Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me
Showing posts with label विविध आलेख. Show all posts
Showing posts with label विविध आलेख. Show all posts


 अक्षर काका

भोकाएको सिंहको आवश्यकता आहार हो, मिष्ठान्न परिकार होइन । शायद यही सत्यलाई बुझेकैले होला, परिवारका रंगीचंगी सपना पूरा गर्न बेलायत पठाइएका कुल पोखरेल पढाइ बीचमै अलपत्र छाडेर स्वदेश फर्किए र संगीत साधनामा मरिमेटे । लन्डनको फराकिलो बाटोभन्दा उनलाई आफ्नै माटो प्रिय लाग्यो । यहाँको माटोमा उनले त्यो उर्वरता देखेका थिए, जहाँ उनले फुलाउन चाहे संगीतका सुगन्धित फूलहरू । र, त नेपाली सांगीतिक वाटिकामा उनले रोपेका फूलबाट संगीतप्रेमीहरू आजपर्यन्त आस्वादित हुन पाएका छन् ।

०३८ असोज ५ गते नवलपरासीको सुनवलमा जन्मिएका हुन् कुल । उनका बाबु अर्जुन पोखरेलका दुई परिवार थिए । उनी जेठीपट्टिका छोरा हुन् । कुलसँग धेरै समय बिताएका निर्भयबाबु प्रसाईंका अनुसार उनका बाबु  बुटवलका प्रतिष्ठित व्यापारी थिए । उनी लुम्बिनी चिनी उद्योगमा उखुको ठेक्कापट्टा गर्थे । त्यसैले होला, बाबुले कुल पनि व्यापार व्यवसाय नै गरोस् भन्ने ठान्थे ।

नेपाली पप गायनमा बेग्लै स्वाद पस्किएर संगीतानुरागी आम युवालाई आकर्षित तुल्याउन सफल प्रिय गायक कुल आज हामीमाझ छैनन् । उनको भौतिक चोला अस्ताएको १२ वर्ष बितिसकेको छ । तर पनि उनका गीत हाम्रो मन मस्तिष्कमा गुञ्जिइरहेका छन् र अमिट छाप बनेर रहेका छन् । विस्मृतिको चाङमा थन्किइसकेका तिनै गायकको सांगीतिक जीवनका केही पाटाहरू यहाँ प्रकाशमा ल्याउने प्रयत्न गरिएको छ :

० ० ०

यसपालि दसैँमा ठुल्दाइ आउने रे
बाबालाई रेडियो, आमालाई सारी, भाइलाई घडी
अनि मलाई जिनको पाइन्ट ल्याउने रे !

यी शब्द कुनै पनि कोणबाट ‘चलनचल्तीका गीत’ लाग्दैनन् । अनुप्रास नमिलेका, स्वर र लयमा ढाल्न नसकिने विशुद्ध गद्य रचनाजस्तो देखिने गीति हरफ दिवंगत गायक कुल पोखरेलको चर्चित गीत हो । र, प्रत्येक वर्षको दसैँले हामीलाई उनको सम्झना गाढा गराइदिन्छ । जब यो गीत गुञ्जन थाल्छ, तब हामीलाई लाग्छ– उनी यहीँ कतै छन् र यस्तै गीत गुनगुनाइरहेका छन् ।

शरदसँग यो गीतको कहिल्यै नमेटिने साइनो बनिसकेको छ । परदेशिएका प्रियजनहरू दसैँमा एकथान भए पनि खुसी लिएर आउलान् भनेर आँखा बिछ्याउने आफन्त र ठूलो दाइ आउने पर्खाइमा रहेका हजारौं भाइहरूको मात्र होइन, आमनेपालीकै साझा गीत हो यो ।

त्यही शरदले एउटा गायकलाई जन्म दियो र त्यही शरदले माझबाट फुत्त खोसेर लिएर पनि गयो । शरदले कुललाई जन्मायो, कुलले दसैँ गीत जन्माए । र त शरद, दसैँ र कुलबीच अनौठो नाता गाँसिएको छ ।

कुल त्यस्ता कलाकार हुन्, जसलाई आधुनिक पप गायकमात्रै भनियो भने अपूरो हुन्छ । उनीमाथि अन्याय पनि हुन्छ । यसकारण कि उनी आफैँ गीत रचना गर्थे, संगीत भर्थे र सुमधुर आवाजमा सजाउँथे । त्यसैले उनी नेपाली पप संगीतका ‘माइलस्टोन’ हुन् ।

यो सर्वस्वीकार्य तथ्य हो कि नेपाली पप संगीत आज जुन सुर, लय र तालमा छ, त्यो बाटो १२ वर्षअगाडि कुल पोखरेलले कोरिसकेका थिए । यसर्थ पनि उनी नेपाली आधुनिक पप संगीतका स्वप्नद्रष्टा थिए फन्दा फरक पर्दैन ।

लोक गायक झलकमान गन्दर्भ उनका आदर्श पुरूष थिए । उनका समकालीनहरू भन्छन्, “कुल प्रायः झलकमानका लोकभाकाहरू सुनिराखेका हुन्थे, कति त गुनगुनाउँथे पनि ।”
भुइँका शब्द टिपेर लयमा सजाउन झलकमानकै सिको गरेका हुन् उनले । फरक यत्ति हो– झलकमानले सारंगी रेटे, कुलले गितार भेटे । झलकमान लोक लयमा आजीवन भिडे, कुल सुरुवातमै पप गायनको बाटो हिँडे ।

हिँड्दाहिँड्दै शब्द बटुल्न र तिनैमा संगीत भरेर मन्त्रमुग्ध पार्न अब्बल थिए कुल । यति हुँदाहुँदै पनि उनी व्यावसायिक ‘रेस’मा थिएनन् । उनलाई गीत–संगीतमा लागेर ‘उन्नति’ गर्नु थिएन । नाम र दाम कमाउने मोह पनि उनमा थिएन । पप गायन उनको ‘प्यासन’ थियो र जति बाँचे, त्यसैमा दत्तचित्त भए ।

साधारण बोलीचालीका शब्दलाई पनि संगीतको आकारमा ढाल्न सक्नु कुलको सबैभन्दा ठूलो विशेषता थियो । सन् १९९९ देखि सन् २००४ सम्म नेपाली सांगीत आकाशमा उज्ज्वल नक्षत्रका रूपमा देखा परेका कुलले पप गायनमा बेग्लै छाप छाडेका छन् । र, उनको त्यो मिठास नेपाली पपसंगीत पारखीले अहिलेसम्म अरुबाट पाउनै सकेनन् । कुल जसरी सामान्य ‘इन्स्ट्रुमेन्टमा’ पनि जीवन्त प्रस्तुति दिन सक्ने, त्यसरी भावमा डुबेर गाउन सक्ने पप गायक नेपाली सांगीतिक उद्योगमा छैनन् नै भन्छन् उनका समकालीनहरू ।

प्रहरी महाविद्यालयबाट निष्कासित भएका हुन् कुल
उनको पारिवारिक आर्थिक हैसियत उच्च थियो । त्यसैले उनलाई बाबुले दीपेन्द्र प्रहरी आवासीय महाविद्यालयमा भर्ना गरिदिए । उनी त्यहाँ उच्च शिक्षा अध्ययन गर्दै थिए । तर, प्रहरी अधिकारीको छोरासँग झगडा पर्यो । निर्भय भन्छन्, “ती अधिकारीको छोरो पनि कुललाई दबाउन खोज्थ्यो, युवा जोसको ऊ पनि के कम थियो र ! हात हालाहालकै अवस्था भएपछि कुल त्यहाँबाट निष्कासित भए ।”

प्रहरी विद्यालयबाट निष्कासित भएपछि पितालाई निकै ठूलो चोट पर्यो र उनले कुललाई बिजनेस स्टडिज पढ्न लन्डन पठाए । तर, कुलले त्यहाँ पनि परिवारको इच्छा लत्याए ।
गायक सुगम पोखरेल भन्छन्, “बिजनेस स्टडिज पढ्न लन्डन पुगेका कुल त्यहाँ झलकमान गन्धर्वको गीत सुनेर बस्थे । गीतप्रतिको मोहकै कारण उनले लन्डनमा संगीत नै पढे । र, नेपाल फर्किएर गीतसंगीतको साधनामा लागे ।”

नेपाल फर्किएको छोटो समयमै बेग्लै सिर्जना र पृथक बाटो बनाएर तमाम युवा पुस्ताको मुटुको स्पन्दन बने कुल । भर्खर रक पपको स्वादमा डुब्न थालेका संगीतपारखी युवालाई सर्लक्कै आफूतिर ताने र उनीहरूकै संयुक्त आवाज बनिदिए । कलेजका क्यान्टिन, गाडीमा उनकै गीत गुञ्जन थाले । एकान्तमा युवाहरू उनकै गीत गुनगुनाउन थाले ।

सरल शब्द र सरस भावमा डुबेर गाउने र बेग्लै ‘फिल’ दिनसक्ने खुबीका कारण तमाम तन्नेरीको प्रिय गायक बन्न कुलले धेरै समय पर्खनै परेन ।

सन् १९९९ मा कुलले ‘सुन् मेरी मायालु’ गीत रेकर्डिङ गराएका थिए । त्यो नै उनको पहिलो ‘रेकर्डेड’ गीत हो । त्यसपछि उनले सन् २००० मा ‘आमा’ भन्ने एल्बम ल्याए । त्यो उनको पहिलो एल्बम थियो । त्यस्तै २००२ मा ‘हुन्न र’ भन्ने दोस्रो एल्बम निकाले । २००४ मा तेस्रो एल्बमको तयारी गर्दै थिए, उनी नियतिको निर्मम सिकार बन्न पुगे ।

संगीतको चार वर्षे दौरानमा उनले दर्जन जति गीत गाएका छन्, ती सबैले चर्चा कमाएका छन् । ‘सुन् मेरी मायालु’, ‘बोलाउँदा खेरी बोल्दिनौ’, ‘स्कुल’, ‘मृत्युको क्षण’, ‘नेपाली जीवन’, ‘म त तिमीलाई नै’, ‘किन उदास बसेकी ?’, ‘एकछिन बरालिँदा’, ‘हुन्न र’, ‘यसपालि दसैँमा’, ‘कुखुरी कहाँको’, ‘साथ हुँदा शान्त हुन्छ’ आदि गीत पारखीहरू अहिले पनि उत्तिकै सुन्छन् ।

कुल होइन, अभिमन्यु
पुतलीसडकमा जेम्स प्रधानको स्टुडियो थियो । सन् २००० तिर रेकर्डिङको सिलसिलामा कुल त्यहाँ पुगे । भर्खरको युवा जोससहित आएको देखेर जेम्सलाई सुरुमै लाग्यो– यसले गीत–संगीतमा पक्कै केही नयाँ गर्छ ।

कुलले त्यतिखेर एउटा कलेक्सन एल्बमको तयारी गरिरहेका थिए । अरुभन्दा पृथक आवाज र बेग्लै ‘कम्पोजिसन’को गीत पाएपछि जेम्सले त्यसलाई ‘गेटटुगेदर’ एल्बममा समावेश गरिदिए । कुलको सांगीतिक करिअर त्यहीँबाट प्रारम्भ भयो । एल्बम रिलिज हुनेबित्तिकै गीतले राम्रै बजार पायो र कुल त्यसबाट उत्साहित पनि देखिए । त्यसपछि उनले केही समयको अन्तरालमा दुइटा एल्बम निकाले । ती सबैमा जेम्सले उनलाई राम्रै सघाए ।

जेम्स भन्छन्, “सामान्य शब्दलाई पनि मेलोडियस बनाउने र अरुभन्दा बेग्लै तरिकाले गाउन सक्ने क्षमता देखेर नै मैले उसको एल्बममा काम गरेको हुँ । त्यस्तो कलाको संरक्षण र प्रवद्र्धन गर्नु मेरो कर्तव्य थियो, त्यसमा कुनै कसर बाँकी राखिनँ ।”

त्यसो त कुल जेम्सकै घरमा बसेका हुन् । उनी सम्झन्छन्, “त्यस्तै दुई वर्ष उनी सोल्टीमोडस्थित मेरो घरमा बहाल तिरेर बसेका हुन् । संगीत साधना पनि गर्न मिल्ने हुनाले उनलाई मैले नै त्यहाँ बस्न भनेको थिएँ ।”

जेम्सका अनुसार कुल नेपाली सांगीतिक क्षेत्रले पाएको बहुआयामिक प्रतिभा हुन् । समकालीन गायकहरूसँग उनको तुलनै हुन सक्दैनथ्यो । सिर्जना र भावमा लीन भएर प्रस्तुति दिन सक्ने खुबीलाई कसैले माथ खुवाउन सक्दैनथ्यो । कुलसँगका हरेक क्षण मनमा सजाएर राखिरहेका जेम्स उनको नाम सुनेपछि एक्कासि भावुक हुन्छन् ।

एकदिन कुरैकुरामा सन्दर्भ निस्कियो– कुल पोखरेलको नामै कुल पोखरेल हो त ? जेम्सलाई नामले उत्सुक बनायाो । हुन पनि उनी नामजस्तै ‘कुल’ थिए । बिन्दास पाराका थिए । उनलाई कोही कसैसँग मतलबै हुँदैनथ्यो ।

कुलले जवाफ फर्काएछन्, “कहाँ हुनु नि जेम्स दाइ, मेरो नाम त अभिमन्युप्रसाद पोखरेल हो । तर मैले कुल बनाइदिएँ ।”
यति भनेर उनी हाँसे ।

उनको न्वारानको नाम कुलप्रसाद पोखरेल हो । अंग्रेजी वर्णमालाको  KUL उच्चारण हुने नामलाई उनले COOL बनाएका थिए भन्छन् जेम्स ।

‘वान टेक सिंगर’
त्यसबेला कुललाई प्रायःजसोले ‘वान टेक सिंगर’ भन्थे । उनी स्टुडियोमा प्रवेश गर्नेबित्तिकै त्यहाँ बस्नेहरू भन्थे, “ऊ वान टेक सिंगर आयो ।”

यसकारण कि उनले गाएपछि दोहोर्याएर रेकर्ड गर्दैनथे । जे गाइयो, त्यो ठीक गाइयो भन्ने ‘मुडी’ स्वभावका थिए उनी । साथीहरूको माझमा मिलनसार र सहृदयी भए पनि गीत–संगीतको मामिलामा उनी कसैले भनेको खाँदैनथे । उनको आफ्नै हठ थियो ।

जेम्सकै स्टुडियोमा रेकर्डिस्टको काम गर्थे मोहित मुनाल । कुलका प्रायः गीत मुनालले नै रेकर्ड गरेका हुन् । गाउँदागाउँदै गीत, सुर र तालबाट चिप्लिएपछि मुनाल सम्झाउँथे, “कुल, त्यहाँनेर अलिकति मिलेन, यसलाई दोहोर्याएर गाऊ ।”

उनको जवाफ हुन्थ्यो, “पर्दैन दोहोर्याउन, त्यहाँनेर मैले अलि फिल दिएको हुँ, स्रोतालाई त्यही अनुभूति हुन्छ ।”

उनी गीत–संगीतमा सिंगारपटार गर्न आवश्यक छैन भन्थे । हृदयबाट निस्किएको आवाज नै संगीतको श्वर हो भन्न रुचाउने गायक कुल गीतलाई भावनाको प्रतिध्वनि मान्थे । कृत्रिम होइन, प्राकृतिक लयलाई संगीतको आत्मा ठान्थे । मुनाल अगाडि थप्छन्, “उनका हरेक गीत सुनियो भने त्यही पाइन्छ र अरू गायकभन्दा निकै फरक भेटिन्छ ।”

पानी पर्यो, त्यसैको गीत बनाइदिए
काठमाडौंमा एम–थ्री (मुभिज, मःम र म्युजिक) कन्सर्ट आयोजना भएको थियो । त्यहाँ कुल पनि थिए । उनको अर्को अचम्मको बानी थियो– उनी ट्र्याकमा गीत गाउन सक्दैनथे । बायाँ हातले गितार बजाउन खप्पिस उनी अरु कसैको गीत गाउन पनि सक्दैनथे । त्यसैले त्यहाँ समस्या निम्तियो । साथीहरूको मनमा ढ्यांग्रो बज्यो । एकछिनपछि कुल एक्लै गितार बोकेर मञ्चमा उक्लिए । सिमसिम पानी परिरहेको थियो, उनैले त्यस्तै गीत गाइदिए । माहोल संगीतमा झुमिहाल्यो ।

“ऊ त्यस्तो प्रतिभा हो,” र्यापर गिरीश खतिवडा भन्छन्, “जस्तोसुकै सिच्वेसनलाई पनि म्युजिकमा ढाल्न सक्ने खुबी उसमा थियो । कुल नेपाली म्युजिक इन्ड्रस्टिजका अद्वितीय प्रतिभा हो । उसको असामयिक निधनले हामीले असल साथीमात्र गुमाएनौँ, देशले एउटा होनहार प्रतिभा गुमायो ।”

गिरीशसँग कुलको भेट अनिल स्थापितसँगै म्युजिक डटकममा भएको हो । उनी त्यतिबेला ‘हुन्न र’ को कभर डिजाइनका लागि आएका रहेछन् । उनका अधिकांश गीत म्युजिक डटकममार्फतै बाहिर आएका छन् ।

भर्खर बेलायतबाट आएको फ्रेस र संगीतमा केही गरौँ भन्ने भावना पाउँदा गिरीशलगायत अरु गायक÷संगीतकार प्रभावित थिए । गिरीशसँग छोटै समयमा उनको हिमचिम बढ्यो । सँगै कोठामा बस्ने, हाँसो ठट्टा गर्ने र संगीतमा डुब्ने उनीहरूको दिनचर्या हुन थाल्यो । एडरे, सुदिन पोखरेल, सुगम पोखरेल, आसिफ साह, गिरीशसम्मिलत ‘द युनिटी’ ब्यान्ड थियो । कुल पनि त्यसैको अभिन्न अंग बनिसकेका थिए ।

जानु छ मलाई, जान्छु नि है
जानु छ मलाई, जान्छु नि है
फर्केर फेरि आउँदिन है
यी हरफ कुलले नै लेखे, आफैं गाए । समयको खेल पनि त्यस्तै भइदियो– कसैलाई थाहै नदिई गए ।

सुदिन भन्छन्, “बिदामा गएका छन् कुल पोखरेल । यस्तो बिन्दास मान्छे यति चाँडै कसरी मर्न सक्छ ?”

यस्तै भनाइ छ गायक सुगम पोखरेलको पनि । सुगमसँग उनको भेट रेडियो सगरमाथामा भएको हो । सुगम त्यतिबेलाका चर्चित आरजे थिए । कुल ‘आमा’ भन्ने एल्बम प्रमोसनका लागि रेडियो सगरमाथा पुगेका रहेछन् । सुगम भन्छन्, “कुल जेन्युन आर्टिस्ट हो । थुप्रै रमाइला पल हामीले सँगै बिताएका छौँ । उनीसँगका पलहरू ‘द युनिटी’ले बिर्सनै सकेन । बिर्सूं भन्दा पनि मन मस्तिष्कमा अझ गाढा भएर आउँथे कुल । त्यसैले ‘द युनिटी’ले उनकै सम्झना ‘ट्रिब्युट’ निकाल्यो ।”

उनको अप्रत्याशित निधनबाट निकै मर्माहत बनेका आसिफका शब्दमा ‘ट्रिब्युट’ कुलप्रतिको श्रद्धाञ्जली हो ! यो गीतको संयोजन आसिफले नै गरेका हुन् । कुलले लेखेर छाडेका शब्दमा केही अन्तरा थपेर युनिटीले ‘ट्रिब्युट’ निकालेको थियो ।

कुलसँगका पल सम्झिँदा सुगम अहिले पनि उत्तिकै भावुक हुन्छन् । मनबाट कुलको सम्झना औंस पनि पातलिएको छैन, झन् बाक्लिएको छ । भन्छन्, “मृत्यु अवश्यम्भावी छ, एकदिन त सबैले छोडेर जाने हो तर कुल समयअघि नै गयो । हामी मर्न नै जन्मिएका हौँ, के चिन्ता गर्नु ? तर ईश्वरले गुनासो गर्नु नै पर्ने गरी कुललाई हामीसँग छुटायो ।”

यति भनिरहँदा सुगमका आँखा भरिए । एकछिन रोकिए र फेरि भने, “कुल नेपाली संगीतको कर्णाधारमात्रै होइन, ऊ त हाम्रो बाँच्ने आधारजस्तै भइसकेको थियो ।”

कुनै विशेष क्षणमात्र नभई कुलसँगका हरेक पल जीवनभर यादगार रहिरहने सुगम बताउँछन् । “ऊ उदात्त हृदयको मानिस हो । ऊसँग लुकाउनुपर्ने र पर्दापछाडि भन्नुपर्ने कुराहरू केही नै हुँदैनथे,” सुगम थप्छन्, “उसका हरेक कुरा कर्णप्रिय संगीतझैं मीठा हुन्थे, घण्टौँ सुनिरहूँ जस्तो ।”

सुदिनको मन मस्तिष्कले पनि कहिल्यै सोचेन, “कुल बितेर गए !” त्यसैले होला– उनले ‘ट्रिब्युट’मै भनेका छन्, “कहिलेकाहीँ त लाग्छ, तँ बिदामा गएको छस्, बिदा सकेर फर्कन्छस् र मलाई बोलाउँछस् ।”

आसिफको आँखामा कुल
कभर डिजाइनर अनिल स्थापितले कुल र आसिफको चिनजान गराए । त्यतिबेला न्युरोडमा अनिलको कार्यालय थियो । कार्यालयमा आउजाउ हुने क्रममै अनिलसँग आसिफले एकजना नौलो मानिस देखे । लेघ्रो तानेर बोल्ने, बोलीमा सांगीतिक भावको छनक दिने त्यो व्यक्ति गायक हो भन्ने बुझ्न समय लागेन । त्यो व्यक्ति अरु कोही नभएर कुल थिए । कुललाई भेट्नुअगावै आसिफले उनको ‘सुन् मेरी मायालु’ गीत सुनिसकेका थिए । एकदमै थोरै बाजा (गीतार र मादलमा)मा मात्रै गाइएको त्यो गीत सबैको जिब्रोमा झुन्डिएको थियो । एक किसिमले भन्नुपर्दा त्यो ‘ट्रेन्ड’भन्दा बाहिरकै भएकाले आसिफलाई लाग्थ्यो, “केटाले केही नयाँ गरेकै हो ।”

आसिफले पनि पहिलो भेटमै सोधे, “तिम्रो नाम कुल पोखरेलचाहिँ कसरी रहन गयो ?”

कुलले हाँस्दै जवाफ फर्काए, “सबैले मलाई यही प्रश्न गर्छन् । मेरो वास्तविक नाम अभिमन्यु हो । अभिमन्यु रे ! त्यसमाथि प्रसाद पनि झुन्ड्याएर पोखरेल भन्दा लामो भयो, अनि कुल राखेँ ।”

त्यसले आसिफलाई अझै नजिक बनायो । कुल खुला किताब थिए । आफ्ना कुरा खुलस्त भन्ने र बनिबनाउ कुरा नगर्ने शैली आसिफलाई पनि मन नपर्ने कुरै भएन ।

पहिलो भेटबाटै आसिफ र कुलबीच घनिष्टता बढ्यो । आसिफ त्यतिबेला नेपाल वान टिभीमा सांगीतिक कार्यक्रम चलाउँथे । थुप्रै कलाकारसँग उनको उठबस हुन्थ्यो । तर, कुलसँग उनको विशेष सम्बन्ध गाँसियो । आसिफले कलाकारको एकदिन कसरी बित्छ ? भनेर पनि सुटिङ गर्थे र टेलिभिजनबाट प्रसारण गर्थे । उनले कुलको पनि ‘एकदिन’ क्यामरामा कैद गरे । त्यसपछि उनीहरूको आत्मीयता अझै झाँगियो ।

आसिफलाई उनी मन पर्नुको अर्को कारण थियो– कुलका गीतमा कुनै ‘कमर्सियल एलिमेन्ट्स’ भेटिँदैनथे । ‘गीतमा यस्तो थपियो भने गीत अझै धेरै युवाले मन पराउँछन्, मैले कन्सर्टहरू पाउँछु र व्यावसायिक दौडमा अघि बढ्छु’ भन्ने नै थिएन ।

आसिफ भन्छन्, “एउटा चित्रकारले चित्र कोरेर मनको भँडास पोखेझैँ ऊ आफ्ना लागि गीत गाउँथ्यो र भावमा डुबेर मेलोडी निकाल्थ्यो । जहाँ स्वच्छन्द भावले कला सिर्जना/साधना गरिन्छ, त्यो निकै स्वादिष्ट हुँदोरहेछ ।”

आसिफ त्यतिबेला आफैँ एक–दुइटा गीतमा संगीत गरिरहेका थिए । आसिफको गीत कुललाई पनि मन पथ्र्यो र उनी गितारको धुनसँगै गुनगुनाउँथे र अरुलाई पनि सुनाउँथे, “यो आसिफको गीत हो, सुन त कति राम्रो छ !”

आसिफले नै उनलाई गिरीशसँग भेटाइदिए । गिरीशसँगको भेटपछि कुल झनै उत्साहित भए । “त्यसपछि उसले आफूलाई ‘अ पार्ट अफ युनिटी’ भन्दै हिँड्थ्यो, हामीलाई खुसी लाग्थ्यो,” आसिफले सम्झिए, “उसका हरेक कुरा दार्शनिक लाग्थे ।”

कुल प्रायः बायाँ हातले गितार बजाउँथे । उसले त्यसरी गितार बजाएको देख्दा अप्ठ्यारो मान्दै आसिफ सोध्थे, “तिमी किन बायाँ हातले गितार बजाउँछौ कुल ?”

उनी हाँस्दै जवाफ फर्काउँथे, “होस्टेलमा गितार बजाउँदा केटाहरूले मागेर हैरान गर्थे, दिक्क लगाएपछि मैले स्ट्रिङ नै चेन्ज गरेर बायाँ हातले बजाउन थालेँ ।”

र, अस्ताए कुल
आसिफ उठेका पनि थिएनन्, ०६१ असोज १८ गते सुदिन पोखरेलले फोन गरेर सुनाए, “ओए, थाहा पाइस् ? कुल गयो । डेथ बडी पाटन हस्पिटलमा लगेको छ रे !”

उनी छाँगाबाट खसेजस्तै भए । त्यो खबर आउनु केही दिनअघिदेखि नै कुल बेखबर थिए । उनी बुटवल थिए कि काठमाडौँमै बस्थे, आसिफलाई थाहा थिएन । जसलाई सोधे पनि थाहा छैन भन्थे । मनमनै सोचे, “यो खबर साँचो नभइदिए हुन्थ्यो !”

उनी हतार–हतार पाटन अस्पताल पुगे । आसिफसँगै सुदिन, सुगम र अरु एक–दुई आफन्त अस्पतालमा थिए । त्यहाँ पूरै सन्नाटा छायो । आसिफले भित्र गएर हेर्ने आँटसमेत गरेनन् ।
सुदिन सरासर भित्र पसेर कुललाई हेरे, उनका आँखा मान्न तयार भएनन् । मनले भन्यो, “उठ् कुल, छक्याइदे सारालाई, तँ हामीलाई छाडेर जान सक्दैनस् । ओई ! सुनिनस् तैँले ? छिटो उठ्, यहाँ छ तेरो गितार र अझै गाउनु छ तैँले तेरा मनका गीतहरू !”

सुदिनले आसिफसँग पनि भने, “ह्या यार ! आँखा हेरिरहेको छ एकछिनपछि उठ्छ होला !”

उनको अन्त्येष्टि परिवारले चितवनमा गर्यो ।

मृत्युको कारण
कुलको मृत्युलाई लिएर अनेक टीकाटिप्पणी चले । उनी सुरुदेखि नै लागूपदार्थ दुव्र्यसनको सिकार भएको खबर बाहिर आइरहन्थे । तर, आसिफ भन्छन्, “हामीसँग सम्पर्कबिच्छेद भएपछि ऊ त्यतातिर लागेको हुनुपर्छ । हामीसँग छँदा ऊ दुव्र्यसनी भएको कहिल्यै थाहा पाएनौँ ।”

कुलसँग लामो समय सँगै रहेका निर्भय भन्छन्, “मृत्युको केही अघिदेखि कुल निकै तनावमा थिए । संगीतमा भनेजस्तो गर्न नपाएकाले हो कि के हो, उनमा एक किसिमको निराशा छाएको थियो ।”

निर्भयको घर स्वयम्भूमा थियो । उनकै सहयोगमा कुलले सोल्टीमोडमा आफ्नै स्टुडियो खोलेका थिए । त्यहाँको स्टुडियो राम्रो नचलेपछि निभर्यकै सहयोगमा त्यो स्टुडियो अनामनगर सारे ।

अनामनगरको स्टुडियो चल्ने तरखरमै थियो । प्रीति कौर, अविनास घिसिङलगायत केही गायक/गायिकाको एल्बममा पनि काम हुँदै थियो ।

कुलको निराशामा पनि कमी आएको थिएन ।

अघिल्लो दिन उनी निर्भयको घरमा सुतेका थिए । भोलिपल्ट बिहानै उनी कुपण्डोलस्थित फुपूका छोरा अरविनको घर जान्छु भन्दै हिँडे । निर्भय सम्झन्छन्, “त्यही रात ओभरडोज लिएछन् र भोलिपल्ट उनको निधन भयो । उनले पछिल्लो समय ‘ड्रग्स’ लिन निकै कम गरिसकेका थिए । हुने हार दैव नटार भनेजस्तो भयो ।”

आसिफले सुनेसम्म उनी एक युवतीसँग प्रेम सम्बन्धमा पनि थिए । उसले बीचमै ‘रिलेसन कटअफ’ गरेपछि कुल विरिक्तएर दुव्र्यसनीको बाटो समातेका हुन सक्छन् । यो आसिफको अनुमान हो ।

उनको मृत्यु आत्महत्या नभएको र ‘ओभरडोज’कै कारण भएकोमा आसिफ ढुक्क छन् । भन्छन्, “आत्महत्या गरेको भए सुसाइड नोट भेटिन्थ्यो या केही पूर्वछनक दिन्थ्यो ।”

कुल कुलतमा लागेको जेम्स पनि स्वीकार्छन् । भन्छन्, “मेरो घरमा बस्दा छिमेकीहरू उसको आनीबानी ठीक छैन भन्थे । लागूपदार्थ सेवन गर्छ, राति होहल्ला गर्छ भनेर छिमेकीहरू गुनासो गर्थे ।”

त्यो सुनेपछि जेम्सले कुललाई नसम्झाएका पनि होइनन् । पटक–पटक सम्झाइबुझाइ गरे, “तिमी करिअर बनाउँदै गरेको मान्छे, त्यस्तो कुलतमा फस्नु हुनन । यो बाटो छाडेनौ भने तिमीलाई यसले खान्छ ।”

कुलले दुव्र्यसन त्यागेनन्, बरु जेम्सको घर छाडेर उनी बानेश्वरतिर बस्न थाले । जेम्सको घर छाडेको एक महिना पनि नबित्दै उनी संसारबाटै बिदा भए ।

र्यापर गिरीश भन्छन्, “ऊ बीचमा एकपटक मोटरसाइकल दुर्घटनामा परेको थियो । उसको अनुहार नै बिग्रिएको थियो । ऊसँगैको साथीको त होश नै हरायो र धेरै पछि अलिअलि फर्कियो । दुर्घटनापछि ऊ विक्षिप्तजस्तै भयो । आज कुलले यसो गर्यो, पशुपतिमा यस्तो अवस्थामा फेला पार्यौँ भनेर उसका साथीहरू सुनाइरहन्थे ।”

उनको निधन भएको खबर पाउँदा गिरीश अमेरिकामा थिए । सुदिनले नै उनलाई त्यो खबर सुनाएका हुन् ।

उनी भन्छन्, “म काठमाडौँमा हुँदा ऊ डराउँथ्यो, ड्रग्स लिन्छ भन्ने त सुनेको थिएँ तर आँखाले देखिनँ । मेरो डरले ऊ हाम्रो अगाडि त्यसरी प्रस्तुत हुँदैनथ्यो ।”
गिरीशलाई कुल बेलाबखत घरपरिवारसँग राम्रो सम्बन्ध नभएको बताउँथे ।

“परिवारको इच्छा लत्याएपछि उसले आफ्ना कुरा परिवारलाई खुलस्त राख्न सक्नुपथ्र्यो । कि परिवारका कुरामा कन्भिन्स हुनुपथ्र्यो कि आफूले कन्भिन्स गराउन सक्नुपथ्र्यो,” गिरीश भन्छन्, “ती दुवै गर्न नसकेकाले होला, उसमा केही निराशा छाएको प्रष्ट देखिन्थ्यो । कहिलेकाहीँ ‘यार मेरो बाले गितार नै लुकाइदिनुभयो, अब म त गाउन छाडिदिन्छु, घरपरिवारले मेरो कुरै सुन्दैन’ भन्दै आउँथ्यो । हामी पनि योङ भएकैले होला, उसका कुरामा खासै ध्यान दिँदैनथ्यौँ ।”

कुलको मृत्युसँगै नेपाली सांगीतिक आकाशको एक महत्वपूर्ण तारा अस्ताएको गिरीशको ठम्याइ छ । भन्छन्, “द युनिटीले धावक गुमायो । तर, देशले एक संगीत साधक गुमायो ।”



काठमाडौं । वि.सं. २०७१ सालको कुरा हो । फागुनको अन्तिमतिर हुनुपर्छ । बद्री कार्की खाना खाएर आराम गर्न लागेका थिए, कार्यालयको १०१ नम्बरमा फोनको घण्टी बज्यो । “नुवाकोटको सिसडोलमा गाडीमा आगजनी भयो, तुरुन्त आगो नियन्त्रण गर्न आउनुपर्यो ।” फोन गर्ने प्रहरी थिए ।

उनी ड्युटी–अवधिमै थिए । फोनको घण्टी बज्नेबित्तिकै चालक तम्तयार भइहाल्नुपर्थ्यो । त्यस दिन पनि चालकले ढिला गरेनन् । सात/आठ जनाको नेतृत्व गरेर कार्की आगलागीस्थलतर्फ गए ।

सवारी–जाम र अप्ठेरो बाटो छिचोल्दै आधा घण्टापछि उनीहरू घटनास्थलमा पुगे, तर त्यहाँ उनीहरूले नसोचेको घटना भयो ।

नुवाकोटको सिसडोल काठमाडौंको ‘ल्यान्डफिल साइड’ हो । काठमाडौंबाट फोहर लिएर गएको गाडीले बच्चा किचेपछि स्थानीयहरू विरोधमा उत्रिएका रहेछन् । स्थिति प्रहरीको नियन्त्रणबाहिर गइसकेको रहेछ । स्थानीयले फोहर बोक्ने सवारीमाथि आगो लगाइदिएर वातावरण तनाबग्रस्त बनाएका थिए ।

माथि गाडी दनदनी बलिरहेको थियो, तर उनीहरूले तलै अवरोध बेहोरे ।

स्थानीयको अगिल्तिर प्रहरी निरीह जस्तै थियो । लाठी, मुंग्री, ढुंगा हातमा बोकेका स्थानीयले दमकल आएको देख्नेबित्तिकै ‘हान्’, ‘ठोक्’ भन्दै बाटो बथानिहाले । स्थानीयले हानेको ढुंगा लागेर दमकलको अगाडिको सिसा झर्याम्झुरुम् फुट्यो । उनी गाडीको अगिल्लो सिटमा थिए । ज्यान जोगाउन हम्मे–हम्मे पर्यो । ‘आज मरियो’ भन्दै उनी मुन्टो निहुर्याएर गाडीको सिटमुनि कुप्रिए । चालकले नियन्त्रण गुमाएका थिएनन् । अन्य साथीहरू पनि डरले त्राहि माम् हुँदै एक ठाउँमा गुडुल्किएका थिए ।

ढुंगा–प्रहार नरोकिएपछि उनीहरू दमकलको वास्ता नगरी झ्याल खोलेर जंगलतिर कुलेलम ठोके । स्थानीयले के छोड्थे ? उनीहरू जंगलैसम्म लखेट्दै पुगे ।
पछि काठमाडौंबाट थप बल मगाएर प्रहरीले स्थिति नियन्त्रणमा त लियो, तर झन्डै उनीहरूको ज्यान गएन । त्यति वेला स्थानीयवासीले विरोध गर्दै गाडीमा आक्रमण गरी ५ करोड रुपियाँ बराबरको क्षति पुर्याएको महानगर बताउँछ ।
“हामी त्यहाँ अपराध गर्न गएका थिएनौँ ।” उनले भने “आगोले क्षति नपुर्याओस् भनेर उनीहरूकै सुरक्षाका लागि जाँदा हामीमाथि नै आक्रमण–प्रयास भयो ।”

दमकलको आगाडिको सिसा पूरै फुटे पनि अग्निनियन्त्रक, चालक र अन्य सहयोगीलाई केही भएन । उनीहरू बाल–बाल बचे ।

२६ वर्षे सेवा–अवधिको सबैभन्दा दुःखद घटना थियो त्यो, नघट्नुपर्ने घटना घटी नै सकेको थियो । काठमाडौं महानगरपालिकाले बालकको क्षतिपूर्ति पनि दिन्छु भनिरहेको थियो, तर पनि स्थानीयवासीहरू होस गुमाएर हुलहुज्जतमा उत्रिएका थिए । त्यस घटनासँग उनीहरूको कुनै साइनो थिएन, आगो निभाउन गएका उनीहरू अनाहकमा आक्रमणको तारो बने ।

० ० ०

काठमाडौंको जुद्ध सालिकअगाडि र वसन्तपुर दरबारको छेउमा नेपालकै पुरानो जुद्ध वारुण यन्त्रको कार्यालय छ । त्यही कार्यालयका ‘फायर कमान्डर’ हुन् बुद्धि कार्की । विसं. २०४६ सालमा सेवा–प्रवेश गरेका भक्तपुर– चित्तपोलका कार्कीले कति आगलागी नियन्त्रणमा लिए, कति घटनामा उनी सहभागी भए भन्ने कुनै लेखाजोखा छैन । भरभराउँदो जवानीमा सेवा–प्रवेश गरेका कार्कीको कपाल तिलचामले भइसक्यो, तर जुद्ध वारुण दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । “साल फेरिँदै गयो, तर आफैं काम गरेको कार्यालय त झन् बेहाल पो हुँदै गयो,” अप्ठेरो मान्दै फिस्स मुस्कुराएर उनले सुनाए ।

“सुरुमा आउँदा ५३ जना कर्मचारी थिए, अहिले त जम्माजम्मी २५ जनामा खुम्चिएका छौं,” उनले भने “कार्यालय हेर्नुहोस् न, कस्तो बेहाल छ ?”

हुन पनि गएको वैशाख १२ गतेको विनाशकारी भूकम्पले खन्डहर तुल्याएको वारुण यन्त्रको कार्यालय भूकम्पको १४ महिना भइसक्दा पनि उस्तै छ । पुनर्निर्माण हुन नसकेको मात्र होइन, कहिले सुरु हुने हो भन्ने पनि कुनै टुंगो छैन ।

“हामी त टहरामा बस्ने गरेका छौं, भवन त भूकम्पले भत्काइहाल्यो नि ।” उनले थपे । देशकै पुरानो र काठमाडौंको आगलागी–नियन्त्रणको जिम्मा लिएको वारुण यन्त्र कार्यालयको टिठलाग्दो अवस्थाका उनी साक्षी मात्र होइनन्, भुक्तभोगी पनि हुन् ।

त्यही कार्यालयमा रहेर आगोसँग लफ्फाबाजी खेल्न थालेको २६ वर्ष भएकाले पनि एकैछिन नदेख्दा पनि ‘बद्री कहाँ गएछन् ?’ भनेर उनका सहकर्मीहरू खोजीनीति गर्छन् । मिजासिलो र हँसिलो स्वभावका कारण उनी सबैमाझ उत्तिकै प्रिय छन् र उनको दुःख पनि उस्तै छ । “खान–लाउनकै समस्या नभएको भए आगासित को खेल्थ्यो होला र ?” उनले पीडा पोखिहाले ।

०४४ सालमा प्रवेशिका उत्तीर्ण गरेका उनले केही समय हुलाकमा पनि काम गरे । त्यो छोडेर गोदावरी मार्बलमा ‘सुपरभाइजर’ बन्न पुगेका उनी अन्ततः आगो निभाउने पेसामा ठोकिए ।

भनिन्छ— आगा र खोलाको नजिक नजानू, तर उनी आगासँगै खेल्न रुचाउँछन् । “सुरु–सुरुमा त निकै डर लाग्थ्यो, आगो निभाउन जाने भन्नेबित्तिकै सातो जान्थ्यो, मुटुमा ढ्यांग्रो बजे झैं हुन्थ्यो, अचेल त बानी परिसकेको छ । जस्तै आगाका मुस्लाबीच पुगेर पनि आगो निभाउन सक्ने आत्मविश्वास पलाउँछ, मन अझै दह्रो भएर आउँछ ।” उनले खुलासा गरे ।

तर आगो निभाउन सजिलो छैन । थोरै मात्रै सन्तुलन गुमाइयो र असावधानी अपनाइयो भने ज्यानै जान सक्छ । यस्तो जोखिमको पेसामा कसरी आइपुगे त उनी ?

“नियतिको खेल होला सर, यसभन्दा बढी केही थाहा छैन । जागिर खानुभन्दा अगि मनमा कल्पनासम्म पनि थिएन । आगो निभाउन कतै गएको पनि थिइन । आगलागीका घटना देख्थें, सुन्थें, तर आफू यही पेसामा लागिएला भन्ने सपनामा पनि चिताएको थिइन ।” उनले एकै सासमा बताए ।

० ० ०

आगासँग खेल्नु मृत्युसँग खेल्नु सरह हो । दन्किँदो आगोलाई पानीको फोहोराले नियन्त्रणमा लिनु चानचुने कुरा हुँदै होइन, तर उनले यसलाई सहजताका साथ स्वीकारेको वर्षौं भइसक्यो । जुद्ध वारुण यन्त्रका जमदार उनी त्यहाँका कमान्डर पनि हुन् । पछाडि बसेर आदेश दिने होइन, आफैं दुई नम्बर ‘ब्रन्च पाइप’ समातेर आगो भएतिर फोहोरा बर्साउने हर्ताकर्ता नै हुन् उनी । उनलाई पछाडि बसेर अरूले साथ दिन्छन् ।

यो पेसा मृत्युसँग खेल्नु सरह हो, दर्जनभन्दा बढी पटक उनी स्वयंलाई आगाको लप्काले भेटिसकेको छ । दुई वर्षअगि बागबजारमा भएको आगलागीमा त उनलाई करेन्ट नै लाग्यो ।

“आगो लाग्यो भन्ने खबर आयो । आगो लागेको दश मिनेटभित्रै पुगेका थियौँ । सडकको भित्री गल्लीमा आगो लागेको रहेछ । बिजुलीको लाइन काटिएको छ कि छैन भन्ने होसै भएन, पानीको पहिलो फोहोरा फाल्नेबित्तिकै करेन्टको झड्का लागिहाल्यो, झन्डै मरिएन । पछि बत्तीको लाइन काटेर आगो नियन्त्रणमा लिइयो ।” उनले त्यति वेलाको क्षण सम्झिए ।

आफैंले फालेको पानीको फोहोराले लाग्ने, सानोतिनो आगोले भेट्ने त कति हुन्छन् कति, तर पनि उनी यसैमा सन्तुष्ट भएको बताउँछन् ।

तलब र तलबको ३३ प्रतिशत भत्ताबाहेक उनको अतिरिक्त सेवासुविधा छैन । त्यसैले उनी भन्छन् “आगो निभाएर जसोतसो भात खान सकिएको छ र पनि जीवन खुसी नै छ ।”

कहिलेकाहीं आफन्त र घरपरिवारले बूढो भएकाले आगो निभाउने पेसा छोडिदिन भने पनि उनी आगो निभाउनमै खुसी छन् । बरु यस्तो ‘पवित्र’ र ‘धार्मिक’ पेसामा सरिक हुन पाएकोमा उनी गर्वान्वित हुन्छन् ।

० ० ०

आगो निभाउन जाँदाको अर्को कठिनाइ हो– साँघुरो बाटो । करोडौंको घर बनाए पनि आफ्नै घरअगिल्तिरको बाटोमा इँट्टा समेत नबिछ्याउने मानिसहरूको स्वभावबाट उनी दिक्क रहेछन् । अझ बाटै ढाकेर सवारी पार्किङ गर्ने र जथाभावी उछिन्न खोज्ने चालकको बानीले पनि उनी हैरानै भएका रहेछन् ।

“केही वर्षअगि असनमा ठूलो आगलागीको घटना भयो । साँघुरा बाटाका कारण दमकल भित्रसम्म पुर्याउन सकिएन । त्यहाँ मानवीय क्षति समेत हुन पुग्यो ।” उनी भन्छन् “यो त प्रतिनिधि घटना मात्रै हो, कति ठाउँमा त दमकलै जान सक्दैन । दमकल छिर्न नसकेपछि आगो नियन्त्रणमा लिन सकिँदैन, अनि त क्षति निम्तिने नै भयो ।”

अरू त परै छाडौं, दमकल निकाल्ने ठाउँ जुद्ध सालिकअगाडि नै चालकहरूले ट्याक्सी पार्किङ गरेको देखेर उनलाई उदेक लाग्छ । अत्यावश्यक सेवा र दमकल, एम्बुलेन्सको महत्त्व नै नबुझ्ने सवारी–चालकहरूसित उनी धेरै पटक रिसाएका छन् ।

सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ– अग्नि–नियन्त्रकसँग विशेष लुगा समेत छैन । उनीहरू साधारण ज्याकेटका भरमा आगो निभाउन जानुपर्छ ।

कार्यालयभित्र झुन्ड्याइएको एक जोर सामान्य लुगा देखाउँदै उनले भने “यही हो– अग्नि–नियन्त्रण गर्न जाँदा हामीले लगाउने लुगा ।” सामान्य आगाले समेत क्षति पुर्याउने जुत्ता लगाएर आगो नियन्त्रण गर्न जाने गरेको उनले सुनाए ।

पछिल्लो समय आगलागीका नयाँ–नयाँ घटना हुन थालेका छन् । तर तिनलाई नियन्त्रित गर्ने नयाँ प्रविधिबारे उनीहरूसँग कुनै ज्ञान छैन । “जागिर खाएपछि सुरुमै मैले सात महिना आधारभूत तालिम लिएको हुँ । त्यो पनि यहीँका पुराना साथीहरूबाट । त्यसबाहेक हामीले कुनै तालिम लिएका छैनौँ । हामी त मुढे बल र अनुभवकै आधारमा आगलागी नियन्त्रणमा लिन्छौं ।” उनले सुनाए ।

यसरी लिइन्छ आगलागी नियन्त्रणमा
घटनाको प्रकृति हेरेर आगलागी नियन्त्रणमा लिने गरेको उनले बताए । हिजोआज विद्युतीय उपकरण, तार सर्ट भएर आगलागीका घटना ज्यादा हुने गरेको उनको भनाइ छ । आगो लागेको खबर सुरुमा १०१ मा आएपछि उनीहरूले लोकेसन टिप्छन् । अनि आगोको प्रकृति सोधेर दमकल लिएर त्यसतर्फ हानिन्छन् ।
दमकलमा पानी अगाडि नै भरिइराखेको हुन्छ । एउटा दमकलमा सातदेखि नौ जनासम्म अग्निनियन्त्रक हुन्छन् । घटनास्थलमा पुगेपछि थप मद्दत चाहिएमा उनीहरूले खबर गर्छन् ।

आगोमा मानिवीय क्षति हुन लागेको छ भने उनीहरू पहिला त्यसलाई प्राथमिकता दिन्छन्, त्यसपछि आगो अन्यत्र नफैलियोस् भन्नेतर्फ उनीहरू सचेत हुन्छन् ।
तेल या घ्यूमा आगो फैलिएको छ भने पानी हालेर नियन्त्रणमा लिन कठिन हुन्छ । त्यसकारण उनीहरू फोम (एक किसिमको तरल र कतिपय अवस्थामा पाउडर) उडाएर आगो नियन्त्रणमा लिन्छन् । ग्यासको आगो निभाउन भने सिसफायर गर्नुपर्ने कार्की बताउँछन् ।

त्यस्तै पुराना घरहरूमा सल्किएको आगो नियन्त्रणमा लिन कठिन हुन्छ । “पुराना घरमा पानीको फोहोरा फाल्दा भत्किने डर हुन्छ, त्यसैले आफैं सुरक्षित हुनुपर्छ ।” उनले सुनाए ।

वारुण यन्त्रसँग २५/३० मिटरका पाइप छन् । सडकबाट भित्र गल्लीमा आगो लागे उनीहरू पाइप जोडेर आगो नियन्त्रणमा लिने प्रयास गर्छन् । “तर धेरै टाढा पुर्याउन सकिँदैन, टाढा जाँदा पानीको वेग कम हुन्छ ।” उनले भने ।

damkal (1)

जुद्ध वारुण यन्त्रसँग अहिले चालू हालतमा तीन वटा दमकल छन् । त्यसबाहेक दुई वटा ल्याडर (अग्ला भवनहरूमा लागेको आगो नियन्त्रणमा लिने उपकरण जसमा पानीको ट्यांकी हुँदैन) र एउटा फायर बाइक पनि छन् ।

दमकल नजाने र स–साना आगलागी नियन्त्रणमा लिन ‘फार बाइक’ प्रयोग गर्ने गरेको उनले सुनाए । बाइकमा पानी हुँदैन, त्यहाँ आगो नियन्त्रणमा लिने ‘डस्ट’को सिलिन्डर राखिएको हुन्छ ।

त्यस्तै भक्तपुरमा एउटा र ललितपुरमा दुई वटा दमकल छन् । आवश्यक पर्दा काठमाडौं, भक्तपुर र ललितपुरले समन्वय गरेर आगो नियन्त्रणमा लिने गर्दछन् ।

स्थानीयले सहयोग गर्दैनन्
केही समयअगि काठमाडौँको अनामनगरमा आगो लाग्यो । सडककै छेउको घरमा आगो लागेको भए पनि अग्निनियन्त्रकलाई भिड पन्छाउन मुस्किल पर्यो । “आगो लागिसकेपछि पीडित बाहेक छरछिमेक रमिते बन्न थाल्छन् । उनीहरूले गर्न सक्ने केही त हुँदैन, तर पनि उल्टै भिड बनिदिन्छन् । सहयोग गर्नुको साटो मोबाइलमा भिडियो खिचेर बस्छन् ।” उनले भने “हामीमा संवेदनशीलता भन्ने नै छैन, दमकल समयमा आइपुगेन भने ‘क्षति भइसकेपछि आउने ?’ भनेर गालीगलोज गर्छन्, तर आफ्नो दायित्व चाहिँ बुझ्दैनन् ।” तर कतिपय स्थानमा भने स्थानीय र उनीहरू मिलेर आगो नियन्त्रणमा लिएका उदाहरण पनि छन् ।

आगो लागिसकेपछि कुवा खन्ने जस्तो छ हाम्रो प्रवृत्ति
“हामीमा घटनाको पूर्वतयारी हुँदैन ।” उनले भने “सानै लापरबाहीले ठुल्ठुला आगलागीका घटना हुन्छन् । तर त्यो हामी आगो लागिसकेपछि मात्रै थाहा पाउँछौं ।”

हुन त आगलागी ‘भवितव्य’ हो, कहाँ, कसरी हुन्छ भन्ने कुनै पूर्वसूचना हुँदैन । तर आगलागीका घटना भवितव्य मात्र नभएर अधिकांश असावधानीकै कारणले हुने उनको बुझाइ छ ।

damkal (11)उनका अनुसार सहरी क्षेत्रमा विद्युतीय उपकरण सर्ट भएर र भान्छामा ग्यास–चुहावटका कारण आगलागीका घटना बढी हुने गर्दछन् । विद्युतीय उपकरण प्रयोग गर्दागर्दै बिजुली गएपछि प्रयोगकर्ताले त्यसलाई निभाउन बिर्संदा आगलागीका घटना घटेका उदाहरणहरू थुप्रै छन् ।

त्यसका अतिरिक्त अगरबत्ती र लामखुट्टे भगाउन सल्काइने धुपका कारण पनि आगो लाग्न सक्छ । त्यसैले उनीहरूले नारा नै बनाएका छन्– “नियन्त्रित आगोले हाँसो ल्याउँछ, अनियन्त्रित आगोले आँसु ल्याउँछ, त्यसैले आगामा हेलचेक्र्याइँ नगरौँ ।” उपभोक्ता यस्ता सामान्य सावधानीबाट कोसौं टाढा छन् ।

जुद्ध वारुण यन्त्रको जीर्णता :
सशस्त्र प्रहरीका ११, गृह मन्त्रालयअन्तर्गतका ११ र महानगरअन्तर्गतका ७ जना कर्मचारी जुद्ध वारुण यन्त्रसँग छन् । काठमाडौंको बढ्दो जनघनत्व र अव्यवस्थित सहरीकरणका अगाडि यो संख्या पर्याप्त होइन । पञ्चायत–कालमै जुद्ध वारुण यन्त्रसँग ५३ जना अग्निनियन्त्रकको दरबन्दी थियो, तर अहिले २५ जना मात्रै छन् । तीमध्ये फायर कमान्डरको संख्या त चार मात्रै हो । उनी एक वर्षपछि सेवानिवृत्त हुँदैछन् र अरूको समयावधि पनि लामो छैन ।


स्थापनाकालमा सेनाको कालीप्रसाद गणले व्यवस्थापन गरेको जुद्ध वारुण यन्त्र

पञ्चायतकालमा अञ्चलाधीशको मातहतमा थियो । कार्कीले त्यहीबाट काम सुरु गरेका हुन् । बहुदलपछि त्यसलाई गृह मन्त्रालयअन्तर्गत राखियो । २०६५देखि भने काठमाडौं महानगरपालिकालाई जिम्मा लगाइएको छ । गृह मन्त्रालयले महानगरलाई हस्तान्तरण गर्ने वेलामा २९ जना कर्मचारी भर्ना गर्ने बुँदामै उल्लेख थियो । तर महानगरले लिएको आठ वर्ष भइसक्दा पनि न त एक जना कर्मचारी भर्ना गरियो न त भएका कर्मचारीहरूलाई तालिमको राम्रो व्यवस्था नै ।

“कहिलेकाहीं विदेशीहरू आउँदा हाम्रो अव्यवस्था देखेर खित्का छोड्छन् ।” उनले भने “विदेशीहरू हाम्रो आगो निभाउने प्रविधि राम्रो नरहेको भन्छन् । तिमीहरू ‘यसो गर उसो गर’ भन्छन्, तर हामीसँग केही छैन । इटालीबाट गाडी आएपछि उनीहरू हामीलाई केही अभिमुखीकरण तालिम दिएर छक्क परेर गए ।” बेलाबखत विदेशबाट तालिमको अवसर पनि आउँछ, तर कहाँ आउँछ, को जान्छ भन्ने बारे उनीहरूलाई केही पत्तो छैन ।

जुद्धशमशेरले विसं. १९९४ सालमा स्थापना गरेको वारुण यन्त्रसँग २००२ सालमै सात दमकल थिए । अहिले मुस्किलले आठ–नौ वटा छन् । त्यसमध्ये पनि चालू हालतको तीन वटा हो । “दुई वटा त निकै पुरानो छन्,” उनले भने, “बाटोमा कति वेला बिग्रन्छन् टुंगो छैन ।” अहिले प्रयोग गरिने दमकलमा दुई हजार लिटरसम्म पानी अटाउँछन् । अग्ला भवनमा आगो निभाउन प्रयोग गरिने ल्याडर दुई वटा छन्, तर तिनको प्रयोग भने नगरिएको कार्की बताउँछन् ।

तीन समूहमा ड्युटी छुट्ट्याइएको छ । खाना खाँदाखाँदै हात नै नचुठी अग्नि–नियन्त्रणमा जानुपर्ने बताउँदै उनले भने “हाम्रो काम ज्यादै संवेदनशील हो । हामीले रात–बिहान भन्न पाउँदैनौँ । फोन आउनेबित्तिकै जस्तो अवस्थामा छौं त्यस्तै अवस्थामा क्रियाशील हुनुपर्छ ।”

अझै छन् जुद्ध शमसेरका पालाका वारुण यन्त्र
जुद्ध शमसेरले वेलायतबाट विसं. १९९४ सालमा बोकाएर ल्याएका दुई दमकल डेनिस र मोरिस अझै जुद्ध वारुण यन्त्रको कार्यालयमा राखिएको छ । “इतिहास होस्, सबैले यसबारेमा थाहा पाउन् भनेर राखिएको हो,” कार्कीले प्रदर्शनीमा राख्नुको तात्पर्य खुलाए । कार्यालयमा उति वेला सञ्चालनमा आएको लहरी पनि राखिएको छ । तर, संरक्षण अभावमा ती जीर्ण जस्तै बनिसेका छन् ।


सम्पत्तिको नाममा केही थान घन र छिनोमात्र हो उनको । त्यसबाहेक अघिल्तिर थुप्रिएका केही पत्थर । घन र छिनोले उनी त्यसैमा आफ्नो सीप खन्याउँछन् । आकर्षक र बुट्टेदार बनाउँछन् । उनले पाषाणसँग लडिबुडी खेल्न थालेको झन्डै १६ वर्ष भयो ।

उनी विगत दुई वर्षदेखि बसुन्धराको सडकछेउमा ढुंगाबाट आफैंले बनाएका सिलौटो, जाँतो, लोहोरो र ओखलको व्यापार गर्दै आएका छन् ।

बिहान १० बजेको भए पनि घाम चरक्क चर्किएको छ । जेठको धूपबाट बच्न छाता त राखेका छन् तर त्यसले के ओताउनू ? असिनपसिन हुँदै उनी पत्थरसँग पौठेजोरी खेलिरहन्छन् ।

म त्यहाँ बसुन्जेल एउटा सिलौटो र लोहोरो तयार पारे ।

“लोहोरो त १५ मिनेटमै बनाउँछु,” छिनोमाथि ह्याम्बर बर्साउँदै सिलौटोलाई अन्तिम आकार दिए ।

भर्खरै बनाइसकेको सिलौटा चाङमा मिसाउँदै थिए, एक जना ग्राहक आइपुगिन् ।

“कति हो सिलौटाको ?” हातले उचाल्दै उनले सोधिन् ।

“पाँच सय हजुर !” पसिना पुछ्दै उनले मूल्य बताए ।

निकैबेर ‘बार्गेनिङ’ गरेपछि चार सय रुपैयाँ तिरेर सिलौटा किन्न युवती राजी भइन् ।

“देख्नुभयो हजुर ? सिलौटा बनाउन जत्ति गाह्रो छ, बेच्न पनि उत्तिकै साह्रो छ !” ठुल्ठूला आँखा पार्दै उनले मतिर फर्किएर भने ।

० ० ०

उनको नाम सुनील कुस्बाडिया हो । उनी सीमान्तकृत कुस्बाडिया समुदायका हुन् । ढुंगा कुँदेर सिलौटा, लोहोरो, खल र जाँतो बनाउनु उनीहरूको पुख्र्यौली पेसा हो ।

यसरी पेट पाल्नेको संख्या यति नै छ भन्ने उनलाई थाहा छैन । “त्यस्तै तीन हजार जति होलान्, सबैको काम सिलौटा बनाउने हो,” उनले सुनाए ।

आमाबाबु पढेलेखेका नभएपछि त्यसको असर सुनीलसम्म आइपर्यो । स्कुलको मुख देख्न पाएनन् । कुस्बाडिया समुदायमा पढाउने चलनै थिएन । आमाबाबुले विद्यालयको सट्टा खोलाको बगर देखाइदिएपछि सुरु भयो उनको पत्थरकला ।
खोलाका किनार दौडिएर बलिया र नटुक्रने ढुंगा छान्नु, त्यसलाई घन, छिनाको सहायताले बान्किलो तुल्याउनु उनको दैनिकी बन्यो । दिनचर्या सूर्य उदाउनुअघि नै सुरु हुन्छ र घाम क्षितिजमा नडुब्दासम्म उनी ढुंगामा हत्केला बजारिरहेका हुन्छन् ।

“बेलामा पढ्न नपाउँदा ढुंगा चोइट्याएर जहानको पेट पाल्नुपर्ने बाध्यता

आइलाग्यो,” ढुंगामा घन बजार्दै उनले सुनाए ।

ढुंगा कुँद्न सजिलो कहाँ छ र !

रगत पसिना बगाउनु पर्छ । तातो घाममा रापिएर निरन्तर ढुंगामा छिनो हानिरहँदा आन्द्रा चुँडिएलाझैं हुन्छ । पैताला चरचरी फुटेर रगत बग्छ । हातमा ठेला नउठेको ठाउँ भेट्टाउन मुस्किल हुन्छ ।

“यी हेर्नुस् न, अस्ति आफैंले हातमा हानें,” घनले लागेको नीलडाम देखाए ।

रात दिन घन बजारेर पनि जीवन उकास्न नसक्दा उनको मन कुँडिन्छ । “कहिले त पेसा नै छोडेर विदेश जाऊँ जस्तै लाग्छ । तर पढेलेखेको छैन । त्यहाँ पनि यस्तै हन्डर र ठक्कर खानुपर्ने त होला भनेर मन बुझाएछु,” उनले भने ।

खेतीकिसानी गरेर परिवार पालूँ भने औंला डोब्ने जग्गा छैन । घरपरिवार भोकै पर्लान् कि भनेर पनि मरिमेट्छन् उनी । फेरि सिलौटा दिनहुँ बिक्री हुन्छ भन्ने पनि छैन । बेचेको दिन त भात खान पाइन्छ, बिक्री नभएको दिन भोकै सुत्नुपर्छ ।

० ० ०

सुनीलकै साथी हुन् विनोदकुमार कुस्बाडिया । उनले पनि यही काम गर्थे । ३७ वर्षकै उमेरमा आठ सन्तानका पिता भइसकेका विनोदले यो पेसाबाट भर्खरै विश्राम लिएका छन् ।

“सिलौटा बनाएर मात्र खान पुगेन, के गर्नु ?” निराश हुँदै उनले सुनाए, “पछि केही होला नि त भन्दै यो उमेरसम्म घिच्चिएँ, तर छोराछोरीको पेट पाल्न नै मुस्किल हुन थालेपछि विदेश जाने सोचाइ पो आयो ।”

काठमाडौंकै एक म्यानपावरमार्फत उनी कतार जाने तरखरमा छन् । १५ दिनजतिमा भिसा आउँछ होला । आफैंले बनाएका केही थान सिलौटा साथी सुनीलको जिम्मा लगाए । साइकलमा बोकेर ल्याएका रहेछन्, त्यस्तै १५ वटा जति सिलौटा र केही थान लोहोरा पनि थिए ।

“दुई सय रुपैयाँमा ढुंगा किनेर सिलौटो बनाएको छु, मलाई दुई सय पचास दिए पुग्छ । तँ चाहिँ राम्रोसँग काम गर है !” सुनीललाई सम्झाउँदै उनी भन्दै थिए, “सँगै यत्तिका वर्ष काम गरियो, माया त लागि हाल्छ नि !”

आजसम्म यी दुवैको उद्देश्य एकै थियो– ढुंगामा छिनो हान्ने, सिलौटा, लोहोरा, जाँतो, खललाई आकार दिने, बेचेर दुई चार सय जम्मा गर्ने र त्यही पैसाले बेलुका चुल्हो सल्काउने ।

तर, विनोदले अचानक लक्ष्य बदले । ढुंगाको काम गरेर सन्तानलाई पनि ढुंगाकै सिरानीमा सुताउनुभन्दा विदेश जाने, पैसा कमाउने र बालबच्चालाई राम्रो स्कुलमा बढाउने सोचाइले घर गर्न थाल्यो ।

“के गर्नु हजुर, पहिलाको जस्तो व्यापार हुनै छाड्यो । मेसिनमा मसला पिस्न थालेपछि त सिलौटा किन्नै छाडे । अलि अलि व्यापार भएको भए म पनि विदेश जान्नथें,” उनले विदेश जानुको तात्पर्य खुलाए ।

त्यसो त सीधा हिसावले व्यापार–व्यवसाय गर्दा पनि आफूहरूले दुःख पाएको गुनासो उनको थियो । “ढुंगा कुटेर खाँदा पनि कहिले नगरपालिका उठाउन आउँछ त कहिले बाटामा राखेको ढुंगै चोरिदिन्छन्,” विनोदले तीतो ओकले, “केही दिनअघि सुनीलका ७० वटा ढुंगा चोरी भए, मेरा पनि ६५ वटा ढुंगा राखेकै ठाउँबाट गायब भए ।”

प्रशासनकहाँ उजुरी गर्न जाँदा ‘बाटामा ढुंगा राखेर बेच्ने अनि चोरी भयो भन्न आउने ?’ भन्दै उल्टै हप्काइ खानुपरेको दुःखेसो पनि पोखे । “सटर भाडामा लिएर बन्द व्यापार गर्न सकेको भए को सडकको पेटीमा घामपानी को सहेर बस्थ्यो होला र ?” आँखाको आँसु लुकाउँदै उनले भने, “नगरपालिका आउँछ, सडकमा व्यापार गर्न पाइँदैन भन्छ, ढुंगा उठाएर लान्छ, एक महिनापछि बल्ल फिर्ता दिन्छ, त्यतिन्जेल हामीले के खाने ?” उनले प्रश्न गरे ।

नगर प्रहरीहरूले उनीहरुको छिनो र घन कति खोसेका छन् कति ! यसरी निरन्तर दुःख दिइरहनु भन्दा एउटा ठाउँ तोकिदिए आफूहरु त्यहीँ बस्ने सुनीलले बताए ।

० ० ०

कुस्बाडिया लोपोन्मुख जाति हो । खेतीकिसानी कम भएकाले यो समुदायका अधिकांश व्यक्तिको पेसा भन्नु नै सिलौटा, जाँतो, लोहोरो र ओखल बनाएर घर गृहस्थी चलाउनु हो । “पितापुर्खाले हामीलाई सिलौटो बनाऊ, सिलौटो बेच, सिलौटो नै खाऊ भन्थे,” सुनील भन्छन्, “हामीले त्यही गर्दै आएका छौं ।”

कुस्बाडिया समुदायको मुख्य बासस्थान भैरहवा, रुपन्देही हो । बुटवल, पाल्पा र चितवनतिर सिलौटा बिक्री कम हुन थालेपछि उनीहरू काठमाडौं पसेका हुन् । काठमाडौंका चावहिल, बसुन्धरा, बनस्थली, जडिबुटीलगायत ठाउँका सडक किनारमा उनीहरूले सिलौटो बेच्छन् ।

एउटा ढुंगा कुँदेर सिलौटाको आकार दिन कम्तीमा तीन दिन लाग्छ । कहिलेकाहीँ भने एकै दिनमा दुई वटा पनि बनाउन सकिन्छ । त्यसरी बनाएका सिलौटा चार सयदेखि चार हजार रुपैयाँसम्ममा बिक्री गर्ने गर्छन् । सिलौटो मूल्य आकार हेरेर तय हुन्छ ।

सुनील ४५ सय रुपैयाँ तिरेर एउटा साँघुरो र अँध्यारो कोठामा बस्दै आएका छन् । कहिलेकाहीँ दिनमा ५ वटासम्म सिलौटा बेच्छन् । कहिले हप्तौंसम्म एउटा पनि बिक्री हुन्न । हिजोआज विद्युतीय उपकरणले बजार निलेपछि उनीहरूका सिलौटामा आँखा पर्नै छाडेका छन् । यही कारणले पेसाबाट विस्थापित हुनेहरूको संख्या बढ्दो छ ।

अरुको भातभान्छा स्वादिष्ट र मसलेदार बनाउने उनीहरूको आफ्नै छाकचाहिँ आँसुको चटनीमा गुज्रिन्छ । सिलौटा कुँद्ने चठ्ठानसरह दुःखमा चोइटिएका छन् उनीहरु । ढुंगा कुँद्दा बडो होसियारी अपनाउनु पर्छ । छिनो हान्दा उछिट्टिएका ढुंगा कतिबेला आँखामा पर्छन्, पत्तै हुन्न ।

उनीहरूको समुदायमा के महिला–पुरुष, के बालक, के वृद्धवृद्धा– सबैले उत्तिकै छिनो र चुम्बी चलाउँछन् । छिनो नचलाए पेट पनि चल्दैन ।

कुशबाडिया लोपोन्मुख जाति भएकाले आफूहरूलाई वैकल्पिक पेसामा स्थापित गराउन उनीहरुले राज्यसँग माग गर्दै आएका छन् । तर, आवाज सानो भएकाले कसैले सुनेका छैनन् । त्यसमाथि सिलौटो बनाउने ढुंगा पनि पाइन छाडेका छन् ।
“पहिले खोलामा सजिलै ढुंगा पाइन्थे, अहिले प्रशासनले दिँदैन,” सुनील भन्छन्, “कतिपय ठाउँमा सामुदायिक वन र स्थानीय संघसंस्थालाई चर्को पैसा तिर्नुपर्छ, सिलौटो बनाउने एउटा ढुंगालाई साढे दुई सय रुपैयाँसम्म तिर्नुपर्छ ।”

जाँदाजाँदै सुनीलले आग्रह गरे, “हाम्रो पेसाबाट सरकारलाई बाधा पुगेको छ भने हामी सडकमा सिलौटा फिँजाएर बस्दैनौं । हैन भने हामीलाई निर्धक्क काम गरेर खाने वातावरण चाहियो ।”

झमझम पानी परिरहेको छ । आकाशबाट खसेका पानीका थोपा मेरो टाउकोमा तप्प खस्छन्, भुइँमा झर्छन् र बागमतीमा मिसिन्छन् ।

खण्डहर भश्मेश्वर घाट । लस्करै चिता । तर, आज एउटाबाहेक अरु चिता खाली छन् ।

पल्लोछेउको एउटा चितामा शव जलिरहेको थियो । मलामी थोरै थिए या आएर पनि गइसकेका हुन्, ६–७ जना मानिसमात्रै थिए । कोलाहल, भीडभाड र मृत्युशोकमा डुबिरहने पशुपति आर्यघाट सम्भवतः पहिलो पटक शून्य देखें ।

बलिरहेको चिताबाट एक मुस्लो धूँवा निस्कियो, मेरो नाकमा ठोकियो र हावामा हरायो । कस्तो पीरो धूँवा !

पोहोरको भूकम्पबाट खण्डहर बनेको पाटीको भग्नावशेष पन्छाइँदै थियो । “खै कहिले बन्ने हो !” मलामीमध्ये एउटाले अनुहार बिगारेर बोल्यो ।

“इँटा–माटो पन्छाउनै वर्ष दिनभन्दा बढी लाग्यो, जग हाल्न त झन् कति समय लाग्न हो,” फुस्स चुरोटको धूँवा उडाउँदै अर्कोले थप्यो ।

आएको अर्कै कामका लागि हो । म त यहीँ अल्झिएछु । एकछिन पानीले बिथोल्यो । केही बेर त्यहाँको दृश्यले । आर्यघाट पुगेपछि मलाई जीवनको अन्तिम दृश्यले घोच्न थाल्छ । त्यसो त नश्वर शरीर लिएर जन्मिएपछि मृत्यु अनिवार्य सत्य हो । स्वाभाविक/अस्वाभाविक जे–सुकै होस्, मृत्यु प्रिय कुरा कुरा हुँदै होइन । र त, तर्सिन्छन् मान्छेहरू ।

धेरै बेरपछि मैले खोजेका पात्र आए– ज्ञानप्रसाद आचार्य । आर्यघाट आएपिच्छे नै म उनलाई देखिरहन्छु । तर, कुराकानी भने भएको छैन । उनी शव जलाउनेमध्ये सबैभन्दा पुराना हुन्– यत्तिसम्म सुनेको छु ।

“आज त धोती कछाडमा हुनुहुन्न नि !” मैले ‘आइसब्रेक’ गरें ।

“दुई दिन भइसक्यो लाश छुन नपाएको, तपाईं के–को धोती कछाडको कुरा गर्नुहुन्छ ?” उनले प्वाक्कै बोलिहाले ।

धत् म पनि ! खाली चिता देख्दा–देख्दै त्यस्तो सोध्न नहुने ।

“भन्नुस् किन भेट्न बोलाउनु भएको ? लाश जलाइदिनु पर्यो ?” गह्रौ आँखा पारेर उनले सोधे ।

“हैन हैन । आज तपाईंसँग केही कुराकानी गर्छु, मसँग बोल्नु त हुन्छ नि है ?” मैले भेट्नुको तात्पर्य खुलाएँ ।

उनी हत्तपत्त कसैसँग बोल्न मान्दैनन् । त्यसमाथि मनको कुरा खोल्नु त झन् बागमती कञ्चन तुल्याउनुजत्तिकै गाह्रो रहेछ ।

“आऊ नानी यता बसेर कुरा गरौं,” नजिकैको फलैंचामा बोलाए ।

मन ढुक्क भयो ।

० ० ०

उनको घर काठमाडौंकै थानकोट हो । उपत्यका छिर्ने चार भन्ज्याङभित्रकै भए पनि बाल्यावस्थामा निकै दुःख पाए । खान लाउन असाध्यै गाह्रो थियो । आफ्नो जग्गा–जमिन नहुँदा बाबुले सार्वजनिक जग्गामा सानोतिनो छाप्रो बनाएका थिए । हातमुख जोर्नै दुःख भएपछि उनी कामको खोजीमा भौतारिँदै पशुपति आर्यघाट आइपुगे ।

एक सुका भाडामा लहरी चढेर पशुपति आइपुगेका हुन् रे उनी ! पढेलेखेका थिएनन्, काम भेट्टाए– शव जलाउने दाउरा बोक्ने । उमेरले भर्खर १२ टेकेका थिए । एउटा शव जलाउने दाउरा बोकेबापत उनले १२ रुपैयाँ पाउँथे । तर, दाउरा ल्याउन निकै गाह्रो हुन्थ्यो । दाउरा ओसार्ने क्रममा उनी कहिलेकाहीँ शव बोक्न पनि जान्थे ।

वीर अस्पतालदेखि शव बोकेर उनले पशुपतिसम्म पुर्याएका छन् । त्यसबेला धेरैजसो काँठ क्षेत्रका मानिसले पशुपति ल्याएर शव जलाउँथे । मान्छे लगाएर शव जलाउने प्रचलन बसिसकेको थिएन । दाउरा र शव बोक्दा बोक्दै उनले शव जलाउन पनि सिके ।

शव बने साथी

१५–१६ वर्षकै उमेरदेखि शव बोक्ने र जलाउने काममा पोख्त हुन थालेपछि शवहरु नै उनका साथी बने । बिहान उदायचलदेखि अस्तायचलसम्म मात्र होइन, कहिले त मध्यरातसम्म पनि उनी आर्यघाटमै हुन्थे । आर्यघाट उनको घरजस्तै बन्यो । आर्यघाट टेक्दा जुँगाको रेखी बसेको थिएन । अहिले दाह्री फुलिसक्यो । शिरदेखि घाँटीसम्म कालो रौं देख्नै मुस्किल हुन्छ ।

उनलाई आफ्नो पेसाप्रति हीनताबोध कहिल्यै भएन । मानिसको मन न हो– सुरुसुरुमा शव जलाएर कोठामा पुगेको दिन दिगमिग लाग्थ्यो । खाना खान मन लाग्दैनथ्यो । बिस्तारै बानी पर्दै गयो । त्यसैमा अभ्यस्त हुन थाले उनी ।

मनमनै लाग्थ्यो– शव जलाउने जस्तो पवित्र पेसामा लाग्न पाएको छु, खुसी नै हुनुपर्छ । भन्छन्, “मृत्युसंस्कार जीवनको अन्तिम कर्म पनि हो । त्यसो त हिन्दू संस्कारमा शवलाई भगवानसरह नै पुजिन्छ । यही सोचेर म आफूलाई धन्य ठान्छु ।”

सुरुसुरुमा घरपरिवार र इष्टमित्रले उनलाई यस्तो काममा नजान अनेक सल्लाह दिए । परिवारले कैयौंपल्ट शव जलाउने काम छाड्न भने । कतिपय आफन्तले मुर्दा जलाउने भनेर हेयभाव राख्दा उनलाई पीडा हुन्थ्यो ।

तर, पनि उनले यो पेसा छाडेनन् । शव जलाउन त छाडूँला तर त्यसपछि कहाँ जाने ?

यही प्रश्नले उनलाई झस्काउँथ्यो ।

काम खोज्दै पशुपति आइपुगेका ज्ञानप्रसादको दिनचर्या बन्यो– शव जलाउने, चिता तयार गर्ने, मृत शरीरका वस्त्र फुकाउने, दागबत्तीसँगै आगो सल्काएर शवलाई खरानी बनाउने र अस्तु छुट्ट्याएर चिता पखाल्ने ।

“भाग्यले ठोसेपछि बाँसले घोचीघोती मृत शरीरलाई खाग बनाउँदै जीवन बित्यो,” अनुहार खुम्च्याउँदै उनले भने ।

उनले दिनमा तीन वटासम्म शवको दाहसंस्कार गरेका छन् । गरिबदेखि धनीसम्मका शव जलाएका छन् । कतिले दुई–चार सय थमाइदिएका छन् । कतिसँग शव जलाउने पैसासमेत नभएकाले बिनापैसा पनि सद्गत गरिदिएका छन् ।

आगोको लप्कामा रापिएर शव जलाउन सजिलो छैन ।

“हेर्नुस् त, अस्ति आँखीभौं नै डढ्यो,” उनले खौरिएसरह भएको आँखीभौं देखाए ।

“आगोले हात पाखुरा नपोलेको त दिनै हुन्न,” उनी भन्दै थिए, “दुःख भयो भनेर काम छाडी हिँडेको भए जहान छोराछोरी भोकै पर्थे । कष्ट सहेरै भए पनि काम गरिरहेको छु ।”

दुःख गरेर खाँदा पनि दुःख दिने कति छन् कति । आर्यघाटतिर बरालिएर हिँड्नेदेखि मलामीसम्मको हन्डर बेहोरेका छन् उनले ।

हिजोआज बेरोजगार जस्तै

काम सुरु गर्दाताका वीर अस्पतालदेखि काँधका छाला खुइल्याएर शव बोक्दै ल्याएर जलाउँदा उनले ६० रुपैयाँ पाउँथे । अहिले त्यहीँ आएका शव जलाएबपात १०८० रुपैयाँ पारिश्रमिक पाउँछन् । तर, उतिबेला र अहिलेको खर्चमा आकास–पातालजत्तिकै फरक छ । दिनकै काम पाइन्छ भन्ने टुंगो छैन ।

जति शवमा आगो झोसे पनि र रोटीझैं आगोमा सेकिए पनि जीवनका दुःख सकिएनन् । घर बनाउन त परैको कुरा– जग्गासमेत जोड्न सकेनन् । दुई वटा जहान–परिवार छन् उनका । कहिलेकाहीँ त लालाबाला भोकै पनि परे । घाट व्यवस्थापनले सात–सात दिनमा पैसा भुक्तानी गर्छ । हिजोआज त सात दिनमा एउटामात्रै शव जलाएको पैसा पाउँछन् उनले ।

“तीन दिन भयो शव छुन नपाएको,” उनले सुनाए, “त्यत्ति पैसाले के गर्नू ?”

अहिले पशुपति आर्यघाटमा विद्युतीय उपकरणबाट शव जलाइन्छ । मेसिनमा शव जलाउन थालेपछि भष्मेश्वर घाट सुनसान छ । दिनको एउटा–दुइटा शव आउन पनि मुस्किल हुन्छ । मेसिनमा शव जलाउनुभन्दा अघि औसत ३० शव आर्यघाट ल्याइन्थे ।

अहिले ३२ जना शव जलाउने ब्राह्मण, लाश जलाउने दाउरा र जलाएर बाँकी रहेका ठुटा ल्याउने–लैजाने सय कर्मचारी बेरोजगारजस्तै भएका छन् । शव आउन घटेपछि पशुपति क्षेत्र विकास कोष र आर्यघाट व्यवस्थापनले आफूहरूलाई निकाल्न खोजेको दुःखेसो आचार्य पोख्छन् ।

“जीवन नै आर्यघाटमा बिताइयो, रातदिन मुर्दा पोलेर बल, वैंश र उमेर सकियो, खाली हात त कसरी जान सकिन्छ र ?” भिजेका आँखा लुकाउँदै उनले भने, “जुनसुकै पेसा र कामको पनि आफ्नै इज्जत हुन्छ । चालीसौं वर्ष अन्य क्षेत्रमा काम गरेको भए पेन्सन/उपदान पाइन्थ्यो, तर घाट व्यवस्थापनले हामीलाई त्यसै पन्छाउन खोजेको सुनेका छौं ।” टनाटन शव हुँदा रातबिरात नभनी काम गरेकाले आफूहरुलाई सेवा–सुविधासहित बिदा गर्नुपर्ने उनको माग छ ।

मेसिन सस्तो, घाट महँगो

आर्यघाटभन्दा मेसिनमा शव जलाउन सस्तो पर्ने भएकाले त्यसतर्फ आकर्षण बढेको उनी ठम्याउँछन् । आर्यघाटमा एउटा शवको दाहसंस्कार गर्न घ्यु, कपुर, श्रीखण्ड, पराल, दाउराका स–साना मुठा र दुई क्विन्टल दाउरा लाग्छ । एक किलो दाउराको १० रुपैयाँ पर्छ । ब्राह्मण लगाएर शव जलाउने भए घाट व्यवस्थापनलाई १८ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । आफैं जलाउने हो भने ६ सय रुपैयाँमात्रै तिरे पुग्छ । तर, दाउराको अलग्गै पैसा बुझाउनुपर्छ । यो भष्मेश्वर घाटको हो ।

ब्रह्मनालको समीप सर्वसाधारणका लागि एउटा चिता छ, जसलाई आर्यघाट भनिन्छ । त्यहाँचाहिँ शव दाह गर्न ३२ सय रुपैयाँभन्दा बढी सेवा शुल्क तिर्नुपर्छ ।

घाटमा शव जलाउन १० हजार रुपैयाँसम्म खर्च लाग्ने भएकाले पनि विद्युतीय मेसिनतिर आकर्षण बढेको आचार्यले सुनाए । विद्युतीय मेसिनका लागि ३ हजार रुपैयाँ भुक्तान गरे पुग्छ । त्यससँगै समयको बचत पनि हुन्छ । आर्यघाटमा एउटा शव खरानी हुन तीनदेखि पाँच घण्टासम्म लाग्छ भने मेसिनमा आधा घण्टामै काम फत्ते हुन्छ ।

परम्परा पछ्याउनेहरू भने अझै पनि आर्यघाटमै आउने गरेको उनी बताउँछन् । “ब्राह्मणद्वारा नै जलाउनु पर्छ, आफ्नो धर्म–संस्कार र परम्परा छाड्नु हुँदैन भन्ने मान्यता राख्नेहरू जलाएरै दाहसंस्कार गर्न रुचाउँछन्,” उनले भने ।

अरुले जे जस्तो रूपमा बुझे पनि उनका लागि शव जलाउनु पवित्र कार्य हो । हिन्दू धर्मग्रन्थमा पनि शव जलाउँदा निकै पुण्य मिल्ने उल्लेख गरिएकाले उनीहरू पेटी, गन्जी र धोती फेरेरै शव जलाउँछन् । दाहसंस्कार सकेर चिता पखालेपछि नुहाइधुवाइ गर्छन् र शरीरमा धारण गरेको यज्ञोपवित (जनै) फेर्छन् ।

“विधि पुर्याई र चोखोनितो नगरी हामी शव छुँदैनौं,” उनले भने ।

ज्युँदासँग डर लाग्छ

मृत शरीर छुन घिनाउने र मृत शरीरसँग डराउनेको भीडमा उनी यस्ता पात्र हुन्, जसलाई ज्युँदा मान्छेसँग डर लाग्छ । “ज्युँदो मानिसले पो दुःख, कष्ट दिन्छ । मृत मानिस त मरेर गइगयो नि, उसले कसरी दुःख दिनू ?” उनले हाँस्दै भने, “रातभर मसानघाटमा बसेर काम गर्दा पनि मलाई डर लागेन । ज्युँदा मान्छे बरु प्रेत र पिचासजस्ता हुन्छन् । मरेका मान्छेले भन्दा यहाँ बाँचेका मान्छेहरूले दुःख दिइरहेका छन् ।”

दैनिक चार–पाँच वटा शव त विदेशबाटै आउँछन् । उमेर पुगेर मृत्यु भएका र अल्पायुमै जीवन गुमाउने थुप्रै मृत शरीरलाई उनले खरानी बनाएका छन् । आर्यघाट हो, मानिसहरू रुवावासी गर्छन् । जस्तै मानिस पनि आर्यघाट पुग्दा विक्षिप्त बन्छ ।

“भर्खर विवाह–बन्धनमा बाँधिएकाको सिन्दुर, पोते र चुरा मागेर श्रीमान्को शवसँगै जलाउनु पर्दा धेरै पटक दुःख र पीडा बोध भएको छ । ओठ निचोर्दा दूध आउने बालकले पितृवात्सल्य गुमाउँदै दागवत्ती दिँदा मन भक्कानिन्छ । मानिसको मन न हो, मेरो पनि आँखाबाट आँसु आउँछ । पैसा कमाउन गएको छोरो बाकसमा बेरिएर फर्किंदा तिनका बा–आमा भक्कानिएर रोएको देखेको छु, कस्तो पेसामा लागिएछ भनेर थकथकी पनि लाग्छ,” उनले एकैसासमा भने ।

विदेशबाट आएका शव जलाउन बढी खर्च लाग्छ । “विभिन्न रसायन र औषधि हालेर ल्याइएको हुन्छ । शवको अघिल्तिर पर्नै गाह्रो हुन्छ । सास फेर्नै सकिँदैन,” उनले भने ।

शव जलाउँदा जलाउँदै जीवनका ६६ हिँउद सकिए । जति दौडधूप गरे पनि मानिस चिता र चिहानभन्दा पर पुग्दैन । चन्द्रमामा पुगेर फर्किए पनि आइपुग्ने घाट नै हो । यही सोचेर उनी सन्तुष्ट छन् । जति धन सम्पत्ति भए पनि, कमाए पनि मानिस रित्तै हात बिदा भएको देखेकाले पैसा कमाउन नसकिएकोमा उनलाई पश्चाताप छैन । हजारौं शवलाई खरानी पारिसकेकाले पनि होला– मृत्युको भय र चिन्ता पनि छैन ।

“म पनि यसैगरी बागमतीमा मिसिने र माटोमा विलय हुने त हो नि भन्ने लाग्छ र जीवनमा प्रगति गर्न सकिएन भन्ने दिमागमै आउँदैन,” जाँदाजाँदै उनले जीवनदर्शन सुनाए ।

कोही मान्छे बोल्नकै लागि जन्मिन्छन् । बोलेरै मान्छेको मनमा ‘राज’ गर्छन् । अनुहारको भावभंगिमाबाट बाहिर निस्किने हो भने कतिपय यस्ता आवाज भेटिन्छन्, जसलाई सुनिरहूँ जस्तो लाग्छ ।

अच्युत घिमिरे प्रकृतिका त्यस्तै उपहार हुन्, जो बोल्नकै लागि जन्मिए, बोलेर मुग्ध पार्नकै लागि आफूलाई हुर्काए ।

बोल्नेको पीठो पनि बिक्छ भन्ने उखान कतिपय बोल्नेकै लागि ‘फिट’ हुँदैन । यो उखानको उत्पत्ति र यसले दिने अन्तर्यबारे जसले जेसुकै अर्थ लगाओस्– अच्युत बोल्छन् र त बिकेका छन् । उनी सुनिन्छन् मात्रै, देखिँदैनन् कतै । यसकारण अच्युत घिमिरे एउटा आवाजमात्र हो ।

० ० ०

उनको बाल्यकाल औसत बालबालिकासरह बित्यो । काठमाडौंमा जन्मे–हुर्केकाले खासै अभाव र दुःख झेल्नु परेन । पढाइमा पनि उनी निकै अब्बल थिए । बाल्य र किशोरावस्था पढाइलेखाइमै बित्यो । घरायसी काममा पनि उत्तिकै पोख्त थिए । काँठ क्षेत्रमा जन्मिएकाले परिवार खेती–किसानीमै निर्भर थियो । माटोको स्वाद र गन्ध उनले थाहा नपाउने कुरै भएन ।

सानो छँदा ‘पत्रकारिता पनि पेसा हुन्छ ? लेखेर, किताब पढेर पैसा कमाइन्छ ?’ भन्ने लाग्थ्यो । रेडियोमा बोल्ने पनि काम हुन्छ र ? भन्ठान्थे उनी । त्यसैले होला– आम बालकसरह उनको मनमा पनि थियो– राम्रो पढें भने इन्जिनियर बन्छु ।

भीडभाडमा बोल्न उनलाई निकै धक लाग्थ्यो । झन् स्टेजमा चढेर बोल्ने भनेपछि त लगलग काँप्थे ।

रेडियोसँगको नाता
उनी कक्षाका प्रथम विद्यार्थी थिए । एसएलसी दिइसकेपछि उनले आफूसँगै पढेर फेल भएका साथीभाइ र एक ब्याच तलका विद्यार्थीलाई घरमै ट्युसन कक्षा पढाउँथे । ट्युसन पढ्न आफूसरहका मात्रै होइन, ठुल्ठूला विद्यार्थी पनि आउँथे । तीमध्ये एकजना शास्त्रीय संगीतका विद्यार्थी पनि थिए । उनी राम्रो बाजा बजाउँथे । शम्भु योञ्जन थियो उनको नाम । कसैकसैले उनलाई लालवीर योञ्जन पनि भन्थे । उनी नेपालका एकमात्र समयवादक मदनदेव भट्टका शिष्य थिए ।

सांगीतिक प्रस्तुति देखाउन जाने क्रममा उनले एउटा सूचना पढेका रहेछन् । यो विसं. ०५५ तिरको कुरा हो, त्यतिबेला काठमाडौंको तीनचुलेमा एचबीसी एफएम सञ्चालनमा आउन लागेको थियो । उपत्यकाको त्यो पाँचौं एफएम थियो ।

ट्युसन पढ्ने विद्यार्थीहरूले उनको आवाजको प्रशंसा गर्थे । उनीहरुले अच्युतलाई भने, “सर तीनचुलेमा रेडियो खुल्दैछ रे ! तपाईंको बोली यति मीठो छ, दरखास्त हाल्नुस् न !”

उनलाई आफू मीठो बोल्छु भन्ने लाग्दैनथ्यो । फेरि के, कसरी बोल्ने पनि थाहा थिएन । उनले तत्कालै जवाफ फर्काए, “ह्या जान्नँ । मलाई लाज हुन्छ । बोल्नै आउन्न ।”

तर, शम्भु मान्नेवाला थिएनन् । बलियो पनि थिए उनी । जबर्जस्ती तानेरै लगेर फर्म फराए । त्यसको झन्डै नौ महिनापछि नतिजा प्रकाशन गरियो । क्लाउडियो रक्की भन्ने इटालियन नागरिक प्रोजेक्ट म्यानेजर थिए । रक्कीले नै उनलाई छनोट गरे । ६ सय जनाले दरखास्त हालेका थिए । तीमध्ये १०५ को नाम ‘सर्ट लिस्ट’मा पर्यो । अन्तिममा तीन जना बोलाइयो । त्यसमध्ये उनी पनि परे ।

कुवेर चालिसे र देवेन्द्र भट्टराईसँगै उनको पनि नाम निस्किएको हो त्यतिबेला । चालिसे र भट्टराई अहिले पनि पत्रकारिता क्षेत्रमै सक्रिय छन् ।

काठमाडौं आसपासका जिल्लामा एचबीसीको राम्रो छाप बसिसकेको थियो । उनले त्यहाँ पत्रकारिताभन्दा पनि रेडियो कार्यक्रम उत्पादनमा भिज्ने र खारिने मौका पाए । त्यसलाई उजिल्याउन भूमिका खेलेका थिए इटालियन नागरिक रक्कीले । उनलाई नेपाली भाषाको राम्रो ज्ञान थिएन तर पनि कार्यक्रमको गुणस्तरीयतामा विशेष चासो राख्थे । भाषा अनुवाद गर्न लगाएरै भए पनि कार्यक्रमको स्तर नाप्थे ।

त्यतिबेला रेडियो कार्यक्रमलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा उनीहरूको विशेष ध्यान जान्थ्यो । रक्की करिब तीन वर्षजति बसे । उनले छाडेपछि त्यो ठाउँमा आए हरिशरण लामिछाने । उनी आएपछि एचबीसी समाचारको रफ्तार उत्तिकै अघि बढ्यो ।

र, जन्मियो ‘कथावाचन’
रक्की प्रोजेक्ट म्यानेजर हुँदा नयाँ–नयाँ ढाँचाका कार्यक्रम ल्याउन आग्रह र अभिप्ररित गरिरहन्थे । अच्युतले विभिन्न कार्यक्रमको प्रस्ताव लगे । जुन प्रस्ताव लगे पनि ‘परम्परागत’ भयो भन्दै रक्कीले अर्को प्रस्ताव तयार पार्न भन्थे । अच्युतले १५ वटा जति प्रस्ताव तयार पारे होलान् तर रक्कीले कुनै मन पराएनन् । उनले भन्थे, “तिमीहरू यस्तै कार्यक्रममात्रै तयार पार्छौ, अलि नयाँ सोच न !”
हैरान भइसकेका थिए । एकदिन फ्याट्टै सोचे– रेडियो कथावाचन कार्यक्रम गर्ने । स्क्रिप्ट तयार पारे र डेमो कार्यक्रम पनि बनाए । त्यो सुनेपछि बल्ल रक्की मञ्जुर भए ।

त्यो विशुद्ध नयाँ प्रयोग थियो । रेडियो कार्यक्रमकै इतिहासमा एउटा नवीन प्रस्तुति पनि थियो । हिट्स एफएमबाट डिएर कल्याणले पत्रहरू वाचन गर्थे । त्यसको छुट्टै छाप थियो । तर, गद्य साहित्य वाचनको कार्यक्रम ‘रेडियो वाचन’ नै पहिलो हो । ०५७ को वैशाख–जेठतिरबाट उनले त्यो कार्यक्रम सुरु गरे ।

उनले सुरुमा गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहभित्रको ‘चिताको ज्वाला’ वाचन गरे । दोस्रो भैरव अर्यालको निबन्ध पढे । १२–१५ भागपछि मात्रै उनले उपन्यास वाचन सुरु गरेका हुन् ।

‘बुलबुल’को कथा
हरिशरण लामिछानेले पनि डेढ–दुई वर्ष काम गरेपछि एचबीसी छाडे । त्यसपछि प्रकाश थापा नयाँ स्टेसन म्यानेजर भएर आए । उनी हाल अमेरिकामा छन् । अच्युत प्रडक्सन म्यानेजर थिए । त्यस्तै क्रममा थापाले आग्रह गरे, “अच्युतजी एउटा गजलको कार्यक्रम तपाईंले नै चलाउनुपर्यो ।”

‘रेडियो वाचन’ सुरु गरिसके पनि उनलाई गजलको बारेमा आधारभूत ज्ञान थिएन । र, पनि अप्ठ्यारो मानी–मानी भने, “हुन्छ नि दाइ, म कोसिस गर्छु ।”

कार्यक्रम त सुरु गर्ने भनियो तर नाम पो के राख्ने ? बडो असमञ्जसमा परे उनी । रुपेश सिलवाल, उज्ज्वल अधिकारी, दिलीपकुमार ज्योति र देवेन्द्र सुवेदीसँगै बसेर नाम जुराउने प्रयत्नमा लागे । तर, नाम के राख्ने भन्ने अन्योल नै थियो । त्यस्तैमा रुपेशले फ्याट्टै नाम उच्चारण गरे– बुलबुल ।

इरानी चरा बुलबुल इरानीहरूले प्रयोग गर्ने उपमा पनि हो । गजलहरुमा प्रतीकका रूपमा प्रयोग गरिने पदावली पनि हो यो । राति उड्ने र गाउँदै हिँड्ने भएकाले गजल कार्यक्रमको नाम यही उपयुक्त हुने ठाने उनीहरुले ।

‘बुलबुल’ कार्यक्रम भनेपछि सुरु–सुरुमा मानिसहरु हाँस्थे । अहिले देशभरका ५० भन्दा बढी रेडियो स्टेसनबाट ‘बुलबुल’ प्रसारण हुन्छ । यो ‘कमन’ नाम भएको छ । आवाजको दायराभित्र स्रोताहरूलाई निरन्तर बाँधिराखेको छ । अच्युत भन्छन्, “एचबीसीदेखि नै ‘बुलबुल’ सुन्ने स्रोतालाई यसले बाँधिरहन सफल भएको छ । भलै, त्यो समूह सीमित किन नहोस् ।”

यसबाट प्रभावित भएरै अच्युतले सामाजिक सञ्जाल (फेसबुक, ट्विटर)मा समेत नामको पछाडि ‘बुलबुल’ झुन्ड्याएका छन् ।

एसबीसी बन्द भएपछि केही समय उनले एन्टेना फाउन्डेसनमा काम गरे । त्यसपछि उज्यालो ९० नेटवर्कमा जोडिए । अहिले पनि उनी उज्यालोमै छन् । कार्यक्रम सुन्ने स्रोता धेरै भएकाले उज्यालोबाट तिनै कार्यक्रम प्रसारण भयो । ‘रेडियो वाचन’ नाम परिवर्तन भएर ‘श्रुतिसंवेग’ बन्यो भने ‘बुलबुल’ त्यही नामबाट प्रसारण हुँदै आइरहेको छ ।

अब्बल स्वर भएकाले स्टेज कार्यक्रमहरूमा बोल्न आग्रह गर्नेहरू पनि थुप्रै छन् । तर, उनी ती आग्रह स्वीकार गर्दैनन् । यसकारण कि उनी आफ्नो अनुहार देखाउन चाहँदैनन् । औंलामा गन्न सकिने स्टेजमामात्र चढेर प्रस्तुति दिएका छन् ।

अनुहारमा के छ र !
अच्युतका प्रशंसक लाखौं छन् । एचबीसीदेखि उज्यालोसम्म आइपुग्दा उनले १८ वर्ष त रेडियो मै बिताइसके । ‘बुलबुल’ र ‘श्रुतिसंवेग’ धेरै स्रोताको प्रिय कार्यक्रम हो । उनले बाचन गरेका कथा, निबन्ध, उपन्यास आदि गद्य साहित्यका अडियोहरू मोबाइलमा राखेर सुन्ने या सीडीमा सुरक्षित राख्नेहरूको कमी छैन ।

तर, उनी कतै देखिँदैनन् ।

सुमधुर र कोकिल कण्ठ आवाजका धनी अच्युत आफ्नो अनुहार सकेसम्म बाहिर देखाउन चाहँदैनन् । उनले जति प्रशंसक बटुले, त्यो सबै उनको आवाजकै करामत हो । त्यसकारण पनि उनी आफूलाई सकेसम्म भीडमा देखाउन चाहँदैनन् । आवाजले चिनिएको मानिसको अनुहार हेरिरहन आवश्यक छैन भन्छन् उनी । यसो भनिरहँदा उनले एउटा अंग्रेजी भनाइलाई स्मरण गरे– यु विल बी ह्वाट यु आर मेड फर ।

रेडियोमा बोल्ने मानिसको काम स्टुडियोको कुनामा बसेर बोल्ने हो । नदेखिउन्जेल मान्छेको दिमागमा आफ्नै मौलिक तस्बिर भएर बाँचेको हुन्छ । देखिएपछि त उस्तै त हो– दुइटा आँखा, दुइटा हात भएको अरूजस्तै । कस्तो होला भन्ने उत्कण्ठा मान्छेको मनमा जति बाँकी रहन्छ, त्यति नै आफू बाँचिरहन्छु भन्ने लागेर पनि उनी लुकेका हुन् रे ! भन्छन्, “मलाई आफू रेडियोकै लागि बनेको झैं लाग्छ । त्यसैले अनुहार देखाउँदै हिँड्न मन लाग्दैन । अच्युत घिमिरेको आवाज चिनिदिए पुग्छ । अमूर्त स्वरूपमै चिनिरहून् भन्ने लाग्छ ।”

त्यसकारण पनि उनले सामाजिक सञ्जालमा तस्बिर हाल्दैनन् । सभा–समारोहमा सरिक पनि हुँदैनन् । बाह्रखरीका लागि तस्बिर खिच्न आग्रह गर्दा उनले भने, “भो नखिचौं, बरु म आफैं पठाइदिन्छु ।”

आवरणमा प्रयोग गरिएको तस्बिर उनी आफैंले पठाइदिएका हुन् ।

० ० ०

सुरुमा उनी लेखनमा त्यति सक्रिय भएनन् । तथापि उनले एउटा पुस्तकमा ‘गोस्ट राइटिङ’ गरेका छन् । उनको संगत प्रायः लेखक÷साहित्यकारसँग भइरहने हुनाले अब लेखनमा पनि सक्रिय हुने सोचेका छन् । र, आफ्नै पुस्तक लेख्ने जमर्को गर्दैछन् ।

राम्रो आवाज छ उनको तर आवाजमा मीठास ल्याउन कुनै मेहनत गरेका छैनन् । आवाजमा उनको आफ्नै उचाइ छ । यो प्रकृतिकै देन हो । र, त उनी भन्छन्, “म त बोल्नकै लागि जन्मिएको हुँ जस्तो लाग्छ ।”

अचेल चिसो खान नहुने भएको छ उनलाई । त्यसैले आक्कलझुक्कल सभा–समारोहमा जाँदा चिसो पेय पदार्थबाट परै रहन्छन् ।

उनी आफ्नै कार्यक्रमको नियमित श्रोता पनि हुन् । सुरु–सुरुमा आफ्नो कार्यक्रम सुन्दा आफैंलाई चित्त बुझ्दैनथ्यो, अहिले प्रिय लाग्न थालेको छ ।

० ० ०

मानिसहरू ठान्छन्– अच्युतले छानेर स्तरीय रचना/किताबमात्र वाचन गर्छन् । तर, त्यसो होइन रहेछ । उनी आँखालाई नबिझाउने, मनको नाद नबिग्रने र भाषाको बहाव मिलेका रचनालाई उच्च प्राथमिकता दिन्छन् । त्यसबाहेक श्रवणयोग्य रचना नछाडी वाचान गर्छन् । कतिपय उपन्यास सुन्दा मजा आउने हुन्छन्, कतिपय पढ्दा । भन्छन्, “यसकारण मैले ‘श्रुतिसंवेग’मा वाचन नगरेका किताब स्तरहीन् हुन्छन् भन्ने कदापि होइन ।”

‘समय त्रासदी’ सरुभक्तको स्तरीय किताब थियो । मानिसहरूले ‘पागलवस्ती’को प्रशंसा गरे पनि त्यसलाई माथ ख्वाउने पुस्तक लाग्छ उनलाई त्यो । उनले त्यो पुस्तको एउटा भागसम्म मात्र वाचन गरेका छन् । बाँकी भागमा श्रवणमजा नआउने लागेर उनले वाचनै गरेनन् ।

बजारमा हल्ला चलेको भरमा उनले वाचन गर्दैनन् । विवादयुक्त पुस्तकलाई पनि वाचनको पंक्तिमा राख्दैनन् । नियमित स्रोताका सिफारिस पनि पढ्छन् । वाचन गर्नुअघि उनले लेखक र प्रकाशकको अनुमति लिन भने बिर्सिन्नन् ।

अहिलेसम्म कति पुस्तक र रचना वाचन गरियो, त्यसको यकिन तथ्यांक छैन उनीसँग । तथापि पारिजातका ‘शिरीषको फूल’ र ‘परिभाषित आँखाहरू’ तथा बीपी कोइरालाका सबै पुस्तकहरू उनलाई सर्वाधिक मन परेका हुन् । यस्तै स्तरीय किताब लेखियून् भन्ने लाग्छ उनलाई ।

काठमाडौं । नारायणहिटी संग्रहालयको उत्तरपट्टि एउटा पुरानो बस्ती छ, रजकहरूको । यद्यपी घरहरू सबै नयाँ बनिसकेका छन् । कोही अग्ला, कोही मझौला, कोही भुईँ तल्ले, यस्तै । बिचमा सतल र महादेवको मन्दिर पनि छ ।

स्थानीय हरि रजक भन्छन्, “यो शक्तिपिठ हो, स्वस्थानीको ब्रतकथामा उल्लेख भएअनुसार शतिदेवीको फोक्सो पतन भएको ।” त्यसका अलावा इन्द्रजात्राको तेस्रो दिन यहाँ ठूलो मेला पनि लाग्छ ।


“बुद्ध पूर्णिमाको दिन पनि विशेष मेलाको आयोजना हुन्छ”, अर्का युवकले सुनाए ।

सतलमा पूरै डोरी टाँगिएको छ । डोरीमाथि लस्करै लुगा सुकाइएको छ । अस्पताल र होटल रेष्टुराँका जस्ता लाग्ने सेता र हरिया कपडाहरूले टोल झिलिमिली देखिन्छ । तर, यो एकाध देखिइरहने दृष्य होइन । यहाँ यसरी लुगा सुकाउन थालिएको कति भयो त्यहाँका कसैलाई पनि यकिन छैन । लुगा धोएर सुकाउनु र त्यसैबाट जीविकोपार्जन त्यहाँका बासिन्दाहरूको मुख्य ‘कर्म’ बन्दै आएको छ ।

बिहानको सवा आठ बजेको छ । टोलका मानिसहरू कोही बाल्टी, कोही बाटामा भरिभराउ लुगा बोकेर चौरी (अहिले ढुंगा छापेर सत्तल बनाइएको छ) मा भेला भइसकेका छन् । लुगा सुकाउन आउनेमा महिलामात्रै छैनन्, पुरुष पनि उत्तिकै छन् ।

कानमा मुन्द्रा लगाएका, हेर्दा खाइलाग्दा ती युवकले अरूको भन्दा बढी नै लुगा बोकेका छन् । १५/२० मिनेटभित्रै उनले करिब सय जोर लुगा सुकाउन भ्याए ।
आकाशतिर हेरे र लामो स्वास फेर्दै भने, “धेरै दिनपछि आज त घाम लाग्ला जस्तो छ ।”

उनीसँग कुरा गर्न सुरु गर्दा फ्याट्टै भनिहाले, “हाम्रो पेशाको पनि समाचार बन्छ र ! आजसम्म कोही सोधखोज गर्न आए जस्तो लाग्दैन,” उनले गुनासो सुनाइहाले ।
० ० ०
धोवीचौरलाई हिजोआज कैलाशचौर पनि भनिन्छ । कैलाशचौर क्षेत्रमा मात्रै लुगा धोएर जीविकोपार्जन गर्ने रकज परिवारको संख्या झन्डै दुई सय छ । उनीहरू कहिलेदेखि यस्तो काममा आवद्ध भए त्यसको यकिन तथ्यांक र उल्लेखित इतिहास छैन । हिन्दू धर्म ग्रन्थमा उल्लेख भएअनुसार, रावणले सीता हरण गरेर लैजाँदा अरू कसैले देखेको बताएनन् । तर, लुगा धोइरहेको धोवीले देखेको बताएका कारण भगवान् रामले सय जोर लुगा धुँदा एकजोर बढी पाउन् भन्ने बरदान दिए बाहेक यो जाती र पेशासँग जोडिएको अर्को कुनै किम्बदन्ती र किस्सा पनि छैन ।

लुगा धुने उनीहरूको पेशा नै हो । त्यसो त उनीहरू खेतीकिसानी पनि गर्छन् । तर, खेतीकिसानीबाट भन्दा उनीहरूको घरगृहस्थी लुगा धोएरै चलेको छ ।

ती युवकको नाम हो रिजेन रजक । सात वर्षकै उमेरदेखि नै लुगा धुन थालेका हुन् उनले ।

“बाबुबाजे र आमाहरूले धोएको देखेर लुगा पछार्न सिकेँ, पुर्ख्यौली पेशा भएकाले नधोइ धर थिएन,” उनले सुनाए ।

सुरुमा लुगा धुन सजिलो थिएन । त्यसो त लुगा लिन पनि घरघर पुग्नु पर्थ्यो । पैसा नहुने भएकाले अन्नपात ज्यालामा पनि लुगा धुनुपर्थ्यो । नारायणहिटी पछाडी भएकाले राजामहाराजा र तिनका नातेदार तथा राणा परिवारकासमेत लुगा धुन्थे उनीहरू । जस्तोसुकै उच्च ओहोदाका मानिसहरूको लुगा धोए पनि भनेजस्तो पैसा भने पाउँदैनथे ।

“मोहन शमसेरको परिवारको लुगा त अहिले पनि धोइरहेका छौँ,” रिजेनले बताए ।
सानो हुँदा एक जोर लुगा धोए बापत उनले एक/दुई रुपैयाँ पाउँथे । अहिले बढेर ५० देखि १०० रुपैयाँसम्म पुगेको छ तर दुःख उस्तै छ । त्यसो त उनीहरूले मात्रै लुगा धुने भन्ने पनि छैन । विभिन्न ‘ड्राइ क्लिनर्स’ र उनीहरू भन्दा बाहेकका समूदायले पनि त्यसैलाई पेशा बनाउन थालिसेका छन् । र पनि उनीहरूले नै बढी काम पाउँछन् भन्छन् रिजेन ।



“पुर्ख्यौली पेशा भएकाले पनि होला हाम्रै समूदायका मानिसहरूले लुगा धुने काम बढी पाउँछन्,” उनले थपे ।

पहिलाको तुलनामा लुगा धुन पनि सजिलो छ । अहिले विभिन्न मेसिनहरू निर्माण भइसकेका छन् जसबाट १०/१५ मिनेटमै लुगा सफा र चम्किलो तुल्याउन सकिन्छ । विभिन्न केमिकल, साबुन, सोडा प्रयोग गरेर जस्तौसुकै मैलो लुगा धुन पहिलेजस्तो गाह्रो बेहोर्नु पर्दैन ।

“घर परिवारले प्रयोग गरेका मैलो र पुराना कपडाहरू आउँथे,” ढुंगेधारामा पालो कुरेर एकजोर कपडा धोएर तयार पार्न एकहप्ता जति समय लाग्थ्यो । अहिले त १०/१५ मिनेटमै लुगा धुन सकिन्छ,” उनको त्यतिबेलाको क्षण स्मरण गरे ।

सुरुमा लुगा धुन निकै गाह्रो थियो । मैलो र पुराना लुगाहरूलाई सोडामा ढड्याएर घाममा सकाउनु पर्थ्यो । त्यसलाई ढुंगे धारामा लगेर चुट्ने र साबुनले धोइ पखाली गरिन्थ्यो । सेतो कपडालाई अझै चम्किलो बनाउन खरी (एक किसिमको ढुंगा) समेतको प्रयोग हुन्थ्यो । बिहानैको शीतमा राखेर काठको मुंग्रोले लुगाको धार मिलाउनु पर्थ्यो । अहिलेजस्तो आइरन (इस्त्री) गर्ने चलन आइसकेको थिएन ।

राजा त्रिभुवन हुँदै थुप्रै राणा खानदानको लुगा धोएको छ रिजेनको पुर्खाले । पछिल्लो समय व्यक्तिको घर परिवारको लुगा धोएर मात्र हातमुख जोर्न नपुगेपछि विभिन्न होटलहरूको लुगा धुने जिम्मा लिएको उनी बताउँछन् ।

लुगा धुने(लन्ड्री) पेशा निकै व्यस्थित र व्यवसायउन्मुख पनि हुँदै गएको छ ।

अहिले उनले झन्डै १०/१२ जनालाई लुगा धुने, लुगा मिलाउने, पट्याउने काममा रोजगारी दिएका छन् । त्यसले केहीको घरमा चुल्हो बलेको छ । तर, काम गर्न अहिले पनि सजिलो छैन । बरु गाह्रो बन्दै गएको छ । भनेको बेलामा बत्ती नआउने, पानी नपाइने, लुगा सुकाउने ठाउँको अभाव हुनेलगायत अनेकन समस्या बेहोर्न बाध्य छन् उनीहरू ।


त्यसका अलावा काम गरेर खाँदा पनि उपेक्षाको नजर र हेय भावले हेर्नेहरू घटेका छैनन् । लुगा धुने ‘धोवी’ ठान्दा उनीहरूको मन कुँडिन्छ ।

समाजमा सफा भनिएकाहरूको फोहोर र दुर्गन्धित लुगा धोएर सफेद तुल्याउँछन् । उनीहरूले मैलो पखालिदिएका लुगा लगाएर नै उनीहरू ‘सुकिला’ देखिएका हुन् भन्दा फरक पर्दैन ।

जुनसुकै पेशा र कर्मको पनि आफ्नै इज्जत र प्रतिष्ठा हुन्छ । अझ लुगा धुने त उन्नत पेशा हो भन्छन् रिजेन । “पहिलाजस्तो उँचनिच भन्ने जमाना पनि गइसक्यो,” उनले जोड दिए, “सबैले आआफ्नो काम गरेर खाने हो ।”
छेवैमा एकजना बृद्ध थिए । पाका जस्ता देखिने ती पुराना दिन स्मरण गरे, “पहिला यो काम गर्दा निकै हेय भावले हेरिन्थ्यो, यिनीहरू लुगा नै धुन जन्मिएका हुन् जस्तो !”

“हातको छाला खुइल्याएर लुगा धोएर साहू महाजनकहाँ पुर्यायो पैसा दिने बेलमा मुख खुम्च्याउँथे”, उनले त्यसबेलाको दुःख सम्झिए ।

उनले अगाडि भने, “लुगा धोएर खान पुग्दैनथ्यो । सधैँभरी लुगा पनि आउँदैनथ्यो । लुगा नआएको दिन त भोकै सुत्नु पर्थ्यो । खेतीकिसानी गर्न जग्गा प्रशस्त जमिन थिएन ।”

त्यसो त बेला बखत आउने हावा हुरीको भुमरीले लुगा उडाएर कहाँ पुर्याउँथ्यो । हरायो भनेर किनेरै बुझाउनु पर्ने । “पहिला पहिला त यहाँको लुगा उडाएर नारायणहिटी राज दरबारसम्म पुर्याउँथ्यो”, उनले सुनाए ।

अहिले यो पेशा पनि निकै प्रतिस्पर्धात्मक बनिसकेको छ । त्यसो त व्यवसायको दायरा पनि फराकिलो भएको छ । विभिन्न होटल, रेष्टुराँ, स्कुल, अस्पताल, होस्टल, व्यक्तिका घर उनीहरूको लुगा आउने मुख्य स्रोत हो । प्रतिष्पर्धाले गर्दा कम दरमै लुगा धुनेहरूको दौड चलेकाले काम गर्न सजिलो नभएको उनको ठम्याइ छ ।

उपत्यकामा यस्ता पेशामा आवद्ध हुनेहरूको संख्या धेरै छैन । धोवी चौर, लैनचौर, क्षेत्रपाटी धोवीचौर, ढल्को, तम्सिपाखा, पाटन धोवीघाट लगायतका ठाउँमा रजक बस्दै आएका छन् । त्यहाँका बासिन्दाको मुख्य पेशा नै यही हो ।

लुगा धुनका लागि विभिन्न उपकरणहरू निर्माण भइसकेका छन् । लुगा धुने (वासिङ) मेसिनलाई बजारमा डेढलाख रुपैयाँ पर्छ । त्यस्तै निचोर्ने (ड्राइ) मेसिनलाई ४०–५० हजार रुपैयाँसम्म पर्छ । र, अधिकांशले यो पेशालाई व्यवसाय नै बनाइसकेको रिजेनको भनाइ छ ।
मंगलबार हामी धुर्मुस् सुन्तली फाउन्डेसन पुगेका थियौँ । चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरे सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको धपेडीमा थिइन् । आर्थिक भौतिक सामग्री आफैँ जुटाउनु पर्दा आइपरेका समस्या उनको अनुहारमा छर्लङ्गै देखिन्थ्यो । तथापि उनी निकै खुसी थिइन् । देश विदेशका शुभचिन्तकहरूको प्रशंसाले उनी पुलकित देखिन्थिन् ।
केही बेरपछि मानव बेचबिखन विरुद्धकी अभियन्ता ईन्दिरा सापकोटा आइन् । “यहाँहरूले निकै राम्रो काम गरिरहनु भएको छ । हामी धेरै खुसी छौँ । यो हाम्रो छोराको जन्म दिनको अवसरमा हामीले प्रदान गरेको सानो सहयोग है ।”
उनले १२ हजार एक सय १० रुपैयाँ थमाइदिइन् र उनीहरूको कामको एकछिन् प्रशंसा गरिन् ।
अहिले उनीहरू आफैँ ढुंगा माटो बोकेर बस्ती बनाउन कस्सिएका छन् । उनी अभिनित टेली शृङ्खला ‘मेरी बास्सै’ प्रशारण भइरहेको छ । त्यसका अलावा चेतनामूलक लघु चलचित्र पनि निर्माण भइरहेका छन् । समाजसेवासँगै उनीहरूको कलायात्रा पनि उत्तिकै रफ्तारमा अघि बढिरहेको छ ।
घिमिरेसँग हामीले केही बेर कुराकानी गर्यौँ । कलाकारितादेखि समाजसेवासम्मको यात्रा उनले यसरी खोलिन् :

० ० ०
ललितपुरको दक्षिणी भेग अर्थात चापागाउँमा भएको हो उनको जन्म । तीक्ष्ण बुद्धि, चञ्चले स्वभाव र नृत्यमा विशेष रुची उनको बाल्यावस्थाको विशेषता नै थियो भन्दा फरक पर्दैन । विद्यालयको अभिभावक दिवस होस् या अन्य कुनै कार्यक्रममा कम्मर मर्काइ हाल्ने स्वभावका कारण स्कूलमा छाप परिसकेको थियो–कुञ्जना राम्रो त पढ्छिन् नै त्यो भन्दा राम्रो नाच्छिन् र पछि गएर नृत्यङ्गना बन्छिन् ।
तर, उनको अर्को स्वभाव थियो । बच्चैदेखि कलाकार बन्ने रहरले औधि गाँजेको थियो उनलाई । बज्रबाराही मन्दिर घर नजिकै भएकाले चलचित्र छायाङ्कन भइरहन्थ्यो । चलचित्र छायाङ्कन भएको सुईंको पाउने बित्तिकै कुञ्जना कुद्दै पुग्थिन र अगाडि टुसुक्क बस्थिन् । कारण थियो– सबैभन्दा अगाडि बसे क्यामेराले खिच्छ र चलचित्रमा आफूलाई पनि देखाउँछ । त्यसो त उनलाई आफू अगाडि बस्दा लाग्थ्यो – मलाई पनि क्यामेरामा बोल्न दिए हुन्थ्यो नि । म पनि त्यस्तै अभिनय गर्न सक्थेँ ।
छायाङकनका क्रममा हुने हल्लाखल्लाले उनको मन उद्धेलित हुन्थ्यो । भीडले घेरिएका कलाकार देख्दा आफू पनि यस्तै कलाकार बन्न पाए हुन्थ्यो लागिरहन्थ्यो । र त, आज चलचित्र छायाङ्कन हुँदैछ भन्ने हल्ला सुन्ने बित्तिकै कत्तिखेर स्कूल छुट्टि हुन्छ र सुटिङ हेर्न जाउँला भन्ने ध्याउन्नमा हुन्थिन् उनी ।
चलचित्रमा ज्यादा लगाव बढ्न थालेपछि उनको पढाइ खस्कन थाल्यो । त्यो भन्दा अघि कक्षामा द्वितीय तृतीय भइरहन्थिन्, बिस्तारै ‘पोजिसन’ घट्न थाल्यो । छोरीको पढाइ खस्कन थालेको देखेर अभिभावक चिन्तित थिए । तथापि राम्रो नाच्छे, कतै कलाकार बनि पो हाल्छे की भन्ने आशा उनीहरूलाई थियो । त्यसो त छोरीलाई ठूलो कलाकार बनाउने इच्छा घरपरिवारमा नभएको होइन । त्यसैले होला उनलाई नाच्नका लागि घरपरिवारले नै हौसला जगाउँथ्यो ।
नयाँ चलचित्र प्रदर्शन हुने बित्तिकै हेर्न कुदिहाल्थिन् । बिदाको समयमा डीभी प्लेयरमा चलचित्रका भीसीडीहरू हालेर हेर्ने र ती चलचित्रका नायिकाहरूले गर्ने अभिनय दुरुस्त ऐनामा उतार्ने कोशिस गर्थिन् । उनमा हिरोइन बन्ने एक किसिमको ‘प्यासन’ थियो ।
चलचित्र ‘सक्कली नक्कली’को सुटिङ भइरहेको थियो । चलचित्रमा शम्भु प्रधान, उनकी श्रीमती नुतन प्रधान, छाेरी ईश्वरी प्रधान र छोराले समेत अभिनय गरेका थिए । उनले सोचिन्–चलचित्रमा अभिनय गर्न त आफ्नै परिवार पो चाहिने रहेछ त ! मेरो परिवारको कसैले फिल्म खेलेको थियो भने मैले पनि मौका पाउँथे कि !
चलचित्र, रेडियो, टेलिभिजनमा अभिनय गर्ने र बोल्ने उनको उत्कट चाहनालाई विद्यालयका शिक्षकले पनि बुझेका थिए । त्यसो हुँदा कक्षा सात मै पढ्दा रेडियोमा बोल्ने मौका पाइन् । नेपाल टेलिभिजनको कार्यक्रममा नृत्य कला प्रस्तुत गर्ने अवसर पनि मिल्यो ।
कक्षा नौमा अध्ययन गर्दै थिइन्, कलाकारिता गर्ने रहर रोक्नै नसक्ने गरि अघि बढिरहेको थियो । उनी चलचित्रमा अडिसन दिन पुगिन् । प्रवेशिका परीक्षा दिएर उज्जवल शैक्षिक बाटो कोर्नु पर्ने छोरी सानै उमेरमा चलचित्रमा हाम फाल्न लाग्दा बाआमाले रोक्नु स्वभाविकै थियो । त्यस्तै कक्षामा बारम्बार अनुपस्थित भइरहने, एसएलसी पनि नजिकिइसकेकाले शिक्षकहरू पनि चलचित्रमा अडिसन दिन पठाउँदैनथे । आमाबाबु तथा शिक्षकको आँखा छलेर उनी अडिसन दिन जान्थिन् । के के पाण्डेको ‘चित्कार’ थियो त्यो चलचित्र । अडिसन पास भएर छायाङ्कन सुरु हुने बेलामा प्रवेशिका परीक्षा आइदियो । उनले त्यो चलचित्रमा अभिनय गर्न पाइनन् । एसएलली प्रथम श्रेणीमा उत्तीर्ण गरिन् ।
अन्नततः आइपुगिन् कलाकारितामा नै
भुपेन्द्र पराजुली रेडियो नेपालमा काम गर्थे । संयोगले पराजुलीसँग उनकी सानीआमाको भेट भएछ । सानीआमा कोटेश्वरमा बस्थिन् । सानीआमाले पराजुलीलाई भनिछिन्– मेरी छोरी पनि तपाइँजस्तै रेडियोमा बोल्ने चाहना गर्छिन् । उनलाई अवसर दिनुहोस् न । उनले रेडियो नेपालमा रेडियो नाटकहरू निर्देशन गर्ने मदनदास श्रेष्ठसँग भेट गराइदिएछन् । त्यो विसं. २०६० सालतिरको कुरा हो ।
बोल्ड र मीठासपूर्ण आवाज । फूर्तिली युवती । स्पष्ट वाक्शैली । उनी छनोट नहुने कुरै थिएन । श्रेष्ठले भ्वाइस टेष्ट लिए । उनी उत्तीर्ण भइन् र रेडियो नाटकहरूमा आवाज दिन थालिन् । नृत्यमा पारङ्गत भएकाले विभिन्न स्टेज कार्यक्रम, लघु चलचित्र आदिमा अभिनयको अवसर पाउन थालिन् । इच्छाको साधना नै हो सफलता, उनको कलाकारिताको डोरेटो निर्माण हुन थाल्यो ।
प्रहरीको ‘समर्पण राष्ट्रको लागि’, नेपाली सेनाको ‘माटोले माग्दैन आफैँले दिनुपर्छ’ लगायत थुप्रै टेलिचलचित्रमा उनले अभिनय गर्ने मौका पाइन् । उनको अभिनय कौशल तिखारिँदै थियो ।
र, भेटिए सीताराम
रेडियो नाटकमा आवाज दिने शिलशिलामा दमन रुपाखेतीसँग कुञ्जनाको बारम्बार भेटभइरहन्थ्यो । रेडियो नेपालबाट प्रशारण हुने रेडियो नाटक ‘दिन प्रतिदिन’ त्यतिबेलाको लोकप्रिय रेडियो कार्यक्रम थियो । त्यसमा कुञ्जनाले पनि आवाज दिन्थिन् । त्यस्तै क्रममा ‘लौन सतायो’ भन्ने ‘डमी’ टेलिसिरियल निर्माणको कुरा उठ्यो । कुञ्जना त्यसमा अभिनय गर्थिन् भने सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबूढा) निर्माण नियन्त्रकको रूपमा थिए । सीतारामसँगको उनको पहिलो भेट त्यहीँ भएको हो । पछि त्यो टेली चलचित्र पास भएन र प्रशारण पनि भएन । लगत्तै उनीहरूले पुनः अर्को हाँस्य टेलिचलचित्र ‘मेरी बास्सै’ निर्माण सुरु गरे । सीतारामसँगको सहकार्य नियमित रूपमा अघि बढ्यो ।
यसरी कसियो लगन गाँठो
जीवन नसोचेकै परिघटनाको संगालो हो । त्यस्तै भयो कुञ्जना घिमिरेको जीवनयात्रा पनि । कलाकार बन्छु भन्ने त सानैदेखि थियो तर उनलाई डोर्याउने कोही भएन । उनका आफन्त नाता गोताका मानिसहरू चलचित्रमा उद्योगमा थिएनन् । कलाकार बन्ने तीव्र चाहनाका कारण विभिन्न ठाउँमा पुगिन् । अभिनय गरिन् । आवाज दिइन् । त्यस्तैमा भेट भएको थियो सीताराम र केदारसँग ।
संघर्षको हद पार गरेका आएका सीताराम र केदार कामप्रति अत्यन्त लगाव राख्थे । त्यसबाट अत्यन्त प्रभावित थिइन् कुञ्जना । मेरी बास्सैमा धुर्मुस्–सुन्तलीको जोडी जम्दै थियो । आम दर्शकले सीताराम र कुञ्जनालाई धुर्मस् र सुन्तलीको रूपमा चिन्न थालिसकेका थिए । अभिनय यात्राकै दौरानमा मेरी बास्सैको टीमले घुमाउरो पाराले या कतिपय अवस्थामा सिधै जिस्क्याउन थालिसकेको थियो–कुञ्जना, सीताराम पनि संघर्ष गरेरै आएका हुन् । कामप्रति इमान्दार छन् । तिमीहरू बिहे गरेर सँगै यात्रा अघि बढाए हुन्छ ।
तर, भर्खर कलाकारिता यात्रा प्रारम्भ भएकाले उनले त्यतातर्फ ध्यानै दिइनन् । उनीहरूको कुराकानीलाई केवल ‘ठट्टा’को रूपमा बुझिन् । त्यसो त सीतारामले पनि विभिन्न वहानामा प्रेम प्रकट गरिरहेकै हुन्थे । कहिले काँही कुञ्जनाले आफ्नो कुरा नसुन्दा भावनात्मक हिसावले आकर्षित गर्न खोज्थे । संघर्षका हिस्सा थिए सीताराम । त्यसैले उनले आफ्ना दुःखको किस्साहरू सुनाउँथे तर कुञ्जना ठीक उल्टो थिइन् । उनी भन्थिन्–जीवन संघर्षकै आयाम हो । त्यसभन्दा पर रहेर सुखको परिकल्पना गर्नै सकिन्न । फेरि विगत सम्झेर दुःखी र निराश बनिरहने हो भने सुखद् भविष्यको कल्पना कसरी गर्न सकिन्छ ?
भावनात्मक हिसावले अत्यन्त नजिक थिए उनीहरू । दुवै तर्फको परिवारमा आउजाउ पनि हुन्थ्यो । मेरी बास्सै छायाङ्कनकै क्रममा धेरैपटक सीताराम कुञ्जनाको घरमा पुगेका थिए । आमाबाबुसँग कुरा पनि गर्थे । दुवैले एकअर्कालाई निकै सघाउँथे पनि ।
सीतारामको मनमा मायाको अङ्कुरण झांगिइसकेको थियो । तर, कुञ्जनाको ध्यान अभिनयमा ज्यादा भएकाले प्रेम या विवाहपट्टि ध्यानै थिएन । त्यसैले उनी सीतारामलाई सम्झाउँथिन्– हामी सँगै छौँ । भावना आदान–प्रदान भइनै रहेको छ । काम गर्दै जाने क्रममा एक अर्काको मन मिल्यो भने विवाह गर्नु कुनै ठूलो कुरा पनि होइन । यसबारे अहिले नै निर्णय नलिइ हालौँ । सीताराम त्यसमा राजी भएका थिए ।
कक्षा आठमै पढ्दा दिदीको विवाह भइसकेको थियो । उनले परिवारको जिम्मेवारी आफ्नो काँधमा आएको महसुस गरेकी थिइन् । त्यसकारण पनि विवाह गरिहाल्ने मनस्थिति बनाएकी थिइनन् । हुर्किएकी छोरी चेली प्रति अभिभावकको चिन्ता प्रकट हुनु स्वभाविकै थियो, एक दिन बाबुले भने–छोरी अब तिम्रो विवाह गर्नु पर्छ । तिमी तयार छैनौँ भने म घरको तला थप्छु ।
कलाकारिता यात्राले बिस्तारै उचाइ लिइरहेकाले उनको विवाह गर्ने सोच थिएन । उनले बाबुलाई घरको तला नै थप्न भनिन् ।
विसं.२०६५ को दसैंमा सीताराम घर गएका थिए । त्यहाँ उनले ज्योतिषसँग विवाहबारे सल्लाह मागेछन् । ज्योतिषिले भनेछन्–यो सालको मंसिर १४ गते तिम्रो विवाहका लागि उपयुक्त लगन हो । तिमीले मन पराएको केटीको लग्न र तिम्रो लग्नको राम्रो योग मिलेको छ । यो लगन गुमाउँनु हुँदैन ।
त्यसपछि सीतारामले तत्काल कुञ्जनालाई फोन गरेछन् र बेलीविस्तार लगाएछन् । कुञ्जना छाँगाबाट खसेजस्तो भइन् । उनले विवाहबारे केही सोचेकै थिइनन् । घर परिवारलाई पनि बिहे नगर्ने भनेर घरको तल्ला थप्न लगाइसकेकी थिइन् ।
सीतारामले फोन गर्दा आमा नजिकै थिइन्, उनले आमालाई सबै कुरा भनिन् । केही बेर आमाबाबुले सल्लाह गरे । भर्खर कलाकारितामा अघि बढ्दै गरेकी छोरीको विवाह गर्दा भोलि उसलाई समस्या पर्ला कि आमाबाबुको चिन्ता देखियो । आमाबाबुले उनलाई केही भनेन्, आमाबाबुको मन न हो, उनीहरूको अनुहारमा देखिएको त्यो भाव उनले सजिलै बुझिन् ।
सीतारामको घर परिवारको बारेमा उनका बाबाआमा जानकार नै थिए । परिवार ठूलो थियो । पाँच जना छोराछोरी, बाआमा र हजुरआमा समेत गरी आठ जनाको परिवार थियो । जेठी बुहारी बनेर जाँदै थिइन् कुञ्जना । स्वभाविक हिसाबले घर परिवारप्रति जेठो बुहारीको दायित्व बढी हुन्छ । त्यसमै चिन्तित थिए कुञ्जनाको आमाबाबु ।
कुञ्जना र सीताराम दुवैजना मिलेर ‘कन्भिन्स’ गरे । कुञ्जनाले भनिन्–केटा मैले रोजेँ, विवाह यहाँहरूले रोज्नुहोस् । आमाबाबुले आँगन पोलेरै विवाह गर्ने इच्छा देखाए । त्यही सालको मंसिर १४ गते नै सीतारामसँग उनको लगनगाँठो कसियो ।
० ० ०
‘मेरी बास्सै’मा दुवै जनाको अभिनय जम्न थाले पछि थुप्रैले अड्कल काटे– सीताराम र कुञ्जना दम्पती नै हुन् । त्यस्तै केहीले भन्थे–यिनीहरूको विवाह गरिदिए नि हुन्थ्यो । कतारको कार्यक्रममा जाँदा रमाइलो घटना घट्यो । त्यहाँको कार्यक्रम आयोजकले अरु कलाकारका लागि छुट्टाछुट्टै कोठाको प्रवन्ध गरिदिएका रहेछन् तर सीताराम र कुञ्जना विवाहित नै हुन् भनेर एउटै कोठामा सुत्ने व्यवस्था मिलाइ दिएछन् ।
त्यसो त दर्शकले पनि भन्थे–तपाईँहरू सँगै भएको हेर्न चाहन्छौं । त्यसैले उनी भन्छिन्–अहिले हामी कलायात्रामा मात्रै नभएर जीवनमै जोडिनुको पछाडी तिनै दर्शकको माया र आशीर्वाद हो ।
केदार घिमिरेसँगको सम्बन्ध
सीतारामजी र केदारजी दुवै संर्घषका उपमा हुन् । कामभन्दा दोश्रो उनीहरूको स्वार्थ छैन । पछिल्लो समय ‘मिडिया हब’को कारण हामी ‘मेरी बास्सै’मा सँगै नदेखिएका हौं भन्छिन् कुञ्जना । त्यसो त मिडिया हब घाटामा गएपछि केदार घिमिरे आफैंले ‘मेरी बास्सै’ अगाडि नबढाऔं भनेका थिए रे । तर, दर्शकसँगको नाता टुटाउन नचाहेकाले सुख दुःख जे गरेर भए पनि ‘मेरी बास्सै’ अगाडि बढाएको कुञ्जनाको तर्क छ ।
उनी भन्छिन्–काम गर्ने शिलशिलामा मन मुटाव नहुने होइन, उमेर जोश र कतिपय अल्पज्ञानले तिक्तता उत्पन्न पनि हुन सक्छ । तथापी हामीबीच त्यस्तो कुनै कुरा छैन जसले दूरी पैदा गरोस् र भावनात्मक सम्बन्धमा आघात पुर्याओस् ।
आइपुग्यौं समाजसेवामा
नेपालमा उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी ७.८ रेक्टर स्केलको भूकम्प जाँदा सीताराम र कुञ्जना अमेरिकामा थिए । सरसफाइ दूत समेत भएकाले उनीहरू राजमार्ग सफा राख्न ‘राजमार्ग शौचालय’को एजेन्डा बोकेर अमेरिकामा प्रस्तुति देखाउन पुगेका थिए । उनीहरूलाई सघाएका थिए, नेपाली र नेपालभाषी भुटानी समूदायले ।
सेन्टलुइसमा कार्यक्रम सकेर रातको १२ बजे कोठामा पुगेर निदाउन के आँटेका थिए कुञ्जनाको मोबाइलको घन्टी बज्यो । त्यतीबेला बिहानको २ः४५ बजेको थियो । फोन अस्ट्रेलियामा बस्ने उनकी बहिनीले गरेकी थिइन् । त्यसै गरेकी होलिन् भनेर सुरुमा त उनले वेवास्ता गरिन् तर पुनः घन्टी बजेपछि उनले फोन उठाइन् । बहिनीले अत्ताल्लिएको स्वरमा सुनाइन्–नेपालमा ठूलो भूकम्प गयो । धरहरा, बसन्तपुर, हनुमान ढोकालगायत सबै सम्पदा भत्कियो । थुप्रै मानिस मरेका छन् । उनी ‘सक’ भइन् ।
उनीहरूले अमेरिका जानुभन्दा एकमहिना अगाडि मात्र भूकम्प सम्बन्धि जनचेतना जगाउन मेरी बास्सैमा एउटा भाग तयार पारी प्रशारण गरेका थिए । यही अवस्थामा भूकम्प गए काठमाडौंमा ठूलो जनधनको क्षति हुन्छ, उनले सुनेकी थिइन् । उनले सोचिन्– ठूलो भूकम्प गयो, नेपाल सकियो ।
तत्कालै आमाबाबुलाई सम्पर्क गर्न खोजिन् । लाख कोशिस गर्दा पनि सम्पर्क हुन सकेन । त्यसपछि उनी आत्तिइन् । उनले तत्कालै पशुपति शर्मा, प्रमोद खरेल, सीतारामलाई उठाइन् । उनीहरू पनि आत्तिए । टीभी खोलेर हेर्दा जताततै त्यही दृष्य देखिन्थ्यो । भत्किएका र खण्डहर र त्यहाँबाट निकाल्दै गरेका मानिस बाहेक अरु कुनै दृष्य देखाइएनन् । उनी रुन थालिन् ।
दुई घन्टापछि त्यही बहिनीको सहयोगमा बल्ल घरमा कन्ट्याक भयो । छोरीको अवाज सुनिन्, उनको मन केही हल्का भयो । आवाज त सुनियो तर शरीरमा केही चोटपटक छ कि मनमा चिन्ता रहिरह्यो ।
त्यसको भोलिपल्ट सेन्टलुइसबाट सिराकोस जाने कार्यक्रम थियो । नेपालमा तेत्रो घटना घटेपछि उनीहरूले कार्यक्रम देखाउने अवस्था थिएन । तर, आयोजकले हवाइ टिकटदेखि हलबुकसम्म गरिसकेकाले उनीहरूलाई ‘कन्भिन्स’ गराउनु पर्ने भयो । उनीहरूले आयोजकलाई आग्रह गरे–अर्को पटक आएर कार्यक्रम गर्छौं । नेपालमा भूकम्प गएर ठूलो जनधनको क्षति भएकाले हामी अब प्रस्तुति देखाउन सक्दैनौँ ।
भोलिपल्ट उनीहरू सिराकोस गए । हलमा खचाखच भरिएका दर्शकहरू उनीहरूकै प्रतीक्षामा थिए । उनीहरूले त्यहाँ रहेका भुटानी दर्शकहरूलाई आग्रह गरे–नेपालमा भूकम्प गएकाले हामी प्रस्तुति देखाउन असमर्थ छौँ । एकछिन् सन्नटा छायो । उनीहरूले पनि भने–तपाईंहरू नेपाल फर्कनुहोस् र त्यहाँका पीडितहरूको सेवामा लाग्नुहोस् ।
उनीहरू नेपाल फर्के ।
० ० ०
त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनीहरूले सबैकुरा दुरुस्त देखे । घरहरू पनि भत्किएका थिएनन् । सरासरमा उनी माइत गइन्, त्यहाँ उनकी डेढ वर्षे छोरी थिइन् । छोरी सकुशल देखेपछि छोरीलाई अंगालोमा बेरिन् र खुसीको स्वास फेरिन् ।
केही बेरपछि आमातर्फ ध्यान गयो उनको । वैशाखको धुपमा आमा सिरक ओढेर बसिरहेकी थिइन् । उनलाई आश्चर्य लाग्यो । आमाको भूकम्प जाँदा दराज ढलेर करङको छ वटा हड्डि भाँचिएको रहेछ । उनले धेरै बेरपछि थाहा पाइन्, उनलाई थक्कथक्क लाग्यो–कस्ती म ! पहिला आफ्नै छोरीलाई अंगालो मार्न पुगेँ । माया त उँधो पो बग्दो रहेछ !
भूकम्पले दक्षिणी ललितपुर ध्वस्त बनाएको थियो । चापागाउँ पनि अछुतो थिएन । मानिसहरू घरबाहिर बसिरहेका थिए । उनलाई माइती गाउँको असाध्यै माया लाग्यो । उनले भनिन्–एउटा लामो टहरो बनाइदिन्छु, सबै त्यहीँ बस्नुहोस् । माइतीहरू तयार भएनन् र भने–यहाँ बनाउने पैसाले अन्तै राहत देऊ, हामीभन्दा पीडित अरू नै छन् । उनलाई पनि लाग्यो– मेरो माइती गाउँ बनाउन अरू आउलान् म अ अर्कै गाउँ बनाउँछु ।
भूकम्पको पीडा चौतर्फी थियो । उनीहरूले अमेरिकामा साढे सोह्र लाख रकम जम्मा गरेका थिए ।
नेपाल फर्किए लगत्तै राहत वितरणलाई तीव्रता दिए । त्यही शिलशिलामा उनीहरू सिन्धुपाल्चोकको पिपलडाँडामा पुगे । दाल चामलभन्दा त्यहाँका मानिसहरूले शौचालय बनाइदिन आग्रह गरेपछि उनीहरूले दश वटा शौचालय बनाए । त्यसपछि उनीहरूले विद्यालय पनि बनाए ।
शौचालय र विद्यालय निर्माणपछि उनीहरूको दिमागमा आयो–एकीकृत बस्ती निर्माण गर्ने ।
ठाउँ छनोट गरे, काभ्रेको पहरी गाउँ । भूकम्पबाट प्रताडित अति विपन्न बस्ती थियो त्यो । एकीकृत बस्ती बनाउन सुरुमा उनीहरूले अनुमान गरे–२० घर बनाउन त्यस्तै १५/२० लाख लाग्ला । तर, खर्च अनुमानित गरे भन्दा निकै बढी भयो ।
झन्डै घर बेचिएन
सीताराम र कुञ्जनाले एकीकृत बस्ती बनाउने भनेपछि व्यापक चर्चा भयो तर अपेक्षाकृत पैसा उठेन । बस्ती निर्माण गर्न पहरी गाउँमै बसेकाले हल्लाखल्ला पनि गर्न पाएनन् । यता दैनिक ४० हजार जस्तो खर्च हुने तर पैसा नउठ्ने भएपछि उनीहरू समस्यामा पो परे ।
पैसा सकिन थालेपछि सीताराम घोत्लिएर बसेका थिए । कुञ्जनाले उपाय पहिल्याइन–घर बेच्ने ।
दुई तल्लाका घर थियो । बेचेर आधा एकीकृत बस्तीमा हाल्ने र बाँकी पैसाको एकतले घर बनाउने सोच कुञ्जनाको थियो । उनको कुरामा सीताराम सहमत भए । त्यसपछि त्यो खबर मिडियामा ल्याए ।
देश विदेशबाट फोनका घन्टी बज्न थाले । उनीहरूको कामको सराहना भइरहेको थियो । प्रशंसकहरूले भने–नबेच्नुहोस् घर हामी सघाउँछौं । तपाईँहरू सडकमा आएको हेर्न चाहँदैनौँ । पैसा उठ्न थाल्यो, साढे ६७ लाख लागतमा पहरी बस्ती निर्माण भयो ।
एक वर्षसम्म प्रशंसा भयो तर कसैले पछ्याएनन्
एकीकृत बस्ती निर्माण पछि उनीहरूको उचाइले आकाश छोयो । देशव्यापी चर्चा परिचर्चा भयो । सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म पुगेर अवलोकन गरे तर एक वर्षसम्म पनि उनीहरूलाई कसैले पछ्याएनन् । हाम्रो जस्तो “देशमा एकीकृत बस्ती कति आवश्यक भनेर भूकम्पले कान समाएर पाठ पढाएको छ तर त्यसको अनुभूत अझै हुन सकेको छैन”, उनले भनिन् ।
अर्काको प्रशंसा र आलोचना गर्ने तर आफैँ अगुवाई नगर्ने परिपाटी बिग्रएको हो भन्छिन् कुञ्जना । त्यसैले उनीहरू पाँच करोडको अनुमानित लागतमा
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८को गिरानचौरमा पुनः एकीकृत बस्ती निर्माणको काम सुरु गरेका छन् । देश विदेशबाट सहयोग आउने क्रम जारी छ । यद्यपी त्यो अपर्याप्त छ । अहिलेसम्म ४० लाख जम्मा भएको छ । ६५ घर धुरी निर्माण थालिएकाले लागत रकम अझै बढ्न सक्ने उनीहरूको अनुमान छ । त्यसैले उनले आग्रह गरिन्–हामी राष्ट्र निर्माणमा सरिक भएका छौँ । बिन्ती साथ र सहयोग दिनुहोस् ।