०५५ साल, भदौ । एकनास झरी परिरहेको थियो । रुकुमको महत गाउँमा एकाएक सन्नाटा छायो । जनयुद्धको आधारभूमिमध्ये एक महत गाउँका अग्नि कमाण्डर ‘प्रशान्त’ले युद्धमा ‘विरता’ प्राप्त गरे । सन्देश ल्याउने माओवादीका जनमुक्ति सेनाहरू थिए ।
खबर परालको आगोझैं फैलियो । श्रीपाली परिवारमा समाचार नपुग्ने कुरै भएन ।
विजया पाँच–छ वर्षकी हुँदिहुन्, उनले पनि चाल पाइन्– मामा (उनले बाबुलाई मामा सम्बोधन गर्थिन्)ले सदाका लागि धर्ती छाडे ! उनको बालसुलभ मस्तिष्कले त्योभन्दा बढी ठम्याउन सकेन । परिवारमा रुवाबासी भयो । आमाको आँखाबाट असीमित आँसुका धारा छुटे ।
आमालाई आकाश गल्र्याम्म आफू अघिल्तिर बजारिएझैँ भयो । आफ्नो जीवनसाथी गुमाउनुपर्दाको अथाह पीडा आमाको आँसुमार्फत् चुहिएको विजयाले क्वारक्वार्ती हेरिमात्र रहिन् !
बुझ्न त कसरी सक्थिन् र !
मझेत्रोको सप्कोले आँसु पुछ्दै आमाले छोरीहरूलाई उतिबेलै भनिन्– तिमीहरू काइँला बाबा र काइँली आमासँग बस, बाबुको हत्याको बदला लिन म पनि युद्धमा होमिन्छु, माओवादीमा होमिन्छु म पनि !
६ सन्तानमध्ये उनका बाबु दलजीत श्रीपाली कान्छा थिए । विजया दुई वर्षको नहुँदै बाबु ०५२ सालमा माओवादीले सञ्चालन गरेको जनयुद्धमा होमिएका थिए । कतिबेला ‘दुस्मन’ले घर घेरा हाल्थ्यो र जीवनको इहलीला समाप्त पारिदिन्थ्यो, यकिन थिएन । उनीहरूले बाबुलाई ‘मामा’ भन्थे । राज्य पक्षको निशानबाट जोगाउन आमाले नै छोरीहरूलाई बाबालाई मामा भन्न सिकाएकी थिइन् ।
उनलाई थाहा भएसम्म बाबु कहिलेकाहीँ घर आउँथे । त्यो पनि रातिराति ।
बाबुको मृत्युको खबर आएपछि आमा पनि झोला बोकेर युद्धमा होमिइन् ।
तर, अचम्म भयो !
आमा युद्धमा होमिएको केही समय, सायद ६ महिनापछि बाबुको चिठ्ठी आयो– म सञ्चै छु, तिमीहरूलाई के कस्तो छ ?
युद्धमा त ‘प्रशान्त’ नाम गरेका अर्कै कमान्डर पो मारिएका रहेछन् । उनका बाबु दलजीत जिउँदै थिए । उनी घर आए । बाबु आएको भोलिपल्ट आमा पनि घर आइन् ।
विजया सुनाउँछिन्, “बाबुआमाको अभूतपूर्व मिलन थियो त्यो, साह्रै खुसीको क्षण !”
० ० ०
विजया युद्धको आगोमा हुर्किइन् । रुकुम, रोल्पा माओवादी ‘जनयुद्ध’को उद्गमस्थल थियो । कतिबेला बम पड्कन्थ्यो, कतिबेला बारुदको मुस्लोमा पिल्सिएर कैयौंको जीवन ‘कालो ठूटो’मा परिणत हुन्थ्यो, कुनै टुंगो थिएन ।
युद्धका घाइतेहरूको छटपटी, पीडा र जीवनको याचना देख्दा उनको बालसुलभ मस्तिष्क भरंग हुन्थ्थो– यिनीहरूको जीवन बचाउन सके !
खै किन किन उनलाई मिल्ने भए आफ्नो जीवन दिएर बचाउँथें जस्तो लागिरहन्थ्यो ।
उनी सुनाउँछिन्– जीवन सुखको किस्सामात्र होइन, दुःखको हिस्सा पनि हो !
बाबुआमा दुवै युद्धमा होमिएका ! कतिबेला राज्य पक्षबाट सुरक्षाकर्मीले घर घेरा हाल्ने हो भनेर डरले मनमा सदैव डेरा जमाइरहन्थ्यो ।
युद्धको ‘उत्कर्ष’का बेला तत्कालीन राज्य पक्षले घरमा आगो लगाइदियो । युद्धको आगोको फिलिंगाले छोरीहरू प्रताडित नहुने कुरै भएन । घरमा बस्न खतरा भएपछि आमा सुनकुमारी विजयासहित तीन छोरी लिएर कालिकोटको मालकोट गइन् ।
विजयाले त्यहीँ पढ्न थालिन् । पढाइमा उनी अब्बल थिइन् । ‘बिरालाले बच्चा सारे’झैँठाउँ सरिहरहँदा उनको पढाइ बेलाबखत क्षीण हुन पुग्थ्यो ।
विजयाको खास नाम अनिता हो रे !
“सुरुमा आमाबुबाले राखिदिनुभएको, तर सरहरूले विद्यालयमा लेखाउँदा विजया राखिदिनुभयो,” उनी मुस्कुराइन् ।
मालकोटमा बस्दा पनि बाबुको वियोगको खबर आउन छोडेन ।
“प्रशान्त उपनाम भएकाले पटक–पटक मानिसहरू झुक्किए, त्यहाँ बस्दा पनि बाको मृत्युको खबर आयो । त्यसपटकचाहिँ हो जस्तो लागेको थियो तर होइन रहेछ !” उनले मालकोट बस्दाको कुरा सम्झिइन् ।
० ० ०
शान्ति प्रक्रियापछि उनको परिवारले केही राहत पायो । एउटी बहिनी कैलालीमा थिइन्, उनी पनि मालकोट फर्किइन् ।
यसपटक उनी अलि भावुक देखिइन्, “कस्तो दर्दनाक अवस्था थियो, न बाबुआमासँग सँगै बस्न पाइन्थ्यो, न बहिनी पनि आफूसँगै थिई । पाँच दिदीबहिनी पनि छुट्टाछुट्टै बस्नुपर्ने ! बडा दुःखको अवस्था थियो उसबेला, शब्दमा व्यक्त गर्नै नसकिने !”
उनको अनुहारमा अतिरिक्त अन्धकार छायो ।
शान्ति प्रक्रियापछि उनको परिवारले केही समय जाजरकोटको ‘कम्युन’मा बिताए । त्यसपछि विजया रोल्पाको थवाङमा पढ्न थालिन् । र, ०६६ सालमा एसएलसी प्रथम श्रेणीमा पास भइन् ।
० ० ०
०६६ सालमा उनी काठमाडौँ आइन् । बाबु जनमुक्ति सेना थिए । आमा पार्टीको काम र घरव्यवहारमा केन्द्रित भइन् ।
सानैदेखि घाइतेहरूको स्याहारसुसार गर्ने र तिनको जीवन नजिकबाट बुझ्ने मौका पाएकाले उनको मथिंगलमा थियो– जसरी भए पनि नर्स बनेर बिरामीको स्याहार गर्छु ।
काठमाडौँ आएपछि उनले दुईवटा कलेजमा आवेदन दिइन् । बौद्धको स्तुपा कलेजमा एचएतर्फ र भक्तपुरको चक्रवर्ती कलेजमा स्टाफ नर्समा ।
संयोगवश दुवै कलेजमा नाम निस्कियो ।
भक्तपुरमा उनले नर्सिङ पढ्न थालिन् । जीवन सुखमय हुँदै थियो ।
तर, त्यो सुख केही समय पनि टिक्न पाएन !
दुःखको पहाड चढेर आएकी उनलाई फेरि अर्को दुःखले छोप्यो ।
आमालाई सुरुदेखि नै उच्च रक्तचाप थियो । ०६८ सालमा औषधि सेवन गर्दागर्दै मृगौलामा खराबी देखियो । र, राम्रोसँग काम गर्न नसक्ने तहमा पुग्यो ।
एकातिर उनको पढाइ, अर्कोतिर बाबुको राजनीतिक काम, उनलाई ठूलो आपत् पो आइलाग्यो ।
सुरुमा उनीहरूले भक्तपुरमा जँचाएँ । त्यहाँको डाक्टरले राष्ट्रिय मृगौला प्रत्यारोपण केन्द्रमा ‘रेफर’ गरेपछि आमालाई त्यहाँ पुर्याइयो ।
४२ दिनसम्म त्यहाँ भर्ना गरियो । त्यस अवधिमा उनले सयौँ जीवन देखिन् । एक त बिरामीको स्याहार उनको पेसा थियो । अर्को, घाइतेहरूको चित्कार र रोदन सानै उमेरदेखि अनुभूत गरेकाले होला, आमाको थप स्याहारमा जुट्न कुनै समस्या भएन ।
एकातिर आमालाई के हुने हो भन्ने चिन्ता, अर्कोतिर परीक्षा चलिरहेको । उनी निरन्तर प्रताडित भइरहिन्, तर पनि हिम्मत नहारी उनी आमाको उपचार र हेरचाहमा जुटिन् ।
० ० ०
०६८ देखि ०७२ सम्म डायलोसिस, औषधि र खानपानद्वारा नै आमालाई रिकभर गराउन हरसम्भव प्रयास नगरेको होइन, तर औषधिले मात्रै ठीक हुने छाँट देखिएन ।
४२ दिन लामो अस्पताल बसाइ र आमाको छटपटाहटले उनलाई धेरै कुरा सिकाइसकेको थियो ।
बिरामीको अवस्था झनै क्षीण भएपछि उनको मनमा अचानक विचार पैदा भयो– अब मिर्गौला प्रत्यारोपण गर्नुपर्छ ।
उनले बाबुसँग पनि सल्लाह गरिन्– आमाको मिर्गौला प्रत्यारोपण गरौं ।
मिर्गौला प्रत्यारोपण गर्ने निधो गरिसकेपछि दुईवटा समस्या देखा पर्यो । एउटा, आवश्यक पैसाको प्रबन्ध मिलाउनुपर्थ्यो भने अर्को मिर्गौला पनि खोज्नुपथ्र्यो ।
उनले बाबुआमा दुवैलाई राखेर भनिन्– मिर्गौलाको चिन्ता लिनुपर्दैन, म दिन्छु, बरु पैसाको प्रबन्ध मिलाऔं ।
छोरीको कुरा सुनेर सुरुमा त आमाबाबुको मन हुँडलियो । अतिरिक्त चिन्ता थापियो– हुर्कंदै गरेकी छोरीको मिर्गौला झिकेर आफू कसरी बाँच्नु ?
उनैले सम्झाइन्, “तपाईंहरूकै कारण मैले संसार देख्ने सौभाग्य पाएँ । तपाईंहरूको पहिलो सन्तान पनि हुँ । तपाईंहरूले मलाई जन्म दिनुभयो भने आफ्ना मातापितालाई पुनर्जन्म दिनु सन्तानको कर्तव्य नै हो ।”
उनले जिरह नै गरिन् । उनको हठका अघिल्तिर बाबुआमा निरीह भए ।
“बाबुलाई आफ्नो सन्तानको माया त हुन्छ नै, तर आमाको माया सन्तानालाई अझ नौ महिना बढी हुन्छ । आफ्नो ज्यान जोखिममा राखेर मलाई जन्म दिनुभयो भने मैले मेरो शरीरको एउटा अंग दिनु नौलो कुरा थिएन,” उनको अनुहारमा बेग्लै तेज छायो ।
“तँ भर्खर २०–२२ कै केटी, जीवन लामो छ, हठ नगर,” बाबुआमाले भन्दै थिए । तर, उनले ती कुरा सुन्दै सुनिनन् ।
परिआएको बखत आफ्नो जिउज्यान अर्पेर भए पनि आफ्नो परिवार बचाउनुपर्छ भन्ने उनलाई लागिरह्यो । बरु मिर्गौला दान अवसर पो ठानिन् उनले !
त्यस्तै उनको जीवनमा अर्को संयोग छ–
०७१ साल वैशाख ३ गते रुकुमकै नेपाली सेनामा कार्यरत दिलीप सुनारसँग उनको मागी विवाह भयो ।
“हिजो त सेना शत्रुजस्तो लाग्थ्यो, आज त उहाँ निकै सहयोगी हुनुहुन्छ,” उनले श्रीमान्को प्रशंसासमेत गरिन् ।
उनका श्रीमान सुनार हाल पोखरामा कार्यरत छन् ।
आमालाई किड्नी दिने निधो गरेपछि श्रीमान्ले नाइँनास्ती गर्ने हुन् कि उनलाई लागेको थियो
तर, श्रीमान् झनै सहयोगी पो निस्के !
‘आमाबुबाको जीवन जोगाउनु हाम्रो अहोधर्म हो, मिर्गौला देऊ’ भनेपछि उनी फुरुंग भइन् ।
० ० ०
जसोतसो पैसाको जोहो पनि भयो । आमा र उनको रक्त समूह पनि एकै थियो । कागजात मिलाउन पनि गाह्रो भएन । सहजै मिर्गौला दान गरिन् उनले । ०७२ माघ २० गते त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण भयो ।
तर, आमाको जीवनमा सोचेजस्तो परिवर्तन आएन । एक हप्तासम्म त अवस्था सामान्य हुँदै थियो । तर, अचानक असामान्य अवस्था देखा पर्यो ।
मिर्गौला प्रत्यारोपण सफल भए पनि त्यसले राम्रो काम गर्न सकेन, २० प्रतिशतमात्रै काम गर्यो ।
प्रत्यारोपपछि आमामा गम्भीर निमोनिया देखा पर्यो । झन्डै आमा कोमामा पुगिन् !
जीवन कति अनिश्चित हगि !
उनले सोचिन्– जीवन भन्नु त सेकेन्ड पो रहेछ ! त्यत्रो युद्ध लडेर आएकी आमा आफ्नै जिन्दगीसँग जीवनको भिख माग्नुपर्ने अवस्थामा पुगिन् !
७० दिनको अस्पताल बसाइ उनको जीवनको ठूलो विश्वविद्यालय हो रे ! उनले जीवनलाई नजिकबाट जान्ने र बुझ्ने मौका पाइन् । ४० दिनसम्म त आमालाई आईसीयूमै राख्नुपर्यो । “त्यो क्षण सम्झँदा मलाई ठूलो पीडा हुन्छ, शब्दमा अभिव्यक्त गर्न सक्दिनँ म,” उनको आँखामा पीडा छचल्कियो ।
“दुई पटक त चिकित्सकले नै माया मारे । हामीले पनि करिब आशा मारिसकेका थियौँ,” लुकाउन खोज्दाखोज्दै पनि उनका आँखाबाट आँसु चुहिए ।
० ० ०
उनी जति युवा वयकी देखिन्छिन्, त्यति नै परिपक्व लाग्छिन् । ०७३ साउन २० गते बाबु दलजीत श्रीपाली मन्त्री बने । आमा अर्काको सहारा लिएर हिँडडुलसम्म गर्न सक्छिन् । पूर्ण निको हुन त असम्भवजस्तै छ ।
हिजो जीवन–मरणको युद्ध लडेका र बमका छर्रा बोकेर बाँचिरहेका बाबु मन्त्रीको कुर्सीमा छन् । उता, आमा
रोगसँग पौंठेजोरी खेलिरहेकी छिन् । आँखा अघिल्तिरका सुख–दुःखले उनलाई जीवनको परिभाषा सिकाउँछन् । र, बाँच्ने जिजीविषा जगाउँछन् ।
बाबु मन्त्री बनेयता उनी एकपटक सिंहदरबार पुगेकी छन् । भन्छिन्– “बा त्यहाँ ऐसआराम गर्न जानुभएको होइन, जनताको काम गर्न जानुभएको हो । हिजो युद्ध लडेर आउनुभएको व्यक्तित्व उहाँसँग जनाताका थुप्रै सपना छन्, जुन पूरा गर्नुपर्छ ।”
र, उनको पनि इच्छा छ– पढाइ सकेर बिरामीको सेवामा अविराम जुट्ने ।
जाँदाजाँदै उनले थपिन्– जीवन लामो नदेख्नुस्, निमेषभरमै सकिन सक्छ । बरु ठूलो देख्नुस्, जसले सफलताबाट अघाउन दिँदैन ।
No comments:
Post a Comment