०५७ सालमा हिट्स एफएम म्युजिक अवार्ड कार्यक्रममा समूह गायनका लागि गायिका निशा देशार वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र पुगेकी थिइन् ।
राजनराज सिवाकोटी, कालिप्रसाद बास्कोटा, भानुभक्त ढकालसँगै पंक्तिमा उभिएर ‘जिन्दगी यो उत्सव हो बरदान ईश्वरको..’ पनि गाइरहँदा निशा देशारले मथिंगलमा सपना सजाएकी थिइन्– कुनै दिन चर्चित गायिका बन्छु, स्टेजमा उक्लिएर गीत गाउँछु र यसैगरी अवार्ड हात पार्छु ।
उनले अठोट लिइनन्मात्रै, पूरा गर्न रातदिन साधना गरिन् र आफूलाई स्थापित गरिछाडिन् ।
१० वर्ष पनि पर्खन परेन । ०६७/६८ पछि उनले विन्ध्यवासिनी म्युजिक अवार्ड, इमेज अवार्ड, कालिका अवार्डलगायत थुप्रै अवार्ड हात पारिन् । र, दर्जन पटक नोमिनेसनमा परिन्
० ० ०
खहरे जसरी नदीले बग्न हतार गर्नुहुँदैन, किनकि उसलाई थकाइ मार्ने सुविधा हुँदैन । यस्तै ठान्छिन् सुगम संगीत साधक गायिका निशा देशार ।
त्यसो त निशा अँध्यारोको पर्याय हो । गीत/संगीतको दुनियाँमा उनी त्यसको विपर्याय बनिन् । २०४१ सालमा दक्षिणी ललितपुरको चापागाउँमा जन्मिएकी देशार गायन क्षेत्रमा अरबी घोडाको तालमा अविराम अघि बढिरहेकी छन् ।
तोते बोली बोल्ने बेलादेखि नै गीत संगीतको सारेगम सिक्न थालेकी देशार गायनकी कुशल धाविका हुन् ।
भन्छिन्– बुबा पनि कहिले गाउनहुन्थ्यो तर संगीतमा काकाले नै ताते गराउनु भयो । त्यसो त काका बाबुपछिको बाबु नै हुन् तर काका प्रेम देशार उनको संगीतका पिता नै बनेर उनलाई संगीतमा पाइला चाल्न अहोरात्र मेहनत गरे ।
“तिम्रो स्वरमा बेग्लै मिठास छ, तिमीले गाउन सक्छ्यौ भनेर सधैँ उत्प्रेरित गरिरहनुहुन्थ्यो । त्यही प्रेरणा हो, आजको यो सफलता !” निशाको अनुहारमा बेग्लै आभा छायो ।
भनिन्छ, हरेका सफल मानिसको पछाडि कोही न कोही जोडिएकै हुन्छ । उनको सफलताको स्रोत पनि तिनै काका हुन् भन्दा अत्युक्ति हुँदैन ।
बुबाले होटल चलाएका थिए, सानो चिया पसल । साथै उनी भजनका अत्यन्त पारखी पनि थिए । दुई बजे नै उठ्ने र क्यासेटमा भजनका चक्का राखेर बजाउन थालिहाल्ने ! होटलमा नेवारी भजनका अतिरिक्त नेपाली, हिन्दी भजनहरू पनि एकनास गुञ्जिरहन्थे ।
त्यही भजन सुनेर निशा आह्लादित हुन थालिन्– यस्तै मीठो भजन र गीत गाउन पाए !
तारादेवीको कोकिलकण्ठी आवाजमा सजिएको ‘नौ सय खोला तरेर गए...’ अरुणा लामाको ‘म आँखैमा राखेनी योग्य कहाँ छु’ बोलको गीत त उनले दिनमै तीन–चारपटकसम्म सुन्थिन् !
० ० ०
घर नजिकै थियो विद्यालय । त्यसो त चापागाउँका रैथाने नेवार परिवार । नपुग्दो केही थिएन । तैपनि उनको अक्षराम्भ निकै ढिलो सुरु भयो । ६ वर्षको उमेरमा स्थानीय हिलटप बोर्डिङ स्कुलमा भर्ना भइन् । ढिलो भएकैले होला, उनी पढाइमा तेजै थिइन् ।
“कक्षामा प्रथमचाहिँ कहिल्यै हुन सकिनँ तर दोस्रो तेस्रोबाट ‘पोजिसन’ घटाइनँ,” ओठबाट अचानक हाँसो फुत्कियो ।
उनले एउटा प्रसंग पनि उक्काइन्–
दाजु र बहिनी मध्ये उनी बीचकी हुन् । दाजुचाहिँ पढ्नमा खासै मन गर्दैनथे र कक्षामा उत्तीर्णमात्रै हुन्थे । पासमात्रै भए पनि दाजुलाई परिवारका कसैले पनि ‘अलि मेहनत गर् समेत भन्दैनथे । तर, उनीलाईचाहिँ दोस्री भएर पुरस्कार लिएर फुरुंग पर्दै घर आउँदा पनि बुबाले निधार खुम्च्याउँदै भन्नुहुन्थ्यो– ए ! प्रथमचाहिँ भइनौ ?
त्यसबेला उनलाई ज्यादै ननिको लाग्थ्यो, छोराछोरीबीचको भेद पो हो कि भन्ने लागिरहन्थ्यो ।
त्यसो त मिजासिलो स्वभाव, हाँसिरहने तर धेरै नबोल्ने बानी । यही आनीबानीका कारण उनलाई सानामा निकै अप्ठ्यारो पार्यो ।
त्यस्तै अर्को प्रसंग पनि छ–
स्कुलको वार्षिकोत्सवको स्वागत गीत गाउने जिम्मेवारी निशाको समूहको थियो । गीतको शब्दसंगीत आफ्नै काकाले गरेका थिए ।
नेवारी भाषाको गीत थियो त्यो । बाबुआमा, बाजेबज्यै, दाजुभाइ, दिदीबहिनीलाई सम्बोधन गरेर गाइएको थियो । गीत निकै राम्रो भएको थियो । शिक्षकहरूले ‘कस्तो राम्रो गायौ’ भने । साथीहरूले ‘वान्स मोर’ भन्दै ताली पनि बजाएका थिए ।
तर, भोलिपल्टदेखि केही साथीहरूले गिज्याएर बसिखप्नै दिएनन् ।
“म अलि सोझो स्वभावकी थिएँ, बाल्यावस्थामा साथीसंगीसँग खासै घुलमिल गर्दिनथेँ, त्यही भएर उनीहरूले गिज्याएको हुनुपर्छ,” उनको अनुहारमा सन्नाटा छायो ।
० ० ०
उनका लागि काका संगीतका ‘माइलस्टोन’ थिए । तर, दुर्भाग्यवश उनी ९ वर्षकी हुँदा २९ वर्षको उमेरमा काकाले संसार छोडे । क्यान्सर रोगबाट पीडित काका अन्ततः रोगसँग पराजित भए ।
निशामा संगीतप्रतिको मोह जागिसकेको थियो । गीतसंगीतको भोक यति चर्को भयो कि उनी त्यसबाट बाहिर निस्कनै नसक्ने भइन् । बिडम्बना भनौँ, उनलाई बाटो देखाउने काका नै संसारबाट बिदा भए !
भन्छिन्– त्यो घटना मेरो जीवनको बिर्सनै नसक्ने घाउ हो ।
चोटसँग पीडामात्रै हुँदैन, अगाडि बढाउने प्रेरणा पनि हुन्छ । नभन्दै उनले त्यो शोकलाई शक्तिमा बदलिन् र संगीतको क्षेत्रमा निर्निमेष गन्तव्यकृत भइन् ।
काकाले एक दर्जनजति गीत रेडियो नेपालमा रेकर्ड गराएका छन्, जसमध्ये आनन्द अधिकारीको शब्द काका स्वयंकै संगीतको ‘लहर चल्यो जवानीको’ भन्ने बोलको गीत निकै चल्यो । ०४७/४८ सालतिर रेकर्ड भएको गीत आजपर्यन्त कर्णप्रीय रहेको उनी बताउँछिन् ।
त्यस्तै, सीताराम ताजपुरियाले गाएको ‘घायल बनाएँ मैले मेरो यो जिन्दगीलाई..” भन्ने बोलको गीत पनि रेडियो नेपालको तरंगमार्फत निकै गुञ्जिरह्यो । त्यो गीतको शब्द सिर्जना आनन्द अधिकारीकै हो भने संगीत निशाका काकाको हो ।
“मलाई सम्झना छ– काकाको गीत बजेपछि परिवारका सबै सदस्यको आँखा भरिएर आउँथ्यो । मेरो छोराको गीत बज्यो भनेर बाजेबज्यै रुन थाल्नुहुन्थ्यो । हामी पनि अधैर्य हुन्थ्यौँ,” उनको अनुहारमा पुनः अतिरिक्त अन्धकार छायो ।
० ० ०
जिन्दगी सुख–दुःखको योगमात्रै होइन, अनेक संगोग पनि हो । त्यस्तै भएको छ निशाको जीवनमा । ०५७ सालतिर निशा एफएमकी ‘असल श्रोता’ बन्न पुगेकी थिइन् । रेडियो नेपालको १०० मेगाहर्ज एफएम बज्थ्यो र मन्त्रमुग्ध भएर सुन्थिन् निशा । त्यसो त उनी त्यहाँका सांगीतिक प्रस्तुतिहरूमा फोनमार्फत गीतसमेत गाउँथिन् ।
आहा कस्तो मीठो स्वर ! भन्नेहरू धेरै थिए । उनको स्वरको तारिफ गरेर उनलाई सम्झना व्यक्त गर्नेहरूको पनि कमी थिएन । त्यस्तै युवा थिए सोलुखुम्बुका युमाश शेर्पा । एफएम सुन्ने, एफएममार्फत साथीहरूलाई सन्देश प्रवाह गर्न उनी रुची राख्थे ।
एक दिन साँझपख निशा एफएम सुन्दै थिइन् । क्लासिक एफएममा जयप्रकाशले प्रस्तुत गर्ने ‘हार्दिक शुभेच्छा’ भन्ने कार्यक्रम निकै लोकप्रिय थियो र त्यसको स्रोता थिइन् निशा ।
सोही कार्यक्रममार्फत एउटा सन्देश प्रशारण भयो–
अपिरिचित मित्र निशालाई मधुर सम्झना ! निशाको जादुगरी स्वरको पारखीमध्ये म पनि एक हुँ । उनलाई उत्तरोत्तर प्रगति र कुशल गायनको स्तरवृद्धिको लागि हार्दिक शुभेच्छा ! –उही युमाश शेर्पा ।
कुरा यतिमा मात्र रोकिएन । युमाशले निशालाई निरन्तर पछ्याइरहे । क्लासिक एफएमकै कार्यक्रम प्रस्तोता रूपा विमलमार्फत् नम्बर पत्ता लगाएर फोनसमेत गर्न थाले र उनीहरूबीच मित्रता झांगियो ।
एक दिन नसोचेको घटना भयो–
उनी डोरेमीमा न्हू बज्राचार्यसँग संगीत सिक्न जान्थिन् । दुई युवक संगीतशालामा अन्तर्वार्ताका लागि आएका रहेछन् ! अन्तर्वार्ता सकिएपछि गुरुदेव कामतसँगै रहेका ईश्वर अमात्यले निशालाई भने– आऊ, कता जान लागेकी ?
गुरुले चिनापर्ची गराइदिए । उनी तीनछक परिन्– तीनै दुई अपरिचित युवकमध्ये एक थिए युमाश शेर्पा । फोनमा ४५ वर्ष उमेर बताउँथे तर उनी भर्खरका पो रहेछन् ! निशा छक्क पर्नु स्वभाविकै थियो ।
त्यसपछि उनीहरूबीच भेटघाटमात्रै होइन, पत्तै नपाई मायापिरती पनि झांगियो । युमाशले फत्तेमानलगायत गीत/संगीत साधकसँग भेटघाट गराइदिने र सांगीतिक करिअरलाई अगाडि बढाउन हरतरहले सहयोग पुर्याउन थाले ।
उनी सांगीतिक क्षेत्रमा पाइला चाल्दै थिइन्, त्यही क्रममा युमाशले आग्रह गर्न थाले– अब हामी लगनगाँठो कसौँ । उनलाई बडो आपत् पर्यो । घरपरिवारले कुनै हालतमा स्वीकार्दैनथे त्यसखालको सम्बन्ध ।
उनले ‘परिवारले मान्दैनन्, आफैँ आएर घरमा भन्नू’ भनेर युमाशलाई जवाफ फर्काइन् । युमाले पनि निशाको घरपरिवारसँग आग्रह गरे । परिवार कहाँ सहमत हुनु, बरु ‘संगीत सिक्नै नजा, तेरो चालामाला ठीक छैन’ भनेर कक्षा जानै पो निषेध गरे ।
युमाशले दोहोर्याएर आग्रह गरेपछि छोरीको प्रेमसम्बन्धका अघिल्तिर बुबाआमा निरीह भए । र, ०५९ सालमा उनीहरूबीच बिहे भयो ।
० ० ०
०५७ सालदेखि उनी सांगीतिक क्षेत्रमा पूर्ण रूपमा समाहित भइन् । ०५७ सालमै उनले एउटा नेवारी र एउटा नेपाली गीत रेकर्ड गराइन्, त्यो उनको औपचारिक गायन प्रवेश थियो ।
०६६ सालमा उनको गायनयात्रा एक्कासि शिखरित भयो । ०६६ सालमा रेडियो नेपालले आधुनिक गीत प्रतियोगिता आयोजना गरेको थियो । बीचमा बच्चा जन्मिएको र स्याहार–सुसारमा अल्मलिएकाले उनलाई लागेको थियो– प्रतियोगितामा लागेर राम्रो गर्न सकिँदैन होला । उनले ०५८ सालमा पनि अडिसन दिएकी थिइन् र छनोट पनि भएकी थिइन् । तर, आशातीत सफलता मिलेन, यसपाली पनि त्यस्तै त हुने होइन भनेर मनमा डरले डेरा जमाइरहेको थियो ।
तर, रेडियो नेपालको वरिष्ठ वाद्यवादक मनराज नकर्मीले धरै दिएनन्– निशा, तिमीले यसपटक अडिसनमा भाग लिनैपर्छ, जे–जे हुन्छ होस् ।
एकजना संगीतकार हुनुहुन्छ, उहाँले तिमीलाई नै गाउन दिने भन्नुभएको छ, गएर सुन ।
उनी तत्कालै माइतीघरको स्टुडियो पुगिन् र गीत सुनिन् । उनलाई गीत मन पर्यो । ‘छुटौं भन्छौ..’ बोलको गीत थियो ।
देशभरबाट अडिसनमा भाग लिन आएका थिए । अडिसनमा उनी ‘सेलेक्ट’ भइन्, ६५ जनामध्ये उनको नाम पुछारमा रहेछ ।
अडिसन त सफल भयो तर नियमित अभ्यास गर्न पाएकी थिइनन् । तथापि उनले सबैलाई उछिनिन् र ०६६ सालको आधुनिक गायनमा प्रतियोगितामा प्रथम स्थान हात पारिन् ।
“त्यो दिन नै मेरो विशेष दिन हो, वास्तवमा काकाको सपना पूरा भएको दिन हो त्यो । उहाँले रेडियो नेपालबाट ‘ग’ श्रेणीको गायकको प्रमाणपत्र पाउनुभएको थियो । तर मेरो हातमा ‘क’ श्रेणीको प्रमाणपत्र थियो ।”
यसपटक उनी खुलेरै हाँसिन् ।
० ० ०
‘मर्ने कसैलाई रहर हुँदैन’, ‘यहाँ देशको छ चिन्ता’ लगायत दर्जनौँ गीतका संगीतकार गैरे सुरेशले निशाको स्वरमा आँखा गाडेका रहेछन् ।
कुरै कुरामा एकदिन युमाशले गैरेलाई ‘निशालाई चिन्नुहुन्छ ?’ भनेर जान्न खोजेछन् ।
गैरेले पनि ‘किन नचिन्नु ! रेडियो नेपालमा प्रथम भएकी गायिका त हुन् नि भनेपछि युमाशले थपेछन्– उनी त मेरी श्रीमती हुन् !
सुरेशले पनि चित् खाँदै ‘अस्तिनै भन्नुपर्दैन’ भन्दै गीत गाउने प्रस्ताव गरेछन् । ‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ..’ दीपक लिम्बुले गाइसकेका थिए । त्यसको ‘फिमेल भ्वाइस’मा निशा छानिइन्, त्यो गीतले चर्चामात्रै कमाएन निशालाई चिनाइदियो पनि ।
त्यसपछि निशाले कहिल्यै पछाडि फर्किएर हेर्नुपरेन ।
० ० ०
‘तिम्रो मेरो सम्बन्धको चर्चा चल्छ चल्न देऊ..’ पछि उनलाई चारैतिरबाट गजल गाउन प्रस्ताव आउन थाले । सुरेशको आग्रहमै डा. कृष्णहरि बरालको एकल शब्द रचना र सुरेश स्वयंको एकल संगीतको ‘लोकार्पण’ एल्बम बजारमा आयो । ‘जमाना खराब छ’, ‘तिमी कुन जमानामा छौ’, ‘सक्दिन म तिमी बिना’, ‘अँधेरीमा आत्तिएँ म’, ‘बसिरहुँ भन्छु तिमी सँगै’, ‘आफैँ रिस उठ्छ’ लगायत गीतहरू त्यस एल्बममा समाविष्ट थिए ।
एल्बमले नसोचेको चर्चा बटुल्यो ।
त्यसपछि नेवारी एल्बम ‘निशा’, तेस्रो ‘सराब’ र चौथो निशा–आनन्द गरी चारवटा एल्बम निकालेकी छन् ।
सन्तोष श्रेष्ठको संगीत रहेको सराब एल्बम गर्ने बेलाचाहिँ उनलाई कस्तो–कस्तो लागेको थियो रे– महिलाले सराब गाथा गाउँदा कस्तो होला सोचेकी थिएँ तर राम्रो प्रतिक्रिया पाएँ ।
कोठामा हाँसो गुञ्जियो ।
० ० ०
गीतसंगीत सुख–दुःखको साथी हो । सबै प्रकारका गीतसंगीतमा निशाको मोह उस्तै छ तर परिचय बनाइदियो गजलले ।
किन त ?
उनी मुस्कुराउँछिन्, “अरु गीत पनि नगाएको होइन, तर मेरो परिचय नै गजलले नै बनाइदियो ।”
दर्जनौँ स्टेज कार्यक्रममा प्रस्तुत भइसकेकी छन् । धेरै गीत दर्शक श्रोताको रोजाइमा परेका छन् । तथापि उनलाई ‘जमाना खराब छ..’ र ‘तिम्रो मेरो सम्बन्ध..’ गाउनचाहिँ बढी अनुरोध आउँछ ।
गायनको सुरुवाती दिनमा लाग्थ्यो– मेरो आवाज मीठो छ, मानिसले मन पराइरहेका छन् । तर, पछिल्लो समय उनलाई संगीतमा धेरै सिक्न र गर्न बाँकी रहेछ जस्तो लाग्न थालेको छ ।
केही शुभचिन्तकहरूले भन्छन्, निशा किन तिमी हतार गर्दिनौ ? उनी हाँसीहाँसी जवाफ दिन्छिन्– संगीतको आफ्नै गति र लय हुन्छ हतार गरेर कहाँ पुग्नु छ र !
No comments:
Post a Comment