भव्य कोठा । चित्ताकर्षक सजावट । भित्तामा प्रतिध्वनित भइरहने पियानो–धून । लहरै राखिएका आदिम वास्तु–सौन्दर्य । लाग्छ— घरमा सुखै–सुख प्रगुम्फित छ ।
तर, होइन । यहाँ त केवल निरुद्देश्य जीवन सलबलाइरहेको छ । बाँच्नुको पीडा, असीम दुःखको तीव्र छटपटाहट छ । बेचैन छ मन । विशृंखलित छ जीवन !
समय–यौवनको प्रतिछाया हो । समय दिनहुँ तन्नेरी बन्दै जान्छ तर मानिस बूढो बन्दै जान्छ । र, छाड्दै जान्छ आ–आफ्ना पदचापहरू । हुन सक्छ— सुख–दुःखको निःस्वास पनि ! त्यसैको आभाष हो– ‘तीन बहिनी’ !
एन्टोन चेखब– यथार्थवादी धाराका परिचायक हुन् । सन् १८६०मा जन्मिएका रसियाली लेखक चेखब आधुनिकता र विसङ्गतपूर्ण जीवनको उद्घाटन गर्छन्, लेखनका माध्यमबाट । उनका बहुसंख्यक कथा त्यसैका ध्वनि बनेका छन् ।
पेशाले मेडिकल चिकित्सक तर कथाकर्ममा ज्यादा विश्वास गरे र त जीवनयापनका अनेक निःस्वास, उच्छ्वास, उनका रङ्ग–कौशल बनेका छन् ।
‘द सिगल’, ‘अंकल भान्या’, ‘चेरी अर्किड’ लगायत विश्वविख्यात नाटकका सर्जक चेखबकृत ‘थ्री सिस्टरर्स’को नेपाली अनुवाद ‘तीन बहिनी’ शिल्पी थिएटर, बत्तिसपुतलीमा वैशाख २१ गतेदेखि मञ्चन भइरहेको छ । र, यो नाटक जेठ १२ सम्म मञ्चन हुनेछ ।
घनश्याम श्रेष्ठको परिकल्पना÷निर्देशन रहेको ‘तीन बहिनी’लाई आकारले मञ्चमा उतारेको हो ।
० ० ०
दिवंगत सैनिक अधिकृत पिताका तीन छोरी, जो राजधानीबाहिरको उदेकलाग्दो संसारमा बाँचिरहेका छन्, जसको हिजोको उमेर घडीको टिकटिकसँगै ओइलिँदै जान्छ । हिजोका सपना, आजका विपना होइन, भ्रमका थपना बनिथिन्छन् । सबैले बाँचेका हुन्छन् आफ्नो हिस्साको समय । तर, ‘तीन बहिनी’का पात्रहरूले निकै बोझिलो समय बाँचिरहेका छन् ।
स्वर्गबासी सैनिक अधिकृतकी तीन छोरी– आभा, माया र रिना । नाटकका केन्द्रीय चरित्र यिनै हुन् । र, यिनै तीनै चरित्रको वरिपरि नाटकको रोटेपिङ मच्चिइरहन्छ ।
यौवनवयबाट प्रौढतिर उक्लिइसकेकी आभा अविवाहित छिन् । उनको निराशा र मुर्च्छनाले हाम्रो सहरीया र पछिल्लो समयका ग्राम्य–जनजीवनका केही हिस्साको प्रतिनिधित्व गर्छन् । उनी आफूसँग पटक्कै खुसी छैनन् । र, छैनन्, आफू बाँचिरहेको र बितिरहेको समयसँग पनि । हामीले आज बाँचिरहेको समय पनि ठ्याक्कै त्यस्तै हो । अझ चेखोब भन्छन्– अब २०० वर्षपछाडिको समय पनि त्यस्तै निराशायुक्तै रहन्छ । आफ्ना पिता–पुखाभन्दा जान्नेबुझ्ने हुँदा पनि मानिस असन्तोषको ज्वाला बोकेर बाँचिरहेका छन् । त्यसैको लप्कामा पलपल जलिरहेका छन् । ‘तीन बहिनी’ त्यस्तै उच्छवास हो ।
अर्की दिदी मायाको जीवन पनि स्वाभाविक लयमा छैन । लोग्नेसँगको सम्बन्ध निकै निरसिलो बनिरहेको छ । समय पनि उस्तै पट्यारलाग्दो । त्यसैले उनी कर्णेल आशुतोषसँग सघन प्रेममा छिन् । सन् १९०० मा चेखोवरचित ‘थ्री सिस्टरर्स’ले ठ्याक्कै आजको जस्तै यौनविकृत मनोदशालाई कसरी उत्कण्ठित गर्न सक्यो होला भनेर घोत्लिन विवश बनाउँछ ।
कान्छी रिना । २० वर्षको हुँदा शुरू भएको नाटक उत्तरार्द्धमा पुग्दा ३० वर्षकी हुन्छिन् । समयको पदचापमा यौवनको राप–ताप छाड्दै आएकी उनको राजधानी जाने मनोकामनाले नाटकलाई अन्तिमसम्मै गति दिइरहन्छ ।
सैनिक अधिकृतका छोरा दीपजङ्गले देहाती निकितासँग लगठनगाँठो कस्छ । क्रोधको हुरी बोकेर आएकी उनले घरको धुरी डगमगाइदिन्छिन् । निकिता र तीन दिदीबहिनीको निरपेक्ष सोचले परिवार एकपछि अर्को झमेलामा फस्दै जान्छ ।
एउटै छानामुनि ओत लागेका अनेक विरोधाभाष चरित्र र त्यही स्वभावजन्य कारणले दुर्घटित बन्न पुगेका सपनाको सिलसिलालाई एउटै सूत्रमा उन्नु चानचुने काम हुँदै होइन । त्यसलाई मञ्चमा सादृश्य उतार्न सक्नु झनै कष्ठसाध्य कुरा हो । तर, यस मानेमा सफल छन्– निर्देशक ।
त्यसो त चेखबका नाटकमा विनोद र करुण रसको सम्मिश्रण पाइन्छ । त्यसको झल्को ‘तीन बहिनीमा नभेटिने होइन । तर, धाराप्रवाह सम्वाद र क्लिष्ट अभिव्यञ्जनाले दर्शक कहिले उत्फुल्ल त कहिले रनभुल्लमा परिरहन्छन् । र, अन्तिम दृश्यांशले नाटक वियोगान्त हो भन्न करै लाग्छ ।
यो नाटक संवृत्त हुँदाताक रुस तीव्र औद्योगिकीकरणको प्रश्रवमा थियो । त्यसबाट आधुनिकता पैदा हुने छर्लङ्गै थियो तर त्यो चानचुने कठिन थिएन । अतः नाटकले हाम्रो विकासे सपना र समृद्धिको मनोकामनालाई धेरेथोर प्रतिनिधित्व गरेको छ भन्दा अतिशयोक्ति हुँदैन । बारम्बार पात्रहरूमार्फत ‘राजधानी’प्रतिको लगावलाई देखाउन खोज्नुको अर्थ हो— समाज जुनसुकै भए पनि शहरीप्रतिको मोह सबैको उस्तै हुन्छ ।
स–साना घटनाको सिलसिला । आजभन्दा एकसय ११८ वर्षअघिको रुसको औद्योगिकीकरणउन्मुख सामाजिक मनोदशालाई मञ्च–सापेक्ष तुल्याउनु ज्यादै कष्टसाध्य कुरा हो । अझ नेपाली स्वादमा पस्किएर यहाँका दर्शकको अनुहारमा प्रतिविम्बत तुल्याउनु झनै गाह्रो कुरा हो । यसमा सफल देखिन्छन् अनुवादक–मेघराज अधिकारी । त्यसमाथि भौतिक वस्तु (प्रप्स) प्रयोग पनि जीवन्त छ । कलाकारका गतिविधि र उनीहरूले प्रयोग गर्ने सबैजसो ‘प्रप्स’ सकेसम्म वास्तविक छन् ।
मूलतः ‘तीन बहिनी’ मेलोड्रामा हो । शारीरिक हाउभाउ, संवादको घनत्व र मञ्च सजावटमा यस्तो विधालाई संसारभर रुचाइन्छ । तर, समकालीन नेपाली ‘मेलोड्रामा’ अझै पनि जटिल संवादको धङ्धङीबाट माथि उठ्न सकेका छैनन् । यो समस्या अनुवादित नाटकमा झनै भयंकर छ । अनुवाद गरेर नेपाली समाजअनुकूल बनाउने प्रयास गरिए पनि त्यसअनुरूप संवादमा काम गर्न नसक्दा भातमा ढुंगा लागेको जस्तो हुन्छ । नेपाली भाषामा अंग्रेजी वा हिन्दीको जस्तो एकरूपता छैन । क्षेत्रीय भाषिकालाई छेउमा राख्ने हो भने आम रूपमा लेखिने र बोलिने भाषा फरक छन् । झर्रो भाषाको आफ्नै मीठास छ । आमदैनिकीमा बोलिने भाषा प्रयोग गर्दा दर्शकले छिटो नाटकसँग सम्बन्ध स्थापित गर्न सक्छन् । ‘तीन बहिनी’ यो समस्याबाट मुक्त हुन सकेको छैन । त्यससँगै मानवीय संवेदनाबाहेक नाटकको समग्र कथा र सेटिङले दर्शकलाई अपनत्व अनुभव गराउन सक्दैन । रुसी समाजको सेरोफेरोमा लेखिएको भए पनि नेपाली जीवनशैली र समाजअनुसार ढाल्न सकिएको भए ‘तीन बहिनी’ अझै उम्दा बन्न सक्थ्यो ।
मञ्चमा
शान्ति गिरी
शुष्मा कोइराला
सुनिसा बजागाईं
श्याम खड्का
श्री ओम रोदन
घिमिरे युवराज
जीवन बराल
विकास जोशी
अर्जुन न्यौपाने
आन्ना देउजा
सुरेश जीसी
अस्मिता खनाल
अमुल श्रेष्ठ
शुलभ पाण्डे
पुतलीसडकको पलेंटी । हामी दुई उनको प्रतीक्षामा थियौं । छिनमै लुखुरलुखुर हिँड्दै भित्र छिरे । घाँटी–घाँटी आइपुगेको कपाल । चिउँडोमा चुस्स दाह्री । फिस्स हाँसेर हामीलाई कुनातिर लिएर गए । कफी अर्डर गरेपछि उनी सोझै काठमाडौंको चिन्तामा डुबे ।
“गर्न चाहने हो भने त रातारात बाटाघाटा बन्दा रहेछन् नि !” खुइय गरे, “कार्यकारी अधिकार हुनेहरूले नचाहेर पो देश नबनेको रहेछ ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउने दिन ढिप्किँदै जाँदा वर्षौंदेखि घाइते सडकहरू एक्कासि तंग्रिन थालेका थिए । मोदी हिँड्ने बाटाघाटा टालिएका मात्र थिएनन्, धोई–पखाली चिल्ला बनाइएका थिए ।
“देख्नुभो त ? इच्छाशक्ति हुने हो भने विकास गर्न कसैले रोक्न सक्दैनरहेछ नि !” उनी भन्दै थिए, “कसले रोक्छ होला विकास ? तपाईंलाई के लाग्छ ?”
उनले प्रश्न हामीतिर तेस्र्याए । भन्यौं, “यसमा धेरै पक्ष जोडिन्छन् । अधिकारप्राप्त निकायदेखि सडकछेउका नागरिकसम्म । बरु यो छाड्नुस्, तपाईंचाहिँ कहाँ जन्मिनुभो, कहाँ हुर्किनुभो ?”
हामीले कुराको गाँठो समात्यौं । उनले रोचक संयोग सुनाए ।
“आसाम, ब्रह्मपुत्रको पल्लो किनारमा हरिभक्त कटुवाल दाइ ब्रह्मलीन हुनुभयो, वल्लो किनारमा म जन्मिएँ,” उनी भन्दै थिए, “उहाँले संसार छाडेको वर्ष म जन्मिएँ । त्यसैले पनि होला— कताकता उहाँसँग म गाँसिएझैं लाग्छ ।”
हरिभक्त दिवंगत भएकै साल धर्तीमा पदार्पण भएका प्रमोद खरेलले आफ्नो सांगीतिक जीवनको पोयो फुकाउँदै गर्दा मस्तिष्कको कुना–कन्दरामा कताकता झंकृत हुन्छ ‘मलाई नसोध कहाँ दुख्छ घाउ !’
त्यही ब्रह्मपुत्रको नादमा निःस्वास लिएकाले होला— भरजीवन संगीत निनाद भइरह्यो । मन—मथिंगलमा ध्वनित भइरह्यो ।
शिक्षित परिवारमा जन्मिए, हुर्किए । सपना थियो– शल्यचिकित्सक (सर्जन) बन्ने । रसायनशास्त्रमा स्नातकोत्तर पढ्न त्रिविमा भर्ना भएपछि उनको उपनाम जन्मिएको थियो— ‘केमेस्ट्रीको रामकृष्ण ढकाल’ ! भनौं न— रामकृष्ण ढकालको प्रतिछाया थिए उनी ।
“त्यस्तो जादुयी स्वर छ, गीत गाएरै जीविका चलाउलाजस्तो ! केमेस्ट्री पढेर के टाइमपास गरिरा’ होला !” साथीभाइ भन्थे ।
यता डोरेमीमा संगीत सिक्थे । गुरुदेव कामतको सान्निध्यमा । यता पनि सहपाठी भन्थे, “एमएस्सी गरिरहेको मान्छे । पढाइमा उस्तै तीक्ष्ण छ, संगीतमा त टाइमपास गर्न आएको होला ! हामी पो व्यावसायिक गायक त !”
प्रकारान्तरले त्यही टाइमपास गायक, नेपाली आधुनिक गीत–संगीतको खसोखास बन्यो ।
पलेंटीको पाश्र्वभागमा सौम्य मुद्रामा आफ्ना अतीत उधिन्दै थिए उनी । केही अनौठा । केही विलुप्त । र, अधिकांश प्रदीप्त ।
० ० ०
पुर्ख्यौली थातथलो ताप्लेजुङ । यायावरीका लागि भारत पस्ने चलन पुरानै हो । त्यसैलाई पछ्याए— पुस्ताले । र, उनी उतै आसाममा जन्मिए ।
तर, जन्मिएको एक वर्ष पनि ब्रह्मपुत्रको सुस्केरामा रम्न र जम्न पाएनन् । झापा आउनु पर्यो ।
तिनताक आसाम, सिलिगुडीतिर पढेर आएकाहरूले झापामा अध्यापन शुुरु गर्थे । ३० को दशकको उत्तराद्र्ध । प्रमोदका पिताले पनि आएर दक्षिणी झापामा मास्टरी शुरू गरे । र, त्यसको एक वर्षपछि सपरिवारै झापा बसाइँ सरे उनीहरू ।
बनियानी, सुदूर–कर्णाली लाग्छ उनलाई । ३० वर्षपछि अहिले बल्ल बाटो कालोपत्रे हुँदैछ । मेची राजमार्ग– देशकै पहिलो उत्तर–दक्षिण जोड्ने राजपथको सन्निकट भएर के गर्नु, घर पुग्न १७ किलोमिटर धुलाम्य र हिलाम्य बाटो छिचोल्नुपर्ने । धेरै पछिसम्म बिजुलीको उज्यालो देख्न सीमापारि पुग्नुपथ्र्यो । चोर–डाँकाको बिगबिगी उस्तै ।
झोंडा फाडेर गृहस्थी बसालेको । बाबुआमा फरक–फरक विद्यालयका शिक्षक–शिक्षिका । पढाइबाहेक अन्यत्र मन बहलाउन फुर्सदै पाएनन् ।
जेठा सन्तान, आमाको सामीप्यतामा हुर्किए प्रमोद । शिशु कक्षादेखि कक्षा ७ सम्म आमाकै सान्निध्यता पाए । आमाले त्यतिबेला लक्ष्मी मावि बनियानीमा पढाउँथिन् । त्यसपछिका तीन वर्ष कक्षा ८ देखि १० सम्म भने बाबुको स्कुल हिमाली मावि, पृथ्वीनगरमा पढे ।
बामे सर्ने र ताते गर्ने बेलादेखि नै पढ्न थालेकाले होला— २२ वर्षको कलिलै उमेरमा विश्वविद्यालय तहको पढाइ पूरा गरिसकेका थिए उनले ।
घरबाट पाँच किलोमिटरको दूरीमा फिल्म हल थियो । पढाइबाट फुर्सद पाउनेबित्तिकै फिल्म हेर्न दौडिहाल्थे ।
“फिल्मको त कीरै थिएँ म,” बाल्यकालको स्मृतिदहमा फाल हाल्न पुगे उनी, “चलचित्रका डाइलग कण्ठै हुन्थे । पर्दामा देखिने हिरो–हिरोइनदेखि भान्सेसम्मका नाम पढ्थें र पछिसम्म याद गर्थें । अहिले पनि मुखारू होला कतिपयको त !” फिस्स हाँसे उनी ।
सर्जन बन्ने लक्ष्यका साथ सपनाको कुम्लोकुटुरो बोकेर काठमाडौं हान्निएका हुन् प्रमोद । सर्जनबाहेक अरू कुनै सपना मस्तिष्कमा खाँदिएका थिएनन् । खाँदा, बस्दा गाऊन लगाएर अप्रेसन गरेको मात्रै तर्कना आउँथ्यो । मस्तिष्का तन्तुतन्तुमा चिकित्सकीय भूत नै सवार थियो भनौं ।
आईएस्सी पढ्दा दोस्रो वर्षमा गणित विषय थप रोज्न पाइन्थ्यो । इन्जिनियरिङतिर छड्किन पनि पाइन्थ्यो, त्यो पढे । इन्जिनियरिङतिर शून्य लगाव भएकाले होला— गणित पढेनन् उनले ।
किताबकापीको सामीप्यताबाट फुर्सद पाउनेबित्तिकै गुन्गुनाउथे । भर्खर देशमा प्रजातन्त्र आएको । क्रान्तिको उर्वर भूमि झापा । आगो बलेको थियो तिनताक ।
दिनहुँजसो आमसभा हुन्थे । कुद्दै पुगिहाल्थे उनी । गीत गाउँथे– ‘हेर न सहिदहरूलाई...’, ‘आमा मरें भने...’, ‘आमा दिदी–बहिनी हो...!’
कर्णसुधा थिए उनका लागि ती । हरबखत गुनगुनाइरहन्थे । झ्याउँकीरीझैं भुन्भुनाइरहन्थे ।
“रेडियो नेपालबाट बज्ने हरेक गीत सुन्थें । र, सबै गीत नारायण गोपालले गाएको भन्ठान्थें । मोटो स्वर भएको गीत बज्यो भने नारायण गोपालले नै गाएको भन्ने लाग्थ्यो,” फेरि हाँस्छन् प्रमोद ।
त्यसबाहेक रेडियो नेपालबाट बज्ने विज्ञापन, सूचनाहरू हुबहु कपी गर्थे र चिच्याउँदै हिँड्थे । ती सबैले संगीतसँग चिनापर्ची गराउँदै लगे । भित्रभित्रै गीत–संगीतप्रतिको अभिप्सा जगाउँदै लगे ।
हिरो बन्ने भूत
भारतको सीमावर्ती क्षेत्र । भारतीय चलचित्र नै बढी लाग्थे । मिथुन चक्रवर्तीका ‘फ्यान’ थिए प्रमोद । साइकलको पछाडि मिथुन चक्रवर्ती, माधुरी दीक्षित, अमिताभ बच्चनका तस्बिर झुन्डिएका हुन्थे ।
त्यतिबेलाको एउटा रमाइलो किस्सा सुनाए प्रमोदलेः
६–७ कक्षा कति हो, खासै याद छैन । धुमिल सम्झनाको आभामात्रै मस्तिष्क वरिपरि घुमिरहन्छ । शाही नेपाली चलचित्र संस्थान गठन भएको थियो, यादव खरेल थिए त्यसका प्रमुख । प्रमोदले यादवलाई पहिल्यैदेखि पछ्याउँथे । कसैले भनिदियो– त्यही चलचित्र संस्थानले हो, नेपालमा सबै फिल्म बनाउने, कलाकार छान्ने पनि । केटौले दिमाग, हो क्यारे लाग्यो उनलाई पनि ।
घर आएर चिठी लेखे उनले, “आदरणीय यादव खरेल सर, नमस्कार ! म झापा बनियानीबाट प्रमोद खरेल । मलाई बाल कलाकार हुन औधी रहर छ, फिल्ममा खेलाइदिनुपर्यो !”
संस्थानको ठेगानामा दुई रुपैयाँ खर्च गरेर रजिस्टर गरिदिए ।
त्यस्तै एक महिना बितेको हुँदो हो । घरको पछाडिपट्टि अलिक पर मोजाको बल बनाएर खेल्दै थिए । बाटोबाट हुलाकी चिठी बोकेर आउँदै गरेको देखे । उनको मुटु ठप्प अडिएझैं भयो ।
“धन्य भगवान् ! बाल कलाकार बनें म । कति चाँडै पत्र पनि आएको !” खुशीको सीमै रहेन । हातको बल फुत्त साथीतिर मिल्काए । दौडिँदै बाटोमा पुगे । हुलाकीको नजिक पुगेर बडो उत्साहले उभिए ।
केको बालकलाकार बन्नु, ठेगाना नमिलेर पत्र पो फर्किएको रहेछ ।
खङ्ग्रङ्ग भए उनी ।
बालकलाकार भइसकें भनेर अघि साथीहरूलाई फुर्ती लगाएको । कुन मुखले चिठी फिर्ता आयो भन्न जानू, शीतांग भयो शरीर । कलाकार बन्ने मोह त्यहीँबाट टुट्यो ।
स्कुल गयो, घर फर्किएर गृहकार्य गर्यो, किताबमै घोप्टियो । एकांकी जीवन । राजवंशीका छोराछोरी घाँसदाउरा गर्न जंगल जान्थे । खेतीपाती, अर्मपर्म धान्थे । आफू घरबाहिर निस्कन पाउनु छैन । मनमा अतिशय रहर पैदा भएपछि उनी दाउरा–घाँस गर्न जंगल जान्थे । खेतमा गएर बीउ पाँज्थे ।
“कहाँ त्यतिमात्रै हो र ! दिनभर आमाहरूसँग खेत पनि पो रोपेको छु,” यति भनिरहँदा उनको अनुहारमा आभा देखिन्थ्यो ।
निमावि तह पढ्दा होचो थिए उनी । बेन्चमा बसेर पढ्दा कहिलेकाहीँ उँघ्थे । निद्राले पढाइ बिग्रिएला भनेर उभिइउभिई पढ्थे ।
“घरमा पनि बाले अग्लो कुसी बनाइदिनुभएको थियो । त्यही कुर्सीमा खुट्टा नगलुन्जेल उभिएर पढिरहन्थें,” उनी अहिले सम्झन्छन् ।
०५१ मा झन्डै ७० प्रतिशत प्राप्तांक ल्याएर प्रवेशिका उत्तीर्ण गरे उनले । त्यसको भोलिपल्टै चिकित्सक बन्ने लक्ष्यका साथ काठमाडौं पँखेटिए र पुतलीसडमा आएर एड्भान्स साइन्स कोर्स गर्न थाले ।
त्यो पुनर्जन्म
पाटन मल्टिपल कलेजबाट उनले आईएस्सी तहको पढाइ पूरा गरे । ०३६ सालको विद्यार्थी आन्दोलनका कारण शैक्षिक सत्र तलवितल परेको थियो । ‘ग्याप’ मिलाउन एक वर्ष पढाइ ‘होल्ड’ गर्नुपथ्र्यो । त्यसको शिकार उनी पनि भए । आईएस्सी सकेपछि जिल्लाकै क्याम्पस पढ्ने भनेर उनी झापा फर्किए र मेची क्याम्पसमा भर्ना भए । आईएस्सी दोस्रो वर्षमा पढ्दा कलेजले शैक्षिक भ्रमण लगेको थियो । सम्झनाका लागि भनेर फोटो पनि खिचेका थिए । फोटो लिएर घर पुगेका थिए उनी । आमाले हेर्न रहर गरिन् ।
त्यतिबेला ‘क्याट ब्याग’ खुब चल्तीमा थियो । त्यसैको पछाडि राखेका रहेछन् फोटो ।
घरमा बत्ती थिएन । इनामेलको बट्टा प्वाल पारेर टुकी बनाइएको थियो ।
झोला ल्याउने भएको, मट्टितेलसहितको बत्तीको भाँडो भुइँमा ढल्यो र आगो सल्किइहाल्यो । नकिजै टिभी हेर्न ल्याएको २४ भोल्टको ठूलो ब्याट्री रहेछ, आगोको ध्यान त्यतै खिचियो । आत्तिएपछि ब्याट्री उचालेर तल फ्याँक्न थालेका थिए, पग्लिएको तेजाबसहितको ब्याट्री हातैमा टाँसियोे ।
“त्यतिञ्जेल पनि हात भेट्यो होला भन्ने लागेको थिएन । आगो सल्किन कम भएपछि हेर्दा त हात झुन्डिरहेको रहेछ । राति नै मेडिकल त गयौं तर प्राथमिक उपचारमात्रै भयो । पानीमा डुबाउँदा पानी नै बाफिलो बनेको थ्यो,” अझै आङ सिरिंग हुन्छ उनको । अढाई महिना लाग्यो औंला जोडिन ।
“घरै खरानी बनाउला जस्तो आगोको मुस्लो छुटेको थियो, कसरी बाँचे हुँला ?” अहिले सम्झँदा पनि कहालिन्छन् । विदारक घटनाबाट बाँचेको क्षण पुनर्जन्म नै पाएजस्तो प्रतीत हुन्छ ।
सपनाको स्थानान्तरण
आईएस्सी दोस्रो वर्ष पढ्दा नै उनको सपनाले बाटो फे¥यो । आफू संगीतकै लागि बनेको भान भयो । घरबाट सर्जन बन्ने सपनामा पाइन हालेर आएका प्रमोदको चाह एक वर्षमै भुत्ते भयो ।
आईएस्सी दोस्रो वर्षको प्रयोगात्मक खण्ड पूरा गर्दानगर्दै क्यासेटको लती भइसकेका थिए । एउटा ‘एम्लिफायर’ थियो, कुमार सानुको ‘नशा’ बिहानदेखि बेलुकासम्म सुन्थे । नारायण गोपाल, किशोर कुमार, मोहम्मद रफी, रामकृष्ण ढकालका सांगीतिक तरंगले उनको चिकित्सकीय सपना विस्थापन गरिदियो । गायक बन्ने सपना प्रतिस्थापन भयो भनौं ।
आईएस्सी तहको पढाइ पूरा भएपछि उनले एमबीबीएसको तयारी नगरेका होइनन् । प्रवेश परीक्षा दिने मनसाय पनि बनाए ।
तर, तनमन संगीततिर ढल्किइसकेकाले चिकित्सकीय चाह ओरालो लाग्दै थियो । त्यही बखत सांगीतिक दुनियातिर पैताला सोझ्याए ।
एमबीबीएसको प्रवेश परीक्षै दिएनन् उनले ।
“नाम निस्किने माहोल पनि थिएन, चाह पनि मुर्झाइसकेको थियो,” अनुहारमा चिकित्सक नबन्नुको दुःखको क्लेस पनि भेटिँदैन । बरु सांगीतिक सफलताको खुशीका मिहिन धर्सा अनुहारभरि फिँजिन्छन् ।
नाटकले थमाएको उपनाम
प्रमोदले अनेक आयामबाट जीवनको आमोद खोजे । बान्किपूर्ण अक्षर लेख्ने पेन्टर पनि हुन् उनी । स्वरमा मात्रै होइन, अक्षरमा पनि उस्तै जादू चलाउँछन् उनी ।
“सांगीतिक करिअरको भरणपोषणका लागि त्यो बाटो पहिल्याएको थिएँ । केही भएन भने पेन्टिङ गरेर भए पनि सांगीतिक जीवन उँभो लगाउँछु भन्ने थियो,” पेन्टिङ गर्नुको रहस्यको गाँठो फुकाउँछन् उनी ।
त्यसबाहेक नाटकसमेत खेलेका छन् उनले । ‘देवी’ टेलिचलचित्रले बजार पिटेको थियो त्यतिबेला । प्रमोदले त्यही भावको नाटक लेखे, आफैं निर्देशन गरे र मञ्चन गरे– ‘साहसी पाइलाहरू ।’
१५ वर्षको नवयौवना । तर, उनले ४०–५० कटेका प्रौढलाई समेत अभिनयमा सामेल गराए ।
‘पूर्णे’को चरित्रबाट कलाकार शिवहरि पौडेल उदाएका थिए । प्रमोदा उता झापामा ‘किस्ने’ बनेका थिए । साहूमहाजनको दमन, उत्पीडिन, गरिब, निमुखाको दुःख–पीडा नै नाटकका मुख्य विषय थिए ।
नाटक हेर्न ८–१० हजार दर्शक भेला भएका हुँदा हुन् । कुमार सानुको ‘साथीसंगी भयो छुट्ने बेला’ भन्ने गीत सुनाएर नाटक मैझारो गरे ।
तर, दर्शकका सामुन्नेबाट उनी कहिल्यै ओझेल पर्न सकेनन् । उनीहरूका आँखावरिपरि त्यही किस्ने र ‘साथीसंगी’ बोलको गीत आइरह्यो । “बाटाघाटामा भेट्दा पनि केटाकेटीले ‘ओई किस्ने’ भनेर बोलाउन थाले !” सम्झँदा पनि मन आह्लादित हुन्छ उनको ।
पहिलो मञ्चीय प्रस्तुति भने यो होइन । आईएस्सी पढ्दाताक नै उनले मोहम्मद रफीको ‘चाहुङ्गा मे तुझे’ गाइसकेका थिए ।
त्यसपछि बीएसस्सी तहको पढाइ पूरा गर्न क्याम्पससँगै काठमाडौं स्थानान्तरण भए उनी । त्रिचन्द्र कलेजमा पढाइले त निरन्तरता पायो नै, सांगीतिक करिअरले पनि गगनलाई माथ गर्दै गयो ।
०५६ सालमा उनले पहिलो गीत रेकर्डिङ गरे, ‘निर्दोषी मायालुलाई ।’ उनकै शब्द र पवित्रजंग खालिङले संगीत भरेको उक्त गीतले प्रमोदको पहिलो तिर्खा मेट्यो ।
त्यसपछि डोरेमीकै कोरस, फाट्टफुट्ट राष्ट्रिय गान, कलेक्सन एल्बममा गाउँदै स्वर उजिल्याउँदै लगे ।
५० कै आधाआधी दशकबाट गीत–संगीतमा उकालो चढेको भए पनि एल्बम निकाल्न कहिल्यै हतारिएनन् उनी । हिट, कन्सर्टतिर ध्यानै गएन । स्वरमै निखार ल्याउनुपर्छ भन्ने लागिरह्यो ।
पहिलो ‘अटोग्राफ’
बीएस्सी अन्तिमतिर थिए उनी । रामकृष्ण ढकालको ‘डाइहार्ट फ्यान’ । कक्षा कोठामा समय मिल्नै हुँदैनथ्यो । ‘ओराली लागेको....’ गाइहाल्नुपर्ने । ‘वर्षातमा उनी रुझ्दा’ सुनाउँदा भोकप्यास बिर्सन्थे साथीहरू ।
एकदिन कक्षामा ‘गल्ती हजार हुन्छन् यहाँ होस हराएका बेला...’ गाउँदै थिए । एकजना सहपाठी तीन–चारवटा बेन्च नै नाघेर अगाडि हुत्तिँदै आइपुगे र भने, “अटोग्राफ, प्लिज !”
“आफ्नै साथीसँग पनि यस्तो एक्साइटेड हुनुपर्छ त ?” केटीहरू खित्का छाड्न थाले ।
“यस्तो क्रेज !” केही क्षण त भावविह्वल बने उनी ।
त्यो नै उनको सांगीतिक करिअरको पहिलो ‘अटोग्राफ’ थियो ।
० ० ०
०५८ साल । एमएस्सीको प्रवेश परीक्षा दिनुपर्ने तर उनको प्रार्थना थियो– नाम ननिस्कियोस् !
किन ? प्रश्न सुन्नासाथ उनको अनुहारमा हाँसो घामझैं फैलियो ।
“गीत–संगीतको मोहले अवर्णनीय तानिरहेको थियो,” जवाफ दिन्छन् उनी ।
‘ड्रिम्स स्टुडियो’मा एउटा राष्ट्रिय गीत रेकर्ड गरेर परीक्षा हलमा पुगे । गार्ड भन्छन्– १५ मिनेट ढिला हुनुभयो ।
बेपर्वाह छन् उनी । कारण– उनलाई प्रवेश परीक्षा उत्तीर्ण गर्नु नै छैन । मन नलागी–नलागी परीक्षा दिएर बाहिर निस्किए । ९० जनाको सिट थियो । झन्डै ४ सय प्रत्यासी थिए । अचम्म ! उनको नाम त ७७ औं नम्बरमा पो निस्कियो !
पास हुनेहरूको सूची पढेर बाहिर निस्किन्छन् त बाहिर गेटमा सहपाठी छात्राहरू फेल भएर भक्कानिइरहेका छन् । कक्षाका अब्बल छात्रा थिए ती । बल्ल पास भएकोमा खुशी भए उनी । अरुको पीडा देखेर पास हुनुको खुशी बोध भयो उनलाई ।
त्यसको केही समयपछि कलेजले नव–प्रवेशी विद्यार्थीलाई स्वागत कार्यक्रम आयोजना गरेको थियो । व्यवस्थापक थियो– एमएस्सी दोस्रो तह । एमएस्सी दोस्रो वर्षका केही विद्यार्थीहरूले सांगीतिक प्रस्तुति देखाउने कार्यक्रम पनि रहेछ ।
सहपाठी भन्न थाले, “प्रमोदलाई पनि गीत गाउन दिनुपर्छ ।”
आयोजकले भने, “खै ! पालो आउँछ कि आउँदैन ! दोस्रो वर्षका थुप्रै विद्यार्थीले नाम टिपाएका छन् ।”
९० विद्यार्थीमध्ये आधा त त्रिचन्द्रकै हुँदा हुन् । प्रमोदका साथीहरूले अड्डी कसे, “नत्र हामी कार्यक्रममा बस्दैनौं ।”
सहपाठीले आयोजकलाई अनुरोधै गरेर मञ्चमा के गाउन लगाएका थिए— चारवटा गीत नगाई मञ्चबाट ओर्लिनै पाएनन् । “अन्तिममा आफ्नै कन्सर्टजस्तो पो भयो !” ओठबाट खित्का छुट्छ उनको ।
० ० ०
बीएस्सीको आधाआधीदेखि नै उनले एल्बमको काम गरिरहेका थिए तर निकालिहाल्ने आँट थिएन । पैसाकै कारणले भन्दा हुन्छ । तर, ०६० सालमा एमएस्सी तहको अध्ययन उत्कर्षमा पुगेपछि उनले ‘प्राप्ति’ एल्बम निकाले ।
“झन्डै डेढ लाख लाग्यो । पहिलो एल्बम नै मेरो सबैभन्दा महँगो एल्बम बन्न पुग्यो । आफ्नोमात्रै खर्चले त के धान्थ्यो ! सबै साथीहरूले पाँच सय, हजार सहयोग गरे,” सहपाठीप्रति अनुग्रहित पनि छन् उनी ।
कालीप्रसाद रिजाल, रमण घिमिरे, न्ह्यू बज्राचार्य, आलोक श्री, राजु सिंह, सचिन सिंह, नारायण ओलीलगायत नाम चलेका संगीतकारले संगीत दिएका छन् त्यसमा । यो नै उनको पहिलो सोलो एल्बम हो । ९ वटा गीत संगृहीत छन् त्यहाँ ।
आर्यन सिग्देल र प्रमोद खरेलले एकैसाथ त्यही एल्बमबाट म्युजिक भिडियोमा ‘डेब्यु’ गरेका हुन् ।
यो गीतले मिडियामा नाम त दियो तर मासमा खासै चिनाएन । पप स्वादको दोस्रो एल्बम ‘सेन्टिमेन्ट्स’ निकालेपछि भने प्रमोदको आयतन बढ्यो ।
सङ्घर्षको मुर्च्छना
एल्बम निकालिसके तर चर्चा कतै हुँदैन । एकदिन गायक–संगीतकार साथीहरूको जमघटमा गएका थिए । त्यहाँ त सबै साथीहरू आ—आफ्ना गीत काउन्टडाउनमा परेको भन्दै उफ्रिरहेका !
प्रमोदले भेउ पाएनन् । काउन्टडाउनबारे थाहा पाउन टेलिभिजन चाहिन्थ्यो । उनको कोठामा टेलिभिजन थिएन । काउन्टडाउनमा पर्न म्युजिक भिडियो चाहिने थाहा पाएपछि भिडियो छायांकन गरे उनले । आफ्नै खर्चमा । उषा पौडेलसँग उनले भिडियो बनाए ।
दोस्रो एल्बम बजारमा आएपछि एकदिन इमेज एफएमले अन्तर्वार्तामा बोलायो । पुतलीसडकबाट हिँड्दै लैनचौर पुगे । हिँड्दाहिँड्दा बाटैमा जुत्ता फाट्यो । सोलै उक्किएछ ! पैसा जोगाउन पैदल हिँडेको, झन् खर्च बढ्यो । अन्तर्वार्ताका लागि बोलाएको समय भइसक्यो, बाटामा जुत्ता सिउने सूचीकार (मोचे) नै भेटिँदैनन् । टेम्पो चढेर मोचे नियाल्दै हिँडेका थिए, शिक्षण अस्पताल पो पुगेछन् ! गायन–सङ्घर्षका यस्ता अनेक किस्सा छन् उनका ।
पढाइले लुगा निचोरिएझैं निचोरिएका थिए उनी । ग्ल्यामरस दुनियाँमा लामो समय भिज्नै सकेनन् । साथीहरू भन्थे, “कस्तो सेन्टी ?”
एमएस्सीको कडा पढाइ । पाठ्यपुस्तकबाट पर्तिर मन डुलाउन पाइँदैनथ्यो । टिठलाग्दो देखिन्थे उनी । साथीसर्कलमा सुन्थे– घमण्डी । चित्त काढिन्थ्यो उनको । यसबाट पार पाउन खुबै पापड बेल्नुपर्यो उनले ।
“पपले आधुनिक गीतलाई थिचेको अवस्था थियो । सुगम पोखरेल, अनिल सिंह, सुदीन पोखरेललगायत गायकहरू पिकमा थिए । शुरू–शुरूमा मचाहिँ चल्न सकिनँ,” विगततिर फर्कन्छन् उनी ।
त्यसबाहेक उनले आफ्नो जानरा पनि चिन्न सकेनन् । उनको गायन–कलामा रामकृष्ण ढकालको छाया थियो । ‘प्राप्ति’ पछि भने उनले आफ्नो स्वरको ‘टेक्स्चर’ पत्ता लगाए । र, ‘हाइरेन्ज’का गीतहरूमा अनुबन्धित हुँदै गए ।
उनले जानरा बदलेर ‘हाइरेन्ज’का गीत गाउँदै थिए, संगीतकार महेश खड्काको सम्पर्कमा पुगे ।
प्रमोदले हाइरेन्जको गीत गाउँछन् भन्ने थाहा पाएका महेशले शुरूमै एउटा चलचित्रको गीत प्रस्ताव गरे । जीवनै संगीतसँग एकाकार गराइसकेका प्रमोदले नाइँ किन भन्नू ! उत्साहित देखिए ।
‘पलपलमा’ चलचित्रको शीर्ष गीत थियो त्यो– ‘त्यो अँगालोभरिको माया...।’ रेकर्डिङमै हिट भयो त्यो गीत । चलचित्र आउनपूर्व नै तरंग ल्याइसकेको थियो त्यसले । त्यसपछि भने उनले पाश्र्वगायनबाट पछाडि फर्कनु परेन ।
“पाश्र्वगायनले नै हो मलाई गायक बन्ने अभिप्सा जगाएको,” अझै पुलकित देखिन्छन् उनी । आजसम्म २ सयभन्दा बढी चलचित्रका गीत गाएका छन् उनले ।
उचाइमा पुर्याउने त्यो पोखरा...
स्टुडियोमा अभ्यस्त भए पनि संगीतमा सफलताको स्वाद चाखिसकेका थिएनन् । चिकित्सक बन्ने चाहना पचासकै दशकमा बिसर्जन गरिसके पनि मनमा ‘डक्टरेट’को लक्ष्य जीवितै थियो । कहिलेकाहीँ मनमा उछाल पैदा हुन्थ्यो— पीएचडी गर्न बाहिर जाऊँ कि क्या हो !
तथापि उद्देश्य बदलेर हिँडिहाल्न भने सक्दैनथे उनी ।
चलचित्र पत्रकार संघको पहिलो सम्मेलन पोखराको सिटी हलमा आयोजना भएको थियो । प्रमोद पनि गएका थिए त्यहाँ । त्यहीँका रैथाने गीतकार शीतल गिरीले महेशलाई घरमै लगेछन्, कास्कीकोट ।
पानी झमझम परिरहेको । डाँडामा रहेछ घर । डायरी नै लिएर पाना पल्टाए तर एउटाबाहेक अन्य गीतमा मन गएन । मन परेको गीतको भने पानै च्यातेर ल्याएछन् उनले ।
काठमाडौं आएर कम्पोज भयो । तर, कुनै चलचित्रले राख्न मानेनन् । चोभारमै सबै सुटिङ सिध्याउन बानी परेकालाई पोखरा पायक पर्ने कुरै भएन । अलपत्र थियो गीत । गीतकार डा. कृष्णहरि बरालकी छोरीको विवाहको दिन त्यस गीतको चर्चा भयो ।
प्रमोद एल्बमको तयारी सकेर बसेका थिए । सबैले ‘त्यो गीत किन नराखेको ? खत्रा छ त !’ भनेपछि उनको पनि ध्यान खिचियो ।
कोठामा आएर पल्टिन्छन्, निद्रै लागे पो ! भोलिपल्ट महेश खड्कालाई गएर भने, “पोखरावाला गीत मै गाउनुपर्छ कि क्या हो ?”
महेशले पनि ‘आ ! त्यो गीत अर्कैले गाउँछ, तिमी आफ्नो एल्बमको तयारी गर न !’ भन्दै शुरूमा त आनकानी गरेका थिए । संयोगै आइसकेपछि कसरी उम्कन्थ्यो ! तिनै प्रमोदले गाए— ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा !’
त्यही शीर्ष गीतसहितको ‘प्रणय’ एल्बम ०६७ वैशाख १ गते कान्तिपुर एफएमबाट रिलिज भयो । सातादिन नबित्दै गीत हिट भयो । अनामनगरको बाटो हुँदै पुतलीसडकको बाटो आउँथे । तरकारी पसलमा त्यो गीत बजेको सुन्दा उनी जुरुकजुरुक् भए ।
‘पलपलमा’को ‘त्यो अँगालोभरिको माया..’, ‘बाँचेको थिएँ..’ गीतले उनको सांगीतिक आलोक फिँजिइसकेको थियो । ‘मबिना कसैकसैलाई मुस्किल छ पोखरामा’ आएपछि करिअरको सगरमाथामा पुगे प्रमोद । तिनताक कलेज पढाउँथे । कक्षा पस्न गाह्रो हुन थाल्यो । केही वर्षअघिसम्म प्रमोसन पछ्याउन भौंतारिने प्रमोदलाई प्रमोसन आफैंले पछ्याउन थाल्यो ।
आफ्नै सफलतामा आस्वादित हुन नसकिरहेका प्रमोद ‘सेलिब्रिटी’ बने । कन्सर्ट र महोत्सवमा ‘वान्समोर’को नाद धाराप्रवाह गुञ्जिरह्यो । आजसम्म एउटाबाहेक सबैजसो कन्सर्टमा दुई–तीन पटकसम्म गाएका छन् उनले त्यो गीत ।
“त्यो गीतमा एक लुप्त चिज छ, जसले युगौंसम्म जीवित तुल्याइरहन्छ । कहिलेकाहीँ त मलाई लाग्छ– यो गीत भर्खर रिलिज भएको हो,” उद्विग्न देखिन्छन् उनी ।
थरीथरीका फ्यान
दोस्रो एल्बम आएदेखि नै एकजना प्रशंसक थिइन् उनको । असाध्यै ‘क्रेजी’ ।
आफ्नो नाममा प्रमोद जोडेकी उनले निरन्तर पछ्याइन् र नियमितजसो फोन गरिन् । हरेकजसो भेटमा सम्झाउँथे उनले ।
पछि अमेरिकाको भिसा लाग्यो उनको । अमेरिका उड्ने दिनसमेत फोन गरेर भनिन् रे, “हजुरले स्वीकार्नुभयो भने म अमेरिका जान्नँ, एअरपोर्टबाटै फर्किन्छु !”
केही दिनअघि बर्दियामा त्यस्तै घटना भयो । कन्सर्टमा गीत गाइसकेर गाडीमा फर्किंदै थिए । एकजना प्रशंसक बाटो छेकेर सुते । फसाद पो आइलाग्यो !
सुरक्षाकर्मीले उठाएर सोध्छन् त उनी भन्दा रहेछन्, “मेरी गर्लफ्रेन्ड प्रमोद खरेलकी फ्यान हुन् । उहाँसँग एउटा सेल्फी खिचाइदिनुस् न !”
१० मिनेट पर्खिएर ती युगल जोडीसँग सेल्फी खिचेर फर्किए उनी ।
त्यसबाहेक हातमा प्रमोदको ट्याटु खोप्ने, भेट्नेबित्तिकै डाँको छाडेर रुने, अत्ताल्ल्निे, फेसबुकमा प्रमोदको नाम जोडेर खाता खोल्ने शुभचिन्तक कति छन् कति ।
“यी सबै स्वरले जोडेका नाता हुन्,” गर्व महसुस गर्छन् उनी ।
क्रिकेटको विकास गर्ने सोच
झन्डै २ हजार गीतमा आवाज दिइसकेका प्रमोदले जीवनमा पीएचडीको ढोका खुलै राखेका छन् । त्यसबाहेक उनी क्रिकेटको विकासका लागि दिलोज्यान दिएर लागिपरेका छन् । क्रिकेटको विकासका लागि क्यानसँग मिलेर क्यानको ‘एन्थम’ बनाएका थिए । क्रिकेटको प्रत्यक्ष प्रसारण हुँदा त्यो गीत सधैं गुञ्जिन्छ ।
पछिल्लो समय हास्य कलाकार सीताराम कट्टेल (धुर्मुस)लगायतसँग मिलेर क्रिकेट रंगशाला बनाउने सोच पालेका छन् । त्यसबाहेक क्रिकेट एकेडेमी खोल्ने र खेलाडी उत्पादन गर्ने दीर्घकालीन सोचसमेत छ उनको ।
कुराकानी बिट मार्नुपूर्व उनले केही आफ्नो रहस्यको कुम्लो फुकाए ।
गीतियात्रामा अप्ठ्यारो–सप्ठ्यारो बेहोरेका गायक प्रमोद पछिल्लो समय किताब लेखनमा व्यस्त छन् । आधाआधी त लेखिसकेका पनि छन् ।
कस्तो किताब आउला त ? आख्यान कि गैरआख्यान ?
प्रश्न बीचमै रोकेर उनले प्रष्ट्याए, “यो विशुद्ध अनुभूति हुनेछ । साथमा आफूले भोग्दै यहाँसम्म आएको जीवनको शब्दकथा त हुने नै भयो !”
केही समयअघि चुनाव भयो । वामपन्थी गठजोडले झन्डै दुईतिहाइ मत प्राप्त गर्यो । अहिले मुलुकमा वामअधीनस्थ सरकार छ । सत्ता–सदन, गाउँ–नगरका सबै तहमा उनीहरूकै हालीमुहाली छ ।
आश्वासनका रिकापीमा समृद्धिको सुस्वादु केक तयार छ । मनलाग्दी आस्वादित हुन सकिन्छ । मोनोदेखि मेट्रो रेलसम्मका योजना मल्टिप्लेक्सका पर्दामा सल्बलाइरहेछन् । गफै सही— समुद्रमा नेपाली झन्डावाहक पानीजहाज हुइँकिन तम्तयार छन् । आँउदो ५ वर्षभित्र समुन्नतिले सगरमाथा चुम्छ !
३० को दशकदेखि जनताका दुःख–पीडा गाउँदै हिँडेका जीवन शर्माको मन यतिबेला खुशीले आह्लादित हुनुपर्ने हो । कारण— उनैका गीत सुनेर ‘कम्युनिस्ट’ बनेका कतिपयले सत्ताको डाडुपन्यु समाएका छन् । तर, झनै निराश छन् उनी ।
“यौ मौनता सुनामीअघिको सन्नाटा हो । समाज गतिशील छ, विद्रोह ढिलोचाँडो निम्त्याउँछ नै,” ओठबाट खस्रो सुस्केरा छुट्छ ।
परिवेष्ठित भू–खण्ड । समुद्र दूरको कुरा । ज्वारभाटा झनै टाढाको कुरा हो हाम्रा लागि ।
तर, कोटि जनताका आँखामा पीडाका आँसु छचल्किइरहेका छन् । हातमुख जोड्नकै लागि खाडीमा बगेका छन् पसिना । तिनका परिवारजनको आँसुको भेल । उत्पीडन र दलनको जाँतामा निर्मम पिसिन अभिशप्त । भरदिन भारी बोक्दा पनि चुह्लो तताउन असमर्थहरूको आँसुको खोल्सो समुद्रभन्दा चर्को हुने र विद्रोहको सुनामी निम्त्याउने ठोकुवा गर्छन् उनी ।
जीवन शर्माले परिवर्तनको सुसेली हाल्न शुरू गर्दा जुँगाका रेखी बसेका थिएनन् । अहिले तालुमाथिका रौं गन्न सकिन्छ । काँसजसरी कपाल फुलिसक्यो । अनुहारका बाक्ला धर्साले ठुल्ठूला सङ्घर्षको गल्छेँडा छिचोलेको आभास हुन्छ । दृष्टि पातलिएर होला धूमिल देखिन्छ आकृति पनि ।
तर, पनि परिवर्तनको यात्रामा अविचलित छन् उनी । किन ?
“समाजको गति र लयलाई पकड्न नसक्ने हो भने जीवनको दुर्गति अनिवार्यजस्तै छ,” गहिरो निःस्वास छाड्छन् ।
० ० ०
बाग्लुङ पुख्र्यौली घर । पाइ भन्ने सानो गामल । सुखी–समृद्ध परिवार । पिता चन्द्रदत्त उपाध्याय, प्रधानपञ्च । घरमा राजनीतिक गफ हुने नै भयो ।
पुस्तैनी जमिन्दार । बाबु गाउँको तालुकदार पनि भएकाले गरिब, निमुखाहरू बिन्ती बिसाउन आइरहन्थे । तिनको करूण याचना, जीवन भोगाइका दारूण सङ्घर्षसँग बालखैमा चिनापर्ची भयो ।
निर्धनका अकिञ्चन आँसु, विदारक चीत्कार जीवन बुझाइका पाठशालामात्रै बनेनन् चेतनाको चिराग बनेर अन्तर्मनमा प्रज्ज्वलित भइरह्यो । तिनैले त हुन् उनलाई परिवर्तनको मार्गमा हमेसा डोहोर्याइरहने । र त, भीर–पहरामा जीवन खोजिरहेका तिनैका आँसु–पसिनाका ढिक्का टिपेर गीत–संगीतका मोती बनाए उनले ।
बाबु गाउँको जिम्मालमात्रै थिएनन्, नामुद पण्डित पनि । आधा–बिहान त न्यासध्यानमै बिताउँथे । श्रीमद्भागवत, गीताका श्लोकादि वाचन गर्ने, धार्मिक–प्रवृत्त, पण्डितज्ञका छोरा । कम्युनिस्ट विचारधारातिर लहसिएको कहाँ मन पराउनू ? तर, पत्तै नपाई कम्युनिस्टतिर आशक्ति बढ्यो ।
घरमै ‘कखरा’ सिके । प्रवेशिका परीक्षाचाहिँ सकुर्वाको जनता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् उनले । पढाइमा प्रतिभाशाली, विलक्षण थिए । सुनेका कुरा टपक्कै टिप्ने र वर्षौं नबिर्सने तीक्ष्ण थियो दिमागी–चेत ।
घरमा सांगीतिक माहोल थियो । बाबु हार्मोनियम बजाउँदै भजन–किर्तन गाइरहने । आमाको स्वर उस्तै जादुयी थियो । घाँस–दाउरा गर्न वनउपवन जान्थिन् । गीत गाएको आवाज घरमा समेत सुनिन्थ्यो । ‘कोकिल–कण्ठी’ भन्थे सबैले । विरासतमै पाए गीत–संगीत ।
गीत–संगीतसँग सान्निध्यता पाएपछि गीतको क्षुदा आफैंभित्र पनि जगाए उनले । बाँसझ्याङमा गएर राम्रो बाँस छान, चुप्पीले ताछ, घरमा आएर आँसीको पारो तताऊ, मिलाएर बाँस खोप र बाँसुरी बनाऊ । यसरी उनी सांगीतिक तिर्खा मेट्थे । प्रकारान्तरले यही कृत्यले उनलाई ‘जन–गायकको’ उपमा थमायो ।
भिनाजु हरिप्रसाद सुब्बा, पश्चिममै तिनको प्रसिद्धि थियो । बरोबर घरमा आइरहन्थे । उनको कुराकानीमा परिवर्तनको बाछिटा यदाकदा देखापथ्र्यो । तर, बाबु त्यसको विरोधी खेमाका । मूलतः राजावादी थिए उनी । राजसंस्थालाई उन्नतिको साधक बन्ने ऊबेलाकै राजनीतिक चेतना थियो पिताजीको । तर, त्यसको विपर्याय निस्किए उनी ।
देश पञ्चायती कालकोठरीमा । जनअधिकार सबै राजाको बाहुलीमा । जनजीविकाका सबै अवयममा उनको हुकुम र तजबिज चल्थ्यो । हाइस्कुलमा पढ्दाताका गुरुहरू किताबमात्रै होइन, परिवर्तनको पाठसमेत पढाउँथे । उनीहरूको आवाजमा देश र जनताको मुक्तिको सपना सन्निहित हुन्थ्यो ।
पञ्चायत फाल्न र ढाल्न मसाल बाल्न अभिप्रेरित गरिरहन्थे । देश जनताको सर्वांगीण विकासको बाधक बनेको पञ्चायतको समूल अन्त्यका लागि विद्यार्थी आन्दोलन साधक बन्नुपर्ने तर्क गरिरहन्थे ।
दिमाग तरङ्गित हुन थाल्यो । र, मथिङ्गलमा जनवादी क्रान्तिको फिलिंगो पो नाच्न थाल्यो । कक्षा ७ पढ्दा नै अनेरास्ववियूको विधान र प्रतिवेदन पढ्ने मौका पाए ।
“ओछ्यानमुनि लुकाएर तीन दिनमै पढिभ्याएको थिएँ,” उनी सम्झन्छन् ।
त्यसबाहेक ‘द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद’ किताब पनि त्यतिबेलै पढेका हुन् उनले । त्यसले जनवादी क्रान्ति र वर्ग–संघर्षका आयामहरूलाई परिभाषित गर्न मद्यत दियो । समाजका दुःख, पीडा सँगालेर शब्दमा उतार्न बल पुर्यायो ।
मोदनाथ प्रश्रितकृत नाटक ‘आमाको काखमा’सँगै ‘५० रुपैयाँको तमसुक’ र ‘देवासुर संग्राम’ कविता पढेपछि माक्र्सवादी सौन्दर्यचेत अझै व्यापक भयो ।
“दुःखी र गरिबका लागि आइपरेको खण्डमा जीवन उत्सर्ग गर्न पछि हट्नु हुँदैन भन्ने विचार गहिरिँदै गयो,” अहिले सम्झँदा पुलकित हुन्छन् उनी ।
कक्षाको प्रथम छात्र । उनले भनेपछि अरू विद्यार्थीले नाइँनास्ती गर्दैनथे । त्यतिबेला ‘वेदना परिवार’ गीत बाग्लुङमा खुब सुनिन्थे । मेलापात, भारोपर्ममा तिनैका गीत गुञ्जन्थे ।
कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर
चाँडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर !
तिनताक उनले पनि गीत रचना गरेका थिए । सारंगी बोकेर गुनगुनाउँदै हिँड्थे । यी गीतहरूले सामाजिक जागरणको काम गर्यो । पञ्चायती व्यवस्थाले ठिँगुरा ठोकिएकाहरूमा उमंगको नूतन लहर सिर्जना गर्यो ।
पाइ गाउँ, मगरबहुल क्षेत्र । एकाध घरमात्रै छन् ब्राह्मणका । मगर समुदायका अधिकांश तन्नेरीहरू कि भारतीय सेनामा कि त बेलायती फौजमा, नभए सिंगापुर प्रहरीमा भर्ती हुन जान्थे । घरमा महिलामात्रै । भएका पुरुष पनि बूढाखाडा । उनका गीत सुनेर धरधरी रुन्थे मगरस्त्रीहरू ।
जनै लाओस्, टुप्पी पालोस्, दौरा–सुरुवाल लगाएर पण्डित्याइँ गर्दै हिँडोस् भन्ने बाबुको चाह । तर, उनी सारंगी बोकेर पञ्चायतविरुद्ध आन्दोलनको आँधी ल्याउन हिँडे । घरमा रुचाइने कुरै भएन ।
“यसरी गीत गाउँदै हिँड्ने होइन । सरकारले पक्रिन्छ । जेलमा लगेर कोच्छ । झ्यालखानामै सड्लास् नि !” बाबुले ढोका गजबार नतेस्र्याएका होइनन् । तर, मनभित्र परिवर्तनको हुन्डरी आइसकेपछि स–साना अवरोधले कहाँ अडिन मान्छन् र खुट्टा । विगुल फुक्न छाडेनन् । शासन–व्यवस्थाविरुद्ध नै बागी बाटो हिँडिसकेकाले बाबुको इच्छाविपरीत पैताला उठाउन अप्ठ्यारो भएन ।
० ० ०
०३४ सालमा ६८ प्रतिशत ल्याएर प्रवेशिका उत्तीर्ण भए उनी । बाबुको पहिलो इच्छा थियो– पण्डित बनोस् । त्यसलाई तिलाञ्जली दिइसकेकाले उनको दोस्रो इच्छा थियो– इन्जिनियर बनोस् ।
काठमाडौं आएर पुल्चोक क्याम्पसमा भर्ना भए तर आन्दोलनको आँधीबेहरी चल्यो ।
सन् १९७९ मा पाकिस्तानमा राष्ट्रपति जुल्फिकार अली भुट्टोलाई प्राणदण्ड दिइयो । भुट्टोको फाँसीविरुद्ध नेपालस्थित पाकिस्तानी दूतावास घेर्न पुगेका विद्यार्थीमाथि प्रहरीले व्यापक धरपकड गर्यो । परिणामस्वरूप ०३५–३६ सालको आन्दोलनको उभार आयो ।
दमनको विरोधमा विद्यार्थीले अस्कल क्याम्पसमा विरोधसभा आयोजना गरेको थियो । प्रहरीले त्यहाँ पनि वितण्डा मच्चायो । अस्कलको छतछतबाट विद्यार्थीलाई सडकमा फाल्न थाल्यो । कतिका हात भाँचिए । कति अंगभंग भए ।
उनी दौड्दै अस्कल क्याम्पसका भुइँतलामा पुगे । संयोगवश कुखुरा पाल्ने खोर रहेछ । त्यहीँ पसेर सुरक्षाकर्मीबाट छेलिए । ज्यान बच्यो ।
त्यो घटनाले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । पढाइ बीचमै अलपत्र छाडेर पूर्णकालीन राजनीतिमा होमिए । गाउँ–गाउँमा गीत गाउँदै परिवर्तनको लहर पैदा गर्न हिँडे । लीलामणि पोखरेलले नेतृत्व गरेको अनेरास्ववियू छैटौंमा आबद्ध थिए उनी ।
० ० ०
०३४–३५ सालतिर काठमाडौंबाट घर जाँदै थिए । साथमा गितार पनि थियो ।
पर्वत हुँदै घर जानुपर्ने बीचमा कार्कीनेटा पुग्ने ठाडो उकालो । ज्यान बिसाउँदै उकालो चढ्दै थिए । चौतारीमा एकजना वृद्ध भेटिए । खोटाङतिरका हुनुपर्छ, राई रहेछन् । पसलको भारी बोकेर नाक ठोक्किने उकालो चढेका !
खप्लक्क गालाभित्र पसेको । आँखा मुनीका डाँडी अस्वाभाविक उठेका । थाप्लोमाथि नाम्लोले बसालेको गहिरो खाडल । विद्रूप थियो उनको हविगत । जीवनलाई देख्नेबित्तिकै डाँको छाडेर पो रुन थाले ।
टोपीले मुख छोप्दै आँसु झार्दै, करिब सवा घण्टा उनले दुःखको पोयो फुकाए होला । उनको गरिबको पहाड कार्कीनेटाको उकालोभन्दा चर्को रहेछ । आँसुले के छिचोलिन्थ्यो !
पसिनाको कालीगण्डकी बगाउँदा पनि चुह्लो तताउन नसकेको विरह सुन्दा उनको दिमाग खज्मजियो । वृद्धसँग बिदा मागेर उकालो त चढे तर दिमाग प्रकम्पित भइरह्यो । अचम्म ! कार्कीनेटा पुग्दा त गीत पो तयार भइसकेछ !
‘सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको !’
यही गीत गाउँबस्ती सुनाउँदै हिँड्न थालेपछि उनको चर्चा चुलियो ।
गीतमा ग्राम्य लय । आँसुको संगीत । पसिनाको सौन्दर्य । माटोको स्पन्दन । दुःख–पीडाका मुर्च्छना । सत्ताउन्मादले निम्त्याएका घटना । शासन–कुशासनका आक्रोश उनका गीतिमानक बने । अझ भनौं— उनका गीत सुनेर कयौं मानिस प्रगतिशील विचारधाराको अनुयायी बने ।
त्यसपछि ०३८–३९ सालतिर हुनुपर्छ— उनले अर्को गीत रचना गरे ।
‘सुकेर जाँदैन रोकेर रोकिँदैन
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी
झरनाको चिसो पानी...!’
गीतले भुइँचालो पो ल्यायो । गरिबको पसिना चुसेर राज्यसत्ताको तर मार्न पल्किएका र तिनका अनुचरका निधारमा चिटचिट पसिना आयो । गीत गाउन प्रतिबन्धित भए उनी । बन्दुकले कहाँ टालिन्छन् विचार ! लुकिछिपी गाइरहे !
० ० ०
बागी बाटो हिँडेको । बाबुसँग खर्च मागेर कतिन्जेल गीत गाउनू ! ०३६ सालको परिवर्तनपछि चरम आर्थिक संकट भयो उनलाई । आईईको पढाइ पनि अलपत्रै पर्यो । “के गर्ने त ?” बिलखबन्दमा पर्दै थिए । उपाय सुझियो– स्कुलमा पढाउने ।
मुस्ताङमा नाताले भिनाजु पर्ने माध्यमिक निरीक्षक भएको सुनेका थिए । त्यतै लागे उनी । टुकुचे ।
“किन इन्जिनियरिङको पढाइ छाडेर आ’को ?” शुरूमा त झाँको भिनाजुले पनि झारे । पछि त्यहीँ जागिर लगाइदिए उनले ।
त्यस्तै डेढ वर्ष पढाएपछि मुस्ताङ–मोह पनि चिसियो । फर्किएर घरै आए । घर आउँदा बहिनीको विवाहको कुरा चल्दै रहेछ । अलिकति पैसा पनि कमाएका थिए । सर्लक्क बाबुको हातमा हालिदिए । २२७ रुपैयाँ नियमित तलब । गणित, विज्ञान पढाउने भएकाले दोब्बर पाउँथे उनले ।
“इन्जिनियर पढाउन पठा’को छोरो, कहिले गीत गाउँदै हिँडेको छ, कहिले मास्टर बन्छु भनेर मुस्ताङ गएको छ, बुबाको अनुहार झनै पो अँध्यारो भयो,” मच्चिएरै हाँस्छन् जीवन ।
केही समय घरमा बस्न थालेका । गाउँ–गाउँबाट खबर आउन थाल्यो । जहाँ गणित, विज्ञान शिक्षक खाँचो पर्थ्यो । उनैलाई खोजी गर्थे । अतः केही समय उनले गाउँकै विद्यालयमा अध्यापन गरे । त्यहाँ पनि दीर्घ समय काम गरेनन् । दुई वर्षपछि उनी पुनः सोलुखुम्बुको खुम्जुङ पुगे । अध्यापन नै गर्न ।
सगरमाथा उभिएको गाविस । चित्ताविहारी ठाउँ । दोब्बर तलब हुन्थ्यो । त्यसमाथि सर एडमन्ड हिलारीले स्थापना गरेको ‘हिमालयन ट्रस्ट’ले पनि थपिदिन्थ्यो । जिम्मी कार्टरसँग त्यहीँ भेट भएको हो उनको । सन् १९७७ मा अमेरिकी राष्ट्रपति पनि बने कार्टर ।
मंसिरदेखि फागुनसम्म हिमवृष्टिका कारण बन्द हुन्थ्यो विद्यालय । गीत–संगीत रचना गरेर बिताउँथे त्यो समय ।
“सुमनोहर ठाउँ थ्यो, त्यहीँ बसेका बेला सबैभन्दा बढी गीत लेखेँ,” सम्झिन्छन् उनी ।
इन्जिनियर बन्ने सपना ०३५–३६ को आन्दोलनले तुहाइदिएपछि धार बदलेका थिए उनले । तर, खुम्जुङमा केही समय व्यतीत गरेपछि अध्ययन अपूरो भएको प्रतीत भयो । र, काठमाडौं नै फर्किए । त्यसपछि त्रिचन्द्र कलेबाट दर्शनशास्त्र, राजनीतिशास्त्र र अंग्रेजीमा स्नातक उत्तीर्ण गरे । लगत्तै त्रिभुवन विश्वविद्यालयबाट ०४४–४५ सालमा मानवशास्त्र र अंग्रेजीमा स्नातकोत्तर तह पूरा गरे । ततपश्चात् गाउँ फर्किएर स्कुलको प्रधानाध्यापक बने ।
शनिबारको दिन बिहानपख घाँसको भारी बोकेर गोठमा आइपुगेका मात्रै थिए, घरका मान्छेले अताल्लिँदै सुनाउँछन्, “घरभरि प्रहरी छन् ।”
“बिराउनु न बिगार्नु, केको प्रहरी ?” अनौठो मान्दै भारी बिसाएर आँगनमा पुग्छन् । दुई जना प्रहरी पुर्जी तेर्स्याउँदै भन्छन्, “डीएसपी सापले बोलाउनुभा’छ । सर बाग्लुङ हिँड्नुपर्यो ।”
अर्का शिक्षकलाई पनि काटिएको रहेछ पुर्जी । दुई जनालाई नै समातिहाले ।
तर, धेरै हिरासतमा लिएनन् । दुई दिन लगाएर प्रमुख जिल्ला अधिकारी, अञ्चलाधीशसम्मले केरकार गरे, “आइन्दा गीत गाउन नहिँड्नू, पञ्चायतविरूद्ध पनि नलाग्नू ! शिक्षक भएर बच्यौ !” चेतावनी दिँदै तारिखमा छाडिदिए ।
१५–१५ दिनमा तारिख धाइरहनुपर्ने । हैरान भएपछि एकदिन सीडीओलाई भने, “यसरी भएन, कि थुन्नूस्, कि तारिख नदिनूस ।”
सीडीओले ‘हुन्छ’ त भनेका थिए तर हप्ता–दश दिन नपुग्दै फेरि पक्राउ पुर्जी काटेछन् ।
वाक्क भएर प्रधानाध्यापकको जागिर त्यहीँ बिसाएर जनताकै गीत गाउन हिँडे ।
सजिलो बाटो छाडेर अप्ठ्यारो बाटो हिँडेपछि सुख के पाइन्थ्यो ! प्रशासनको आँखाको तारो भए उनी । पक्रिएर ल्याउनेलाई ५० हजार इनाम दिने घोषणासमेत गर्यो स्थानीय प्रशासनले । समात्न सहयोग पुर्याउनेलाई पनि ५ हजार पुरस्कार दिने सूचना टाँस गरेको थियो ।
तर, के धनी, के गरिब— सबैका प्रिय थिए जीवन । गाँस काटेर खुवाउँथे । राति बास बस्न पुगे आफ्नो ओछ्यानमा सुताउँथे । जनताकै सहयोगमा जनतालाई जगाउँदै हिँडिरहे उनी ।
० ० ०
भूमिगत जीवन, अत्यन्त कष्टपूर्ण थियो । कहिले झमझम पानी पर्थ्यो, कहिले टन्टलापुर घाम लाग्थ्यो । प्रशासनको आँखा चौतर्फी फिँजारिएकाले ओत लागेर एक मिनेट उभिन मिल्दैन । दिउँसो एउटा गाउँमा गीत गायो, बास बस्न अन्तै पुगिसक्नुपर्थ्यो । नत्र पक्राउ गरेर जेलमा सडाइहाल्छन् ।
एकदिन गीत गाएर उकालो लागेको गाजको लेकमा आपद आइलाग्यो । ठूलो जंगल, छिचोल्न तीन घण्टा लाग्ने । झमक्क साँझ पर्यो । बडो आपद् आइलाग्यो । बाटो नदेखेर बीचमै हराए उनी ।
यता लाग्यो— पर भीरमा पुगेर टुंगिन्छ । उता लाग्यो, जंगलमा पुगेर सकिन्छ । फुसफुस हिउँ परिरहेको छ तर बाटो भेटिँदैन । हैरान भएपछि बीच जंगलमा गुराँसको फेदमुनि रात कटाए ।
“भीमकाय दुःख गरेर पो जगाएको हुँ त वर्ग–संघर्षको मसाल !” भावुक देखिन्छन् उनी ।
शुरू–शुरूमा एक्लै थिए उनी । ‘रक्तिम सांस्कृतिक अभियान’ गठन गरेपछि भने केही त्राण मिल्यो ।
०४३ सालमा गठन भएको हो ‘रक्तिम सांस्कृतिक अभियान’ । झोकेन्द्र थापा, सुजाता गुरूङ, राधा बुढाथोकी, कृष्ण अर्याल, सीता लामालगायत मिलेर रक्तिम गठन गरेका हुन् ।
“धरहराको फेदमा बसेर समूह गठन गर्ने त भनियो तर नाम जुरेन । त्यसपछि भोलि एक–एकवटा नाम सम्झिएर आउन भनें । भोलिपल्ट मैले नै ल्याएको नाम पो सबैले मन पराए,” सम्झिए उनले, “रक्तिमले सिर्जना गरेका गीतका पछाडि साँचो कथा छ । र, त यतिविघ्न मन पराइएको छ ।”
रक्तिमले निकालेका सबैजसो गीतको रचना उनी स्वयंले गरेका छन् । त्यसबाहेक मणि थापाले रचना गरेका गीत गाएका छन् उनले । थापा रचित ‘फोकल्यान्डको टापुबाट...’ भन्ने गीत असाध्यै रुचाइयो । अर्जेन्टिनाअधीनस्थ फोकल्यान्ड टापु गोर्खा सैनिकको सहयोगमा बेलायतले सन् १९८२ मा कब्जा जमाएको थियो । त्यही लडाइँमा सामेल गोर्खालीको सम्झनामा रचिएको गीत हो– ‘फोकल्यान्डको टापुबाट...’ ।
० ० ०
जीवन शर्मा प्रगतिशील गीतका धरोहर हुन् । संगीतकै माध्यमबाट देश–दुनियाँ ब्युँझाउँदै हिँड्ने शर्माका गीत सुनेर कैयन् मानिस कम्युनिस्ट भए । समाजमा प्रगतिशील चेत बीजारोपण गर्ने शर्मा चार दशकदेखि कम्युनिस्ट आन्दोलनमा अथक सक्रिय छन् ।
उनैका गीत सुनेर प्रगतिशील आन्दोलनमा होमिएकाहरू शासनसत्ताको उच्च ओहोदामा पुगिसके । उनी भने पूर्ववत् सादगी जीवन व्यतीत गरिरहेका छन् । भोकै–अनिँदै गीत गाउँदै हिँड्छन् । लाभका पदको लोभ पनि छैन उनलाई ।
३० को दशकदेखि प्रगतिशील सांस्कृतिक रूपान्तरणको आन्दोलनमा चरुझैं होमिएका शर्माका सपना कति पूरा भए होलान् ?
प्रश्न पूरा सुनिनसक्दै उनको अनुहारको आभा झ्याप्प निभ्छ । भित्तातिर नियाल्न पुग्छन् । अचानक ‘बाजेको सेकुवा’ लेखेको ठाउँतिर पुगेर टक्क आँखा अडिन्छन् ।
“बाजेको सेकुवाको साइन बोर्ड झुन्ड्याउँदै के सबै ठाउँ बाजेकै सेकुवा भइहाल्छ ? त्यस्तै हुन् नेपालका कम्युनिस्ट– साइनबोर्डधारी ! यिनीहरूसँग कम्युनिस्ट झन्डाको चित्र छ तर प्रगतिशील चरित्र छैन ! यिनीहरूबाट हाम्रा अधुरा सपना किमार्थ पूरा हुँदैन,” उनी भन्छन्, “परिवर्तनको मोहमा भौतिक सुख– सुविधा त्यागेर हिँडेको मान्छे । मेरो जीवनकालमा भन्न सक्दिनँ तर ढिलोचाँडो क्रान्तिको आँधी आएरै छाड्छ ! यसकारण कि परिवर्तन शाश्वत् सत्य हो ! ०३५–३६ को आन्दोलन, ०४६ सालमा पञ्चायत पतन, ०६२–६३ मा राजसंस्थाको अन्त्य, गणतन्त्र घोषणा हाम्रो चाहनामा मात्रै भएका हुन् त ? अतः समयसँगै हुन्छ परिवर्तनको हुरी !” यति भनेर उनी आफू हिँड्दै आएको बाटो हिँडे । जागरणको बाटो ।
“म त धेरैपछि नाटक हेर्न आएँ,” श्रम तथा रोजगार मन्त्री गोकर्ण विष्ट बाटैमा भेटिए । सर्वकालीक हाँसो उनको अनुहारको विशेषता हो । फेरि थपिहाले, “राजनीतिले फुर्सदै कहाँ दिन्छ र नाटक–साटक हेर्न !”
ऊर्जामन्त्री छँदा बिजुलीको बिल समयमा भुक्तानी नगर्नेहरूको लाइन काटेर चर्चामा आएका विष्ट श्रम तथा रोजगारमा पुगेपछि अलि सेलाएका छन् । गुमनामै त नभनौँ !
तिनै गोकर्ण शनिबार थापागाउँस्थित कुञ्ज थिएटरमा पुगेका थिए– राजनीतिक विकृति विम्बित ‘अँधेरी नगरी चौपट राजा’को नाट्य–द्रष्टाका रूपमा ।
अलिक पर कमल ढकाल भेटिए । हरेक मानिसका कथालाई किताबमा बदल्न लागिपरेका ढकालले ‘घोस्ट राइटिङ’ खोलेका छन् । कुञ्ज थिएटर त्यसैको सह–उत्पादन हो ।
उनी भन्दै थिए, “नेपालका कलाकारसमेतमा नाटक हेर्ने संस्कृति रहेनछ !”
नेपाली सिने क्षेत्रका नायक आर्यन सिग्देल ११ वर्षपछि नाटक हेर्न आए केही दिनअघि । त्यसो त कुञ्जमा एमाले नेता माधवकुमार नेपाल पनि पुगेका थिए । ढकाल पुलकित हुँदै थिए ।
शनिबार सहर अलि सुनसान थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राजकीय भ्रमणले सडक निर्जन तुल्याइएको थियो । मानौँ, यो पनि शासक सिर्जित–आतंकको सानोतिनो नमुना नै हो । राजा–प्रधानमन्त्री आवागमनका बेलाको पट्यारलाग्दो सवारी जाम, आवतजावत रोकावट, गणतान्त्रिक शासन–व्यवस्थाका नागरिकले पनि त्यसबाट कहाँ पार पाएका छन् र ! अझ छिमेकी देशका प्रधानमन्त्रीको राजकीय भ्रमणले दुई दिन दुगुणा दुःख पाए शहरबासीले ।
कुञ्ज थिएटरमा पनि यस्तै शासक–सिर्जित आतंकको पटाक्षेप भइरहेको छ ।
खचाखच भीड । मानौँ, सहरमा रङ्ग–संस्कृतिले हाँगा हालेको छ । वैशाखको धूपमा त्यसैको सियाँल तापेर त्राण पाउँदैछ– नाट्य क्षेत्रले ।
लागौँ नाटककै विषयतिर ।
‘अँधेरी नगरी चौपट राजा’ १८८० मा लेखिएको हो, भारतेन्दु हरिश्चन्द्रद्वारा । ६ दृष्यमा विभक्त ‘अँधेरी नगरी चौपट राजा’ हरिश्चन्द्रको सर्वाधिक लोकप्रिय नाटक हो ।
अँधेरी नगर । लाग्छ– प्राचिन सहरको कथा हो यो । जहाँ एउटा क्रूर, लाचार, अनुत्तरदायी सरकारबाट शासित हुन अभिशप्त छन् त्यहाँका निमुखा ।
तर, होइन । यो त अहिलेकै कथा हो । विम्बमा यो शहर पनि त्यस्तै ‘अँधेरी नगर’ हो । जहाँका शासक ‘चौपट’ छन् । आफ्नै निर्णयको सिकार तिनको नियति हो ।
० ० ०
“अँधेरी नगरी चौपट राजा, एक आनामा सब्जी एक आनामा खाजा !”
पाश्र्वध्वनि आइरहन्छ । दर्शकदीर्घाबाट हाँसोको पर्रा छुटिरहन्छ ।
नाटक सुरू हुनासाथ मञ्चमा तीन सन्यासी देखा पर्छन्– महन्त, गोवद्र्धन दास, नारायण दास भजन–कीर्तन गाउँदै । काम, क्रोध, लोभ, मोह, अहंकार, पाँचै विकार त्यागेर सन्यास धारण गरेका गोवर्द्धन दास एक आनामा मिठाइ पाउने लोभमा पर्छन् र साथीबाट छुट्न्छिन् । झन्डै फाँसीको फन्दामा पर्छन् । नाटक हास्यप्रधान भएपछि कतैकतै करुण रस विरेचन नहुने होइन ।
नाटकमा कबाबवाला, घासीराम (चनावाला) चुरावालीको पनि प्रवेश हुन्छ । यी सबैले अँधेरी नगरका सीमान्तहरूको जिजीविषाका अनेक यत्न उजागर गर्छन् ।
शृंगारपटारको सामग्री बेच्ने पात्रका रूपमा उभ्याएकी तेस्रो लिङ्गी (नरंगी)ले महिला–पुरुषका वाञ्छित, अवाञ्छित सम्बन्ध प्रतीकात्मक आयाम बोकेकी छन्– रातो, निलो, हरियो, पहेँलो, गुलावी चुरामार्फत् ।
मिठाई (हलवाई) देखि माछा बेच्नेवालासम्मले दर्शकलाई एकोहोरो बाँधिराख्छन् । र, जातवाला मञ्चमा प्रवेश गरेपछि पेट मिचिमिचि हाँसिरहेका दर्शक केहीक्षण गम्भीर बन्छन् ।
समाजमा बढ्दो परधर्मको अन्धानुकरण र स्वधर्म–त्यागको लहरलाई जातवालाले ठोक्नुसम्म ठोक्छ । धर्म परिवर्तन र धर्मको अन्धानुशरणको प्रतीकात्मक दृष्यांश हो त्यो भन्दा फरक पर्दैन ।
संगीतप्रधान, गीति–सम्वाद । जुम्लाको सिँजादेखि सुदूर हिमाली क्षेत्रका चरित्रको उपस्थिति । स्वभाविक लयमा बगेका सम्वाद । जीवन– सादृष्य, यथार्थपरक प्रस्तुतिले दर्शकका आँखा अन्तिमसम्मै थाक्दैनन् । धित मरुञ्जेल हँसाउँछन् ।
नाटकका मध्य खण्डमा पुगेपछि चौपट राजाको प्रवेश हुन्छ । सोमरसमा चौबीसै घन्टा चुर्लुम्म । मानौँ न, राजा होइनन्– मदिरा–दास हुन् उनी ।
त्यतिकैमा पाठी मरेको पीडामा प्रताडित हुँदै गाउँवाला (फरियादी) न्याय माग्दै राजाको पाउ समात्न पुग्छ । कसलाई दोषी ठह¥याएर फाँसीको तख्तामा चढाउने, असमञ्जसमा पर्छन् राजा ! त्यही मृत–पाठीको वरिपरि नाटकले फेरो मारिरहन्छ ।
दोषीका रूपमा अनेक पात्र मञ्चमा खडा हुँदै जान्छन्– डोले, मिस्त्री, चुनावाल, भिश्ती, कसाही, गोठालो । तर, प्रतिवादीको वयानले कोही कसुरदार ठहरिँदैनन् र अन्तिममा कोतवालमा पुगेर कुरा अड्कन्छ । कोतवालाले मौसुफकै सवारीका कारण यो सब भएको बताएपछि, “कसलाई फाँसीमा उन्ने ?” किंकर्तव्यविमुढ हुन्छन् राजा । र, नाटकले फरक मोड लिन्छ ।
० ० ०
‘अँधेरी नगरी चौपट राजा’ शासकको विवेकहीनताको पराकाष्ठा हो । र, यसमा हाम्रो शासन–व्यवस्थाको प्रतिछायासमेत भेटिन्छ । आफ्नै बहुलट्ठिपूर्ण निर्णयले पतन भएका दुनियाँका चक्रवर्ती राजाहरूसमेतको कथा हो यो ।
सन् १८८० को दशकको कथा भावानुवाद गरी आजको सन्दर्भमा दुरुस्तै उतार्नु कष्टसाध्य कुरा हो । ‘क्याप मोसन पिक्चर्स’ र 'कलासी प्रोडक्सन'ले यसमा जोखिम मोलेका छन् । पछिल्लो समय भावानुवाद नाटक चलेको छ । केही दिनअघि थ्री सिस्टर्सको नेपाली अनुवाद तीन बहिनी शिल्पी थिएटरमा चल्यो ।
क्लिष्ट प्रस्तुति तथा जटिल सम्वाद हाम्रो सन्दर्भमा अनुवादित नाटकका मानक बनेका छन् । तर, यसको विपर्याय बनेको छ– ‘अँधेरी नगरी चौपट राजा’ । यसर्थ अनुवादक र निर्देशकद्वय संगीत सापकोटा र आशिष घिमिरेको प्रयास प्रंशसनीय छ ।
आजभन्दा एकसय अठ्तीस वर्षअघिको कथालाई आजको सन्दर्भ सापेक्ष प्रस्तुति दिन अब्बलै बनेको छ यो नाटक ।
मञ्चमा
जीवन भट्टराई
श्रवणसिंह राना
सञ्जितप्रताप मल्ल
पिटर पिन्स
आरजेश रेग्मी
सागर दाहाल
बारात लिम्बू
दिपेन्द्र शाही
पुस्कर कार्की
प्रकाश पाण्डे
गोधूलिसँग दिनको वियोग मात्रै हुँदैन, मिलनको योगसमेत हुँदो रहेछ ! त्यस दिन त्यस्तै भयो । सूर्यको बूढा किरणले आँपघारीलाई अन्तिम चुम्बन गर्दासम्म पनि उनी आइपुगिनन् । सडकमा मयुर, म्याजिक र मोटरसाइकलको आवाज निष्प्राणप्रायः थिए, वास बस्न गन्तव्यकृत भइसकेका थिए, सायद ।
फेबु्रअरी १४ । प्रणयमार्गीहरूको शुभ दिन । प्रेम गर्नेहरूका लागि त्यसदिनको वैशिष्ट्य बेग्लै छ ।
कसैको पर्खाइमा समय व्यतीत गर्नु अत्यन्त कष्टसाध्य कुरा हो । पर्खाइका ती सबा घन्टा जीवनको कालकोठरी प्रतीत भयो । सेन्ट्री बसिरहेका हतियारधारी सिपाही । एकअर्कालाई उछिन्न हतार गरिरहेका पूर्व–पश्चिम रुटका लामा सवारी । रातलाई स्वागत गर्न भयातुर झ्याउँकिरीको संगीत । सन्नाटालाई प्रिय ठान्ने जोरखोलाको लय । भरदिनको प्रेमालापपछि गुँड फर्किइरहेका चरा–बचेरा । बाटामा पैताला नापिरहेका प्रणयशील युगल जोडी । उच्चाटयुक्त प्रतीक्षाका साक्षी थिए ।
‘
सरी !’ ओठबाट मादकतापूर्ण फक्रिएको हाँसो उछिट्टियो र शून्य निःस्तेज भयो । मुस्कान यस्तो अभौतिक रसायन हो, यसले जस्तै कठोर चिजलाई पनि पलभरमै पगालिदिन्छ । तरल भएँ म ।
सर्वकालीन पिङ्क ज्याकेट । खैरो र बुट्टेदार स्कार्फ । खैरो टि–सर्ट । कालो जिन्स । कालै जुत्ता । लयबद्ध लवाइ थियो उनको ।
अर्ध–श्यामल वर्ण । गुलाफी ओठ । काँध छिचोलेर पिठ्युँतिर लहराएका कपाल । काँक्राको चिरोजस्तो नाक र त्यसमाथि आयाताकार फुली । अर्धचन्द्राकृत तिलस्मी आँखा । कप आकारको चिउँडो । कानमा स्वर्णपल्लव ।
उनको सौन्दर्यका उपमा थिए । ओसुमको पर्फ्युमभन्दा बढी प्रेम बसाएकी थिइन्, सीमा ।
जस्तै बेफुर्सदमा पनि आफूलाई स्फुर्त राख्ने र स–साना चिजमा छरिएको खुसी बुटुलेर जिन्दगीलाई आलोकित तुल्याउँछिन्, उनी । र, उनकै पाठशालाको प्राथमिक तहको विद्यार्थी थिएँ म ।
‘मेरो काम त्यस्तै छ, तिमी बुझ्छौ नि !’
अगाडि नै ‘बुझ्छौ’ भनेर समझदारको पगरी गुथाइसकेपछि रातोमुख पार्नु उनीप्रति बेइमानी हुन्थ्यो । रिस कण्ठमा दबाएर ओठमा हाँसो छर्नु बाध्यता बन्यो । फिस्स मुस्कुराएँ । लघुचलचित्रको कुनै दृश्यमा त्यसरी हाँसेको भए ‘फिलिङ्स पुगेन’ भन्दै ‘कट्’को सिकार हुँदो हुँ ।
‘ज्याकेटको बटम माथिसम्मै किन लाएको ?’ टाँकतिर हात लम्काइन् उनले । यस्तै बहाना खोज्दै सीमाले मेरो रिसमाथि नियन्त्रण राख्थिन् र रुमानीमा मायाको अन्तर्तलमा पु¥याउँथिन् । उनका यस्तै कृत्यले त हो मैले आफूभित्र माया गर्ने मुटु पनि छ भन्ने चाल पाएको । यस्तो लाग्छ, उनी मायाकी महाविद्यालय हुन् । मचाहिँ कखरा सिक्दै छु ।
‘अचेल त केटाहरू पनि ड्रेसमा कन्सस् हुन्छन् नि, तिम्रो त जीवनको लय सधैँ एकनास !’
‘अपरिवर्तनीय चिजहरूले सृष्टिको नियमितता बचाएका छन् । खोइ हावा बदलिएको ? खै पानीको आकार फेरिएको ? खोइ प्रकाशको रङमा बदलाव आएको ? यो रातमा किन सूर्य उदाउँदैन ? कृष्णपक्षको अन्धकार जूनले किन चिर्दैन ?’ यस्तै सोचेर मैले जिन्दगीको लयलाई कहिल्यै बदलिनँ ।
तर, मायाको सागर लिएर समीपमा आएकी सीमाले जिन्दगीको धार बदलिदिइन् । विशृंखलित तुल्याइदिइन् । मानौँ उनी सीमा होइनन्, सुदूर सरिता हुन् । जसको माया परेलीमा मात्र सीमित छैन, मनका तरेलीतरेलीसम्म फैलिएको छ ।
‘ज्याकेटको टाँक नलगाए तिम्रा हातहरू बेरोजगार हुन्छन् । आफूलाई यस्तै लापरबाह राखे तिम्रो मुखले बिजनेस पाइरहन्छ नि !’ मनबाट खँदिलो हाँसो झिकेँ मैले ।
‘यस्तो कूटनीतिक जवाफ दूतावासमा काम लाग्ला, आज प्रेम–दिवस लेखक, यसवेला त मायाको अतृप्त आभास चाहिन्छ । ऊ पर हेर त, ताराहरूले आँखा उघारिसके, गन्थन होइन, प्रेम–मन्थन गर्न तयार बन !’ वाक्य भुइँमा खसेकै थिएन, प्रकाश वेगमा ओठको प्याला पो उठाइन् ।
‘समयले कस्तो व्याधी ल्याएछ, रात नढल्कँदै ओठमा आँधी !’
‘हा..हा..हा…!’
म अचम्मित भएको देखेर बेस्करी खित्खिताइन् उनी !
सपनाको यायावरी गर्नु । दुःख–पीडासँग साक्षात्कार गर्नु । कथा–आलेखलाई आकार दिनु । पत्रपत्रिकामा छापिएका फुटकर रचनामा आफ्नो फोटो हेरर आह्लादित हुँदै जीवन प्रह्लादित तुल्याउनु, कति रूढ बाँचेको रहेछु म । आफ्नै बाटो फर्किहेर्दा छातीमा असन्तोषको भुंग्रो खडा हुन्थ्यो ।
सीमाको सान्निध्यतापछि गीतसंगीत प्रिय बने । प्रेमाख्यान, उपाख्यानमा मन जान थाल्यो । प्रकृतिका हरचिजहरू आफूतिर आकर्षित भएझैँ प्रतीत हुन थालेको थियो । जीवनको यो कस्तो कायाकल्प ? सूर्य होइन, ऊर्जाको स्रोत त प्रेम पो रहेछ । घाम लागे पनि कहाँ आलोकित थियो र जीवन !
‘थ्यांक यु सीमा !’ मनमनै कृतार्थ भएँ ।
० ० ०
थाहा छैन, यी बूढा आँपका रूखहरूले कति हिउँद व्यतीत गरे । थाहा छैन, कति झरीबादल छिचोले । दिउँसोको अचाक्ली गर्मीले मुर्झाएका तिनका पातहरू साँझको हावाको स्पर्शसँगै ताजा भएका थिए । वेलाबखत चल्ने सिरेटो ती अकिञ्चन पातमा ठोक्किँदा गज्जबको धुन निस्कन्थ्यो, प्रेमिल । मानौँ न यही नादले तिनको जीवनको लय जीवित तुल्याएका छन् ।
‘एउटै स्पर्श जीवन बदल्न कति काफी हुन्छ है,’ उनको आवाजमा अचानक भावुकता मिसियो । नारायणीको सुदूर किनारतिर आँखा डोलाइन् ।
‘प्रिय लेखक तिमी जति भावुक छौ, उत्तिकै कठोर पनि र’छौ ! तिमीले निरीह देउतीमाथि एकचिम्टी पनि दया देखाएनौ हगि ! अन्तिममा यही नारायणी तटमा देउतीलाई अलपत्र छाडेर लेखक भइटोपल्यौ !’
सीमाको बानी यस्तै छ, उनी वाक्यैपिच्छे गाली गर्छिन् या प्रशंसाका फूल बर्साउँछिन् ? म केही भेऊ पाउँदिन । पाऊँ पनि कसरी । उसको आवाज वाक्यांश हुन् कि जीवन–दर्शन ? बुझ्नै सक्दिनथेँ ।
‘२०–२१ कै उमेरमा यत्रो जीवन–दर्शनको मूल कसरी रसायो होला ?’ अचम्मित हुन्थेँ म । सीमाका पछिल्ला अभिव्यक्तिले आँखा सजल भए । पानीजस्तै मनका अन्तरकुन्तर बग्न थालेँ म ।
‘तिमीलाई यो मायावी साँझ नारायणीको तटमा लैजान चाहन्छु ! ता कि तिमीले अरू अलपत्र देउतीहरूको पनि जिन्दगी देख्लाऊ । मनमा कालिगण्डकीको विरह सुसाउला । के थाहा अर्को देउती पनि जन्माइहाल्छौ कि !’
जंगल छिचोलेर देवघाटको झोलुंगे पुल तर्दा रात निख्खर कैलो भइसकेको थियो ।
‘ऊ तिम्री देउती !’
‘हामी स्यानामा जूनलाई देउतीमाता भन्थ्यौँ र थालमा पानी राखेर आँगनमै ओह्राल्थ्यौँ ! औँसीपक्ष नहुँदो हो त आज देउती देखिँदी हुन् । यही पानीमाथिको धूमिल प्रतिविम्ब हेरेर भए पनि चित्त बुझाऊ लेखक,’ उनले त्रिशूलीको पानीमा अर्धचन्द्र देखाइन् ।
‘प्रिय लेखक, तिमीले केही आवाज सुन्यौ ? यो चिसो स्याँठ बाँचेर पनि न्यानो बन्न नसकेका तिनै देउतीहरूका कठोर सुस्केरा हुन् ! बुझ्यौ तिमीले ?’
‘यो परित्यक्तहरूको आश्रयथलो हो । तिमी जान्दछ्यौ नि, हामीलाई झोलुंगे पुल तर्न कत्ति पनि हतार भएन । हतार भएन चार किलोमिटर जंगल छिचोल्न पनि । तर, ऊ पर हेर त, ती बूढी आमै, जसलाई यो पुलको यात्रा कति कष्टसाध्य छ । जीवनमा कोही हुनु र नहुनुबीचको फरक यत्ति हो ।’
‘उनलाई यो देवघाट कालकोठरी लाग्दो हो । जहाँ उनले मृत्यु कुर्दै पट्यारलाग्दो दिनहरू बिताइरहेकी छन् । प्रिय लेखक यो सितारासरका तारा र म मिसिएको रंगिन साँझ उपहार तँलाई !’
उनले बेस्सरी हात समाइन् र पुनः ओठको प्याला उठाइन् ।
मनभित्रको भावुकताको स्याँठले बिथोल्यो मलाई । अनायास आँखा चिसा भए । सीमाको न्यानो र गहिरो निःश्वासले त्रिशूलीको सिरेटो पन्छाउन सकेन । अहँ सकेन । शीतांग भएँ म ।
महँगा वस्तु आदन–प्रदान गर्ने, तन–मन साट्ने, मनको क्यानभासमा भावनाको रङ पोतेर जीवनका प्रतिविम्ब उतार्ने स्वप्नशील युवापुस्ताबीच हुर्किएकी आगाकी फिलिंगीले जीवनको आखिरीपाटोसँग साक्षात्कार गराउन
देवघाट लैजालिन् भनेर कसरी सोच्नु, अवाक् भएँ म ।
० ० ०
डाँडापारि तारा साक्षी राखेर घन्टाको सहारासँगै ब्युँझियो देवघाट । र, सुरु भयो बुढ्यौली चर्या । बामे सर्दै मन्दिर जाउ । खुइया… काढ्दै वृद्धाश्रम धाउ । निस्ता चिउरा आँसुले निल । समयक्रमसँगै आफ्नाहरू मात्रै होइन, शरीर पनि पराइ होइजाँदोरहेछ । कति कठोर नियति ! कति निर्दयी भाग्य !
भोलिपल्ट बिहान डेढ घन्टा तिनै बुढ्यौली–जीवन पढेपछि सीमाको अनुहारमा बादल देखा परे ।
‘यौवनावस्थामा सहाराको जरुरत पर्दछ ठान्थेँ, सहारा त बुढ्यौलीमा पो चाहिँदो रहेछ !’ अन्धकारपूर्ण अनुहारको बादल पन्छाउँदै वाक्य भुइँमा खसालिन् उनले ।
‘मानिस सहराबीना कहिल्यै पूर्ण हुँदैन । चाहे बाल्यावस्थामा होस्, चाहे वृद्धावस्थामा, चाहे तरुणमा होस् या प्रौढमा । एकअर्काको वैशाखी नटेकी टाढाको यात्रा तय गर्नु मूर्खता सिवाय केही होइन ।’
मेरो कुराबाट तुष्ट भइन् सायद, टाउको हल्लाइन् उनले ।
खोलाको सिरोटो पन्छाउँदापन्छाउँदा सूर्य पनि थाक्यो सायद, बिहानको १० बज्दासम्म घामले पिठ्युँ पोलेन ।
गलेश्वर आश्रमबाट ओरालो झर्दै गर्दा हरेराम हरेकृष्णको एकोहोरो नाद गुञ्जियो र झोलुंगे पुलमा पाइला राख्दासम्म पनि आवाज कानमा ठोक्किन छाडेन ।
झोलुंगे पुलको बीचमा पुगेपछि सीमा आवाजमिश्रित भई, ‘सानामा कार्टुन हेर्न असाध्यै मन पराउथेँ । किशोर–यौवनमा त्यो बानी पुस्तक पढ्नमा बदलियो । बुढेसकाल हरि–कीर्तन गाउँदै बित्छ होला !’
एक्कासि त्रिशूलीमा उछाल आएझैँ भयो उसको अनुहार । निधारमा ठाडा, तेर्सा धर्सा तयार भए । कञ्चटका नसा फुले । मुहारको ताप शून्यमा झर्यो । एकै रातमा बूढी पो देखिई सीमा !
आँपघारी छिचोल्दासम्म म आँसुमिश्रित भइसकेको थिएँ । चौबाटो आइपुगेपछि उनका औँलाहरू छुट्टिन मानेनन् । ओठहरू अत्यास मान्न थाले । अनुहारले अनुहार ढाकेर धेरैबेर भक्कानिइरहिन् ।
‘भेटिनु नै छुट्टिनु हो भन्ने ख्यालै गरिनछु प्रिय लेखक ! जीवनका यिनै आकस्मिकता र नियमितता तिम्रा लेखन–सुधा र लेखकीय क्षुदा बनून्, प्रेमको अन्त्यहीन शुभकामना !’
दृश्यपटांगिनीबाट उनी ओझेल परेपछि त्यही थलोमा उभिएर मैले ट्विट लेखेँ– जीवनका केही पल मसानघाटजस्तो उच्चाटयुक्त हुन्छन्, जहाँ प्रिय मानिस छुट्छन् ।
काठमाडौं । सिमसिम पानी । सन्नाटायुक्त मौसम । २५ वर्षअघिको जेठ ३ गते पनि यस्तै मौसम थियो— रुझेको ।
जेठ ३ गते आउनासाथ धेरैजसो एमाले कार्यकर्ताको अनुहारमा विस्मय मडारिन्छ । पोखराको भेलालाई सम्बोधन गरेर चितवनको कार्यक्रममा हिँडेका एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रित चढेको जीप दासढुंगामा रहस्यमय दुर्घटनामा पर्यो । नेताद्वय दिवंगत भए । त्यही स्मृति दिवस बिहीबार एकाएक हर्ष र उमंगमा बदलियो ।
असोज १७ गते एमाले र नेकपा माओवादी केन्द्रले चुनावी तालमेल र एकताको सरप्राइज दिएका थिए । त्यसको नौ महिनापछि दुई पार्टी एकअर्कामा विलय भएको र नेकपा पुनगर्ठन गरेको अर्को सन्देश दिए ।
बिहीबार नेपालको राजनीतिक वृत्त तरंगित भइरह्यो ।
बिहीबारका मुख्य घटनाक्रम यस्ता छन्——
विष्णु पौडेलले नारायणकाजी नदेखेपछि
एमाले—माओवादी केन्द्रको एकताका लागि प्रमुख भूमिका निर्वाह गरेका एमालेका तत्कालिन उपमहासचिव विष्णु पौडेललाई नै बढी फलिफाप देखियो । एकताको सूत्राधारसमेत भनिएका पौडेलले एकीकृत पार्टीको सचिवालयको महाचिवको कार्यभारसमेत सम्हाले । निरन्तर एकता प्रक्रियामा खटेको र सरकारमासमेत सहभागी नभएको फाइदा उनैले उठाए ।
तिनै पौडेलले २५ औँ मदन—आश्रित स्मृति दिवसमा आयोजित कार्यक्रममा मञ्चको कुनामा बसेका नारायणकाजी श्रेष्ठलाई नदेखेपछि कोट्याएरै अतिथि आसन ग्रहण गराउन भन्नुपर्यो ।
ओझेल परेका आश्रित
मदनसँगै आश्रित पनि दिवंगत भएका हुन् । एमाले यो काण्डलाई हत्या भन्दै आएको छ । २५ वर्ष यता एमाले पटकपटक सत्तामा पुग्यो । मदनपत्नी विद्या भण्डारीले दुई कार्यकाल राष्टपतिको जिम्मेवारी सम्हाल्दैछिन्, तर हत्याकाण्डबारे छानवीन गर्नुपर्छ भनेर पार्टीका मञ्चमा बाहेक अन्यत्र भनेको सुनिँदैन ।
बरु दिवंगत दुई नेतामध्ये मदनकोमात्रै अधिक चर्चा हुने गरेको छ । जनताको बहुदलीय जनवादका प्रणेता तथा तत्कालीन महासचिवको हैसियतमा उनको चर्चा चुलिनु स्वभाविकै हो । तर, एमालेको सिंगो संगठनको विभागीय नेतृत्व गरेका र संगठन निर्माण र परिचालनमा सारा ऊर्जा खर्चिएका नेता आश्रित ओझेल पारिनुहुँदैनथ्यो भन्ने टिकाटिप्पणी एमालेभित्रै हुने गरेको छ ।
बिहीबार पनि त्यस्तै देखियो । मदनपत्नी विद्या राष्ट्रपति छिन्, पार्टीले आयोजना गरेको कार्यक्रममा उनी चाहेर पनि उपस्थित हुन सक्दिनन् ।
आश्रितपत्नी माया ज्ञवालीलाई मञ्चमा राख्नसमेत आवश्यक ठानेन एमालेले । उनी कार्यक्रममा थिइन् कि थिइनन्, दिवंगत आफ्ना पतिको फोटोमा पुष्पगुच्छा चढाउन पाइन् कि पाइनन्, कसैले ख्यालै गरेको देखिएन ।
एमाले माओवादी केन्द्रको मिलन
बिहीबार दिनभरिजसो कौतूकमय घटना घट्यो । नेपाली राजनीतिको ऐतिहासिक नै क्षण हो त्यो । २००६ सालमा कम्युनिस्ट पार्टी गठन भयो तर २०१९ सालदेखि विधिवत् विभाजन शुरू भयो । ०१७ सालको महेन्द्रको कुलाई समर्थन र विरोध गर्ने नाममा कम्युनिस्ट आन्दोलनमा भूक्षय जाने क्रम बढ्यो ।
त्यसो त कम्युनिस्ट आन्दोलनको इतिहास विभाजन र फुटकोमात्रै शृंखला होइन । एकताको आयाम पनि हो । २०४७ सालमा माले—माक्र्सवादी एकीकरणपछि एमालेको स्थापना, अन्य वामपन्थी घटक जोडिएर एकता केन्द्र मसालको स्थापना । त्यसयता पनि विभिन्न समयमा विभिन्न कम्युनिस्ट झुन्डबीच एकता विभाजनको प्रक्रिया नचलेको होइन ।
तर, दुई ठूला पार्टी एकीकृत भएर झन्डै संसद्मा दुईतिहाईको प्रतिनिधित्व गर्ने कम्युनिस्ट पार्टी बनेको बिहीबार हो । त्यसैको उत्साहले होला एमाले र माओवादी केन्द्रका केन्द्रीय नेताहरूको मिलन गजब देखिन्थ्यो बालुवाटारमा ।
तीमध्ये धेरै केन्द्रीय सदस्यहरूलाई पनि यतिचाँडै पार्टी एकता भइहाल्ला भन्ने लागेको रहेनछ । दुई पार्टी अध्यक्षको बुधबार बिहानको वार्ताले सबै कुरा टुंग्याएपछि एमाले माओवादी केन्द्रका नेता कार्यकर्ता, समर्थक शुभेच्छुकको अनुहारमा एकीकरणको उज्यालो छायो ।
त्यसमा पनि एमालेका कार्यकर्ताहरू ज्यादा उत्फुल्ल देखिन्थे । बिहानबाटै बालुवाटारमा कार्यकर्ताको घुइँचो बढेको थियो । अझ रोचक दृष्य त माओवादी केन्द्रका नेताहरूको आगमनको थियो ।
पार्टी एकता संयोजन समितिको बैठक टुंग्याएर केन्द्रीय सचिवालयको बैठक बस्न खुमलटार पुगेका माओवादी केन्द्रका नेताहरू दुई घन्टा नबित्दै क्याराभान शैलीमा बालुवाटार फर्किएका थिए । र, एकीकृत नेकपाको पहिलो बैठकमा सहभागी भए ।
त्यसभन्दा अघि झन्डै आधा घन्टा एमाले—माओवादी केन्द्रका उपल्ला तहका नेता र केन्द्रीय सदस्यबीच अंकमाल खुसी साटासाट् चल्यो । “सायद पार्टी एकता भनेको यही होला,”कार्यकर्ताहरू खासखुस गर्दै थिए ।
पहिलो बैठक अध्यक्ष केपी ओली
नेकपा एमाले र माओवादी केन्द्रका दुई अध्यक्षले पार्टीको एकीकृत पार्टीको नेतृत्व सम्हाल्नेगरी पार्टी एक भएको हो । पार्टी र सरकार दुवैको नेतृत्व आलोपालो गर्ने सहमति दुवैदलबीच भएको कुरा बाहिर आएको छ । बिहीबारको पहिलो बैठकको अध्यक्षता चाहिँ केपी ओलीले गरेका थिए । त्यस्तै पहिलो बैठकले ६ वटा विषयमा निर्णय गरेको थियो । र, ती निर्णयहरू पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पढेर सुनाएका थिए ।
यस्ता थिए निर्णय
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी–लेनिनवादी) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) एकीकरणको संयुक्त घोषणा
१) २००६ सालमा स्थापना भएदेखि यता सात दशकसम्म वैचारिक राजनीतिक संघर्षका अनेकौं आरोह–अवरोहका अनुभव संगाल्दै नेपाली जनता तथा पार्टी सदस्यहरुको भावना एवं आकांक्षा अनुरुप आवश्यक छलफल र वहस पश्चात् आज हामीले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई विधिवत् एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरेका छौं । यस अवसरमा हामी नेपालको वामपन्थी लोकतान्त्रिक आन्दोलनमा जीवन उत्र्सग गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं र अग्रजहरुप्रति उच्च सम्मान प्रकट गर्दछौं । यो सुखद् ऐतिहासिक क्षणमा आइपुग्न सर्वप्रथम २०७४ साल असोज १७ गते ६–बुँदे सहमति गर्दै नेपालको संविधान अन्तर्गत पहिलो पटक हुने प्रतिनिधि सभा र प्रदेश सभाका निर्वाचनमा साझा घोषणपत्र र उम्मेदवारहरुका साथ हामी अघि बढेका थियौं । सार्वभौमसत्ता, स्वाधीनता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनका साथै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोष सहित हामीले गरेका निर्णयहरु जनता तथा पार्टी कार्यकर्ताहरुबाट निर्वाचनमा अनुमोदित भएका छन् । नेपालको कम्युनिष्ट आन्दोलनको इतिहासमा पहिलो पटक हामीले संघीय संसदमा दुई तिहाई बहुमतको निकट रहँदै सरकार गठन गर्नुका साथै सात प्रदेशहरु मध्ये ६ प्रदेशमा स्पष्ट बहुमतको सरकार गठन गर्ने अत्यन्त महत्वपूर्ण सफलता हासिल भएका छन्ं । निर्वाचनको मोर्चामा दृढताका साथ अग्रसर हुन दुई पार्टीको तर्फबाट जारी विशेष निर्देशनलाई पार्टी पंक्तिको दृढ अनुशरणको प्रतिफल यी उपलब्धि प्राप्त भएका छन् । यो अभूतपूर्व उपलब्धिलाई समृद्ध र सुसंंस्कृत नेपाल निर्माण गरेर हामीले दिगो र युगिन महत्वको बनाउने छौं ।
२) पार्टी एकीकरणको गहनतम् कार्यलाई अघि बढाउनको लागि यस बीचमा बनेका विभिन्न कार्यदलहरु र दुबै पार्टीका नेताहरु सम्मिलित आठ सदस्यीय पार्टी एकता संयोजन समितिले साझा घोषणा, सरकारका सुशासन र विकासका प्राथमिकतासम्बन्धी प्रतिवेदन, राजनीतिक प्रतिवेदन र अन्तरीम विधान तयार गर्ने जिम्मेवारी पूरा गरेका छन् । दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरुलाई समेत सहज तुल्याउँदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान गर्यो । यसरी सहमतिका साथ एकताका सैद्धान्तिक, कार्यक्रमिक, नीतिगत र संगठनात्मक आधार तयार गर्दै आजै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को विधिवत् एकीकरण भई निर्वाचन आयोगमा एकतावद्ध नेपाल कम्युनिष्ट पार्टी दर्ता गरेका छौं । युगिन महत्वको यस घोषणाले राजनीतिक स्थायित्व, दिगो शान्ति र समृद्धि कायम गर्ने लामो समय देखिको राष्ट्रको आवश्यकता र जनताको चाहना पूरा भएको छ ।
३) पार्टी एकीकरणको कार्य अगाडि बढाइ रहँदा हामीले यस अघि जारी सहमति पत्र, एकताका आधारहरु तथा राजनीतिक प्रतिवेदनमा सैद्धान्तिक, वैचारिक र राजनीतिक धारणा एवं मान्यता स्पष्ट गरिसकेका छौ । नेकपा (एमाले) ले अवलम्बन गरिआएको जनताको बहुदलीय जनवाद र नेकपा (माओवादी केन्द्र) ले अवलम्बन गरिआएको एक्काइसौं शताब्दीमा जनबादसम्बन्धी सैद्धान्तिक एवं राजनीतिक मान्यतालाई परिवर्तित नयाँ सन्दर्भमा विकसित र परिमार्जन गरी समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडी बढाइने छ । यिनै वैचारिक मान्यताहरु अनुरुप प्राप्त उपलब्धिहरुको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गरी सामाजिक, आर्थिक रुपान्तरण मार्फत नेपालको संविधानमा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको प्राप्तिको दिशामा हामी अग्रसर रहने छौं । साथै नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्दा देखिको समाजवाद स्थापनाको महान लक्ष्य पूरा गर्ने दिशामा अघि बढ्न हामीहरु दृढरुपले प्रतिवद्ध रहने छाैँ ।
उपर्युक्त वैचारिक र सैद्धान्तिक मान्यताको आलोकमा नेपाल कम्युनिष्ट पार्टी शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवधिकार एवम् मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य मान्यतामा प्रतिबद्ध छ । त्यस्तै संयुक्त राष्ट्र संघको बडापत्र, पञ्चशीलका सिद्धान्त र असंलग्नताका मान्यतामा आधारित स्वतन्त्र परराष्ट्र नीति तथा राष्ट्रिय हितको संरक्षण र सम्बद्र्धनमा पार्टी कटिबद्ध छ । यो पार्टी पारस्परिक समानाता, सम्मान र हितको आधारमा अन्तर्राष्ट्रिय समुदाय तथा छिमेकी लगायत विश्वका सबै देशहरुसंग सुमधुर सम्बन्ध कायम गर्ने मान्यतामा अटल छ ।
४) हाम्रो मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हुनेछ । जनवादी केन्द्रीयताको सङ्गठनात्मक सिद्धान्तका र सामुहिक नेतृत्व एवं व्यक्तिगत उत्तरदायित्वको आधारमा पार्टीको निर्माण र संचालन हुनेछ । यो पार्टी जनाधारित कार्यकता पार्टी हुनेछ । यस पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ । अन्तरीम विधानमा व्यवस्थित संगठनात्मक प्रणालीको अनुशरण गर्दै हामी एकता महाधिवेशन सम्पन्न गर्ने छौं । पार्टी कमिटी र सबै जनसंगठनहरु सोही अनुरुप परिचालित र क्रियाशील हुनेछन् । यो पार्टी सबै प्रकारका प्रतिकृयावाद, अवसरवाद र संकीर्णताका बिरुद्ध तथा सामाजिक सद्भाव एवम् राष्ट्रिय एकताको पक्षमा रहेको छ । राजनीतिक स्थायित्व, दिगो शान्ति, सुशासन र समृद्धिको मार्गमा अग्रसर रहँदै राष्ट्रिय सुरक्षा, राष्ट्रिय एकता र देशभक्तिमा आधारित उन्नत सभ्यतायुक्त समृद्ध समाज निर्माण गर्ने हाम्रो उद्देश्य रहेको छ । उपलब्ध साधन र श्रोतहरुको अधिकतम् उपयोग, राष्ट्रिय पूँजीको निर्माण र परिचालन तथा “समृद्ध नेपाल, सुखी नेपाली’ को लक्ष्य हासिल गर्न दुई पार्टीको एकीकरणबाट बलियो आधार सिर्जना हुनेछ । यस अनुरुप सरकारको प्रभावकारी संचालन गरिने छ । यही लक्ष्य, उद्देश्य र मान्यता अनुरुप पार्टी पंक्ति एकताबद्ध, संगठित र परिचालित हुनेछ ।
५) हाम्रा दुई पार्टीको यो एकीकरणबाट विभाजन र मतभेदको अवस्था झेल्दै आएको नेपाली कम्युनिष्ट आन्दोलन मूलतः एकतावद्ध भएको छ । नेपाल र नेपाली जनताको सर्वाेपरी हितमा केन्द्रित यो एकीकरणको मर्म अनुरुप आवश्यक छलफल एवं वहसको प्रक्रियामा संलग्न हुँदै देशका अन्य कम्युनिष्ट तथा श्रमिक पार्टी वा समूहरुलाई पनि एकताको यस् महान प्रक्रियामा सामेल हुन हार्दिक आव्हान गर्दछौं ।
६) हाम्रो कष्टसाध्य प्रयत्नबाट संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भई तीनै तहका निर्वाचन गरी देशले आर्थिक क्रान्ति र समृद्धिको चरणमा प्रवेश गरेको समयमा हाम्रो एकीकरणले राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान र समृद्धि चाहने सबैमा खुशी र उत्साहको लहर सिर्जना गर्नेमा हामी विश्वस्त छौं । राष्ट्रिय हित र समाजवाद निर्माणमा दीर्घकालीन महत्व राख्ने यस एकीकरणलाई पार्टी कमिटी र जनसंगठन तथा पार्टी समर्थक सम्पूर्ण पंक्तिमा कुशलताका साथ आत्मसाथ र रुपान्तरण गर्न एकताबद्ध भई सक्रिय रहन हामी सबै पार्टी सदस्य र शुभेच्छुकहरुमा हार्दिक आव्हान गर्दछौं । हाम्रो एकीकरणका लागि विभिन्न किसिमले योगदान पु¥याउनु हुने सबै नेता, कार्यकर्ता र शुभेच्छुकहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । पार्टी एकीकरणको निर्णय र मर्म अनुरुप आगामी दिनहरुमा अझ सशक्त पार्टी निर्माण र यसको वकासमा योगदान पुर्याउन सम्बद्ध सबैमा हार्दिक आव्हान गर्दछौं ।
के.पी. शर्मा ओली पुष्प कमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष, केन्द्रीय कमिटी अध्यक्ष, केन्द्रीय समिति
नेपाल कम्युनिष्ट पार्टी नेपाल कम्युनिष्ट पार्टी
मितिः २०७५।२।३।५
बालुवाटारमा सत्ता—दोहन
जो प्रधानमन्त्री भए पनि बालुवाटारमा भोजभतेर नौलो कुरा भएन । तर, बिहीबार अलि बढी नै देखियो । सत्ता—साझेदार दुई कम्युनिस्ट घटक एक भए । तर, भार राज्यले नै बेहोर्नुपर्यो ।
बालुवाटारमा बुधबार बेलुका एमाले स्थायी कमिटीको बैठक बस्यो । बिहीबारका तीन बैठक पनि बालुवाटारमै भए । बिहान पार्टी एकता संयोजन समितिको बैठक, त्यसपछि एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक र लगतै एकीकृत पार्टीको पहिलो बैठक बालुवाटारकै प्रधानमन्त्रीको निजी सचिवालय भवनको हलमा बस्यो ।
एकता संयोजन समितिको बैठक लगत्तै एमालेका कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले खानपानसहितको बैठक गोकर्ण रिसोर्टमा बस्ने जानकारी दिएका थिए । तर पहिलो बैठकसँगै भोजको तयारी बालुवाटारमै भयो । त्रिपाल टाँग्ने । पार्टी कक्षको स्थापना गर्ने काममा नेपाली सेना जुट्यो ।
पार्टी विशेषले आयोजना गरेको भोजमा राज्यस्रोतकै दोहन हुनु वाञ्छनीय नभएको गाइँगुइँ पत्रकारवृत्तमा चले पनि त्यसबारे खासै चर्चा भएन । तर, दुईतिहाई बहुमतप्राप्त दलका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारले पाँच वर्षसम्म त्यस्ता कतिवटा बैठक, भेला र भोज झेल्नुपर्ने हो यकिन छैन । यसअघि पनि नझेलेको होइन । सामाजिक सञ्जालमा त्यसको पनि विरोध देखियो । नेकपाका नेताहरुले शपथ ग्रहण गर्दा अब राज्यको साधन स्रोत दोहन गर्दिन भनेर पनि खानुपर्ने भन्दै कतिले सुझाव पनि दिए ।
राष्ट्रिय सभागृहमा प्रचण्डको गला अवरुद्ध
प्रचण्ड समकालीन नेतामा वाकपटु हुन् । त्यसो त भाषणबाजसमेत भनिन्छ उनलाई । बिहीबारको भाषणमा उनले क्रमभंगकर्ताका रूपमा पनि चित्रित गरे । ०५२ सालका सशस्त्र संघर्षको नेतृत्वकर्ता ०६३ सालमा वृहत् शान्ति–सम्झौताको हस्ताक्षरकर्ता, ०६५ सालमा ठूलो पार्टीको अध्यक्ष र सरकारको नेतृत्वकर्ता, ०७० सालमा खुम्चिएर तेस्रो दल, ०७४ सालमा एमालेसँग चुनावी तालमेल र ०७५ सालमा एमालेसँग एकता अनेक अनुभव सँगालेका छन् उनले ।
यी सबै घटनाक्रममा सूत्राधार भएकाले उनी बिहीबार केहीबेर भावुक भए । भाषण गर्न शब्द नपाएको भन्दै उनले एमाले—माओवादी केन्द्रबीचको सम्बन्ध निषेधको निषेध, संघर्ष र रूपान्तरण हुँदै एकताका बदलिएको सामान्यिकरण गर्दै मञ्चबाट बिदा भएका थिए ।
प्रचण्डको मदनमोह
प्रचण्डले बेलाबखत भन्दै आएका थिए—मदन दिंगत हुनुअगावै मसँग पार्टी एकताको कुरा चलेको थियो । एकदिन खानासहितको मिटिङ गर्ने भनेर योजना बनाउँदा बनाउँदै मदनको हत्या भयो । बिहीबार बिहानको सम्बोधनमा पनि उनले मदन स्मृति दिवसकै दिन पार्टी एकता गर्नुपर्छ भनेर आफैँले प्रस्ताव गरेको भन्दै एमाले कार्यकर्ताको मन जिते ।
सो कुरा उनले दिउँसोको सम्बोधनमा पनि जोड दिएका थिए । राष्ट्रियसभा गृहको प्रेक्षालयमा नअटेर चौर र प्रदर्शनीमार्गमासमेत छरिएका एकीकृत पार्टीका कार्यकर्ता प्रचण्डको मदनमोहले चकित बने ।
मन्दिरको पित्तलको गजुरमाथि घामको स्वर्णआभा छाउँछ । एक हुल मलेवाहरू वसन्तपुरतिर पखेटिन्छन् । यात्रु पर्खिरहेका लहरै रिक्सावालाहरू दिक्दारलाग्दो उच्छवास छाड्छन्– “बेलुका हुन लागिसक्यो आज त बोहोनीसमेत पो भएन !”
‘छाड बाटो छाड..’ एक हुल भरियाहरू अजङ्गको भारी बोकेर आइपुग्छन् र विशालबजारतिर सोझिन्छन् । साँझपख फुटपाथ पसलेहरू गल्ली नै ओगटेर लत्ताकपडा बेचिरहेका छन् र बटुवाहरू मोलतोल गरिरहेका छन् ।
मानौँ न, इन्द्रचोक जीवन भोगाइको पाठशाला होइन, यो त पसिनाको प्रयोगशाला पनि हो । यायावरीका अनेककानेक यत्न देखिन्छन् त्यहाँ ।
इन्द्रचोकको बीचैमा सुन पसल छ । त्यसैको पेटीमा अडेस लागेर मुरली, बाँसुरी बेचिरहेका छन् मन्सुर । १५ वर्षदेखि त्यही थलोमा मुरली बेचेर जीवनको धून जगाउँदैछन् । र, ९–१० जनाको परिवार यही बाँसुरीले धानेको छ उनको ।
“तपाईंको पूरा नामचाहिँ के नि ?”
“मन्सुर, सारा इन्द्रचोकले मन्सुरै भनेर चिन्छ बुझ्नुभो !,” मीठो लवज निकाल्छन् । मानौं, मुरली–बाँसुरी बेच्दाबेच्दै आवाज पनि त्यस्तै श्रुति सुधा भइसकेको छ उनको ।
गोरखपुर घर । भारत त जन्मिएमात्रै । कर्म नेपालमै गरे । ५० वर्ष भइसक्यो, नेपालका गल्ली चहारेर परिवारको पेट पालेको ।
“यी.. यही मुरली बेच्ने त हो हजुर । अरू के गर्नु ?” फिस्स हाँस्छन् उनी ।
बाँसुरी बेच्ने मन्सुरको पुर्ख्यौली पेसा हो । बाबुबाजेबाट विरासतमा पाएका भनौँ । पुर्ख्यौली पेसासँग जोडिएको किस्सा, कहावत केही पनि थाहा छैन । उनलाई यत्ति थाहा छ– उनीहरूको सम्पत्ति भन्नु त्यही मुरली, बाँसुरी हो । त्यही बेचेर पेट पूजा गर्दै आएका छन् उनीहरूले ।
“कृष्णजीको बाँसुरी हाम्रो त भगवान हो यो,” फेरि हाँसे मन्सुर ।
० ० ०
सानामा लाग्थ्यो– सिंगो भारतवर्ष दुःखै–दुःखको भवसागर हो । अझ भनौँ न यो त ‘कुम्भिपाक नर्क’ हो । यहाँ जन्मनले दुःख सिवाय केही पाउँदैन ।
सानामा असाध्यै दुःख पाए । र त, उछिट्टिएर नेपाल आए उनी ।
“साथीहरूले जाउँ भने लहैलहैमा लागेर आएँ, नेपालसँग मायाप्रीति बसिहाल्यो । छोडेर जानै सकिनँ,” नेपाल आउनुपछाडिको यसबाहेक अर्को कथा छैन उनको ।
तिनताक नेपालीहरू यता दुःख पाइयो भने ढोके, कुल्ली काम गर्न भारत हानिन्थे । अतिसय दुःख पाइयो भनेर भारतीय चाहिँ कुम्लोकुटुरो च्यापेर नेपाल तेर्सिन्थे । आफ्नो दुःख पहाडको अर्काको दुःख तिल, यसैलाई भन्दा हुन् ।
“अहिले गोरखपुर त गर्मीले आगो बलेको छ । जहान, छोराछोरी हफहफी बाफिएका छन् । काठमाडौँ त निकै स्वर्ग छ नि हजुर । हेर्नुहोस् त यस्तो धूपमा पनि सररर्र हावा चलेको छ । केही बेरमा पानी पर्छ, शीतल हुन्छ,” आह्लादित हुँदै आकाश उद्वीक्षण गर्छन् उनी ।
नेपाल भित्रँदा ओठमाथि झुसिला रौँसमेत देखा परेका थिएन् । अहिले कपाल पूरै तिल–चामल भइसक्यो । तर पनि उनलाई नेपाल छाडिहाल्न मन छैन । एक त कमाइ राम्रै छ । अर्को यहाँको तिलस्मी हावापानीले मन उत्फुल्ल तुल्याइरहन्छ ।
लामो लठ्ठिमाथि बाँस अड्याएका छन् र त्यसमा थरीथरीका मुरली, बाँसुरी अड्याएका छन् । त्यही बोकेर इन्द्रचोक, असन, वसन्तपुर भौँतारिइरहन्छन् ।
कहिले मनग्गे व्यापार हुन्छ । कहिले बोहोनीसमेत नगरी डेरातिर सोझिन्छन् उनी ।
“पहिलेजस्तो कमाइधमाइ छैन हजुर । बाँसुरी बजाउने मान्छे पनि त हुनुपर्यो,” उद्विग्न देखिन्छन् उनी ।
उनीसँग ए, बी, सी स्केलका बाँसुरी छन् । पचास रुपैयाँदेखि दुई सयसम्मका । “बाँसुरी चिनेकाले धेरै दिँदैनन् । नचिनेकाले बिरलै किन्छन्, खासै महँगो मूल्यमा बेच्न पाइँदैन,” फेरि हाँसे उनी ।
दश वर्षअगाडिसम्म आजको अवस्था थिएन । दिनको पचास वटासम्म बाँसुरी बेचेका छन् उनले । त्यसबीचमा धेरै फेरवदल आयो । बाँसुरी बजाउनेहरू अस्ताउँदै गए । नयाँ पुस्ता नूतन उपकरणका दासी बने । कुनै समय गीतसंगीतमा बाँसुरीको धून अनिवार्यजस्तै प्रयोग हुन्थ्यो । अहिले कर्णसुधा धूनका लागि बाँसुरी नै आवश्यक पर्दैन, बाँसुरीजस्तै आवाज निकाल्ने अत्याधुनिक उपकरण बजारमा पाइन्छन् । लोकलयबाट क्रमशः बिस्थापित हुँदैछन् बाँसुरी ।
“मोबाइलले सबै चौपट पार्दियो हजुर । सबैकुरा मोबाइलमै छ ।
चाहेको धून सुन्न बजाउन सक्नुहुन्छ । हाम्रो बाँसुरी को किन्छ ?” खुइया काढ्छन् उनी ।
“बाँसुरी देख्दा पनि छक्क पर्नुपर्ने अवस्था आइक्यो,” खस्रो दाह्रीमा औँला दह्राल्छन् मन्सुर ।
उनीसँग केही वान्कीपूर्ण काठे बाँसुरीसमेत छन् । नेपाल घुम्न आएका विदेशीले आँखा लगाउँछन् कि भनेर राखेका तर फाट्टफुट्टबाहेक विदेशीले बाँसुरी किन्न मन गर्दैनन् ।
“बाँसुरी नै सिरानी हालेर सुतेकाले त बजाउन छाडे, विदेशीले कसरी चिन्नू !,” अनुहार सोहोरिन्छ उनको ।
० ० ०
पुस्तैनी पेसा भए पनि बाँसुरी बजाउने कला छैन उनीसँग । कोही गाहकी आयो भने अलिअलि बजाउँछन् । “जबरजस्ती कहाँ बजाउन सकिन्छ र ? कि त कृष्णजीले दिनुपर्यो त्यो कला, कि त अभ्यास गर्नुपर्यो,” प्रष्ट्याउँछन् उनी ।
बजाउन जान्नेले त आफैँ बजाएर, छानेर लैजान्छ नि, बेच्नेले किन बजाउन जान्नुपर्यो,” बाँसुरीजस्तै सोझो जवाफ दिन्छन् उनी ।
त्यसबाहेक बाँसुरी बनाउन पनि आउँदैन उनलाई । काठ, निगालो बाँस काटेर त्यसमा सात वटा प्वाल खोपेर तयार पार्नुपर्छ बाँसुरी । त्यही आकारको मुरलीको मुखमा चाहिँ ठेडी ठोकेर मुस्किलले हावा छिर्ने बनाउनुपर्छ ।
तर, उनी जान्दैनन् । भन्छन्, “गोरखपुरमा कारखाना नै छ यसको, त्यहीँबाट किनेर ल्याउँछु ।”
नेपालमा ग्रामीण भेगमा बाँसुरी बनाउने बाँस, निगालो, नर्कट प्रशस्तै पाइन्छ । गाउँघरतिर आफैँले बाँसुरी खोपेर बजाउने चलन अद्यपर्यन्त छँदैछ ।
तर, उनीहरूले पूर्वी नेपालसँग सिमाना जोडिएको भारतीय राज्य आसाम, सिलगुढीबाट बाँस ल्याउँछन् र कलात्मक मुरली, बाँसुरी तयार पार्छन् ।
कुराकानीकै क्रममा दुईजना गाहकी आए र तिनले बालबच्चाका लागि बाँसुरी किनेर बाटो लागे ।
“देख्नुभो, उहिले यो हाम्रो वाद्यसामग्री थियो । सहरमा नामुद वंशीवादक पनि थिए । उनीहरूको धूनमा लट्ठिनेहरू कति हुँदा हुन् । तर, अहिले यो त खेलौना पो बन्दैछ,” गम्भीर देखिए ।
कुरा गर्दैगर्दा महानगरीय प्रहरीको भ्यान अघिल्तिर देखा पर्यो । भेडाको हुलमा बाघ पसेजस्तो तितरवितर भए फुटपाथ पसले ।
“ल है हजुर फेरिफेरि पनि कुरा गरौँला । अहिले प्रहरीले सबै बाँसुरी उठाइदियो भने वर्षभरिकै कमाइ पो स्वाहा हुन्छ,” अलि पर्तिर पुगेर छेका लागे उनी । अनुहारको डर भने अझै ओझेल परेको थिएन ।
बिहीबार बिहान नेकपा एमाले र माओवादी केन्द्रको एकीकरणसम्बन्धी अन्तिम गृहकार्य चलिरहँदा मध्य–बानेश्वरको एउटा क्याफेमा ऋचा शर्मा आफ्नै तनावले मुर्मुरिएकी थिइन् । एकातिर जेठ ११ बाट प्रदर्शन हुने ‘सुनकेसरी’ प्रचारप्रसारको धपेडी, अर्कातिर बिनाकारण डेढ घण्टा पर्खिनुपरेको उच्चाटलाग्दो समय ।
प्रचण्ड र केपी ओलीले पार्टी कार्यालयमा बिरुवा रोप्नै लाग्दा ऋचाले फोन गरिन्, “९ बजे भेट्ने कुरा थियो, अहिलेसम्म आउनुभएन । अरूको समयको ख्याल गरिदिनुस् न ।”
क्षमा माग्नुको विकल्प थिएन । पर्खिनुको दुःख जति हुन्छ, पर्खाउनुमा पनि उत्तिकै हुन्छ । ऋचाको अनुहारमा प्रतीक्षाको बाक्लो तुवाँलो फिँजिइरह्यो । डेढ घण्टा पर्खाएपछि बल्ल म पुगें । क्लान्त अनुहारमा पुनः बादल मडारियो तर धेरैबेर टिकेन ।
“कुराकानी शुरू गरौं, मसँग आधा घण्टामात्रै समय छ,” आफैं सहज बनाइन् र कुराकानीको पोयो फुकाइन् ।
ऋचासँग संगत गर्नेहरू भन्छन्– आगोको फिलिंगो हुन् उनी । कतिबेला रापिन्छिन् र कतिबेला चिसिएर श्यामल बन्छिन्, पत्तै हुन्न ।
ऋचा निर्मात्री तथा अभिनेत्री रहेको ‘सुनकेसरी’ जेठ ११ बाट प्रदर्शनमा आउँदैछ । हामीले उनी कैलालीबाट कसरी अस्ट्रेलियासम्म पुगेर ‘सुनकेसरी’ बनिन् भन्ने जान्न बोलाएका थियौं । महँगो लगानीमा बनेको करिअरकै महत्वाकांक्षी चलचित्रबारे बोल्नुअघि उनले जिन्दगीका अरु आयाम खोतलिन् ।
० ० ०
कैलालीबाट अभिनय यात्राको बाटो पहिल्याउँदै काठमाडौं खाल्डो आइपुगेकी हुन् ऋचा । कान्छी सन्तान । ५४ वर्षको उमेरमा जन्मिएकीले होला— बाबुको असाध्यै लाडप्यारमा हुर्किइन् । चार दिदीबहिनी र एक दाजुकी कान्छी बहिनी हुनुको लाभ प्रशस्तै उठाइन् ।
बाबु–छोरीको सामीप्यता आणुवंशिक हुन्छ । तर, उनको आनुषंगिक थियो । गढवाल पैत्रिक थातथलो । धनगढीमा काठेमिल । बाबुको ख्याति बेग्लै । नपुग्दो केही थिएन ।
त्यसको असर पढाइमा पर्यो । औसतबाट उँभो लाग्न सकिनन् उनी । “पासमात्रै हुँदा पनि गर्वबोध हुन्थ्यो,” अनुहारमा अतीत उद्दीपक हुन्छ उनको ।
कैलालीमा कखरा सिकेकी ऋचाले निम्न माध्यमिक तहको पढाइ भने काठमाडौंबाट शुरू गरिन्, लिटल एन्जेल्स स्कुल, हात्तीवनबाट । नामी निजी विद्यालय हो त्यो । पढाइसँगै अतिरिक्त कार्यकलापमा जोड दिन्थ्यो । पढाइबाहेक नृत्यकला, बास्केटबल र अन्य विधातिर पो आकर्षित भइन् उनी । पढाइ प्राथमिकतामै थिएन ।
“पढ्न खासै मन गर्दिनस्, नाचगान गरेरै भात खान्छेस् कि के हो ?” शिक्षकहरू बेलाबखत भन्थे । तर, पढाइकै लागि भनेर भयंकर समय छुट्याइनन् उनले, कहिल्यै । तर, ०६० मा प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण भइन् ।
“ऐच्छिक र अनिवार्य दुवै गणित बिग्रिएका थिए तर नतिजा आउँदा पास भएछु,” फिस्स हाँस्छिन् उनी ।
बाबुसँगको सान्निध्यता
दिदीबहिनी सबै काठमाडौं मावलीमै बसेर पढ्ने । बाल्यकालमा बाबुसँगै रत्तिइन् ऋचा । जहाँ जाँदा पनि सँगै । बिहान चोक–चौतारीमा चिया खाँदा पनि बाबुको हात समातेर त्यहीँ पुग्थिन् उनी । त्यसबेलाको एउटा रमाइलो किस्सा सुनाइन् उनले ।
तराई–मधेसको ठाउँ । आँप–बगान थियो । त्यस्तै डेढ सय आँपका बोट थिए होला । आँप–पारखी थिए पिता । आँप पाक्ने मौसममा गनेर बस्थे उनी । केटाकेटीलाई भन्थे, “खानु हुँदैन है केटाकेटी हो !”
केटौले उमेर न हो । उनीहरूचाँहि बाबु ओझेल पर्नेबित्तिकै झटारो हानेर आँप खसालिहाल्थे ।
बाबु आएर सोध्थे, “खै आँप ?”
के भनेर जवाफ दिनू ! “हावाले भुइँभरि झार्दियो । झरेका आँप लोखर्केले खायो होला,” टार्थे उनीहरू ।
बाबु मधुमेहका रोगी । गुलियो खान नमिल्ने । तर, बिहान सधैं मिठाई किनेर ल्याउने । “हाम्रो बहानामा खान पाइन्छ भनेर ल्याउने क्या !” हत्त न पत्त प्रष्ट्याउँछिन् ऋचा ।
बाबुसँगको वियोग
१९ वर्षकी थिइन् ऋचा । मस्तिष्कवरिपरि घुमिरहन्छ त्यो विदारक क्षण । मधुमेहमाथि मुटु रोगको भारी बोकेका थिए पिताले । अतिशय पीडा हुन्थ्यो । धनगढीमा केहीसीप नचलेपछि काठमाडौंको नर्भिकमा ल्याइयो र केही समय उपचार गरियो । सारसौंदो पनि देखिए ।
असार, उदेकलाग्दो महिना थियो । बिहान बाबुले फोन गरे, “अहिले मुटु दुख्न कम भएको छ । दुई–चार दिनमा उपचार गर्न आउँछु होला ।”
ढुक्क भइन् ऋचा । सबैलाई बाबु तन्दुरुस्त भएको सुनाइन् । दिदीहरू पनि फुरुंग परे ।
तर, दिउँसो अचानक गाह्रो भएको खबर आयो । त्यसको केही बेरपछि थाहा लाग्यो । मुटुको व्यथाले निमोठेछ उनलाई ।
त्यो क्षणले उनलाई अहिले पनि पिरोलिरहन्छ । आँखा भरिन्छन् । “जीवनको अन्तिम घडीमा उहाँसँग हुन पाइनँ । त्यो दिन सम्झिँदा सबैभन्दा दुःखी हुन्छु,” अनुहारमा पीडाको भाव देखापर्छ र पत्तै नपाई आँखाको छेउभित्ता रसाइदिन्छ ।
चलचित्रसँगको साइनो
तराईमा जन्मिए, हुर्किएकी । भारतीय सीमावर्ती क्षेत्र । हिन्दी चलचित्रको जबर्जस्त प्रभाव थियो । धनगढी, थारू बहुल क्षेत्र । सुदूरका पहाडी जिल्लाबाट गरिखान झरेकाहरू पनि छरछिमेकी थिए । टोलभरि उनीहरूको घरमा मात्रै टीभी थियो । शनिबार सधैंजसो हिन्दी चलचित्र आउँथ्यो । नबिराई, नछुटाई हेर्थिन् । त्यसैले चलचित्रप्रति दिलचस्पी बढाउँदै लग्यो उनलाई ।
आमा–दिदी बहिनीसँग हलसम्मै पुगेर पनि फिल्म हेर्थिन् उनी । पर्दामा मानिस सल्बलाउँदा उनी सोचिबस्थिन्, “यी मानिसहरू टीभीमा कसरी देखिँदा हुन् ? हलमा कसरी आउँदा हुन् ?”
तिनताक टीभीमा ‘शक्तिमान’ सिरियल आउँथ्यो । ‘शक्तिमान’ हेर्दा उनको मनले कयौंपटक हावामा कावा खाएको छ । मथिंगल हुँडलिएको छ । ‘शक्तिमान’ चरित्र ‘सुपरहिरो’ प्रतीत हुन्थ्यो ।
जब आइतबार आउँथ्यो, पेट दुःखेर आलसतालस हुन्थिन् । आमाले बुझिहाल्थिन् उनको बहाना । चारजना लगाएर घिच्याउँदै स्कुल पुर्याउन लगाउँथिन् ।
११ वर्षको उमेरमा काठमाडौं आएपछि कैलालीसँगको सामीप्यता फिक्का बन्दै गयो । लिटल एन्जल्सले उनीभित्रको अभिनय कौशल मुखर गर्ने मञ्च प्रदान गर्यो । त्यस्तै कक्षा ८ मा पढ्दा हुनुपर्छ— अभिभावक दिवसमा नाटक देखाउनुपर्ने भयो । लागू–लती (दुर्व्यसनी)को भूमिका निभाउनुपर्ने चरित्र खोजी भयो । सबैले उनलाई पो अनुरोध गरे । उनले नकारिनन् ।
नाटक सकिएपछि सबैले तारिफ गरे । वाहवाही बटुलिन् उनले । असाध्यै मन परेपछि केही साथीहरूले सोधे नै, “कसरी जीवन्त अभिनय गर्न सक्यौ ? ड्रग्स खाएको मानिस कहाँ देखेकी थियौ ?”
“टीभीमा हेरेर जानेको नि !” टारिन् उनले ।
तर, आफूभित्र जीवन्त अभिनय क्षमता देखेर नायिकाको सपना त्यतिबेलादेखि नै हुर्काउन थालेकी हुन् उनले । लगातार दुई वर्ष उत्कृष्ट अभिनयकर्ताको उपाधि चुमेपछि उनीभित्रको अभिनय कौशलले हाँगा हाल्न थाल्यो ।
अग्लो कद । सुशील स्वभाव । वाक स्पष्टता । साथीहरूले उनलाई पटक–पटक सुझाउँथे, “स्कुल सकिएपछि मोडलिङको कक्षा लिन थाल ।”
“के थाहा ! त्यही प्रेरणाले पो चलचित्र दुनियाँमा पुर्यायो कि ?” ती साथीप्रति अनुग्रहित छिन् उनी ।
असफल ‘मिस नेपाल’
किशोरवय । अभिनयको हुटहुटी । मोडलिङको छटपटी । त्यसैले उनलाई मिस नेपालको मञ्चमा पुर्यायो ।
उनले बुझेकी थिइन्– मिस नेपाल वैयक्तिक विकास र क्षमता अभिवृद्धिको महत्त्वपूर्ण खुड्किला हो । मञ्चमा नपुगी क्षमता प्रदर्शन हुँदैन भन्ने राम्रोसँग थाहा पाएकी ऋचाले मिस नेपालमा जाने मौका किन छाड्थिन् ! उनी प्रतिस्पर्धामा सामेल भइन् ।
तर, उपाधि भने चुम्न पाइनन् । ललितपुरकै शिताष्मा चन्दले त्यो सिजनको ताज पहिरिन् । उनले चाहिँ उत्कृष्ट १० मै मिस नेपाल बन्ने लालसा थन्क्याउनुपर्यो ।
तर, दुःखी छैनिन् उनी । जित्नैपर्छ भनेर गएकी पनि थिइनन् । “मिस नेपालमा सहभागी भएर उपाधि नचुम्ने कोही पनि दुःखी हुँदैनन् । ६ हप्ताको छोटै अवधिमा जीवनभरलाई काम लाग्ने कुरा सिक्न, जान्न र बुझ्न पाइन्छ,” हिडन ट्रेजरप्रति पनि अनुग्रहित छिन् उनी ।
मिस नेपालको प्रतिस्पर्धाबाट बाहिरिएपछि उनी जयन मानन्धरको ‘र्याम्प मोडलिङ एजेन्सी’मा जोडिइन् पहिलो ‘फोटो शुट’ गरिन् । वास्तवमा त्यो नै उनको करिअरको प्रस्थानबिन्दु थियो ।
त्यो ‘फोटो शुट’ आलोक नेम्वाङले देखेछन् । यस कुमारको ‘थाकेको यो नजरमा’ गीतको म्युजिक भिडियोमा ‘डेब्यु’ गराए ।
‘कान्तिपुर टेलिभिजन’बाट ‘हाउसफुल’ भन्ने टेलिशृंखला प्रसारण भइरहेको थियो । १०–११ औं शृंखलाका लागि नयाँ अनुहार खोजी भइरहेको रहेछ । उनले निर्देशक प्रचण्डमान श्रेष्ठलाई भेटिन् । ऋचा घिमिरे, आर्यन सिग्देललगायतले अभिनय गरिरहेका थिए त्यहाँ । उनले पनि संवादसहितको अभिनय गर्न पाइन् । पर्दामा त ‘थाकेको यो नजर’ले नै देखाइसकेको थियो । संवादसहित ‘हाउसफुल’ले आम दर्शकमाझ पुर्याइदियो ।
‘इमेज च्यानल’मा भीजे बनिन्, डेढ वर्षजति । डेढ सयजति म्युजिक भिडियोमा अभिनय पस्किइन् । र, क्रमशः जीवनलाई अभिनयसँग एकाकार गराउँदै गइन् ।
चिसो जर्मनी
सन् २००८ मा बाबुको निधनपश्चात् ऋचाले जर्मनीतिर पखेंटा फिँजारिन् । उद्देश्य एकातिर, पैताला अर्कातिर । जर्मनीमा मन अडिन सकेन । बाबुको चोला उठेपछि आमाले एक्ली महसुस गरेकी थिइन् । कान्छी छोरी जर्मनी हानिएपछि आमा औधी नियास्रिइन् । आमाकै मायाले तानेर नेपाल ल्यायो— ६ महिनामै ।
“चिसो जर्मनीले मेरो सपनामा न्यानोपना दिन सकेनँ, नेपालै फर्किएँ । शायद मैले नेपालमै केही गर्नुपर्ने थियो,” जर्मनीबाट नेपाल फर्कनुको कारण यत्ति हो उनको ।
नभन्दै नेपाल फर्किएपछि फिल्मी करिअरले पो गति लिन थाल्यो । तिनताक सिमोस सुनुवारले निर्देशन गरेको चलचित्र ‘फस्र्ट लव’मा अडिसन लिइँदैछ भन्ने थाहा पाइन् । धेरैजना प्रत्यासी थिए, उनी पनि थपिइन् ।
माधव वाग्लेले ऋचा देख्नेबित्तिकै पुलकित भावमा भने, “यही नानी हुन्छ !”
आर्यन सिग्देल, निशा शर्मासँगै ठूलो पर्दामा पदार्पण भइन् ऋचा । त्यसयता भने १५–१७ वटा चलचित्रमा अभिनय गरेकी छन् उनले । चलचित्रमा काम गर्ने उनकै आफ्नै विधि–विधान छ । चलचित्र जीवन सादृश्य हुनुपर्छ । समाजको छाया सन्निहत हुनुपर्छ । चलचित्र निर्माता–निर्देशक दूरगामी र दूरदृष्टि राख्ने हुनुपर्छ । सम्झौतापरस्त उनी हुँदै होइनन् ।
“र त मैले धेरै चलचित्रमा अभिनय गरेकी छैन नि !” आत्मस्वीकारोक्तिपूर्ण गजबको घाम उदाउँछ उनको अनुहारमा ।
१५–१६ चलचित्रमा निभाएका भूमिकामध्ये मन खाएको अभिनय कुन चरित्रमा होला ? आम मानिसको मनमा ठिंग उभिने प्रश्न हो यो । हरेकजसो अन्तर्वातामा उनलाई यस्तै प्रश्न गरिन्छ । हामीले पनि गर्यौं ।
तर, यसको मूर्त जवाफ उनीसँग पनि छैन । उत्तर दिनपरेपछि अनुहारको आभा लगभग ओझेल पर्छ । चलचित्र अभिनयमा उनी ‘चुजी’ हुन् । चलोस्–नचलोस्— चलचित्रमा काम गरेपछि पश्चाताप नहोस् भनेर शुरूमै सतर्क हुन्छिन् उनी ।
धेरै बेर कर गरेपछि उनले भनिन्, “अनिल थापाले निर्देशन गर्नुभएको ‘को आफ्नो’को काम मलाई धेरै मन पर्छ । फिल्म चले पनि नचले पनि मलाई त्यो चरित्रले सन्तोष दिन्छ ।”
०७२ फागुनमा प्रदर्शन भएको ‘को आफ्नो’मा ऋचा र सुवास थापाको मुख्य भूमिका थियो । आमाको भूमिकामा प्रस्तुत हुँदा उनको अनुहार बिग्रिएको थियो । नक्कली दाँत राख्दा–राख्दा गाला नै सुन्निएको थियो । चरित्रमा चुर्लुम्म भिज्दा साँच्चिकै आमा नै हुँ कि क्या हो भन्ने भान भएर थुप्रैपटक झुक्किएकी छन् ।
“यस्तो भूमिका शायदै नेपाली चलचित्रमा लेखिन्छ र मैले अभिनय गर्न पाउँछु । आमा बन्न कति गाह्रो हुँदो रहेछ भनेर गहिरोसँग अनुभूत गर्ने मौकासमेत पाएँ,” अद्यपर्यन्त दिमागमा ‘को आफ्नो’को छाप छ । र, त्यही पदचाप पछ्याउन खोज्छिन् उनी ।
हिरोइनको मानक
सुडौल जिउडाल । सुन्दर अनुहार । ठूला र चहकिला आँखा । बटारिएका परेला । गुलाबी ओठ । घामजस्तो हाँसो । नायिकाको सन्दर्भमा हाम्रो सौन्दर्यचेत यत्ति हो ।
तर, यो विम्ब बिस्तारै बदलिँदैछ । चलचित्रमा भित्रँदो अभिनयात्मक विविधताले हिरोइनबारेको परम्परागत धारणामा कुचो लगाउँदैछ । व्यक्तिविशेष भन्दा पनि चरित्रविशेषको चर्चा हुनु नै त्यसको कारण हो ।
त्यसो त ऋचा पनि आफूलाई कलाकारमात्रै भन्न रुचाउँछिन् । अभिनेत्रीमात्रै । “ममा हिरोइनमा हुने धेरै (परम्परागत) गुण छैनन् । नाचगानमा पारंगत पनि होइन । एकाधबाहेक चलचित्रमा नृत्य पनि गरेकी छैन,” आफैंलाई नियाल्छिन् ।
हलिउड, बलिउडलगायत विश्व सिने जगतमा हिरो–हिरोइन दुवैको मानक बदलिँदै जाँदा त्यसको बाछिटा हामीसम्म पनि आइपुगेको छ । रिस्मा गुरुङ, दयाहाङ राई त्यसैको प्रतिविम्ब भएको उनको ठहर छ ।
पछिल्लो समय उनी निर्मात्रीको भूमिकामा छिन् । ‘फस्ट लव’बाट शुरू भएको उनको यात्रा ‘आधा लव’मा आइपुग्दा नायिकाबाट निर्मात्रीमा बदलियो । त्यसो त उनी आफूलाई सधैं नायिकाको आवरणमा राख्न रुचाउन्निन् । प्राकृतिक हिसाबले त्यो सम्भव पनि होइन । यसर्थ उनी विभिन्न चरित्रसँग समाहार गराउँदैछिन् आफूलाई ।
“समयक्रमसँगै मैले आमाको चरित्र निभाउनुपर्ला । हिरोइनकी दिदी बन्नुपर्ला, काकी बन्नुपर्ला तर अप्ठ्यारो महसुस गरेकी छैन । बरु त्यो चरित्रसँग आफूलाई एकाकार गराउँदै अभ्यस्त बनाउँदै लगेकी छु,” अभिनय उमेरसापेक्ष बनाउँदैछिन् ऋचा ।
हाम्रोजस्तो सौन्दर्यचेत भएको समाजमा हिरोइनको उमेर हुन्छ । वास्तवमा अभिनयको कुनै उमेर हुँदैन । यही तथ्यलाई बलियोसँग मनन गर्ने अभिनेत्रीमा पर्छिन् ऋचा । उनको मापदण्डमा हिरोइनको पहिलो शर्त अभिनय हो, सौन्दर्य होइन ।
नायिकादेखि निमात्रीसम्म
चलचित्रवृत्तमा चर्चा चल्ने गर्छ– नायिकाहरू चलचित्र बजारमा बिक्न छाडेपछि चलचित्र बनाउन थाल्छन् । प्रतिवाद गर्दिनन् ऋचा ।
“मैले सारा जीवन चलचित्रमै व्यतीत गर्ने निधो गरिसकें । चलचित्रबाहेक अरू काम गर्न अनुभवको दृष्टिले काँची छु । नायिकाको उमेर होला, समय होला, अभिनेत्री या निर्मात्रीको त हुँदैन नि !” आफ्नै तर्कमा उभिन्छिन् ऋचा ।
करिष्मा मानन्धर, सिर्जना बस्नेत, रेखा थापा, निशा अधिकारी हुँदै निमात्रीको छिमलमा जोडिन आइपुगेकी ऋचा चलचित्रबाट ओझेल नपर्न निर्माणमा हात हालेको बताउँछिन् ।
भनेजस्तो भूमिकामा अभिनय गर्न नपाएपछि आफैं चलचित्र निर्माण गर्न कस्सिएको उनी हाँसी–हाँसी बताउँछिन् ।
“मलाई ‘आधा लव’ जस्तो चलचित्र बनोस् भन्ने लाग्थ्यो र हरर चलचित्रमा अभिनय गर्ने उत्कण्ठा थियो । र त, निर्मात्री बनें नि,” ‘आधा लव’ बनाएर निर्मात्रीमा ‘डेब्यु’ हुनुको तात्पर्य केलाइन् उनले ।
र, सुनकेसरी
अर्पण थापा र ऋचा मिलेर ‘आधा लव’ निर्माण गरे । त्यसले ऋचाको चलचित्र बनाउने अभिप्सामात्रै पूरा गर्यो । व्यापार गर्न सकेन ।
“अब कुन चलचित्र बनाउने र मनग्य व्यापार गर्ने ?” गहन चिन्तनमा थिए उनीहरू । तिनताकै उनीहरूले दुइटाजस्तो हरर फिल्म हेरे– ‘कन्ज्युरिङ’ र ‘इन्साइडियस’ । तिनको व्यापार देखेर चित खाए । दर्शक थिए— प्रायशः नवयौवना ।
२००७ मै अर्पण थापाले एउटा कथा लेखेका थिए– माया । ‘आधा लव’ प्रदर्शनपछि अस्ट्रेलिया पुगेका थिए । त्यहीबेला निर्माता भीम न्यौपानेले प्रस्ताव गरे, “मैले मूलधारका सबैजसो चलचित्रमा लगानी गरें । फरक विधाको चलचित्र बनाउने इच्छा छ ।”
अर्पणले भने, “मसँग हरर चलचित्रको कथा छ । तर, त्यसको लागि ‘क्यासल’ (किल्ला)जस्तो ठाउँ चाहिन्छ । कि लन्डन कि अस्ट्रेलियामा छायांकन गर्नुपर्छ ।”
क्यासलको खोजी भयो । नेपालमा पाल्पाको रानीमहलबाहेक अन्यत्र ठाउँ पत्ता लागेन । रानीमहलमा शुटिङ गर्न सम्भव भएन । अन्ततः अस्ट्रेलियामै छायांकन गर्ने टुंगो लागेपछि कथा पुनर्लेखन गरे ।
त्यही बेला मनीषा कोइरालाअभिनीत ‘डियर माया’ आयो । यो चलचित्रको नाममा ‘माया’ थियो । यो शब्द धेरै नै प्रयोग भएको ठाने र नाम फेरेर ‘सुनकेसरी’ जुराए ।
चलचित्र छायांकन गर्न अस्ट्रेलियाको मेलबर्न पुगे शुरूमा । तर, भनेजस्तो घर पाइएन । त्यसपछि सिड्नी लागे । घर फेला पर्यो तर कथा त्यो अनुरूपको छैन । त्यसपछि पुनः कथा बदले ।
हरर विश्वव्यापी जानरा । अंग्रेजी सबटाइटल हालेपछि विश्वभर प्रदर्शन गर्न मिल्ने । कम्मर कसे उनीहरूले ।
ऋचा, रवीन्द्र झा, सनी ढकालबाहेक सबै अस्ट्रेलियन ‘क्रु’ प्रयोग गरिएको छ । अस्ट्रेलियनलाई अति व्यावसायिक पाइन् उनले । एकपल्ट कामको निर्देशन दिएपछि दोहोर्याएर भन्नै नपर्ने । १८ दिनमै सुटिङ फत्ते भयो ।
‘सुनकेसरी’ ऋचाका लागि पाठाशाला सावित भयो । अस्ट्रेलियन ‘क्रु’सँगको सान्निध्यमा अभिनय कौशलका अतिरिक्त चलचित्र निर्माणका धेरैजसो विषयसँग परिचित हुने मौका पाइन् । सबैको जिम्मेवारी परिभाषित, मूल्य भुक्तानीको तौरतरिका सबैले आश्चर्यचकित तुल्यायो उनलाई ।
पेरिसमा अभिनय सिकेर आएकी ऋचाले केही समयअघि फ्रेन्च चलचित्रमा समेत अभिनय गरेकी थिइन् । त्यतिबेलै अनुभूत भएको हो–हामी धेरै पछाडि छौं । अस्ट्रेलियन ‘क्रु’सँग काम गर्दा घामजस्तै छर्लंग भयो ।
सिड्नीको भूताहा घरलाई ३४ हजार डलर मूल्य भुक्तान गर्नुपर्यो उनीहरूले । बज लुर्मान निर्देशित ‘अस्ट्रेलिया’ त्यही घरमा छायांकन भएको हो भने अस्ट्रेलियन टेलिचलचित्र निर्माताहरूको रोजाइमा समेत उक्त घर परिरहन्छ ।
स्टन्टको समन्वय गर्न जर्ज सालिवालाई अनुबन्धित गरे, जो सन् १९९९ देखि उदाएका नामी स्टन्टबाज हुन् ।
नेपालमा हरर चलचित्र नबनेका होइनन् । ‘एकदिन एक रात’, ‘मसान’, ‘आत्मा’, ‘डार्क हाउस’, ‘हँसिया’, ‘माला’, ‘पर्व’ हुँदै ‘सुनकेसरी’सम्म आइपुगेको नेपालको हरर मुभीले अपेक्षाकृत व्यापार गर्ला कि नगर्ला— संशय नै छ ।
तर, नेपाली चलचित्र उद्योगमा चलेको ‘नाटक’, ‘हास्य’, ‘माया’ जानराकै हाराहारीमा हररलाई ल्याइपुर्याउन ‘सुनकेसरी’मा हात हालेको बताउँछिन् ऋचा ।
“कन्ज्युरिङ हेर्ने दर्शकलाई फर्काएर सेतो साडी लगाएको चलचित्र हेराउन मन थिएन । त्यसैले सुनकेसरीमा कुनै सम्झौता गरेनौं । चलचित्रको ट्रेलर सार्वजनिक गरेपछि दर्शकको प्रतिक्रियाले उत्साहित तुल्याएको छ, बाँकी थाहा पाउन त आगामी हप्तासम्म पर्खैनैपर्छ,” चलचित्रबारे सबै कुरा दर्शकको जिम्मामा छाड्दै जुरुक्क उठिन् उनी ।
केही समय अगाडि अक्षर काकाले आफ्नो फेसबुक अकाउन्टमा लेखे, “प्रसव पीडापछि हिजो साँझ ‘देउती’ जन्मिइन् । यो धर्तीमा स्वागत छ तिमीलाई । सधैंभरि हाँसिरहनू, तिमी जन्मिएको बेला म जसरी हाँसेको थिएँ, ठीक त्यसैगरी ।”
सामाजिक सञ्जालमा राम्रो पकड भएका उनको त्यो स्टाटसमा धेरैले कमेन्ट गरे, “छोरीको बा हुनुभएकोमा बधाई छ काका ।”
उनलाई अचम्म लाग्यो । मान्छे कति हतार गर्छन् कमेन्ट गर्न । उनी फिस्स हाँसे । चुपचाप बसे । कमेन्टहरू थपिँदै गए, उनको अनुहारमा लाली भरिँदै गयो ।
‘देउती’ उनकी श्रीमतीले नौ महिना गर्भाधान गरेर जन्माएकी मासु र रगतको स्थुल स्वरूप थिइनन् । त्यो त उनी आफैंले आफ्नो मस्तिकमा गर्भाधान गरेर कम्प्युटरको सेतो स्क्रिनमा जन्माएकी ‘देउती’ थिइन् । ‘देउती’ जन्माउन उनकी श्रीमतीले खेपेको प्रश्रव पीडाभन्दा कम थिएन ।
मैले सोधें, “महिलाको प्रसव पीडा तपाईंले कसरी भोग्न सक्नुहुन्छ ? यो त महिलाभन्दा अरु कुनै प्राणीले भोग्न सक्दैनन् ।”
उनी फिस्स हाँसे । तौलिँदा पचास किलो ढिकढाकका काका चुपचाप बसे । केही बेरमा मुख खोले, “महिलालाई प्रकृतिले त्यो प्रसव पीडा खेप्ने अधिकार र पीडा दिएको हुन्छ । लेखकहरूलाई शरीरमा त्यतिबिघ्न पीडा नभए पनि मानसिक रूपमा हुन्छ । त्यो पीडा लेखकीय प्रसव वेदना हो ।”
० ० ०
पत्रकार समाजको पथप्रदर्शक हो । ऊसँग सधैं जिज्ञासा हुन्छ । त्यो जिज्ञासाले सूचना खोज्छ र सूचना खोज्दै जाँदा वास्तविक पात्रसँग आमनेसामने गराउँछ । काका पनि यसको अपवाद थिएनन् । उनले पनि समाचारका पात्रहरूसँग भेटे, जसले उनको मस्तिष्कलाई सधैं झक्झक्याए । त्यस्ता पत्रकार कमै हुन्छन्, जसले समाचारका पात्रलाई लिएर सिंगो उपन्यास लेख्छन् ।
तर, काका त्यस्ता होइनन् । ‘देउती’को केन्द्रीय चरित्र देउती उनको समाचारकी पात्र होइनन् । स्रोत पनि होइनन् । केन्द्रीय पात्र त उनकी हजुरआमा र फुपू दिदी हुन् । अथवा उनीहरूले भोगेको पीडा हो । उनीहरू जस्तै एकल महिला र बाल विधवाले भोगेको कठोर जीवनको कठोर कथा हो । आर्तनाद मिसिएको महिलाको कारुणिक रोदन हो । अनि हो चहर¥याइरहेको घाउमा नुनचुक छर्ने निर्दयी यौनपिपासु कालो समाजप्रतिको पटाक्षप ।
० ० ०
काका निकै सानै थिए । ठ्याक्कै उमेर थाहा नभए पनि चीँमुसी चीँ खेल्ने उमेरका । बाल विधवा उनकी फुपू र ३५ वर्षको कलकलाउँदो उमेरमा आफ्ना पति गुमाएकी उनकी हजुरआमा सधैं गफिरहन्थे । एकान्त पाउनेबित्तिकै उनीहरूको गफ सुरु हुन्थ्यो । अनुहारमा विचित्रको हाँसो फैलिन्थ्यो । र, छिनमै आँखा रसाउँथे । अनि दुवै जना सेतो मझेत्रोले आँसुको भेल पुछ्न थाल्थे । चन्द्रझैँ अनुहार लिएर बसेका उनीहरू सुँक्कसुँक्क गर्दै उठ्थे र आ–आफ्नै बाटोतर्फ बाँडिन्थे ।
“म सानै थिएँ । ममा म पुरुष हुँ भन्ने चेत पनि पलाइसकेको थिएन । तर, हजुरआमा र फुपू दिदी मैले पनि नसुन्ने गरी निकै सानो स्वरमा कुरा गर्नुहुन्थ्यो,” काका करिब २५ वर्षअगाडि फर्किनछन्, “अरु बेला मलाई एकछिन पनि नछाड्ने हजुरआमा मबाट तर्किंदै दिदीसँग त्यसरी गफ गरेको देख्दा मलाई अचम्म लाग्थ्यो । र, झन् मलाई के कुरा गर्छन् भन्ने उत्सुकता हुन्थ्यो ।”
उत्सुकताले काकालाई उनीहरूको कुरा सुन्न नजिक लैजान थाल्यो । तर, हजुरआमा र दिदी भने झनै सचेत हुन्थे । शायद उनीहरूलाई लाग्थ्यो– यो बालखै छ, उसले यस्ता कुरा सुन्नु हुँदैन । काका भने थाहै नपाएझैं उनीहरूको नजिक पुग्थे र सुन्थे ।
हजुरआमाको सारीको फेर र मझेत्रोको छेउ समाएर उनी सँगै कुद्थे । उनले पनि जेठा नाति भनेर खुब माया गर्थिन् ।
हजुरआमा र फुपू दिदीका धेरैजसो कुरा श्रीमान् गुमाएपछिका पीडाका हुन्थे । श्रीमान् गुमाएका महिलालाई परिवार र समाजले गर्ने व्यवहारका हुन्थे । उनीहरूलाई लाग्दै आएका निराधार आरोपका हुन्थे । र, त्यस्तो आरोप सहेर पलपलमा मर्दै बाँचिरहेका महिलाका जिन्दगीका हुन्थे । कसरी नरोओस् उनीहरूको मन ? कसरी नरसाऊन् उनीहरूका आँखा ? कसरी नराखोस् समाज परिवर्तनको अपेक्षा ? र, कसरी कल्पना नगरोस् समतामूलक समाज निर्माणको परिकल्पना !
हजुरआमा र फुपू दिदीले आफ्ना श्रीमान् गुमाएपछि भोग्नु परेको हेलाहोचोको कथा सुनेर हुर्किएका काका गाउँको पढाइ सकेर काठमाडौं आउँदा पनि अवस्था उस्तै थियो । मान्छे मर्ने र बाँच्ने त रीत हो, बदलिने कुरै थिएन । न त अपेक्षा नै । तर, जे फेरियोस् भनेर अपेक्षा गरिएको थियो, त्यो पनि बदलिएकै थिएन । समय बित्यो तर सोच बदलिएन । राजनीतिक व्यवस्था बदलियो तर समाज बदलिएन । कुराहरू अग्लाअग्ला हुन थाले, व्यवहार होचो नै थियो ।
महिलामाथि हुने व्यवहारमा परिवर्तन आएकै थिएन । एकल महिलालाई दिने यातना र दुव्र्यवहार उस्तै थियो । समाजको गिद्दे दृष्टि छँदै थियो । महिलाको इज्जत लुटेर आफूलाई मर्द ठान्नेहरूको कमी भएकै थिएन । प्रत्येक अखबारले महिलामाथि हुने अमानवीय कुकृत्यका भ्यागुते हेडलाइन छापिरहेकै थिए । आकर्षक बनाएर एफएम र टिभीहरूले समाचारका हेडलाइन पढिरहेकै थिए ।
यो यर्थाथले काकालाई भने लपेटिरहेको थियो । गाउँमा छँदा नजिकबाट नियालेका काकाले काठमाडौं आएर यसलाई अझ विस्तृतमा देशैभरि देखे । उनलाई लाग्यो– यसबारे लेख्न पाए ? गज्जब हुन्थ्यो !
कवितामा कलम चलाइरहेका काकालाई मनमा गढेको कथालाई उपन्यासको रूप दिन रहर पलायो । तर, आँट भने आएन । ‘फाइभ डब्लु वान एच’को सूत्रभित्र बसेर हार्डन्युजमा उनको कलम अभ्यस्त भए पनि लामा फिचर स्टोरीमा भर्खर डुल्दै त थियो तर परिपक्व भइसेको थिएन ।
समयको चक्र घुम्दै थियो । समयसँगै उनी अनलाइन पत्रिका ‘बाह्रखरी’ आइपुगे । त्यहीँ उनको कलम फिचर स्टोरीमा दौडिन थाल्यो । समाचार, कथाहरू माझिँदै गए ।
० ० ०
चार वर्षअघिदेखि नै मस्तिष्कमा उपन्यासको मधुरो आकृति थियो । मंसिरदेखि त्यसलाई उज्यालो पार्दै उद्याउँदै लगे । उपन्यासको प्रारम्भ, प्रत्येक च्याप्टर र क्लाइम्याक्सको सिन स्पष्ट दिमागमा भयो ।
र,
आयो काकालाई आँट । सुरु गरे पुसको अन्तिमदेखि ‘देउती’ लेख्न । दिउँसो कार्यालयको काम, राति ‘देउती’ लेखन उनको दैनिकी बन्यो । दिनको २ देखि ५ हजार शब्दसम्म लेख्न थाले । उनको लेखाइमा पूर्णविराम लागेन । करिब तीन महिनामा उनले उपन्यासको बिट मारे– वा भनौं ‘इन्ड क्ल्याप’ गरे ।
‘इन्ड क्ल्याप’ गर्न उनी आफ्नै गाउँ अमले (सिन्धुपाल्चोक) पुगे, जहाँ उनकी हजुरआमा र फुपू दिदीले आफ्नो जिन्दगी बताएका थिए र इहलीला समाप्त पारेका थिए । काकाले त्यहाँका प्रत्येक महिला दिदीबहिनीमा ‘देउती’ देख्न थाले ।
“गाग्री बोकेर पानी भर्न पँधेरा जाने महिलालाई पनि सेतो लुगा लगाएको देउती देख्न थालेँ । डोको बोकेर घाँस काट्न हिँडेका महिलालाई पनि म सेतो लुगा लगाएको देउती देख्न थालेँ । हातमा किताबकापी च्यापेर स्कुल हिँडेका केटीहरूलाई पनि देउती देख्न थालेँ,” काका भन्छन्, “सात दिन बसेर गाउँको परिवेश र आञ्चलिकतालाई अझै माझ्न गएको थिएँ, तर तीन दिनमै फर्किएँ ।”
उनले आमालाई यो कुरा सुनाए । आमा डराइन् । उनले पुस्तक नलेख्न आग्रह गरिन् । “पुस्तक लेख्ने मान्छे यस्तै–यस्तै भएर बेसुरका हुन्छन् भन्ने मैले धेरै सुनेकी छु । बाबु तँ पनि यो किताब लेख्न छोड् भन्नुभयो,” काका भन्छन्, “अहिले पनि आमा मलाई फोन गरेर यसै भन्नुहुन्छ । किताब लेख्न छोड्दे बाबु भन्नुहुन्छ ।”
आमाको यो आग्रहलाई उनले ‘बाल’ दिए ।
त्योभन्दा ठूलो चिन्ता आञ्चलिकतासहितको परिवेश चित्रण गर्नु थियो– ताकि त्यो चित्रणले पाठकलाई ‘देउती’कै धर्तीमा पु¥याओस् र वास्तविकता छर्लंग पारोस् । जहाँ आफ्नो लेखनी पनि झल्कियोस् । तर, त्यसले पनि उनलाई अल्झाइरह्यो । लेखे, मेटे, लेखे मेटे । चित्तै नबुझ्ने । करिब–करिब ५ दिनमा बल्ल उनले त्यो सिनको शब्द चित्र उतारे । त्यो हो खण्ड ५ । यो खण्ड अतिशय कारुणिक छ ।
उपन्यासका केही प्लट उनले विपनामा देखे, लेखे । केही प्लट सपनामा देखे र लेखे ।
“सपनामा उपन्यासका प्लट देख्थें, राम्रो लाग्थ्यो, उठेर लेख्थें,” उनी भन्छन्, “तर, केही भने भोलिपल्ट लेख्छु भन्दा त्यसको धमिलो आकृतिमात्रै आउँथ्यो । त्यसलाई जीवन दिन सकस हुन्थ्यो ।”
एक रातको कुरा, काकाले चार हजार शब्द लेखे र सुते । तर, निद्रै परेन । कथा मनमा बगिरहेको थियो । उठे । लेख्न सुरु गरे । लेखे ६ हजार शब्द । उज्यालो भयो । बिहानको ८ बज्यो । ‘बाह्रखरी’ जान उनी तयार भए । रेनकोट लगाए । बाइकको चाँबी बोके र बाहिर निस्किए । बाहिर त पानी परेकै थिएन । उनी झसंग भए, पानी त उनले आफ्नो उपन्यासमा पो पारेका थिए !