हेलम्बुको स्याउ मीठो मेलम्चीको पानी !
डाँडाभरि लटरम्म फलेको स्याउ, तल सलल बगिरहेको मेलम्ची खोलो । यो हेलम्बुको चिनारी हो । झण्डै २०–२५ वर्षअघि हेलम्बुमा फलेको स्याउ भन्नेबित्तिकै मानिसको मुखै रसाएर आउँथ्यो । तर, स्याउको पातसमेत नरहने गरी उग्लिएर जाला भनेर त्यहाँका मानिसले शायदै सोचेका थिए, तर भैदियो त्यस्तै । अचेल हेलम्बुमा स्याउका दाना होइन, बोटसमेत देखिँदैन ।
त्यतिमात्र होइन, हेलम्बुको आँत रसाएर बग्ने मेलम्चीमात्रै होइन, हेलम्बुकै शिरा मानिने यांग्री र लार्केको पानी पनि सुरुङमार्फत काठमाडौँ ल्याइने भएपछि गाउँ पूरै सुनसान हुने हो कि भन्ने चिन्तामा देखिन्छन् अचेल स्थानीय ।
हेलम्बुको स्याउ विश्वव्यापी रूपमा वातावरणमा आइरहेको बदलाव (ग्लोबल वार्मिङ)ले उजाडेको होइन । भौगोलिक विकटता र बेचबिखनको राम्रो माध्यम नभएकाले स्थानीयले आफैँ रोप्न छाडेका हुन् ।
वाङदोर्जे लामा भन्छन्, “हाम्रोमात्रै ५५ बोट स्याउ थियो, डाँडैभरि लटरम्म फल्थ्यो । यहाँ मान्छे किन्न नआउने, डोकोमा राखेर तल मेलम्चीसम्म पुर्याउँदा ज्यालाखाजा पनि नउठ्ने भएपछि हामीले स्याउको वास्तै गर्न छाड्यौँ । अन्नतः बोटै नासिएर गयो ।”
समयमै बेच्न नपाउँदा बाँदरले समेत खाएर हैरान पारेकाले पनि स्थानीयले स्याउको मतलब गर्न छाडेको उनको बुझाइ छ ।
स्याउमात्रै होइन, हेलम्बुबासीको आम्दानीको अर्को स्रोत थियो, चौंरी पालन । वाङदोर्जे स्वयंको बाल्यकाल पनि चौंरीखर्कमै बितेको हो । उनी सुनाउँछन्, “यांग्री लेकभरी चौंरी चरेको देखिन्थ्यो । अहिले त मुस्किलले चौंरी गोठ देख्न पाइन्छ । मानिसहरू सप्पै विस्थापित भएर गइसके, कसले चराउनु चौंरी !”
उनी आफ्नैका ३०–३५ वटा चौंरी गाई थिए । दूधबाट दही घ्यू र मोहीबाट छुर्पी बनाएर बेच्थे । त्यो काम छोडेको पनि वर्षौं भइसक्यो ।
तार्केघ्याङबासीको विकटताको माथिमात्रै हुन्, गरिबीको रेखामुनि होइनन् । तिम्बु तल किउलपारी गोरखनाथ गुठीअन्तर्गत तार्के फाँट छ, त्यस्तै तीन सय रोपनीजतिको । मोहियानी हक लागू भएपछि आधाजति जग्गा मोहीको नाममा पुर्जा छ भने बाँकी जग्गाको अधिन तार्केघ्याङबासीकै छ ।
किंवदन्ती छ– क्षमा पूजामार्फत तार्केगुफाका लामाले उपत्यकाको रोगव्याधी निर्मूल पारिदिएपछि लिच्छवी राजाले त्यो जग्गा जमिन बक्सिसस्परूप दिएका हुन् । व्याधी निको पारेपछि लामा घोडा चढेर आएको र जग्गाचाहिँ घोडा बाँध्ने तबेला दिएको भनाइ छ । स्थानीय भाषामा घोडालाई तार्के भनिँदो रहेछ ।
तार्के फाँट अधियाँमा कमाउनेहरूले आजपर्यन्त तार्केघ्याङबासीलाई कुत भर्दै आएका छन् ।
भूकम्पले उठीबास लगायो
गुजुमुज्ज परेको गाउँ । बीचमा चिटिक्कको तार्के गुम्बा । तार्केघ्याङ राम्रो पर्यटकीय गन्तव्यको रूपमा विकसित हुँदै थियो । आन्तरिक एवं बाह्य आगन्तुकहरूको आकर्षणको केन्द्र बन्दै थियो । मोटर बाटोसँग जोडिएकाले हेलम्बु घुम्न आउनेहरूको संख्या पनि प्रतिदिन बढ्दै थियो ।
तर, ०७२ वैशाख १२ को भूकम्पले तार्केघ्याङको बस्ती उजाड र उराठलाग्दो बनाइदियो । ११४ धुरी रहेको तार्केघ्याङ कसको घर कुन हो, छुट्याउनसमेत नसक्नेगरी भग्नावशेषमा परिणत भयो ।
भूकम्पको १९ महिना बित्न लाग्दा पनि तार्केघ्याङको पुनःनिर्माण शून्यप्रायः छ ।
वाङदोर्जे थप्छन्– “२५/३० जनाले मात्रै आवास अनुदानअन्तर्गत किस्ता पाएका छन् । कसैको नाम छुटेको त कसैले दुईतिर बसोबास गरेको कारण देखाएर अनुदान पाएका छैनन् । कसरी पुनःनिर्माण सुरु हुनु ?”
केही तार्केघ्याङबासी काठमाडौँमा पनि बसोबास गर्छन् । भूकम्पले उनीहरूको पनि वस्तुभाउ, अन्नपात पुर्यो । लाखौँको क्षति भयो तर दोहोरो बसोबासको कारण देखाई सुविधाबाट बञ्चित गराउँदा उनीहरूले घर बनाउन नसकेको वाङदोर्जे दुखेसो पोख्छन् ।
वरिपरि सुन्दर हिमशृंखला । बाह्य पर्यटकले खचाखच भरिने ठाउँ । अहिले बस्ती पूरै निर्जन भइसक्यो । बस्ती पुनःनिर्माण त परको कुरा, कसैले खण्डहर घरसमेत पन्छाएका छैनन् । अलपत्रै छ गाउँ ।
दोरिङको भीरले रोकिएको पुनःनिर्माण
हेलम्बुमा करिब ९०० घर धुरी बसोबास गर्छन्, जसमध्ये १५ घरधुरी सुनार र १५ घरधुरी मगर समुदायका छन् भने बाँकी ह्योल्मो समूदाय ।
भूकम्पमा परी हेलम्बु गाविसमा ४० जनाको मृत्यु भयो । ९९ प्रतिशतभन्दा बढी घरहरू क्षतिग्रस्त भए । वडा नम्बर ४, ५, ६, ७ जोड्ने मोटरबाटो दोरिङको पहिरोले खाइदिँदा स्थानीय ठूलो चपेटामा परेका छन् ।
शनिबार हामी पुग्दा उनी सकिनसकि पहिरो पन्छाउँदै थिए । करिब पाँचसय मिटर सडक पहिरोले मानिससमेत हिँड्न नमिल्नेगरी भत्काइदिएपछि हेलम्बुबासी आफैँ दिनरात नभनी श्रमदानमा जुटेका छन् । “हामीले करिब तीन लाख ५० हजार लागतबराबरको श्रमदान गरिसक्यौँ,” साँगेले बाह्रखरीसँग गुनासो पोखे, “अधिकांश वडा जोड्ने मोटरबाटो बिग्रँदा समेत बनाउन कसैले सहयोग गरेनन् ।” कहाली लाग्ने भीरमा जेनतेन अडिँदै उनीहरू आफैँले जोहो गरिरहेको तारजाली भरिरहेका छन् ।
भीमकाय ढुंगा र पहरासँग पौंठेजोरी खेलेर कहिले बाटो बनाइसक्ने हो यकिन छैन । बाटो नभएकाले निर्माण सामग्री ओसार्न नसकिएको र पुनःनिर्माण सुरु गर्न नसकेको उनीहरूको भनाइ छ । बाटोकै असुविधाले तत्काल घर बनाउन नसकिने हुँदा आफूहरूले आवास अनुदानको पहिलो किस्तासमेत लिन नगएको सांगेले बताए ।
दिनहुँको कम्पन
भूकम्पको परकम्प आउन रोकिएको भए पनि हेलम्बुबासी दिनहुँ कम्पन बेहोर्न बाध्य छन् । मेलम्ची खानेपानी आयोजनाको अम्बाथानको मुख्य सुरुङ प्रवेश मार्गमा पानी फर्काउने बाँध निर्माण भइरहेको छ । सोही बाँधको निर्माणका लागि ‘ओपन ब्लास्ट’ गर्दा स्थानीय कम्पन झेल्न बाध्न भएका हुन् । सांगे थप्छन्, “भूकम्पले थिलोथिलो बनाएको यहाँको जमिन ओपन ब्लास्टले झन् जीर्ण बनाइरहेको छ । ओपन ब्लास्टको विकल्प त छैन तर पनि बस्तीको जोखिमबारे विचार पुर्याउन हामीले आग्रह गर्यौँ, प्रशासनले वास्तै गरेन, शायद १५ धुरीको आवाज सानो भयो ।”
ओपन ब्लास्टका कारण वडा नम्बर ८ का १५ घरपरिवार विस्थापनको सँघारमा छन् । “भूकम्पले जमिन नै चिरा परेको थियो, ओपन ब्लास्टले के हुने हो कुनै टुंगो छैन, यस्तो ठाउँमा कसरी बस्न सकिएला र ?,” सांगेले गुनासो गरे ।
भिरालो जमिनमा भएकाले जतिबेलै पहिरो जान सक्ने खतरा रहेको स्थानीयले औँल्याए ।
वडा नम्बर ८ कै दोरिङ डाँडोमुनि सात परिवार बसोबास गर्छन् । त्यहाँ पनि पहिरोको उस्तै जोखिम छ । पुतली ह्योल्मो भन्छिन्, “तीन घर परिवार त सरेर तल गइसके । चार घरको जाने ठाउँ नभएर त्यहीँ बसिरहेका छन् । पानी पर्दा मात्र होइन, घाम लाग्दा पनि सुख्खा पहिरो खस्छ ।”
एक विद्यार्थीलाई पढाउन दुई शिक्षक
जमुना लामा कक्षा एकमा पढ्छिन् । तार्केघ्याङको गोरखनाथ प्राविमा पढ्ने उनी कक्षाका एक्ली विद्यार्थी हुन् । उनलाई पढाउन दुई जना शिक्षक खटिएका छन् ।
“विद्यालयमा ६ जना शिक्षक हुनुहुन्छ, दश जना विद्यार्थी छौँ,” उनले भनिन् । पातलो बस्ती र एउटा वडाबाट अर्को वडामा जान दिनभरि लाग्ने भएकाले पठनपाठनमा समस्या भएको वाङदोर्जे बताउँछन् ।
“मानिसहरू विस्थापित भएर हिँड्ने क्रम बढेको छ । त्यसैले स्कुलमा विद्यार्थीको संख्या न्यून भएको हो,” उनले थपे ।
अर्ग्यानिक भिलेजको अवधारणा अलपत्र
तिम्बुमा धान झुल्ने, तार्केघ्याङ र मेलम्चीघ्याङमा स्याउ फल्ने अद्वितीय ठाउँ हो हेलम्बु । २०३९ फिट उचाइदेखि ३७ सय मिटर उचाइसम्म बसोबास फैलिएको हिमाली गाउँ । उक्त ठाउँलाई पर्यटकीय गन्तव्य क्षेत्रका अलावा ‘अग्र्यानिक भिलेज’का रूपमा विकास गर्न पनि स्थानीयहरू नलागेका होइनन् । संघ/संस्था पनि सघाउन आतुर नै थिए ।
सफा र व्यवस्थित घरहरू, सजाइएका भान्छाकोठा, हँसिलो र मिजासिलो स्वभाव, अतिथिलाई उच्च सत्कार हेलम्बुबासीको अर्को विशेषता हो । त्यसलाई होमस्टेका रूपमा उपयोग गर्ने र स्थानीयको आयआर्जनको भरपर्दो माध्यम बनाउन पनि थालिएको थियो । सांगे थप्छन्, “भूकम्पअघि दुई वटा गाउँ होमस्टे भिलेजमा रूपान्तरण भइसकेका थिए । तर, भूकम्पले अलपत्र पार्यो ।”
त्यस्तै, हिमाली क्षेत्र जडिबुटीको आधार क्षेत्र पनि भएकाले हेलम्बुमा विभिन्न किसिमका जडिबुटी उत्पादन गर्ने सोच पनि अघि बढाइएको थियो । किबी, चिराइतो, अलैंचीमात्रै होइन, हेलम्बुबाट लोप भइसकेको स्याउलाई पुनः ब्यूताउँन स्थानीय कम्मर कसेर लागिपरेका थिए ।
पुर्खाले जस्तै आफूले पनि स्याउ फलाउन उनीहरूले कास्मिरबाट स्याउका बिरुवा ल्याउन थालिसकेका थिए ।
तर, त्यो सबैमा भूकम्पको उच्च हिमपात पर्यो र सबै योजना लथालिंग भयो ।
अन्तिममा सांगे थप्छन्, “विकट र अभावसँग सिँगौरी खेल्दै हामीले संस्कृति र हेलम्बुको पहिचान जोगाइरहेका छौँ, सरकारले टेवा देओस् ।”
No comments:
Post a Comment