Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

रगत खोजेर बचाउनेहरू



By  Unknown     8:53 PM    Labels: 


“लौन बाबु ! मलाई तुरुन्त एबी नेगेटिभ रगत चाहियो, चार वर्षे भदो बचाउनुपर्‍यो,” एकाबिहानै आएको फोनले सरोज कार्की तरंगित भए । ‘युथ फर ब्लड’ सुरु गरेको भर्खर तीन महिनामात्रै भएको थियो । यस्ता फोन बारम्बार आइरहन्थे, तर के गर्ने कसो गर्ने खासै मेसो थिएन उनलाई ।

‘सकेसम्म कोसिस गर्छु’ भनेर उनले फोन राखिदिए र डायरी पल्टाउँदै रगतको जोहो गर्ने व्यक्तिको खोजीमा लागे । विराटनगर नोबल मेडिकल कलेजमा उपचाररत चार महिने शिशुकी फुपू दिदीले उनलाई फोन गरेकी थिइन् ।

सुरुमा उनले विमल अधिकारीलाई फोन गरे । ‘तेह्रथुम छु, छिट्टै आउन पाउँदिनँ’ भन्ने जवाफ पाएपछि सरोजले तत्कालै अर्का व्यक्तिलाई फोन गरे । विराटनगर नजिकै अध्यापन गर्ने शिक्षकलाई उनले सम्पर्क गरेका थिए ।

तर, उनी रगत दिन तयार भएनन् ।

लाख बिन्ती गरेपछि बल्लतल्ल ‘आउँछु नि त’ भन्दै थिए, तर एकछिनपछि फोन काट्दै आलटाल पो गर्न थाले ।

‘तेरा लागि ज्यान दिन्छु’ भन्ने साथीहरू त जति पनि थिए । तर, जब रगत अत्यावश्यक भएको कुरा निकाल्यो, तिनीहरू सात कोश पर भाग्थे । रगत त कहाँ दिनु भन्दै तर्सिहाल्थे !

उता नवजात शिशुकी फुपू रुँदै ‘लौन बाबु रगत दिने मान्छे पाइएन ?’ भन्दै तारन्तार फोन गरिरहन्थिन्, यता कोही रक्तदाता भेटिँदैनन् । हैरान भए सरोज । रगत नपाएर भोलिपल्ट मध्याह्नपख बालकले संसार छाडे ।

कहिले आउँदिनँ भन्ने कहिले आउँछु भन्दै फोन काट्ने ती शिक्षकले बालक बितेको केही समयपछि सरोजलाई फोन गरेर भने, “रगत दिन कहाँ आउनुपर्ने हो ? अब म तयार भएँ ।”

“यति कुरा हिजै गरेको भए बच्चा बाँच्न सक्थ्यो, अब के गर्न आउनु ?” यति भनेर सरोजले फोन राखिदिए ।

यो घटनाले विराटनगर उपमहानगरपालिका–१३ का सरोजको मन भरंग भयो र ‘युथ फर ब्लड’लाई सामाजिक अभियानकै रूपमा अघि बढाउने अठोट पैदा गरिदियो ।

० ० ०

एउटा नाटकीय घटना छ–
सन् २०१४ तिरको कुरा हो । विराटनगर न्युरो अस्पतालमा एउटा दुर्घटनाको केस आएको थियो । चिकित्सहरू भन्दै थिए– बिरामीको अवस्था निकै गम्भीर छ ।

सरोजलाई उनका आफन्त पर्ने व्यक्तिले फोन गरेर रगतको याचना गरेका थिए ।

श्रुति नाम गरेकी ११ वर्षकी बालिकाको चार दिनपछि जन्मदिन आउँदै रहेछ । उनले भनिछन्, “बाबा ! मलाई मेरो बर्थडेमा साइकल चाहिन्छ ।”

साइकल किन्न बाबा बजार गएको बेला अचानक श्रुतिलाई ट्रकले ठक्कर दिएछ । हतार–हतार अस्पताल ल्याइएछ ।

सरोजले प्रधान थरका एक व्यक्तिलाई रगत दिन अनुरोध गरे र तयार पनि पारे । बालिकाका बाबा भन्दै थिए, “रगत उपलब्ध गराउने भगवान भेटें मैले । यसकी आमा पनि केही समयअघि बितिन् । यही ११ वर्षकी छोरीको मुख हेरेर मैले अर्को बिहे गरिनँ । यसलाई तलमाथि केही भयो भने त म कसरी बाँच्ने ?”

दुर्भाग्य ! चिकित्सकले बालिकाको ज्यान बचाउन सकेनन् ।

केही महिनापछि मध्यरात दिवंगत श्रुतिका बुबाले सरोजलाई फोन गरेर भने, “आमाछोरी दुवै बिते, अब मेरो यहाँ कोही पनि छैन, म कतार जान्छु । जाँदाजाँदै तपाईंलाई सम्झिएँ । रगत दिने मान्छे भेटाइदिएर तपाईंले मलाई ठूलो लगाउनु भएको छ ।”

उनको कुरा सुनेर सरोजको मन गह्रुंगो भयो । रगतसँग मानिसको जीवन यसरी जोडिएको हुन्छ भन्ने कुरा उनले भित्रैबाट अनुभूत गरे र अभियानलाई जसरी पनि अगाडि बढाउने निधो गरे ।

० ० ०

समाजमा रक्तदानको संस्कार विकास भइसकेको थिएन । रगत दिँदा दुब्लाइन्छ, कमजोर भइन्छ भन्ने कुभावना व्याप्त थियो । त्यसबाट प्रताडित स्वयं सरोज भए ।

एकपटक उनका जोगेन्द्र भन्ने साथी मामालाई रगत आवश्यक परेर प्याक्प्याक्ती परेका रहेछन् । यसै फोन गर्दा सरोजलाई पनि उनले सम्पर्क गर्न भ्याएछन् । तर, रगत पाउने पो कसरी ? चिनेजति साथीलाई अनुरोध गर्दा कोही रगत दिन तयार भएनन् । बल्लतल्ल दशरथ शाह भन्ने साथी फेला पारे र सरोजले त्यो समस्या टारे ।

यसले उनलाई भनेको बेला रगत नभेटिँदाको पीडासँग घुलमिलमात्रै गराएन, संगठित भएर समस्या समाधान गर्ने जुक्ति पनि सिकाइदियो । प्लस टु पढ्दै थिए, बचेको समय सामाजिक काममा सक्रिय पनि थिए । त्यसै क्रममा उनले एकदिन साथीहरूलाई रगत खोज्दाको दुःख सेयर गरे र संगठित हुन आह्वान गरे । ६० जना युवाको समूहमा उनले त्यो कुरा सुनाएका थिए, तर ६ जनामात्रै तयार भए । र, जन्मियो ‘युथ फर ब्लड ।’

० ० ०

बुधबार ‘बाह्रखरी’को कार्यालयमा ‘युथ फर ब्लड’का सुरज सुवेदी र मिलन अधिकारी कुराकानीका लागि उपस्थित थिए । उनीहरूसँग पनि रक्तदाता उपलब्ध गराउँदाका रोचक अनुभव रहेछन् ।

सुरजले थपे, “फेसबुक, ट्विटरमा रगत चाहियो भनेर स्टाटस, ट्वीट पोस्ट गर्‍यो, लाइक, सेयर र रिट्वीटमात्र बढ्छ, रक्तदाता कहाँ पाउनु ?”

एकपल्ट त केसम्म भयो भने रगत चाहियो भन्ने स्टाटस यति भाइरल भयो कि बिरामी बितेको दुई वर्षसम्म पनि त्यो पोस्ट सामाजिक सञ्जलामा सेयर भइरह्यो ।

‘रगत दिन चाहन्छु, कहाँ आउनुपर्ने हो ?’ भनेर रक्तदाताले तारन्तार फोन गरेर दिक्क बनाएपछि ‘युथ फर ब्लड’का सदस्यलाई मृतकका बुबाले फोनै गरेर अनुरोध गरे, “मेरो बच्चा बितेको दुई वर्ष भइसक्यो, कति दुःख दिनुभएको हो तपाईंहरूले !”

दोष ‘युथ फर ब्लड’को थिएन । सामाजिक सञ्जालमा पोस्ट गर्ने, सेयर र रिट्वीट कमाउने तर कामले शून्य सहयोग गर्नेहरूको जमातले समूहलाई समेत हैरानी बेहोर्न बाध्य बनायो ।

सुरज अनुभव सुनाउँछन्, “अचेल कुराले आकाश झार्ने तर कामले माखो नमार्ने ठाउँ पो बन्न थाल्यो सामाजिक सञ्जाल ! रगत चाहियो भनेर पोस्ट गर्‍यो, स्टाटस भाइरल हुन्छ तर रगत दिनचाहिँ एक जना तयार हुँदैनन् ।”

“अरु सबै गर्, रगत दिने कामचाहिँ नगर् है, उसै त दुब्लो छस्,” स्वास्थ्य क्षेत्रमा काम गर्ने आमाले सधैं यसो भन्दा सुरजलाई आमालाई सम्झाउनु कि रक्तदाता खोज्नु हुन्थ्यो ।

“अहिले त आमाले कुरा बुझिसक्नु भएको छ, रगत दान महादान हो भन्ने कुरा बुझाउन आमालाई समय लागेन,” सुरजले कुराकानीमा हाँसो थपे ।

नजिकै थिए मिलन अधिकारी । उनको पनि रोचक प्रसंग छ ।

स्नातक सकाएका मिलनले काठमाडौँमा होस्टल सञ्चालन गरेका छन् । उनलाई पनि रगत चाहियो भनेर महर्जन थरका व्यक्तिले फोन गरे । १० जना साथीलाई फोन गर्दा पनि रगत दिन कोही तयार नभएपछि उनले होस्टलका विद्यार्थीलाई अनुरोध गरे ।

उता प्रशव वेदनामा छटपटाइरहेकी महिलाको आफन्तले राति १ बजे फोन गर्छन्, “बाबु ! रगत दिने मानिस अझै भेटिएनन् ? डक्टरले छिटो मानिस बोलाऊ भन्दैछन् ।”

बल्लतल्ल रक्तदाता उभ्याएर समस्या पन्छाए ।

केही समयपछि रगत उपलब्ध गराएका आफन्तले फोन गरेर सँगै खाना खाऊँ भने ।

“रगत उपलब्ध गराएर सुत्केरी गराउन सहयोग पुर्‍यायो, बच्चाको न्वारनमा/पास्नीमा बोलाउँछन्,” मिलनले वातावरणलाई थप हाँसोमय बनाए ।

० ० ०

६ जनाबाट सुरु भएको ‘युथ फर ब्लड’ले पाँच वटा च्याप्टर डेभलप गरिसक्यो । देशव्यापी रूपमा सयभन्दा बढी सक्रिय सदस्य अहोरात्र खटिइरहेका छन् । हजारभन्दा बढी रक्तदाता उनीहरूको सम्पर्कमा छन् । असंख्य युवालाई रक्तदान गर्न अभिप्रेरित गरिरहेका छन् । झापा, मोरङ, सुनसरी, चितवनमा कार्यालय नै स्थापना भएको छ । काठमाडौँमा पनि केही समयअघि कार्यालय थियो । काठमाडौँलाई थप व्यवस्थित बनाउन उनीहरू कम्मर कसेर लागेका छन् ।

“काठमाडौँमा मानिस बढी नै व्यस्त हुन्छन् । भनेको बेला समय निकाल्न मुस्किल हुन्छ । फेरि एकपटक मानिसलाई सम्पर्कमा ल्यायो, क्रस म्याचका लागि अस्पतालले दोहोर्‍याएर बोलाउँछ, व्यवस्थापन गर्न कठिन भएको छ,” सुरजले काठमाडौँको जटिलता सुनाए ।

काठमाडौँमा मानिसको चाप बढी छ । दुर्घटनालगायत भवितव्य पनि यहीँ बढी हुन्छन् । त्यसैले काठमाडौँको रगत व्यवस्थापनमा बढी ध्यान पुर्‍याउनुपर्ने उनीहरू औँल्याउँछन् ।

रगत चाहिन्छ थाहा छ, दिनुपर्छ भन्ने पछि छ । तर, यी सबै समस्या आफूलाई नपरी थाहा हुँदैन भन्छन् सुरज ।

रक्तदानलाई संस्कारकै रूपमा विकास गराउनुपर्ने, त्यसका लागि व्यक्ति आफैँ सचेत हुनुपर्ने र आफ्नो रक्त समूह तथा त्यो रगत समूह भएका मानिस आफैँले सम्पर्कमा राख्ने हो भने समस्या न्यूनीकरण हुँदै जाने उनको तर्क छ ।

रगत व्यक्तिको जीवनसँग जोडिएको कुरा हो । पैसा तिरेर किन्न पाइने चिज होइन यो । त्यसैले प्रत्येक व्यक्तिले आफ्नो रक्त समूहसँग मिल्ने व्यक्तिको नाम डायरीमा टिपेर राख्न सुझाउँछन् सुरज ।

“प्रत्येक प्लस टु पूरा भएको उमेर समूहका विद्यार्थीलाई नियमित रगत दान गर्न अभिप्रेरित गर्नुपर्छ,” उनी भन्छन्, “रगत दान गरे अस्वस्थ होइन्छ, कमजोर होइन्छ भन्ने भ्रमबाट मुक्त दिलाउनुपर्छ ।”

० ० ०

०७२ सालको भूकम्पले कहर ल्यायो । मानिस आफ्नै ज्यान जोगाउन तल्लीन भए तर ‘युथ फर ब्लड’ले तत्कालै रक्तदानको आवश्यकता महसुस गर्‍यो । भृकुटीमण्डमा कापी कलम बोकेर रक्तदाताको नाम संकलन गर्न कस्सियो । सुरज अनुभव सुनाउँछन्, “भूकम्प रोक्न सकिँदैनथ्यो तर हामीलाई भूकम्प जान्छ भन्ने थाहा थियो ।

तर पनि हामीले केही पूर्वतयारी गरेका थिएनौँ । कम्पनकै बीच हामीले रगत संकलनको कार्यलाई तीव्रता दियौँ र रक्तदाताको नाम नोट गर्न थाल्यौँ । खोज र उद्धारका अन्य काम पनि गर्ने कि भन्ने सोचेका थियौँ । तर, घाइतेको जीवन रक्षाका लागि रक्तदानभन्दा ठूलो उद्धार अरु हुँदैनथ्यो, हामी त्यसैमा दत्तचित्त भयौँ ।”

भूकम्पका बेला सामाजिक सञ्जालमा ‘युथ फर ब्लड’का एसोसिएटहरूको नम्बर भाइरलमात्रै भएन, ‘हटलाइन’को रूपमा पनि प्रयोग भयो । “रगतका लागि मात्रै होइन, मेरा आफन्त हराए, सम्पर्कमा आउनुभएन, लौन खोजिदिनुपर्‍यो भनेर देश–विदेशबाट पनि फोन आउन थाल्यो,” सुरजले भने ।

नाकाबन्दीका बेला पनि रगत स्टोरेज गर्ने ब्यागको अभाव भयो । उनीहरूले त्यसको आयात रोकिनु हुँदैन भनेर स्टाटस त लेखे नै, रगत अभाव हुन नदिन रक्तदाताहरूलाई तम्तयार पनि राखे । आवश्यक पर्दा जतिखेरै रक्तदाता उपलब्ध हुने व्यवस्थापनसमेत गरे ।

सुरजले अर्को प्रसंग उप्काए–

“हामीबीच कसले बढी रगत दान गर्ने भन्ने प्रतिस्पर्धा हुन्छ । त्यसै क्रममा एकजना साथीले १० पटक रगत दान गरिसकेर मलाई गिज्याउन पो थाल्यो– मैले १० पटक पुर्‍याइसकेँ, तेरो कहिले पुग्छ ? मलाई चाहिँ आपतकालीन अवस्थामा तँ जानुपर्छ भनेर साथीहरूले रक्तदान गर्नै नदिने । रगत दिन नपाउँदा छटपटी नै हुन्थ्यो मलाई,” सुरज मच्चिएरै हाँसे ।

० ० ०

‘युथ फर ब्लड’ जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता भएको संस्था हो । समाजकल्याण परिषद्मा पनि दर्ता छ ।

“खासमा यो काम गर्ने फोरम हो, रक्तदानप्रति उत्प्रेरणा जगाउनु नै यसको मुख्य कार्य हो तथापि संस्थाको विश्वसनीयतामा अझै बढोत्तरी आओस् भनेर दर्ता गरेरै काम गरिरहेका छौँ,” संस्थाका अध्यक्षसमेत रहेका सरोज प्रष्ट्याउँछन् ।

पछिल्लो समय ‘युथ फर ब्लड’को चर्चा चुलिँदो छ । कतै रगत अभाव भयो, रगत नपाएर बिरामीका आफन्त छटपटाएको कसैले चाल पाइहाल्यो भने उनीहरूले ब्लड बैंकभन्दा पनि पहिले ‘युथ फर ब्लड’लाई नै सम्झन्छन् ।

समाजप्रतिको दायित्वबोधकै कारण संस्थाले सन् २०१५ मा इनजीओ अवार्ड प्राप्त गर्‍यो । अवार्ड साउथ एसियाका सात वटा देशमा उत्कृष्ट सामाजिक कार्य गर्ने संस्थालाई हरेक वर्ष प्रदान गरिन्छ ।

‘युथ फर ब्लड’को १५ हजार लाइक भएको फेसबुक पेज छ । फेसबुकमै ५५ हजार सदस्य भएको ग्रुप पनि छ ।

त्यसैमार्फत उनीहरू रक्तदाताको जोहो गर्छन् । पाँचवटै च्याप्टरका एक–एक वटा सार्वजनिक नम्बर पनि छन्, जसमार्फत अप्ठ्यारो परेको स्थानमा रक्तदाता उपलब्ध गराउन सहयोग पुर्‍याउँछन् ।

“हामी बेला–बेला मिटिङ बस्छौँ, कामको समीक्षा गर्छौं, अनुभव बाँड्छौं, नयाँ रक्तदाता खोजी गर्छौं र पालोफेरो गरेर फोन बोक्दै रक्तदाता व्यवस्थापन गर्छौं,” सुरजले कामको तरिका पनि बताए ।

अभियान सुरुआत गर्दा उनीहरूले फोन खर्च आफैँ व्यवस्थापन गर्थे । तर, हिजोआज रगत उपलब्ध गराएका व्यक्तिहरूले नै स्वेच्छाले सहयोग गर्न थालेका छन् । त्यसैबाट उनीहरूले फोन खर्च चलाउँछन् । त्यसका अतिरिक्त कहिलेकाहीँ उनीहरूले सामाजिक सञ्जालमा अनुरोध पनि गर्छन् र मनकारीहरूले सहयोग दिन्छन् । चारवटा च्याप्टरको कोठा भाडा र अफिस व्यवस्थापन त्यसैगरी चलाइरहेका छन् ।

सरोज दुःखेसो पोख्छन्, “रगतको यस्तो माग छ । रगत नपाएर ज्यान गएका थुप्रै दुःखद् दृष्टान्त छन् । तर, सरोकारवाला निकायको ध्यान पुगेको छैन । रगत संकलन, रक्तदाताको खोजीमा नयाँ–नयाँ तरिका विकास भइसके तर हामीकहाँ पुरानै नीति र तौरतरिका छ । कहिलेकाहीँ त रगत संकलन हुँदा स्टोरेज नभएर खेर गएको कुरा पनि सुन्नुपर्छ !”

उनले रजिस्टर्ड ठाउँबाट ट्याटु हानेको व्यक्तिले समेत रक्तदान गर्न नपाउँदा, दक्षता हासिल नगरेको व्यक्तिले रक्तदान गराउँदा र रक्तदानसम्बन्धी आवश्यक शिक्षा नदिँदा मानिसहरू निरुत्साहित भइरहेको समेत औँल्याए ।

सरोजका अनुसार रगत मागको तुलनामा आपूर्ति निकै कम छ । उनले अन्तिममा आग्रह गरे, “आफूलाई पर्दामात्र जुर्मुराउने होइन, पर्छ भन्ने सोचेर रक्तदान गर्न सधैं तयार रहनुपर्छ । स्वस्थ व्यक्तिका लागि रक्तदान आवश्यकता होइन, अपरिहार्यता हो ।”

सम्पर्क :
काठमाडौं : ९८४३५५२८८२
चितवन : ९८४५२७५२१२
विराटनगर : ९८६२००५२२५
सुनसरी : ९८६२१६६५३५
झापा : ९८१७९७६२११

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment