स्वाभिमान बेचिएको वेला
प्रतिष्ठा पुछिएर इज्जत खोसिएका बेला
अखण्डता लुटिएको बेला
वेपर्वाह वेमतलवी धुनमा
आफ्नै झ्याम्टा ढोलक र ढम्फुमा रम्दै
परिवेश जात र धर्मको गीत फलाक्दै
दन्त्यकथा र झुत्रा इतिहास केलाउँदै
कोरा साहित्यमा रम्न कहाँ सकिन्छ र
मस्त निद्राको तालमा
आफ्नै सपनाको नेरोघेरोमा
दन्किएको घरको मुस्लोभित्र
सुन्दर सपनाको आलिङ्गनमा
उज्याले जीवनको आशा बोक्दै
उर्वर भविष्यको कल्पनामा
वर्तमान बर्वाद पार्न कहाँ सकिन्छ र
हो बोक्नुपर्छ,
चेतनाका राँकोहरू
उठाउनुपर्छ सचेतनाका आवाजहरू
कसिलो मुठी भित्र
साहस वोक्नुपर्दछ
परिवर्तनको
रुपान्तरणको
फट्कार्दै पाइलाहरू शिखरित हुनुर्छ
अनिमात्र
धरावासीको धर्म रहन्छ
अखण्डताको अर्थ रहन्छ
राष्ट्रमायाको मर्म रहन्छ
ओठे जप, तप र भक्तिले
खोक्रो आदर्श, अठोट र सिद्धान्तले
राष्ट्रभक्तिको भाव रहन्न
इच्छाशक्तिको साख रहन्न
वाद, विचार र वहसको खुलामञ्चमा
व्यवहारसँग सङ्गति नमिल्दा
वेरङ्गको कथा बन्छ
वेढङ्गको आस्था बन्छ
वेरसको साहित्य बन्छ ।
रामनाथ खनाल/बुढी आमा र देश–२०७०
No comments:
Post a Comment