०५८ साल माघ । चिसो सिरेटो चल्थ्यो । हुस्सुले वातावरण धूमिल बनाएको थियो । आकाशमा उडिरहेका चराहरू बास बस्न गुँडतर्फ गइरहेकाले धरामा गोधुली खसेको प्रतीत हुन्थ्यो ।
धड्म ! धड्म ! धड्म !
एक हुल राइफल बोकेका मानिसहरू आँगनमा देखा परे । छोटो–छोटो कपाल काटेका । कोहीले अलि लामो पनि बनाएका । ती समूहमा ६–७ जना महिला पनि थिए ।
‘ए आमै ! यहाँ बास बस्न कोही आएका छन् ?,’ त्यस समूहको नाइकेजस्तो (उतिबेला उनीहरू त्यसलाई बटालियन कमिसार भन्थे) ले कड्किएको स्वरमा भन्यो ।
हजुरआमाले छ, छैन केही भन्नुभएन ।
तुलसाको मोठमा मूर्तिवत् उभिइरहेको मेरो सातोपुत्लो उड्यो ।
खै किन हो, त्यति सोधेर ती बाटो लागे ।
बाटाको छेउको घर । जतिबेला पनि सेना आउन सक्थ्यो । उसो त शिवपुरी र धौले लेक घुमेर हेलिकप्टरले बारम्बार ‘रेकी’ गथ्र्यो ।
रेडियोले ६ः४० को जनाउ दियो, ‘हरिशरणम्’ गर्दै बूढी आमै बोल्न थालिन् ।
हजुरआमाको अनुहारमा अघिको ‘आतंक’को क्लेश देखिएन । शिवपुरी छिचोलेर आएको घामको गोधूली किरणले आमैको अनुहार झनै कान्तिमय देखियो ।
“यी यति ‘बूढी’ मान्छे त अझै रेडियोमा बोल्दैछिन्, यत्रा हातपाखुरा भएका माउवादीहरू गाउँ–गाउँ डुल्दै हिँड्छन्,” यति भनेर हजुरआमा काननजिकै लगेर रेडियो सुन्न थाल्नुभयो ।
६ः४० को ‘कृषि कार्यक्रम’ हजुरआमाको प्रिय कार्यक्रम थियो ।
० ० ०
शनिबार म जोरपाटीस्थित लक्ष्मी भुषालको घर गएको थिएँ ।
गेटमा नपुग्दै उनले आफ्नो चर्चित थेगो दोहोर्याइन्, ‘हरिशरणम् !’
अब त कपाल तिलचामले भइसकेछन् । अनुहारमा लज्जावती झारजस्तै चाउरिएका रेखाहरू देखिन थालेछन् ।
“अब त बूढी भएँ नि बाबु !” उनी फिस्स मुस्कुराइन् ।
रेडियोमा बोल्दाबोल्दै उनको बैंश गयो र अब त हात–पाखुराका बल पनि डाँडा काट्नै लागेछन् !
“कति सकुँला र बाबु तर पनि रेडियोमा बोल्ने ऊर्जाचाँहि उस्तै छ जस्तो लाग्छ । बोल्ने ‘स्क्रिप्ट’ अझै आफैँ तयार पार्दैछु,” उनको अनुहारमा अघिकै भाव देखा पर्यो ।
मैले कुराकानीको प्रारम्भमै ‘हरिशरणम्’ थेगोको बारेमा जान्न खोजेँ ।
त्यसपछि उनी झनै फुरुंग देखिइन् र बेलिबिस्तार लगाउन थालिन् ।
० ० ०
०२९ साल भदौ । उनका साथीसंगीले अचानक प्रस्ताव ल्याए– आज सिंहदरबार घुम्न जाऊँ न ।
लहैलहैमा उनी सिंहदरबार पुगिन् । भव्य आलिशान महल । मानिसहरू आवतजावत गरिरहने । उनको मन कल्पियो– ओहो, यस्तो घरमा बस्न पाए !
बालसुलभ मस्तिष्कले त्यो भन्दा ज्यादा अरु के सोच्न सक्थ्यो र ! उनले पनि त्यही सोचिन् ।
साथीहरू त्यहाँ अस्थायी जागिर खुलेकाले आवेदन दिन गएका रहेछन् । उनीहरू भित्र केहीबेर हराए । उनी बाहिर टहलिरहिन् बगैंचातिर ।
बाहिरतिर हल्लिरहेका बेला एकजनाले उनलाई सोधे– तिमी बालकलाकार बन्ने हो ? रेडियोमा बोल्न कत्तिको मन छ ?
बालकलाकार, रेडियोमा बोल्नुपर्छ भन्नेबित्तिकै उनको मथिंगलमा एउटा घटना तीखो बन्यो– उनलाई सानैदेखि रेडियोमा मानिसहरू कसरी बोल्छन्, त्यत्रो सानो भाँडोमा त्यत्राविधि मानिसहरू कसरी अटाउँछन् भन्ने कुराले घोचिरहन्थ्यो । रेडियोमा मानिस बोलेको र आफैं त्यहाँ बोलेको कल्पनामा हराउँदा भित्तामा एकपटक टाउकोसमेत ठोक्किएको थियो उनको ।
उनले तत्कालै प्रतिक्रिया जनाइन्– हुन्छ नि त ।
त्यतिबेला उनी भर्खर १३–१४ वर्षकी थिइन्, हाइस्कुल पढ्दै गरेकी ।
“त्यसो भए भोलि बिहान १० बजे सिंहदरबार आउनु,” यति भनेर ती मानिस आफ्नो काममा लागे ।
रेडियोमा बोल्ने, भोलि सिंहदरबार जाने भनेपछि उनलाई रातभर निद्रा परेन । छटपटीमै रात बित्यो ।
भोलिपल्ट उनी आठ बजे नै सिंहदरबार पुगिछिन् ! १० बजेमात्र हाकिमहरू आए, उनी दुई घण्टा त्यसै अल्मलिनुपर्यो ।
हाकिम थिए किरणमणि दीक्षित । त्यतिबेला कृषि सूचना शाखा सिंहदरबारमा थियो । त्यहीँ बोलाइएको थियो उनलाई ।
दीक्षितले भने– तिमीले बूढी आमैको रोल गर्नुपर्छ । तिम्रो गाउँतिर बूढी आमैले कसरी बोल्छन् थाहा छ तिमीलाई ?
संयोग के पर्यो भने गाउँमा बेलाबखत झगडा परिरहन्थ्यो । पानीपँधेरो, छिमेकीसँगका यावत् समस्यामा गाउँका मानिसहरू बाझाबाझ गरिरहन्थे । त्यस्तो बेला उनी हँसिया बोकेर झगडा गर्नेहरूलाई भन्थिन्– ‘हरिशरणम्, यी के भा’का होला ! एकै ठाउँमा बस्छन् तर झगडा नगरे त खाएकै पच्दैन । तिमीहरू झगडा गरिरहन्छौ कि मुख यही हँसियाले च्यातिदिऊँ !
यति भनेपछि उनीहरू चुप लाग्थे रे !
कसैकसैले त भन्थे– यो कस्ती निस्की, बालख भएर पनि बूढी आमैजस्ती छे त बा !
प्रायः गाउँलेले उनलाई ‘बूढी आमै’ भन्थे ।
उनले त्यही प्रसंग दोहोर्याइन् । दीक्षितले खुसी हुँदै भने– लौ तिम्रो थेगो ‘हरिशरणम्’ नै भयो है त । अब रेडियोमा यही भन्नुपर्छ ।
नभन्दै त्यही थेगो चर्चित र कर्णप्रिय बन्न पुग्यो, आजसम्म ।
० ० ०
रेडियोमा बोल्न थालिसकेकी थिइन् । माइक र रेडियोमा बोल्ने कलाको बारेमा थाहा नभएर होला, उनलाई कुनै अप्ठ्यारो भएन । माइकको सेन्सेटिभिटी त कसरी ठम्याउनु ! प्रशिक्षण दिनेले जसो भन्थे, उनी खुरुखुरी उसै गर्थिन् ।
केही समयपछि दीक्षितले भने– तिम्रो आवाज रेडियोमा आउन थालिसक्यो, घरमा कत्तिको सुन्छन् त ?
उनलाई आफ्नो आजाज रेडियोमा ‘अनएयर’ भइरहेको छ भन्ने थाहै रहेनछ ।
घरमा जालीवाला इन्डियन रेडियो थियो । घरमा गएर आफ्नो कार्यक्रम सुनाउन रेडियो खोलिन् । ठीक ६ः४० मा रेडियो बज्यो । सुरुमै रेडियोमा सुनियो, ए भुन्टीकी आमा ! लौ बित्यास पर्यो !
छोरीले त बिहे नै गरिसकिछे !
बाहिर–बाहिर बिहे गरेर के–के गर्न भ्याइसकिछे ! यो असत्तीलाई घरमा राख्नै हुँदैन !
कार्यक्रम पूरा नसुन्दा नसुन्दै दाजुभाइले कपाल लुछ्न आए । आमा पनि कराउन पो थालिन्– जान्नेसुन्ने भएर तैले यही गरिस् हैन !
बाबु त झन् आगो भए ।
बाघले के झम्टन्छ र, त्यसरी झम्टियो परिवारले ।
उनले सोचेकी थिइन्– रेडियो बोल्ने देशभरिका मानिसले सुन्ने परिवारमा खुसीको सीमा नै नरहला ।
तर, भइदियो उल्टो ! रेडियोमा बोलेबापत उनी घरबाट लखेटिइन् । गाउँका मानिसबाट होइन, आफ्नै घरपरिवारबाट सुन्नै नसक्ने र भन्नै नहुने उपमा पाइन् ।
रुँदैरुँदै घर छोडेर बाटो लागिन् र अफिसको शरण परिन् उनी ।
उनीहरूले डेरा खोजिदिए । झन्डै ४० वर्ष बहालमा बसिन् उनी ।
रेडियोमा बोलेबापत परिवारले दिएको सजाय थियो त्यो ।
ती दिन सम्झँदा उनका गह भरिन्छन् । अनायास आँखा आँसुमिश्रित हुन्छन् र मनमा बेग्लै अठोट उत्पन्न हुन्छ ।
भन्छिन्– “रेडियोमा बोल्न लालायित हुने मानिसहरू लाखौं छन् । उनीहरूकने ठूलो सपना बन्ने गरेको छ त्यो ।
तर, मेरो परिवारले त्यो कुरा कहिल्यै बुझेन र बुझ्न आवश्यक नै ठानेन । त्यतिबेलाको छोरी मान्छेले त्यसरी बोल्नु समाजविपरीत ठानिन्थ्यो । अझ भनूँ, छोरी भएबापत मैले त्यो सजायँ भोगेकी थिएँ ।”
लुकाउन खोज्दाखोज्दै उनको आँखाबाट तप्प आँसु चुहियो ।
० ० ०
रेडियोमा बोल्दै थिइन् । एकदिन हाकिमहरूले भने– स्थलगत भ्रमण, कृषकको समस्या र खेतीपातीका विषयमा कुराकानी गर्न धादिङ जाऔँ ।
उनी पनि खुसीले पुलकित भइन्, त्यसरी हिँड्दा रेडियोमा बोल्ने थुप्रै खुराक मिल्थ्यो ।
धादिङमा एकजना बूढो मानिस भुइँकटहरको टुप्पो (बिउ) रोप्दै रहेछन् ।
उनीहरू सोध्दै थिए– कसरी रोप्नुहुन्छ ? कत्तिको उत्पादन हुन्छ त यतातिर कटहर ? रोप्ने तरिका सिकाइदिऊँ ?
रेडियो नेपालबाट हप्तामा चार दिन प्रशारण हुने कृषि कार्यक्रमको बारेमा पनि जिज्ञासा राखे– ‘रेडियो नेपालबाट साँझ आउने कृषि कार्यक्रम कत्तिको सुन्नुहुन्छ त बाजे ?’
उनले फुरुंग हुँदै भने– एकदम सुन्छु नि ! ती बूढी आमै असाध्यै मन पर्छ । यी अहिले पनि म यही बूढी आमै सुन्दैछु । त्यत्रो उमेरमा पनि कसरी बोल्न सक्या होला ? तिनलाई भेट्न पाए कस्तो हुन्थ्यो !’
उनीहरू ६ः४० मै त्यहाँ पुगेका थिए । कृषि कार्यक्रम प्रशारण भइरहेको थियो । रेडियोमा बूढी आमै कृषि सूचना दिँदै थिइन् ।
ती बाजेको बूढी आमैलाई भेट्ने इच्छा सुनेपछि लक्ष्मीको अनुहारमा खुसीका धर्सा दौडिन थाले । उनले
सिनियरहरूलाई आग्रह गरिन्– मै हो भनूँ कि क्या हो यिनलाई खुबै भेट्ने मन गरे त !
सिनियरहरूसँग खासखुस कुराकानी भयो ।
उनीहरू परिचय गर्ने निष्कर्ष पुगे ।
लक्ष्मीले भनिन्– साँच्चै भेट्ने हो त बाजे बूढी आमैलाई ?
बाजे गहभरि आँसु पारेर रोउँलाझैँ पो गर्छन्– कसरी भेटिएलिन् र ती ! कहाँबाट बोल्छिन् ? म बूढो कसरी पुगूँ र त्यहाँ अनि तिनलाई भेटूँ !
लक्ष्मीले लामो स्वास तानिन् र भनिन्– ‘मै हो त्यो बूढी आमै ल सुन्नुहोस् है त– उनले रेडियोमा बोलेजसरी नै भनिन्– हरिशरणम् !
तर, बाजेले कहाँ पत्याउनु !
भगवान कसम नै खाएपछि बल्लतल्ल पत्याए र गल्र्याम्मै अँगालो हाले– यति सानो उमेरमा पनि कसरी बूढी बन्न सक्या होला ! भगवान नै भेटेँ मैले ! अब म छोरी बनाउँछु है तिमीलाई !
धरधरी रोए उनी ।
मान्छे खुसीमा त्यसरी भक्कानिएको उनले पहिलोपल्ट देखेकी हुन् रे !
ती बाजेले घर लगेर एकै छिनमा माला उनेर लगाइदिए र मानमनितोको साथ बिदा गरे ।
धेरै पर पुगिसक्दा पनि उनीहरूलाई ती बाजेले एकोहोरो हेरिरहेका थिए ।
० ० ०
उनी कार्यक्रमको प्रभावकारिता बुझ्न काठमाडौं, असनको अन्नपूर्णथान पुगेकी थिइन् । कृषक या सर्वसाधारणले कत्तिको कृषि कार्यक्रम सुन्छन् भनेर प्रभावकारिता बुझ्न उनी कार्यक्रम प्रशारण हुने समय मिलाएर भ्रमणमा निस्कन्थिन् । त्यो दिन पनि ६ः३० मा उनी त्यहाँ पुगेकी थिइन् ।
उनले सुनेकी थिइन्– त्यस क्षेत्रमा कृषि कार्यक्रम र बूढी आमै चर्चित छिन् । प्रायः पसलेले उनको कार्यक्रम सुन्न छुटाउँदैनन् ।
तर, ६ः३५ भैसक्यो पसलेले रेडियो खोल्दैन त !
ठीक ६ः४० भयो पसलेले रेडियो खोल्यो । र, कराउँदै बूढीलाई भन्न थाल्यो– हेर् ! यी बूढी आमै ७० वर्ष पुग्दा पनि कति टाठिलोसँग ‘हरिशरणम्’ भन्न सक्छिन् । तँचाहिँ भर्याङबाट ओर्लन पनि एकदिन लाउँछेस् !
उता बूढी फलाक्दै रहिछन्– कहिले मर्ली त्यो बूढी आमै र मैले गाली खान बन्द होला । त्यो उमेरमा पनि कसरी रेडियोमा चिच्याउन सक्या होला, शिव !
लक्ष्मी भुषाल चिसो भइन् र फर्किइन् ।
० ० ०
त्यस्तै एउटा किस्सा रहेछ । पूर्वतिरको गाउँमा ‘बूढी आमा’ र उनको थेगो ‘हरिशरणम् निकै चर्चित रहेछ ! त्यहाँ मानिसहरू अरु कुनै कार्यक्रम नसुन्ने तर बूढी आमाचाहिँ छुटाउँदै नछुटाउने ।
एकजना बजारमा रेडियो किन्न आएछन् र उनले बूढी आमै बोल्ने रेडियो भनेर लगेछन् । तर, घर पुर्याउँदा रेडियो बोल्छ– यो रेडियो नेपाल हो !
रिसले भाउन्न भएर रेडियो नै फ्याँकेछन्– बूढी आमै बोल्ने रेडियो ल्याएको नेपालको रेडियो भन्छ, असत्ती !
पछि कसैले उनलाई रेडियो नेपालमा सुनाइदियो उनी मच्चिएर हाँसिन् ।
अर्को किस्सा पनि छ । उनी कार्यालयमा (कृषि सूचना केन्द्र, पछि शाखा र त्यसपछि महाशाखा भयो)बाट हत्तपत्त बाहिर निस्किँदै थिइन् । कार्यालय सुरु हुनेबित्तिकै उनी अफिस पुगेर काम गर्दै थिइन् ।
अचानक ढोका ढक् ढक् गरेको आवाज आयो । के भएको रहेछ भनेर ढोका खोल्छिन् त, बाहिर ह्वार्ह्वार्ती पुलिस !
उनको मुटुमा ढ्यांग्रो बज्यो ।
लौन नि के बिराइँछु ! बर्बाद भयो अब ! घरपरिवारले समात्नै पठाएकी क्या हो ! त्यतिबेलासम्म पनि परिवारले रेडियोमा बोली भनेर दुःख दिन छाडेका थिएनन् ।
प्रहरीमध्ये एकले भन्यो– बूढी आमै भनेको तपाईं हो ? भर्खरको हुनुहुन्छ त ! हामी तपाईंको स्वर सुनेर भेट्न आ’को ! धन्यवाद है नानी !
प्रहरीसँगै कार्यालयको हाकिम पनि रहेछन् !
उनको मन बल्ल हलुका भयो ।
उनीहरू गएपछि लक्ष्मी मरिमरि हाँसिन्– धत् म पनि कुरै नबुझी !
० ० ०
उनी ५० वर्षदेखि लगातार रेडियोमा बोलिरहेकी छन् । रेडियोमा बोल्ने क्रममा आवाजका असंख्य ‘फ्यान’मात्र कमाएकी छैनन्, कृषिविज्ञ नै बनेकी छिन् । तिनै बूढी आमैको सल्लाह मानेर बाली लगाउने, अन्न भण्डारण गर्ने र पशुपालन फस्टाउने कृषकहरूको संख्या कम छैन । उनी कार्यक्रम प्रस्तोतामात्र होइन, उनी त ‘जेटिए’ र ‘कृषि परामर्श दाता’ पनि हुन् । कार्यक्रममा बोल्दा बोल्दा त्यही अनुभवका आधारमा उनले लोकसेवा उत्तीर्ण गरिन् र जुनियर फिल्ड टेक्निसियनको रूपमा स्थायी जागिरे भइन् ।
सिंहदरबारमा रहेको कार्यालय ०२५ सालदेखि हरिहरभवन सर्यो । र, उनको घर बन्यो त्यो ।
कृषि सूचना महाशाखाबाट उनी ०६६ सालमा उपसचिवमा सेवा निवृत्त भएपछि उनी चार–चार महिनाको ‘कन्ट्रयाक्ट’मा रेडियो नेपालमा नियमित बोलिरहेकी छन् ।
उनले आवाज दिएका नाटक हजारौं छन् । जर्मनी, मलेसिया, फिलिपिन्स, स्वीट्जरल्याण्ड, हङकङ आदि भ्रमण गरिसकेकी भुषाल ०६५ सालकी ‘उत्कृष्ट कर्मचारी’समेत हुन् । शनिबार उनको घर पुग्दा विज्ञान तथा प्रविधि प्रतिष्ठानलगायत दुई दर्जन बढी संघ–संस्थाले अर्पण गरेको कदरपत्र देखाइन् र भनिन्– यिनै हुन् मेरा सम्पत्ति, राख्ने ठाउँ पो छैन त ! र मेरो पुँजी भनेको तपाईं स्रोता/दर्शक नै हो !
० ० ०
उनी रेडियोमा बोल्न थालेको २५ वर्षसम्म त गुमनामजस्तै भइन् । सबैले सोचे– यी बूढी नै छिन् !
तर, २५ वर्षपछि भने उनी सानो/ठूलो पर्दामा पनि देखा पर्न थालिन् । रेडियोकी बूढी आमै टिभीमा आउँदा पनि उनको ‘चार्म’ घटेन, बरु उनको ‘डिमान्ड’ बढ्यो । उनी ‘नेपथ्य’को मात्र होइन, दृष्यको पनि सफल कलाकार भइन् ।
२००८ असोज १५ मा काठमाडौंको डिल्लीबजारमा जन्मिएकी लक्ष्मी अविवाहित नै छिन् ।
कुराकानीकै क्रममा मैले सोधें– बिहे किन गर्नुभएन ?
रेडियोमा बोल्दाबोल्दै उमेर घर्काएकी लक्ष्मी भन्छिन्– रेडियोमा यति दत्तचित्त भएर बोलेंछु कि बिहे गर्नुपर्छ र घरजम तय गर्नुपर्छ भन्ने नै भुलेंछु ।
तर, बिहे नगरेकोमा कुनै पछुत्तो छैन ।
०२५ सालमा बाबु र ०४९ सालमा आमाको भौतिक शरीर अस्तायो । दाजुको पनि निधन भयो ।
निधनपर्यन्त पनि परिवारले उनको सोधखोज गरेन ।
र, उनी पनि परिवारको शरण परिनन्– मैले किन मुन्टो निहुर्याएर परिवारकहाँ जानु ? रेडियोमा बोल्नु अपराध थियो र ?
मेरो कामले नै पर्याप्त जवाफ दिएका छन् कि परिवारको लान्छना केवल मिथ्या थियो ।
तस्बिरः नेपाल कुवेत डटकम
No comments:
Post a Comment