Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

आजको सन्दर्भमा प्राविधिक शिक्षा



By  Unknown     1:27 AM    Labels: 

 –रामनाथ खनाल



हिजो नेपाली समाजमा शिक्षामा चल्तीको कथन थियो, ‘छोरा बिग्रे कमर्श, छोरी बिग्रे नर्श’ व्यवसायीकताका विकास नभइसकेको र स्वास्थ्य क्षेत्रमा फड्को मार्न चिकित्सकीय क्षेत्रमा पनि उल्लेख्य प्रगती हुन नसकेको तत्कालिन समयमा कमर्श पढेका छोराहरु बेरोजगार हुनुपर्ने अवस्था थियो भने नर्श अर्थात परिचारिका पढेका र त्यो सम्बन्धि दक्षता हासिल गरेका छोरीहरु पनि बेरोजगारै बस्नु पर्ने थियो ।  त्यसै अवस्थाको कारणबाट पनि जनमानसमा त्यो धारणा बनेको हुनुपर्दछ । उतिबेला मानविकी र शिक्षा शास्त्र पढेकाहरुले हातहातै जागिर पाउने र कमर्श पढेकाहरु तत्कालै व्यापार व्यवसायमा फर्किहाल्ने अवस्था थिएन । तर आज परिस्थितिमा व्यापक फेरवदल आएको छ, मानविकी र शिक्षा शास्त्र पढेकाहरु र हिजोकै व्यवस्थापन विषय पढेकाहरु आज वेरोजगारको पंक्तिमा लामबद्ध बन्न पुगेका छन् । 

बर्तमान सन्दर्भमा मानविकी, शिक्षा शास्त्र र व्यवस्थापनका पुराना र संशोधन भएका पाठ्यवस्तुहरुले पनि विद्यार्थीलाई उत्पादनशील बनाउन सकेको छैन । यो शिक्षा ग्रहण गरेका विद्यार्थीहरु आज दराजमा सर्टिफिकेट थन्क्याएर खाडिमा तथा मरुभूमिको चर्को घाममा पसिना बगाउन बाध्य भएका छन् । न उनीहरुमा सिर्जनशीलता विकास भएको छ, न उनीहरु उत्पादनशील नै भएका छन् त्यसकारण विद्यार्थीहरु क्रमश, प्राविधिक तथा व्यवसायीक शिक्षा तर्फ आकर्षित हुन थालेका छन् । 

समय क्रमसँगै  हिजो आज नेपालमा प्राबिधिक शिक्षा तथा ब्यावसायिक तालिमको महत्व पनि बढ्न थालेको छ । प्राबिधिक शिक्षाले विद्यार्थीको क्षमता अभिबृद्धि मात्र गरेको छैन यसले रोजगारीको अवसरहरु समेत सिर्जना गरिदिएको छ ।  साथै सीप सिकेका मानिसहरुलाई सिर्जनशील बन्न समेत उत्तिकै मद्दत पु¥याइरहेको छ । 
यसकारण आज प्राविधिक शिक्षा दिनका लागि निकै शिक्षालयहरुको पनि स्थापन भैसकेको छ ।   यिनीहरुले पनि यसको उपादेयता मात्र बढाएका छैनन्, देश, काल र परिस्थिति अनुरुप र विद्यार्थीको सर्वपक्षीय विकासका लागि महत्वपूर्ण भूमिका पनि निर्वाह गरिरहेका छन् । 

मुलुकमा बढ्दो बेरोजगारीका कारण विद्यार्थीहरुकोे आकर्षण पनि प्राबिधिक तथा ब्यावसायिक शिक्षा तर्फ नै बढेको छ । शिक्षामा लगानी गर्न सक्ने सामथ्र्य भएका मध्यम बर्गीय परिवारका विद्यार्थीहरुको आकर्षण प्राबिधिक शिक्षा तर्फ बढीरहँदा राज्यले प्राविधिक शिक्षाको लागि अझै एकीकृत योजना तर्जुमा गर्न सकेको छैन । 
प्राविधिक शिक्षाको बढ्दो मागलाई दृष्टिगत गरि ठूल्ठूला प्राविधिक शिक्षालयको स्थापन गर्ने तर्फ राज्यले योजना बनाउनु पर्दछ । स्वभाविक हिसावले शिक्षा विकासको पहिलो खुड्किलो समेत भएकाले यसको समयसापेक्ष विकासविना राज्यको सर्वाङ्गिण विकास असम्भव छ । आजका उत्पादनशील जनशक्तिहरु श्रमबजारमा प्रवेश गर्न नसक्दा उनीहरु दैनिक १४ सयको संख्यामा मुलुक छोडेर रोजगारको खोजीमा अन्यत्र भौँतारिन विवस छन् । श्रम लगानी गर्न सक्ने १८–३५ बर्ष युवा समूहलाई विदेशमा लखेटेर तिनीहरुले पठाएको विप्रेषणको भरमा मात्र नेपालको कायाकल्प हुन सक्तैन । 

उनीहरुको श्रम, दक्षता र सीपलाई स्वदेशमै उपयोग गर्न नसक्ने हो भने मुलुकको विकास पनि असम्भव छ । त्यसकारण मुलुकमा उत्पादनशील जनशक्ति निर्माण गर्ने हो भने प्राविधिक शिक्षामा राज्य आफैँले लगानी गर्ने र ठूला प्राविधिक शिक्षालय स्थापना गर्ने  तथा शिकाईमा विविधिकरण गर्न ढिला भैसकेको छ । 

सिकेको सीपलाई ब्यावहारिक ज्ञानको रुपमा जीवनपर्यन्त आफ्नो पेशा र रोजगारीको सिलसिलामा प्रयोग गर्न तथा प्राबिधिक र ब्यावसायिक शिक्षाको माध्यमबाट मुलुकममा सम्भावनाको ढोका खोल्नका लागि हामी ढिला भैसकेका छौँ । 

प्राबिधिक शिक्षाको व्यापकतालाई अझ बृद्धि गरी प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजानुपर्ने आवश्यकता झनै टड्कारो हुन थालेको छ । दैनिक सरदर १५ सयदेखि २ हजारको हारहारीमा वैदेशिक रोजगारीको निम्ति मुलुकबाट बाहिरिने युवा जनशक्तिलाई मध्यनजर गर्दा पनि त्यो झन् जरुरी देखिन्छ । खासगरी खाडीका देशहरुमा जाने युवाहरु प्राविधिक ज्ञानको अभावमा निम्नस्तरीय र जोखिमयुक्त काम गर्न बाध्य छन् । जोसँग प्राविधिक सीप छ उनीहरु खाडीमा मात्र होइन पश्चिमा देशहरुमा समेत सहज कामको अवसर पाएको र राम्रो आम्दानी गर्ने गरेको पाइन्छ । तर खाडीमा जाने युवाहरु त्यहाँ पनि राम्रो काम पाउन नसकेर अत्यन्त जोखिम युक्त काम गर्न बाध्य छन् । त्यसैका कारण दैनिक सरदर ५–७ जनाको मृत शरिर नेपाल आइरहेको छ । यो डरलाग्दो दृष्यले पनि हामीलाई प्राविधिक शिक्षाको अपरिहार्यताको संकेत गरिरहेको छ । 

त्यसकारण प्राविधिक विश्वविद्यालयको स्थापना गर्ने र ७५ वटै जिल्लामा प्राबिधिक शिक्षा केन्द्रको विकास गर्नु पर्दछ । प्राबिधिक र ब्यावसायिक सिप लिएका युवाहरुले आफै रोजगारी सिर्जना गर्न सक्ने, अन्य रोजगारदाताकोमा काम गर्दा पनि राम्रो बेतन/तलव पाउने, सिर्जनशील र मिहीनेती हुने भएकाले पनि यो शिक्षाको महत्व आफैँमा बृहत छ । 

यो आवश्यकता सँगै आज प्राविधिक शिक्षा अत्यन्त महंगो हुँदै गएको छ । अव्यवस्थित हिसावले खुलेका प्राविधिक शिक्षालय आज सर्वसाधारणका लागि ‘आकाशको फल आँखा तरी मर’ भने जस्तै भएको छ । शिक्षामा फस्टाएको उदार पुँजीवादीकरणको नराम्रो प्रभाव प्राविधिक शिक्षामा झनै देखा परेको छ । शिक्षा नागरिकहरुका लागि महंगो बाध्यता बन्दै गइरहेको बर्तमान अवस्थामा प्राविधिक शिक्षा त झन् कमाइखाने भाँडो र अनियमितताको अखडा बन्न थालेका छन् र सर्वसाधारणका लागि पस्नै गाह्रो भैरहेको छ । यसलाई बेलैमा  नियन्त्रण र प्रभावकारी कानूनको माध्ययमबाट नियमन गर्न नसक्ने हो भने यो उपयोगी होइन प्रत्युत्पादक बन्न सक्छ । 

त्यसकारण यो क्षेत्रमा पनि सरकारको नियन्त्रण तथा सशक्त उपस्थिति अनिवार्य भैसकेको छ । नेपालको परिप्रेक्षमा निम्नवर्ग, मध्यमवर्ग  मात्र नभई  सबै वर्गका लागी प्राबिधिक तालिम प्राप्त गर्ने अवसर प्रदान गर्नेतर्फ सरोकारवाला निकाय सबैको ध्यान पुग्न जरुरी छ । माध्यामिक, प्रवेशिक अनुत्तिर्ण तथा प्रवेशिका उत्तीर्ण गरेपछि आर्थिक स्थिति कमजोर भएका युवाहरुको प्राबिधिक र ब्यावसायिक शिक्षा प्रति आकर्षण बढ्दो छ । त्यसैले प्राबिधिक र ब्यावसायिक शिक्षाको विकासका लागि रणनीतिक योजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने देखिन्छ । प्राबिधिक शिक्षामा सबै वर्ग र भुगोलका मानिसको पहुँच पुर्याउन सक्नु अहिलेको टडकारो खाँचो हो । विशेष गरी यसमा ग्रामिण क्षेत्रका बासिन्दाको पहुँच पुर्याउन सके ग्रामिण विकासमा समेत ठुलो भुमिका खेल्न सक्ने देखिन्छ । मानिसहरु आफ्नै क्षेत्रमा सिर्जनशील काममा क्रियाशील हुने हुँदा त्यसले पक्कै पनि त्यो क्षेत्रको सामाजिक, आर्थिक र भौगोलिक विकासमा टेवा दिन्छ । स्वरोजगारीको अवसर सृजना हुने देखि ग्रामिण पर्यटन विकासलाई समेत यसले होस्टेमा हैँसे गर्न सक्छ । त्यसैले शैक्षिक रुपमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर वर्गका निम्ति प्राबिधिक शिक्षामा सहज पहुँचका लागी यसको महत्व एव उपयोगिता बारे ब्यापक रुपमा सचेतना कार्यक्रम सञ्चालन गर्न जरुरी देखिन्छ । त्यसको निम्ति ग्रामिण क्षेत्रका मानिसहरुमा समेत महत्वको बोध गराउनु पर्ने देखिन्छ । 

पछिल्लो समय नेपालमा एशियाली विकास बैकले रोजगारीका लागी सीप परियोजना मार्फत कुल ६०,२९२ (५३.५ प्रतिशत महिला, २५ प्रतिशत दलित) बेरोजगार, विपन्न, महिला, दलित र सुविधावाट वञ्चित वर्गहरुलाई सीपमुलक तालीम प्रदान गरेकोमा ७८ प्रतिशतले सीप परीक्षण परीक्षा उत्तीर्ण गरेका थिए भने उत्तीर्ण मध्ये ६० प्रतिशत भन्दा बढीले स्वरोजगार एवम् रोजगार भएका छन् । 

त्यसकारण यसका लागि सरकारले दातृ निकायको मुख ताक्ने मात्र भन्दा पनि प्राविधिक शिक्षालयको स्थापना गरेर युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउनु पर्ने आवश्यक छ । 

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment