जोतारे धाइबा
लेखनमा हात बस्न थालेपछि अधिकांशको चाहना हुन्छ, पुस्तक लेख्ने । त्यसमा पनि लेखनको ऊर्जालाई ‘उपन्यास’ मै खन्याउने पछिल्लो समय धेरैको रहर र सपना देखिन्छ ।
यो लहरमा थपिन आइपुगेका छन् रामनाथ खनाल उर्फ अक्षर काका । तर, उनी यत्तिकै रहरले आख्यान लेखनमा आएका हैनन् । उनीसँग उपन्यास लेख्नुका निश्चित कारण र आधारहरु छन् । इतिहासको अभिलेख राख्ने हुटहुटीले छोपेपछि नलेखी धर पाएनन् ।
उनले ०६२/६३ को आन्दोलनपछि पत्रकारिता यात्रा सुरु गरेका हुन् । त्यसयता सिंहदरबार, बालुवाटार र संसद् भवनको गोलचक्करमै पत्रकारहरुको दिन बितेको उनले देख्दै आए । लेख्ने विषय एउटै घेरामा घुमिरहँदा उनी दिक्किन्थे ।
उनले पनि राजनीतिक शक्ति केन्द्र र त्यससँग जोडिएका पात्रलाई समाचारको विषय बनाउने शैली नै पछ्याए ।
यदाकदा सामान्य जीवन बाँचिरहेका किनाराकृत र प्रेरणादायी पात्रको बारेमा पनि लेख्थे । सडक र बस्तीहरुका कुरा खोतल्थे ।
|
तर, त्यस्ता विषय पत्रकारिताको अभ्यासमा ‘बिकाउ’ मानिँदैनथे र मिडियामा राम्रो ठाउँ पनि पाउँदैनथे ।
आफ्नै रुचिले पत्रकारिता क्षेत्रमा आए पनि आफूले चाहेका विषय र पात्रहरुलाई खुलेर उठाउन उनले पाएनन् ।
‘एक हिसाबले पत्रकारितामा नमेटिएको त्यही तिर्खा उपन्यासबाट मेट्न खोजेको छु’, उनले उपन्यास लेख्नुको गुह्य खोले ।
वर्षौंदेखि मनमा खेलेका कुरा समेट्दै हालै ‘देउती’ उपन्यास ल्याएका उनले यसमा सामान्य पात्रहरुलाई नायक बनाएका छन् । समाचार र विचारहरुमा सिंहदरबार र बालुवाटारकै अनुहार मात्र छाइराख्दा त्यो अवस्था चिर्न उनले सडक र गाउँका पात्रहरु टिपेका हुन् ।
शरीर बेचेरभन्दा साग बेचेर बाँच्नेहरु समाजमा इज्जतदार मानिए पनि उनीहरुको कुनै गणना नभएको देख्दा अक्षर काकाको मन कुँढिने गर्छ ।
‘शरीर बेच्नेको मात्र होइन, साग बेच्नेहरुको पनि कथा हुन्छ’, उनी भन्छन्, ‘उनीहरुको कुराले अरु १०-२० पात्र प्रेरित र ऊर्जावान् होलान् । हामी लेख्ने मान्छेहरुले त्यो प्रेरणा जगाउनुपर्छ ।’
उनी आफैं पनि सडकका पात्र हुन् । सिन्धुपाल्चोकबाट क्याम्पस पढ्न काठमाडौं आउँदा उनले साइकलमा सामान बोकेर पसल-पसलमा बेच्दै हिँडे, एक दशकसम्म ।
उनले समाचारमा दुर्घटनामा मृत्युका धेरै समाचार लेखेका र पढेका छन् । तर, यो सबै पढ्दा र देख्दा पनि उनको आँखा एकरत्ति रसाएन । त्यो अवस्थामा उनलाई अब समाचार मात्र लेखेर नपुग्ने महसुस भयो ।
त्यसै क्रममा एकदिन बाटोमा पत्रिकाको एउटा चिर्कटो भेटे । त्यहाँ गालामा हात लगाएर टोलाइरहेकी एक महिलाको तस्बिर थियो । हराएका श्रीमान् ३० वर्षपछि भेटियो भन्ने खबर आएपछि लिन जाँदा शव बुझ्नुपरेपछि महिला शोकमा डुबेकी थिइन् ।
आज पनि नेपाली समाजमा महिलाहरुको हालत त्यस्तै देख्छन् अक्षर काका । त्रिभुवन विमानस्थलको इन्टरनेशनल टर्मिनलमा श्रीमानलाई बिदाइ गर्न गएका महिलाहरु भक्कानिएर रोइरहेका देख्दा उनको मन भत्भती पोल्छ । त्यो दृश्य देखेर उनले त्यो क्षेत्रको नाम नै ‘आँसु चोक’ भनेर राखिदिएका छन् ।
‘तर, त्यो दृश्यले देशलाई पोलेको छैन, यहाँका कसैलाई पनि दुखेको छैन’, उनले सुस्केरा हाल्दै सुनाए । उनी वैदेशिक रोजगारीमा नेपाली युवाहरुले जवानी र सास नै रित्याउनुपर्ने अहिलेको परिस्थिति बदलियोस् भन्ने चाहन्छन् ।
उपन्यास लेख्न उनलाई आफ्नै पत्रकारिता कर्मले पनि ऊर्जा दिएको हो । समाचारको प्रभाव समाजमा सोचे जस्तो नपाएपछि केही फरक प्रभाव होला कि भनेर उनले उपन्यासलाई माध्यम बनाएका हुन् । यसो गर्नुमा उनले आफ्नै कामलाई अनुभव मानेका छन् ।
उनले समाचारमा दुर्घटनामा मृत्युका धेरै समाचार लेखेका र पढेका छन् । दुई वर्षअघि भूकम्पको बेला रिपोर्टिङ गर्न जाँदा आँखै अगाडि मान्छे किचिएका दृश्य देखे । तर, यो सबै पढ्दा र देख्दा पनि उनको आँखा एकरत्ति रसाएन । त्यो अवस्थामा उनलाई अब समाचार मात्र लेखेर नपुग्ने महसुस भयो ।
‘समाचारको प्रभाव एक हिसाबले कम हुँदो रहेछ भन्ने लागेपछि तुलनात्मक रुपले मान्छेहरुलाई बढी छोला भनेर आख्यानको बाटो रोजेँ’, उनले भने, ‘साहित्यले अलि बढी करुणा जगाउँछ । आख्यानमा वणिर्त कुनै पीडाको बयानबाट पाठक रोयो भने कम्तीमा ऊ अरुका लागि पीडक नबन्ला भन्ने मेरो आशा हो ।’
उपन्यासमा उनले शीर्ष पात्र देउती मार्फत मुख्य रुपमा महिलाहरुको दुर्गम भेगको संघर्षलाई समेटेका छन् । आफ्नै जन्मथलो सिन्धु-इन्द्रावती परिवेशमा रहेर उनले आफ्ना दुई हजुरआमाको एकमुष्ठ कथालाई पस्किएका छन् । उनकी हजुरआमा २५ वर्षको उमेरमा विधवा भएकी थिइन् भने फुपू हजुरआमा -हजुरबाकी बहिनी) बाल विधवा थिइन् ।
हजुरआमाले सुनाएको कथामा उनले १९९० सालदेखि ०२५ सालसम्मको नेपालको अवस्था समेटेका छन् । तर, त्यो कथा अहिले पढ्दा पनि पुरानो नलाग्ने उनी दाबी गर्छन् ।
यसको कारण दिन्छन्, ‘यसको मतलब यस बीचमा राजनीतिक हिसाबले ठूल्ठूला परिवर्तन भए पनि हाम्रो समाज भने बदलिएको रहेनछ । व्यवस्था बदिलिएको प्रतिविम्ब सरकारी साइनबोर्डहरुमा देखिन्छ । तर, दूरदराजका ठाउँहरु उस्ताको उस्तै छन् ।’
उनलाई हजुरआमाहरुले तत्कालीन भोगाइहरु सुनाउँदा सपना जस्तै लाग्थ्यो । विधवालाई हेरिने दृष्टिकोण, भुटेको मकैले छाक टार्नुपर्ने बाध्यता, मेला-पर्ममा बोलाउँदा कोही नआएर खेप्नुपर्ने हैरानी, समाजको गिद्दे दृष्टिबाट आफूलाई जोगाउँदै सन्तान हुर्काउँदाको सास्ती ।
अक्षर काकाले हजुरआमाहरु बाँचुन्जेल तिनका शरीरमा रातो लुगा त देख्न पाएनन् नै, उनीहरु हाँसेको पनि कहिल्यै देखेनन् । हाँसोका भाषा नजान्ने हजुरआमाले आँसु र वेदनाकै भाषा बोले । सुनेका तिनै कुरा उनले मनमा अमिट रुपमा साँचिराखे ।
आमा बिरामी भएपछि उनी घरकी हजुरआमासँग नजिकिएका थिए । छारे रोगले ग्रस्त आमालाई लिएर बुवा समय-समयमा हप्तौंसम्म काठमाडौंमा उपचारका लागि बस्नुपथ्र्यो । त्यो अवस्थामा दुई/तीन वर्षे उनी हजुरआमाका निदाएका स्तनहरु चुसेर आमाको रिक्तता मेटाउन खोज्थे ।
त्यसै क्रममा बूढी माउसँग नाति भावनात्मक रुपमा नजिक हुँदै गयो । सुख-दुःखसँग झ्याम्मियो ।
‘हजुरआमाकै संगतले मलाई टपरी गाँस्न आउँछ, डोरी पनि बाट्छु’, उनले पुलकित मुद्रामा सुनाए ।
मनभरि ममतामयी हजुरआमालाई सम्झँदै उनले यसअघिका वर्षहरुमा उपन्यास लेख्न भोटो त फटाएनन्, कापी भने निकै च्याते । २०-२५ पाना लेख्थे, चित्त नबुझेर च्यातेर फ्याँक्थे । यस्तो क्रम दस-बाह्र पटकसम्म चल्यो । पछिल्लो समय भने वर्षौंदेखिको कथालाई उनले मन हलुका हुने गरी लेखेरै छाडे ।
खेती-किसानीलाई नै संसार बनाएर बसेका तमाम आमा-बाका लवजलाई उनी साहित्यको विम्ब मान्छन् । सामान्य लाग्ने कुरा बोले पनि अर्थ भने गम्भीर र विशिष्ट खालको दिने ।
सरल व्यक्तित्वका यी लेखकले सरल रुपमै सुनाए, ‘पहिले लेख्ने ढंगै थिएन, अहिले चाहिँ पत्रकारिता पेशाकै कारण बढी लेख्न थालेपछि हात बस्दै गयो ।’
यो पालि अब चाहिँ लेख्नुपर्छ भनेर उनले गत पुस १५ गतेदेखि कम्मर कसेका थिए । लेख्न थालेपछि उनी कतै अड्किएनन् । एक महिनामै उनले उपन्यास लेखिभ्याए ।
उपन्यास लेखिसकेपछि उनले गाउँ गएर बा-आमालाई पनि केही पाना सुनाए । कथामा वरिपरिको परिवेश र आफ्नै लवज ल्याएको देख्दा उनीहरु औधि रमाए ।
उनले उपन्यास लेख्दा सकेसम्म सरलतामा ध्यान दिएका छन् । गाउँघरमा बा-आमा र उनीहरु जस्ता आम मान्छेले बोल्ने गरेका शब्द नै प्रयोग गरेका छन् । बा-आमाले दैनिक जीवनमा बोलचाल गर्दा कस्तो मनोभाव राख्छन् भनेर उनले आफू बुझ्ने हुँदादेखि ख्याल गरेका रहेछन् । पढेका छैनौं भनेर हीनताबोध गर्ने र बोलेको कुरा मिल्दैन कि भन्दै डराएर टम्म ओठ बाँधिरहने ।
तर, मनका अनेक भावहरु बा-आमाको अनुहारमा असाध्यै सलबलाएको उनी देख्थे । ग्रामीण भेगमा रहेका अरु धेरै जनाको मनोविज्ञान पनि आफ्नो बा-आमाको जस्तै देख्छन् उनी ।
‘त्यस्तो कुरालाई चिर्न उहाँहरुले बोलेका लवजहरुलाई नै मैले उपन्यासमा ल्याएको छु । तिनै कुरा साहित्य हुन् भन्ने हिसाबले स्थापित गर्न खोजेको छु’, उनी पितृप्रति ऋणी देखिए ।
खेती-किसानीलाई नै संसार बनाएर बसेका तमाम आमा-बाका लवजलाई उनी साहित्यको विम्ब मान्छन् । सामान्य लाग्ने कुरा बोले पनि अर्थ भने गम्भीर र विशिष्ट खालको दिने ।
अक्षर मार्फत पाइन ओकल्ने काकाको हुलिया हेर्दा सुइरे ज्यान छ । ज्यानसँगै जोडा लाग्ने गरी उनले कुराकानीको क्रममा आफ्नो स्वभाव पनि खुलाए, ‘आफ्नो कुरा बोल्न म धर्मराउँछु । अलि निमुखा खालको छु ।’
तर, समाजको विषय र पात्र छनोट गर्ने सवालमा उनले पहलमानको खुबी देखाउने गरेका छन् । यो खुबी पहिलो उपन्यास ‘देउती’ मा पनि कायमै राखेका छन् ।
देउतीको खास मर्म के हो त ?
आफ्नो पहलमानी अवतारमा प्रस्तुत हुँदै उनले सुनाए, ‘मुख्य रुपमा नारीलाई समाजमा कुन दृष्टिकोणले हेरिन्छ, नारीको स्थान कहाँनेर छ भन्ने चित्र देखाएको छु । समाजमा नारीमाथि जुन किसिमको विभेद छ, त्यो विभेद विरुद्ध नारी नै उठ्नुपर्छ भन्ने मेरो मूल कुरा हो । अरु नै कसैले बोल्दिएर, अधिकारवादी संघसंस्था गइदिएर हुँदैन । आफैं सजग र सचेत भएर नारी अगाडि आउनुपर्यो ।’
(सांग्रिला बुक्सले प्रकाशन गरेको अक्षर काकाको ‘देउती’ उपन्यास बैशाख १६ गते शनिबार सार्वजनिक भएको छ ।)
No comments:
Post a Comment