Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

बहरमा वर्णको वजन (मात्रा) निर्धारण



By  Unknown     12:17 AM    Labels: 
भाषा सञ्चारको माध्यम हो । सञ्चार अनेक प्रकारले हुनसक्छ । इशारा पनि एउटा भाषा हो र बोलीचाली पनि । बोलीचालीको भाषालाई सामान्यतया: लिपिवद्ध गर्न सकिन्छ ।

भाषा जबसम्म कुनै वर्ग वा अवान्तर जातिमा सीमित रही व्यवहारिक विचारको आदानप्रदान गर्ने साधनको रूपमा मात्र रहन्छ तबसम्म त्यो बोली वा कुरा मात्र रहन्छ । त्यो बोली वा कुरा विकसित भएर व्याकरणको नियममा रहेपछि त्यहाँ साहित्य सिर्जना हुन पुग्दछ । औपचारिक काम र व्यवहारहरूमा ल्याइन्छ र भाषा बन्न पुग्छ ।

भाषा दुई प्रकारका हुन्छन् । लेख्य भाषा र कथ्य भाषा ।
लेखेर विचार विनिमय गरिने भाषा लेख्य भाषा हो । लेख्य भाषा दुई प्रकारका हुन्छन्, व्यवहारिक र साहित्यिक । व्यवहारिक लेख्य भाषामा व्यक्ति-व्यक्ति व्यक्ति-समुदाय, समुदाय-समुदाय बीचका आफ्नै नियम र सिद्धान्त हुन्छन् । ती नियममा पनि कडीकडाऊ पालनाको शर्त हुँदैन । हामीले चर्चा गर्ने भाषा भनेको साहित्यिक भाषा हो ।साहित्यिक भाषाको आफ्नै नियम हुन्छ , त्यही नियमले भाषाको नियन्त्रण गर्छ ।

कथ्य भाषा बोलीचालीको भाषा हो । शब्द वा वाक्य निर्माणको मात्रै नभएर हरेक वर्णमा हुने आरोह, अवरोहले कथ्य भाषा लेख्य भाषा भन्दा व्यापक हुन्छ । कथ्यभाषालाई लेख्यभाषाले पूर्णरूपमा समेट्न सक्दैन ।

कथ्यभाषा पनि दुई प्रकारको हुन्छ । व्यवहारिक र साहित्यिक । व्यवहारिक कथ्य भाषाको उद्देश्य केवल सञ्चार सम्पर्क राख्नु वा कुरा बुझाउनु सम्म मात्रै हो । यस्ता कथ्य भाषाको कुनै कडीकडाउ नियम हुँदैन । व्यक्ति, समुदाय अनुसार फरक फरक हुनसक्छ । यसमा भाषिका पनि पर्छन् । अशिक्षित मानिसहरूबाट औपचारिक भाषा उच्चारण हुन नसक्दा शब्दमा परिवर्तन हुनपुग्छ र त्यो भाषिका बन्न पुग्छ । भाषिकाका शब्दहरू पनि समयक्रममा भाषाको शब्दभण्डारमा समावेश हुन पुग्छन् ।

कथ्य साहित्यिक भाषामा लेख्य साहित्यिक भाषामा जस्तै नियमहरू हुन्छन् । शिष्ट, सभ्य र शिक्षित मानिसहरूबीचमा संवाद कायम हुँदा प्रयोग हुने औपचारिक बोली वा कुरा नै कथ्य साहित्यिक भाषा हो । यसले व्याकरणका नियमलाई कडाइका साथ पालना गर्दछ ।

छन्दको आधार लेख्य साहित्यिक भाषा हो भने बहरको आधार कथ्य साहित्यिक भाषा हो । पद्य काव्यहरू लयद्वारा नियमित हुन्छन् । लय विभिन्न भाषा र वाङमय अनुसार फरक फरक छन् । आर्यावर्त भूमिमा पद्यकाव्य सिर्जना गर्दा लेख्य सिद्धान्त अवलम्वन गर्दै आइरहेको छन्दविज्ञान आदिकाल देखि अभ्यासमा छ भने कथ्य सिद्धान्त अवलम्वन गर्दै आइरहेको बहरविज्ञान (अरुज शास्त्र) पनि करिब एकहजार वर्षदेखि अभ्यासमा छ ।

लय विधानभित्र रहेर पद्यकाव्य सिर्जना चुनौतीको कार्य हो । यसलाई पालना गर्दा कहिलेकाँही विचार वा प्रस्तुतिमा सम्झौता गर्नुपर्ने हुनसक्छ । जुन कमजोरी कुनै पनि कवि वा सायरको चाहना हुन सक्दैन । अनि सुरु हुन्छ साहित्यिक औपचारिक भाषामा विचलन । कविता लेख्नेहरू सिर्जना गर्दा अप्ठेरो स्थिति आएदेखि छन्दको पालना गर्न लेख्य भाषामा सम्झौता गर्छन् कथ्य भाषामा निरपेक्ष रहन्छन् भने सायरहरू बहरको पालना गर्न कथ्य भाषामा सम्झौता गर्छन् लेख्य भाषामा निरपेक्ष रहन्छन् । यसरी लेख्य वा कथ्य भाषामा गरिने सम्झौता नै मात्रा गिरावट वा विचलन हो ।

मात्रा गिरावट वा विचलनका पनि आफ्नै केही हदहरू छन् जसलाई पार गरिए छन्द भङ्ग वा बहर खारिज भनिन्छ । छन्दशास्त्रमा विचलनको क्षेत्र लेख्य भाषा वा व्याकरण हुन्छ । शब्दहरूको अर्को अर्थ नलाग्ने सम्मको हदमा पुगेर व्याकरण र वर्णविन्यासमा छन्दशास्त्रले खेलेको पाइन्छ । जब छन्दशास्त्रका अनुयायीहरू विचलन गर्नुपर्ने अवस्थामा पुग्छन् उनीहरू कथ्यभाषामा टेक्न आइपुग्छन् । छन्द-साहित्यमा विचलनका कुरा वर्णविन्यासको विकृत प्रस्तुतिबाट थाहा हुन्छ ।

यस्तै, बहरविज्ञानमा विचलनको क्षेत्र वा सीमा कथ्य भाषा हुन्छ । लेख्यभाषामा बहरविज्ञान निरपेक्ष रहने हुँदा वर्णविन्यासका प्रचलित नियमहरूसित अरुज कुनै दखल पुर्‍याउँदैन ।औपचारिक वा साहित्यिक कथ्य भाषाबाट अनौपचारिक कथ्यभाषामा सायरले टेक्न खोज्नु मात्रा गिरावट हो । लिपिवद्ध गर्दा मात्राको कुनै परवाह नगरी शुद्ध साहित्यिक भाषामैँ लिपिवद्ध गरिने बहर साहित्यले वाचनमा सम्झौता गरी वजन मिलाउने गर्दछ । यसरी बुझौँ, छन्द साहित्यमा लेख्य मात्रालाई सर्वोपरी मानी शब्द विकृत पार्ने (मासलाई मसं पार्ने) अनुमति छ तर बहर साहित्यको लेख्यमात्रासित कुनै साइनो नहुनाले मासलाई मसं पार्न कडाइका साथ बर्जित छ । बहरसाहित्यमा मात्रा विचलन लेख्य वर्णको असन्तुलित वजनमा देखापर्छ ।

छन्द साहित्यका अनुयायीहरू कडाईका साथ छन्दका नियम पालना गर्न नसके छन्दमा लेख्न मनाही छ भनिदिन्छन् यसैले कवितामा छन्द ऐच्छिक भइसक्यो । अरुज शास्त्रीय मान्यता अनुसार बहर खारिज रचना गजल हुनै सक्दैन । बरू एउटा हदसम्म रहेर मात्रा विचलनलाई पनि स्विकार गर्न पुग्छन् । यसैले अरूज सिद्धान्त अनुसार बहरको पालना हरेक मिसरामा अनिवार्य छ ।

बहरमा मात्रा विचलनलाई बुझ्नु पहिले नेपाली कथ्यभाषामा वर्णको वजनलाई बुझ्नु जरुरी छ । यसलाई बुँदागत रूपमा प्रष्ट पार्ने कोशिश गरिएको छ ।

१) जुन ध्वनिलाई टुक्राउन सकिदैन त्यस्तो सग्लो ध्वनिलाई वर्ण भनिन्छ । ती ध्वनि बुझाउन लेखिने सङ्केतलाई पनि वर्ण भनिन्छ । जस्तै: अ, ई, क्, म् आदि ।

२)अरू ध्वनिको सहायता नलिई स्पष्ट उच्चारण हुने ध्वनिहरू स्वर वर्ण हुन् । जस्तै: अ, आ, इ, ऊ, ए आदि । व्यञ्जनवर्णको उच्चारणको लागि स्वरवर्णको सहायता आवश्यक पर्छ । जस्तै: क, खा, गि, घू, ङे आदि ।

३) उच्चारण गर्न थोरै समय लागेमा ह्रश्व, लघु, लाम वा एकमात्रिक भनिन्छ । धेरै समय लागेमा दीर्घ, गुरू, गाफ वा दुईमात्रिक मानिन्छ । उच्चारणमा साह्रै धेरै समय लागेमा प्लूत वा तीनमात्रिक मानिन्छ । पद्य काव्यमा प्लूत स्वरको कुरा गरेको पाइन्न ।

४) नेपाली कथ्य भाषामा अर्धमात्रिक इ र उकार पनि पाइन्छन् । नेपाली वर्णविन्यासमा स्वरमात्रमा हलन्त लगाउने प्रावधान नभएकोले लेखिँदा ती पूरै लेखिन्छन् उच्चारण गर्दा हलन्त उच्चारित हुन्छन् । यस्ता अर्ध उच्चारित स्वरहरूको कारण पूर्वस्वरमा आघात पर्छ । आघात पर्ने पूर्वस्वरहरू लघु भएमा त्यही अर्धस्वरको कारण गुरु बन्दछन् । गुरु भएमा पहिले आफू छोट्टिएर लघु बन्छन् अनि अर्धस्वरको कारणले पर्ने आघातले गुरु बन्छन् । जस्तै: दुइटा, जुइनो, सुइरो, जिउनी, चिउरा आदिका अर्धमात्रिक स्वरका पूर्वस्वर पहिलै एकमात्रिक छन् अर्धमात्रिक स्वरको कारण गुरु बन्न पुग्छन् भने खाइयो, माइती, घाइते, आइमाई, जाउलो, पाउजु, दाउ, साँउँ, सोचाइ, गराइ, हिडाइ आदिका अर्धमात्रिक स्वर भन्दा अगाडिका गुरू स्वर पहिले छोट्टिएर लघु बन्छन् अनिमात्र अर्ध स्वरको सहायताले गुरू बन्छन ।

५) नेपाली कथ्य भाषामा एकमात्रिक वजन भएका ए र ओ स्वर पनि छन् । ती स्वरहरू शब्दको आदि, मध्य र अन्त्य जतापनि भेटिन्छन् ।

• आदिमा : एकोहोरो, देउता, एउटा, एक, केही, ओखती, ओरालो, गोदान, कोही, ओझेल आदि ।
• मध्यमा : गरेको, भएको, कोसेली, एकोहोरो, दोहोरो, पोहोर आदि ।
• अन्त्यमा: सेते, काले, पाले, पीठो, मीठो, दाम्लो, नाम्लो आदि ।
• एकाक्षरी ए र ओ स्वर पनि ह्रश्व सुनिन्छन् : ए, हो, पो, के, को आदि । यी स्वरहरू वाक्यको संरचना अनुसार दीर्घ र प्लुत पनि सुनिन्छन् ।
• विभक्तिका अन्त्यमा ए ओ रहेछन भने पनि ती ह्रश्व सुनिन्छन् । कसले, कसको, आफनो आदि ।

६) बनौटका हिसाबले स्वर दुई प्रकारका छन् । मूल स्वर र सन्धी स्वर । ह्रश्व स्वरहरू मूल स्वरहरू हुन् । दीर्घ स्वरहरू सन्धी स्वरहरू हुन् ।
• नेपाली लेख्य भाषामा अ, इ, उ, ऋ मूल स्वरहरू हुन् भने कथ्य भाषामा अ, इ, उ, ए, ओ मूल स्वरहरू हुन् । अंग्रजीमा पनि A, E, I, O, U आदि मूल स्वरहरू हुन् ।
• मूल स्वरहरूको योगबाट बनेका दीर्घ स्वरहरू सन्धी स्वरहरू हुन् । सन्धीस्वरहरू दुई प्रकारका हुन्छन् । एउटै स्वरको मेलबाट बन्ने समसन्धी स्वरहरूमा अ+अ=आ, आ+आ=आ, इ+इ=ई, ई+ई=ई, उ+उ=ऊ, ऊ+ऊ=ऊ, ए+ए=ए, ओ+ओ=ओ आदि ।
असमसन्धी स्वरहरू फरक प्रकारका स्वरहरु मिलेर बन्छन् । जस्तै: अ/अा+अ/आ=आ, अ/आ+इ/ई= ए, अ/आ+उ/ऊ=ओ, अ/आ+ए/ऐ= ऐ, अ/आ+ओ/औ= औ ।
• नेपाली कथ्य भाषामा ए र ओ मूल स्वर नै हुन्छन् । सन्धीबाट बनेका ए र ओ मात्र दुईमात्रिक हुनेहुन् । माथि बताइएको सन्धी स्वरहरूको नियम दुई शब्दबीच सन्धी भएको बेला समीपवर्ती स्वरहरूको योगमा मात्र हुन्छ । अरूबेला अ+इ=ऐ, अ+उ= औ, आ+इ= आइ र आ+उ= आउ हुन्छ । आइ र आउ पनि नेपाली कथ्यभाषाका दुई मात्रिक स्वरहरू हुन् । यिनलाई लिपिवद्ध गर्न नेपाली वर्णमालामा कुनै सग्लो वर्ण छैन ।

याद गरौं, मूल स्वरहरू एक मात्रिक हुन भने सन्धी स्वरहरू दुई मात्रिक हुन् ।

७) उच्चारणमा नाकको पनि बराबर भूमिका रहने ध्वनिहरू अनुनासिक स्वरहरू हुन् । अनुनासिक स्वरहरू स्वतन्त्र स्वर हैनन् यिनीहरू कुनै न कुनै अन्य स्वरमा आश्रित रहन्छन् र पूर्ण रूपमा घुलमिल हुन्छन् । अनुनासिकताले वर्णको वजनमा कुनैपनि प्रभाव पार्दैन ।

८) स्वरको लगत्तै स्वरसित मिलेर ङ्, ञ्, ण्, न्, म् को विकल्पको रूपमा आउने ध्वनि अनुस्वार हो । अनुस्वारले आफू आश्रित स्वरको वजनमा प्रभाव पार्छ ।

९) नेपाली कथ्यभाषामा ड र ढ बीचको मध्यध्वनि पनि छ । तर त्यसको लागि नेपाली वर्णमालामा छुट्टै वर्णको व्यवस्था नहुनाले ड वा ढ बाट नै काम चलाउनु पर्छ । त्यो व्यञ्जन एकमात्रिक हो र बाँकी व्यञ्जनमा जस्तै नियमा त्यसमा पनि लागु हुन्छन् ।

१०) य र व अर्धस्वर वर्ण हुन् । इ+अ=य र उ+अ= व हुनाले संयुक्त स्वर पनि हुन् । संयुक्त स्वर भएपनि यी एकमात्रिक मानिन्छन् । यिनमा स्वर मिसाउँदा या=इआ/एआ, यि = इ, यी=ई, यु= इउ, ये= ए, यो=एओ, वा=उअा, वि=उइ, वी=उई, वु=उ, वू=ऊ, वे=ओए, वै=ओइ आदि जस्ता ध्वनिहरू पैदा हुन्छन् । सामान्यतया: नेपाली कथ्यभाषामा य र ए तथा व र ओ उस्तै सुनिन्छन् ।

११) संयुक्त स्वरहरूमा हाम्रो लेख्य वर्णमालामा भएका ऐ, औ, अं, अ: मात्र नभई आइ, आउ, एइ, एउ, ओइ, ओउ लगायतका स्वरहरू पनि कथ्यभाषामा छन् । तिनीहरूलाई लिपिवद्ध गर्न एउटै वर्ण उपलब्ध नभएपनि तिनीहरू एउटै वर्ण हुन्छन् र तिनीहरूको वजन २ हुन्छ ।

१२) संस्कृत, मैथली, हिन्दी लगायतका भाषामा अर्धस्वरको प्रावधान छैन । लेख्य र कथ्यभाषा दुबै एउटै भएका ती भाषामा नभए पनि नेपाली कथ्यभाषामा इ र उ हलन्त हुन सक्छन् ।


१३) दुई वा दुईभन्दा बढी व्यञ्जनवर्ण जोडिनुलाई व्यञ्जनसंयोग भनिन्छ । यिनलाई संयुक्त व्यञ्जन पनि भनिन्छ । स्वरविहीन व्यञ्जन अर्ध व्यञ्जन हो । यो स्वतन्त्र हुन सक्दैन । अर्ध व्यञ्जन कहिले पूर्व स्वरको अङ्ग त कहिले परस्वरको अङ्ग हुन्छ । अर्धव्यञ्जन पूर्वस्वरको अङ्ग हुन पुगेमा पूर्वस्वर एकमात्रिक भए दुईमात्रिक बनाउँछ । अन्यथा कुनै पनि खालको प्रभाव पार्दैन ।

१४) य र व जस्ता अर्धस्वर वर्णसित गाँसिन आउने अर्धव्यञ्जन कहिले एक्लै मिसिन्छ भने कहिले द्वित्व भई मिसिन्छ । त्यसले शब्दको अर्थमा नै समेत प्रभाव पार्दछ ।

१५) नेपाली कथ्य भाषामा क्ष, त्र, ज्ञ छैनन् । क्ष को ठाउँमा छे, छ्य, च्छ्य हुन्छ । ज्ञ को ठाउँमा ग्यँ हुन्छ । ती वर्णले आफ्नो पूर्वस्वर एकमात्रिक भएमा मात्र प्रभाव पार्दछन् । जस्तै:
पूर्वस्वरमा प्रभाव नपर्ने- अक्षेता (२२२)= अछेता(१२२), नक्षेत्र(२२१)= नछेत्र(१२१) आदि
पूर्वस्वरमा प्रभाव पार्ने- कक्षा (२२)=कच्छ्या(२२), प्रज्ञा(२२)=प्रग्याँ(२२) आदि ।

१६) लेखपढमा अकारान्त लेखिने तर उच्चारण गर्दा अ को उच्चारण नसुनिने अकारलाई अपूर्णोच्चारित अकार मानिन्छ । नेपाली शब्दमा नाम शब्दका अन्त्यको अकार पूरा सुनिदैन । पूरा उच्चारित नहुँदा त्यसले पूर्वस्वरमा दबाब सिर्जना गर्दछ र एकमात्रिक भए दुई मात्रिक बनाउँछ अन्यथा आफैमा वजनविहीन बन्दछ ।

१७) नेपाली कथ्यभाषामा संयुक्त वर्णका कारण दीर्घ भएका वर्णसित सँगै रहेका अन्त्य अकारको पूरै उच्चारण हुन्छ । जस्तै: सत्य, हुन्छ, चट्ट, कृष्ण, प्रशस्त, सम्पूर्ण आदि ।

१८)नेपाली कथ्य संयुक्त स्वरहरू ऐ, ओ, अं पछाडिको अकारान्त वर्ण पनि पूरै उच्चारित हुन्छ । यथा: दैव, छैन, हँदैन आदि । यदि हलन्त उच्चारित हुने वर्ण छ भने संयुक्त स्वर ऐ र औ विग्रह भइ मूल स्वरहरू नै रहन्छन् । जस्तै: चैत = चइत्, खैर= खइर्, बैर=बइर्, सौख= सउख्, पौष=पउष्, ऐन= अइन्, वैध= वइध् आदि । अं, अ: को विग्रह गर्न मिल्दैन यसैले अकारान्त वर्णलाई हलन्त गर्न पनि मिल्दैन । जस्तै: कंश, संघ, अंक, दु:ख आदि ।
१९) अन्त्यमा य र ह भएका वर्णको अ पुरै उच्चारित हुन्छ ।

२०) एकाक्षरी शब्दको अ पुरै उच्चारित हुन्छ । जस्तै: तँ, म, ल, र, छ आदि ।

२१) अव्ययको रूपमा रहेका शब्दको अन्तिम वर्ण अकारान्त हुन्छ । जस्तै: आज, खेर, वर, पर, तिर, अब, तब, जब आदि ।

२२) विभक्तिका अन्त्य अकार पूर्ण उच्चारित हुन्छन् । जस्तै: सित, सँग, कन, बाट आदि ।

२३) प्रत्ययका अन्त्य अकारको पूरा उच्चारण हुन्छ । जस्तै: जा+एर= गएर, जा+न= जान, दि+न=दिन, के+न=किन, उठ्+आउन=उठाउन आदि ।

२४) अधिकरण चिन्ह 'मा' लोप भएर अकारान्त बनेका शब्दमा अ पूरा उच्चारण हुन्छ । जस्तै घरमा छ = घर छ, वनमा गयो= वन गयो आदि । (यस्तो दुई अक्षरी वर्णहरूमा कहिलेकाहीँ मात्र पाइन्छ सँधै भेटिदैन ।)

२५) काव्यको भाषा लचिलो र फराकिलो हुन्छ । कथ्यभाषामा लचकता आम कुरा हो । अर्थ नबाझिने, नबुझिने हदसम्म कथ्यभाषामा लचकता ल्याउन सकिन्छ । ए र ओ यस्ता स्वरहरू हुन् कि यिनको लचकताले लालित्य अझै थपिन सक्छ । त्यसैले ए र ओ लाई मन खोलेर दुईमात्रिक बनाउन सकिन्छ ।

लेखौं, मन खोलेर लेखौं, सबै भन्दा ठूलो कुरा विचार र संप्रेषणीयता हो, त्यसमा कत्ति सम्झौता नगरौं, बरू बहरका लचकतालाई उपयोग गरौं । बहरविहीन गजल नै लेख्नको लागि प्रतिवद्ध होऔं ।

आदरणीय भाषाविद् तथा साधकज्यू (हरू),
यो आलेख विवादको उद्देश्यले वा पृथक देखिने उद्देश्यले राखिएको हैन । मैले अहिलेसम्म अध्ययन गर्दा पाएको निष्कर्षलाई सरलीकृत गरिएको हो । मेरा स्रोत सामाग्री अरुज सिद्धान्त र नेपाली व्याकरण का पुस्तकहरू नै हुन् । केही आफ्ना अवधारणाहरू पनि घुसाएको छु । यसमा
• कमी कमजोरी प्रशस्त छन् ।शालीनतापूर्वक तिनमा कुरा उठाऔं, उचित तर्क सहित सुधार गरौं र स्पष्ट होऔं ।
• अपवादहरू भइहाल्छन् । कुनै बूँदामा वा शब्दमा अपवाद भए राखेर स्पष्ट होऔँ ।
सामाजिक सञ्जालबाट उद्दृत

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment