीया परिवेशले पवित्र वागमती नदीको अस्तित्व सखाप पा¥यो । सिंगो मानव सभ्यताको उपहास भयो ।

सिंगो राजधानीको दैनीक जीवनसँग जोडिएका वागमती जलाधारको बिनासका लागि सिंगै राजधानीबासी मरिमेटेर लागे । नदीसँगै जोडिएको मानव सभ्यता माथी नग्नता देखाँउदै बागमती माथिको बर्बर अत्याचार श्रृङ्खला रोकिएको छैन ।  उता पल्लो तिर भएर बगेको सिन्धु, आज पर्यन्त श्वच्छ र पवित्र छ । त्यहाँ सिन्धुले सेरोफेरोका थुप्रै फाँट सिञ्चित मात्र गरेको छैन थुप्रैको प्राण भरेको छ ।     त्राण दिएको छ  रत बगिरहेको छ जीवन बोकेर अविश्रान्त आफ्नै गतिमा ।

सिन्धु नदीमा थुप्रै पानी बग्यो, पानीसँगै जीवन पनि बग्यो । सिन्धुको आडमा उन्मुक्त फक्रिएका थुप्रै जीवनहरुमा पोषण भरियो । डाँडामा हावाले सुसेली खेल्यो । तल फाँटहरुमा धानले बयली खेल्यो । कन्दरमा बुट्यानहरु ढकमक्क फुले । फगटाहरुमा गहुँका बालाहरु झुले । सूर्योदय देखि सूर्यास्त सम्म आङ्ले निस्फिक्रि घाम ताप्यो जीवनमार्गमा जिन्दगी चली नै रह्यो ।


यता प्रदुषित वागमतीमा डुवुल्कि मार्नेहरुको जीवन फेरियो । अनुहारमा खुसीका अनेक रङ्ग पोतियो । बाँच्ने अनेक ढङ्ग देखियो तर उता सिन्धुको सुसेलीसँगै श्वास फेरेका र पहरासँग मित लगाएर उकाली ओराली गरेकाहरुको निधारबाट पसिनाको धारा टुटेन । हत्केलाका ठेलाहरुमा खाटा बसेनन् । जीवन सँधै “बत्ति मुनिको अध्याँरो झैँ” भयो । दुरदराजका मान्छेले मोटर गाडीको मुख छिट्टै देखे होला, सुविधाको स्वाद चाख्न पाए होला तर राजधानीबाट ३५ कि.मीको दुरीमा रहेको सम्मुखमा नै भएको भोटेचौर– सिन्धु उपत्यकाका मानिसहरुले मोटरको मुख देख्न बर्षौ कुनुप¥यो । एक विसौनी झरेपछी सहरको झिलिमिली देख्न पाईन्थ्यो तर त्यहाँका मानिसहरुले बर्षौं टुकीको सहारा उज्यालो खोज्नु प¥यो । के थिएन सिन्धुमा ?

साउथ अन्नपूर्ण देखि माउण्ट एभरेष्टसम्मको लामो पर्वत श्रृङ्खलाको स्वप्न सौन्दर्य देखि शिवपुरी राष्ट्रिय निकुञ्जको घना जंगलीय आवरणसँगै पवित्र गोसाईकुण्ड धार्मिक पर्यटकिय मार्ग, हेलम्बु पदमार्ग मात्र होईन प्रकृति दुष्यका अनेकन शौन्दर्यछटाहरु थिए । छन् र पनि विकासको आधुनिक युगमा पनि पिछडिनुको पर्याय बनेर बाँचिरह्यो सिन्धु उपत्यका बर्षौं देखि आज सम्म ।

सुविधा खोज्न सहर छिरेका गाउँ फिरेनन् । उन्नत पढाई खोज्दै राजधानी पसेकाहरु गाउँ फर्किएनन् । तन्नेरहरु गाउँ बसेनन् । डाँडाकाँडाहरु नाङ्गिए । बस्ति बिरानिए । पाखा, टारी र सिमहरु जङ्गलघारीमा परिणत भए । उतिवेला नै शिवपुरीको सन्निकट डाँडाको आडैमा चिया वगानको विजारोपण भएको थियो । हावापानी र पोषण पर्याप्त भए पनि मनमा जाँगर नबस्दा उतिसारो फस्टाएन । कुटो कोदालोको सहारामा खनिएका बाटो बिस्तार नभएपछी, सहरबाट सुविधा गाउँ नपसेपछी र तन्नेरहरु गाउँ नबसेपछी बिकासको बाटो कहाँ फराकिलो हुन्थ्यो र ।

नजिकै  चिसापानीबाट पर्यटकहरुको ताँती चल्दा तलको चियावगान आफ्नै लयमा सुस्ताईरहेको हुन्थ्यो । राजधानीको प्रदुषण मिसिएर शिवपुरी छोपिँदा थानाभञ्ज्याङ उन्मुक्त सुसेल्थ्यो । सिन्धुकोटले झुले भोटेचौरसँग मितेरी लाउँथ्यो । बीचवाट बगेको सिन्धु बेरपवाह सुसेली हाल्दै गीत गाउँथ्यो ।
जीवन दुःखी थियो । हुर्केकाहरु घर नबस्ने । सहरको सुख सयल गाउँ नपस्ने । नेता नएका पनि होइनन् । राजनीति गर्न कोही नगएका पनि होईनन् तर त्यहाँको माटोसँग साईनो नजोडिएकाहरुले पटक–पटक सत्ताभोग गरेर गाउँलाई नहेरेको उनीहरुको गुनासो थियो  त्यसैले त्यहाँको डाँडाहरु, लेकबेँसीहरु अलपत्र  नै रह्यो । सिन्धुको सामिप्तामा गट्टा हालेका अनाजहरुले उचित मोल पाएनन् । यता राजधानीमा पानी किनेर खानु पर्ने नजिकैको सिन्ध उपत्यकाको दुध नबिक्ने अवस्था थियो ।

बिस्तारै सिन्धुको जीवनमा उज्यालो तथा पारिलो घाम लाग्न थाल्यो । खुम्चिएको सहर फैलनु पथ्र्यो, अन्यत्र फैलने ठाउँ सकिएपछी सिन्धुतिरै ढल्कनुपर्ने सहरको बाध्यता छ । त्यसैले आजभोली ट्राउटको स्वाद चाख्न त्रिसुली धाउने भन्दा चियावगान हानिनेहरुको संख्या बढ्न थालेको छ । चियावगानको बुट्यानमा हराँउदै हिमालको दृष्यावलोकनका लागि ईलामको कन्याम पुग्नुपर्ने बाध्यता रहेन अव राजधानिबाट सवाघण्टाको यात्रा तय गरे पुग्छ । नगरकोबाट नदेखिने हिमश्रृङ्खलाहरुको मनोरम दृष्य नजिकैबाट नियाल्न कसको मन हुँदैन त्यो सवै पुरा हुने भए पछि कसको मन अडिएला र ।

सुविधामा पछाडी रहेका सिन्धु उपत्यकाको रुप फेरीन समय लागेन । बाह्य पर्यटकको केन्द्र त बनेकै थियो हाल आन्तरिक पर्यटकको पनि उपयुक्त गन्तव्य केन्द्र बन्न थालेको छ भोटेचौर –सिन्धु उपत्यका । शनिवार मात्र होईन अरु दिनहरुमा पनि शौन्दर्य अवलोकनका लागि जानेहरुको ताँती लाग्ने गर्दछ ।  पारी हिमाल हाँसेको, वारी शिवपुरीले भरिया माथि सारेर घाम तापेको तल लमतन्न बगेको सिन्धुको मनोरम प्राकृतिक वातावरण नियाल्न तथा शिवपुरीको काखैमा फैँलदै गएको चियावगान र ठाडे खोलाको ढँड्यानमा हुर्किएको ताजा ट्राउट माछाको स्वाद चाख्न, चिसापानी –हेलम्वु पदयात्रा तथा चिसापानी –गोसाईकुण्ड धार्मिक पर्यटकीय पदयात्रा ले गर्दा यो क्षेत्रको विकासको सम्भावना झनै फराकिलो बन्दै गएको छ । एतिहासिक थाना भञ्ज्याङ  (पृथ्वीनारायण शाहले नुवाकोट आक्रमण गरेको स्थल) बहु प्रतिक्षित मेलम्ची खानेपानी परियोजना एवम् भोटेचौर, काउलेदोभान, बाहुनेपाटी मेलम्ची हुदैँ तिम्वु हेलम्बुसम्मको पर्यटकीय गन्तव्यको अथाह सम्भावनाले थप विकासको बाटोमा डोहो¥याउँदैछ सिन्धु उपत्यकालाई ।

राजधानीबाट उत्तरपूर्वी क्षेत्र जोरपाटी, साँखु जहरसिंहपौवा, झुले हुँदै भोटेचौर निुवुगाउँसम्म पक्कि सडक र निवुगाउँबाट कच्चि सडकबाटो मार्फत पुग्न सकिने चियाबगान त्यस क्षेत्रको मुख्य आकर्षण बन्न थालेको छ । साथै बढ्दो सहरीकरण र भिडभाडबाट मन बहलाउन तथा प्राकृतिक वातावरणको साथमा मनोरम दृष्य नियाल्नका लागि तथा मणीचुड, झुले, शिवपुरी चिसापानी हाईकिङका लागि पनि चर्चित बन्दै छ भोटेचौर सिन्धु उपत्यका ।

बहुप्रतिक्षित मेलम्चीको चिसो पानीको प्यास मेटाउन भयातुर राजधानीबासीलाई मेलम्ची, ईन्द्रावतीको तिरमा पु¥याएर भिर कन्दराका मिठा मिठा परिकारको स्वाद चखाउँदै प्राकृतिक वातावरणमा हराउन गणेश हिमाल सम्मुखमा उभिएको लाङ्टाङको पगरी गुथेर जुगलसँगै रमाएको भोटेचौर– सिन्धु उपत्यका पर्खिरहेको छ ।
विभिन्न अनलाईनहरुमा प्रकाशीत