Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

देहभोग !



By  Unknown     8:49 PM    Labels: 


बुधबार रातको साढे नौ बजे । चाबहिल चोक । बत्तिएर आएको बसको प्रकाशको अघिल्तिर मेरो मोटरसाइकलको डिम लाइट निकै निम्छरो देखियो । कहाँमात्रै भोग्नुपर्दैन निर्धो हुनुको पीडा !

गाडीको बतासले नै झन्डै ढुन्मिुन्निएँ ! लागेको भए ?

सवारी चालकहरू सडकमा यसरी सवारी चलाउँछन् मानौँ, उनीहरूले चालक अनुमतिपत्र होइन, मानिस मार्ने इजाजत नै लिएका छन् । ड्राइभरको सिटमा बसेपछि चालकहरूलाई के सनक चढ्दो हो कुन्नि, मानिसलाई माखै ठान्छन् । यही सोच्दै मोटरसाइकलको गति अगाडि बढाइरहेँ ।

चाबहिल–चुच्चेपाटी चोकको सडक खण्ड एकतर्फी बनाइएको रहेछ । दुई हजार वाटको चिम बालेर खानेपानीको पाइप बिछ्याइँदै रहेछ ! मध्यरातसम्म सडकमा त्यसरी खटिन सक्ने, रातारात संरचना खडा गर्न सक्ने हामीलाई अधिकांश समय कानमा तेल हालेर बस्न केले घर गर्दो होला ? अनायास मथिंगलमा उटपट्याङ प्रश्न पनि दगुर्न थाल्छ ।

चुच्चेपाटीबाट टुसाल हुँदै केही दूरीमात्र अघि बढेको थिएँ, एउटा दृश्यमा पुगेर अडिएँ ।

एउटी निर्वस्त्र महिला सडकको पेटीमा बेसुर अवस्थामा थिइन् । हेमन्तको ठिही र चिसो सिरेटोले तिनको आङ काँपेको प्रष्टै देखिन्थ्यो । कैयौँ दिनको भोकोजस्तो पेट दाम्रो थियो ।

महिलाका वरिपरि बोरा ओढेर सुतिरहेका केही अधवैंशे पुरुष पनि देखिए । तर, ती बेपरवाह थिए ।

लुगाको धरोसम्म नपहिरिएकी सर्वांग नांगी महिला सुतिरहेका पुरुषहरुको हुलबाट अघि बढिन् । त्यत्रा पुरुषहरूका अघिल्तिर अबला नारी कसरी निर्भय रहन सक्छे ? या भय नै असुरक्षा पो हो कि ? मनमा एकपछि अर्को अड्बांगो प्रश्नले डेरा जमाए ।

गन्तव्य आजत–जावतका क्रममा म अक्सर सडकका पेटीमा आँखा पुर्‍याउने गर्छु । सागदेखि शरीर बेच्नेसम्मको खुला पसल हो सडक ! म त्यसलाई खुला शिक्षालय नै ठान्छु, जीवनसीपको भरपर्दो ठाउँ हो सडक ।

चूक घोप्ट्याएको अन्धकार रातमा पनि मोटरसाइकलको धूमिल प्रकाशले ती महिलाको जिंग्रिंग कपाल, मयल भरिएर कत्ला परेको अनुहार खुट्याउन अप्ठ्यारो थिएन ।

यी महिलालाई मैले पक्कै कतै देखेको हुुनुपर्छ, मस्तिष्क झन् तरंगित भयो । मोटरसाइकलको सिंगल स्ट्यान्ड झारेँ र सम्झन थालेँ तिनलाई ।

० ० ०

१५ वर्षअघि–
रत्नपार्कको आकाशे पुलमाथि ठिंग उभिएको थिएँ । कलेज भर्ना गरिदिएर महाबौद्धको बाटो हुँदै वीर अस्पताल अगाडि आइपुग्दा बाले भनेको अहिलेजस्तो लाग्छ, “जेठा ! यो पुलमाथि धेरैबेर बसिनरहनू है ? ठीक हुँदैनन् यहाँ मानिसहरू, जिलाइकुलाइ पार्लान् तँलाई ।”

कलेजमा पाइला टेकेको पहिलो दिन थियो । सुरुको दिन भएर सबै विद्यार्थी आएका थिएनन् । ‘यसो साथीहरूबीच चिनजान गर्नू र घर जानू’ भनेर सर चक–डस्टर बोकेर बाहिरिए ।

म फुर्सदिलो भएँ । गोजीमा बाले दिएको २५ सय रुपैयाँ थियो । क्याम्पसको गेटबाहिर निस्किएँ र किताब पसल पुगेँ । पसलेले आईएड प्रथम वर्षका चारवटा किताब प्लास्टिकको झोलामा राखिँदिँदै भन्यो, “छुट गरेर ९५० भयो ।”

मेरो मनमा हर्षको सीमै रहेन– मसँग अझै १५५० बाँकी थियो । यो खुसीको अर्को कारण पनि थियो– जीवनमा पहिलोपटक यति धेरै पैसा बोकेर हिँडेको थिएँ ।

खल्तीभरि पैसा भएपछि मन त्यसै भरिँदो रहेछ, भोक–तिर्खा सबै हराउने ! के जादू हुँदो हो पैसासँग ?

रत्नपार्क पुग्दा दिउँसोको १ बजेको थियो । बाले जुन पुलमाथि नउभिनु भन्नुभएको थियो, त्यहीँ पुगेर नउभिई मनले मान्दै मानेन । लहलहाउँदो किशोरवयमा पनि मेरो बालस्वभाव कहाँ हटिहालेको थियो र ?

पुलको खुट्किला उक्लँदै गर्दा सोचें– आखिर यो पुलमा के हुन्छ होला र मलाई बाले धेरैबेर नबस्नु भन्नुभयो ?

मनमा कौतूहल पैदा भइरहेको थियो र सँगै पाइला पनि अगाडि बढाइरहेको थिएँ ।

पुलमा नपुग्दै बुबाले भनेको अर्को कुरा पनि झल्याँस्स दिमागमा आयो, “यो पुलमा हिँड्दा बढो होस पुर्‍याउनू है । आँखा झिम्क्याउन नपाए गोजीमाराले खल्ती चिर्न भ्याइहाल्छ !”

हत्त न पत्त गोजीमा हात पुर्‍याएँ । मन ढुक्क भयो, गोजीमा पैसा उस्तै थियो ।

पाँच मिनेट पुलमा उभिएपछि अनौठो दृश्यमा आँखा पुग्यो ।

“पाँच सय भए पुग्दैन ?”

“त्यतिमा चाहिने भए अरुलाई भन्नूस्, मेरो त रेटै १५ सय हो ।”

“त्यसो भए म अरु नै खोज्छु ।”

“ल लास्ट हजार रुपैयाँ, जाने हो ?”

युवक मञ्जुर देखियो ।

टाउकोको पछाडिको भागको कपाल निकै मसिनो गरी काटेको एक युवकको अनुहारमा वसन्तको आभा छायो । पुलकित देखिए दुवै ।

कम्मरमा दूधे बालक च्यापेकी एक महिला तिनीसँग देहभोगको ‘बार्गेनिङ’ गरिरहेकी रहिछन् । कुराकानी सुन्दै गर्दा सजिलो गरी बुझेँ मैले । गाउँघरमै बस्दा सुनेको थिएँ– रत्नपार्कमा दिनदहाडै यसैगरी शरीरको किनबेच हुन्छ ।

गाउँमै बस्दा कल्पना गर्थें म– कस्ता अनुहारका हुँदा हुन् ती ! कसरी कुरा गर्दा हुन् त्यस्तो कुरा ! सोच्दा पनि पानी–पानी हुन्थेँ ।

तर, आज प्रत्यक्ष देखेँ ।

ओठमा भद्दा लाली र अनुहारमा अस्वाभाविक क्रिम पाउडर धसेकी ती महिला गाहकीसँग अझै गफिँदै थिइन् । दायाँतिर मुन्टो फर्काएर पिच्च थुकिन्, शायद सुर्ती थियो ।

उनीहरूको वरिपरि अधवैंशे महिलाहरू पनि झुम्मिएका थिए । उनीहरू सोच्दैथिए होला– उसले त बेलैमा ग्राहक भेट्टाई, आफ्नो त बोहोनीसम्म भएको छैन ।

दृश्य नियाल्दा नियाल्दै आधा घण्टा बितेछ । केटौले उमेर, गोजीमा १५ सय रुपैयाँ थियो । एक मनले सोचेँ– म पनि खोजौँ कि क्या हो एउटी । धत् मोरा ! यस्तो काम पनि गर्छन् ? अर्को मनले तुरुन्तै प्रतिवाद गर्‍यो ।

निष्कर्ष निकालेँ– यस्तो कुरामा उत्तेजना होइन, आँट चाहिँदो रहेछ ! मनभित्रको त्यो भाव क्षणभरमै निमिट्यान्न भयो ।

र, आँखा पुग्यो त्यो दूधे बालकमा । युवक र अधवैंशे महिला उसैगरी गफिँदै दिए । बालक बेपरवाह निदाइरहेको थियो । बच्चाको स्वर्ग भन्नु नै त्यही काख त हो । नाकमा झिँगाले झुत खेलिरहेका थिए र पनि ऊ मस्त निद्रामा थियो ।

मनमा अर्को तुफानी चल्यो– दूधे बालक पन्छाएर ती महिला कसरी समागममा सक्रिय हुँदिहुन् । त्यस्तो कार्यमा लिप्त हुँदै गरेको चाल पायो या बुझ्यो भने बच्चाले के सोच्दो हो ?

बच्चाले तिनलाई यौनकर्मी मान्दो हो कि आमा ? मन एकाएक बेचैन भयो ।

‘जाऊँ हिँड्नुस्’ भन्दै महिलाले गाहकीलाई महाबौद्धतिर लिएर गइन् । ती ओझेल नपरुन्जेल आँखाले छाड्न मानेन ।

० ० ०

क्याम्पस नियमित चल्न थालेपछि मैले बाटो बदलेँ । वीर अस्पतालवरपर पाँच मिनेट उभिँदा मेरो मन भरंग हुन्छ र तरंगित हुन थाल्छ । शरीर पाल्न शरीर बेच्नेहरूको विद्रुप दृश्यबाट तर्किइहालौँ हुन्छ, एकछिन अडिन सक्दिनँ । तर, पनि कहिलेकाहीँ बाटो पर्छ र त्यस्तै वार्तालापको साक्षी बन्नुपर्छ ।

जब त्यही सडकमा ७० वर्षकी आमै साग बेचेर जीवन धानिरहेकी हुन्छिन्, शरीर बेचेर गुजारा चलाउनेहरूप्रति मनमा कहिल्यै दयाभाव देखा परेन । तर, सँगै अर्को प्रश्नले पनि पिरोलिरह्यो– शरीर बेच्नेहरूलाई त समाजले यौनकर्मीको उपमा दिन्छ तर तिनैको शरीरको रसास्वादन गर्ने पुरुषहरूप्रति समाज किन मौन बस्छ ? के ती पनि यौनकर्मी होइनन् ?

के महिला आफ्नै रहर या स्वेच्छाले मात्रै यौनकर्मी बन्छे, त्यसमा पुरुषको कुनै हात हुँदैन ?

० ० ०

मेरो अघिल्तिर तिनै महिला थिइन्, जसलाई मैले १५ वर्षअघि वीर अस्पताल अगाडि देखेको थिएँ । निधारमाथि ठूलो खाउको खत जस्तो टाटा थियो । त्यही संकेतको आधारमा मैले निक्र्यौल गरेको हुँ– महिला तिनै हुन् ।

उनको हविगत देखेर म रन्थनिएँ । जीर्ण तन र विदीर्ण मन लिएर ती महिला सडक पेटीमा एकोहोरो

बर्बराइरहेकी थिइन् । वास्तवमा रस निचोरेर फ्याँकिएको कागतीको दानाझैं उनी सडकमा अलपत्र थिइन् । उनीसँग न पहिलाको सुर थियो, न त शरीर नै !

लुकिछिपी हेर्दा पनि आह्लादित हुने उनका अंगहरू छरपष्ट देखिँदासमेत त्यसले कसैलाई आकर्षित तुल्याइरहेको थिएन, किमार्थ थिएन ! त्यसो हुँदैनथ्योे भने उनी त्यहाँ कसरी जोगिन्थिन् होली ?

प्रश्नले मन घोच्न छोडेन– कहाँ फ्याँकिन् उनले त्यो वैंश ? कतिले देहभोग गरेपछि उनी रित्तिइन् ?

या यिनीहरूको नियति नै यही हो कि ? कैयौंलाई तुष्ट बनाउँदा बनाउँदै यसैगरी निख्रिनुपर्छ कि ?

केही बेरपछि उनी अगाडिको बाक्लो निशामा प्रवेश गरिन् ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment