कुनै सयम थियो, ताहाचलकी अञ्जली मास्केलाई खबर आउँथ्यो– वीर अस्पतालको प्रांगणमा बेबारिसे बिरामी छन्, तपाईं आउनुहोस् ।
उनी वीर अस्पतालकी कर्मचारी होइनन् तर पनि खबर सुन्नेबित्तिकै जस्तो लुगा लगाएको छ त्यस्तै उनी अस्पताल दौडिन्थिन् र बिरामीको सेवामा रातभरसमेत जुट्थिन् ।
कतै असहाय, अपांग देख्यो भने उनको आँखा भरिइहाल्थे– धत् कस्तो जीवन ! यी असहायहरूलाई कसरी सहयोग पुर्याउने होला ? बेबारिसे बिरामीको आफन्त, अनाथहरूको नाथ भन्नु उनै थिइन्, उतिबेला !
तर, अचेल उनको परिचय फेरिएको छ र सबैकी अञ्जली दिदी बन्न पुगेकी छिन् । ०५५ सालदेखि काठमाडौँको काष्ठमण्डपमा सामूहिक भाइटीका लगाउँदै आएकी अञ्जली दिदीलाई यसपाली पनि भ्याइनभ्याइ छ । उसो त उनी टीका लगाउने सर्जाम जुटाउन दसैंलगत्तै थालेकी हुन् । त्यो अहिलेसम्म सकिएको छैन ।
समाजसेवामा दिलोज्यान दिएर लागेकी अञ्जली दिदी कसरी जोडिन आइपुगिन् त सामूहिक टीकाटालोमा ?
० ० ०
२००१ सालमा जन्मिएकी अञ्जली दिदी काठमाडौँ बांगेमुढाका रैथाने मास्के परिवारी छोरी हुन् । परिवारमा नपुग्दो केही नभएकाले होला, उनको ध्यान आफूभन्दा तलकामा पुग्यो । कसैले खान नपाएको, लगाउन नसकेको त देख्नै नसक्ने ! सकेजति सहयोग गर्न मन लाग्थ्यो उनलाई ।
उनको समाजसेवालाई घरपरिवारमा कसैले अवरोध गरेनन् तर बाबाआमाले कहिलेकाहीँ भन्नुहुन्थ्यो रे– फगत समाजसेवा भनेर नहिँड् है छोरी, आफ्नो घर व्यहार पनि हेर्नु पर्यो नि सधैँ अरुको चिन्ता लिएर हुन्छ त !
१७ वर्षको उमेरमा उनको विवाह ताहाचलको प्रधान परिवारमा भयो । विवाहपश्चात उनको समाजसेवा झनै झांगियो, पतिले पनि सघाए उनलाई ।
त्यसैबेलादेखि हो उनले असहाय बिरामीहरूको सेवा गर्न थालेको । अस्पतालमा भर्ना हुन नसकेका, आर्थिक अभावका कारण अस्पताले उपचार गर्न नमानेका बिरामी कसैले भेट्टायो भने उनैलाई फोन गर्थे– अञ्जली दिदी, वीर अस्पताल आउनुपर्यो, यहाँ बेबारिसे बिरामी छ, तपाईंले त हो यिनीहरूलाई सहयोग गर्ने ।
त्यसपछि उनी बिरामीका लागि चाहिने लुगाफाटो, खानेकुरा आदि लिएर अस्पताल जान्थिन् र तिनको सेवामा अविराम दत्तचित्त रहन्थिन् । यो काम उनले झन्डै २०–२२ वर्ष गरिन् । त्यो क्षण सम्झिन्छिन्– एकजना वीरेन्द्र थरका प्रहरी थिए, तिनले त्यस्ता बिरामी आए भने निकै पछिसम्म मलाई नै फोन गर्थे, आजभोलि त नगएको पनि निकै भयो !
त्यस्ता बिरामीमा अरु कसको ध्यान जानू, कतिले मुस्किलले उपचार पाउँथे, कति उपचारै नपाएर मृत्युवरण गर्थे ।
० ० ०
उनी समाजसेवामा दत्तचित्त नै थिइन् । त्यस्तै उनको अर्को अचम्मको बानी रहेछ– दसैं तिहारको बेला कसैको निधार खाली देख्यो कि किन टीका नलगाएको भनेर सोधी खोजी गर्ने र भरसक टीका लगाएर पठाइदिने !
कसैले के कारण बताउँथे, कसैले के कारण देखाउँथे, कसैको दाजुभाइ दिदीबहिनी नभएर निधार खाली रहेको थाहा पाउनासाथ उनी टीका लगाइदिइहाल्थिन् । त्यसरी टीका लगाइदिँदा उनी मख्ख पर्थिन्, खुबै सन्तुष्टि मिल्थ्यो उनलाई ।
टीका लगाइदिएबापत कसैले केही देला, उपहारआदि पाउँला भन्ने उनलाई कहिल्यै लागेन रे ! बरु उनले सोच्थिन्– कम्तीमा तिनीहरूको निधार त रंग्याउन पाएँ, कति खुसी भए तिनीहरू !
त्यो उनले युवा अवस्थाबाटै गर्न थालेकी हुन् ।
० ० ०
उनी काठमाडौँको काष्ठमण्डप बरोबर गइरहन्थिन् । त्यसो त त्यहाँ सामूहिक बेलविवाह, यज्ञादि कर्म, व्रतबन्ध आदि नगराइदिएकी होइनन् । त्यहाँभित्र रहेको गोरखनाथ बाबाको उनी भक्त नै थिइन् र नियमित पूजाअर्चनासमेत गर्थिन् ।
०५५ सालमा के लहड चल्यो, उनले सामूहिक भाइटीका लगाउने सपना पो देख्न थालिन् ! सामूहिक टीका लगाउने सोच त आयो, सँगै समस्या पनि देखापर्यो– टीका लगाउने मानिस पो आउने हुन् कि होइनन् ।
आफ्नो दिदीबहिनी भएकाहरू उनीहरूसँगै टीकाटालो गर्थे, नभएकाहरूले पनि बहिनी बनाएर होस् या नजिकका नातेदारबाट टीकाटालो ग्रहण गर्थे । उनीसँग टीकाटालो गर्न ‘दाजुभाइ’हरू आउलान् र, मानिसहरूले सोध्नेमात्र होइन, उनी आफैँलाई पनि त्यही लाग्थ्यो ।
तर, नसोचेको भयो । उनले यहाँ सामूहिक भाइटीका लगाइन्छ भनेर काष्ठमण्डपमा तुल टाँगेकी थिइन्, नसोचेकै मानिस आए ।
एक सय आठ भाग सगुन र मसला आदि तयार पारेकी थिइन् तर मानिसहरू त्यो भन्दा बढी भए । पहिलो वर्ष नै बस्ने ठाउँ नहुँदा उभिएर पनि टीका लगाए दाजुभाइहरूले ।
० ० ०
०६९ सालको भाइटीकाको तयारी हुँदै थियो । उनको घरमा फोन आयो– अञ्जली दिदी हुनुहुन्छ ?
उनले ‘बोल्दैछु’ भनेर जवाफ फर्काइन् । उताबाट प्रश्न आयो– यसपाली एकजना बूढा बाजेले तपाईंसँग टीका लगाउन खुबै रहर गर्नुभएको छ, सिट खाली छ त ?
उनलाई अचम्म मान्दै जवाफ फर्काइन्– मेरोमा टीका लगाउने सिट हुँदैन, आएजत्तिको निधार रंग्याइदिन्छु, धक नमानी आउनुभए हुन्छ ।
एक सय दुई वर्षका वयोवृद्धले अञ्जली दिदीलाई फोन गर्न लगाएर उनको हातबाट टीका लगाउन खोजेका रहेछन् !
नभन्दै ती वृद्ध टीकाको दिन दिउँसो एक नबज्दै काष्ठमण्डपमा आए र अञ्जलीको हातबाट टीका लगाए ।
दिदीबहिनी नभएका उनले जीवनभर नै कसैको हातबाट तिहारको टीका लगाएका रहेनछन् । जीवनको उत्तराद्र्धमा अञ्जलीका हातबाट टीका ग्रहण गरेका उनले त्यसको दुई वर्षपछि प्राण त्यागे ।
० ० ०
समाज विशृंखलित हुँदैछ । नातासम्बन्धहरू पनि आर्थिक अवस्थाले निर्धारण गर्न थालेका छन् । गाउँको अवस्था त झन् डरलाग्दो छ । घरहरू वृद्धाश्रममा परिणत हुन थालेका छन् । बूढा बाबुआमा मात्रै घरमा छन्, दाजुभाइ एकातिर छन्, दिदीबहिनी अर्कोतिर पुगेका हुन्छन् । दसैँ तिहारमा खाली निधारसँगै निन्याउरो मुख लगाएर बस्नुपर्छ । चाडपर्वको महत्त्व पनि कमजोर बन्दै गइरहेको प्रतीत हुन्छ ।
अर्को समस्या पनि समाजमा छ– दाजुभाइ दिदीबहिनी भएकाहरू पनि विभिन्न असन्तुष्टिले एकअर्काको हातबाट टीका नै नलगाउने तहमा पुगेका छन् ।
यसमा अञ्जली दिदीलाई ठूलो दुःख लागेको छ । भन्छिन्– दाजुभाइ दिदीबहिनीको नातासम्बन्धको बीचमा पनि पैसा पो आउन थाल्यो ! नाता र पैसा तुलना गर्ने विषय नै होइनन् तर समाजमा त्यो भयावह देखिन थाल्यो ।
आफूभन्दा कमजोर आय भएका दाजुभाइलाई दिलीबहिनीले नटेर्ने, त्यस्तै अवस्था भएका दिदीबहिनीहरूलाई दाजुभाइले नहेर्ने अवस्थाको अन्त्य हुनुपर्ने उनलाई लागिरह्यो । त्यस्तै दाजुभाइ दिदीबहिनी नभएकाले तिहारको दिन रुन्चे अनुहार लगाएर हिँडेको देख्दा उनको मन भतभती पोल्न थाल्यो र उनले सुरु गरिन्, बिनाशुल्क सामूहिक भाइटीका लगाउन !
उनले टीका लगाइदिएबापत कुनै शुल्क लिँदिनन् । दाजुभाइ दिदीबहिनीबीच माया आशीर्वाद पो साटासाट गर्ने, तिहारको महिमा नै त्यही हो, पैसा के लेनदेन गर्नु ? सगर्व उनी बताउँछिन् ।
उनले टीका लगाएरै हजारौँ दाजुभाइ बनाएकी छन्, जो उनको रगतको नाताका होइनन् । ती सबैलाई उनले असाध्यै माया गर्छिन् । उनीसँग टीका लगाएकामध्ये बर्सेनि तीन–चारजना दाजुभाइ हराउँछन्, टीका लगाउन आउँदैनन् ।
उनलाई बडो चिन्ता लाग्छ– कता गए होलान् तिनीहरू ? कतै निधन पो भयो कि ? र त उनी थप्छिन्, नाता कोखले होइन भावनाले निर्धारण गर्दोरहेछ !
उनीसँग भाइटीका लगाउने स्वदेशीमात्रै छैनन्, थुप्रै विदेशी पनि छन् । उनको सप्तरंगी टीकाबाट आह्लादित भएर ती थुप्रै पटक नेपाल आएका छन् ।
भाइटीका आउन करिब एक हप्ता बाँकी छ तर अञ्जली दिदीलाई निकै चिन्ता छ । मंगलबार ताहाचलस्थित उनको निवास पुग्दा उनी भाइटीकाका लागि सर्जाम जुटाउँदै थिइन् । भनिन्, “फूल माला अर्डर गरिसकेँ, सगुन पनि भनिसकेको छु । अरु सामग्रीका लागि भ्याइनभ्याइ छ बाबु ।”
यसपटक दुई सय आठ जनाको तयारी गरेकी छिन् । तर, उनी ढुक्क छिन् यो साल पनि संख्या बढ्छ ।
० ० ०
उनले ०५५ सालदेखि काष्ठमण्डमा सामूहिक टीकाटालो गर्दै आएकी छिन् । तर, गत वर्ष वैशाख १२ को भूकम्पले काष्ठमण्डको नामोनिसान मेटाइदिएपछि उनले मूल सडकमै पाल टाँगेर टीकाटालो गर्नुपर्यो । भन्छिन्– काष्ठमण्डम काठमाडौँको पहिचान हो । काष्ठमण्डपबाटै काठमाडौंका चिनारी भएको हो, पहिला बन्नुपर्ने सम्पदा हो त्यो, तर कसैलाई टाउको दुःखेको छैन ।
भूकम्प जाँदा उनी बेलायतमा थिइन् । चिकित्सक छोराबुहारीले बोलाएकाले उनी त्यहाँ गएकी थिइन् तर भूकम्पले काष्ठमण्डपलगायत संचरना भताभुंग पार्यो भन्ने सुनेर उनी हतारहतार काठमाडौँ आइन र आएको
भोलिपल्टैदेखि काष्ठमण्डप पुनःनिर्माणका लागि सम्बन्धित निकायलाई तातो लगाउन थालिन् ।
उनको कुरा सुनिदिने कसले ?
भन्छिन्– “काष्ठमण्डपभित्रको गोरखनाथको मन्दिरमा नियमित पूजा गर्थें, भूकम्प जानुभन्दा दुई वर्षअघिबाट मलाई पूजा गर्नै दिएनन् । भने– महिलाले गोरखनाथको पूजा गर्नुहुँदैन । अहिले भत्किएर त्यो हालतमा छ कसैलाई चिन्ता छैन त ?”
No comments:
Post a Comment