Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

जे छोयो त्यही सफल



By  Unknown     8:43 PM    Labels: 


अक्षर काका । टाउकोमा ह्याट लगाएको अनि युवतीको जस्तो रेशमी कपाल लहराउँदै काठमाडौंको अनामनगर/घट्टेकुलोतिर हिँडेको मंगोलियन अनुहार देख्नुभयो भने उनी पप संगीतका महारथी धीरज राई हुन सक्छन् । यो उनको पहिचान हो । करिब २५ वर्षयता उनी यस्तै वेशभूषाका साथ नेपाली पप संगीतको धरामा प्रस्तुत भइरहेका छन् ।

नेपाली सांगीतिक दुनियाँमा ‘नाच्दै गाउने’ नवीन कौशल भित्र्याउने श्रेय धीरजलाई जान्छ । उनले पप गीतलाई नेपाली आम युवामा लोकप्रिय बनाए । उनलाई पप गायकका साथै डान्सरको रूपमा चिन्छन् नेपाली स्रोता/दर्शकले ।

धीरजको परिचय यत्तिमै सीमित छैन । उनी ओभरसियर हुन्, अंग्रेजी साहित्यका अध्यापक हुन्, अंग्रेजी भाषाका प्रशिक्षक हुन् ।

वृत्तचित्र निर्माता हुन् । र, उनी लेखक पनि हुन् ।

नेपाली गीत–संगीत क्षेत्रमा यस्तो बहुआयामिक र बहुप्रतिभाशाली व्यक्ति पनि रहेछन् भनेर कमैलाई थाहा छ । कतिपयले त यो कुरा पत्याउँदैनन् पनि होला ।

बुधबार अनामनगरस्थित एक रेस्टुरेन्टमा आफ्नो पूर्ववत् ‘पहिचान’का साथ उपस्थित भएका राईले आफ्ना जीवनका पाटा उधिने ।

० ० ०

खोटाङ जिल्लाको वाक्लिम हो उनको पुख्र्यौली थातथलो । तर, उनी खोटाङमा जन्मिएमात्रै । लामो समय त्यहाँ बिताउन पाएनन्, सानैमा धरान झर्नुपर्‍यो ।

त्यसो त धरान बसाइ पनि लामो भएन । उनको अक्षराम्भ भने त्यहीँ भयो, त्यहीँको स्थानीय स्कुलमा उनले कखरा सिकेका हुन् ।

भनिन्छ, दिनको संकेत बिहानीले गर्छ । उनी भन्छन्, “भर्खर जन्मिएको बच्चालाई दूध चुस्न सिकाउनु पर्दैन । बाघको डमरुलाई पनि सिकार खेल्न कुनै तालिमको जरुरत पर्दैन, उसले जन्मजातै ल्याएको हुन्छ त्यो गुण । हो, ठूल्ठूला कलाकारहरूले पनि त्यस खालको विशिष्ट क्षमता जन्मजातै पाएका हुन्छन् ।”

महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनको भनाइ भने यो मामिलामा फरक छ । उनी भन्छन्, “प्रतिभा बरदान होइन, अभ्यासको उपज हो ।”

तर धीरज त्यसलाई स्वीकार्दैनन् । भन्छन्, “अभ्यास त केबल माझ्ने कुरा हो । क्षमता प्रकृतिप्रदत्त चिज हो । र, त कलाकार जन्माउन सकिँदैन ।”

मानिसको जीवनलाई सार्थक तुल्याउन र उसको जिन्दगीलाई खुसी तुल्याउन समय–समयमा यस्ता कलाकारहरूको जन्म भइरहन्छ, त्यसैमध्येका एक हुन् धीरज ।

धेरै कलाकार जन्माउने विशिष्ट भूमि हो पूर्वाञ्चल । त्यसमध्ये पनि खोटाङलाई निकै उर्बर भूमि मानिन्छ । खोटाङले थुप्रै कलाकारलाई जन्म दिएको छ र कलाकारितामा स्थापित गराएको छ ।

० ० ०

गीत–संगीतप्रतिको मोह उनको बाल्यपनमै देखियो । बामे सर्न नथाल्दै उनी चम्चाको सहाराले थाल ठटाउने होस् या डाडुपन्युले कन्ती कराही बजाउने ! घरका भाँडाकुँडा हिर्काएको देखेर परिवारका सदस्यहरूले उतिबेलै लख काटेका थिए– यो केटोले गीत–संगीतमा निकै रुचि राख्छ जस्तो छ, भोलि गएर गायकै बन्छ कि क्या हो !

उनी भन्छन्, “म अहिले मेरो बाल्यकाललाई सम्झन्छु, शायद भाँडा बजाएर त्यतिबेला मैले संगीतको ‘बिट’ खोजिरहेको थिएँ कि !”

तोते बोल्न थाल्दादेखि नै गीतप्रतिको आशक्ति भाव देखाएकाले होला, एक दिन बुबाले सोचविचार गरे– छोराले घरका भाँडावर्तन हिर्काउन थाल्यो, यसलाई मादल ल्याइदिए त्यही हिर्काएर बस्छ ।

उनले गाउँबाट मादल मगाइदिए ।

मादल त ल्याइदिए तर अस्वाभाविक ठूलो ! र पनि बजाउँथे धीरज । उनी कहिले दायाँ त कहिले बायाँ हिर्काउँथे र आवाज निकाल्ने प्रयत्न गर्थे ।

बुबा टंकबहादुर राई किराँत भाषाका विज्ञ÷प्राज्ञ मात्र होइनन्, कुशल गायक पनि हुन् । साह्रै मीठो गीत गाउँथे उनी । धीरजलाई त्यसैको छाप पनि पर्‍यो । तर, बुबाले चाहिँ त्यसलाई पेसाको रूपमा अघि बढाएनन्, गाएमात्रै ।

“बुबाले गीत गाएर हिँड्ने अवस्था थिएन, पारिवारिक बोझले बुबाको गायन क्षमता फराकिलो हुन दिएन,” धीरज भन्छन् ।

धीरज १०–११ वर्षको हुँदा उनको परिवार धरानबाट काठमाडौँ आयो । परिवारको एक्लो छोरो साथै बुबाआमाको आशा–भरोसा पनि ।

बुबाआमा सधैँ भन्नुहुन्थ्यो– पढाइमै मन लगाउनुपर्छ, नपढी कुनै पनि क्षेत्रमा अघि बढ्न सकिँदैन । त्यसैले उनी भानुभक्त मेमोरियल कलेजमा भर्ना भए र पढाइलाई अघि बढाउन थाले ।

तर, गीत गाउनचाहिँ धरान बस्दै थालिसकेका थिए । दसैं–तिहारलगायत चाडपर्वका अतिरिक्त मञ्च पाउनासाथ उनी गायनमा प्रस्तुत भइहाल्थे । र, दर्शकलाई आह्लादित बनाउँथे । गीत गाउँदै उनी कम्मर पनि हल्लाउँथे र ‘मास’लाई आकर्षित तुल्याउँथे ।

त्यसो त उनी टोलका ‘हिरो’ पनि थिए । कसरी आफूलाई अरुको आँखामा पार्ने भनेर उत्तिकै ‘कन्सस’ पनि थिए ।

सुरु–सुरुमा उनले जे सुनिन्छ, त्यही गाए । त्यसमा खासै नयाँपन थिएन । तर, जब १४–१५ वर्षको भए, उनले संगीतमा नवीनता खोजी गर्न थाले । प्रत्येक सिर्जनामा मानिसका अनुभूति सन्निहित हुनुपर्छ । अन्यथा सिर्जना ‘अपांग’ हुन्छ, मानिसले त्यसलाई ‘फिल’ गर्न सक्दैनन् ।

यही मान्यता राख्थे धीरज ।

अहिलेजस्तो टिभी, एफएमहरू थिएनन् । गीत–संगीत सुन्ने माध्यम त्यही रेडियो थियो । तर, रेडियो नेपालमा सधैँ एकैनासका गीत मात्र बजिरहने ! जति सुने पनि नयाँ केही पाएनन् । रेडियो नेपाल सीमित सर्जकको पहुँचमा मात्रै थियो । अझ भनौँ– जो दरबारनिकट थिए, रेडियो नेपालको सहज प्रवेश उनीहरूलाई मात्रै थियो । चार–पाँच जना मानिसको मात्रै वरिपरि घुमेजस्तो देखिन्थ्यो रेडियो नेपाल । त्यसले उनलाई एकांकीपन बनायो, ‘मोनोटोनस’ भए उनी ।

“अघिल्लो पुस्ता जसले पुरानो शैलीले प्रेम गरे, ती अभिव्यक्तिले पछिल्ला पुस्ताको मनोभावनालाई छुन र विम्बित गर्न सकेन । फगत छहरा, पहरा, लहरा, खेतका गह्राका मात्र गाइने बजाइने ! जसले त्यो देखेकै छैन, त्यसलाई त्यसप्रकारको गीत–संगीतले छुने कुरै भएन । र, मैले परिवर्तन खोजें,” उनको अनुहारमा बेग्लै भाव देखा पर्‍यो ।

उनले थपे, “राजनीतिक व्यवस्थाको बदलावसँगै सामाजिक–सांस्कृतिक अवस्थामा पनि फेरबदल आउनुपथ्र्यो । तर, रेडियो नेपालले त्यो चाहनालाई प्रतिविम्बित गर्न सकेन । गीत–संगीत थोपर्ने काम पो भयो !”

उनले त्यसबाट उन्मुक्ति खोजे । किनकि संगीत विचारबाट निर्देशित हुने कुरा हो । विचार र संगीतको आपसमा संगति मिलेपछि मात्रै मानिसले त्यसलाई ग्रहण गर्छ, श्रवणयोग्य हुन्छ त्यो ।

रेडियो नेपालमा जसरी गायक÷गायिकालाई श्रेणीबद्ध गरिन्छ, त्यो उनलाई कहिल्यै मन परेन । भन्छन्, “कलाकारलाई वर्गीकरण गर्न मिल्दैन । सबैको आ–आफ्नो विशेषता हुन्छ । गायक–गायिकालाई वर्गीकरण गरेपछि स्रोता÷दर्शकलाई पनि त विभाजन गर्नुपर्‍यो नि ! त्यसो भए लोकसंगीत मन पराउने स्रोता दर्शकचाहिँ ‘ग’ श्रेणीका त ?”

त्यसले विभाजनको रेखा कोर्ने र उँच–निचको व्यवहार गर्ने उनको ठम्याइ छ ।

तत्कालीन परिवेशमा रेडियो नेपाल नगई कोही पनि गायक नै नबन्ने अवस्था थियो । जसको रेडियो नेपालसम्म पहुँच छैन, आफ्नो समुदायको गीत गाउँछ, ऊ गायकै नबन्ने र उसलाई गायक भनेर पनि नस्वीकार्ने परिपाटी थियो । उनले त्यसको सुरुदेखि विरोध होइन, विद्रोह नै गरे ।

“संगीतमा कलाकारिताको सम्मान सरल रेखामा हुनुपर्छ । शास्त्रीय संगीतमा सुर, ताल मिलाउनेदेखि चौतारीमा भारी बिसाएर सुसेली हाल्ने भरियासम्मले उत्तिकै सम्मान पाउनुपर्छ,” उनको अनुहारमा आभा छरपष्ट भयो ।

संगीत सिर्जना अभिव्यक्तिको माध्यम रेडियो नेपालमात्रै भएकाले उनको ‘टसल’ रेडियो नेपालसँगै भयो । पुराना पुस्ताका संगीत सर्जकहरू भन्थे, “यी पपेहरू हुन्, यिनीहरू गीत–संगीत बिगार्न आएका हुन्, यी अंग्रेजी गाउँछन् ।”

धीरज प्रतिवाद गर्दै भन्थे, “हाम्रो गीत संगीतमात्रै बाह्य संस्कृतिबाट प्रभावित छैन, पुराना पुस्ताले गाउने गीत–संगीत पनि हाम्रो मौलिक रचना होइन, त्यो पनि कतै न कतै हिन्दुस्तान संगीतबाट प्रभावित छ ।

त्यसले ठूलो अन्तर्द्वन्द्व निम्त्यायो ।

“संस्कृति बिगार्ने कुरा धेरै आदर्शवादी थोरैमात्र यथार्थसँग मेल खान्छ । संस्कृति विस्तार हुँदै नजाने हो भने अहिले हामी रुखका बोक्रा नै लगाएर बसिरहेका हुन्थ्यौँ । परिवर्तनलाई कसैले चाहेर पनि रोक्न सक्दैन, यो विश्वव्यापी कुरा हो,” अचानक उनको स्वासको गति बढ्यो, टेबलको एक गिलास पानी स्वाट्टै पारे, ह्याटबाहिर निस्किएको लामो कपाल मिलाए ।

० ० ०

रेडियो नेपालमार्फत पप संगीत सिर्जना मुखरित गर्न नपाएपछि उनी मञ्चको खोजीमा भौतारिन थाले । टोलका स–साना कार्यक्रमदेखि कलेजको ‘वेलकम सेरोमोनी’सम्म उनको संगीत प्रस्तुत गर्ने मञ्च बन्न थाले ।

गीत–संगीतमा मात्रै नवीनता होइन, प्रस्तुत गर्ने शैलीसमेत नयाँ खोजिरहेका थिए । गायक भनेको बसेर गाउने, हाउभाउको कुनै वास्ता नगर्ने र हिन्दूस्तानी शैलीले प्रस्तुत गर्नुपर्छ भन्ने मान्यतालाई चिर्न चाहन्थे उनी ।

उनले नयाँ शैली भित्र्याए– नाच्दै गाउने । विश्वविख्यात गायक माइकल ज्याक्सनको वान्कीपूर्ण र जादूगरी नृत्य कौशलबाट उनी निकै प्रभावित थिए । भृकुटीमण्डपमा मेला हेर्न जाँदा उनले ज्याक्सनको भिडियो गीत हेरेका थिए र मनमनै सपना साँचिसकेका थिए– म पनि यसैगरी नाच्दै गाउँछु ।

जब धीरज आफ्नो साथी सर्कलमा नाच्दै गीत गाउने कुरा गर्थे । तब उनीहरू भन्थे, “धीरज ! नाच्ने भनेको चलचित्रका हिरोहरू हो, तिमी गाऊमात्रै ।”

पप गायक बन्छु भनेर हिँडेको मान्छे नृत्य सिक्न धाएको देख्दा अट्टहास, उपहास गर्नेहरू नभएका होइनन् ।

तत्कालीन समयमा रेडियो नेपालका कलाकारहरूले त पप गीतको नामै लिन रुचाउँदैनथे ।

‘यस्तो पनि गीत हुन्छ ?’ भन्दै ती कुरै पर्न दिँदैनथे । तथापि निरन्तरको संघर्षपश्चात् उनले ०४६ सालमा रेडियो नेपालको वार्षिकोत्सवका अवसरमा कार्यक्रम सकिने बेलातिर गीत गाउने अवसर पाए ।

उनले ‘लुकी लुकी..’ भन्ने गीत तयार पारेका थिए । गीत प्रस्तुत गर्न तीन–चारजना नाच्ने साथी पनि थिए । त्यसले नेपाली गीत संगीतमा निकै ठूलो हलचल पैदा गर्‍यो, तरंग नै ल्यायो ।

एउटा पुरानो संगीतकारले त उनलाई मञ्चमै हकारे रे, “धीरज के गरेको यस्तो नौटंकी ? कि नाच कि गाऊ !”
तर, उनी निरुत्साहित भएनन् ।

भीडमा उनको प्रस्तुति मन पराउन सयौं युवा थिए, तिनले उनलाई ‘नोटिस’ गरिसकेका थिए । नाच्दै गाउने केटालाई बोलाउनुपर्छ भन्दै उनी कलेजका विभिन्न कार्यक्रममा निम्त्याइन थाले ।

समय क्रमसँगै रेडियो नेपालको एकाधिकार तोडियो, एफएम रेडियोहरू खोलिन थाले र पप संगीतले क्रमशः स्थान पाउँदै गयो ।

उनमा गायनप्रतिको अभिलाषा उत्कट थियो । गाएर पैसा कमाउनु थिएन, अन्य आवश्यकता परिपूर्ति गर्नु पनि थिएन । सहरमा चर्चा हुन थालिसकेको थियो । स्टेज पाउँदा उनी फुरुंग पर्थेे । नौलो गायन खुबीका कारण युवा पंक्तिमाझ उनी ‘सेलिब्रिटी’ बनिसकेका थिए ।

पाटन मल्टिपल कलेजमा सांगीतिक प्रस्तुतिका लागि डाकिएका उनले पारिश्रमिक स्वरूप तीन हजार हात पारे, त्यो उनको पहिलो कमाइ थियो । त्यसपछि उनले सोचे– मेरो प्रस्तुतिलाई सबैले रुचाएका मात्र रहेनछन्, व्यावसायिक हिसाबले पनि अघि बढिसकेको रहेछ ।

त्यतिखेर उनी अनेक प्रकारका समस्यासँग जुध्दै थिए । एकातिर काठमाडौँको महँगो बसाइ, अर्कोतिर बुबाआमाको पनि भरपर्दो जागिर थिएन । गीत–संगीतसँगै पढाइलाई पनि समानान्तर हिसाबले लैजाने चुनौती त छँदै थियो ।

० ० ०

०४७ सालमा ७२ प्रतिशत ल्याएर एसएलसी उत्तीर्ण गरे । अंग्रेजी र गणित विषयमा अब्बल भएकाले उनले तत्कालै ट्युसन पढाउने र आफ्नो गर्जो टार्ने मौका पनि पाए ।

स्टेज कार्यक्रमबाट र ट्युसन पढाएर पाएको पैसा बचाएर उनले गीत रेकर्ड गराए । हजार–बाह्र सयमा गीत रेकर्ड हुन्थ्यो उतिबेला ।

‘लुकी लुकी आँखा तिमी नजुधाऊ न त्यसरी’ पहिलो रेकर्डेड गीत हो धीरजको, जसले सुरुआतमै सयौँ स्टेज पायो । त्यसबाट मनग्ये आम्दानी भयो, गीत–संगीत अघि बढाउन भरपुर मद्दत मिल्यो ।

सधैँ विरह–व्यथा गाउने, दाह्री पालेको, पहिरनमा खासै ध्यान नदिने ‘गायक परिचय’ उनले बदले । ड्रेसअप, प्रस्तुतिलगायतमा ध्यान दिने र गायक भनेको हिरो पनि हुन सक्छ भन्ने मान्यतालाई समाजमा जबर्जस्त ढंगले स्थापित गरे । उनको आगमन नेपाली पप संगीतको क्षेत्रमा कोशेढुंगा थियो । उनको सशक्त उपस्थितिपश्चात् नेपाली गीत–संगीतको क्षेत्रमा पप गायकको आगमनमा बढोत्तरी आउन थाल्यो ।

त्यसपछि टेलिभिजनहरूले पनि बिस्तारै स्थान दिन थाल्यो र पप गायकहरू टेलिभिजनमा देखिन थाले ।

५० को दशक नेपाली गीत–संगीतको उर्बर दशक थियो । ०५०÷५१ तिरै ‘एउटा गीत रेकर्ड गराइदिन्छौँ र ४ रुपैयाँ रोयल्टी पनि दिन्छौँ’ भन्दै राजुराज मानन्धर उनलाई खोज्दै पुगे । वास्तवमा त्यो पप संगीतप्रतिको ‘क्रेज’ थियो । उनको ‘प्रियसी भाग–१’ मा लुकीलुकी गीत समाविष्ट थियो, त्यो ७० हजार प्रति बिक्यो ।

त्यसबापत उनले झन्डै तीन लाख रुपैयाँ एकमुष्ट हात पारे । १९ वर्षे युवा केटोले त्यत्रो पैसा घर लैजाँदा आमा त छाँगाबाट खसेजस्तो भएर भन्न थालिन् रे, “कहाँबाट ल्याइस् यत्रो पैसा ? केही बिगार त गरिनस् ?”

आमा नेपाल ल क्याम्पसमा लाइब्रेरियन थिइन्, महिनाभर काम गर्दा पनि दुई हजार कमाउन मुस्किल हुन्थ्यो । छोराले त्यत्रो पैसा कमाउँदा आश्चर्य मान्नु स्वाभाविकै थियो । बुबा पनि पद्मकन्यामा प्राध्यापन गर्थे । बुबाको कमाइ पनि उस्तै थियो, छाक टार्नै मुस्किल !

एकदिन घरमै थिए, एकाबिहानै हङकङबाट एकजनाले फोन गरेर अनुरोध गरे, “हङकङमा सांगीतिक प्रस्तुति छ, गीत गाउन आइदिनुपर्‍यो । ६० हजारभन्दा बढीचाहिँ दिन सक्दिनँ ।”

सुरुमा त उनले विश्वासै गरेनन् । पैसा पनि पाइने, विदेश घुम्न पनि पाइने ! भुइँमा खुट्टै रहेन उनको ।

त्यसै बेलादेखि उनको विदेश जाने क्रम पनि बढ्यो । पैसा र प्रतिष्ठा एकसाथ हात पार्न थाले उनले । हालसम्म तीन दर्जन बढी देशमा सांगीतिक प्रस्तुतिका लागि पुगिसकेका छन् ।

उनी भन्छन्, “गीत गाएर त्यसरी पैसा कमाउन सकिन्छ भन्ने मैले सोचेकै थिइनँ, पैसै–पैसा पो बर्सन थाल्यो ।”

ओभरसियर पढ्दा नै ‘ड्राफ्ट म्यान’को जागिर पाइन्थ्यो । ०५३ यता त उनले ओभरसियर काम नै गर्न थालेका थिए ।

“ओभसियर काम मैले रहरले गरेको होइन, मभित्रको संगीतप्रतिको मोहलाई बचाउन जागिर खाएको थिएँ, गीत गाएरै गीत बचाउन सक्ने पो भएँ,” कुराकानीमा हाँसो थपे उनले ।

खोटाङबाट धरान हुँदै काठमाडौँ झर्दा उनीलगायत परिवारसँग सपनाका पन्तुरामात्रै थिए । १० वर्षभित्र गीत गाएर घट्टेकुलोमा साढे तीन तलाको र पेप्सीकोलामा समेत घर जोडूँला भनेर उनले सपनामा पनि चिताएका थिएनन् ।

“मैले पैसा कमाएको होइन, गीत–संगीतमा लागेर केही हुँदैन, अझ पपमा लागेर त तिम्रो जहान छोराछोरीको बिचल्ली हुन्छ, भोकमरी नै लाग्छ तिमीलाई भन्नेहरूलाई जवाफ हो त्यो,” उनी गलल हाँसे ।

५० को दशकदेखि उल्लेख्य संख्यामा विदेश जाने क्रम बढेको थियो । तत्पश्चात त्यहाँ पुगेकाहरूले नेपालबाट कलाकार झिकाउन थाले र सांगीतिक प्रस्तुति देखाउन थाले, जसले गीत–संगीतको बजार झनै विस्तृत बनायो । उनीहरूको रोजाइमा पप गायक नै पर्थे किनकि पप गायकहरूले मास तताउँथे ।

०  ० ०

पहिलो एल्बम रेकर्ड गर्न निकै पापड बेल्नुपर्‍यो । ८ वटा गीत जम्मा पारेका थिए तर, गीत रेकर्ड गर्ने पैसा थिएन । परिवारसँग पनि के हात पसार्नू ! जसोतसो घर चलिरहेको उनले देखेका थिए ।

तीन दिन तीन रात नसुती देउसी खेल्दासमेत पैसा नपुग्ने भएपछि उनले ठूली आमासँग हारगुहार गरे । ठूली आमा लाहुरेकी श्रीमती थिइन् । गीत नै रेकर्ड गर्न लागेको थाहा पाएर छिमेककी काकीले पनि सघाइन् ।

पैसा त जसोतसो जम्मा भयो तर म्युजिक कम्पनीले गीत रेकर्ड गर्न मान्दै मानेनन् । ‘पप संगीतको बजार नै छैन, सुन्ने मानिस छैनन्’ भनेर बारम्बार पन्छाएपछि उनले आफैँ प्रचारप्रसार गर्ने सर्तमा गीत रेकर्ड गराए ।

प्रचारप्रसार त गर्ने तर कसरी ? केही मेसो थिएन । श्यामस्वेत पोस्टर छापे र बाटामा आफैं टाँस्न निस्किए ।

उनी त्यस क्षण स्मरण गर्छन्, “साथीलाई मःमः खुवाउँछु भन्दै लोभ देखाएर सहयोग लिन्थेँ र रातभरि बागबजारको भित्तामा पोस्टर टाँस्थें ।”

दिउँसो पोस्टर टाँस्दा सबैले थाहा पाउँछन् भनेर बागबजारदेखि न्युरोड गेटसम्म मध्यरात पोस्टर टाँस्न मास्क लगाएर हिँड्थे उनी ।

पोस्टरमा ‘डान्सिङ सिंगर धीरज राईको प्रियसी एल्बम’ लेखिएको हुन्थ्यो । आफ्नो पोस्टर आफैँ देखेर छक्क पनि पर्थें ।

एउटा रमाइलो प्रसंग पनि सुनाए–

क्यासेट निकालेपछि साथीहरूबीचमा कुराकानी हुन्थ्यो, “तैंले कसरी गरिस् प्रचार ? मेरो त कम्पनी आफैँले पोस्टर टाँस्यो नि !”



त्यतिबेला चलेका पप गायक थिए सञ्जय श्रेष्ठ । उनी ‘मेरो पनि पोस्टर कम्पनीले नै टाँस्यो नि !’ भन्दै फुरुंग पर्थे ।

कहाँ हुन्थ्यो ! एक दिन दुवै जना आफ्नो एल्बमको पोष्टर टाँस्दै गरेको अवस्थामा बागबजारमा भेटेर मरिमरि हाँसे रे !

“पपे भन्दै हामीलाई कसैले गायकै मान्दैनथ्यो, निकै दुःख गरेर पो स्थापित भएका हौँ त !” उनी फेरि हाँसे ।

० ० ०

७२ प्रतिशत ल्याएर प्रवेशिका परीक्षा उत्तीर्ण गरेका थिए, जुनै कलेजले पनि भर्ना लिन्थ्यो ।

आमाले भनिन्, “छोरा पपसप गाएर केही हुँदैन, तँ पढ्न अस्ट्रेलिया जा, देश पनि हेर्, मुख पनि फेर् !”

परिवारको एक्लो छोरा थिए, राम्रो पढोस् भन्ने चाहना हुनु अन्यथा थिएन ।

आमाले अगाडि भनिन्, “पप संगीत तेरा लागि काँडाघारी हो, जुन पन्छाएर तैंले बाटो खन्नुपर्ने र आफैँ हिँड्नु पनि पर्नेछ, नलाग् त भन्दिनँ तर निकै गाह्रो हुन्छ बुझिस् !”

रातभरि सोचे उनले । एक मनले कहिले अस्ट्रेलिया पुर्‍याउँथ्यो, अर्को मनले यहीँ संघर्ष गर् भन्थ्यो । अन्तिममा उनले १० वर्षको ‘डेडलाइन’ राखेर संघर्षका लागि कम्मर कसे ।

० ० ०

‘लुकी लुकी’ गीत निकै चल्यो । त्यसले धीरज राईलाई चिनायो पनि । तर, त्यो गीत रेकर्ड गराउन निकै ‘महाभारत’ परेको छ ।

धराने संस्कृतिमा हुर्किएका उनी । फेसनको प्रतिस्पर्धा हुन्थ्यो । टोलका केटाहरूबीच कसले कस्तो लुगा लगाउने भन्ने प्रतिस्पर्धा नै चल्थ्यो । उनको सोखचाहिँ जुत्ताको थियो । र, लामा जिब्रो भएको जुत्ता किनेका थिए उनले । कक्षामा प्रथम भएपछि आमाले एक महिनाको तलब १२ सय दिएकी थिइन्, त्यही पैसाले जुत्ता किने ।

टोलमा एकजना लाहुरेको छोरो थियो, एकदम स्टाइलिस्ट । घरबाट पैसा चोरेर ल्याउँथ्यो र के के किनिरहन्थ्यो । उसैले धीरजलाई भनिरहन्थ्यो, “ओइ जुत्ता बेच्छस् ?”

गीत रेकर्ड गर्ने पैसा नभएर उनी भौँतारिँदै थिए । सात सय रुपैयाँमा उनले जुत्ता बेचिदिए र गीत रेकर्ड गरे ।

गीत रेकर्ड गर्नु उनका लागि ठूलो कुरा त थियो तर त्यस्तै दुःखको कुरा पनि । साथीसंगी सोध्थे, “खै त तेरो जुत्ता, कि बेचिस् ?”

साथीहरूले दिक्क बनाएपछि उनले अर्को स्पोर्टस् सुज त किने तर उल्टै साथीहरू गिज्याउन पो थाल्छन् !
हतारमा फुटबल प्लेयरले लगाउने गेडीवाला जुत्ता पो किनेछन् उनले !

स–साना खुसी नत्याग्ने हो भने ठूलो खुसीबाट विमुख होइने उनको बुझाइ छ । र त उनी भन्छन्, “माया गरेर जुत्ता नबेचेको भए आज कहाँ गायक बन्थेँ त म !”

० ० ०

उनको ‘मिस्टिरियस गर्ल’, ‘सेकेन्ड बेबी’, ‘गल्र्लफ्रेन्ड’ भन्ने एल्बम चलिरहेका थिए । भैरहवामा स्टेज प्रस्तुतिका लागि पुगेका थिए ।

एउटी केटी नाँच्दानाँच्दै स्टेजमा उक्लिइन् र धीरजलाई ‘हग’ गर्न थालिन् । गीत गाइसकेपछि धीरज आफ्नो शरीरमा हेर्छन् त रगताम्य छ । उनी अताल्लिए– कतै युवतीले छुरासुरा त हानिन ! वा केटीले ड्रग्स–स्रग्स खाएकी पो छ कि !

एकछिन कार्यक्रमै रोकियो । आयोजक पनि आत्तिए । पछि बुझ्दा ती युवतीले नाडीमा ब्लेडले चिर्दै ‘धीरज’ लेखिछन् र रगतपच्छे भएर स्टेज चढिछन् ।

त्यो थाहा पाएपछि धीरजले युवतीलाई ‘हेर यसरी पागल हुनु हुँदैन’ भन्दै सम्झाइबुझाइ गरेर एल्बम उपहारसमेत दिएछन् । यो ०५३ सालतिरको कुरा हो ।

० ० ०

सन् २००३ मा उनी आरआर कलेजमा स्नातकोत्तर द्वितीय वर्षमा अध्ययन गर्दै थिए । दोस्रो वर्षमा पाँच वटा पुस्तक पढ्नुपथ्र्यो, जसमध्ये एउटा ब्रान्ड ओरेनले लेखेको ‘हिस्ट्री अफ नलेज’ भन्ने किताब पनि थियो ।

त्यसको एउटा च्याप्टरमा ‘बुद्ध वाज वर्न टु द नर्थन पार्ट अफ इन्डिया’ उल्लेख थियो । त्यो पढ्नासाथ उनको दिमाग रन्थनियो ।

मास्टर्स डिग्रीको लेभलमा यस्तो कसरी भयो, यसअघि पढ्ने विद्यार्थीहरूले कसरी पढ्न सके त्यो ? जाँचमा कसरी उत्तर दिन सके होलान् कि ‘बुद्ध वाज वर्न टु द नर्थन पार्ट अफ इन्डिया’ ।

शरीरका कोष–कोष तातेजस्तो भयो ।

त्यसपछि उनले एउटा संघर्ष समिति बनाएर आन्दोलन सुरु गरे । त्रिभुवन विश्वविद्यालयमा कुरा राखे । प्राध्यापक र त्रिवि पदाधिकारीले पनि आलटाल गर्न थाले । आन्दोलन अझै चर्काए । अन्तिममा त्यो पुस्तक पाठ्यक्रमबाट हटाउन सफल भए उनी ।

आन्दोलन निष्कर्षमा पुगेपछि उनले सोचे– अब यसरी हुँदैन, यसलाई अभियानकै रूपमा लैजानुपर्छ ।

अंग्रेजीमा एल्बम पनि तयार पारे– बुद्ध वाज बर्न इन नेपाल !

त्यसैबखत भारतीय च्यानल ‘जी न्युज’बाट भारत बुद्धमा जन्मिएका हुन् भन्ने डकुमेन्ट्रीसमेत प्रसारण भयो । त्यो नेपालमाथि सिधै हस्तक्षेप थियो । सरकार, राजनीतिक दलले चुँसम्म गरेनन् ।

धीरज आफैंले ‘फेसबुक क्याम्पेनिङ’ सुरु गरे । वसन्तपुरमा दसौं हजारको जुलुस निकाले । नायक रमित ढुंगानालगायत सयौँ स्वतन्त्र नागरिक भेला भए, विरोध जनाए ।

अन्तिममा भारतीय दूतावासले विज्ञप्ति निकालेर ‘बुद्ध नेपालमै जन्मिएका हुन् भन्नेमा द्विविधा छैन’ भन्यो ।

अहिले उनी देश–विदेशमा त्यही अभियान अघि बढाइरहेका छन् ।

० ० ०

धीरजकी आमा शान्तिकुमारी राई अन्तरिम संविधान २०६३ को मस्यौदाकार हुन् । बाबु पेसाले प्राध्यापक हुन् । प्रियसी भाग– १, २, ३ सहित १३ वटा एल्बम निकालिसकेका, सयभन्दा बढी गीतमा आवाज दिएका गायक धीरज पुस्तक लेखनमा पनि उत्तिकै सक्रिय छन् । ‘के हो पप संगीत ?’, ‘पपमा बितेका १५ वर्ष’, किताब प्रकाशित भइसकेका छन् भने ‘पप गायनमा विश्व भ्रमण’ किताब प्रकाशोन्मुख छ ।

त्यस्तै, उनी अध्यापन पनि गर्छन् । त्यसका अतिरिक्त उनले त्यस्तै ‘द ब्रिफ हिस्ट्री अफ नेपाली पप म्युजिक’ भन्ने वृत्तचित्र पनि बनाएका छन् र त्यो वृत्तचित्र अमेरिकाको ‘कोर्नेल युनिभर्सिटी’मा पाठ्यक्रममा समेत समाविष्ट छ, जहाँ नवीन सुब्बाको चलचित्र ‘नुमाफुङ’ पनि पाठ्यक्रममा राखिएको छ ।

त्यतिमात्रै होइन, त्यो वृत्तचित्रले धेरै अवार्ड पनि पाएको छ र नेपाली पप इतिहासका संग्रहणीय दस्तावेज बन्न सफल भएको छ ।

जाँदाजाँदै मैले प्रसंग उप्काएँ– सदाबहार ह्याट किन ?

कालो पृष्ठभूमिमा सेता ठूला अक्षरले लेखिएको ‘लस एन्जल क्राइम’ ह्याट फुत्त झिकेर हाँस्दै भने, “पहिचान धीरजको, सन्देश बुद्धत्वको ब्रो !”

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment