Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

नाटक सिक्न भरिया बनें



By  Unknown     4:18 AM    Labels: 


अक्षर काका । रंगकर्म समाजको दर्पण हो । समाजका विभिन्न पात्र र तिनको प्रवृत्तिमाथि न्यायसंगत अभिनय पस्किन उनीहरूको जीवनको गहिराइसम्म पुग्नैपर्छ, अन्यथा रंगकर्म फिक्का हुन्छ । यो केवल टिप्पणी होइन, सच्चाइ हो । यसैअनुरूप गुरुकुलले हामीलाई समाजका विभिन्न पात्रहरूको जिन्दगीसँग घुलमिल गरायो । प्रशिक्षणको दौरानमा गुरुकुलका प्रशिक्षक सुनील पोखरेलको टिमले म, राजन खतिवडा, सुरेश चन्दलगायत त्यहाँका प्रशिक्षार्थीहरूलाई भन्यो, “तिमीहरू भरियाको जीवन बुझ्न नाम्लो बोकेर काठमाडौँका गल्ली–गल्लीमा खटिनू ।”

त्यसपछि म नाम्लो कम्मरमा बाँध्दै पुरानो बानेश्वस्थित आरोहण गुरुकुलबाट भरिया बनेर मूल सडकमा निस्किएँ । निस्कन त निस्किएँ, तर मनमा संकोच भने थियो– भरिया बनेर त हिँडियो, तर भरियाबारे केही थाहा छैन । भारि कता पाइन्छ, कसरी ‘डिल’ गर्ने ? कसरी बोक्ने ? मनमा केही आइडिया फुरेको होइन ।

मैतिदेवी नपुग्दै अप्ठ्यारो आइपरि हाल्यो । गुरुकुलको होस्टलमा बसेर अभिनय सिके पनि मैतीदेवीमा पनि कोठा लिएको थिएँ । त्यहाँ भाईहरू बस्थे । कम्मरमा झुत्रे नाम्लो, सत्र ठाउँ फाटेको टोपी र दश ठाउँ टालेको लुगा लगाएर सडकमा निस्किएको त उताबाट लमक–लमक घरबेटीका छोरीहरू पो आउँदै रहेछन् । हेर आपत् ! तिनीहरूले देखेको भए निश्चय पनि भन्ठान्थे, “कत्ति न रंगमञ्चमा नाटक देखाउँछु भनेर फूर्तिफार्ती लाउँथ्यो, भारी बोकेर पो गुजारा चलाउँदो रहेछ !”

अर्को फसाद पनि थियो, तिनीहरूले म भरिया भन्ने थाहा पाएको भए भोलिपल्टै कोठाबाट निकालिन्थे । त्यसैले उनीहरूको आँखा ममाथि पर्नुअगावै छलिन खोजेँ । संयोग नै मान्नुपर्छ, नजिकै घडी पसल रहेछ । पसलमा साहु नभएकाले त्यहाँभित्र हत्त न पत्त छिरेँ र लामो स्वास फेरेँ !

अघिपछि खासै वास्ता हुँदैनथ्यो, यो दिन त बाटामा जता हेर्‍यो, त्यता त भरियामात्रै पो देख्छु ! हुन त तिनीहरू मेरा प्रतिस्पर्धी थिए । मेरो आँखामा भरियाबाहेक कोही आएनन् । उनीहरूलाई उछिनेर अघि बढेमात्र मैले भारी पाउथेँ । गुरुकुलले पनि भनेको थियो, “तिमीहरूमध्ये बेलुका कसले बढी पैसा कमाउने है त ।” सबै खाली गोजी सडकमा निस्किएका थिए ।

डिल्लीबजार पिपलबोट पुगेपछि दुई खिल्ली चुरोट किने र कानमा सिउरिएँ । भरियाहरू पनि त्यसै गर्थे । डिल्लीबजार कटेपछि एकजना भाईले देखेछ र चिच्याउन थाल्यो– कमल दाइ ! ए कमल दाइ !

पछाडि फर्किन्छु त मेरो हविगत देखेर भन्न थाल्यो, “दाइ के पारा हो यो ? नाम्लो बोकेर कता ?” ‘भाइ, आज तिमीसँग बोल्ने फुर्सद छैन, अर्को कुनै दिन भेटेर भनुँला है’ भनेर त्यहाँबाट फुत्किएँ । पर पुगेर फर्किएर हेर्दा पनि उसको हाँसो थामिएको थिएन ।

बाटामा गफिइरहेका भरियाहरू नियाल्थेँ र त्यस्तै हाउभाउ गर्थें । अर्को चिन्ता पनि थियो, ‘कसैले मलाई नक्कली भरिया भन्ठान्ने पो हुन् कि !’

त्यसैले म निकै चनाखो थिएँ । पुतलीसडक नपुग्दै सरिता भेटिइन् । गुरुकुलमै अभिनय सिक्दै गरेकी उनीचाहिँ त्यसदिन दोबाटोमा माग्न बसेकी थिइन् ।

उनी भन्दै थिइन्, ‘दाइ कस्तो भोक लागेको छ, दुई दिन भो खाना नखाएको, अलिकति पैसा दिनुहोस् न ।’ उनी पनि दुरुस्तै ‘मगन्ते’जस्ती देखिएकी थिइन् । “चुप लाग्, आफ्नो बोहोनी त भएको छैन, तँलाई केको पैसा ?’ भनेर उनको हात हुर्‍याइदिएँ । त्यहाँ अरु पनि मान्छेहरू थिए, उसलाई नचिने जसरी अरुले गर्ने व्यवहार गरेर आफ्नो बाटो लागेँ ।

पुतलीसडक पुगेँ । त्यहाँ राजन र सुरेश भेटिए, उनीहरू पनि भरियाकै हुलियामा थिए । लगत्तै राजन एकातिर लाग्यो, म र सुरेश अर्कोतिर मोडियौँ । बाटामा प्लास्टिकको बोरा झार्दै गरेको भेटियो । नाम्लो बोकेर हिँडेका हामी देख्नासाथ साहुले बोलाइहाल्यो, “ओई भरियाहरू ! यो भारी त्यहाँ पारि पुर्‍याउनुपर्‍यो, आओ आओ ।”

प्लास्टिकका बडेमानका १२ वटा बोरा रहेछन् । उसले भन्यो, “भारी थोरै छ, त्यहाँ पर पुर्‍याएको कति पैसा लिन्छौ ?”
हामी रनभुल्लमा पर्‍यौँ, भारी हेर्दा अजंगको लाग्थ्यो । अलमल गरे हाम्रो पोल खुल्ने भय पनि त्यत्तिकै थियो । त्यसैले बिलम्ब नगरी मैले भनेँ, “ डेढ सय रुपैयाँजति दिनुहोस् न ।”

उसले दाह्रा किट्दै भन्यो, “के रे ? यति भारीको डेढ सय ! राख्न दिएका छौ ? तिमीहरूले बोक्दैनौ भारी, म अर्कोलाई भन्छु, ३० रुपैयाँमा बोक्छौ भने बोक ।” पहिलो भारी भएकाले नाइँनास्ती गरेनौँ, बोक्यौँ । प्लास्टिकको भारी भएकाले हलुकै रहेछ । सुरेशले एकापट्टि तीन अर्कोपट्टि तीन र मैले पनि त्यसैगरी एकै खेपमा भारी पारी पुर्‍यायौँ ।

पहिलो पारिश्रमिक १५/१५ रुपैयाँ दुवैले बाड्यौँ ।

भारी बोकेपछि सुरेश अर्कोतिर लाग्यो, म बागबजारतर्फ अघि बढेँ । श्रेष्ठ फोटोकपी भित्रपट्टि नयाँ घर बन्दैरहेछ । त्यहाँको साहुले मलाई देख्नासाथ बोलायो र भन्यो, “ए भरिया भाई ! १२ किलोको १० प्याकेट जति सिमेन्ट छ, माथि पुर्‍याइदेऊ न ।” उसले ९० रुपैयाँ दिन राजी भएपछि म सिमेन्ट बोक्न थालेँ ।

कहिले काम गरेको भए पो भारी सजिलो गरी बोक्नु ! दुइटा बोरा माथि नपुर्‍याउँदै पसिनाको धारो छुटिहाल्यो ।  पिसाबले च्यापेकाले बनिसकेको तलाको भित्रपट्टि पसेको त साहुले बेस्करी हपार्‍यो, “तेरो पिसाब फेर्ने ठाउँ हो ?” वास्तवमा भरियालाई तल्लो स्तरको सोचेर मानवीय व्यवहार नै नगर्ने रहेछन् ! तल सडकमा ओर्लिएर पसलेलाई अनुनय–विनय गरेपछि उसले ‘त्यहाँ भित्रपट्टि छ’ भनेर पिसाब फेर्न ठाउँ देखाइदियो ।

त्यो भारी बोकिसकेपछि पुनः सुरेश सँगै भयो र हामी अरु साथीहरू के गर्दैछन् भनेर महाबौद्धतिर लाग्यौँ । ‘टास्क’अन्तर्गत केही साथीहरू त्यहाँ ज्योतिष बनेर हात हेर्दै थिए । हाम्रा दुई जना साथी हात हेर्न बसेको ठाउँमा त मानिसहरूको ताँती रहेछ । हामी पुग्नेबित्तिकै सोध्यौँ, “गुरु ! हाम्रो पनि हात हेरिदिने हो ?”

उनीहरूले पनि हप्काउँदै भने, “हात हेर्ने भए उता पर लाइनमा बस ।”

हात हेराउनेहरुलाई उनीहरू भन्दै थिए, “तपाईंको दशा बिग्रेको रहेछ, तपाईंलाई फलामको व्यापार लाभदायक छ । राहु केतुले असाध्यै दुःख दिएका छन्, ग्रहशान्ति पनि गर्नुपर्छ ।” हात हेर्न त के जान्नु नि ! तर पनि मान्छेहरु मख्ख परेर पैसा थमाउँदै हात हेराउँदै रहेछन् । झन्डै हाँसो फुत्किएको !

त्यसपछि हामी भित्रपट्टि गयौँ, त्यहाँ केही साथीहरू भारी ‘लोड–अनलोड’ गर्दै थिए । त्यहाँबाट फर्किएर हामी पुनः पुतलीसडकमै आयौँ । बीचमा रत्नपार्कमा पनि नछिरेका होइनौँ, तर सप्पैले हामीलाई नै हेरेको जस्तो लाग्ने । यिनीहरूले हामीलाई चिने कि क्या हो, हामी विश्वासिलो छैनौँ कि क्या हो भनेर डर लाग्यो ।

जाँदाजाँदै घण्टाघरमा सुनील सर र डेनमार्कका टिम ह्वाइट भेटिए । उनीहरूले केही फोटो पनि खिचे । हामी नबोली गन्तव्यतर्फ अघि बढ्यौँ ।

पुतलीसडकको इन्भेष्टमेन्ट बैंकनेरको टेलिफोनको क्याबिनेटमा केही भरियाहरू थिए, जहाँ अहिले पनि थुप्रै भरियाहरू बस्छन् । काम नभएकाले उनीहरूसँग चिनजान गर्न थाल्यौँ । त्यसमध्ये एउटाले भन्यो– भाईहरू नयाँ हो कि क्या हो ? घर कता पर्छ नि ?

मैले हतार–हतार ढाँट्दै भनेँ– सिन्धुपाल्चोकतिर दाइ । उसले फेरि सोध्यो– थर के पर्‍यो  नि ? मैले भनेँ– म त घर्ती । एउटाले खुसी हुँदै थप्यो– ए मेरो त ससुराली पो पर्नुहुँदोरहेछ !

‘अनि पहिला कता भारी बोक्थ्यौ नि ?’

जवाफमा मैले भनेँ– बसपार्कमा बोक्ने गरेको, त्यहाँ त ठेक्कामा भारी बोकाइँदो रहेछ, खासै काम पाइएन हौ दाइ ।

मैले कानमा सिउरिएको चुरोट हातमा राख्दै सोधेँ– चुरोट लिनुहुन्छ ? त्यसमध्ये एउटाले खुसी हुँदै लियो । उनीहरूसँग आत्मीयता बढ्दै थियो, कुराकानी गर्दै थियौँ । त्यहीबीचमा मलाई गाउँको भाईले निकै घोरिएर हेरेको हेर्‍यै रहेछ । गाउँको हेडमास्टरको छोरो, नाटक सिक्न भनेर गाउँबाट आएको थियो, यहाँ त नाम्लो बोकेर भरियाको भेषमा उनीहरूकै झुण्डसँग पो गफिइराखेको छ ! बडो द्विविधामा पो परेको रहेछ ऊ ।

उसँग आँखा जुधेपछि मैले मेरो साथीलाई भनेँ– ऊ त्यहाँ पर मेरो गाउँको भाई छ । त्यसले अघिदेखि मलाई एकोहोरो हेरेको हेर्‍यै छ, त्यो जान्छ कि जाँदैन याद गर् है ।

तर, ऊ आधा घण्टासम्म पनि त्यहाँबाट डेग चलेन र मलाई एक टकले हेरिरह्यो । वीरेन्द्र कार्की भन्ने गाउँको भाई थियो ऊ । भरियाहरू आफ्नो सुरमा लागेको बेला नजिकै गएर उसको कानमा भनेँ– हामी नाटकका लागि भरिया बनेर डुल्दैछौँ । यो हाम्रो ‘क्लास वर्क’ हो क्या ।  त्यो सुनेपछि एकछिन एक तमासले हाँस्यो र ‘तँलाई गज्जब सुहाएको छ’ भन्दै ऊ आफ्नो बाटो लाग्यो ।

त्यसपछि हामी अलि पर गयौँ, त्यहाँ एकजना मानिसले होटलको सामग्रीहरू सार्दै रहेछ । त्यो सामान उसले भनेको ठाउँमा पुर्‍याइदियौँ ।

त्यहाँ हामीले १ सय २० रुपैयाँ कमायौँ  । गुरुकुल फर्किंदा भयंकर असिना–पानी परिरहेका थियो । चुट्नु चुटियौँ त्यसदिन । बेलुका सबैको पैसा हिसाब गर्दा हात हेर्नेले सबैभन्दा बढी २ सय ८० रुपैयाँ कमाएछ भने हाम्रो हातमा १ सय ६० मात्रै थियो ।

० ० ०
अर्को दिन म र भोलाराज सापकोटा भरिया नै बनेर बेकरी क्याफे छिर्‍यौँ । बेकरी क्याफेमा प्रायः सम्भ्रान्त र पैसावालहरू मात्र छिर्छन् भन्ने मान्यता थियो त्यसबखत ।

हामी क्याफेमा जानुको उद्देश्य थियो, त्यहाँभित्र भरियालाई कस्तो व्यवहार गरिन्छ, त्यो नजिकबाट नियाल्नु ।

बेकरी क्याफेभित्र छिर्न लागेको ढोकामा बसेको सेक्युरिटी गार्डले भित्रै पस्नै दिँदैन त बा ! हप्काउँदै भन्छ, “ओइ भरिया हो, तिमीहरू पस्ने ठाउँ हो ? यहाँ तिमीहरूले खानै सक्दैनौ, महँगो छ । खुरुक्क गइहाल ।”

हामीले पनि सान दिँदै भन्यौँ, “कति महँगो छ ? जति महँगो परे पनि हामी पैसा तिरेरै  खाने हो ।” त्यति भनेपछि हामी भित्र पस्न पायौँ । भित्र पसेपछि हामी भरियाजसरी नै ठूल्ठूलो स्वर निकाल्दै ‘हेर् त ओइ ! कति राम्रो चरा ? कति मीठो खानेकुरा, कस्ता राम्रा–राम्रा मान्छे, सधैँ आउनु पर्ने रहेछ हगि ?’ भन्दै अरुको ध्यान आफूतिर तानिरहन्थ्यौँ । मान्छेहरू हामीलाई पल्याक–पुलुक हेर्थे र आफ्नै दुनियाँमा फर्कन्थे ।

हामी ठूलो आवाजमा बोलेको सुनेर वेटरहरू बेला–बेलामा भन्न आइपुग्थे– सानो स्वरले बोल्नुहोस् न, अरुलाई डिस्टर्ब हुन्छ क्या ।
हामी पनि च्याठ्ठिन्थ्यौँ– हामीले पनि पैसा तिरेर खाने हो, केको डिस्टर्ब ? कि यहाँ ठूलाठालू मात्रै खान आउने हो ? भरिया भनेर हेप्छौ ?  गुरु सुनीललगायत अरु साथीहरू पनि थिए । बेला–बेलामा उनीहरूसँग आँखा जुधाउँथ्यौं र त्यसले घुरेर हेर्‍यो भन्दै पाखुरा सुर्कन पनि तम्सिहाल्थ्यौँ । तर, त्यहाँ कसैलाई पनि थाहा थिएन– हामी नक्कली भरिया हौँ ।

हामीले ढ्याउ... डकार्दै मःमलगायत परिकारहरू स्वाद मानी–मानी खायौँ । बाहिर निस्कन लाग्दा सेक्युरिटी गार्डले सुनील सरहरूलाई खड्याप्प स्याल्युट हान्यो । हामीलाई त कुकुर बराबर पनि गन्दैन । अचम्म पो लाग्यो– पाले पहरेदारको पनि भरियाप्रतिको त्यत्तिको हेय भाव !

त्यसपछि मैले भोलालाई भनेँ, “ ओइ साइँला दाइ, तिनीहरूले एक बोतल कोक खाएर हिँड्दा पनि सलुट ठोक्यो, हामीले त्यत्रो पैसा दिएर खाँदा पनि सलुट हान्दैन त, सलुट खान पनि पैसा दिनुपर्छ ?”

भोलाले भन्यो– ठूल्दाइ यहाँ त सलुट हान्न बक्सिस पो दिनुपर्छ त !

भोलासँग पाँच रुपैयाँ मागेर टिप्स दिँदै गार्डलाई थर्काएँ, “ल अब हान् सलुट ।” तनक्क तन्किएर उसले स्याल्युट मार्‍यो । हामी त्यहाँबाट हिँड्यौँ ।

० ० ०
हामी गुरुकुलमा नाटक सिकाइकै क्रममा थियौँ । अर्को दिन गन्धर्वहरूको दुःख बुझ्न सारंगी बोकेर गल्लीमा गीत गाउन भनेर गुरुकुलबाट निस्कियौँ । सारंगी त बोकियो तर न गीत गाउन आउँथ्यो, न सारंगी बजाउन नै जान्दथ्यौँ । तर पनि सुनील सरलगायतले भन्नुभएको थियो– दिनभरि सारंगी बजाउँदै सहरतिर डुल्नू, पात्रको गहिराइसम्म पस्ने प्रयत्न गर्नू ।

एक–दुईवटा पसलमा सारंगी र्‍याइँ–र्‍याइँ पार्दै पाँच–सात रुपैयाँ जम्मा पार्‍यौँ । तर, एउटा पसलेले बडो फसाद पार्‍यो । ‘ए गाइने आएछन्, ल मीठो गीत गाओ, त म राम्रै पैसा दिन्छु’ भनेर हामीलाई अप्ठ्यारोमा पारिहाल्यो ।

यसो धनुष रेट्न थालेको त केको जान्नू ! हप्काउँदै भन्यो– तिमीहरू त फटाहा पो रहेछौ !

‘खै ल्याओ यसरी बजाउनुपर्छ सारंगी’ भन्दै सारंगी रेट्न थाल्यो । पारंगत पो परेछ ! त्यसपछि त्यहाँबाट कुलेलम ठोकेर गुरुकुल आइपुगियो । यता गुरुको पनि गाली खाइयो ।

० ० ०
‘इनभिजिबल थिएटर’ अथात् ‘अदृष्य नाटक’ अन्तर्गत हामी बसभित्र नाटक देखाउन भनेर नेपाल यातायात चढ्यौँ । ६–७ जनाको समूह तर एकआपसमा अपरिचित जसरी हामी गाडीभित्र चढ्यौँ र दुई जना वादविवाद गर्न थाल्यौँ, “म तँजस्तो भ्रष्टाचारीको छोरासँग सँगै बस्दिनँ ।”

म अगाडि भन्दै थिएँ– हिजो बाबु नसमातिँदासम्म खुब सान देखाएर निजी गाडीमा आउँथिस्, हामीलाई पेटभरि खुवाउँथिस् । अहिले बाउ खोरमा पुगेपछि सार्वजनिक यातायात चढ्ने ? बस्दिनँ म तँसँग ।

म गाडीको झ्यालपट्टि बसेको थिएँ, ऊ छेउमा बस्न खोज्थ्यो म धकेलेर पर हुत्याइदिन्थेँ ।

गाडीका मानिसहरू मुखामुख गर्न थाले । हाम्रै साथी एउटाले सोध्यो– हैन भाई ऊ कसको छोरा हो र ?

ऊचाहिँ ‘किन चाहियो तिमीहरूलाई मेरो बाउको नाम ?’ भन्दै तिनीहरूसँग पनि निहुँ खोज्थ्यो । अर्को साथी ‘म पत्रकार हुँ, मलाई बुझ्ने हक छ’ भन्दै ऊ पनि वादविवादमा उत्रिन्थ्यो ।

म भन्थेँ ‘थाहा छैन, यसको बाउ अस्ति भन्सारमा घूस खाँदाखाँदै रंगेहात पक्राउ परेको । नामुद भ्रष्टाचारीको पो छोरा हो त यो !’ उसले बुझेजसरी मुन्टो हल्लाउँथ्यो । यता त्यो साथी पनि शिर निहुर्‍याउँथ्यो । यसैगरी वादविवाद गर्दै थियौँ । एकजना बूढी आमै आइन् र भन्न थालिन्– हामीले यस्तो दुःख पाउने, तिमी बदमासहरू भ्रष्टाचार गरेर देश खोक्रो बनाउने, बाक्लो भए बोसो काढ्नुपर्छ, पातलो भए छाला काढ्नुपर्छ, खै कहाँ छ भ्रष्टाचारीको छोरो आज बाँकी राख्दिनँ !

सबैले होेमा हो मिलाएर साथीलाई गाडीबाट खँगारे, हामी अवाक् भयौँ । वास्तवमा त्यो हाम्रो सफलता थियो । भ्रष्टाचारले परिवार र सन्ततिमा पार्न सक्ने सामाजिक दुष्प्रभाव र निम्त्याउन सक्ने समस्याबारे सुसूचित गराउन हामीले त्यस किसिमको नाटक प्रस्तुत गरेका थियौँ । गाडी जहाँसम्म जान्थ्यो, हामी त्यसैगरी नाटकको सम्वादमार्फत वादविवाद गर्दै जान्थ्यौँ, त्यसले चेतना फैलाउने काम गथ्र्यो ।

० ० ०
नाटक लिएर हामी डिपार्टमेन्टल स्टोरमा पुग्यौँ । म श्रीमान्को भूमिकामा र एकजना श्रीमतीको भूमिकामा डिपार्टमेन्टल स्टोरमा छिरेका थियौँ । श्रीमती बनेकी भन्थिन्– ‘घरमा यो पनि सकिएको छ, त्यो पनि खाँच्चै छ । अस्ति खरदारले बिहेमा लाखौं पैसा खर्च गर्‍यो ।

बहिनीले यतिको किनमेल गरी । अर्की दिदीले यति महिनामा यति हजार सक्छे ।’

ट्रलीमा भएभरको सामान हाल्न खोज्थी ऊ ।

मचाहिँ अहिले पैसा छैन, चाहिनेमात्र लैजाऊँ भन्दै कटौती गर्न खोज्थेँ । श्रीमतीले जति भने पनि नमानेपछि म बेलाबेला बम्कन्थेँ– के म अब भ्रष्टाचार गरुँ ? श्रीमतीको इच्छा पूरा गर्न अनियमितता नै गर्नु गर्‍यो हैन त मैले ?

उसले जम्मा पारेको सामग्रीको काउन्टरमा आएर बिल हेरेको त ३५ हजार उठेको रहेछ । मैले श्रीमतीलाई हप्काउँथे– यत्रो पैसाको किनमेल गर्छन् ? यत्रो किनमेल गर्न त भ्रष्टाचार गर्नुपर्छ ।

ऊ भ्रष्टाचार–स्रष्टाचार जे सुकै गर, तर सामानचाहिँ चाहियो भनेर उफ्रिइरहन्थी ।

स्टोरका किपरहरू छक्क पर्थे ।

श्रीमती कचकच गर्न छाडेकी थिइन– जे सुकै गर, बिहे गरेर ल्याएपछि स्वास्नीको इच्छा त पूरा गर्नुपर्‍यो नि !

त्यसो भए तिमी जेसुकै गर म यत्रो सामान किन्न सक्दिनँ भनेर उसलाई त्यहीँ छाडेर हिँड्थेँ । म हिँडेपछि ऊ पनि मलाई नामर्द–सामर्द भन्दै मेरो पछि–पछि लाग्थी ।

श्रीमान्–श्रीमती झगडा गरेर बाटो तताएपछि डिपार्टमेन्टल स्टोरमै रहेका साथीहरू पनि ‘ए हामी पनि लाँदैनौँ’ भन्दै फुत्त–फुत्त सामान फाल्दै बाहिर निस्कन्थे । बिचरा डिपार्टमेन्टल स्टोरको मालिकलाई भने केही थाहा हुँदैनथ्यो । भ्रष्टाचारविरुद्ध सचेतना फैलाउन यसरी हामी कयौँ ठाउँहरूमा प्रस्तुत भएका छौँ ।

० ० ०
बालश्रम शोषणविरुद्ध गोकर्णमा कचहरी नाटक देखाउँदै थियौँ, मानिसहरूको खासै उपस्थिति थिएन । मानिसहरूको भीड बढाउन हामीले दुई जना दाजुभाई झगडा गरेजसरी नाटक देखाउँदै थियौँ, एक जना बूढी हजुरआमा त लौरो लिएर पो घुम्न थालिन्– दाजुभाई भएपछि त मिलेर पो बस्नुपर्छ त, झगडा गर्छौ ? हामी कचहरीमा यस्तै हो भन्ठानेर वास्ता नगरी झगडा नै गरिरहेका थियौं । तर, बूढी आमै त फेरि जंगिँदै भन्न थालिन्– अझै झगडा नै गरिरहेका छौ ? ल खा तिमीहरूलाई ! बूढी आमैले लौरोले बजाइहालिन् । साथीको औँलामा लाग्यो र रगतको धारा छुट्न हाल्यो । हेर आपत् ! नाटक गर्न भनेर चौरीमा पुगेको कुटाइ पो खाइयो ।

कुटाइ खाए पनि अभिनयमा जीवन्तता प्रस्तुत गर्न सक्नु कलाकारको खुबी हो । पछि नाटक हो भनेपछि बूढी आमैले थक्क–थक्क मानिन् । बाल श्रमविरुद्ध कचहरी नाटक गर्दा बालकलाकारहरूलाई कतिले म लैजान्छु भन्थे, दया–माया देखाएर पैसा दिने पनि थुप्रै भेटिन्थे । त्यस्तै चेलिबेटी बेचबिखनविरुद्ध कचहरी गर्दा ‘दलाल’ बन्ने पात्रलाई भीडमा जोगाउनै मुस्किल भएको छ । लाठा र भाटा लिएर कैयौँ ठाउँमा खेदाएका छन् । यी सबै नाटकका सफलता हुन् ।

० ० ०
रंगमञ्चमा केही रमाइला घटना घट्छन् । ‘जात सोध्नु जोगी’को भन्ने नाटक गुरुकुलमा मञ्चन भइरहेको थियो । म त्यहाँ पात्र थिएँ, अरु कलाकारहरू मञ्चमा अभिनय देखाउँदै थिए, मचाहिँ तल मस्तले गफ चुटेर बस्न पुगेँछु । मेरो पालो आयो होला भनेर दगुर्दै गएको, पालो आइवरी अर्कै दाइले अभिनय गर्दै हुनुहुँदो रहेछ । नाटक सकिएपछि गुरु सुनीलको झण्डै कुटाइ खाइयो ।

त्यस्तै अर्को रमाइलो घटना छ । स्टेजको पछाडिपट्टि आफ्नो पालो कुरेर बसिरहेको थिएँ । आफ्नो पालो आइहल्यो, खुट्टा अघि बढाउन खोज्छु जाँदैन त । उता ‘रोल’ चिप्लिन लागिसक्यो, यता खुट्टा सर्दैन । के भएछ भनेर हेरेको त खुट्टामा सुर्केनो पो कसिएको रहेछ । पछाडि फर्किएको, हातमा डोरी लिएर बसेको साथी ङिच्च हाँस्यो । न कुट्नु न के गर्नु ? मञ्चमा ढुन्मुनिँदै गएँ ।

यस्तै रंगमञ्चमा नाटकमा जमिरहेको बेला अर्को साथी दर्शक दिर्घामा हँसाउने अभिप्रायले हातमुख हल्लाएर बसिरहेको हुन्छ । नहेरौँ दर्शकतिर ‘आइ कन्ट्याक्ट’ हुँदैन, हेरौँ हाँसो फुत्किएला भन्ने डर । हैरानै पार्छन् कहिलेकाहीँ, यसले हाम्रो अभिनय क्षमतालाई थप मजबुत बनाउन बल नपुर्‍याउने भन्नेचाहिँ होइन ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment