Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

लेखबहादुरको सपना



By  Unknown     9:35 PM    Labels: 
–रामनाथ ‘देशप्रेमी’
टिनिन्न...........................टिनिन्न................

मध्यरातमा आएको फोन कलले निद्रा खलवल्याई दियो ।

हेलो  ! हेलो  !!

रमेश बोल्नु भएको हो ?

हजुर बोल्दैछु ।

कहाँबाट को बोल्नु भयो यति राती ?

म त्रिभुवन विमनस्थलको अध्यागमन शाखाबाट ।

तपाईको साथि लेखवहादुरको...................यहाँ आईपुगेको छ । बुझ्न आउनु पर्यो । हामीले अरु सम्पर्क व्यक्ति भेट्टाउन सकेनौँ । तपाईको सम्पर्क नम्वर बाहिर टाँसिएको रहेछ । त्यही भएर फोन गर्यौँ । कहिले कति खेर आउनुहुन्छ ?

अहिले राति भएको कारणले आउन असम्भव छ ।  भोलि विहान सवेरै आउँछु । फोन राखिदिएँ ।

0000

तपाईको साथी, लेखबहादर ।

फोनसँगै आएको अस्पष्ट आवाज ।

रातभरी निद्रा परेन । छटपटी भई नै रह्यो  ।

म र लेखबहादर बाल्यकाला देखिको साथी । अत्यन्त मिल्ने । मिलनसार लेखबहादुर र हाम्रो घर थोरै तलमाथी भए पनि हाम्रो सम्बन्ध बालपन जस्तै निष्कलङ्क थियो । अत्यन्त नजिकको थियो । हामीले ८ कक्षा सम्मको अध्ययन घर नजिकैको निम्न माध्यामिक विद्यालयमा बितायौँ । माध्यामिक स्कूल गाउँ नजिक नभएकाले हामी छुट्टिनु पर्यो । म मामाघरमा बसेर पढन थालेँ। उसको मामाघर टाढा र पारिवारीक स्थिति पनि कमजोर भएकाले तत्कालै पढाई सुरु गर्न सकेन । एक बर्ष ढिला गरेर उ शहर छिर्यो । पढाई निरन्तरता दिन थाल्यो । पढाईको थप मात्राले छुटिन पुगेको हाम्रो सहयात्रा क्रमशः टाढा बन्दै गयो । पढाई बिदा भएर म घर आईपुगेको समयमा उ आएको हुँदैनथ्यो । उ आएको समयमा म आउने अवस्था हुँदैन थियो । यसरी हाम्रो सानै देखिको अगाध मित्रता पढाईको कारणबाट पर सर्ने अवस्था बन्यो ।  पछि सुनेँ, उसले प्रवेशिका परिक्षा उतिर्ण गर्यो । कलेज भर्ना पनि भयो । सानो तिनो जागिर पायो । काम गर्दै पढाईलाई निरन्तरता दिँदैछ । म पनि स्नातक तहको अध्ययनको अन्तिम बर्षको परिक्षाको तयारी गर्दै थिएँ । दशैँको समय थियो । उ गाउँमा आएको रहेछ । धेरै पछाडी, संयोगले हाम्रो भेट भयो । भालाकुसारी गन्थन मन्थन निकैबेर चल्यो । पढाईमा खासै प्रगती गर्न नसकेको तथा अहिलेको जागीरले घर चलाउन मुस्किल भएको र अतिरिक्त आम्दानाीको जोहो नभएको निराशा पोख्यो । उ पढाई, सानोतिनो जागिर र कलेज तहको राजनीतिमा पनि उतिकै सक्रिय रहेछ । धेरै नबोल्ने तथा सितीमिती आफ्नो कुरा अरुलाई नखोल्ने अन्र्तमुखी स्वभावको उ ठ्याक्कै बदलिएछ । बोलक्कड भएछ । राजनीतिको प्रभाव परेछ । धेरै पछि भेट भएको उ साँच्चै बदलिएछ । राष्ट्रीय राजनीति, आसन्न निर्वाचनका विषयमा आफ्नो पक्षधरताको विषयमा उसले खुलेर चर्चा परिचर्चा गर्न थाल्यो ।  मैले पनि केही जाने बुझेको विषय थियो । उसँगको त्यो भेट त्यस्तै बहससँगै सकियो । आमनिर्वाचन नजिँकिदै थियो । म स्नातक तहको पढाई पुरा गरेर गाउँकै विद्यालयमा माध्यामिक तहमा पढाउन थालेको थिएँ । निर्वाचनको सन्दर्भले होला, उसले गाउँ आउजाउको क्रमलाई बाक्लो बनाउन थालेको थियो । उसँगको मेरो पुरानो मित्रता पुनः झाङ्गिन थालेको थियो । मलाई राजनीति उति चासोको बिषय थिएन तर पनि राज्य सञ्चालनको माउ नीति नै राजनीति भएकाले र देशको विग्रँदो राजनीतिप्रति म पनि धेरथोर चिन्तित थिएँ । निर्वाचनको मिति नजिकिँदै थियो । गाउँमाचुनावी सरगर्मी  पनि बढेको थियो । उ गाउँ गाउँ चहार्दै आफ्नो पक्षमा जनमत बढाउन दत्तचित्त थियो । कलेजको राजनीतिमा होमीएको, पढेको तथा गाउँका दुःख सुखसँग भिजेको र गाउँको मट्टिमा नै हुर्किएकोले उसले जनमानसमा निकै राम्रो छाप पार्न सफल भयो । निर्वाचनमा उसकै पक्षधरको बिजय सम्भव भयो । धेरै समय अगाडी देखि अर्काको बाहुल्य रहेको क्षेत्रमा उनीहरुले झण्डा गाडे । एक किसिमले भन्दा त्यो बिजयमा उसको पसिना प्रशस्त परेको थियो । उसको मुहारमा एक किसिमको उज्यालो पनि देखियो । उसकै आग्रहलाई नकार्न नसकेर मैले मात्र होईन गाउँका सबैले नै उसैको पार्टीलाई सहयोग गर्यौँ । निर्वाचन लगतै कलेजको कन्फ्रेन्समा भाग लिन उ शहर हानियो । निर्वाचन पछाडी सरकार गठन आदिको काम हुँदै थियो ।

कलेजको सम्मलेलनको विहान उसले मलाई फोन गर्यो उसको पक्षमा माहौल राम्रो भएको तर संस्थापन पक्ष तथा माथिल्लो नेताको सहयोग नमिलेको दुखेसो पोख्यो । दुभाग्र्यवस् उ त्यो निर्वाचनमा पराजीत भएछ । आमनिर्वाचनमा डटेर लागेको तथा राजनीतिमा प्रखर र उदयीमान त्यो युवा राजनीति भित्रको कुटिलता र घातप्रतिघातका कारण क्रमशः पछाडी पर्दै गयो । उसले राजनीतिमा सुम्पिएका जाँगरका उर्वर विहानीहरु, राजनीतिमा नै सम्भावना देखेर त्यागेका सानातिना अवसरहरुले उसको जीवनमा तथा उसको भाकाको देश परिवर्तनमा खासै भेद परिवर्तन आएन । एक्लो छोरो तथा गरिव पृष्ठभूमिको परिवारको आम्दानीको श्रोत उ नै थियो । बाउ बुढा भई सकेका थिए ।

एक दिन बिहानै म  बरण्डामा बसेर चिया पिउँदै स्कूलको आन्तरीक परिक्षाको लागि प्रश्नपत्र तयार पार्दै थिएँ । लेखबहादर की आमा मेरो छेऊ आईन् । टुसुक्क बसिन् र सुँक्क..सुँक्क रुदै आफ्नो दुखेसो पोखिन् ।

हेर् रमेश मेरो छोरा लेखे र तँ एकै महिनाको हौ । तैँले लेखेलाई सम्झाईदेन, अव यो चालाले हुन्न  । बाऊ बुढा भई सके घरको जिम्वेवारी बढ्दै छ । अव सानोतिनो जागिर खोज् भनेर, हाम्ले भनेको मान्दैन । लेखेले नचाँहिने राजनीतिको पछाडी लागेर सवै व्यवहार विगार्यो । उसकी आमा सुँक्क सुँक्क रोईरहिन् । लेखेकी आमाको कुराले मलाई किंकर्तव्यविमुढ बनायो । म भन्दा जान्ने तथा हरेक पस्थितीको सामना गरेर राजनीतिमा होमिएको उसलाई सम्झाउने ल्याकत कहाँ म मा थियो र उसको कुरा सुन्दा म आफु भन्दा बढि जान्ने बुझ्ने लाग्थ्यो तै पनि उसको आमाको कुराले गर्दा म लेखेलाई सम्झाई दिउँला नभनिरहन सकिन । आमा हिँडे पछि तत्काल उसलाई फोन गरेँ । उसँग धेरैवेर कुरा भयो । उ राजनीति तथा घरायसी व्यवहारबाट अवाक् भएर विदेशिन लागेको रहेछ ।  घरमा आमालाई सम्झाई दिन तथा घरायसी अफ्टेरो तथा दुःखमा हेरीदिन आग्रह गर्यो र अलिकती पैसाको जोहो गरिदिन पनि भन्यो । मैले सकेको सहयोग गर्छु भन्ने बचन दिएर फोन राखिदिएँ ।

घरमा आमालाई सम्झाउने कोसिस गरेँ । आमाको मन त हो नी एक्लो छोरो, बुढेसकालमा चटक्क छोडेर विदेशिन लाग्दा कसको मन कटक्क खाँदैन र तै पनि सम्हालिएर ढिला भए पनि छोराको चेत आएको ठान्दै आमाले रुन्चेहाँसो हाँसिन् । मझेत्रोले आखाँको आशु पुछ्दै म तिर फर्किन् र भनिन्बावु,  पैसाको बन्दोवस्त कसरी गरेछ त ?

पैसाको जोहो मैले गर्दिएको छु । पैसाको चिन्ता गर्नु पर्दैन, आमा !

अवको एक महिना भित्रमा उ कतार जान्छ रे ।

एक हप्तामा मैले आवश्यक पैसाको बन्दोवस्त मिलाईदिन्छु ।

आमालाई अधैर्य भएछ क्यारे चुपचाप घरतिर फिरीन् ।

एक हप्ता भित्रमा आवश्यक पैसाको प्रवन्ध मिलाएर म काठमाडौं पुगेँ । पैसा दिएँ । म्यानपावरका कर्मचारीसँग आवश्यक जानकारी तथा उनीहरुको सम्पर्क नम्वर लिएर र अप्ठ्यारो पर्दा सम्पर्क गर्न भन्दै म लेखबहादुरसँग विदा भएर घर फर्के ।
एक महिना पछि लेखवहादुर कतार उड्यो । केही समय उसको घर परिवारलाई सम्झाउन मलाई हम्मे पर्यो ।

स्कूल छुट्टि भएको समय पारेर काठमाडौँ आई पुगको थिएँ । केन्द्रमा स्कूलको काम मिलाउनु थियो । अचानक राती एअरपोर्टबाट फोन आयो ।

0000

भोलिपल्ट विहान हतार हतार एअरपोर्ट पुगेँ । अध्यागमनमा सम्पर्क राखेँ । लेखबहादरको डेथ बडि आई पुगेको र म्यानपावर प्रतिनिधि बुझ्न नआएकोले मलाई सम्पर्क गरिएको रहेछ । म छाँगाबाट खसेको जस्तो भएँ । ओठ तालु सुकेर खँङ्ग्रङ्ग भो । दिमाखले काम गर्न छोडे झैँ भयो ।

घर परिवार तथा वैयक्तिक जीवनको समृद्धिको सपना मनमा सजाएर विदेशीएको लेखे कफिनमा कोचिएर फर्किएछ ।

विमानस्थलको चिसो भुँईमा बाकसमा वेरिएको त्यो जड्वत तथा मृत्युवत शरिर कसरी बुझने । के गर्ने । कस्तो अपहत्तेमा परेँ म । अव उसको आमालाई के भन्ने ? उमेरले डाँडापारी पुगेका सन्तान सुखको सपना मनभरी सजाएका ति बृद्ध बा आमालाई तिम्रो छोरा मरेछ, सतगत् गर्न आओ कसरी भन्ने ?

लास अगाडी ठिङ्ग उभिँदा मुटु एक्कासी चिसो भएर आयो । गोजिमा गतिलो पैसा थिएन । लास बुझेर सत्गतको प्रकृया अगाडी बढाउनुको विकल्प पनि थिएन । मोवाईलमा नम्वर नियाल्दै भटाभट सम्पर्क गर्न थालेँ । गाउँ, टोल ईष्ट मित्र नर नाता आदि सवैलाई सम्पर्क गरेँ  तर बृद्ध वाउ आमालाई कसरी भन्ने , के भनेर सम्झाउने धर्मसंकट पर्यो ।

गाँउमा हल्लि खल्लि भयो । सवैले थाहा पाए । बृद्ध वा आमालाई नभन्ने निधो गरेछन् । साथी खोजेर सद्गत् गर्ने जिम्मा मेरै काँधामा आयोे ।

सोम वाईवा  एक जना मात्र चिनेको साथी थियो । उसलाई बोलाएँ । नजिकको साथीको डेथवडी आएको र सत्गत् गर्नुपर्ने भएकोले एअरपोर्ट आउन भने । उ तत्काल आईपुग्यो ।

अव अर्को साथी पनि भएकाले आवश्यक प्रकृया पुर्याएर लाश बुझ्ने काम भयो । लाश बुझियो ।

एअरपोर्ट वाहिर विदेश जानेको लामो लाईन थियो । रिक्सामा कफिन राखेर वाहिरिँदै गर्दा विदेश जान आतुर थुप्रै अनुहार मध्ये कमै ले त्यो कफिन नियाले तर किञ्चित दुःख चिन्ता  पीर ती अनुहारमा देखिएनन् । ती जस्तै सपना सजाएर बाहिरीएका थुपै अनुहार बाकसमा बेरिएर फर्किदै गरेका प्रति ती साँच्चै वेखवर वेपरवाह देखिए । अव नेपाली समाजले हरेक तस्विर पचाउन सक्ने भएछ । मन वेचैन भयो । सोच्दा सोच्दै आर्यघाट पुगिएछ । आर्यघाटमा लाशको भिड रहेछ । तिन घण्टा ढिलो गरी  पालो आयो । आर्यघाटमा मृत्युका विभिन्न आर्तनाद थियो । स्वभाविक मृत्यु देखि अस्वभाविक मृत्युका विभन्न रुपहरु छरपष्ट थिए । थपिन आएको थियो लेखेकोे कफिन । मृत्यु भएकाको आफन्तलाई सम्झाउँदै एक जना बाह्मण फलाक्दै थिए । जन्म मृत्युको भवसागरमा कोहि नपरोस् । साँच्चै जीवनको अन्तिम सत्य मृत्यु पचाउन जो कोही असमर्थ हुँदो रहेछ यस्तै देखियो ।

मन मनै सोचेँ तैले कस्तो मृत्यु वेहोरीस् लेखे तँ अभागी रहेछस् । जन्मीएकै थात थलो र भूमीमा नै लम्पसार पर्न पाईनस् । संघर्षका अनेक रुपसँग साक्षत्कार तँ अन्तिममा विदेश नभासिनु पर्ने भासिईस् र दारुण मृत्यु मरिस् । साँच्चै त दुखिया नै रहिछस् ।

आकर्षक कफिनमा कोचिएको मृत शरिर फुकाईयो । कफिन बाहिर मेरो नाम र सम्पर्क नम्वर रहेछ । कफिन भित्र उसका कागजात, पासपोर्ट, मृत्यको कारण उल्लेखित कागज र उसले वेतन स्वरुप पाएको पैसा पनि पठाईएको रहेछ । सत्तरी तल्ला भवन निर्माणको जिम्मा पाएको कम्पनिमा काम गर्दा गर्दै अचानक लडेर उसको मृत्यु भएछ । मृत शरिर हेर्दा आँखाले सहज पचाउन नसक्ने विभत्स थियो ।  छिया छिया र दारुण मृत्यु वेहोरेको त्यो शरिरमा श्रद्धाञ्जलीको के तुक रहन्थ्यो र मृत्युका विभन्न रुप देखेको मैले लेखेको मृत्युको त्यो रुपसँग आफुलाई साक्षात्कार गराउन बडो कठिन भयो । सत्गत्को तारतम्य हुँदै थियो ।

गाउँमा एक कान दुई कान हुदै लेखबहादरको आमाको कानमा पनि छोरोको लाश काठमाडौँ आएको र सतगत् हुन लागेको सुईको परेछ । आमा अधैर्य हुँदै काठमाडौँ हानिईछन् ।

गाउँलेले आमा नआई सत्गत् नगर्न भने । आमा आउन दुई घण्टा लाग्ने भयो । दुई घण्टा पछि आमा आईपुगिन् । छोराको अस्वभाविक मृत्युले विक्षिप्त आमालाई सम्हाल्न हामीलाई कठिन भयो । आमाको क्रन्दन र चित्कारले आर्यघाटमा आर्तनाद छायो । त्यो क्षण वेहोर्न मलाई धेरै गाह्रो भो । सत्गत् गरीयो । गाउँमा बैदिक विधि अनुसार किरिया समाप्त भो क्रमशः सवैका आँखाबाट लेखेको मृत्यु अदृष्य हुन थाल्यो तर मेरो मनमा लेखेको अनुहारसँगै देशको सक्कली अनुहार हराउन थालेझैँ भयो । धेरै पटकको प्रयास र ताकेता पछि म्यानपावरले मेरो पैसा र क्षतीपूर्ति त वेहोर्यो तर कयौँ लेखेहरुको दारुण मृत्यूसँगै सकिएका सपना र अनेकौँ लेखबहादुरहरुका आमाको सन्तान वियोगको घाउमा कसले मलमपट्टि गरिदिने मेरो प्रश्न आज पर्यन्त अनुत्तरित भै नै रह्यो ।  अस्तु ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment