Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

कम्युनिस्ट जन्माउने गायक



By  Unknown     12:52 AM    Labels: 


केही समयअघि चुनाव भयो । वामपन्थी गठजोडले झन्डै दुईतिहाइ मत प्राप्त गर्‍यो । अहिले मुलुकमा वामअधीनस्थ सरकार छ । सत्ता–सदन, गाउँ–नगरका सबै तहमा उनीहरूकै हालीमुहाली छ ।

आश्वासनका रिकापीमा समृद्धिको सुस्वादु केक तयार छ । मनलाग्दी आस्वादित हुन सकिन्छ । मोनोदेखि मेट्रो रेलसम्मका योजना मल्टिप्लेक्सका पर्दामा सल्बलाइरहेछन् । गफै सही— समुद्रमा नेपाली झन्डावाहक पानीजहाज हुइँकिन तम्तयार छन् । आँउदो ५ वर्षभित्र समुन्नतिले सगरमाथा चुम्छ !


३० को दशकदेखि जनताका दुःख–पीडा गाउँदै हिँडेका जीवन शर्माको मन यतिबेला खुशीले आह्लादित हुनुपर्ने हो । कारण— उनैका गीत सुनेर ‘कम्युनिस्ट’ बनेका कतिपयले सत्ताको डाडुपन्यु समाएका छन् । तर, झनै निराश छन् उनी ।

“यौ मौनता सुनामीअघिको सन्नाटा हो । समाज गतिशील छ, विद्रोह ढिलोचाँडो निम्त्याउँछ नै,” ओठबाट खस्रो सुस्केरा छुट्छ ।

परिवेष्ठित भू–खण्ड । समुद्र दूरको कुरा । ज्वारभाटा झनै टाढाको कुरा हो हाम्रा लागि ।

तर, कोटि जनताका आँखामा पीडाका आँसु छचल्किइरहेका छन् । हातमुख जोड्नकै लागि खाडीमा बगेका छन् पसिना । तिनका परिवारजनको आँसुको भेल । उत्पीडन र दलनको जाँतामा निर्मम पिसिन अभिशप्त । भरदिन भारी बोक्दा पनि चुह्लो तताउन असमर्थहरूको आँसुको खोल्सो समुद्रभन्दा चर्को हुने र विद्रोहको सुनामी निम्त्याउने ठोकुवा गर्छन् उनी ।

जीवन शर्माले परिवर्तनको सुसेली हाल्न शुरू गर्दा जुँगाका रेखी बसेका थिएनन् । अहिले तालुमाथिका रौं गन्न सकिन्छ । काँसजसरी कपाल फुलिसक्यो । अनुहारका बाक्ला धर्साले ठुल्ठूला सङ्घर्षको गल्छेँडा छिचोलेको आभास हुन्छ । दृष्टि पातलिएर होला धूमिल देखिन्छ आकृति पनि ।

तर, पनि परिवर्तनको यात्रामा अविचलित छन् उनी । किन ?

“समाजको गति र लयलाई पकड्न नसक्ने हो भने जीवनको दुर्गति अनिवार्यजस्तै छ,” गहिरो निःस्वास छाड्छन् ।

० ० ०

बाग्लुङ पुख्र्यौली घर । पाइ भन्ने सानो गामल । सुखी–समृद्ध परिवार । पिता चन्द्रदत्त उपाध्याय, प्रधानपञ्च । घरमा राजनीतिक गफ हुने नै भयो ।

पुस्तैनी जमिन्दार । बाबु गाउँको तालुकदार पनि भएकाले गरिब, निमुखाहरू बिन्ती बिसाउन आइरहन्थे । तिनको करूण याचना, जीवन भोगाइका दारूण सङ्घर्षसँग बालखैमा चिनापर्ची भयो ।

निर्धनका अकिञ्चन आँसु, विदारक चीत्कार जीवन बुझाइका पाठशालामात्रै बनेनन् चेतनाको चिराग बनेर अन्तर्मनमा प्रज्ज्वलित भइरह्यो । तिनैले त हुन् उनलाई परिवर्तनको मार्गमा हमेसा डोहोर्‍याइरहने । र त, भीर–पहरामा जीवन खोजिरहेका तिनैका आँसु–पसिनाका ढिक्का टिपेर गीत–संगीतका मोती बनाए उनले ।

बाबु गाउँको जिम्मालमात्रै थिएनन्, नामुद पण्डित पनि । आधा–बिहान त न्यासध्यानमै बिताउँथे । श्रीमद्भागवत, गीताका श्लोकादि वाचन गर्ने, धार्मिक–प्रवृत्त, पण्डितज्ञका छोरा । कम्युनिस्ट विचारधारातिर लहसिएको कहाँ मन पराउनू ? तर, पत्तै नपाई कम्युनिस्टतिर आशक्ति बढ्यो ।

घरमै ‘कखरा’ सिके । प्रवेशिका परीक्षाचाहिँ सकुर्वाको जनता माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेका हुन् उनले । पढाइमा प्रतिभाशाली, विलक्षण थिए । सुनेका कुरा टपक्कै टिप्ने र वर्षौं नबिर्सने तीक्ष्ण थियो दिमागी–चेत ।

घरमा सांगीतिक माहोल थियो । बाबु हार्मोनियम बजाउँदै भजन–किर्तन गाइरहने । आमाको स्वर उस्तै जादुयी थियो । घाँस–दाउरा गर्न वनउपवन जान्थिन् । गीत गाएको आवाज घरमा समेत सुनिन्थ्यो । ‘कोकिल–कण्ठी’ भन्थे सबैले । विरासतमै पाए गीत–संगीत ।

गीत–संगीतसँग सान्निध्यता पाएपछि गीतको क्षुदा आफैंभित्र पनि जगाए उनले । बाँसझ्याङमा गएर राम्रो बाँस छान, चुप्पीले ताछ, घरमा आएर आँसीको पारो तताऊ, मिलाएर बाँस खोप र बाँसुरी बनाऊ । यसरी उनी सांगीतिक तिर्खा मेट्थे । प्रकारान्तरले यही कृत्यले उनलाई ‘जन–गायकको’ उपमा थमायो ।

भिनाजु हरिप्रसाद सुब्बा, पश्चिममै तिनको प्रसिद्धि थियो । बरोबर घरमा आइरहन्थे । उनको कुराकानीमा परिवर्तनको बाछिटा यदाकदा देखापथ्र्यो । तर, बाबु त्यसको विरोधी खेमाका । मूलतः राजावादी थिए उनी । राजसंस्थालाई उन्नतिको साधक बन्ने ऊबेलाकै राजनीतिक चेतना थियो पिताजीको । तर, त्यसको विपर्याय निस्किए उनी ।

देश पञ्चायती कालकोठरीमा । जनअधिकार सबै राजाको बाहुलीमा । जनजीविकाका सबै अवयममा उनको हुकुम र तजबिज चल्थ्यो । हाइस्कुलमा पढ्दाताका गुरुहरू किताबमात्रै होइन, परिवर्तनको पाठसमेत पढाउँथे । उनीहरूको आवाजमा देश र जनताको मुक्तिको सपना सन्निहित हुन्थ्यो ।

पञ्चायत फाल्न र ढाल्न मसाल बाल्न अभिप्रेरित गरिरहन्थे । देश जनताको सर्वांगीण विकासको बाधक बनेको पञ्चायतको समूल अन्त्यका लागि विद्यार्थी आन्दोलन साधक बन्नुपर्ने तर्क गरिरहन्थे ।

दिमाग तरङ्गित हुन थाल्यो । र, मथिङ्गलमा जनवादी क्रान्तिको फिलिंगो पो नाच्न थाल्यो । कक्षा ७ पढ्दा नै अनेरास्ववियूको विधान र प्रतिवेदन पढ्ने मौका पाए ।

“ओछ्यानमुनि लुकाएर तीन दिनमै पढिभ्याएको थिएँ,” उनी सम्झन्छन् ।

त्यसबाहेक ‘द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवाद’ किताब पनि त्यतिबेलै पढेका हुन् उनले । त्यसले जनवादी क्रान्ति र वर्ग–संघर्षका आयामहरूलाई परिभाषित गर्न मद्यत दियो । समाजका दुःख, पीडा सँगालेर शब्दमा उतार्न बल पुर्‍यायो ।

मोदनाथ प्रश्रितकृत नाटक ‘आमाको काखमा’सँगै ‘५० रुपैयाँको तमसुक’ र ‘देवासुर संग्राम’ कविता पढेपछि माक्र्सवादी सौन्दर्यचेत अझै व्यापक भयो ।

“दुःखी र गरिबका लागि आइपरेको खण्डमा जीवन उत्सर्ग गर्न पछि हट्नु हुँदैन भन्ने विचार गहिरिँदै गयो,” अहिले सम्झँदा पुलकित हुन्छन् उनी ।

कक्षाको प्रथम छात्र । उनले भनेपछि अरू विद्यार्थीले नाइँनास्ती गर्दैनथे । त्यतिबेला ‘वेदना परिवार’ गीत बाग्लुङमा खुब सुनिन्थे । मेलापात, भारोपर्ममा तिनैका गीत गुञ्जन्थे ।

कति छन् यहाँ छटपटाइरहेका निशालाई देखेर
चाँडै नै आओस् बिहानी सुन्दर अँध्यारो चिरेर !

तिनताक उनले पनि गीत रचना गरेका थिए । सारंगी बोकेर गुनगुनाउँदै हिँड्थे । यी गीतहरूले सामाजिक जागरणको काम गर्‍यो । पञ्चायती व्यवस्थाले ठिँगुरा ठोकिएकाहरूमा उमंगको नूतन लहर सिर्जना गर्‍यो ।

पाइ गाउँ, मगरबहुल क्षेत्र । एकाध घरमात्रै छन् ब्राह्मणका । मगर समुदायका अधिकांश तन्नेरीहरू कि भारतीय सेनामा कि त बेलायती फौजमा, नभए सिंगापुर प्रहरीमा भर्ती हुन जान्थे । घरमा महिलामात्रै । भएका पुरुष पनि बूढाखाडा । उनका गीत सुनेर धरधरी रुन्थे मगरस्त्रीहरू ।

जनै लाओस्, टुप्पी पालोस्, दौरा–सुरुवाल लगाएर पण्डित्याइँ गर्दै हिँडोस् भन्ने बाबुको चाह । तर, उनी सारंगी बोकेर पञ्चायतविरुद्ध आन्दोलनको आँधी ल्याउन हिँडे । घरमा रुचाइने कुरै भएन ।

“यसरी गीत गाउँदै हिँड्ने होइन । सरकारले पक्रिन्छ । जेलमा लगेर कोच्छ । झ्यालखानामै सड्लास् नि !” बाबुले ढोका गजबार नतेस्र्याएका होइनन् । तर, मनभित्र परिवर्तनको हुन्डरी आइसकेपछि स–साना अवरोधले कहाँ अडिन मान्छन् र खुट्टा । विगुल फुक्न छाडेनन् । शासन–व्यवस्थाविरुद्ध नै बागी बाटो हिँडिसकेकाले बाबुको इच्छाविपरीत पैताला उठाउन अप्ठ्यारो भएन ।

० ० ०

०३४ सालमा ६८ प्रतिशत ल्याएर प्रवेशिका उत्तीर्ण भए उनी । बाबुको पहिलो इच्छा थियो– पण्डित बनोस् । त्यसलाई तिलाञ्जली दिइसकेकाले उनको दोस्रो इच्छा थियो– इन्जिनियर बनोस् ।

काठमाडौं आएर पुल्चोक क्याम्पसमा भर्ना भए तर आन्दोलनको आँधीबेहरी चल्यो ।

सन् १९७९ मा पाकिस्तानमा राष्ट्रपति जुल्फिकार अली भुट्टोलाई प्राणदण्ड दिइयो । भुट्टोको फाँसीविरुद्ध नेपालस्थित पाकिस्तानी दूतावास घेर्न पुगेका विद्यार्थीमाथि प्रहरीले व्यापक धरपकड गर्‍यो । परिणामस्वरूप ०३५–३६ सालको आन्दोलनको उभार आयो ।

दमनको विरोधमा विद्यार्थीले अस्कल क्याम्पसमा विरोधसभा आयोजना गरेको थियो । प्रहरीले त्यहाँ पनि वितण्डा मच्चायो । अस्कलको छतछतबाट विद्यार्थीलाई सडकमा फाल्न थाल्यो । कतिका हात भाँचिए । कति अंगभंग भए ।

उनी दौड्दै अस्कल क्याम्पसका भुइँतलामा पुगे । संयोगवश कुखुरा पाल्ने खोर रहेछ । त्यहीँ पसेर सुरक्षाकर्मीबाट छेलिए । ज्यान बच्यो ।

त्यो घटनाले उनको जीवनमा ठूलो परिवर्तन ल्यायो । पढाइ बीचमै अलपत्र छाडेर पूर्णकालीन राजनीतिमा होमिए । गाउँ–गाउँमा गीत गाउँदै परिवर्तनको लहर पैदा गर्न हिँडे । लीलामणि पोखरेलले नेतृत्व गरेको अनेरास्ववियू छैटौंमा आबद्ध थिए उनी ।

० ० ०

०३४–३५ सालतिर काठमाडौंबाट घर जाँदै थिए । साथमा गितार पनि थियो ।

पर्वत हुँदै घर जानुपर्ने बीचमा कार्कीनेटा पुग्ने ठाडो उकालो । ज्यान बिसाउँदै उकालो चढ्दै थिए । चौतारीमा एकजना वृद्ध भेटिए । खोटाङतिरका हुनुपर्छ, राई रहेछन् । पसलको भारी बोकेर नाक ठोक्किने उकालो चढेका !

खप्लक्क गालाभित्र पसेको । आँखा मुनीका डाँडी अस्वाभाविक उठेका । थाप्लोमाथि नाम्लोले बसालेको गहिरो खाडल । विद्रूप थियो उनको हविगत । जीवनलाई देख्नेबित्तिकै डाँको छाडेर पो रुन थाले ।

टोपीले मुख छोप्दै आँसु झार्दै, करिब सवा घण्टा उनले दुःखको पोयो फुकाए होला । उनको गरिबको पहाड कार्कीनेटाको उकालोभन्दा चर्को रहेछ । आँसुले के छिचोलिन्थ्यो !

पसिनाको कालीगण्डकी बगाउँदा पनि चुह्लो तताउन नसकेको विरह सुन्दा उनको दिमाग खज्मजियो । वृद्धसँग बिदा मागेर उकालो त चढे तर दिमाग प्रकम्पित भइरह्यो । अचम्म ! कार्कीनेटा पुग्दा त गीत पो तयार भइसकेछ !

‘सिमली छायामा बसी, भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको !’

यही गीत गाउँबस्ती सुनाउँदै हिँड्न थालेपछि उनको चर्चा चुलियो ।

गीतमा ग्राम्य लय । आँसुको संगीत । पसिनाको सौन्दर्य । माटोको स्पन्दन । दुःख–पीडाका मुर्च्छना । सत्ताउन्मादले निम्त्याएका घटना । शासन–कुशासनका आक्रोश उनका गीतिमानक बने । अझ भनौं— उनका गीत सुनेर कयौं मानिस प्रगतिशील विचारधाराको अनुयायी बने ।

त्यसपछि ०३८–३९ सालतिर हुनुपर्छ— उनले अर्को गीत रचना गरे ।

‘सुकेर जाँदैन रोकेर रोकिँदैन 
भारी खेप्ने खेतालाको यही हो जिन्दगानी
झरनाको चिसो पानी...!’

गीतले भुइँचालो पो ल्यायो । गरिबको पसिना चुसेर राज्यसत्ताको तर मार्न पल्किएका र तिनका अनुचरका निधारमा चिटचिट पसिना आयो । गीत गाउन प्रतिबन्धित भए उनी । बन्दुकले कहाँ टालिन्छन् विचार ! लुकिछिपी गाइरहे !

० ० ०

बागी बाटो हिँडेको । बाबुसँग खर्च मागेर कतिन्जेल गीत गाउनू ! ०३६ सालको परिवर्तनपछि चरम आर्थिक संकट भयो उनलाई । आईईको पढाइ पनि अलपत्रै पर्‍यो । “के गर्ने त ?” बिलखबन्दमा पर्दै थिए । उपाय सुझियो– स्कुलमा पढाउने ।

मुस्ताङमा नाताले भिनाजु पर्ने माध्यमिक निरीक्षक भएको सुनेका थिए । त्यतै लागे उनी । टुकुचे ।

“किन इन्जिनियरिङको पढाइ छाडेर आ’को ?” शुरूमा त झाँको भिनाजुले पनि झारे  । पछि त्यहीँ जागिर लगाइदिए उनले ।

त्यस्तै डेढ वर्ष पढाएपछि मुस्ताङ–मोह पनि चिसियो । फर्किएर घरै आए । घर आउँदा बहिनीको विवाहको कुरा चल्दै रहेछ । अलिकति पैसा पनि कमाएका थिए । सर्लक्क बाबुको हातमा हालिदिए । २२७ रुपैयाँ नियमित तलब । गणित, विज्ञान पढाउने भएकाले दोब्बर पाउँथे उनले ।

“इन्जिनियर पढाउन पठा’को छोरो, कहिले गीत गाउँदै हिँडेको छ, कहिले मास्टर बन्छु भनेर मुस्ताङ गएको छ, बुबाको अनुहार झनै पो अँध्यारो भयो,” मच्चिएरै हाँस्छन् जीवन ।

केही समय घरमा बस्न थालेका । गाउँ–गाउँबाट खबर आउन थाल्यो । जहाँ गणित, विज्ञान शिक्षक खाँचो पर्थ्यो । उनैलाई खोजी गर्थे । अतः केही समय उनले गाउँकै विद्यालयमा अध्यापन गरे । त्यहाँ पनि दीर्घ समय काम गरेनन् । दुई वर्षपछि उनी पुनः सोलुखुम्बुको खुम्जुङ पुगे । अध्यापन नै गर्न ।

सगरमाथा उभिएको गाविस । चित्ताविहारी ठाउँ । दोब्बर तलब हुन्थ्यो । त्यसमाथि सर एडमन्ड हिलारीले स्थापना गरेको ‘हिमालयन ट्रस्ट’ले पनि थपिदिन्थ्यो । जिम्मी कार्टरसँग त्यहीँ भेट भएको हो उनको । सन् १९७७ मा अमेरिकी राष्ट्रपति पनि बने कार्टर ।

मंसिरदेखि फागुनसम्म हिमवृष्टिका कारण बन्द हुन्थ्यो विद्यालय । गीत–संगीत रचना गरेर बिताउँथे त्यो समय ।

“सुमनोहर ठाउँ थ्यो, त्यहीँ बसेका बेला सबैभन्दा बढी गीत लेखेँ,” सम्झिन्छन् उनी ।

इन्जिनियर बन्ने सपना ०३५–३६ को आन्दोलनले तुहाइदिएपछि धार बदलेका थिए उनले । तर, खुम्जुङमा केही समय व्यतीत गरेपछि अध्ययन अपूरो भएको प्रतीत भयो । र, काठमाडौं नै फर्किए । त्यसपछि त्रिचन्द्र कलेबाट दर्शनशास्त्र, राजनीतिशास्त्र र अंग्रेजीमा स्नातक उत्तीर्ण गरे । लगत्तै त्रिभुवन विश्वविद्यालयबाट ०४४–४५ सालमा मानवशास्त्र र अंग्रेजीमा स्नातकोत्तर तह पूरा गरे । ततपश्चात् गाउँ फर्किएर स्कुलको प्रधानाध्यापक बने ।

शनिबारको दिन बिहानपख घाँसको भारी बोकेर गोठमा आइपुगेका मात्रै थिए, घरका मान्छेले अताल्लिँदै सुनाउँछन्, “घरभरि प्रहरी छन् ।”

“बिराउनु न बिगार्नु, केको प्रहरी ?” अनौठो मान्दै भारी बिसाएर आँगनमा पुग्छन् । दुई जना प्रहरी पुर्जी तेर्स्याउँदै भन्छन्, “डीएसपी सापले बोलाउनुभा’छ । सर बाग्लुङ हिँड्नुपर्‍यो ।”

अर्का शिक्षकलाई पनि काटिएको रहेछ पुर्जी । दुई जनालाई नै समातिहाले ।

तर, धेरै हिरासतमा लिएनन् । दुई दिन लगाएर प्रमुख जिल्ला अधिकारी, अञ्चलाधीशसम्मले केरकार गरे, “आइन्दा गीत गाउन नहिँड्नू, पञ्चायतविरूद्ध पनि नलाग्नू ! शिक्षक भएर बच्यौ !” चेतावनी दिँदै तारिखमा छाडिदिए ।

१५–१५ दिनमा तारिख धाइरहनुपर्ने । हैरान भएपछि एकदिन सीडीओलाई भने, “यसरी भएन, कि थुन्नूस्, कि तारिख नदिनूस ।”

सीडीओले ‘हुन्छ’ त भनेका थिए तर हप्ता–दश दिन नपुग्दै फेरि पक्राउ पुर्जी काटेछन् ।

वाक्क भएर प्रधानाध्यापकको जागिर त्यहीँ बिसाएर जनताकै गीत गाउन हिँडे ।

सजिलो बाटो छाडेर अप्ठ्यारो बाटो हिँडेपछि सुख के पाइन्थ्यो ! प्रशासनको आँखाको तारो भए उनी । पक्रिएर ल्याउनेलाई ५० हजार इनाम दिने घोषणासमेत गर्‍यो स्थानीय प्रशासनले । समात्न सहयोग पुर्‍याउनेलाई पनि ५ हजार पुरस्कार दिने सूचना टाँस गरेको थियो ।

तर, के धनी, के गरिब— सबैका प्रिय थिए जीवन । गाँस काटेर खुवाउँथे । राति बास बस्न पुगे आफ्नो ओछ्यानमा सुताउँथे । जनताकै सहयोगमा जनतालाई जगाउँदै हिँडिरहे उनी ।

० ० ०

भूमिगत जीवन, अत्यन्त कष्टपूर्ण थियो । कहिले झमझम पानी पर्थ्यो, कहिले टन्टलापुर घाम लाग्थ्यो । प्रशासनको आँखा चौतर्फी फिँजारिएकाले ओत लागेर एक मिनेट उभिन मिल्दैन । दिउँसो एउटा गाउँमा गीत गायो, बास बस्न अन्तै पुगिसक्नुपर्थ्यो । नत्र पक्राउ गरेर जेलमा सडाइहाल्छन् ।

एकदिन गीत गाएर उकालो लागेको गाजको लेकमा आपद आइलाग्यो । ठूलो जंगल, छिचोल्न तीन घण्टा लाग्ने । झमक्क साँझ पर्‍यो । बडो आपद् आइलाग्यो । बाटो नदेखेर बीचमै हराए उनी ।

यता लाग्यो— पर भीरमा पुगेर टुंगिन्छ । उता लाग्यो, जंगलमा पुगेर सकिन्छ । फुसफुस हिउँ परिरहेको छ तर बाटो भेटिँदैन । हैरान भएपछि बीच जंगलमा गुराँसको फेदमुनि रात कटाए ।

“भीमकाय दुःख गरेर पो जगाएको हुँ त वर्ग–संघर्षको मसाल !” भावुक देखिन्छन् उनी ।

शुरू–शुरूमा एक्लै थिए उनी । ‘रक्तिम सांस्कृतिक अभियान’ गठन गरेपछि भने केही त्राण मिल्यो ।

०४३ सालमा गठन भएको हो ‘रक्तिम सांस्कृतिक अभियान’ । झोकेन्द्र थापा, सुजाता गुरूङ, राधा बुढाथोकी, कृष्ण अर्याल, सीता लामालगायत मिलेर रक्तिम गठन गरेका हुन् ।

“धरहराको फेदमा बसेर समूह गठन गर्ने त भनियो तर नाम जुरेन । त्यसपछि भोलि एक–एकवटा नाम सम्झिएर आउन भनें । भोलिपल्ट मैले नै ल्याएको नाम पो सबैले मन पराए,” सम्झिए उनले, “रक्तिमले सिर्जना गरेका गीतका पछाडि साँचो कथा छ । र, त यतिविघ्न मन पराइएको छ ।”

रक्तिमले निकालेका सबैजसो गीतको रचना उनी स्वयंले गरेका छन् । त्यसबाहेक मणि थापाले रचना गरेका गीत गाएका छन् उनले । थापा रचित ‘फोकल्यान्डको टापुबाट...’ भन्ने गीत असाध्यै रुचाइयो । अर्जेन्टिनाअधीनस्थ फोकल्यान्ड टापु गोर्खा सैनिकको सहयोगमा बेलायतले सन् १९८२ मा कब्जा जमाएको थियो । त्यही लडाइँमा सामेल गोर्खालीको सम्झनामा रचिएको गीत हो– ‘फोकल्यान्डको टापुबाट...’ ।

० ० ०

जीवन शर्मा प्रगतिशील गीतका धरोहर हुन् । संगीतकै माध्यमबाट देश–दुनियाँ ब्युँझाउँदै हिँड्ने शर्माका गीत सुनेर कैयन् मानिस कम्युनिस्ट भए । समाजमा प्रगतिशील चेत बीजारोपण गर्ने शर्मा चार दशकदेखि कम्युनिस्ट आन्दोलनमा अथक सक्रिय छन् ।

उनैका गीत सुनेर प्रगतिशील आन्दोलनमा होमिएकाहरू शासनसत्ताको उच्च ओहोदामा पुगिसके । उनी भने पूर्ववत् सादगी जीवन व्यतीत गरिरहेका छन् । भोकै–अनिँदै गीत गाउँदै हिँड्छन् । लाभका पदको लोभ पनि छैन उनलाई ।

३० को दशकदेखि प्रगतिशील सांस्कृतिक रूपान्तरणको आन्दोलनमा चरुझैं होमिएका शर्माका सपना कति पूरा भए होलान् ?

प्रश्न पूरा सुनिनसक्दै उनको अनुहारको आभा झ्याप्प निभ्छ । भित्तातिर नियाल्न पुग्छन् । अचानक ‘बाजेको सेकुवा’ लेखेको ठाउँतिर पुगेर टक्क आँखा अडिन्छन् ।

“बाजेको सेकुवाको साइन बोर्ड झुन्ड्याउँदै के सबै ठाउँ बाजेकै सेकुवा भइहाल्छ ? त्यस्तै हुन् नेपालका कम्युनिस्ट– साइनबोर्डधारी ! यिनीहरूसँग कम्युनिस्ट झन्डाको चित्र छ तर प्रगतिशील चरित्र छैन ! यिनीहरूबाट हाम्रा अधुरा सपना किमार्थ पूरा हुँदैन,” उनी भन्छन्, “परिवर्तनको मोहमा भौतिक सुख– सुविधा त्यागेर हिँडेको मान्छे । मेरो जीवनकालमा भन्न सक्दिनँ तर ढिलोचाँडो क्रान्तिको आँधी आएरै छाड्छ ! यसकारण कि परिवर्तन शाश्वत् सत्य हो ! ०३५–३६ को आन्दोलन, ०४६ सालमा पञ्चायत पतन, ०६२–६३ मा राजसंस्थाको अन्त्य, गणतन्त्र घोषणा हाम्रो चाहनामा मात्रै भएका हुन् त ? अतः समयसँगै हुन्छ परिवर्तनको हुरी !” यति भनेर उनी आफू हिँड्दै आएको बाटो हिँडे । जागरणको बाटो ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment