Showing posts with label साहित्य गंगा. Show all posts
Showing posts with label साहित्य गंगा. Show all posts
गोधूलिसँग दिनको वियोग मात्रै हुँदैन, मिलनको योगसमेत हुँदो रहेछ ! त्यस दिन त्यस्तै भयो । सूर्यको बूढा किरणले आँपघारीलाई अन्तिम चुम्बन गर्दासम्म पनि उनी आइपुगिनन् । सडकमा मयुर, म्याजिक र मोटरसाइकलको आवाज निष्प्राणप्रायः थिए, वास बस्न गन्तव्यकृत भइसकेका थिए, सायद ।
फेबु्रअरी १४ । प्रणयमार्गीहरूको शुभ दिन । प्रेम गर्नेहरूका लागि त्यसदिनको वैशिष्ट्य बेग्लै छ ।
कसैको पर्खाइमा समय व्यतीत गर्नु अत्यन्त कष्टसाध्य कुरा हो । पर्खाइका ती सबा घन्टा जीवनको कालकोठरी प्रतीत भयो । सेन्ट्री बसिरहेका हतियारधारी सिपाही । एकअर्कालाई उछिन्न हतार गरिरहेका पूर्व–पश्चिम रुटका लामा सवारी । रातलाई स्वागत गर्न भयातुर झ्याउँकिरीको संगीत । सन्नाटालाई प्रिय ठान्ने जोरखोलाको लय । भरदिनको प्रेमालापपछि गुँड फर्किइरहेका चरा–बचेरा । बाटामा पैताला नापिरहेका प्रणयशील युगल जोडी । उच्चाटयुक्त प्रतीक्षाका साक्षी थिए ।
‘
सरी !’ ओठबाट मादकतापूर्ण फक्रिएको हाँसो उछिट्टियो र शून्य निःस्तेज भयो । मुस्कान यस्तो अभौतिक रसायन हो, यसले जस्तै कठोर चिजलाई पनि पलभरमै पगालिदिन्छ । तरल भएँ म ।
सर्वकालीन पिङ्क ज्याकेट । खैरो र बुट्टेदार स्कार्फ । खैरो टि–सर्ट । कालो जिन्स । कालै जुत्ता । लयबद्ध लवाइ थियो उनको ।
अर्ध–श्यामल वर्ण । गुलाफी ओठ । काँध छिचोलेर पिठ्युँतिर लहराएका कपाल । काँक्राको चिरोजस्तो नाक र त्यसमाथि आयाताकार फुली । अर्धचन्द्राकृत तिलस्मी आँखा । कप आकारको चिउँडो । कानमा स्वर्णपल्लव ।
उनको सौन्दर्यका उपमा थिए । ओसुमको पर्फ्युमभन्दा बढी प्रेम बसाएकी थिइन्, सीमा ।
जस्तै बेफुर्सदमा पनि आफूलाई स्फुर्त राख्ने र स–साना चिजमा छरिएको खुसी बुटुलेर जिन्दगीलाई आलोकित तुल्याउँछिन्, उनी । र, उनकै पाठशालाको प्राथमिक तहको विद्यार्थी थिएँ म ।
‘मेरो काम त्यस्तै छ, तिमी बुझ्छौ नि !’
अगाडि नै ‘बुझ्छौ’ भनेर समझदारको पगरी गुथाइसकेपछि रातोमुख पार्नु उनीप्रति बेइमानी हुन्थ्यो । रिस कण्ठमा दबाएर ओठमा हाँसो छर्नु बाध्यता बन्यो । फिस्स मुस्कुराएँ । लघुचलचित्रको कुनै दृश्यमा त्यसरी हाँसेको भए ‘फिलिङ्स पुगेन’ भन्दै ‘कट्’को सिकार हुँदो हुँ ।
‘ज्याकेटको बटम माथिसम्मै किन लाएको ?’ टाँकतिर हात लम्काइन् उनले । यस्तै बहाना खोज्दै सीमाले मेरो रिसमाथि नियन्त्रण राख्थिन् र रुमानीमा मायाको अन्तर्तलमा पु¥याउँथिन् । उनका यस्तै कृत्यले त हो मैले आफूभित्र माया गर्ने मुटु पनि छ भन्ने चाल पाएको । यस्तो लाग्छ, उनी मायाकी महाविद्यालय हुन् । मचाहिँ कखरा सिक्दै छु ।
‘अचेल त केटाहरू पनि ड्रेसमा कन्सस् हुन्छन् नि, तिम्रो त जीवनको लय सधैँ एकनास !’
‘अपरिवर्तनीय चिजहरूले सृष्टिको नियमितता बचाएका छन् । खोइ हावा बदलिएको ? खै पानीको आकार फेरिएको ? खोइ प्रकाशको रङमा बदलाव आएको ? यो रातमा किन सूर्य उदाउँदैन ? कृष्णपक्षको अन्धकार जूनले किन चिर्दैन ?’ यस्तै सोचेर मैले जिन्दगीको लयलाई कहिल्यै बदलिनँ ।
तर, मायाको सागर लिएर समीपमा आएकी सीमाले जिन्दगीको धार बदलिदिइन् । विशृंखलित तुल्याइदिइन् । मानौँ उनी सीमा होइनन्, सुदूर सरिता हुन् । जसको माया परेलीमा मात्र सीमित छैन, मनका तरेलीतरेलीसम्म फैलिएको छ ।
‘ज्याकेटको टाँक नलगाए तिम्रा हातहरू बेरोजगार हुन्छन् । आफूलाई यस्तै लापरबाह राखे तिम्रो मुखले बिजनेस पाइरहन्छ नि !’ मनबाट खँदिलो हाँसो झिकेँ मैले ।
‘यस्तो कूटनीतिक जवाफ दूतावासमा काम लाग्ला, आज प्रेम–दिवस लेखक, यसवेला त मायाको अतृप्त आभास चाहिन्छ । ऊ पर हेर त, ताराहरूले आँखा उघारिसके, गन्थन होइन, प्रेम–मन्थन गर्न तयार बन !’ वाक्य भुइँमा खसेकै थिएन, प्रकाश वेगमा ओठको प्याला पो उठाइन् ।
‘समयले कस्तो व्याधी ल्याएछ, रात नढल्कँदै ओठमा आँधी !’
‘हा..हा..हा…!’
म अचम्मित भएको देखेर बेस्करी खित्खिताइन् उनी !
सपनाको यायावरी गर्नु । दुःख–पीडासँग साक्षात्कार गर्नु । कथा–आलेखलाई आकार दिनु । पत्रपत्रिकामा छापिएका फुटकर रचनामा आफ्नो फोटो हेरर आह्लादित हुँदै जीवन प्रह्लादित तुल्याउनु, कति रूढ बाँचेको रहेछु म । आफ्नै बाटो फर्किहेर्दा छातीमा असन्तोषको भुंग्रो खडा हुन्थ्यो ।
सीमाको सान्निध्यतापछि गीतसंगीत प्रिय बने । प्रेमाख्यान, उपाख्यानमा मन जान थाल्यो । प्रकृतिका हरचिजहरू आफूतिर आकर्षित भएझैँ प्रतीत हुन थालेको थियो । जीवनको यो कस्तो कायाकल्प ? सूर्य होइन, ऊर्जाको स्रोत त प्रेम पो रहेछ । घाम लागे पनि कहाँ आलोकित थियो र जीवन !
‘थ्यांक यु सीमा !’ मनमनै कृतार्थ भएँ ।
० ० ०
थाहा छैन, यी बूढा आँपका रूखहरूले कति हिउँद व्यतीत गरे । थाहा छैन, कति झरीबादल छिचोले । दिउँसोको अचाक्ली गर्मीले मुर्झाएका तिनका पातहरू साँझको हावाको स्पर्शसँगै ताजा भएका थिए । वेलाबखत चल्ने सिरेटो ती अकिञ्चन पातमा ठोक्किँदा गज्जबको धुन निस्कन्थ्यो, प्रेमिल । मानौँ न यही नादले तिनको जीवनको लय जीवित तुल्याएका छन् ।
‘एउटै स्पर्श जीवन बदल्न कति काफी हुन्छ है,’ उनको आवाजमा अचानक भावुकता मिसियो । नारायणीको सुदूर किनारतिर आँखा डोलाइन् ।
‘प्रिय लेखक तिमी जति भावुक छौ, उत्तिकै कठोर पनि र’छौ ! तिमीले निरीह देउतीमाथि एकचिम्टी पनि दया देखाएनौ हगि ! अन्तिममा यही नारायणी तटमा देउतीलाई अलपत्र छाडेर लेखक भइटोपल्यौ !’
सीमाको बानी यस्तै छ, उनी वाक्यैपिच्छे गाली गर्छिन् या प्रशंसाका फूल बर्साउँछिन् ? म केही भेऊ पाउँदिन । पाऊँ पनि कसरी । उसको आवाज वाक्यांश हुन् कि जीवन–दर्शन ? बुझ्नै सक्दिनथेँ ।
‘२०–२१ कै उमेरमा यत्रो जीवन–दर्शनको मूल कसरी रसायो होला ?’ अचम्मित हुन्थेँ म । सीमाका पछिल्ला अभिव्यक्तिले आँखा सजल भए । पानीजस्तै मनका अन्तरकुन्तर बग्न थालेँ म ।
‘तिमीलाई यो मायावी साँझ नारायणीको तटमा लैजान चाहन्छु ! ता कि तिमीले अरू अलपत्र देउतीहरूको पनि जिन्दगी देख्लाऊ । मनमा कालिगण्डकीको विरह सुसाउला । के थाहा अर्को देउती पनि जन्माइहाल्छौ कि !’
जंगल छिचोलेर देवघाटको झोलुंगे पुल तर्दा रात निख्खर कैलो भइसकेको थियो ।
‘ऊ तिम्री देउती !’
‘हामी स्यानामा जूनलाई देउतीमाता भन्थ्यौँ र थालमा पानी राखेर आँगनमै ओह्राल्थ्यौँ ! औँसीपक्ष नहुँदो हो त आज देउती देखिँदी हुन् । यही पानीमाथिको धूमिल प्रतिविम्ब हेरेर भए पनि चित्त बुझाऊ लेखक,’ उनले त्रिशूलीको पानीमा अर्धचन्द्र देखाइन् ।
‘प्रिय लेखक, तिमीले केही आवाज सुन्यौ ? यो चिसो स्याँठ बाँचेर पनि न्यानो बन्न नसकेका तिनै देउतीहरूका कठोर सुस्केरा हुन् ! बुझ्यौ तिमीले ?’
‘यो परित्यक्तहरूको आश्रयथलो हो । तिमी जान्दछ्यौ नि, हामीलाई झोलुंगे पुल तर्न कत्ति पनि हतार भएन । हतार भएन चार किलोमिटर जंगल छिचोल्न पनि । तर, ऊ पर हेर त, ती बूढी आमै, जसलाई यो पुलको यात्रा कति कष्टसाध्य छ । जीवनमा कोही हुनु र नहुनुबीचको फरक यत्ति हो ।’
‘उनलाई यो देवघाट कालकोठरी लाग्दो हो । जहाँ उनले मृत्यु कुर्दै पट्यारलाग्दो दिनहरू बिताइरहेकी छन् । प्रिय लेखक यो सितारासरका तारा र म मिसिएको रंगिन साँझ उपहार तँलाई !’
उनले बेस्सरी हात समाइन् र पुनः ओठको प्याला उठाइन् ।
मनभित्रको भावुकताको स्याँठले बिथोल्यो मलाई । अनायास आँखा चिसा भए । सीमाको न्यानो र गहिरो निःश्वासले त्रिशूलीको सिरेटो पन्छाउन सकेन । अहँ सकेन । शीतांग भएँ म ।
महँगा वस्तु आदन–प्रदान गर्ने, तन–मन साट्ने, मनको क्यानभासमा भावनाको रङ पोतेर जीवनका प्रतिविम्ब उतार्ने स्वप्नशील युवापुस्ताबीच हुर्किएकी आगाकी फिलिंगीले जीवनको आखिरीपाटोसँग साक्षात्कार गराउन
देवघाट लैजालिन् भनेर कसरी सोच्नु, अवाक् भएँ म ।
० ० ०
डाँडापारि तारा साक्षी राखेर घन्टाको सहारासँगै ब्युँझियो देवघाट । र, सुरु भयो बुढ्यौली चर्या । बामे सर्दै मन्दिर जाउ । खुइया… काढ्दै वृद्धाश्रम धाउ । निस्ता चिउरा आँसुले निल । समयक्रमसँगै आफ्नाहरू मात्रै होइन, शरीर पनि पराइ होइजाँदोरहेछ । कति कठोर नियति ! कति निर्दयी भाग्य !
भोलिपल्ट बिहान डेढ घन्टा तिनै बुढ्यौली–जीवन पढेपछि सीमाको अनुहारमा बादल देखा परे ।
‘यौवनावस्थामा सहाराको जरुरत पर्दछ ठान्थेँ, सहारा त बुढ्यौलीमा पो चाहिँदो रहेछ !’ अन्धकारपूर्ण अनुहारको बादल पन्छाउँदै वाक्य भुइँमा खसालिन् उनले ।
‘मानिस सहराबीना कहिल्यै पूर्ण हुँदैन । चाहे बाल्यावस्थामा होस्, चाहे वृद्धावस्थामा, चाहे तरुणमा होस् या प्रौढमा । एकअर्काको वैशाखी नटेकी टाढाको यात्रा तय गर्नु मूर्खता सिवाय केही होइन ।’
मेरो कुराबाट तुष्ट भइन् सायद, टाउको हल्लाइन् उनले ।
खोलाको सिरोटो पन्छाउँदापन्छाउँदा सूर्य पनि थाक्यो सायद, बिहानको १० बज्दासम्म घामले पिठ्युँ पोलेन ।
गलेश्वर आश्रमबाट ओरालो झर्दै गर्दा हरेराम हरेकृष्णको एकोहोरो नाद गुञ्जियो र झोलुंगे पुलमा पाइला राख्दासम्म पनि आवाज कानमा ठोक्किन छाडेन ।
झोलुंगे पुलको बीचमा पुगेपछि सीमा आवाजमिश्रित भई, ‘सानामा कार्टुन हेर्न असाध्यै मन पराउथेँ । किशोर–यौवनमा त्यो बानी पुस्तक पढ्नमा बदलियो । बुढेसकाल हरि–कीर्तन गाउँदै बित्छ होला !’
एक्कासि त्रिशूलीमा उछाल आएझैँ भयो उसको अनुहार । निधारमा ठाडा, तेर्सा धर्सा तयार भए । कञ्चटका नसा फुले । मुहारको ताप शून्यमा झर्यो । एकै रातमा बूढी पो देखिई सीमा !
आँपघारी छिचोल्दासम्म म आँसुमिश्रित भइसकेको थिएँ । चौबाटो आइपुगेपछि उनका औँलाहरू छुट्टिन मानेनन् । ओठहरू अत्यास मान्न थाले । अनुहारले अनुहार ढाकेर धेरैबेर भक्कानिइरहिन् ।
‘भेटिनु नै छुट्टिनु हो भन्ने ख्यालै गरिनछु प्रिय लेखक ! जीवनका यिनै आकस्मिकता र नियमितता तिम्रा लेखन–सुधा र लेखकीय क्षुदा बनून्, प्रेमको अन्त्यहीन शुभकामना !’
दृश्यपटांगिनीबाट उनी ओझेल परेपछि त्यही थलोमा उभिएर मैले ट्विट लेखेँ– जीवनका केही पल मसानघाटजस्तो उच्चाटयुक्त हुन्छन्, जहाँ प्रिय मानिस छुट्छन् ।
केही समय अगाडि अक्षर काकाले आफ्नो फेसबुक अकाउन्टमा लेखे, “प्रसव पीडापछि हिजो साँझ ‘देउती’ जन्मिइन् । यो धर्तीमा स्वागत छ तिमीलाई । सधैंभरि हाँसिरहनू, तिमी जन्मिएको बेला म जसरी हाँसेको थिएँ, ठीक त्यसैगरी ।”
सामाजिक सञ्जालमा राम्रो पकड भएका उनको त्यो स्टाटसमा धेरैले कमेन्ट गरे, “छोरीको बा हुनुभएकोमा बधाई छ काका ।”
उनलाई अचम्म लाग्यो । मान्छे कति हतार गर्छन् कमेन्ट गर्न । उनी फिस्स हाँसे । चुपचाप बसे । कमेन्टहरू थपिँदै गए, उनको अनुहारमा लाली भरिँदै गयो ।
‘देउती’ उनकी श्रीमतीले नौ महिना गर्भाधान गरेर जन्माएकी मासु र रगतको स्थुल स्वरूप थिइनन् । त्यो त उनी आफैंले आफ्नो मस्तिकमा गर्भाधान गरेर कम्प्युटरको सेतो स्क्रिनमा जन्माएकी ‘देउती’ थिइन् । ‘देउती’ जन्माउन उनकी श्रीमतीले खेपेको प्रश्रव पीडाभन्दा कम थिएन ।
मैले सोधें, “महिलाको प्रसव पीडा तपाईंले कसरी भोग्न सक्नुहुन्छ ? यो त महिलाभन्दा अरु कुनै प्राणीले भोग्न सक्दैनन् ।”
उनी फिस्स हाँसे । तौलिँदा पचास किलो ढिकढाकका काका चुपचाप बसे । केही बेरमा मुख खोले, “महिलालाई प्रकृतिले त्यो प्रसव पीडा खेप्ने अधिकार र पीडा दिएको हुन्छ । लेखकहरूलाई शरीरमा त्यतिबिघ्न पीडा नभए पनि मानसिक रूपमा हुन्छ । त्यो पीडा लेखकीय प्रसव वेदना हो ।”
० ० ०
पत्रकार समाजको पथप्रदर्शक हो । ऊसँग सधैं जिज्ञासा हुन्छ । त्यो जिज्ञासाले सूचना खोज्छ र सूचना खोज्दै जाँदा वास्तविक पात्रसँग आमनेसामने गराउँछ । काका पनि यसको अपवाद थिएनन् । उनले पनि समाचारका पात्रहरूसँग भेटे, जसले उनको मस्तिष्कलाई सधैं झक्झक्याए । त्यस्ता पत्रकार कमै हुन्छन्, जसले समाचारका पात्रलाई लिएर सिंगो उपन्यास लेख्छन् ।
तर, काका त्यस्ता होइनन् । ‘देउती’को केन्द्रीय चरित्र देउती उनको समाचारकी पात्र होइनन् । स्रोत पनि होइनन् । केन्द्रीय पात्र त उनकी हजुरआमा र फुपू दिदी हुन् । अथवा उनीहरूले भोगेको पीडा हो । उनीहरू जस्तै एकल महिला र बाल विधवाले भोगेको कठोर जीवनको कठोर कथा हो । आर्तनाद मिसिएको महिलाको कारुणिक रोदन हो । अनि हो चहर¥याइरहेको घाउमा नुनचुक छर्ने निर्दयी यौनपिपासु कालो समाजप्रतिको पटाक्षप ।
० ० ०
काका निकै सानै थिए । ठ्याक्कै उमेर थाहा नभए पनि चीँमुसी चीँ खेल्ने उमेरका । बाल विधवा उनकी फुपू र ३५ वर्षको कलकलाउँदो उमेरमा आफ्ना पति गुमाएकी उनकी हजुरआमा सधैं गफिरहन्थे । एकान्त पाउनेबित्तिकै उनीहरूको गफ सुरु हुन्थ्यो । अनुहारमा विचित्रको हाँसो फैलिन्थ्यो । र, छिनमै आँखा रसाउँथे । अनि दुवै जना सेतो मझेत्रोले आँसुको भेल पुछ्न थाल्थे । चन्द्रझैँ अनुहार लिएर बसेका उनीहरू सुँक्कसुँक्क गर्दै उठ्थे र आ–आफ्नै बाटोतर्फ बाँडिन्थे ।
“म सानै थिएँ । ममा म पुरुष हुँ भन्ने चेत पनि पलाइसकेको थिएन । तर, हजुरआमा र फुपू दिदी मैले पनि नसुन्ने गरी निकै सानो स्वरमा कुरा गर्नुहुन्थ्यो,” काका करिब २५ वर्षअगाडि फर्किनछन्, “अरु बेला मलाई एकछिन पनि नछाड्ने हजुरआमा मबाट तर्किंदै दिदीसँग त्यसरी गफ गरेको देख्दा मलाई अचम्म लाग्थ्यो । र, झन् मलाई के कुरा गर्छन् भन्ने उत्सुकता हुन्थ्यो ।”
उत्सुकताले काकालाई उनीहरूको कुरा सुन्न नजिक लैजान थाल्यो । तर, हजुरआमा र दिदी भने झनै सचेत हुन्थे । शायद उनीहरूलाई लाग्थ्यो– यो बालखै छ, उसले यस्ता कुरा सुन्नु हुँदैन । काका भने थाहै नपाएझैं उनीहरूको नजिक पुग्थे र सुन्थे ।
हजुरआमाको सारीको फेर र मझेत्रोको छेउ समाएर उनी सँगै कुद्थे । उनले पनि जेठा नाति भनेर खुब माया गर्थिन् ।
हजुरआमा र फुपू दिदीका धेरैजसो कुरा श्रीमान् गुमाएपछिका पीडाका हुन्थे । श्रीमान् गुमाएका महिलालाई परिवार र समाजले गर्ने व्यवहारका हुन्थे । उनीहरूलाई लाग्दै आएका निराधार आरोपका हुन्थे । र, त्यस्तो आरोप सहेर पलपलमा मर्दै बाँचिरहेका महिलाका जिन्दगीका हुन्थे । कसरी नरोओस् उनीहरूको मन ? कसरी नरसाऊन् उनीहरूका आँखा ? कसरी नराखोस् समाज परिवर्तनको अपेक्षा ? र, कसरी कल्पना नगरोस् समतामूलक समाज निर्माणको परिकल्पना !
हजुरआमा र फुपू दिदीले आफ्ना श्रीमान् गुमाएपछि भोग्नु परेको हेलाहोचोको कथा सुनेर हुर्किएका काका गाउँको पढाइ सकेर काठमाडौं आउँदा पनि अवस्था उस्तै थियो । मान्छे मर्ने र बाँच्ने त रीत हो, बदलिने कुरै थिएन । न त अपेक्षा नै । तर, जे फेरियोस् भनेर अपेक्षा गरिएको थियो, त्यो पनि बदलिएकै थिएन । समय बित्यो तर सोच बदलिएन । राजनीतिक व्यवस्था बदलियो तर समाज बदलिएन । कुराहरू अग्लाअग्ला हुन थाले, व्यवहार होचो नै थियो ।
महिलामाथि हुने व्यवहारमा परिवर्तन आएकै थिएन । एकल महिलालाई दिने यातना र दुव्र्यवहार उस्तै थियो । समाजको गिद्दे दृष्टि छँदै थियो । महिलाको इज्जत लुटेर आफूलाई मर्द ठान्नेहरूको कमी भएकै थिएन । प्रत्येक अखबारले महिलामाथि हुने अमानवीय कुकृत्यका भ्यागुते हेडलाइन छापिरहेकै थिए । आकर्षक बनाएर एफएम र टिभीहरूले समाचारका हेडलाइन पढिरहेकै थिए ।
यो यर्थाथले काकालाई भने लपेटिरहेको थियो । गाउँमा छँदा नजिकबाट नियालेका काकाले काठमाडौं आएर यसलाई अझ विस्तृतमा देशैभरि देखे । उनलाई लाग्यो– यसबारे लेख्न पाए ? गज्जब हुन्थ्यो !
कवितामा कलम चलाइरहेका काकालाई मनमा गढेको कथालाई उपन्यासको रूप दिन रहर पलायो । तर, आँट भने आएन । ‘फाइभ डब्लु वान एच’को सूत्रभित्र बसेर हार्डन्युजमा उनको कलम अभ्यस्त भए पनि लामा फिचर स्टोरीमा भर्खर डुल्दै त थियो तर परिपक्व भइसेको थिएन ।
समयको चक्र घुम्दै थियो । समयसँगै उनी अनलाइन पत्रिका ‘बाह्रखरी’ आइपुगे । त्यहीँ उनको कलम फिचर स्टोरीमा दौडिन थाल्यो । समाचार, कथाहरू माझिँदै गए ।
० ० ०
चार वर्षअघिदेखि नै मस्तिष्कमा उपन्यासको मधुरो आकृति थियो । मंसिरदेखि त्यसलाई उज्यालो पार्दै उद्याउँदै लगे । उपन्यासको प्रारम्भ, प्रत्येक च्याप्टर र क्लाइम्याक्सको सिन स्पष्ट दिमागमा भयो ।
र,
आयो काकालाई आँट । सुरु गरे पुसको अन्तिमदेखि ‘देउती’ लेख्न । दिउँसो कार्यालयको काम, राति ‘देउती’ लेखन उनको दैनिकी बन्यो । दिनको २ देखि ५ हजार शब्दसम्म लेख्न थाले । उनको लेखाइमा पूर्णविराम लागेन । करिब तीन महिनामा उनले उपन्यासको बिट मारे– वा भनौं ‘इन्ड क्ल्याप’ गरे ।
‘इन्ड क्ल्याप’ गर्न उनी आफ्नै गाउँ अमले (सिन्धुपाल्चोक) पुगे, जहाँ उनकी हजुरआमा र फुपू दिदीले आफ्नो जिन्दगी बताएका थिए र इहलीला समाप्त पारेका थिए । काकाले त्यहाँका प्रत्येक महिला दिदीबहिनीमा ‘देउती’ देख्न थाले ।
“गाग्री बोकेर पानी भर्न पँधेरा जाने महिलालाई पनि सेतो लुगा लगाएको देउती देख्न थालेँ । डोको बोकेर घाँस काट्न हिँडेका महिलालाई पनि म सेतो लुगा लगाएको देउती देख्न थालेँ । हातमा किताबकापी च्यापेर स्कुल हिँडेका केटीहरूलाई पनि देउती देख्न थालेँ,” काका भन्छन्, “सात दिन बसेर गाउँको परिवेश र आञ्चलिकतालाई अझै माझ्न गएको थिएँ, तर तीन दिनमै फर्किएँ ।”
उनले आमालाई यो कुरा सुनाए । आमा डराइन् । उनले पुस्तक नलेख्न आग्रह गरिन् । “पुस्तक लेख्ने मान्छे यस्तै–यस्तै भएर बेसुरका हुन्छन् भन्ने मैले धेरै सुनेकी छु । बाबु तँ पनि यो किताब लेख्न छोड् भन्नुभयो,” काका भन्छन्, “अहिले पनि आमा मलाई फोन गरेर यसै भन्नुहुन्छ । किताब लेख्न छोड्दे बाबु भन्नुहुन्छ ।”
आमाको यो आग्रहलाई उनले ‘बाल’ दिए ।
त्योभन्दा ठूलो चिन्ता आञ्चलिकतासहितको परिवेश चित्रण गर्नु थियो– ताकि त्यो चित्रणले पाठकलाई ‘देउती’कै धर्तीमा पु¥याओस् र वास्तविकता छर्लंग पारोस् । जहाँ आफ्नो लेखनी पनि झल्कियोस् । तर, त्यसले पनि उनलाई अल्झाइरह्यो । लेखे, मेटे, लेखे मेटे । चित्तै नबुझ्ने । करिब–करिब ५ दिनमा बल्ल उनले त्यो सिनको शब्द चित्र उतारे । त्यो हो खण्ड ५ । यो खण्ड अतिशय कारुणिक छ ।
उपन्यासका केही प्लट उनले विपनामा देखे, लेखे । केही प्लट सपनामा देखे र लेखे ।
“सपनामा उपन्यासका प्लट देख्थें, राम्रो लाग्थ्यो, उठेर लेख्थें,” उनी भन्छन्, “तर, केही भने भोलिपल्ट लेख्छु भन्दा त्यसको धमिलो आकृतिमात्रै आउँथ्यो । त्यसलाई जीवन दिन सकस हुन्थ्यो ।”
एक रातको कुरा, काकाले चार हजार शब्द लेखे र सुते । तर, निद्रै परेन । कथा मनमा बगिरहेको थियो । उठे । लेख्न सुरु गरे । लेखे ६ हजार शब्द । उज्यालो भयो । बिहानको ८ बज्यो । ‘बाह्रखरी’ जान उनी तयार भए । रेनकोट लगाए । बाइकको चाँबी बोके र बाहिर निस्किए । बाहिर त पानी परेकै थिएन । उनी झसंग भए, पानी त उनले आफ्नो उपन्यासमा पो पारेका थिए !
वैकुण्ठ ढकाल
सिन्धुपाल्चोकको दुर्गम ठाउँको एक शताब्दी अघिको समाज । समाजमा व्याप्त बालविवाहको भयानक रोग । रोगले निम्त्याउने अनेकौं समस्या र पीडा । धर्मका नाममा नारीमाथि हुने अन्याय । संस्कारका नाममा थोपरिने दुःखको भारी । महिला र पुरुषबीच रहेको पुर्नै नसकिने असमानताको खाडल । मृत्युपछिको संस्कारको नामले ल्याएको पारिवारिक बिछोड । लोग्ने–स्वास्नीबीच भर्खरै अंकुराउँदै गरेको मायाका मुना निमोठेर फाल्दाको पीडा । कसले कल्पना गर्न सक्छ ? सुन्न त निकै कठिन हुने कुरा भोग्दा झन् कस्तो होला !
सिन्धुको एउटा गाउँमा पहिलो सन्तानको रुपमा एक छोरीको जन्म हुन्छ । सात वर्ष बित्दा नबित्दै बाबुलाई भन्दा आमालाई छोरीको बिहे गरिदिन हतार । भूकम्पले बस्ती नै जर्जर भइरहँदा कम खर्च गरेर बिहे उम्काउने तारतम्य ।
देउती बालखैमा विवाह गरेर लोग्नेको घर जान्छे, जसलाई बिहे भनेको के हो भन्ने नै थाहा हुँदैन । विवाह भएर गएपछि देउतीले आमाभन्दा धेरै माया पाउँछे सासूबाट । बिहानदेखि बेलुका अबेरसम्म काममा घोटिनुपरेको सबै दुःख सासूको मायाले बिर्सन्छे ।
एक रात देउतीको लोग्नेले सपनामा बालाई देख्छ । साह्रै नराम्रो सपना भन्दै देउतीकी सासू गाउँको ‘नामी ज्योतिषी’ कहाँ देखाउन पुग्छिन् । लोग्नेको अस्तुले पिरोलेको ज्योतिषीको रायले अस्तु सेलाउन कान्छो छोरोलाई गया पठाउँछिन् । तर, छोरो गयामै बेपत्ता हुन्छ ।
देउती लोग्नेको वियोगमा र आमा पुत्र वियोगमा पिल्सिन्छन् । दुई दशकसम्म छोरोको पत्तो लाग्दैन । त्यही पीरमा देउतीकी सासूको मृत्यु हुन्छ । त्यसअघि नै आमाको मृत्यु भइसकेको हुन्छ ।
पतिवियोग र आमा समान सासूको मृत्युपछि देउती नितान्त एक्लो हुन्छे । लामो समयसम्म लोग्ने नफर्केपछि लास र सासको टुंगो नलगाई गाउँले र भद्रभलादमी नामको एउटा जत्थाले कुशको प्रतिमा बनाएर देउतीलाई लोग्नेको काजक्रिया गर्न बाध्य पार्छ ।
दुःखमाथिको दुःख थपिँदै जान्छ । जेठाजु र जेठानीको हेला, गाउँका दुष्ट आइमाई र पुरुषहरुले दिने यातना भनिसाध्य हुँदैन । अन्ततः इन्द्रायणी नदीमा हाम फालेर प्राण त्याग्ने देउतीको दुस्साहस पनि पूरा हुँदैन । त्यसको केही समयपछि लोग्ने जीवितै भएको खबर आउँछ, चितवन देवघाटमा भान्छे भएर बसिरहेको ।
त्यसपछि के हुन्छ ? अक्षर काकाकृत उपन्यास ‘देउती’ पढ्नुको विकल्प छैन ।
अक्षर काकाको वास्तविक नाम रामनाथ खनाल हो । मुख्य कर्म पत्रकारिता । एकछिन चुप नबस्ने । केही न केही गरिरहनुपर्ने । केही न केही खोजिरहनुपर्ने अक्षर काकालाई आफ्नै फुपू र हजुरआमाको कथाले उपन्यास लेखाएको हो ।
उपन्यास भनेको स्वरैकल्पनाको दुनियाँ हो, घर–आँगनको कथाले उपन्यास बन्न सक्दैन भन्नेहरुका लागि उपन्यास देउती गतिलो झापड हो ।
भाषा, कथा बुनोट, विम्बको प्रयोग, कल्पनाशीलता, दृश्य वर्णनलाई हेर्दा लेखकको पहिलो उपन्यास हो भन्ने ठाउँ छँदैछैन । प्रत्येक वाक्य कविताका हरफ पढे जस्ता छन् । एउटा अनुच्छेद सक्दा एउटा कविता सके जस्तो लाग्छ । छोटा वाक्य, गहकिला शब्द चयनले पाठकलाई तानिरहन्छ । गैरआख्यान पढिरहनेहरुलाई पनि उपन्यासको भाषाले तान्न सक्छ । तर बुझ्न केही मिहिनेत चाहिन्छ ।
कथा पनि सलल बगेको छ । कहीँ कतै जेलिएको छैन । मुख्य पात्र देउतीले सुरुदेखि अन्तसम्म आफूप्रति सहानुभूति बढाउँदै पाठकलाई तानिरहन्छिन् । सहनशीलता र संघर्षको प्रतिमूर्तिका रुपमा आफूलाई उभ्याउन सफल हुन्छिन् । पढ्दै जाँदा लेखकले देउतीमाथि निकै धेरै दुःख थोपरेर अन्याय नै गरे है भन्ने पाठकलाई पर्छ ।
लेखकले सासू–बुहारीको सम्बन्ध अहिले २१औं शताब्दीमा त राम्रो हुन सकिरहेको छैन भन्ने बेलामा त्यो बेलाको समाजमा त्यति सारो मेल गराउनु डाहालाग्दो छ । नयाँ मान्छेलाई कसरी पोख्त बनाउने ? त्यो कसैले सिक्न चाहन्छ भने कोइराल्नी बूढी पर्याप्त छिन् ।
देउतीले आफ्नो इज्जत जोगाउन अपनाएकी उपाय अहिले आधुनिक भनिएको समयमा बलात्कारबाट जोगिने असल हतियार हुनसक्छ । सम्पत्तिका लागि अपनाउने हतकण्डा अहिले पनि उस्तै छ । जंगलमा सबैभन्दा पहिलो सोझो रुख नै काटिन्छ भने झैं समाजमा पनि सोझोसाझा र असल मान्छे नै बढी लखेटिन्छ भन्ने तथ्यलाई उपन्यासले पनि पुष्टि गर्न खोजेको छ ।
ज्योतिषी र धामीझाँक्रीका नाममा जीवित कुसंस्कारले निम्त्याउने परिणाम प्रत्युत्पादक हुन्छ भन्ने सन्देश दिन लेखक सक्षम छन् । बोक्सीको नाममा ‘अवला’ नारीमाथि हुने यातनाको रुप अहिले पनि उस्तै छ । स्वरुप फेरिए पनि सार उही छ । झण्डै एक सय वर्षअघि कस्तो थियो भन्ने चित्र सफल रुपमा देखाइएको छ ।
यति भनिरहँदा उपन्यासका कमजोरी नै छैनन् भन्ने पनि होइन । उपन्यासको परिवेश सिन्धुदेखि चितवनसम्म, सिन्धुदेखि रक्सौल हुँदै गयासम्म फैलिएको छ । तर, त्यहाँको दृश्यचित्र स्पष्ट रुपमा आएको छैन ।
देउतीको दुःखमाथि दुःख थप्नका लागि लेखकले कतिपय ठाउँमा निकै धेरै शब्द खर्चिएका छन् । व्याख्याले कतिपय ठाउँमा कथालाई बोझिलो बनाइएको छ । उपन्यासलाई यही आकारमा कायम राखेर पारिवारिक र सामाजिक पाटो मात्रै नभई, त्यतिबेलाको समाजको बृहत्तर पाटो उजागर गर्न सकिने ठाउँहरु छन् ।
खेतीकिसानीसँग जोडिएका कतिपय सांस्कृतिक पाटोहरुलाई केलाउन सकिन्थ्यो । असारे भाका, असार १५, साउन १५ को संस्कृति लगायत मसिना तर युवापुस्तालाई बुझाउनुपर्ने अनेकौं आयाम ल्याउन सकिन्थ्यो । उतिबेला चाडपर्वहरुको रौनक र अन्य पाटाहरु पनि उपन्यासमा आउन सक्थ्यो ।
अहिलेसम्म पनि बाबुआमा र दाजुभाइले आफ्ना छोरीचेलीलाई सेतो लुगामा हेर्न हुँदैन (कम्तिमा एक वर्ष) भन्ने मान्यता छ । तर, देउती सेतै लुगामा माइत पुगेकी छन् । यहाँनेर थोरै विवादास्पद लाग्छ । तर, हिन्दू संस्कार निकै लचिलो छ भन्ने तथ्यका रुपमा पनि यसलाई हेर्न सकिन्छ ।
देउतीको सरसंगत र परिवेश साँघुरो भए पनि उनी सबै कुरामा कसरी पारङ्गत भइन् ? बेलामौकामा दार्शनिक पनि लाग्छिन् । ती ज्ञान उनले कहाँबाट पाइन् ? नृत्य र गायन कला कहाँबाट आयो ? प्रश्नहरु नभएका हैनन् ।
लेखक पत्रकार पनि भएकाले देउतीमाथि गिद्दे नजर लाउने र छोएर दुर्व्यवहार गर्नेकै नाम लेखिदिएको भए हुन्थ्यो । फलानोको नातिभन्दा धान खाने मुसो चोट पाउने भ्यागुता भयो ।
जोगीका नाममा समाजमा व्यभिचारी ढोंगी देखाउन एउटा पात्रको प्रवेश गराइएको छ । त्यो कथाले मागे जस्तो लाग्दैन । एकलासको बस्तीको एकमात्रै घरमा त्यो जोगी नपुग्नुपर्ने हो कि ?
लेखकले एकै विम्ब र उखान पटकपटक दोहोर्याएका छन् । कहीँ कतै पात्रको शब्द र संवाद चयन मेल खाँदैन । कथालाई वियोगान्त बनाएर टुङ्याइएको छ । नेपाली साहित्यमा आँसु बिक्छ भन्ने मान्यता पनि छँदै छ । यो लेखकको चलाखी हो कि देउतीको अर्को भाग लेख्ने योजना ? यो कुरा समयले नै बताउला ।
अहिलेलाई यति भन्न सकिन्छ, देउतीका लागि पाठकले गरेको लगानी खेर जाँदैन ।
जोतारे धाइबा
लेखनमा हात बस्न थालेपछि अधिकांशको चाहना हुन्छ, पुस्तक लेख्ने । त्यसमा पनि लेखनको ऊर्जालाई ‘उपन्यास’ मै खन्याउने पछिल्लो समय धेरैको रहर र सपना देखिन्छ ।
यो लहरमा थपिन आइपुगेका छन् रामनाथ खनाल उर्फ अक्षर काका । तर, उनी यत्तिकै रहरले आख्यान लेखनमा आएका हैनन् । उनीसँग उपन्यास लेख्नुका निश्चित कारण र आधारहरु छन् । इतिहासको अभिलेख राख्ने हुटहुटीले छोपेपछि नलेखी धर पाएनन् ।
उनले ०६२/६३ को आन्दोलनपछि पत्रकारिता यात्रा सुरु गरेका हुन् । त्यसयता सिंहदरबार, बालुवाटार र संसद् भवनको गोलचक्करमै पत्रकारहरुको दिन बितेको उनले देख्दै आए । लेख्ने विषय एउटै घेरामा घुमिरहँदा उनी दिक्किन्थे ।
उनले पनि राजनीतिक शक्ति केन्द्र र त्यससँग जोडिएका पात्रलाई समाचारको विषय बनाउने शैली नै पछ्याए ।
यदाकदा सामान्य जीवन बाँचिरहेका किनाराकृत र प्रेरणादायी पात्रको बारेमा पनि लेख्थे । सडक र बस्तीहरुका कुरा खोतल्थे ।
|
तर, त्यस्ता विषय पत्रकारिताको अभ्यासमा ‘बिकाउ’ मानिँदैनथे र मिडियामा राम्रो ठाउँ पनि पाउँदैनथे ।
आफ्नै रुचिले पत्रकारिता क्षेत्रमा आए पनि आफूले चाहेका विषय र पात्रहरुलाई खुलेर उठाउन उनले पाएनन् ।
‘एक हिसाबले पत्रकारितामा नमेटिएको त्यही तिर्खा उपन्यासबाट मेट्न खोजेको छु’, उनले उपन्यास लेख्नुको गुह्य खोले ।
वर्षौंदेखि मनमा खेलेका कुरा समेट्दै हालै ‘देउती’ उपन्यास ल्याएका उनले यसमा सामान्य पात्रहरुलाई नायक बनाएका छन् । समाचार र विचारहरुमा सिंहदरबार र बालुवाटारकै अनुहार मात्र छाइराख्दा त्यो अवस्था चिर्न उनले सडक र गाउँका पात्रहरु टिपेका हुन् ।
शरीर बेचेरभन्दा साग बेचेर बाँच्नेहरु समाजमा इज्जतदार मानिए पनि उनीहरुको कुनै गणना नभएको देख्दा अक्षर काकाको मन कुँढिने गर्छ ।
‘शरीर बेच्नेको मात्र होइन, साग बेच्नेहरुको पनि कथा हुन्छ’, उनी भन्छन्, ‘उनीहरुको कुराले अरु १०-२० पात्र प्रेरित र ऊर्जावान् होलान् । हामी लेख्ने मान्छेहरुले त्यो प्रेरणा जगाउनुपर्छ ।’
उनी आफैं पनि सडकका पात्र हुन् । सिन्धुपाल्चोकबाट क्याम्पस पढ्न काठमाडौं आउँदा उनले साइकलमा सामान बोकेर पसल-पसलमा बेच्दै हिँडे, एक दशकसम्म ।
उनले समाचारमा दुर्घटनामा मृत्युका धेरै समाचार लेखेका र पढेका छन् । तर, यो सबै पढ्दा र देख्दा पनि उनको आँखा एकरत्ति रसाएन । त्यो अवस्थामा उनलाई अब समाचार मात्र लेखेर नपुग्ने महसुस भयो ।
त्यसै क्रममा एकदिन बाटोमा पत्रिकाको एउटा चिर्कटो भेटे । त्यहाँ गालामा हात लगाएर टोलाइरहेकी एक महिलाको तस्बिर थियो । हराएका श्रीमान् ३० वर्षपछि भेटियो भन्ने खबर आएपछि लिन जाँदा शव बुझ्नुपरेपछि महिला शोकमा डुबेकी थिइन् ।
आज पनि नेपाली समाजमा महिलाहरुको हालत त्यस्तै देख्छन् अक्षर काका । त्रिभुवन विमानस्थलको इन्टरनेशनल टर्मिनलमा श्रीमानलाई बिदाइ गर्न गएका महिलाहरु भक्कानिएर रोइरहेका देख्दा उनको मन भत्भती पोल्छ । त्यो दृश्य देखेर उनले त्यो क्षेत्रको नाम नै ‘आँसु चोक’ भनेर राखिदिएका छन् ।
‘तर, त्यो दृश्यले देशलाई पोलेको छैन, यहाँका कसैलाई पनि दुखेको छैन’, उनले सुस्केरा हाल्दै सुनाए । उनी वैदेशिक रोजगारीमा नेपाली युवाहरुले जवानी र सास नै रित्याउनुपर्ने अहिलेको परिस्थिति बदलियोस् भन्ने चाहन्छन् ।
उपन्यास लेख्न उनलाई आफ्नै पत्रकारिता कर्मले पनि ऊर्जा दिएको हो । समाचारको प्रभाव समाजमा सोचे जस्तो नपाएपछि केही फरक प्रभाव होला कि भनेर उनले उपन्यासलाई माध्यम बनाएका हुन् । यसो गर्नुमा उनले आफ्नै कामलाई अनुभव मानेका छन् ।
उनले समाचारमा दुर्घटनामा मृत्युका धेरै समाचार लेखेका र पढेका छन् । दुई वर्षअघि भूकम्पको बेला रिपोर्टिङ गर्न जाँदा आँखै अगाडि मान्छे किचिएका दृश्य देखे । तर, यो सबै पढ्दा र देख्दा पनि उनको आँखा एकरत्ति रसाएन । त्यो अवस्थामा उनलाई अब समाचार मात्र लेखेर नपुग्ने महसुस भयो ।
‘समाचारको प्रभाव एक हिसाबले कम हुँदो रहेछ भन्ने लागेपछि तुलनात्मक रुपले मान्छेहरुलाई बढी छोला भनेर आख्यानको बाटो रोजेँ’, उनले भने, ‘साहित्यले अलि बढी करुणा जगाउँछ । आख्यानमा वणिर्त कुनै पीडाको बयानबाट पाठक रोयो भने कम्तीमा ऊ अरुका लागि पीडक नबन्ला भन्ने मेरो आशा हो ।’
उपन्यासमा उनले शीर्ष पात्र देउती मार्फत मुख्य रुपमा महिलाहरुको दुर्गम भेगको संघर्षलाई समेटेका छन् । आफ्नै जन्मथलो सिन्धु-इन्द्रावती परिवेशमा रहेर उनले आफ्ना दुई हजुरआमाको एकमुष्ठ कथालाई पस्किएका छन् । उनकी हजुरआमा २५ वर्षको उमेरमा विधवा भएकी थिइन् भने फुपू हजुरआमा -हजुरबाकी बहिनी) बाल विधवा थिइन् ।
हजुरआमाले सुनाएको कथामा उनले १९९० सालदेखि ०२५ सालसम्मको नेपालको अवस्था समेटेका छन् । तर, त्यो कथा अहिले पढ्दा पनि पुरानो नलाग्ने उनी दाबी गर्छन् ।
यसको कारण दिन्छन्, ‘यसको मतलब यस बीचमा राजनीतिक हिसाबले ठूल्ठूला परिवर्तन भए पनि हाम्रो समाज भने बदलिएको रहेनछ । व्यवस्था बदिलिएको प्रतिविम्ब सरकारी साइनबोर्डहरुमा देखिन्छ । तर, दूरदराजका ठाउँहरु उस्ताको उस्तै छन् ।’
उनलाई हजुरआमाहरुले तत्कालीन भोगाइहरु सुनाउँदा सपना जस्तै लाग्थ्यो । विधवालाई हेरिने दृष्टिकोण, भुटेको मकैले छाक टार्नुपर्ने बाध्यता, मेला-पर्ममा बोलाउँदा कोही नआएर खेप्नुपर्ने हैरानी, समाजको गिद्दे दृष्टिबाट आफूलाई जोगाउँदै सन्तान हुर्काउँदाको सास्ती ।
अक्षर काकाले हजुरआमाहरु बाँचुन्जेल तिनका शरीरमा रातो लुगा त देख्न पाएनन् नै, उनीहरु हाँसेको पनि कहिल्यै देखेनन् । हाँसोका भाषा नजान्ने हजुरआमाले आँसु र वेदनाकै भाषा बोले । सुनेका तिनै कुरा उनले मनमा अमिट रुपमा साँचिराखे ।
आमा बिरामी भएपछि उनी घरकी हजुरआमासँग नजिकिएका थिए । छारे रोगले ग्रस्त आमालाई लिएर बुवा समय-समयमा हप्तौंसम्म काठमाडौंमा उपचारका लागि बस्नुपथ्र्यो । त्यो अवस्थामा दुई/तीन वर्षे उनी हजुरआमाका निदाएका स्तनहरु चुसेर आमाको रिक्तता मेटाउन खोज्थे ।
त्यसै क्रममा बूढी माउसँग नाति भावनात्मक रुपमा नजिक हुँदै गयो । सुख-दुःखसँग झ्याम्मियो ।
‘हजुरआमाकै संगतले मलाई टपरी गाँस्न आउँछ, डोरी पनि बाट्छु’, उनले पुलकित मुद्रामा सुनाए ।
मनभरि ममतामयी हजुरआमालाई सम्झँदै उनले यसअघिका वर्षहरुमा उपन्यास लेख्न भोटो त फटाएनन्, कापी भने निकै च्याते । २०-२५ पाना लेख्थे, चित्त नबुझेर च्यातेर फ्याँक्थे । यस्तो क्रम दस-बाह्र पटकसम्म चल्यो । पछिल्लो समय भने वर्षौंदेखिको कथालाई उनले मन हलुका हुने गरी लेखेरै छाडे ।
खेती-किसानीलाई नै संसार बनाएर बसेका तमाम आमा-बाका लवजलाई उनी साहित्यको विम्ब मान्छन् । सामान्य लाग्ने कुरा बोले पनि अर्थ भने गम्भीर र विशिष्ट खालको दिने ।
सरल व्यक्तित्वका यी लेखकले सरल रुपमै सुनाए, ‘पहिले लेख्ने ढंगै थिएन, अहिले चाहिँ पत्रकारिता पेशाकै कारण बढी लेख्न थालेपछि हात बस्दै गयो ।’
यो पालि अब चाहिँ लेख्नुपर्छ भनेर उनले गत पुस १५ गतेदेखि कम्मर कसेका थिए । लेख्न थालेपछि उनी कतै अड्किएनन् । एक महिनामै उनले उपन्यास लेखिभ्याए ।
उपन्यास लेखिसकेपछि उनले गाउँ गएर बा-आमालाई पनि केही पाना सुनाए । कथामा वरिपरिको परिवेश र आफ्नै लवज ल्याएको देख्दा उनीहरु औधि रमाए ।
उनले उपन्यास लेख्दा सकेसम्म सरलतामा ध्यान दिएका छन् । गाउँघरमा बा-आमा र उनीहरु जस्ता आम मान्छेले बोल्ने गरेका शब्द नै प्रयोग गरेका छन् । बा-आमाले दैनिक जीवनमा बोलचाल गर्दा कस्तो मनोभाव राख्छन् भनेर उनले आफू बुझ्ने हुँदादेखि ख्याल गरेका रहेछन् । पढेका छैनौं भनेर हीनताबोध गर्ने र बोलेको कुरा मिल्दैन कि भन्दै डराएर टम्म ओठ बाँधिरहने ।
तर, मनका अनेक भावहरु बा-आमाको अनुहारमा असाध्यै सलबलाएको उनी देख्थे । ग्रामीण भेगमा रहेका अरु धेरै जनाको मनोविज्ञान पनि आफ्नो बा-आमाको जस्तै देख्छन् उनी ।
‘त्यस्तो कुरालाई चिर्न उहाँहरुले बोलेका लवजहरुलाई नै मैले उपन्यासमा ल्याएको छु । तिनै कुरा साहित्य हुन् भन्ने हिसाबले स्थापित गर्न खोजेको छु’, उनी पितृप्रति ऋणी देखिए ।
खेती-किसानीलाई नै संसार बनाएर बसेका तमाम आमा-बाका लवजलाई उनी साहित्यको विम्ब मान्छन् । सामान्य लाग्ने कुरा बोले पनि अर्थ भने गम्भीर र विशिष्ट खालको दिने ।
अक्षर मार्फत पाइन ओकल्ने काकाको हुलिया हेर्दा सुइरे ज्यान छ । ज्यानसँगै जोडा लाग्ने गरी उनले कुराकानीको क्रममा आफ्नो स्वभाव पनि खुलाए, ‘आफ्नो कुरा बोल्न म धर्मराउँछु । अलि निमुखा खालको छु ।’
तर, समाजको विषय र पात्र छनोट गर्ने सवालमा उनले पहलमानको खुबी देखाउने गरेका छन् । यो खुबी पहिलो उपन्यास ‘देउती’ मा पनि कायमै राखेका छन् ।
देउतीको खास मर्म के हो त ?
आफ्नो पहलमानी अवतारमा प्रस्तुत हुँदै उनले सुनाए, ‘मुख्य रुपमा नारीलाई समाजमा कुन दृष्टिकोणले हेरिन्छ, नारीको स्थान कहाँनेर छ भन्ने चित्र देखाएको छु । समाजमा नारीमाथि जुन किसिमको विभेद छ, त्यो विभेद विरुद्ध नारी नै उठ्नुपर्छ भन्ने मेरो मूल कुरा हो । अरु नै कसैले बोल्दिएर, अधिकारवादी संघसंस्था गइदिएर हुँदैन । आफैं सजग र सचेत भएर नारी अगाडि आउनुपर्यो ।’
(सांग्रिला बुक्सले प्रकाशन गरेको अक्षर काकाको ‘देउती’ उपन्यास बैशाख १६ गते शनिबार सार्वजनिक भएको छ ।)
अक्षर काका
साहित्यलाई समाजको ऐना भनिने भएकैले यसमा सचेत पंक्ति छ भन्न सकिन्छ । साहित्यले सिर्जनाको माध्यमबाट खबरदारी गर्छ । देश र समाजलाई मार्गनिर्देश गर्छ । पछिल्ला तीन पुस्ताको जीवन सडक सङ्घर्षमै व्यतीत भयो । तीन व्यवस्थाले धूलो चाटे । यसमा साहित्यको ठूलो हात छ । यसकारण कि सर्जकहरू आन्दोलनको मध्य होइन, अग्रभागमै थिए ।
आदिकालदेखि नै अविराम परिवर्तनको पदमार्ग कोर्ने साहित्य स्वयम् कुन अवस्थाबाट गुज्रिएको होला ? राजनीतिक परिवर्तनको प्रतिछाया साहित्यमा पर्यो कि परेन होला ? चासो यो थियो ।
आजसम्म पनि महिला विभेदका शृंखला रोकिएका छैनन् । बलात्कार यौनजन्यहिंसा, घरेलु हिंसा पुरुषसत्ताको बाछिटाका रूपमा समाजमा घटिरहेका छन्, अद्यावधि । साहित्यमाचाहिँ पितृसत्ताको प्रभाव कस्तो छ ? खोतल्ने प्रयत्न गर्यौँ ।
० ० ०
मोमिला जोशी । बोल्ड आवाज । तर्कपूर्ण अभिव्यक्ति । अलग पहिचान । फरक धार । उनको नाम सुन्नेबित्तिकै यी र यस्ता थुप्रै सग्ला तस्बिरहरू मस्तिष्कमा सलबलाउन थाल्छन् ।
अस्तित्वको भोगले साहित्यको आँगन चहार्न आइपुगेकी कविता र निबन्ध विधाकी सशक्त आयाम हुन् उनी । ‘प्रतिविम्बित मानवता’ कविताबाट साहित्यमा पदार्पण गरेकी मोमिलाको आवाजमा जति तिख्खरता भेटिन्छ, त्यति नै बौद्धिक तीक्ष्णता । पुरुष–पाखण्ड र स्त्री–उद्दण्डताको प्रतिरोध उनको साहित्यिक चेत हो ।
सात दशकयता मुलुकमा ठूल्ठूला परिवर्तन भए, व्यवस्था नै फेर्ने किसिमका । राजनीतिक रूपमा त्यसका असर देखिए । तर, सामाजिक परिवर्तनको तहमा छिटासम्म पुग्न नसकेको अनुभूति मोमिलाले गरिन् । विभेदका रूप फेरिए तर सार फेरिएनन् । शिक्षाको आकार फेरियो तर सोचको प्रकार फेरिएन । समग्रमा परिवर्तनको सपनाले साकार रूप लिन सकेन । उनको मान्यता छ– समाजको धमिलो चित्र र चरित्र हेर्न मूलबाटो होइन, भित्री गल्ली छिचोल्नुपर्छ । आदिम उत्पीडनका भरमार विम्बहरू समाजका गल्ली, गल्छेँडाहरूमा मनग्गे भेटिन्छन् ।
पछिल्लो समय उनले बुझेको र बेहोरेको कुरा के हो भने साहित्यमा व्यवस्था परिवर्तनको बाछिटासम्म पुग्न सकेको छैन । र, राजनीतिमा भन्दा डरलाग्दो ‘पितृसत्ता’ छ साहित्यमा । त्यसले आहत होइन, मर्माहत बनाएको छ उनलाई ।
० ० ०
‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ निबन्धसङ्ग्रह बजारमा ल्याइन् उनले । स्थिर तलाउमा ढुंगाहानेसरह तरंगित भयो, नेपाली साहित्य क्षेत्र । बगिरहेको धारभन्दा भिन्न थियो त्यो । यात्राको सपाट वर्णन, शब्ददृश्यलाई समेत निबन्धको पगरी गुथाइदिनेको भीडमा पृथक पहिचान बोकेर आएको थियो त्यो निबन्ध ।
आत्मपरक भए पनि शैलीमा नवीन चिन्तन हुनुपर्छ भन्ने सन्देश पनि थियो त्यो निबन्धको । निबन्धले सामाजिक सत्यलाई पनि आत्मसात गरेको थियो । साहित्यवृत्तमा चर्चा बटुल्यो । महिला सर्जकहरूले मुक्तकण्ठले प्रशंसा गरे ।
पुरुष सर्जकहरूले निबन्धबारे ओठ खोल्न आवश्यक ठानेनन् ! समालोचना, समीक्षा त परको कुरा !
तर, केही पुरुष सर्जकले आधारातमा मदिरामा लट्ठिएर फोन गर्न थाले, “मोमिला तिम्रो लेखनको ईष्र्या लाग्छ !”
पुरुषमित्रलाई प्रशंसा गर्न पनि रात नै हुनुपर्ने, रक्सीको प्याला नै समाउनु पर्ने ? के तिनले दिउँसो त्यही भन्न सक्दैनन् ? चित खाइन् उनले । “यो पितृसत्ताको प्रतिछाया हो । हाम्रो साहित्यमा पनि पितृसत्ताको दबदबा छ !” खुइया काढ्छिन् उनी ।
‘ईश्वरको अदालत’को चर्चा–परिचर्चा जारी थियो । साथीभाइको प्रशंसाले पुलकित नै थिइनन् उनी । कुरैकुरामा एक पुरुषमित्रले पुनः उनको मन अमिल्याए । समाजमा प्रतिष्ठित व्यक्ति कहिलिएका ती मित्रले प्रसंगबेगर नै छुद्र मुख चलाएछन् र साथीसर्कलमा भनेछन्, “बाख्रीहरूले पनि यस्तो लेख्न सक्छन् ?”
कवितामा आगो ओकल्ने, निबन्धमा सिंगो समाज, मानिसका अनुभूति उतार्ने व्यक्तिका विषयमा पनि यस्तो कठोर टिप्पणी गर्नेले समाजका अन्य महिलालाई कुन दाँजोमा राख्दो होला ? उदेक लाग्यो उनलाई ।
श्यामप्रसाद शर्माले भनेझैं घरमा श्रीमतीलाई साँचो लगाएर बाहिर नारी स्वतन्त्रताको भाषण दिनेहरूको कुनै कमी देख्दिनन् उनी, हिजोदेखि आजसम्म ।
यहाँसम्म कि उनको लेखनशिल्प, कला, सौन्दर्यमा खोट लगाउन ठाउँ भेट्टाएनन् भने चरित्रमा चोट लगाउने प्रयत्न गर्छन् । निकै तीतो अनुभूति बटुलेकी छन् उनले ।
‘ए तेस्ले लेखी होली र यस्तो ? त्यसको ब्वाइफ्रेन्डले लेखिदियो होला ! लोग्नेले मिलाइदियो होला !”
स्त्रीको सिर्जनामा शंका गर्नेहरू पाइलैपिच्छे भेटिन्छन् । तर, मोमिला स्वयम्ले धेरै पुरुषहरूको सिर्जनाको शिल्प मिलाइदिएकी छन् । भाषा उजिल्याइदिएकी छन् । उनी दुःखी छिन्, पुरुष सर्जकले त्यसको कहीँ कतै चर्चासम्म गर्न उचित ठानेनन् ।
० ० ०
नेपालको नाम चलेको राष्ट्रिय दैनिकबाट फोन आयो उनलाई, अन्तर्वाताका लागि । भनियो– केही विषयमा कुरा गर्नु छ । सोधिएका सबै विषयमा जानेजत्ति जवाफ फर्काइन् उनले, फोनमै । अन्तर्वार्ता लिने बहिनीले प्रश्न बिट मार्दै भनिन्, “अर्को कुनै महिला साहित्यकारको पनि नाम सिफारिस गरिदिनुहोस् न ।”
मोमिलाले कवि उषा शेरचनको नाम सुझाइन् । तर, भोलिपल्ट उषा शेरचनले बोलेका कुरामात्रै छापिए । मोमिलाका कुराले ठाउँ पाएनन् । उनले चित् खाइन् । सोचिन्– अर्को हप्ता छापिएला । तर, आजसम्म पनि उनको अन्तर्वार्ता त्यो दैनिकमा प्रकाशित भएन । मनले निधो गर्यो– पितृसत्ताले यहाँ पनि काम गर्यो । अन्तर्वार्ता लिने पो महिला थिइन् । पत्रिकाको स्तम्भमा त पुरुषकै हालिमुहाली थियो । पुरुषवादी अहमताको छायाले त्यहाँ पनि छाडेन !
“शायद स्तम्भ हेर्नेले खोजेजस्तो मेरो अभिव्यक्ति थिएन कि, मेरो अभिव्यक्तिले पुरुषवादी अहममा धक्का लाग्यो कि !” उनी अहिले सम्झन्छिन् ।
० ० ०
साहित्यमा होस् कि समाजमा– महिलाले रोनाधोना गरे भने उनीहरूलाई सहानुभूतिको दृष्टिले हेरिन्छ । सहयोगको हात फैलाइन्छ, दिन तत्पर भइहाल्छन् । तर, सक्षम महिलालाई उसको प्रगतिको प्रशंसा गर्न पनि ओठ नाक खुम्च्याउँछन्, मन साँघुरो बनाउँछन् मानिसहरू । नारी–सिर्जनाले पुरुषलाई उछिनेका कैयौँ उदाहरण छन् । उनी प्रश्न गर्छिन्, “के पारिजातको लेखन सौन्दर्य, शिल्पले पुरुषलाई पछि पारेको होइन ? कैयौँ पुरुष आज पनि उनीभन्दा पछि छैनन् र ? पारिजातको लेखनले डाहा हुन्छ, मलाई ईष्र्या लाग्छ भनेर शंकर लामिछानेले भनेका होइनन् ?”
गोपालप्रसाद रिमालको नाटकका पात्रले भनेझैं नारीहरूलाई ‘दया होइन, माया चाहिन्छ’ भन्छिन् उनी । यसकारण कि दयामा सहानुभूति हुन्छ, माया र प्रेममा समर्पण हुन्छ । निष्ठा हुन्छ । विश्वास हुन्छ । सद्भाव हुन्छ । समर्पण हुन्छ । श्रद्धा हुन्छ ।
र, आजको साहित्यमा पनि यही कुराको आवश्यकता छ ।
० ० ०
समाजमा मात्र होइन, सिर्जनामा पनि नारी पात्र निरीह छन् । उदेकलाग्दो देखाइन्छ । दयाको प्रतिमूर्ति बनाइन्छ । उनीहरूको जिन्दगी देखेर करुणा जगाइन्छ । पितृसत्ताको छायामुनि पिल्सिएर जीवन व्यतीत गर्न अभिशप्त छन् ती ।
‘रूपमती’ पढेर हुर्किएका हाम्रा पुरुषहरू आज पनि महिलामा त्यही खोजिरहेका छन् । ऊभित्र दमित कुण्ठा, इच्छाहरू बाहिर निस्कियो भने बिस्फोट हुन्छ, बन्द भाँडाभित्र इच्छा गुम्स्याएर राख्यो भने त्यसले विद्रोहको रूप लिन्छ भन्ने कुरा सम्झन तप्पर छैनन् । ती पुस्ता ज्युँदै छन्, अझै ।
नयाँ पुस्तासँग परिवर्तनको अपेक्षा गर्नुपर्छ । तर, केही समकालीन सर्जकहरू त्यही पुराना छायाको ओत लागिरहेजस्तो लाग्छ । कालो छायाले छोपिएर उनीहरूले आफ्नो अनुहार उजिल्याउन नसकेको हो कि भन्ने प्रतीत हुन्छ उनलाई ।
कला–साहित्यमा महिलालाई सौन्दर्यप्रशाधक सामग्रीभन्दा माथि राखिएको छैन । चाहे विम्बचेतमा होस् या प्रतीक चित्रण– सबैमा नारी सौन्दर्यलाई मात्रै बढावा दिइन्छ । आँखा, नाक, कपाल, जिउडालको चित्रण गर्नेले उसको सीप र क्षमतालाई साहित्यमा मिश्रण गर्न आवश्यकै ठान्दैन । रूपवानहरू मात्रै साहित्यको केन्द्रीय पात्र बन्ने, कस्तो उदेकलाग्दो अवस्था !
समाजको चित्र बदलिए पनि चरित्र नबदिएको उनी कहिलेकाहीँ घोत्लिन्छिन् ।
“पुरुषमात्रै होइन, छोरी जन्मिई भनेर आमा नै बेखुसी देखिन्छिन् यहाँ । छोराले पाल्ने र छोरीले फाल्ने देख्नुभएको छ र कहीँ ? छोराले हेर्छन् भने छोरीले पनि हेर्छन् नि !” अनुहारमा विस्मयभाव छाउँछ र प्रश्न गर्छिन् उनी ।
विश्व सीमाहीन भइसक्यो । पँखेटा लाएका छोराछोरी बूढेशकालको सहारा नबनेका उदाहरण आँखा अघिल्तिर देख्दादेख्दै छोराछोरीबीच विभेदको पर्खाल खडा गरेको देख्दा उदेक लाग्छ उनलाई ।
सत्ता परिवर्तनको जति रथ दौडाए पनि पुरुषसत्ताले पल्टा खानुपर्ने जति पल्टा खान नसकेकोमा चिन्तित छिन् उनी ।
आन्दोलनमा । सिर्जनामा । प्रशासनमा । सँगै छन् महिला । अधिकार दिने बेलामा चाहिँ उनीहरूलाई पछि पारिन्छ । स्थानीय तह होस् कि केन्द्रको राजनीति– जहाँ पनि महिलाको भूमिका पुरुषको सहयोगीको रूपमा मात्रै छ । पुरुषको तुलनामा महिला व्यवस्थापकीय पाटोमा अब्बल देखिएका छन् । पुरुषभन्दा मितव्ययी पनि छन् उनीहरू । तर, शासनदेपख प्रशासनसम्म महिलाहरू ‘मानार्थ’को भूमिकामा मात्रै देख्दा पुरुषसत्ताको छाया सजिलरी हट्दो रहेनछ भन्नेमा विश्वस्त छिन् उनी ।
उनले कहावत सुनाइन्, “महिला सत्तामा नारीहरूले भात पस्किएर खुट्टाले दिन्थे भन्ने सुनिन्थ्यो । पुरुषसत्तामा महिलाप्रति हेयभाव बढ्दै जाने हो भने एकदिन पुरुषसत्ता ढल्छ । अति भएपछि त्यसले निम्त्याउने खती नै त हो ।”
त्यसो त, पुरुषहरूमा जति अहमता छ, महिलाहरूमा पनि उद्दण्डता बढेको देखेखकी छन् मोमिलाले । स्वतन्त्रताका नाममा उद्दण्डता मौलाएको हो कि भन्ने ठम्याइ छ उनको । “तथापि पुरुषको अभिमानको तुलनामा नगण्य नै हो त्यो,” उनी भन्छिन् ।
० ० ०
‘तिमी त हिरोइन हुनुपर्ने ? यस्तो राम्री मान्छे कलाकार पो बन्नुपर्छ, कहाँ साहित्यकार बन्नतिर लागेको ?’ साहित्यसाधनाको सुरुआती दिनतिर मोमिलालाई यसो भन्ने मानिस पनि निस्किए । सुन्दर युवतीहरू कलाकारितामै लाग्नुपर्छ भन्ने निम्नकोटीको चिन्तन थियो त्यो । “मेरो सिर्जना मभन्दा सुन्दर छैन ? आकर्षक जिउडालका मानिस साहित्य साधनामा लाग्न नहुने हो ?” यसप्रकारको सौन्दर्य चेत भएकालाई उनले निरन्तर प्रश्न गरिरहिन् ।
“आज पनि कसैले आद्योपान्त शरीर नियाल्यो भने त्यही प्रश्न गर्न आँट्यो कि भनेर मस्तिष्क चनाखो हुन्छ,” मच्चिरै हाँसिन् उनी !
० ० ०
पुरुषसत्ताका अनेक छायाप्रतिछाया झेलिन् । अनगिन्ती प्रवृत्ति, प्रताडनासँग सिँगौरी पनि खेलिन् । एउटा प्रशंग उप्काइन् उनले–
स्नात्तकोत्तर पढ्दाको कुरा हो । प्रयोगात्मक परीक्षामा सुरुमा उनलाई प्राप्तांक १९ दिइएको थियो । नम्बर दिने शिक्षकले नै सुनाएका हुन् उनलाई । बच्चाकी आमा भएकीले धेरैले आश्चर्य व्यक्त गरे । एकजना शिक्षकले त विश्वासै गरेनन्– कसरी ल्याइस् यत्रो नम्बर ? मार्कसिटमा घटाएर १४ मात्रै हालिएछ । निराश भइन् उनी । काखमा बच्चा लिएर परीक्षामा सहभागी भएकी थिइन् उनी ।
“महिलाले पढ्न सक्दैनन् । राम्रो अंक हासिल गर्न सक्दैनन् भन्ने चेतको उदाहरणमात्रै हो यो,” उनले कुराकानीका क्रममा स्मरण गरिन् ।
यस्तो व्यवहारको भुक्तभोगी त उनी सानैदेखि हुन् । ०२४ सालमा धनकुटामा जन्मिएकी मोमिलाले प्रवेशिका ०३९ सालमा उत्तीर्ण गरेकी हुन् । १२ जनाले परीक्षा दिएका थिए उतिबेला । नयाँ शिक्षा लागू भएयता उनी पढ्ने विद्यालयमा कोही पनि प्रथम श्रेणीमा पास भएका थिएनन् । उनी नै प्रथम श्रेणीमा पास भइन् । तर, कलेज पढ्दा केही पुरुष भन्थे– महिला त नपढी पनि पास भइहाल्छन नि !
के भनेर सम्झाउनू तिनलाई ? अवाक हुन्थिन् मोमिला ।
० ० ०
‘पैयुँ फुल्न थालेपछि’ (२०५२), ‘जुनकीरीहरू ओर्लिरहेछन्’ (२०५५), ‘दुर्गम उचाइमा फूलको आँधी’ (२०५०) कवितासंग्रह, ‘नीलो–नीलो आकाश र दुई थोपा आँसु’ (२०५३) तथा ‘ईश्वरको अदालतमा आउटसाइडरको बयान’ (२०६३) निबन्धसंग्रह प्रकाशन गरेकी मोमिलाले ‘सगरमाथाको नृत्यमग्न आत्मा’ (प्रतिनिधि–आधुनिक नेपाली कविता)को सम्पादनसमेत गरेकी छन् । उनी अहिले नयाँ कृतिको तयारीमा छिन् ।
मोमिलाका दुई प्रतिनिधि कविता
भीमसेन थापाको सुसाइड नोट
सम्बोधनमा नपरेका बाँकी सारा सम्बोधनहरू !
उहिल्यै इतिहासमा
बेमौसमी हुरीबतास र बर्सात्को एक दिन
आफ्नै देशभित्र निर्वासित सुदूर गाउँमा कतै
भित्तामा ससम्मान झुन्ड्याइएको
वर्षौँ पुरानो देशभक्त अमर सिंहको तस्बिरबाट
अचानक आँखा झरेछन्
हुन सक्छ—
ठीक त्यही बेलादेखि यो देशका मार्गदर्शकहरूले
दृष्टि गुमाएको हुनुपर्दछ
फेरि एकाएक तस्बिरबाट कान झरेछन्
ठीक त्यही बेलादेखि यस देशका शासकहरू
बहिरो भएको हुनुपर्दछ
बिस्तारै छोपिएका नाकमुख पनि झरेछन्
ठीक त्यही बेलादेखि लासहरूको दुर्गन्धित पहाडमाथि उभिएर
देशको बिरानीमा यहाँ बेसुरा राष्ट्रियता गाइएको हुनुपर्दछ
तस्बिरबाट क्रमशः
हात झरेछन्
खुट्टा झरेछन्
ठीक त्यही बेलादेखि स्वाभिमानी हातहरू
आत्महत्या गर्न विवश हुनुपर्दछ
ठीक त्यही बेलादेखि हिँड्न सुरु गर्नुअघि नै
यो देशको गन्तव्य नै हराएको हुनुपर्दछ
र अन्तमा मात्र अस्थिपञ्जर केवल अस्थिपञ्जर बाँकी राखेर
अमर सिंहको त्यो तस्बिरबाट मस्तिष्क र मुटु पनि झरेछन्
सायद त्यही बेलादेखि यस देशका शासकहरू
अबिरमालाले पुरिएका चेतना र हृदयशून्य
वmेवल ठिङ्ग उभिएका सालिकजस्ता बनेको हुनुपर्दछ
यस्तो अजङ्गको अभिशप्तता अन्त्य गर्न
यहाँ भीमसेन थापाहरूले सालिक होइन
बरु मुर्दा नै बन्नुपर्ने रहेछ !
— तपाईँहरूकै सेवक
भीमसेन थापा
०००
“भरखरै सुन्दै हुनुहुन्थ्यो
भीमसेन थापाको सुसाइड नोट ।
अब परिशिष्टमा :
(आजको शीर्ष खबर—
देशभक्त भीमसेन थापाको आत्महत्याले देश स्तब्ध छ
थापाको आत्महत्यापश्चात् उनको बन्द मुठी खोलेर हेर्दा
उनको हत्केलामा कोरिएको किरिङमिरिङ भाग्यरेखा,
अनि यो देशको नक्शा र
त्यो झुन्डिएको तस्बिरमा बाँकी रहेको
अमर सिंह थापाको त्यो वास्तु नमिलेको अस्थिपञ्जर
दुरुस्त उस्तै रहेको बताइएको छ)”
मात्र एउटा हाँगा काटे नि
प्रिय पुरुष !
तिमीले—
तिमीलाई नै प्रेम गर्ने
नारीवृक्षको मात्र एउटा हाँगा काटे नि
एउटा हाँगा मात्र होइन
सयौँ पूmलहरू निष्प्राण हुने छन्
हजारौँ पातहरूका सहारा टुट्ने छन्
लाखौँ करोडौँ वीजहरू अवशानमा पुग्ने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन् ! के–के हुने छन् !!
एउटा हाँगा काट्दा—
निष्प्राण पूmलसँगै ओठका रङ्गहरू उड्ने छन्
रङ्गसँगै सपनाहरू बेरङ्ग हुने छन्
पूmलसँगै जीवनका सुगन्धहरू बिलाउने छन्
सुगन्धसँगै उमङ्गहरू रित्तिने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!
एउटा हाँगा काट्दा—
बेसहारा पातहरूसँगै हरिया विश्वासहरू झर्ने छन्
विश्वाससँगै सम्बन्धहरूले आत्महत्या गर्ने छन्
सम्बन्धसँगै हिमालको श्वेत गहन शान्ति,
पहाडको रोमाञ्चक हरियो उकाली ओराली र
तराईको पहेँलपुर प्रेम
सारा सारा गुनासाबिना नै तिम्रो अहम्को पर्खाल नाघेर
पर्खालबाहिर बसाइँ सर्ने छन्
र तिम्रा लागि डस्टबिनमा
पुरुषत्वका धिक्कार प्रश्नहरू छाडिएका हुने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!
एउटा हाँगा काट्दा
करोडौँ वीजहरूको अवशानसँगै
ढुङ्गाका काप–कापबाट लस्कर–लस्कर निस्केर
सृष्टिको अराजक जुलुसले तिमीलाई घेर्ने छन्
चौतर्फी कालो कालो भएर आकाश
तिम्रो स्वघोषित शक्तिशाली बस्तीमा खस्ने छन्
दृश्यमा तिम्रो सर्वोपरिता
तिम्रै आँखाका डिलबाट भेलका भेल बग्ने छन्
अन्ततः तिम्रो बाढीग्रस्त अहम्
आप्mनै जलमग्न संवेदनाबाट परास्त हुने छन्
र नारीका पाउमा छाँद हालेर
अन्तिम पटक प्रेमको भीख माग्दै क्वाँ क्वाँ रुने छन्
एउटा हाँगा काट्दा
तिमीले सोचेभन्दा नि के–के हुने छन्, हुने छन् !!
बुझ्यौ प्रिय !
झन् हाँगामै बसेर हाँगा काट्दा
हाँगासँगै तिमी पनि
जीवनबाट जरुर बिमुख हुने छौ
बेरङ्ग...बेढङ्ग आफ्नै गुँडको
शिथिल...शिथिल निस्तो आँखाको बार्दलीबाट खसेर आँगनमा
नउड्दै पखेटा भाँचिन अभिषप्त
सृष्टिको प्रलय नै सोचिरहेको त्रसित कलिलो बचेरा झैँ
सुगन्धहीन...तरङ्गहीन, विरूप...विरूप बन्ने छौ
र चुपचाप...चुपचाप खरानीको थुप्रोबाट उडेर
कसैको आँखामा अट्न नसकेको धुलाम्य सपना तिमी
ब्रह्माण्डको शून्यमा भौँतारिने छौ
जहाँ तिम्रा लागि प्रेमको कुनै अडेसा हुने छैन !
आखिर, चुराको आवाजहीन तिम्रो बस्तीमा
पाउजेबको झङ्कारहीन तिम्रो बस्तीमा
केवल तिम्रै क्रूर निशानाहरू बाँकी रहने छन्
हाँगामै बसेर हाँगा काट्दा त झन्
तिमीले सोचेभन्दा नि अझ के–के हुने छन्, के–के हुने छन् !!
प्रिय !
यसरी तिमीले—
तिमीलाई नै प्रेम गर्ने
नारीवृक्षको मात्र एउटा हाँगा काटे नि
एउटा हाँगा मात्र होइन
सयौँ पूmलहरू निष्प्राण हुने छन्
हजारौँ पातहरूका सहारा टुट्ने छन्
लाखौँ करोडौँ वीजहरू अवशानमा पुग्ने छन्
हाँगामै बसेर हाँगा काट्दा त झन्
नारी उच्छ्वासको हावा तिम्रो उच्छ्वाससँगै एकमुष्ट आँधी बनेर
तिम्रै कथित सर्वोपरि बस्तीमा अनाधिकृत प्रवेश गर्ने छन्
अनि ताण्डब मच्चाएर आँधी फर्केपछिको अस्तव्यस्त अवशेषमा
तिमीलाई नयाँ प्रेमिल बस्तीको कल्पनामा छाडेर जाने छन्
तिमीलाई केवल कल्पनैमा छाडेर जाने छन्
.........................................
र मात्र सपनामा—
निद्रा हराम गर्ने सारा अहङ्कार सिरानीले थिचेर
निदाइरहेको तिम्रो अबोध अनुहार हेरी हेरी
एउटा अलौकिक पुतलीले तिम्रो निधार चुम्ने छन्
र त्यो पुतलीमा
तिमीलाई नै प्रेम गर्ने
उही नारीको आत्मा समाहित भएको हुने छन्
तर, सम्झ !
मात्र एउटा हाँगा काटे नि
तिमीले सोचेभन्दा अझ के–के हुने छन् ! के–के हुने छन् !!
अपेक्षा चन्द 'सरु'
अक्षर काका उर्फ रामनाथ खनालको दोस्रो कृति र पहिलो उपन्यास ‘देउती’ पढ्न बस्नुअघि कौतूहलले निकै डेरा जमाएको थियो । ‘डिजिटल जर्नालिज्म’मा केही समय व्यतीत गरेका सबाल्टर्नका पक्षमा लेख्न रुचाउने काकाले के विषयमा हात हाले होलान्, पत्रकारिताबाट पूरण हुन नसकेको कुनचाहिँ आकाङ्क्षा पूरा गर्नका लागि आख्यानमा हात हाले होलान् भनेर जिज्ञासु बनेकी थिएँ ।
सामाजिक सञ्जालमा ‘देउती’ पढेका पाठकका भावना/प्रतिक्रिया पढेपछि ‘देउती’बारे अमूर्त छाप बसिसकेको थियो दिमागमा ।
पुस्तक हातमा पर्नुअघि पाठकको दिमागमा पुस्तकको कथावस्तुबारे थुप्रै अनुमान हुन्छ, अड्कल काटिन्छ । ‘यस्तो होला’ भनेर अनुमान गरेर पढ्ने बानी छ मेरो ।
‘देउती’का सन्दर्भमा मेरा केही अनुमान मिले, अधिकांश मिलेनन् । तर, यसैको मानक ‘देउती’को सफलता/असफलता होइन, मेरा लागि ।
र पनि, उपन्यासले ‘देउती’को मर्मलाई न्याय गर्न सफल भएको छ । ‘देउती’ पढिरहँदा मैले मेरी आमालाई फेरि एकपटक पढेँ । उहाँको जीवनको गहिराइमा पुगेँ । ‘देउती’मा मेरी आमामात्र होइन, थुप्रै आमाहरू हुनुहुन्छ । उहाँहरूलाई पनि पढेँ मैले ।
त्यसैले ‘देउती’ समग्र उत्पीडित नारीहरूप्रति समर्पित, लक्षित उपन्यास हो । अझ भनौँ, तीन पुस्ताबीचको सेतु हो– ‘देउती’, जसमा तीन पुस्ता पहिलेका नारीहरूको अवस्था चित्रण गर्न खोजिएको छ । जुन समयको नारी दुर्दशा उपन्यासमा कल्पना गरिएको छ, त्योभन्दा माथि उठ्न सकेको छैन महिलाहरूको अवस्था ।
बालविवाह, एकल महिला हुँदै हदभन्दा धेरै देउतीले भोगेका पीडाले मुटु दुखेको बिरामीजस्तो घाइते तुल्याउँछ ।
पितृसत्तात्मक सोचको परिणामस्वरूप नारीहरू वर्षौंदेखि उत्पीडनको सिकार बन्दै आइरहेका छन् भन्ने कुरा उपन्यासले चित्ताकर्षक ढंगले प्रस्तुत गरेको छ । संवाद स्वाभाविक लाग्छन् । भाषा पाखापखेराकै छ । यो उपन्यासको अर्को सबल पक्ष हो ।
यसो भनिरहँदा किताबमा भाषिक जटिलता नभएको होइन । बेलाबखत अक्षर काका पात्रका बीचमा घुस्छन् र तिनका संवाद आफैँ बोल्न थाल्छन् । यसले जटिलता र अस्पष्टता निम्त्याउँछन् । तर, त्यसले पनि अरुचि नै पैदा भने गर्दैन ।
‘देउती’ पढ्न सुरु गर्दा सुरुमा नै कथावस्तुले तान्दैन । कथाको तारतम्य नमिलेको हो कि भन्ने भान पनि पर्न सक्छ, कतिपयलाई । कथ्य भाषाको ‘अति’ प्रयोगले पाना छाड्न मन लाग्ने पनि हुन सक्छ । तर, पाना पल्टाउँदै जाँदा भाषाको कथ्यबहुलता सम्मिँदै जान्छ र मध्यभागमा पुगेपछि किताब छाड्नै मन नलाग्ने हुन्छ । यसको अर्को सबल पक्ष यो पनि हो ।
म ‘देउती’को अर्को सबल पाटो मान्छु– देउती र उसकी सासूबीचको सम्बन्ध !
आजको समयमा पनि सासूबुहारीको सम्बन्ध आमाछोरीको जस्तो बिरलै मात्र देख्न पाइन्छ । तर, उपन्यासकारले उतिबेला पनि त्यस्तो थियो भनेर देखाउन खोजेका छन् ।
कुनै घरमा मेलमिलाप देख्दा अरूलाई कति औडाहा हुन्छ भन्ने पनि प्रस्ट देखाउन सफल भएको छ ‘देउती’ । शङ्काले लङ्का जलाउँछ भन्ने उक्ति पनि चरितार्थ भएको छ ‘देउती’मा । लोभ, रिस, शङ्का यी सबै समाजमा चल्दै आइरहेका थिए र चली नै रहन्छन् । हाम्रो समाजको यही यथार्थलाई उदाङ्गो पार्न सफल भएको छ ‘देउती’ । एकल महिलाले भोग्नुपर्ने समस्या अनि समाजले उसलाई हेर्ने नजर र गर्ने व्यवहार कुनै नौलो कुरा होइन । हामी जसरी सोच्छौँ, जुन व्यवहार गर्छौं, ‘देउती’ त्यसको दस्तावेज बनेको छ ।
‘जहाँ पातलो छ, त्यहीँ प्वाल पर्छ’ भनेझैँ नियतिले देउतीलाई दिएको पीडा देख्दा कहाली लागेर आउँछ । यतिविघ्न पीडा थोपर्ने लेखक देखेर कन्सिरीका रौँ तात्छन् । तर, लेखक गलत छैनन् । समाजमा नारीका व्यथा–कथा तिनै हुन् ।
थोरै सम्पत्तिका लागि पनि आफन्तले देखाउने व्यवहार अनि दुःखमा आफ्नाभन्दा पराईले गर्ने निःस्वार्थ सहयोगको दृश्यसँगै ‘देउती’ले हामीलाई हाम्रै आँगनमा पुर्याउँछ र रछ्यान, जुठेल्नोमा डोर्याउँछ ।
महिलालाई ताकेर बस्ने गिद्धेनजर, महिलाले महिलाको चरित्रमाथि शङ्का गर्ने प्रचलन, बोक्सीको आरोप, धामीझाँक्रीमा विश्वास, छोरा नै जन्माउने प्रबल इच्छा । लाग्छ– हिजोको होइन, आजकै समाजको ऐना हो ‘देउती’ । यी अद्यावधि छन् र सानो प्रयासले हट्दैनन् भन्ने आग्रह पनि पालेको छ ‘देउती’ले । यो पनि अस्वाभाविक छैन ।
उपन्यासको अन्तिम पानो पल्टाउँदै गर्दा केही खड्किन्छ । उपन्यासका केही घटनाहरूका रहस्य खुल्दैनन् । देउतीको बैंस नंग्र्याउन आउने व्यभिचारी को हो ? देउतीको कटेरोमा कसले आगो झोस्यो ? रहस्यको गर्भमै छन् यी !
देउतीकी आमाको दोहोरो चरित्रबारे पाठकलाई संशय भइरहन्छ । लेखक चरित्र चित्रणमा चुकेका हुन् कि जस्तो पनि लाग्छ । समाजको तस्बिर उतार्ने बहानामा लेखक बहकिए भन्न सकिने ठाउँ पनि कताकता छोडेको देखिन्छ । देउतीकी जेठानीको एक्कासि देउतीप्रतिको लगाव र अन्ततः घृणा पनि स्वाभाविक परिघटना लाग्दैनन्, फिल्मी लाग्न सक्छ कतिपयलाई !
देउतीमाथि घटेका सबै घटनामा के जेठाजु–जेठानीको हात थियो ? त्यत्रो वर्ष देउतीका श्रीमान् किन घर फर्किएर आएनन् ? पुस्तक पढेपछि यिनै प्रश्नले पाठकलाई चिमोट्न थाल्छन् ।
तर, उपन्यासलाई अनावश्यक नतन्काएर छोटोमीठो बनाउने लेखकको कला निकै नै सराहनीय छ । देउतीलाई देउती बनाउन देउतीले ती दर्दनाक दुःखहरूको निरन्तर सामना गर्नु जरुरी थियो । र त, ऊ देउती भई । उपन्यासको गुदी नै हो यो । र, तिनै पीडाहरूका कारण ‘देउती’ सफल पुस्तक बनेको छ ।
पुस्तक पढ्दा बेलाबेला लाग्छ, अब त देउतीका पीडा, दुःख कम हुँदै जालान् । तर, अर्को पाना नपल्टाउँदै निराशा व्यहोर्नुपर्छ ।
पुस्तक पढ्दा सास ढक्क फुलेर आउँछ, शरीरका रौँ उचालिन्छन् । देउतीका दुःखहरू बीचमै अन्त्य भैदिए हुन्थ्यो जस्तो पनि लाग्छ । तर, यसो भएको भए कथा अन्तै मोडिन्थ्यो र देउती ‘देउती’ बन्दैन थियो भन्ने कुराचाहिँ अन्तिममा आएर महसुस हुन्छ ।
एउटा पुरुष भएर नारीको मनोदशा लेख्न सजिलो हुँदैन, पक्कै । तर, लेखक यो अर्थमा सफल ठहरिएका छन् । तसर्थ लेखक धन्यवादका पात्र हुन् । ‘देउती’ त्यो र यो समाजको ऐना हो भन्न रुचाउँछु म, जसले समाजलाई जस्ताको तस्तै, दुरुस्तै उतार्ने प्रयास गरेको छ र सफल पनि भएको छ ।
लेखक :अक्षर काका
प्रकाशक : सांग्रिला बुक्स
बिधा : आख्यान
मूल्य : ३३३
पृष्ठ संख्या : २४३
बाह्रखरी २०७३ माघ ८ शनिबार
जीवनमा रमाइला घटना हुन्छन्, कहिलेकाहीँ । मेरो जीवनमा पनि त्यस्ता थुप्रै घटना भएका छन्, सम्झँदा अनौठो लाग्छ अहिले ।
सुदूरपश्चिमका प्रेमसिंह धामी एमालेका नेतामात्र थिएनन्, मन्त्रीसमेत भएका थिए । ०४१ सालतिरको कुरा हुनुपर्छ– म अधिकृत भएर महेन्द्रनगर पुगेको थिएँ । मेरो बालसखा डा. श्याम भट्टराई (हाल एसओएस बालग्रामसँग सम्बन्धित हुनुहुन्छ) त्यहाँको साझा प्रकाशनको प्रमुख हुनुहुुन्थ्यो । धामीजीले मेरो कविता असाध्यै मन पराउनुहुँदोरहेछ । ‘यी कवि/गीतकारलाई भेट्न पाए पनि हुन्थ्यो’ भनेर उहाँले बेलाबखत कुरा झिक्नु हुँदोरहेछ । संयोगवश, म महेन्द्रनगर पुगेका बेला उहाँ पनि त्यहाँ आइपुग्नुभयो ।
श्यामजीले भन्नुभयो, “तपाईंले कुरा गरिरहने कवि उहाँ नै हुनुहुन्छ, चिनापर्ची गर्नुस् !”
तर, उहाँले पत्याउँदै पत्याउनु भएन । मैले ‘अलिअलि कविता/गीत लेख्छु । म दिनेश अधिकारी हुँ’ भनेँ तर उहाँले कसैगरी मान्नुभएन । बरु ठान्नुभयो, “यी दुईजना मिलेर मसँग ठट्टा गरिरहेका छन् ।”
पातलो शरीर । त्यतिबेला म जम्मा २५ वर्षको मात्रै थिएँ । धामीजीले तलदेखि माथिसम्म नियाल्दै हुुनुहुन्थ्यो । मैले ‘गरिमा’मा छापिएका सबैजसो कविताका बारेमा बताएँ । करिब आधा घण्टा नियालेपछि उहाँले बल्ल पत्याउनुभयो ।
त्यसपछि उहाँ जिद्दी गर्न पो थाल्नुभयो, “तपाईं आज मैकहाँ बस्नुपर्छ र खाना पनि उतै खानुपर्छ ।”
कर गर्न थालेपछि त्यसदिन म उहाँको घर नगई सुखै पाइनँ ।
० ० ०
म परिवारससहित दोलखा भीमसेन दर्शन गर्न गएको थिएँ । आजभन्दा १५ वर्षअघिको कुरा हो यो । दर्शन गर्न साथमा मेरो परिवार मात्र थिएन, एक जना साथी र उहाँको परिवार पनि थिए । मन्दिर दर्शन गरेर फर्किंदा भोक लागिरहेको थियो तर चरिकोट बजारका होटलमा सोध्दा कसैले पनि खाना छ भनेनन् । सोध्दै जाँदा एकजनाले हातले इशारा गरे, “ऊ... त्यो होटलमा चाहिँ पकाइदिन सक्छन्, गएर बुझ्नुस् न ।”
त्यो होटलमा पनि गएर सोध्यौँ । त्यहाँ पनि उस्तै जवाफ आयो, “खाना सकियो ।”
निन्याउरो अनुहार लगाएर फर्किंदै थियौँ, एकजना अधबैँसे मानिस हाम्रो नजिकैबाट जानुभयो । केही पर पुगेका थियौँ, उहाँले त मलाई हेरी पो राख्नुभएको रहेछ ! मलाई चिनेजस्तो लागेर सोध्नुभयो, “तपाईं गीतकार दिनेश अधिकारी होइन ?”
मैले ‘हो’ भनिनसक्दै उहाँ पुलकित देखिनुभयो ।
“के गर्न आउनुभएको यहाँ ?” उहाँले सोधीखोजी थाल्नुभयो । मैले दोलखा भीमसेन दर्शन गरेर फर्किएको, भोक लागेको छ तर भात खाने होटल भेटिएन भनेँ । पछि उहाँले भन्नुभयो, “हिँड्नुस्, त्यो मेरो होटल हो, भात खुवाउँछु ।”
भात खाइसकेपछि पैसा दिन खोजेको त लिनै मान्नुहुन्न बा ! भन्नुहुन्छ, “तपाईंले मेरोमा आएर भात खानु नै मेरो लागि ठूलो कुरा हो, तपाईंले पैसा दिनुभयो भने म ज्यादै दुःखी हुन्छु ।”
वास्तवमा एउटा सर्जकप्रतिको असिम श्रद्धा थियो त्यो !
० ० ०
मेरो जन्म ०१६ मंसिर २२ गते हालको पुरानो बानेश्वरको चोकमा भयो । पिताजी सरकारी सेवामा हुनुहुन्थ्यो । बानेश्वरमा हाम्रो घरसमेत थियो । ०२० सालमा पिताजीले सर्लाहीको हरिवनमा घरजग्गा किन्नुभयो । बानेश्वरको घरजग्गा बेचे पनि धुम्बाराहीमा घर थियो हाम्रो । त्यहाँ भाइहरू बस्छन् अचेल ।
मेरो अक्षरारम्भ धुम्बाराहीको मन्दिरछेउमा रहेको स्कुलबाट भएको हो । पढ्न जाँदा किताब कापीसँगै चकटी पनि लानुपथ्र्यो । मीरा ढुंगेल भन्ने शिक्षिका हुनुहुन्थ्यो, उहाँले नै मलाई कखरा सिकाउनु भएको हो । पछि सर्लाही गएँ र ३ देखि ७ कक्षासम्म पढेँ । त्यसपछि पुनः म काठमाडौँ नै फर्किएँ र नन्दी रात्रि माध्यमिक विद्यालयमा कक्षा आठमा भर्ना भएँ ।
एसएलसीचाहिँ ०३२ सालमा हरिवनको चतुर्भुजेश्वर स्कुलबाट दिएको हुँ ।
०३३ सालतिर छुट्टै प्रणाली थियो । उच्च शिक्षा अध्ययन गर्न विषय उल्लेख गरेर सबैले एकै ठाउँमा फर्म भर्नुपथ्र्यो । पछि विश्वविद्यालयले कहाँ पढ्ने भनेर आफैँ कलेज तोकिदिन्थ्यो ।
मैले एक नम्बरमा मेडिसिन, दोस्रोमा वन विज्ञान र तेस्रोमा मानविकी लेखेर फर्म बुझाएको त फर्म बुझ्नेले ‘वन विज्ञानको विषय यहाँ होइन’ भनेर काट्दै त्यसमा कमर्स पो लेखिदियो । रिजल्ट आउँदा सरस्वती क्याम्पसमा पढ्ने गरी कमर्स विषयमा मेरो नाम निस्कियो । कमर्स पढ्ने इच्छा थिएन । मन नलागी–नलागी सरस्वती क्याम्पस पुगेँ र क्याम्पस प्रमुखलाई आग्रह गरेँ, “सर ! मलाई कमर्स पढ्न मन छैन, तेस्रोमा मानविकी भरेको छु, त्यही पढ्छु !”
“मेरो भतिजो त यहाँ कलेज नपाएर विराटनगर पढ्न पठाउनुपर्यो, हामी केही गर्न सक्दैनौँ,” क्याम्पस प्रमुखले यसो भनेपछि मलाई कमर्स पढ्नै मन लागेन । त्यो वर्ष त्यसै खेर भयो ।
अर्को वर्ष नेपाल ल क्याम्पसमा भर्ना भएँ । त्यहीँ पाँच वर्ष पढेर कानुनमा स्नातक गरेँ । पछि विश्वविद्यालयबाट प्राइभेट परीक्षार्थीको रूपमा स्नातकोत्तरको पढाइ पूरा गरेँ ।
विद्यावारिधीको अधुरो सपना
सन् १९९० मा विद्यावारिधीको सपना पूरा गर्न सोभियत संघ पुगेको थिएँ । त्यतिबेला सोभियत संघ विघटनको चरमोत्कर्षमा थियो । खाना नपाउनेदेखि बस्ने ठाउँसम्मको समस्यामा बस्ने अवस्था रहेन र त्यत्तिकै नेपाल फर्कनुपर्यो । विद्यावारिधीमा भर्ना त भएँ तर भाषा सिक्दासिक्दै म फर्किनुपर्यो । विद्यावारिधी गर्ने सपना अधुरो बन्यो मेरो ।
सरकारी सेवा प्रवेश
०३८ भदौ २९ बाट सरकारी सेवामा प्रवेश गरेको हुँ । सरकारी सेवा सुरु गर्दाको रमाइलो सन्दर्भ छ । आईएल पढाइ दिउँसो हुन्थ्यो, पढाइमा भन्दा अन्त मन लगाउने कुरै थिएन । तर, बीएलको चाहिँ बिहान पढाइ हुन्थ्यो र दिउँसो साढे १० बजे सकिन्थ्यो । दिउँसभरि फुर्सदको समय हुने हुनाले साथी–साथी सल्लाह गरेर लोकसेवाको तयारी थाल्यौँ । ख्याल–ख्यालैमा नायव सुब्बाको फर्म भरेर परीक्षा दिएको त लिखितमा नाम पो निस्कियो !
अन्तर्वार्ता हुँदा ‘तँ कुन मन्त्रालय बस्छस् ?’ भनेर प्राथमिकता सोधिन्थ्यो । अरु साथीहरूले नाम चलेका ठुल्ठूला मन्त्रालय रोजे । मैलेचाहिँ यसो विचार गरेँ– पढाइ छँदै छ, ठूला मन्त्रालय रोजे भने बाहिर पठाइदेलान् भन्ठानेर रक्षा मन्त्रालय रोजेँ । रक्षा मन्त्रालयको कार्यालय उपत्यकाबाहिर थिएन । पास भएँ म ।
नेपाली सेनाको मुख्यालयमा दरबन्दी पर्यो, त्यहाँ सिभिलियन कर्मचारी पनि हुँदा रहेछन् । नेपाली सेनाको मुख्यालयभित्र पनि सैनिक विमान सेवामा पठाइएको थियो मलाई । पछि पढाइ छुटेपछि त्यहाँबाट सरुवा मागेर नेपाली सेनाको मुख्यालयभित्रैको राष्ट्रिय सेवा दलमा काम गरेँ ।
सूचना विभाग, हुलाक सेवा विभाग आदिमा ०३८ सालदेखि ०४१ वैशाखसम्म काम गरेँ ।
बीएल उत्तीर्णपश्चात पुनः लोकसेवा दिइसकेको थिएँ, १५ जनामा मेरो पनि नाम निस्कियो ! ०४१ जेठ १ देखि नेपाल न्याय सेवाको अधिकृत भएँ । तीन महिना सेवा प्रवेश तालिम हुन्थ्यो । हाल जिल्ला सरकारी वकिलको कार्यालय (उतिबेला ससअ तथा ससअको कार्यालय भनिन्थ्यो)को सरकारी अधिवक्ताको रूपमा पोस्टिङ भएर बैतडी पुगेँ । ०६१ असोजसम्म सरकारी वकिलको रूपमा काम गरें । सेकेन्ड क्लास अफिसर हुँँदासम्म न्यायाधीश हुने हुटहुटी नै थियो ममा । तर, फस्र्ट क्लास अफिसर भइसकेपश्चात् भने मन मोडियो । त्यसपछि दुइटा सोच आए ।
पहिलो– साहित्य/संगीत सिर्जनाका लागि काठमाडौँमै टिक्नुपर्छ भन्ने विचार दृढ भयो । अर्को– न्यायाधीश हुने भनेको दुई–दुई वर्षमा झिटीगुन्टा बोकेर ठाउँ सरिरहने पद हो । पारिवारिक जीवन नै नहुने जस्तो लागेपछि प्रशासनिक क्षेत्रमा जाऊँ कि पो लाग्न थाल्यो । उसो त ‘तपाईं प्रशासनिक क्षेत्रमा आउनुस्’ भनेर धेरैले भनी पनि रहुनुभएको थियो ।
प्रशासनिक क्षेत्रमा आउन रहर त गरेँ तर सेवा परिवर्तनको लामो प्रक्रिया थियो, उस्तै गाह्रो पनि । मन्त्रिपरिषद्बाट स्वीकृति लिएर न्याय सेवासँग पनि स्वीकृति माग्नुपथ्र्यो ।
त्यसभन्दा अघि मन्त्रिपरिषद्ले स्वीकृति दिएपछि सामान्यतः सेवा परिवर्तन गर्न सजिलो हुन्थ्यो । तर, मेरो पालामा लोकसेवाले खुला जाँच नलिइकन सेवा परिवर्तन गर्न नपाइने नियम बनायो । विषयगत खुला जाँच दिनुपर्ने भयो मैले । न्यायसेवामा सहसचिवस्तरमा रहेर जागिर खाएको सात वर्ष भइसकेको थियो । पुनः सहसचिवको जाँच दिने कि नदिने– बडो द्विविधामा पो परेँ म !
स्वीकृति लिइसकेकाले जाँच नदिँदा परीक्षाबाट भाग्यो भन्लान् भन्ठानेर एक महिनाजति बिदा लिएर पढेँ । उत्तीर्ण भएँ । ०६१ असोजदेखि प्रशासनिक सेवामा लागेँ । सम्भवतः लोकसेवा जाँच दिएर न्याय सेवाबाट सेवा परिवर्तन गर्ने नेपालको पहिलो व्यक्ति म नै हुँला । ०६१ देखि ०६४ सम्म विभिन्न मन्त्रालयमा सहसचिवको हैसियतमा कार्यसम्पादन गरेँ । ०६५ सालमा कायममुकाय सचिव भएँ । त्यतिबेला म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिएँ । कामु सचिव भएपछि मेरो जिम्मेवारी शिविर व्यवस्थापन केन्द्रीय समन्वयकर्ताको कार्यालय (माओवादी लडाकुको व्यवस्थापन)मा थियो र ०६६ सालमा बढुवा भएर नेपाल सरकारको सचिव भएँ ।
यहाँनेर एउटा रमाइलो प्रसंग छ-
सचिवमा बढुवा हुन सहसचिवमा पाँच वर्ष काम गरेको हुनुपर्छ । मैले न्याय सेवामा सात वर्ष बिताइसकेको थिएँ । नियमतः प्रशासनिक सेवामा आएको भोलिपल्टै म सचिवको उम्मेदवार हो । तर, बढुवा समिति (जसको अध्यक्षता लोकसेवा आयोगको सदस्यले गर्छन्)ले पहिलोपल्ट लेखेछन्, “उम्मेदवार हुन योग्यता पुगेको भए तापनि हालै मात्र सेवा परिवर्तन गरि आएकाले यो पटकका लागि उम्मेदवार मान्न नमिल्ने।”
बडो हास्यास्पद निर्णय थियो त्यो ! नियम छैन, कानुन छैन तर कसरी यस्तो निर्णय गरियो ? तीनछक परेँ । सोचेँ– यसपटक बढुवा नभएर के भयो त, अर्को पटक उमेदवार भइहाल्छु नि ! प्रशासन क्षेत्र बुझ्न बाँकी पनि त छ ।
त्यसबीचमै न्यायसेवाबाट आएर प्रशासनिक क्षेत्रमा सचिव खाने यो भन्ने विरोधी माहोलै तयार भइसकेछ ! निजामती ऐन संशोधन हुँदा मलाई नै लक्षित गरेर प्रावधान राखियो– सेवा परिवर्तन गरेर आएको व्यक्ति दुई वर्षसम्म बढुवा हुन अयोग्य हुनेछ ।
दोस्रो वर्ष पनि बढुवा रोकियो ।
मैले सुनेसम्म ‘मैले कार्यसम्पादन नभरेको मान्छेलाई कसरी बढुवा गर्ने ?’ भन्ने असन्तुष्टि मुख्य सचिवको पनि थियो ।
त्यही क्रममा न्यायसेवाका दुईजना साथीहरू (प्रमोद कार्की र कुमार चुँडाल)ले पनि सेवा परिवर्तनका लागि प्रक्रिया अघि बढाउनुभयो । प्रशासनिक क्षेत्रमा हल्लिखल्ली मच्चियो । सेवा परिवर्तन गरेर आउनेलाई बढुवा रोक्ने माहोल उत्कर्षमा पुग्यो ।
त्यसपछिको संशोधनमा आफैँले दरखास्त हालेर सेवा परिवर्तन गरेर आउनेहरू पाँच वर्षका लागि अयोग्य रहने प्रावधान राखियो । तर, मेरो सन्दर्भ फरक थियो । मेरो मौखिक सहमतिमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माग गरेको कारणले मात्रै सेवा परिवर्तन गरेको थिएँ । पाँच वर्षे प्रावधान मलाई लाग्दैनथ्यो । तर, पनि विरोधी माहोल चर्को भयो । सेवा परिवर्तन गर्न खोज्ने चुँडाल लिखितमा अनुत्तीर्ण हुनुभयो । कार्कीको पाँच वर्षपछि सेवा अवधि नै सकिन्थ्यो, अतः उहाँले अन्तर्वार्ता नै दिनुभएन ।
लाग्दै नलाग्नुपर्ने पश्चातदर्शी कानुन मलाईमात्रै लाग्यो । कानुनै पढेर जागिर खाएको मैले दिउँसै अँध्यारो परिस्थितिको सामना पो गर्नुपर्यो । १२ वर्ष सहसचिवको रूपमा व्यतीत गरेपछि बल्ल सम्भावित उमेदवारको भएँ । त्यसपछि नेपाल सरकारले निर्णय गरेर ०६६ साउन ९ गते सचिवमा पदोन्नति भएँ । प्रशासनीक संरचना आयोग, नेपाल ट्रस्ट, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, संघीय मामिला, संविधानसभा, संसदीय व्यवस्था तथा संस्कृति मन्त्रालय, भूमिसुधार व्यवस्था, महिला बालबालिका मन्त्रालयमा सचिवको हैसियतमा काम गरेँ ।
त्यसबेलाको अर्को घटना छ-
म एक नम्बरको सचिव थिएँ । २२ नम्बरको सचिवलाई मन्त्रालय दिइयो तर मलाई अस्थायी प्रकृतिको प्रशासनिक संरचना आयोगमा थन्क्याइयो । यतिसम्म कि सचिवको चेम्बरसमेत थिएन । सचिव, सहसचिव एउटै टेबलमा बसेर काम गथ्र्यौं । हंगामा मच्चियो । मिडियाले विरोधमा समाचार लेखे । त्यसपछि नेपाल ट्रस्टमा सरुवा गरियो ।
०७१ साउन ७ गते सेवानिवृत्त भएँ म ।
० ० ०
मेरो लेखन यात्रा कहिलेदेखि सुरु भयो, यकिन छैन । तर, घरको वातावरण नै लेखनतर्फ अभिप्रेरित गर्ने खालको थियो । पिता नन्दनहरि अधिकारी सामाजिक सरोकारका विषयमा ००४ सालदेखि नै कलम चलाउनुहुन्थ्यो । उहाँको निधनपश्चात् ४ वर्षसम्म पनि ‘सम्पादकलाई चिठी’ शीर्षकमा गोरखापत्रमा लेख प्रकाशित भयो । त्यो किताबाकारमै प्रकाशित छ । जेठा दाजु ऋषभहरि अधिकारी कविता लेख्नुहुन्छ । माहिला दाजु ध्रुवहरि अधिकारी पत्रकारिता र साहित्यमा सक्रिय नै हुनुहुन्छ । उहाँहरूकै प्रेरणा पाएँ ।
हरिवनको महादेव जनता विद्यालयमा कक्षा ४ मा पढ्दै गर्दा कविता प्रतियोगिता भएको थियो । त्यहाँ म प्रथम भएँ । लाग्छ– बाल्यकालदेखि नै ममा साहित्य सिर्जनाप्रति मीठो लगाव रहेछ !
मेरो पहिलो रचना ०३२ सालमा ‘रत्नश्री’ द्वैमासिक पत्रिकामा त्यसमा पहिलोपटक मेरा दुइटा गीत ‘इच्छा’ र ‘सम्झे पुग्छ’ प्रकाशित भएका थिए । रहरै–रहरमा सिर्जनामा लागेको थिएँ । सिर्जना लिएर सम्पादककोमा पुग्दिनथेँ ।
हुलाकबाटै पत्र पठाउथेँ तर अधिकांश रचना प्रकाशित हुन्थे ।
०३६ सालमा नेपालको राजनीतिमा युगीन महत्व राख्ने ‘सडक कविता क्रान्ति’ सुरु भयो । विशेषगरी मेरो साहित्य सिर्जना मुखरित त्यतिबेलै भएको हो । अभिव्यक्ति स्वतन्त्रताको पक्षमा हामीले काठमाडौँको सडकबाट सुरु गरेको अभियानले देशव्यापी स्वरूप धारण गर्यो ।
‘सडक कविता क्रान्ति’मा मोहन कोइराला, हरिभक्त कटुवाल, भवानी घिमिरे, शैलेन्द्र साकार आदि अग्रजहरू र हाम्रो पुस्ताका थुप्रै सर्जकहरु हुनुहुन्थ्यो। त्यो बीचमा नेपाली कविता अलि दुर्बोध्य हुँदै गइरहेको थियो । कविता समाज र जनजीवनसँग टाढिँदै गएको हो कि भन्ने प्रतीत हुन थालेको थियो । ‘सडक कविता क्रान्ति’ले त्यो खाडललाई पुर्ने काम पनि गर्यो ।
त्यही समयमा हामीले युवा साहित्यिक समाज नाम दिएर अनौपचारिक समूह बनायौँ र रत्नपार्कको चौरमा बसेर कविता सुन्ने/सुनाउन गर्न थाल्यौँ । त्यसबेला हामीले ‘पूर्वाद्र्ध’ द्वैमासिक पत्रिका पनि प्रकाशन गथ्र्यौं ।
‘सडक कविता क्रान्ति’ सम्पन्न भइसकेपछि सोही समूहका साथीहरूले कविता संग्रह छाप्ने इच्छा व्यक्त गर्नुभयो । मेरो कविता संग्रह निकाल्ने भनेर पैसा संकलनसमेत गर्नुभयो । साहित्य समाजमा सौरभका नामबाट चिनिने दिनेश सत्याल, जीवन आचार्य, अभि राई, फणिन्द्र नेपाल, लब गाउँले, गोविन्द गिरी प्रेरणासमेत सर्जकहरू हुनुहुन्थ्यो ।
०३७ वैशाख १ गते २५ वटा कविता संग्रृहीत ‘अन्तरका छिटाहरू’ कविता संग्रह प्रकाशित भयो ।
त्यसपछि ममा काव्य क्षेत्रमा अलिकति गम्भीरता देखा पर्यो ।
अन्तरका छिटाहरू (२०३७), धर्तीको गीत कविता संग्रह (२०४४), आदिम आवाज कविता संग्रह (२०४५), इन्द्रजात्रा काव्य (२०५१), अतिरिक्त अभिलेख कविता संग्रह (२०५६), मोड अफ लाइफ (२०६५), सीमान्त सपना (२०६७), संवेदना के स्वर (२०७१), एउटा बस्तीको कविता (२०७२) आदि प्रकाशित छन् ।
सन् २००३–०४ तिर लाइब्रेरी अफ कंग्रेसले संसारका सबै भाषाका प्रतिनिधि कविहरूका सबै प्रतिनिधि कविता रचना उनीहरूकै आवाजमा रेकर्ड गर्ने र कंग्रेसकै सम्पत्तिको रूपमा राख्ने प्रोजेक्ट सञ्चालन गरेको थियो । नेपालबाट तीनवटा भाषा छानिएकोमा म पनि परेँ । नेपालबाट नेवारी, नेपाली र अंग्रेजी भाषा छानिएका थिए । त्यसबेला थुप्रै साथीहरुले ‘तपाईंका कविता हामीले अंग्रेजीमा पनि पढ्न पाउनुपर्छ’ भन्ने इच्छा व्यक्त गर्नुभयो । त्यसैले मेरा कविताहरूलाई अंग्रेजी भाषामा अनुदित गरेर ०६५ सालमा ‘मोड अफ लाइफ’ प्रकाशन गरेँ ।
०४१ साउनमा मसहित अशेष मल्ल, गगन विरही, विष्णुविभु घिमिरेलाई केही गरौँ भन्ने भावना जागृत भयो । पहिलोपल्ट हामीले कविता रेकर्ड पनि गर्यौँ । नेपाली साहित्यको इतिहासमा कविता रेकर्ड गरेर बजारमा ल्याएको पहिलो घटना थियो त्यो ।
जागिरमा जाँदा धेरै साथीहरूले भन्नुभएको थियो, “तपाईंको साहित्य चेतमा खिया लाग्ला नि !”
जागिरबाट बाहिरिँदा पनि मैले कवित्व गुमाइनँ र आजपर्यन्त काव्य सिर्जनामा अविराम लागिरहेको छु ।
० ० ०
मेरा पहिलोपल्ट छापिएका रचना गीति कविता नै हुन् । कलेज पढ्दा जब कक्षा खाली हुन्थे, तब म मस्तिष्कमा शब्द खेलाउन थाल्थेँ । त्यो गीतका रूपमा प्रकट हुन्थ्यो । लेखेका रचना साथीहरूलाई सुनाउँथें पनि ।
मेरो एकजना अनन्य मित्र हुनहुन्थ्यो, सुरेन्द्र राना । उहाँका एक–दुइटा गीत रेकर्ड भइसकेका थिए । कुरैकुरामा एकदिन मैले भनेँ, “सुरेन्द्रजी म पनि गीत लेख्छु नि !”
“लौ सुनाऊ त,” उहाँले भन्नुभयो ।
मैले दुइटा रचना सुनाएँ । राम थापासँग मेरो पनि चिनाजानी थियो । बिहान चिया खान कलेजको क्यान्टिनमा आइरहनुहुन्थ्यो । राम थापासँग मेरोभन्दा सुरेन्द्रको सम्बन्ध घनिष्ठ थियो । कारण– राम थापाको संगीतमा सुरेन्द्रका एक–दुइटा गीत रेकर्ड भइसकेका थिए । सुरेन्द्रले मेरो गीत राम थापालाई दिनुभएछ । थापाले त्यो गीत रेडियो नेपालको आधुनिक गीत प्रतियोगितामा गायिका मीरा राणालाई दिनुभएछ । संयोगवश त्यो गीत सर्वोत्कृष्ट रचनाको रूपमा पुरस्कृत भयो । गीतको बोल थियो–
निश्वास ए चाँडै थाकी नजा
मेरो आफ्नो भन्नु तँ एउटै न होस् !
बादल ए चाँडै फाटी नजा
प्रतिविम्ब मेरो तँ एउटै न होस् !
उत्कृष्ट रचना रेडियो नेपालले रेकर्ड गथ्र्यो, त्यो गीत रेकर्ड भयो ।
अर्को गीत रवीन शर्माको आवाजमा रेकर्ड भयो । राम थापाले संगीत गरे ।
तिमी यसै लजायौ, म उसै धकाएँ !
न बोल्यौ तिमी, न मैले बोलाएँ
कति स्वप्न आए परेलीमा बस्न
न सोध्यौ तिमीले, न मैले सुनाएँ !
यो गीतले बाटो खोलिदिएन मात्रै, दिनेश अधिकारीलाई गीतकारको रूपमा स्थापित पनि गरिदियो । रेडियो नेपालमा बिहानदेखि बेलुकासम्म १५–२० पटक बज्थ्यो । नसुसेलिने, नगुन्जने कुनै ठाउँ थिएन । बाटोमा, फिल्म हलमा सर्वत्र त्यही गीत गुन्गुनाइन्थ्यो । जनजनको मनमा छिट्टै राज गर्न सफल भयो ।
आजपर्यन्त म गीत लेखनमा अविराम अघि बढिरहेको छु । हजारौँ गीत सिर्जना गरेको छु । हालसम्म पाँच सय हाराहारीमा गीत रेकर्ड भएका छन् मेरा ।
०४६ को परिवर्तनपश्चात् चलचित्र बन्ने क्रम सुरु भयो । त्यतिबेला नेपाली चलचित्रका गीत भारतमा रेकर्ड हुन्थे । भारत प्रविधिमा हामीभन्दा निकै अगाडि थियो । त्यसले गर्दा रेडियो नेपालका गीतहरू विस्थापित हुने हुन् कि भन्ने सन्त्रासले गाँज्न थाल्यो र म पनि चलचित्रको गीत लेखनमा लागेँ ।
भिडियो चलचित्र ‘प्रेमकथा’ र फिचर फिल्म ‘विजय पराजय’ मेरा डेब्यु हुन् । ‘विजय पराजय’का लागि दुइटा गीत लेखेको थिएँ । एउटा मित्रतासँग सम्बन्धित थियो । अर्को थियो–
निधारमा लर्काएर सप्तरंगी टीको
हिँडिराख सधैँ तिमी शिखरको बाटो !
ओखरमा फोरिदिएँ बाधाहरू मैले
जता पनि पुग दाजै घामभन्दा पहिले !
सोच्दै नसोचेको सफलता पायो गीतले ! शम्भुजित बास्कोटाको संगीत र हेम लताको स्वरमा रहेको उक्त गीत कालजयी बन्यो । जब शरद आउँछ, तब मखमलीभन्दा यो गीतको निलीमा तीक्ष्ण बन्छ ।
करिब ६०–६२ वटा चलचित्रमा काम गरेँ । गीतको भाव एउटा हुने, चलचित्रमा अर्कै ठाउँमा प्रयोग हुने । उधारोमा काम गर्नुपर्नेलगायत विविध कारणले चलचित्र लेखनबाट हात झिकेको छु । तथापि लेख्दै नलेख्ने किरियाचाहिँ खाएको छैन !
एल्बमचाहिँ मेरो भावनाका मातहरू (२०४७), सुख–दुःख (२०५०), बोल बोेल पाखाहरू (२०५४), विरानो मन (२०५५), परेलीको डिलमुनि (२०५६), यात्रा (२०५७), अनुभूति (२०५७), लिपि (२०५९), शब्द (२०६३), रचना (२०६७), देशको गीत (२०६९), निखिता (२०७१) लगायत निस्किएका छन् ।
० ० ०
नेपालको संविधान २०७३ मा सांसदहरूले सही गरिरहँदा दिनभरजसो पृष्ठभूमिमा दुइटा गीत बजिरहे । एउटा राष्ट्रकवि माधव घिमिरेले रचना गर्नुभएको ‘नेपाली हामी रहौँला कहाँ नेपालै नरहे..’ र अर्को मेरो शब्दरचना, आलोकश्रीको संगीत र स्वरूपराज आचार्यले गाउनुभएको ‘पहाडमा जाडो बढे तराईले सेक्नुपर्छ । आँधी आओस् तराईमा पहाडले छेक्नुपर्छ !’
संसद्जस्तो गरिमामय ठाउँमा मेरो गीत बज्नु र जनजनको मनमा गुञ्जनु गौरव र प्रतिष्ठाको विषय थियो ।
विपत्तिका दुइटा घडीमा यो गीतले मलमपट्टीको काम गरेको छ । कोसीको बाढीले तराई आक्रान्त बनेको बेला र भूकम्पले हिमाल–पहाडलाई क्षतविक्षत तुल्याउँदा यो गीतको सामयिकता अझै बढ्यो ।
यो गीत लेख्नुको खास कारण छ-
०४६ सालतिरको कुरा हुनुपर्छ– नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय गीतहरूको एल्बम निकाल्ने ‘क्यासेट प्रोजेक्ट’ बनाएको थियो । एल्बममा १० वटा गीत राख्ने भनेर गीत मागिएको थियो, १० जनाभित्र म पनि परेँ ।
गीतको रचनागर्भमा जाऊँ । ०३६ यता हाम्रो समुदायमा विशृंखलता देखा पर्यो । मलाई सम्झना छ– ०३६ सालको जनमत संग्रहताका हरिवनमा घर–घरमा बहुदलको पक्षमा नीलो र निर्दलको पक्षमा पहेँलो झन्डा गाडिएको थियो । झन्डा गाडियो त ठिकै छ तर नीलो झन्डा गाडेको घरमा कसैको मृत्यु भयो भने पहेँलो झन्डा गाड्नेहरू नजाने र पहेँलोले पनि नीलोलाई पर्दा त्यसै गर्ने अवस्था चरम थियो । यसले सामाजिकत्वको भावनालाई विशृंखल बनाएको थियो । ०४६ सालको परिवर्तनपश्चात् पनि त्यस्तै देखा पर्यो । समाजको यो खाडल पुर्न र एक–आपसमा फाटेको मन जोड्न मैले यो गीतको सिर्जना गरेँ ।
तर, प्रोजेक्ट बनेन ! प्रज्ञा प्रतिष्ठानले गीत रेकर्ड गरेन । सुनेको थिएँ– गोपाल योञ्जन दाइले संगीत गर्नुभएको थियो रे ! कस्तो संगीत गर्नुभयो, मैले सुन्नै पाइनँ ।
०५५ सालतिर कान्तिपुर टेलिभिजन सुरु हुने भयो । जीवा लामिछाने त्यसको पहिलो एमडी हुनुहुन्थ्यो । उहाँसँग मेरो नजिकको सम्बन्ध छ । “कान्तिपुर टेलिभिजन सुरु गर्न लागियो, कान्तिपुरको लोगो सङ तपाईंले बनाइदिनुपर्यो,” उहाँले एकदिन भन्नुभयो ।
मैल जवाफ दिएँ, “त्यसो नगरौँ, म दुई–चारवटा गीत तयार पार्छु । तपाईंको टिम नै सँगै बसौँ, म गीत सुनाउँछु । मन परेको गीत लोगो सङ बनाउँला !”
उहाँ राजी हुनुभयो ।
कान्तिपुरका कैलाश सिरोहिया, जीवा लामिछाने, भूषण दाहाललगायत सँगै बसेको ठाउँमा गीत सुनाएँ । भूषणजीले ‘पहाडमा जाडो बढे’ नै मन पराउनु भयो, मैले गीत दिएँ ।
स्वरूपराज आचार्य उदीयमान प्रतिभाको रूपमा अघि आउँदैहुनुहुन्थ्यो । पुल्चोकस्थित आलोकश्रीको गुञ्जन स्टुडियोमा उहाँकै संगीतमा गीत रेकर्ड गरियो । यता टेलिभिजन सञ्चालनका लागि दरबारमा निवेदन दिइसकिएको रहेछ । दरबारबाट अन्दाज गरेभन्दा अगाडि नै समय पाएपछि गीतको भिजुअल गर्न भ्याइएन । कान्तिपुर सञ्चालनमा आयो तर गीत ‘लोगो सङ’ बन्न सकेन ।
मसँग सम्झौता भएको थियो । पारिश्रमिकको कुरा पनि बाँकी थियो । समझदारीमै मैले काम गरेको थिएँ । विलम्ब भएपछि मैले दुई–तीनपटक आग्रह गरेँ– गीतको भिजुअल गरौँ । तर, उहाँहरू टेलिभिजनकै काममा व्यस्त देखिनुभयो ।
दुई–चार वर्ष बितेपछि भूषणजीलाई आग्रह गरेर त्यो गीत कान्तिपुरकै सिस्टर अर्गनाइजेसन कान्तिपुर एफएमलाई दियौँ ।
कान्तिपुरको ‘लोगो सङ’ भनेर बनाएको गीत अन्ततः देशकै ‘टोन’ बन्यो ।
कहिलेकाहीँ लाग्छ– यो गीत रचना गरेर राष्ट्रिय सद्भाव कायम राख्न एउटा इँटा थपेँ कि !
प्रस्तुति : अक्षर काका
बाह्रखरी २०७३ माघ २२ शनिबार
विसं ०३९ साउन ६ गते । घाम चन्द्रागिरिबाट क्रमशः ओरालो लाग्दै थियो । फोटोग्राफर नवीन चित्रकारलाई कसैले कानमा आएर छ्वास्स फुक्यो, “क्यामरा लिएर चाबहिलतिर जा, फोटो खिच्छस् क्यारे ! तेरो क्यामराको काम आउन सक्छ !”
उनी खंग्रङ्ग भए । मथिंगल घुमाए– के घटना घटेछ त चाबहिलतिर ?
बीपी कोइराला निकै बिरामी छन् भन्ने सुनेका थिए, कतै केही त भएन ?
कान फुक्नेहरू पञ्चायतका सीआईडी थिए । उनीहरूको बासै न्युरोडको पीपलबोटमा हुन्थ्यो । दिउँसभरिजसो त्यहीँ बसेर तत्कालीन सत्तालाई उनीहरू सूचना पुर्याउँथे । नवीन पनि टहलाउन प्रायः त्यता गइरहन्थे ।
फोटोग्राफर न परे, काँधमा क्यामरा झुन्ड्याएर चाबहिल हानिन लागेका थिए । झल्याँस्स याद आयो– ममात्र गएर कहाँ भयो र ? भिनाजुलाई पनि त सँगै लैजानुपर्यो नि !
नवीन चित्रकार र उनका भिनाजु पुष्प चित्रकार बीच बाटोमा मात्रै पुगेका थिए । अघिदेखि धुम्मिएको रहस्यको आकाश खुलिहाल्यो– बीपीको भौतिक चोला अस्ताइसकेछ ! खबर सुन्दा मुटुको धड्कन बन्द होलाजस्तो भयो । हातगोडा लल्याकलुलुक भए । पानी छम्कनुजसरी छाती खरो भएर आयो !
हतार–हतार बीपी निवासतिर पाइला मोडे । चाबहिल पुग्दा क्यान्सरले सिकिस्त नेपाली राजनीतिका शिखर पुरुष बीपी निस्चेष्ठ भइसकेका रहेछन् । शरीर लमतन्न सुताइएको थियो, आफन्तहरू रोइकराइ गरिरहेका थिए !
उनले हातले क्यामरा उठाएर खिचिक्क पारे । निधन भएको तात्तातो दृश्य क्यामरामा कैद गर्ने पहिलो फोटोग्राफर उनै थिए । बीपीको त्यो क्षणको फोटो खिच्न नपरे हुन्थ्यो, उनलाई लागेको थियो । जस्तै क्षणमा क्यामरा तेर्स्यानुपर्ने कस्तो पेसा ? मन भावनाको पातालमा पुग्थ्यो र आफैँलाई प्रश्न तेर्स्याउन थाल्थ्यो ! बीपी उनका आदर्श नेता थिए ।
“एउटा आदर्शवान् नेताको शरीर अस्ताएको दृश्य कैद गर्दा मेरा हात लगलगी काँपे । आँखा रसाइरह्यो । मुटु निचोरिएझैँ भयो,” उनले सम्झिए ।
बीपीको शव र्यालीमा लाखौँ जनता सडकमा ओर्लिए । भारतका नेता चन्द्रशेखर पनि शव र्यालीमा सहभागी हुन आएका थिए । शव र्याली बागबजार आइपुग्दा उनले दुर्लभ तस्बिर कैद गरे । उनी स्मरण गर्छन्, “चन्द्रशेखर, गणेशमान, किसुनजीको बीचमा दिवंगत नेता बीपीको तस्बिर मैले नै कैद गरेको हुँ । त्यो तस्बिर त्यसबेलाका सबैजसो पत्रपत्रिकाले छापे ।”
त्यतिमात्र होइन, सञ्चारमाध्यममा सर्वाधिक प्रयोग हुने बीपीको दाह्री पालेको तस्बिर उनै नवीन चित्रकारको ‘पोट्रेट’ हो ।
० ० ०
पिता हीराबहादुर चित्रकार फोटोग्राफीमा पोख्त थिए । र त, उनले कलमभन्दा पहिला क्यामराको लेन्स चलाउने सिके, जाने । त्यसो त उनका कान्छा बुबा पुष्प चित्रकार साहित्य सिर्जना गर्थे र फोटोग्राफीमा पनि रुची थियो उनको । “उहाँहरूकै छत्रछायामा फोटोग्राफी गर्ने मौका पाएँ, पछि २०२९ सालमा ‘इन्डियन इन्ष्टिच्युट अफ मास कम्युनिकेशन’मा अडियो भिजुअलसम्बन्धी अध्ययन गरेपश्चात फोटोग्राफीको ‘प्यासन’ झनै झाँगियो,” उनी स्मरण गर्छन् ।
प्रोफेसर ध्रुव चौधरीले उनलाई फोटोग्राफी पढाएका हुन् । इन्स्टिच्युटमा फोटोग्राफी पढ्न भारतका धुरन्धर फोटोग्राफर आउँथे । उनीहरूबाटै नवीनले फोटोग्राफी कला उजिल्याउने मौका पाए ।
० ० ०
पुरुषोत्तम श्रेष्ठ, नवीनका बुबाका उमेरका पाका थिए । उनले नवीन र पुरुषोत्तमलाल श्रेष्ठलाई भने, “आओ केटाकेटी हो, तिमीहरूलाई एक ठाउँमा लिएर जान्छु ।”
केटाकेटी भएकाले नवीनलाई खासै थाहा भएन, पछि लागे । पछि बुझ्दा त उनलाई गणेशमानजीको घरमा पो लगिएको रहेछ ! घरको भित्तामा गणेशमान जेलमा बस्दा राणाहरूले कोर्राले हान्दै गरेको फोटो रहेछ, त्यो छातीमा टाँसेर टोल–टोल पो डुल्नुपर्ने भयो । सुरुमा उनी त्यो ‘स्केच’ देखेर तीन छक परे– यस्तो दुःखदायी फोटोको रहस्य के होला ?
‘वीर गणेशमानलाई भोट दिनुहोस्, प्रजातन्त्र फुल्छ जरुर’ भन्ने गीत गाएर उनीहरू दिनभरजसो टोल घुम्थे । “त्यसरी गीत गायो, बेलुका फर्कन बेलामा त्यो तस्बिर त्यहीँ बुझाउँथ्यौँ र खाजा खाएर घर फर्कन्थ्यौँ,” उनी स्मरण गर्छन् ।
०१५ सालको आम निर्वाचनमा वटु टोलमा त्यसरी घुमिसकेपछि उनको मथिङ्गलमा प्रजातन्त्र र कांग्रेसप्रति जरा गाडियो । अझ भनौँ, गणेशमान सिंहप्रति असीम श्रद्धा जाग्यो । उनी थप भन्छन्, “मेरो फोटोग्राफी करिअर र राजनीतिको चेत गणेशमानजीकै सान्नीध्यमा हुर्किएको हो, गणेशमान मेरो ‘पोलिटिकल आइडल’ हो ।”
० ० ०
०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर बीपी कोइराला स्वदेश फर्कंदा नवीन चित्रकार क्यामरा बोकेर विमानस्थल पुगेका थिए । उनलाई धूमिल सम्झनामात्रै छ । भन्छन्, “मैले त्योबेला त्यति राम्रोसँग तस्बिर कैद गर्न पाइनँ । हुलुमुल, भीडभाड थियो ।
परिस्थिति पनि अर्कै थियो । तथापि त्यसबेलाका केही तस्बिरहरू अझै मसँग सुरक्षित छन् ।”
०३३ सालमा गणेशमानसँग पुनः भेट भयो उनको । गणेशमानले उनलाई भने, “नवीन तिमी त साहित्यकार र फोटोग्राफीमा पनि रुचि भएको मान्छे तर प्रजातन्त्र सुदृढ नहुँदासम्म तिम्रा सपना मुस्कुराउन पाउँदैनन् है, विचार पुर्याऊ ।”
त्यसपछि गणेशमानप्रति उनको श्रद्धा अझै जाग्यो र राजनीतितिरै बढी संलग्न हुन थाले । तत्क्षण उनी नेपाल भाषा पत्रिकामा आबद्ध भएर फोटोग्राफी गर्दै थिए । पद्मरत्न तुलाधर त्यसका सम्पादक थिए ।
“तिमी पत्रकारिता पढेको मान्छे, मलाई मद्दत गर न नवीन भनेपछि उहाँसँग आबद्ध भएर काम गर्न थालेको हुँ, राजनीतिक सिद्धान्त नमिले पनि भाषिक हिसाबले पछि परेका नेवारी समुदायको उत्थान र विकासका थुप्रै सवालमा उहाँको र मेरो कुरा मिल्थ्यो,” उनले पद्मरत्नसँग काम गर्दाको अनुभव सुनाए । त्यसबेला उनले नै गणेशमानलाई आग्रह गरेर अन्तर्वार्ताका लागि समय मिलाएका थिए ।
“गणेशमानजीसँग निकट रहे पनि फोटोग्राफीलाई पनि निरन्तरता दिँदै गएँ, आफूसँग भएको सीप तथा औजार प्रयोग गर्दै फोटोग्राफी पत्रकारितामा पनि संलग्न भएँ । त्यो बेला मसँग ‘वान ट्वान्टी’को क्यामरा थियो । त्यसमा रोलिल्फेक्स थियो । मामिया–३३० आदि क्यामरा पनि प्रयोग गर्थें । गणेशमानजीको फोटो तिनै क्यामराले खिचेको हुँ,” उनको ओठमा हाँसो फिँजियो ।
भारतका रघु राय र टी काशिनाथको प्रभाव उनमा पनि परेको रहेछ । त्यस्तै, २० औं शताब्दीका उत्कृष्ट फोटोग्राफर युसुफ क्रासको प्रभाव पनि उनमा पर्यो । युसुफ संसारकै ‘नामुद पोट्रेटर’ थिए । ठुल्ठूला राष्ट्र प्रमुखहरूको मात्रै फोटो खिच्थे । उनले खिचेको बेलायतका पूर्वप्रधानमन्त्री चर्चिलको फोटो संसार प्रशिद्ध छ । चर्चिलको मुखमा ‘सिगार’ नभएको फोटो भेट्न मुस्किल छ तर युसुफ क्रासले खिचेको फोटोमा ‘सिगार’ थिएन । बडा चलाखीपूर्वक उनले त्यो फोटो खिचेका थिए ।
उनी अरूले पोट्रेट कसरी खिच्दारहेछन् भनेर खोज अन्वेषण गर्थे र आफू पनि त्यसैगरी खिच्ने प्रयत्न गर्थे । भन्छन्, “पोट्रेट खिच्नु असाध्यै कठिन कुरा हो । पासपोर्ट साइजको फोटो खिचेजस्तो हुँदैन । पोट्रेटमा उसको व्यक्तित्व पूर्ण रूपमा प्रतिविम्बित गर्नुपर्छ ।
वास्तवमा उनीभित्रका ‘हिडन’ कुराहरू फोटोमा सर्लक्कै उतार्नुपर्छ । ताकि फोटो हेर्दा मान्छेले उसको इतिवृत्तान्त कण्ठस्थ पार्न सकोस् ! भनिन्छ, एउटा तस्बिरले हजार शब्दबराबरको भाव बोक्नुपर्छ ।”
गणेशमान, बीपी, किसुनजी, गिरिजाप्रसादका अतिरिक्त उनले राजा वीरेन्द्रको पनि पोट्रेट खिचेका छन् । उनको फोटोबाट आह्लादित भएर दरबारले ‘रोयल फ्यामिली’को फोटो पनि खिच्न बोलाएको थियो । फोटो खिच्न फोटो कन्सर्नबाट अर्जुन थापा, भैरव प्रकाश, मंगल, गोपाल चित्रकार आदि पुगेका थिए । सबैले फोटो खिचेर दरबारमा बुझाए । मामिया–३३० बाट उनले ‘रोयल फ्यामिली’को फोटो खिचेका थिए । तर, अर्जुन थापा र नवीन चित्रकार दरबारको छनोटमा परे ।
स्टेट भिजिटका क्रममा दरबारले थापालाई हवाना लिएर गयो भने चित्रकार जर्मन भ्रमणका लागि छानिए ।
वीरेन्द्रको एउटा बानी रहेछ । यात्राका क्रममा जहाजभित्र उठेर सोध्न आउने– तिमीहरूलाई बसेको ठीक छ कि छैन भनेर । असुविधा पो केही छ कि ! खाजा÷खाना के–कस्तो भइरहेको छ ! आदि ।
अस्ट्रिया भ्रमणका बेला शाकाहारी भएकाले अरुले लन्च खाइरहँदा नवीन चुपचाप बसे । केही नखाई बसेको देखेर वीरेन्द्रको आग्रहमा शान्तकुमार जर्नेलले उनलाई सोधे, “सरकारबाट हुकुम भयो, तपाईं किन नखाई बस्नुभएको ? केही अप्ठ्यारो पो भयो कि ?”
“म माछामासु खान्नँ, मेरो लागि छुट्टै व्यवस्था हुँदैछ ?” चित्रकारले यसो भनेपछि राजा मुसुक्क हाँसे ।
“राजा भएर पनि जनताको सामान्य कुरामा चासो र चिन्ता राख्ने बानी वीरेन्द्रमा रहेछ, अहिलेका नेताहरूको त्यो कहाँ पाउनु ?” उनको अनुहारमा निराशा सल्बलायो ।
नवीनको विचारमा बीपी पनि सर्वज्ञाता थिए । यतिसम्म कि पोट्रेट खिचेपिच्छे नवीनलाई सोध्थे रे– कुन क्यामराले खिच्यौ ? कति एमएमको लेन्स राख्यौ ? फ्ल्यास राम्रो आयो त ?
छक्क पर्थे उनी– के मात्र जान्न बाँकी होला बीपीले !
त्यसबेला उनले मामिया–६३५ प्रयोग गर्थे । बीपी क्यामरा ओल्टाइपल्टाई पार्थे र अन्तिममा मुसुक्क हाँस्थे– गज्जबकै क्यामरा रहेछ !
सन् १९८१ मा चीनमा फोटो प्रदर्शनी भएको थियो । त्यसमा उनी तृतीय भएका थिए । नेवारी किसानहरूले चर्खामा धागो बुन्दै गरेको फोटो उनले प्रदर्शनीमा पठाएका थिए ।
जसले कांग्रेस–कम्युनिस्ट मिलायो
कांग्रेस–कम्युनिस्ट नमिलेसम्म मुलुकमा बहुदलीय व्यवस्था आउँदैन भन्नेमा उनी ढुक्क थिए । भनौँ, पद्मरत्न तुलाधरको कम्युनिस्टप्रतिको झुकाव र उनको प्रजातन्त्रको अथक लगावले जुराएको संयोग थियो त्यो । उनको मनमा हठात् विचार पैदा भयो– अब बाम र कांग्रेसलाई एकै ठाउँमा ल्याएर पञ्चायतविरुद्ध जेहाद छेड्नुपर्यो । उनले तारतम्य मिलाए । त्यसमा कृष्णगोपाल श्रेष्ठले पनि सघाए उनलाई ।
बागबजारस्थित श्रीराम श्रेष्ठको घरमा पद्मरत्न तुलाधर, पुष्करलाल श्रेष्ठ, नवीन चित्रकारलगायत बसेर कांग्रेस–कम्युनिस्ट मिलेर संघर्ष गर्ने पृष्ठभूमि तयार पार्ने, गणेशमान र मदन भण्डारीबीच भेटको बन्दोबस्त मिलाउने उनै हुन् । ०४६ सालको आन्दोलनमा कांग्रेस–कम्युनिस्ट गठबन्धन तयार पार्ने सूत्रधार उनी पनि हुन् भनेर नेपाली राजनीतिमा कमैलाई मात्रै थाहा छ ।
० ० ०
राष्ट्रिय मेलमिलापको नीति लिएर भारत प्रवासित भएका नेताहरू स्वदेश फर्केपछि दसैँको कोजाग्रत पूर्णिमाका दिन कांग्रेसले चियापान गर्ने परम्परा थालनी गर्यो । उनी बीपीको निवास चाबहिल पुगेर चियापानको फोटो खिच्थे । बीपी बितेपछि त्यो परम्परा गणेशमानले सुरु गरे ।
एक वर्ष सूर्यबहादुर थापालगायत पञ्चायतका सबै नेताहरूलाई आमन्त्रण गरिएको रहेछ । उनले क्यामरा तेस्र्याए । फोटो खिच्न लागेको देखेर सूर्यबहादुरले ओठ तन्काइहाले, “ल ल खिच्नुस् खिच्नुस्, तपाईंलाई म आएको थिएँ भन्ने प्रमाण चाहिएको होला, होइन ?”
त्यहाँ उपस्थित सबै जना गलल्ल हाँसे । उनी सम्झन्छन्, “सूर्यबहादुर साह्रै रुखा, गजधम्म परेर बस्थे !”
उनले मधु दण्डवते, चन्द्रशेखरको पनि फोटो लिएका छन् । फोटो खिच्ने क्रममा दण्डवते झर्कन्थे रे ! उनी सम्झन्छन्, “बसेको नमिलेकाले मैले यसरी बस्नुस् भनेर टाउकोमा हात के पु¥याएको थिएँ– ह्वाट आर यु डुइङ ? भन्दै झर्कनुभयो ।”
उनले चन्द्रशेखरको पनि त्यसरी नै खिचेका थिए ।
“उहाँ त ज्यादै सरल मान्छे । एकपटक हाम्रो कोही नेता (मान्छे स्मरण भएन) बिरामी हुँदा वीर अस्पतालमा भेट्न आउनुभएको थियो, त्यही बेला फोटो खिचेको हुँ,” उनले अनुहार उज्यालो पारे ।
लेन्सलाई उनी कुची मान्थे र त्यहाँबाट सुन्दर दृश्य कैद गर्थे । राजनीतिक क्रियाशीलतासँगै उनको क्यामरा पनि ‘पोलिटिकल क्यामरा’ बन्न पुग्यो । राजनीतितिर बढी सक्रिय हुन थाले । उनी फोटोग्राफी गर्थे तर त्योभन्दा बढी राजनीति गर्थे । तर, पार्टीमा लागेकाहरू ऐनमौकामा ‘यो त कहाँ राजनीतिककर्मी हो र, फोटो खिच्दै हिँड्छ’ भन्न पछि पर्दैनथे । त्यसैले ०४७ सालको संविधान जारी भएको दिनदेखि उनको फोटोग्राफी करिअर ओझेल पर्यो । अझ भनौँ, चटक्कै छाडेर उनी पूर्णकालीन राजनीतिमा होमिए ।
अहिले उनी कांग्रेसको महासमिति सदस्य छन् । नेपाल भाषाको उत्थान र विकासमा सक्रिय छन् । साहित्य–साधना र सिर्जनामा दत्तचित्त बनेर लागिपरेका छन् । बुद्धिजमबारे खोज अन्वेषणमा केन्द्रित भइरहेका छन् । तर, फोटोग्राफीबाट जति आनन्द अरु कुनै कर्मबाट पाउन सकिराखेका छैनन् ।
“फोटोग्राफी छाडेर मैले निकै गल्ती पो गरेछु !” उनलाई अहिले थकथक लाग्छ ।
कसैकसैले क्यामरा तेर्स्याउँदा उनी नोस्टाल्जिक हुन्छन् । फोटोग्राफी कत्रो ‘प्यासन’ थियो । कसरी अवसान हुन पुग्यो, धत् !
फोटोग्राफी तलतल मेट्न अहिले उनी आफूले खिचेर राखेका पुराना तस्बिरहरू समेटिएको तस्बिर–संग्रह बजारमा ल्याउने तयारीमा जुटेका छन् ।
अन्तिममा भने, “अरुले क्यामरा तेर्स्याएको देख्दा तलतल लागेर आउँछ । यत्रा ठूल्ठूला इभेन्टहरू छुटे ! फोटोग्राफी छोडेर जीवनकालमा ठूलो भूल गरें मैले !”
बाह्रखरी २०७३ माघ २९ शनिबार
“जीवन अनिश्चयी रहेछ !”
यो उनको पहिलो कथन थियो ।
कुराकानी गर्न शुक्रबार मध्याह्न हिमालयन जाभा पुग्दा उनको अनुहारमा जूनको आभा छाएको थियो । एक वर्षअघिसम्म टम्म ढाकेको अनुहारको तुवाँलो फाटेर खुसी उन्मुक्त फक्रिइरहेको प्रतीत हुन्थ्यो ।
“होम प्रडक्सनमा मेरो नयाँ मुभी आउँदैछ नि !” कफीको कप उचाल्दै उनले ‘फिल्म कमब्याक’बारे पोयो फुकाइन्, “फिल्मको ‘सेक्रेट’चाहिँ एक महिनाभित्रै प्रेस मिट गरेर सार्वजनिक गर्छु है ।”
पछिल्लो समय आफ्नो बिजनेसमा निकै अल्झिएकी श्वेता खड्का चाँडै फिल्ममा फर्किंदै रहिछन् । यो खबर सुनाउँदा उनको अनुहारमा अतृप्त खुसी छाएको थियो ।
० ० ०
०७१ साउन २४ गते उनको ‘हाँसो’ खोसिएको थियो । विवाह गरेको २९ दिनमै दिल्लीस्थित एपोलो अस्पतालमा ‘डिप निमोनिया’को उपचार गराइरहेका श्रीकृष्ण श्रेष्ठ निभेपछि अनुहारको आभा करिब अस्तायो । श्रीकृष्ण पर्दाका मात्र होइन, श्वेताको जीवनकै नायक थिए ।
त्यही कारणले श्वेता डिप्रेसनको ‘क्रोनिक प्यासेन्ट’ बन्न पुगिन् ।
“जीवनको आकाशमा कालो बादल यसरी मडारिन पुग्यो कि मलाई कहिल्यै लाग्दैनथ्यो, यसबाट म बाहिर आउन सक्छु ! सहारा भने पनि विकल्प भने पनि आँसु नै थियो,” उनले तत्क्षणको स्मरण गरिन् ।
त्यो पल सम्झँदा उनलाई कहाली लाग्छ । हृदय भरिएर आउँछ । बहिनीले नुहाइदिनुपर्ने, खानासमेत खुवाइदिनुपर्ने अवस्थाको टीठलाग्दो अतीत पनि व्यतीत गरेको थिएँ भन्दा उनलाई अनौठो लाग्छ अहिले !
अरुबाट टाढै बस्न रुचाउने, कोहीसँग बोल्न नपरे पनि हुन्थ्यो ठान्ने श्वेतालाई त्यो अवस्थाबाट मुक्त गराउन परिवारले निकै पापड बेल्नुपर्यो । डिप्रेसनका कारण शरीर डम्म सुन्निएको थियो । ढाड दुखेर अतिशय पीडाबोध हुन्थ्यो ।
“तिमी यो पीडाबाट बाहिर आउनुपर्छ श्वेता, सम्हाल आफूलाई, कसलाई पर्दैन चिन्ता ? को छैन र दुःखमा ?” चिकित्सकहरू बारम्बार सल्लाह दिन्थे । मित्रवत् तवरले ‘कन्भिन्स’ गराउन खोज्थे । तर, उनको विक्षिप्त मन मान्न तत्पर नै हुँदैनथ्यो ।
परिवारले अमेरिका पुर्यायो
प्राणप्रिय व्यक्तिलाई गुमाउनुपर्दाको पीडा श्वेताको अनुहारमा मात्र होइन, एकपछि अर्को गरी शरीरमै फैलन थालेपछि परिवार आत्तियो ।
“श्वेतालाई यो हालतमा यहाँ राख्नुहुँदैन, देशबाहिर गएर केही ‘रिलिफ’को अनुभूति हुन सक्छ । पीडाबाट बाहिर आउन सक्छिन् !”
परिवारले निक्र्यौल गर्यो र उनलाई अमेरिका लग्यो ।
बुबा वसन्त श्रेष्ठले उनलाई अमेरिका पुर्याए र ‘मेडिटेसन’को माध्यमबाट पीडाबाट उन्मुक्ति दिलाउने भगिरथ प्रयत्नमा लागे । अमेरिकाको सहरमा ‘कोहिनूर’ फिल्मका केही शोहरू पनि भए । आफ्नो चलचित्रको प्रदर्शनी र शुभचिन्तकहरूको मायाले राहत दिलाउन थाल्यो ।
“अमेरिका पुगेको केही दिनमै औषधीले काम गर्न थालेको र पीडा दूर हुँदै गएको अनुभूत भयो,” उनी अहिले स्मरण गर्छिन् ।
बुबा साथीजस्तै
उनको पीडा दूर गर्ने प्रेरक व्यक्तित्व बुबा नै हुन् । अझ भनौँ, बुबा साथीजस्तै बने ।
“साथीसँग हाँसो ठट्टा गर्नुपर्छ । बिस्तारै घुलमिल हुँदै जानुपर्छ । जसले पीडा भुलाउन सहयोग पुर्याउँछ,” यसो भन्दै बुबा पीडाबाट बाहिर ल्याउने प्रयत्न गर्थे ।
अमेरिकाका धेरै स्टेट पुगिन् । साथीसंगीसँग भेटघाटलाई तीव्रता दिइन् । उनलाई रुन मन लाग्थ्यो तर मानिसहरू हाँस्न अभिप्रेरित गर्थे । करिब ६ महिनाको अन्तरालमा उनी पीडाबाट पूर्णतया बाहिर आइन् । त्यो भीमकाय पीडाबाट छुटकारा पाउनु जीवनको दोस्रो इनिङ थियो उनको ।
सामाजिक सञ्जालमार्फत सामाजिकीकरण
पीडाबाट बाहिर आउने उपाय सामाजिक सञ्जाल पनि बन्यो । सामाजिक सञ्जालमा आबद्ध शुभचिन्तक, साथीसंगीले उनलाई च्याटमार्फत ‘हँसाउने’ प्रयत्न गर्न थाले । उनीहरू कहिल्यै दुःखका कुरा गर्दैनथे ।
उनी सम्झिन्छन्, “कति साथीहरूले त फन्नी जोक्स पठाएर खुसी बनाउने प्रयत्न गर्थे । अमेरिकामा छँदा खासै काम पनि थिएन । बिहान जगिङ जान्थेँ, दिउँसो च्याटिङ गरेर समय बिताउन थालेँ । पीडा भुलाउने ओखती पो भयो त्यो !”
अनिता बाँस्तोला र अनिता भुर्तेलले हरतरहले उनलाई पीडाबाट बाहिर ल्याउने प्रयत्न गरे । बास्तोला केही समयअघि उनको बुहारी बनिन् भने भुर्तेल अमेरिकामै छिन् ।
“एउटै कुरालाई दिमागमा बारम्बार ल्याइरहँदा त्यही घाउ बन्छ, सम्झिएर कोट्टयाइरहनु हुँदैन । बाहिर आउनुपर्छ,” उनीहरू सधैँ भन्थे ।
“ती दुई जनाले मलाई ‘बेस्ट कम्पनी’ दिए । उनीहरू नभइदिएको भए म शायदै त्यो पीडाबाट उन्मुक्ति पाउँथेँ,” उनको अनुहारमा कान्ती छायो । अगाडि आएको कपाल सर्लक्क पछाडि लगेर कफीको अन्तिम घुट्को पिइन् ।
अमेरिकाका अतिरिक्त उनी अस्ट्रेलिया र मलेसिया पनि पुगिन् । मलेसियामा उनका दाजुभाउजू थिए । दाजुभाउजूको मायामा आह्लादित हुँदा पीडा भुलेको पत्तै भएन ।
“दाजुभाउजूले चाइनिज कन्सर्टहरूमा लैजाने, गीत गाउन लगाउने र विभिन्न उपाय अपनाएर अनुहारमा हाँसो ल्याउने प्रयत्न गर्नुभयो,” उनले थपिन् ।
अस्ट्रेलियामा मितिनी थिइन्, जसले पनि श्वेतालाई पीडाबाट बाहिर निकाल्ने अनेक यत्न गरिन् । श्वेता स्मरण गर्छिन्, “उहाँको सानो बच्चा थियो । म पनि बच्चाजस्तै बनेर ऊसँग खेल्थेँ, म त्यसरी रत्तिँदै गएको देखेर उहाँको आँखामा कैयौँपटक आँसु आउँथ्यो !”
० ० ०
आमा कहिल्यै ‘मर्निङ वाक’ जाँदैनथिन् । तर, श्वेता पीडाको चपेटामा परेपछि छोरीलाई खुसी तुल्याउन प्रातः भ्रमणमा निस्कन थालिन् ।
“मर्निङ वाकमा कहिल्यै ननिस्कने आमा, भाइहरू मलाई खुसी तुल्याउनकै लागि स्यवम्भूसम्म हिँड्नुहुन्थ्यो । त्यतिमात्र होइन, आमा त बाटाभरि हाँसो ठट्टा गर्नुहुन्थ्यो,” उनी मच्चिएर हाँसिन् ।
उनलाई चिन्ता थियो– बाटामा मान्छेहरूले चिन्ने पो हुन् कि ! त्यसैले उनी मास्क र टोपी पहिरन भुल्दिनथिन् । “बाटामा मान्छेहरूले चिनेर ऊ त्यही हो श्वेता भने भने के गर्नु ?,” उनको ओठमा पुनः हाँसो फैलियो ।
उनी फेरि ‘फ्ल्यासब्याक’मा गइन्–
“मलाई थाहा छ, म ‘क्रोनिक’ भइसकेकी थिएँ । म केही गर्न सक्दिनँ, म पनि मर्छु अब भन्ने कुरा मात्रै आउँथ्यो दिमागमा । त्यसबाट बाहिर ल्याउन परिवारले अहम् भूमिका खेल्यो । परिवारबाट मैले जति माया शायदै अरु कसैले पाउँछ ।”
र त, उनी काठमाडौँ आएपछि बदलिइन् । भाइ शैलेसले त अरुलाई फोन गरेर सुनाउँथे रे– श्वेता दिदी कहाँ पहिलाको जस्तो हुनुहुन्छ र ! तिमीहरूले चिन्दैनौँ, बदलिइसक्नुभयो उहाँ !
वास्तवमा त्यो उनको ‘पुनर्जन्म’ नै थियो ।
० ० ०
काठमाडौँ फर्किएलगत्तै उनले व्यवसायमा हात हालिन् । बालुवाटारको इन्जिनियरिङ कन्सल्टेन्सी, सुविधासम्पन्न तथा अत्याधुनिक हेल्थ क्लब,
दरबारमार्गको राइजिङ मलस्थित हिमालयन जाभा कफी सप, सहकारीलगायतमा आबद्ध छिन् उनी र आफूलाई व्यस्त राख्ने प्रयत्न गरिरहेकी छन् । राइजिङ मल उनी आबद्ध कम्पनीकै ‘आर्किटेक्ट’ र ‘इन्टेरियर डिजाइनिङ’ हो । उनीचाहिँ व्यवस्थापकीय पाटोमात्रै सम्हाल्छिन् ।
उनी ‘कफी लभर’ हुन् । फुर्सद हुँदामात्रै होइन, व्यस्त हुँदा पनि उनका ओठ कफीको चुस्की लगाउन लालायीत हुन्छन् । ‘स्टार बक्स’ र ‘कोस्ता कफी’को त उनी पारखी नै हुन् । त्यसैले राइजिङ मलको ‘ओपन स्पेस’मा कफी सप राखेकी छन् । र भेट्न आउने ‘फ्यान’ र ‘डेलिगेट्स’सँग गफिन्छिन् पनि ।
“विदेशमा यस्तो ओपन स्पेसमा क्याफे खुब चल्छ, यहाँ पनि हामीले अभ्यास गरेका छौँ । म यहाँ आबद्ध छु भन्ने सुनेर कति शुभचिन्तकहरू धाएरै आउनुहुन्छ । फोटो खिच्नुहुन्छ । उहाँहरूको माया देखेर पुलकित हुन्छु म !” उनले जोडिन् ।
उनलाई व्यापार व्यवसायमा आबद्ध भएर प्रशस्त पैसा कमाउनु छैन, उनी ‘एम्बिसियस’ छैनिन् । भोलिका लागि साँच्नु पनि छैन । उनले थपिन्, “यो निराशावादी कुरा होइन, जीवन छोटो छ । केही व्यक्तिलाई रोजगारी ‘जेनेरेट’ गर्न पाए पुग्छ, मेरो चाहना यत्ति हो ।”
० ० ०
फिल्म इन्डिस्ट्रजले उनलाई चलचित्रका लागि फलो गरिरहेको थियो । उनले रिजेक्ट गर्दा कति निर्देशक त टाढिएका समेत थिए । ‘अब फिल्ममा कमब्याक हुनुपर्छ तपाईं’ भनेर शुभचिन्तकले पनि हौस्याइरहेका थिए । त्यसैले उनी चलचित्रमा फर्किंदैछिन्, त्यो पनि ०७४ भरिमा प्रदर्शनमा ल्याउने गरी । तथापि उनले चलचित्रबारे खासै खुलाउन चाहिनन् । भनिन्, “यो विशुद्ध पारिवारिक चलचित्र हो । मायाको कुनै सीमितता हुँदैन भनेर चलचित्रमार्फत देखाउन खोजिएको छ, पारिवारिक प्रेम कथामा आधारित चलचित्र बनाउने तयारीमा छु म ।”
एक महिनाभित्रै पत्रकार सम्मेलन गरेर चलचित्रबारे जानकारी दिइने उनले बताइन् ।
“म पहिला आफ्नै प्रोजेक्टमार्फत चलचित्रमा फर्कन्छु । त्यसपछि मात्रै अरुको प्रोजेक्टमा काम गर्छु,” उनले प्रष्ट्याइन् ।
पुनः विवाहबारे
दोस्रो विवाह गर्नुहुन्छ ?
मेरो जिज्ञासामा श्वेताले कूटनीतिक जवाफ दिइन् ।
“हिजो दाइ (श्रीकृण श्रेष्ठ) सँगै काम गर्दा पनि मलाई सोध्थे, ‘विवाह कहिले गर्नुहुन्छ ?’ मसँग जवाफ हुँदैनथ्यो । विवाह हुन्छ÷हुँदैन मैले निश्चय गरेर भन्ने कुरा थिएन । मैले अफेयरबारे पनि बताउन सक्दिनथेँ, विवाह अगाडिसम्म हामी साथीमात्रै थियौँ । आज पनि मैले निश्चय गरेर भन्ने कुरा छैन । यति हो, म अहिले यत्तिकै खुसी छु ।”
उनले निकै नै जोड दिइन्, “मैले मेरो पर्सनल लाइफको बारेमा केही पनि सोचेकी छैन । विवाह हुन्छ/हुँदैन यसै भन्न सक्दिनँ ।”
तथापि आफन्तले उनलाई पुनः विवाह गर्न सुझाउँछन् । कतिपयले आमालाई आएर भन्छन्– छोरीको खुसीको लागि अर्को विवाह गरिदिऊँ ।
तर पनि अहिले यी सबैबाट टाढै छिन् उनी । कसैलाई केही निर्णय दिइसकेकी छैनन् ।
एकल नारीलाई सुझाव
विवाह गरेको २९ दिनमै ‘खुसी’ खोसियो । ‘सेलिब्रिटी’ जीवन बाँचेकी श्वेताले ‘एकल’ अनुभूति गर्नुपरेन । तर, विवाह गरेको छोटो समयमै सिन्दुर पुछिएर लामो जीवन एक्लै व्यतीत गरिरहेका व्यक्ति थुप्रै छन् । पारिवारिक, सामाजिक रूपले हेयको जीवन बाँच्नेहरू पनि छन् । ती सबैलाई श्वेता सामाजिक बन्धनभन्दा पनि आफ्नो खुसी रोज्न अनुरोध गर्छिन् । अरुको आग्रहमा खुम्चने भन्दा आफ्नो निर्णयमा फैलन सुझाउँछिन् उनी ।
भन्छिन्, “जे गर्दा आफूलाई खुसी मिल्छ त्यही गर्नुस् ! विवाह गर्दा खुसी मिल्छ भने रोकिन जरुरी छैन !”
प्रेम फगत अनुभूतिमात्र होइन, यो त अभिव्यक्तिको बलशाली माध्यम पनि हो । र त, प्रेमका विषयमा ठूल्ठूला कृति सिर्जना गरिएका छन् ।
उपन्यास, काव्य, कथा रचिएका छन् । आजभन्दा करिब ४२० वर्ष अगाडि विलियम सेक्सपियरद्वारा रचित रोमियो जुलियट, वि.सं. १९९० को दशकमा देवकोटाद्वारा रचित मुनामदन आजपर्यन्त प्रेमका बिम्ब मानिन्छन् । त्यस्तै, महर्षि वाल्मीकिद्वारा रचित आदिमहाकाव्य वाल्मीकि रामायण किन नहोस्, सबै कालजयी प्रेमको प्रतीकको रूपमा चित्रित छन् । तथापि यी सिर्जना हुन् ।
प्रेम जीवनको पाटो हो भने सिर्जना जिन्दगीको बाटो । र त प्रेमलाई अनुभूति, भावना मात्रै भनेर अथ्र्याउन मिल्दैन भन्छन् सर्जकहरू । बरु, दैनन्दिन हामीले फेर्ने स्वास हो ।
गीतकार दिनेश अधिकारीको शब्दमा प्रेम सिर्जनाको मूलधार हो, आयाम हो । कल्पना र अनुभूतिद्वारा जीवनलाई वारपार गराइरहेको हुन्छ । उनी भन्छन्, “जीवनमा प्रेम हुन्छ÷होइन, प्रेममा चाहिँ जीवन मुखरित हुन्छ । जसरी जिन्दगीमा स्वास सन्निहीत हुन्छ, त्यसैगरी प्रेममा जिन्दगी निहीत हुन्छ ।
सिर्जनामा प्रेमको अस्तित्व
प्रेमानुभूति बिम्बित कृतिहरू नै संसार प्रशिद्ध छन् । त्यसैले सिर्जनामा प्रेमको अस्तित्व र उपस्थिति बलशाली रहेको बताउँछन् गीतकार डा. कृष्णहरि बराल । संसारका ठूला कृतिहरू कालजयी बन्नुको पछाडि कतै न कतै प्रेमको हात रहेको उनको ठम्याइ छ ।
प्रेमको परिधी आँखाले आँक्न नसक्ने हुँदा यसलाई फगत प्रेमिप्रेमिकाको सम्बन्धको रूपमा मात्रै चित्रित गर्न नहुने उनको तर्क छ । “व्यक्ति–व्यक्तिबीच हुने प्रेम नै झाँगिदै गएर समाज, देश, राष्ट्र र विश्वप्रेम हुँदै मानवतावादमा पुगेर समाप्त हुन्छ । यसको दायरा आकाशजस्तै असीमित छ,” उनी प्रष्ट्ष्याउँछन् ।
पछिल्लो समय प्रेम विकृत बन्दै गएको उनी मान्न तयार छैनन् । भन्छन्, “प्रेम आफैँमा पवित्र शब्द हो । यो किमार्थ विकृत बन्नै सक्दैन । बरु मानिसचाहिँ खराब कृत्य गर्दै जाँदा विकृत भएका हुन् ।”
मायाका नाममा हुने हत्या, बलात्कार, आक्रमणलाई प्रेमको संज्ञा दिन नहुने बताउँदै अपराधीले प्रेम गर्नै नसक्ने उनको ठोकुवा छ । प्रेम खुसी थप्ने, हाँसो जगाउने जीवनदायी चिज हो । “यो फगत कसैले कसैलाई पाउने चाहनामा मात्रै कसरी सीमित हुन सक्छ ?,” उनी प्रश्न गर्छन् । यौनविकृत आचरण, मनभित्रको कुभाव प्रेम नभएर मनोरोग हुने उनको धारणा छ । प्रेमलाई सृष्टिको संवाहक, आनन्दप्रदायक र समग्रमा जीवनदायक मान्नुपर्ने उनको बुझाइ छ ।
त्यस्तै उनी प्रेमको भाषा सर्वव्यापी हुने बताउँछन् । “अमेरिकाको कुनै पार्कमा बसेर प्रेम गर्ने युगल तन्नेरी र नेपालको कुनै पार्कमा बसेर माया साट्ने युवायुवतीबीच धड्ने मुटु उस्तै हुन्छ । उनीहरूबीचमा आउने भावना पनि एकै हुन्छ,” बराल थप्छन्, “केही भावहरू सर्वदेशीय हुन्छन् र त्यसमा प्रेम पनि पर्दछ ।”
सिर्जना सधैँ तन्नेरी
सिर्जना सधैँ तन्नेरी, जवान र युवक हुन्छ, यो बूढो हुँदैन भन्छन् कवि मनु मञ्जिल । त्यसो त उनी सिर्जनाको भाषालाई प्रेमको भाषा भन्न रुचाउँछन् । चाहे कवितामा द्वन्द्वको विषय आओस् चाहे करुणाको विषय मिसिउन्, ती सबैमा प्रेम अभिव्यक्त भएकै हुन्छ ।
उनी थप्छन्, “प्रेम सपना हो । कल्पनामा पनि त हामीले कसैलाई प्रेम गरिरहेका हुन्छौँ । सिर्जना त कल्पना र सपनाकै आयाम हो ।” जुनदिन हामी सपना देख्न छाड्छौँ, कल्पना गर्न बन्द गर्छौं त्यसदिन साहित्यको पनि निधन हुने उनको मान्यता छ ।
पछिल्लो समय प्रणय दिवस आवश्यक छ कि छैन भनेर बहस भइरहेको छ । कतिपयले त प्रणयलाई पर्वको रूपमा मनाउन आवश्यकै छैन, यो आयातित ‘चाड’ पनि हो भनेर पनि अथ्र्याइरहेका छन् । तर, मञ्जिल भन्छन्, “गणतन्त्र दिवस हुने । वातावरण दिवस हुने तर प्रेम दिवसबारेचाहिँ बहस गर्नुपर्ने ?,” उनी प्रश्न गर्छ । सबैको दिवस मनाइरहँदा प्रेम दिवस मनाउनु अन्यथा मान्न नहुने उनको तर्क छ ।
यसो भनिरहँदा ३६४ दिनचाहिँ मानिसले प्रेम नै गर्दैन त ? या प्रेम दिवस मनाउन भ्यालेन्टाइन डे नै पर्खिएर बस्नुपर्छ छ ? त्यसमा उनको जवाफ छ– अरु दिन पनि मानिसले प्रेम अभिव्यक्त गरिरहेकै हुन्छन् । यो दिनचाहिँ अझ विशेष तरिकाले मनाउनुपर्छ ।
प्रेम र व्यंग्य चेतना
अप्राप्य चिजप्रतिको अति आशक्ति नै वास्तविक प्रेम हो भन्न रुचाउँछन् व्यंग्यकार चट्याङमास्टर । एउटी सुकोमल युवायुवती मात्र होइन सुन्दर घोडा, गधा प्राप्तिको असीम चाहना पनि प्रेम हो । विपरित लिंगीप्रतिको आकर्षणलाई मात्र प्रेम भनेर अथ्र्याउन नसकिने उनको बुझाइ छ ।
“मातापिता, परिवारजन, इष्टमित्र, गाउँसमाज, देशलाई गर्ने माया पनि प्रेम हो । त्यस्तै बाटोमा हिँड्दा आँखामा छाउने सुन्दरता र त्यसप्रतिको मोह पनि प्रेम हो,” उनी थप्छन् ।
प्रेम यही हो भनेर परिभाषामा बाँध्नुलाई ढोँगको संज्ञा दिन्छन् उनी । प्रेम सगर जत्तिकै अनन्त छ । आफ्नो आँखाले क्षितिजसम्म मात्रै देख्यो भनेर आकाश त्यति हो भन्न मिल्दैन । त्यस्तै प्रेमको परिभाषा पनि यही हो भन्न सकिँदैन– उनी प्रष्ट्याउँछन् ।
प्रेम अन्य प्राणीबीच पनि हुने भएकाले मानवले परिभाषित गर्ने प्रेमले सबैको भावना र अनुभूतिलाई न्याय गर्न नसकेको उनको ठहर छ ।
असीमित पीडाको अभिव्यक्ति नै व्यंग्य हो भन्न रुचाउने उनी व्यंग्यमा प्रेमानुभूति मिसाइएन भने अलिनो हुने बताउँछन् । भन्छन्, “तर्क सकिएपछि हामी जसरी खिस्स हाँसेर टार्छौं नि त्यही हो हास्यव्यंग्य ! त्यस्तै अभिव्यक्ति र तर्क सकिएपछि प्रेम सुरु हुन्छ ।”
चराचर जगत नै प्रेममा अडिएकाले यसलाई नकार्न नमिल्ने उनी बताउँछन् ।
प्रेम सजीव चिजसँग मात्र नहुने बताउँदै उनी भन्छन्, “कवितासँग प्रेम बसेपछि मात्रै मान्छे कवि बन्छ । सिर्जनासँग मन जोडिएपछि त मान्छे सर्जक बन्छ । त्यस्तै देशसँग प्रेम बसेपछि मात्रै मानिसमा देशभक्तिको भावना जागृत् हुन्छ । ‘म त्यो चिज थपिएपछि मात्रै पूर्ण हुन्छु !’ भन्ने भावना नै प्रेम हो– उनको भनाइ छ ।
प्रेम र गुलाफ
प्रेम आफैँमा अभिव्यक्ति भएकाले यसमा महँगा, उच्च धनराशीयुक्त उपहारको कुनै जरुरत पर्दैन । आख्यानकार अमर न्यौपाने थप्छन्, “भ्यालेन्टाइनको दिन ओइलाउने गुलाफ दिएर होइन, नओइलाउने मन दिएर पो प्रेम गर्नुपर्छ ।” वास्तवमा प्रेम जीवनप्रतिको समर्पण भाव हो ।
फूल दिएर माया साटासाट गर्ने ‘थिम’ सही नभएको निष्कर्ष निकाल्दै उनी अथ्र्याउँछन्, “ओइलाइ झर्ने फूल दिनुको अर्थ प्रेम मर्नु हो, त्यसैले हृदय दिएर प्रेम गर्यो भने मात्रै प्रेम युगौँयुगसम्म बाँच्छ ।”
संगीत र प्रेम
गीत/संगीत सिर्जना प्रेमभन्दा पर बन्दै सक्दैन् । प्रेम र गीत दुवै भावना भएकाले आपसमा अन्तरसम्बन्धित भएको गायिका कोमल वली बताउँछिन् । “नेपालमा बन्ने ९० प्रतिशत गीतहरू प्रेम–भावनामा आधारित हुन्छ, प्रेमले सबै उमेर समूहका मानिसलाई सेतुको भूमिका निर्वाह गर्छ ।”
गीत संगीतले मानिसमा प्रेमाभाव जागृत हुन्छ र त्यस सहअस्तित्व मानवतावादमै टेवा पुर्याउने उनी बताउँछिन् ।









