Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

रङ्गकर्मका सर्वकालीन हस्ति, बिष्णुभक्त फुँयाल



By  Unknown     6:03 PM    Labels: 
जीवनको रङ्ग कस्तो होला ? खैरो, रातो, निलो पहेँलो । मूर्त परिभाषामा जीवनलाई कैद गर्न र रङ्गमा अथ्र्याउन गाह्रो हुन्छ । सङ्घर्षमा अनेकौँ हिँउद खाएका र पटपटी फुटेका पैतालाले अनवरत कर्म मार्गमा जीवन नापेका वयोबृद्ध रङ्गले जीवनलाई सङ्घर्षकै विम्व पोत्ला । उपमा भिराउला । सुख सयल वा मोज मस्तिमा रमाउँदै जीवन काटेका हरुले सुखद अनुभुतीका रङ्गसँगै जीवन सजिएको आभाष गर्ला । जीवन सुखकै प्रतिक मान्ला । खुसीको सङ्गम ठान्ला तर ७४ बर्षे कलाकर्मी, रङ्गयोद्धा बिष्णुभक्त फुयाँलको आँखामा जीवन उनले रङ्गमञ्चमा कलामा ढालेको दु:खी पात्र भन्दा फरक छैन । रङ्गमञ्च विभिन्न पात्रमा पोखिएर कलाका विभिन्न भाव र भङ्गिमा ढाले भन्दा भिन्न छैन जीवनयात्रा ।

000

भक्तपुर थाकलवासबाट सुरुभएको जीवनकथा जीन्दगीका सुख दु:खका उदार चढाव, आरोह अवरोह मिलन विछोडका वियान्त क्षणहरु, उनी अभिनित पर्दाका दृष्यमा पस्किएका संवाद एवम् दु:ख र करुणामिश्रीत आवाजहरु भन्दा भिन्न छैन । बि.सं. १९९४ साल भदौ २३ गते भक्तपुरको थाकलवासमा एक सामान्य परिवारमा उनको जन्म भयो । जन्मिएको ५ बर्षको उमेरमानै उनले पितृवात्सल्य गुमाए । आमाको साथमा उनी उहिलेको न्यौपाने गाउँ अहिलेको का.म.पा. वडा नं. ६ बौद्ध महाकांल पानीट्याङ्कीमा बसाई सरे । जीवनकोे दु:खदायी यात्रा प्रारम्भ भयो । सानै उमेरदेखी, मेलापात, भारोपर्म धान्नुपरेका कारण पढाईलेखाई गर्न पाएनन् । त्यतीबेला दु:खी र गरिवका छोराछोरीहरुले कक्षाकोठाको अनुहार देख्न कहाँ सम्भव थियो र । चरम गरिवी र अभावले गर्दा १४ बर्षको कलिलो उमेरमा "इण्डिया" पसे । कुल्ली, दरवानका मजवुरी देखि होटल मजदुरको रुपमा श्रम खर्चिए, सीप खन्याए, पसिनालाई धेरथोर पैसामा बदले अहँ, जीवनको रङ्ग बदलीएन । "बर्मा गए पनि कर्मसँगै" उस्तै दु:खले पछ्याउन छोडेन । घरायसी दु:खका केही छाक टारे पनि खासै केही गर्न नसेकेर अवाक् भएर नेपाल नै फर्किए । जिन्दगीको रथ गुडाउन स्वदेशका प्रतिष्ठित होटलहरु रोयल, ल्होत्से, शङ्कर, अन्नपूर्ण, सोल्टी, ग्रिन र हायात रिजेन्सी लगायत तारे होटलहरुमा मसल्ची, वेटर देखि असिस्टेन्ट कुक हुँदै सिनियर कुक सम्म भए । पौरखी र मेहनती हातहले परिकारहरुमा रङ्ग भरे । थरिथरीका खानाहरुमा स्वाद पस्कँदै जीवनलाई धेरथोर आस्वादीत बनाए ।



000

कुनै पनि काममा सफलता हात पार्न समय र अनुशासनको मर्म कामको धर्म बुझ्नु पर्दछ । जीवनलाई कर्मको प्रारुप ठान्नुपर्दछ भन्ने आदर्शका अनुयायी, रङ्ग कर्मका महाहस्ती कसरी कलाकर्मसँग ठोकिन पुगेत ? सानै देखी आफु भित्र रङ्गकर्मको उत्कट चाहना बोकेका उनले टोलमा हुने स-साना नाटकहरुका नजिकै बसेर हेर्ने, मञ्चमा पर्दा सार्ने पात्रका रुपमा उभ्याउने गर्दथे । होटलमा काम गर्दै गर्दा विभिन्न समूह बनाएर नाटक खेल्ने र खेल्न उत्प्रेरीत गर्दथे । बि.सं. २०१९ सालमा कर्म या: भोग (कर्मको फल) नेवारी नाटकबाट रङ्मञ्चमा पदापर्ण (डेव्यू) गरेका रङ्कर्मका अथक साधक, सर्वकालीन हस्ती आज पर्यन्त उतिकै फराँसीला र लगनशील देखिन्छन् । आफुले काम गरेका होटलका किचेनका भित्ताहरुमा नाटकका स्क्रिप्ट टाँसेर संवाद कण्ठ गर्दै उनी नाटककर्ममा उदाए । रातभरी नसुतेरै रिहर्सल गर्ने र दुरदराजका गाउँका चौतारी, विद्यालयका आँगन, खुल्ला चौर र डवलीहरुमा मान्छेहरु भेला गरेर मनोरञ्जन र सचेतनाको विगुल फुक्ने रङ्ग नायक बिष्णुभक्त फुयाँलको जीवन खोलाको पानी जस्तै चञ्चल, कलकल र गतिशील छ ।

000

कर्मठ, लगनशीलता, निष्ठाका प्रतिमूर्ती र आदर्शमय उनको जीवन अनुसरण योग्य छ । जुनसुकै उमेर समूहका तथा कला क्षेत्रका हस्ती एवम् नवप्रवेशी कलाकारहरुसँग पनि तुरुन्तै भिज्ने र काम गर्न सक्ने तथा सवैसँग सिक्न रुचाउने शैली एवम् शिल्पका कारण वयोबृद्ध उमेमा पनि उनको कलायात्रामा पूर्णविराम लागेका छैन । रङ्गकर्ममा उनले थकाईमारेका छैनन् ।

000

हरिबहादुर थापा, मुकुन्द किशोर भट्टराई, सुनिल पोखरेल देखी सौगात मल्ल आदी सम्मका समकालीन भिन्न-भिन्न पात्र र कलाकारसँग आफ्नो कला उजिल्याउँदै तथा सँगसँगै यात्रा गर्दै, कला पस्कँदै मञ्चमा अविच्छिन्न रुपमा पोखिँदै आएका छन् । उनका नाटकहरुमा मनोरञ्जन मात्र होईन चेतनाका विम्व भेटिन्छन् । राजनीतिक सचेतनाका रङ्ग समेत मिसिएको पाईन्छ । उनी बामपन्थी र प्रगतिशील विचारका पक्षपोषक हुन् । तत्कालीन नेकपा (माले) को भूमिगत राजनीति देखिनै सक्रिय कार्यकर्ता, नेपाल स्वतन्त्र कार्पेट मजदुर यूनियन, राष्ट्रिय जनसांस्कृतिक महासङ्घमा समेत आवद्ध रहँदै का.म.पा वडा नं. ६ को वडा सदस्यका रुपमा जननिर्वाचीत प्रतिनिधि समेत भए र निरन्तर निष्ठाको राजनीति समेत रहे ।


000

तत्कालीन समयमा ब्राम्हण परिवेशमा जन्मिएका बिष्णुभक्त फुँयालले अन्तरजातीय विवाह गरेर तत्कालीन समाज व्यवस्था भत्काए । आफु भन्दा तल्लो जातको नेवार्नी भित्र्याए । घरसमाजले ईन्कार गर्ने छि:छि: र दुर् दुर् गर्ने परिस्थितीको सामना गर्दै अन्तत: राम्रो र सकरात्मक व्यवहारका कारण घर परिवार र समाजलाई रिझाए । उतीवेला बुवाको मृत्युपश्चात आमाले दोश्रो विहे गरिन् । बग्रेल्ति भाईवहिनीहरु जन्मिए । परिवारको जमजाल भयो । जीवनले दु:खका समुद्र पार गर्नु पर्यो । दु:ख सुखमा श्रीमतीले निकै साथ दिईन् । बनिवुतो गरेर छोराहरुलाई पढाए । छोराहरुले पनि असल बाटो लिए । दु:ख कष्ट झेल्दै अनवरत जीवनमार्गमा लम्कँदै रङ्गकर्ममा रमाउँदै बिष्णुभक्त यतीवेला उमेरले डाडाँपारी पुग्न लागे । तिलचाम्ले कपाल सेतै हुन लाग्यो । केशराषीहरुले तालु छोडीसके रोगले शरिर थिलो पार्दैछ  तै पनि रङ्गकर्मको यात्रामा उतिकै तेज र गतिमान् छन् । चर्चित हाँस्य टेलिसिरियल "तितो सत्यमा: रसिक कला गर्दै "यो माई लभ" मार्फत गसिप र जिवन्त अभिनय पस्कँदै छन् । २०४४ सालमा श्रीमतीको देहावशान् भए पछाडी महाकांल पानिट्याङ्कीमा आफुले दु:खजीलो गरेर ठड्याएको घरमा बाँकी जीवन व्यतित गरिरहेका छन् ।



000

कर्म या: भोग देखी आज सम्म अनगिन्त नाटकहरु, ६० भन्दा बढि ठूलो पर्दा र ५०० भन्दा बढी सानो पर्दामा जिवन्त कला पस्किएका विष्णुभक्त फुँयाल रङ्गकर्मका समकालीन कलाकारहरु कै आदर्श पुरुष हुन् । कला क्षेत्रमा लागेर लाखौँ दर्शकहरुको अपार माया पाएको र उमेर गुमाएको तथा रङ्गकर्ममा अझै धेरै गर्न बाँकी रहेको तथा अझै केही गर्ने चाहना भएको बताउने बिष्णुभक्त हाल नेपाल सङ्गित तथा नाट्य एकेडेकीका प्राज्ञ सभा सदस्य समेत हुनुहुन्छ । जीवनको पूवाद्र्ध दुु:ख र कष्टदायी भएपनि उत्तराद्र्ध सुखद नै भएकाले सन्तुष्ट भएको बताउने कला क्षेत्रमा समर्पित यी योद्धाको बाँकी जीवन यसरी नै बितोस् । शुभकामना !

प्रस्तुतीः रामनाथ खनाल
विभिन्न अनलाईनहरुमा प्रकाशित

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment