–रामनाथ खनाल
पशुपति हिन्दुहरुको आराध्यदेव, तपस्विहरुको तपोभुमी तथा हिन्दुहरुको संस्कार अन्र्तगत मृतकहरुको दाहसंस्कार गर्ने स्थल पनि । जीवनका अनेक रंग देख्न पाइन्छ, कोही त्यहाँ तिर्थाटन गर्न जान्छन्, कोही ‘मर्निङ वाक’ गर्दै फन्को मार्छन् । कोही ढोका अगाडि बसेर माग्दै गुजारा चलाउँछन्, कोही मन्दिरका ढोका भित्र पसेर, सुख समृद्धिको कामना गर्दछन् । त्यसो त हिजो आज प्रेमालाप गर्नेहरुको प्रणय भूमि पनि बन्न पुगेको छ पवित्र पाशुपत क्षेत्र ।
बागमतिको किनारका चितामा जलाउँदै गरेका लासको फुङ्ग उडेको धुँवाको अन्धकारमय वातावरण र दर्शनार्थीहरुको भीड छिचोल्नै मुस्किल हुने पशुपति मन्दिर परिसर धेरैको जीविकोपार्जनको माध्यम पनि बनेको छ भन्दा अतियुक्ती हुँदैन । सयौँ ब्राम्हणहरुको बागमती नदि किनारमा श्राद्धादी कार्य गरिदिएरै जीविका चलेको छ । पशुपतिको पूर्वपट्टी रहेको श्लेषमान्तक वनमा एकाविहानै भेटिएका सोममायाँ लामा र राममायाँ लामाको जीवन भने अनौठो तरिकाले वितेको छ ।
पशुपतिमा प्रायः पुजा आराधना र अन्तिम संस्कारबाहेक अन्य कार्यका लागि जानेहरु त्यती भेटिँदैनन् । तर उनीहरु भने झिसमिसे मै गुह्येश्वरीको उकालो झिचोलिसकेका हुन्छन् । र प्राणयाम र योगाध्यान गर्न जंगलबीच पुग्नेहरुलाई उछिनी सकेका हुन्छन् ।
त्यहाँ उनीहरु प्राणायम र योगाध्यानका लागि भने पुगेका होइनन् । उनीहरु श्लेषमान्तक बनमा त दिनहुँ सिस्नोको मुना टिप्न पुग्छन् ।
सर्लाही स्थायी घर भएका उनीहरु दुवैजना नै आँखा मिच्दै पशुपति, वनकाली र मृगस्थली आसपासका वन बुट्यान चर्हाछन् र धोक्राभरी सिस्नुको मुना टिपेर बौद्ध पुग्छन् । बौद्ध, स्तुपा वरपर बसेर दिनभर बेच्छन् । र झमक्क साँझ परेपछि घर फर्कन्छन् । खेर गएका सिस्नो टिपेर उनीहरुले दैनीक पाँच सय सम्म कमाउने गर्दछन् ।
हरियो सिस्नो किलोको ४० रुपैयाँ देखी ६० रुपैयाँ सम्ममा विक्रि गर्ने उनीहरुले मासिक १२ देखी १५ हजार सम्म कमाउने गरेको बताए ।
‘त्यस्तै बाह्र, पन्ध्र हजार कमाई हुन्छ’ भर्खरै टिपेको सिस्नो पातहरु धोक्रोमा हाल्दै राममायाँले सुनाईन् ।
उमेरले ५० हिउँद खाइसकेकी राममायाँले यो काम थालेको १० वर्ष भन्दा बढी भैसकेको छ, पहिला घर ढलान तथा अन्य काममा लागेकी उनी सुरुमा बौद्धमा कसैले सिस्नो बेचेको देख्दा अनौठो मान्ने गर्थिन् ।
‘त्यती बेला सिस्नो किनेर खाने को भेटिनु र रु’ उनले पुराना दिन् सम्झिइन् । तर विस्तारै उनले पनि बनकाली वरपरका क्षेत्रबाट सिस्नो टिपेर बेच्न थालिन् । सुरुसुरुमा किन्ने मानिसहरु कम भए पनि अहिले राम्रो माग भएको र दैनिक ४र५ जना नियमित ग्राहकहरु उनको सिस्नो किन्न आउने गरेकोे बताइन् ।
प्रायः यूरिक एसिड, डायवेटिजका रोगीहरु सिस्नोलाई फाँडो बनाएर खानेगरेको पनि उनले बताइन् ।
‘के गर्नु आज भोली जसलाई पनि यही रोग छ, त्यस कारण हामीले पनि राम्रो काम पाइरहेका छौँ’ उनले थपिन् । बौद्धमा सिस्नो बेच्न बस्दा कोही कोही पर्यटकहरुले सय, पचास टिप्स दिने गरेको पनि सुनाउँदै उनले अगाडि भनिन्, ‘विदेशीहरुले कहिलेकाँही दया गरेर टिप्स समेत दिन्छन् ।’
उमेरमै श्रीमान् वितेकाले यस्तो दुःख गरेर खानुपरेको पीडा शव्दमा पोख्दै उनले् भनिन्, ‘श्रीमान् चाँडै बित्नुभयो, बुहारी ल्याएपछि छोरा पनि अलग भयो । यसैलाई बाँच्ने आधार बनाएको छु ।’ उनलाई आफ्नो हात खुट्टा चलुञ्जेल काम गरेर खानुमा कुनै ग्लानी छैन ।
त्यस्तै सिस्नु बेचेर नै दुई सन्तान पालिरहेकी सोममायाँले भनिन् ‘सिस्नु वेच्दा राम्रो कमाई भएको छ ।’ राममायाँसँगै सिस्नु बेच्न थालेकी उनका श्रीमान् बौद्ध–शंखमुल रुटमा टेम्पो चलाउँछन् । सिस्नो बेचेर उनले श्रीमान्ले भन्दा राम्रो कमाई गर्न सफल भएको अनुभव सुनाईन् ।
कमाई राम्रो भए पनि झाडी र घारी भित्र पस्नु पर्ने भएकाले जुकाहरुले टोक्ने गरेको बताइन् । ‘कमाई भएर के गर्नु टिप्न साह्रै गाह्रो छ, कहिले काहीँ जुकाले टोकेर रक्तमुच्छेल बनाउँछ ।’ उनले जुकाले टोकेको घाऊ पुछ्दै भनिन् ।
पहिला पहिला सिस्नो फाँडो दुःखी र गरिवको भान्छामा मात्रै पाक्ने गरेको भएता पनि अचेल यो सहरीया वर्गको भान्छामा अनिवार्य जस्तै भइसकेको छ । समयक्रमसँगै मानिसमा देखा पर्न थालेका विभिन्न रोगहरुबाट छुट्कारा पाउनका लागि पनि मानिसहरुले सिस्नोलाई तरकारीको रुपमा उपयोग गर्न थालेका छन् ।
त्यसैले हिजो आज सिस्नो सहर बजारका पसलहरुमा पाइन्छ । तर उच्च जनघनत्व र मानिसहरुको बढ्दो चापका कारण सिस्नो जताततै पाईँदैनन । पाइएपनि सिस्नो टिप्नै गाह्रो छ, त्यसैले सिस्नो महंगो र वहुउपयोगी बन्न थालेको पाइन्छ । सोममायाँका अनुसार बजारमा सुकेको सिस्नो पाँचदेखि आठसय सम्म र हरियो प्रतिकिलो पचास रुपैँयामा विक्रि हुन्छ ।
तस्विरः अमुल थापा
No comments:
Post a Comment