-रामनाथ खनाल
भदौरे झरी केही रोकिएको थियो । डाँडा पाखाका थुम्काहरुमा हुस्स फुलेका कुहिरोले बाताबरणलाई उज्यालो बनाउन दिइरहेको थिएन । रातभरी झरी परेर आकाश पनि खुलेर हाँस्न सकेको देखिँदैनथ्यो । बातावरणमा वैग्लै उराठता छाएको थियो ।
बिहानै देखि नागरिकका आँखाहरु अखवारका लाइन माथि पर्न थालिसकेका थिए । रेडियो, टेलिभिजनले एक किसिमको शोक धुन बजाउँदै बारम्बार त्यही दृष्य सम्प्रेशित गरिरहेका थिए । नागरिकहरुमा एकैपटक शोक र आक्रोशको आगो दन्कँदै थियो । विहानै पूर्व क्षितिजमा लाली नचढ्दै काठमाडौँमा कोलाहल मच्चिहाल्योे । काठमाडौँ खाल्डो एकाएक धुँवा नै धुँवामा परिणत भयो ।
युवाहरुको ठूलो जमात सिफलबाट ओरालो झर्यो । नजिकका पसल, सरकारी अफिस केही बाँकी रहेन । आक्रोसको ज्वाला झन झन् दन्किन थाल्यो । नागरिकको भिड उत्तिकै बढ्दै थियो । आक्रोसको अग्नीमा के के स्वाहा भए, त्यसको यकिन तथ्याङ्क आज सम्म पत्ता लागेको छैन । उनीहरु ओरालो झर्दै रुद्रमतीबाट उत्तर सोझिए । यो चिरञ्जीवि वाग्लेको घर होइन ? ‘एउटाले आक्रोस र पीडा मिसिएको श्वरमा चिच्यायो ?’ भिडमा मिसिएका अरु युवाहरुले हो मा हो मिलाए । त्यो भिड तत्कालै वाग्लेको घर भित्र पस्यो । गेटमा बसेको दुई/चार जना प्रहरी ज्यान जोगाउन भागेर नजिकै अर्को घर भित्र पसे । भिडले ग्यारेजमा राखेको कालो रंगको दुईवटा प्राडो, र घर केही क्षणमै ध्वस्त बनाए । भाँडा वर्तन रुद्रमतीमा बगाए ।
आक्रोस त्यतीमै सिमित भएन । उनीहरुमा अराजकताको पराकाष्टा नाघिसकेको थियो । त्यो भिड ज्ञानेश्वर, कमलपोखरी हुँदै त्यहाँ रहेको सरकारी, गैरसरकारी म्यानपावर कार्यालय तोडफोड गर्दै सिधै पुतलीसडक हानियो । पुतलीसकडमा रहेको नेपाल बंगलादेश बैंक, हिमालय बैंक लगायतका वित्तीय संस्थाहरु क्षणभरमै ध्वस्त बनाए । महाराजगञ्ज, बानेश्वर, चावहिल, पुतलीसडक लगायतका क्षेत्रमा बढी विध्वंश मच्चिएको थियो त्यस दिन ।
त्यो इतिहासमा नमेटिने अराजकतापूर्ण आन्दोलनको एयटा प्रारुप थियो । जनताहरु स्वतःस्फूर्त रुपमा सडकमा ओर्लँदा सुरक्षाकर्मीहरु मात्रै होइन राज्यनै निरिह बनेको थियो । र पहिलो पटक सुरक्षा निकायहरु निष्काम सिद्ध भएका थिए । यदी त्यस दिन सिंगै काठमाडौँ सहरमा आगो लागेको भए पनि नेपालको सुरक्षासंयन्त्रले केही गर्न सक्ने अवस्था थिएन । नागरिकको आक्रोसको तारो स्वभाविक रुपमा म्यानपावरहरुमा भए पनि अराजकताको सिमा हुने कुरा थिएन, किन भने त्यो आन्दोलन संगठित थिएन । त्यसका कारण सिंगै शहर कालो धुवामा परिणत भयो । मुस्किलले सरकारले दिउसो २ बजेबाट कफ्र्यू आदेश जारी गरेर नागरिकको आक्रोसको अग्नीमा चिसो पानी खन्यायो ।
इतिहासो त्यो त्रासदीपूर्ण घटनाले आज दश भदौरै झरी पार गरिसकेको छ । २०६१ साल भदौ १६ गते इराकमा आंतकवादी समूहबाट मारिएका १२ जना निर्दोश नेपालीको बिरोधमा नागरिकहरुले दन्काएको आक्रोसको ज्वाला थियो त्यो । अव त ति घाउहरुमा विस्तारै खाटा बसिसकेको हुनुपर्दछ । मारिएका ति १२ जना युवाहरुको परिवारमा शोक रित्तियो होला । तर पनि त्यस्तै थुप्रै विदेशिएका युवाहरुको परिवार र आफन्तहरुका आँखामा अझै बलिन्द्रधारा आँशु टुटेको छैन ।
त्रासदी पूर्ण घटनाको दशक लामो अन्तरालमा बागमतिमा धेरै पानी बग्यो । तर बागमतिको छेवैमा रहेको पशुपतिमा छाउने आर्तनाद र पीडाका नुनिला आँशु त्यही बागमतिमा मिसिएर बग्न छाडेको छैन । दैनिक १५ सयको संख्यामा देश छाडेर विदेशिनेहरुको लामो लाइन, दैनिक ७ जनाको संख्यामा मुलुक भित्रने युवाहरुको मृत शरिर बेरिएका कफिन र सरदर ५–७ जनाकै हाराहारीमा हुने अंगभंगको दर्दनाक अवस्था भदौ १६ को कहाली लाग्दो दृष्य भन्दा कम पीडादायी छैनन् ।
दश वर्षको यो अवधिमा मुलुलले सातवटा नयाँ सरकार पायो, निरंकुशताबाट मुलुक गणतन्त्रको उज्यालो विहानीमा प्रवेश गर्यो भनियो तर भदौ १६ गते लागेको विध्वंशको डँडेलोले खाएको शहरको कुरुप र कालो अनुहार झैँ अझै नागरिकहरुका मनहरु पीडाले जल्न छाडेका छैनन् । तर यसबाट सरकार पूर्ण रुपमा बेखवर छ । शहर जलेर खरानी हुँदा मुक दर्शक बन्न विवश बन्नु परेको कहालीलाग्दो घटनाबाट पाठ सिकेर ति विदेश जाने लाइनमा पंक्तिबद्ध युवाहरुलाई स्वदेशमै रोक्नतर्फ भन्दा ति युवाहरुले विदेशबाट कमाएर स्वदेशमा पठाएको रेमिट्यान्स थन्क्याउनै ब्यस्त छ सरकार ।
आर्कषक काम पाइने र पैसा कमाउने प्रलोभनमा परेका लाखौँ युवाहरु अवैधानिक बाटो भएर द्वन्द्वग्रस्त विभिन्न मुलुकहरुमा पुगेका छन्, कति विदेशका विभिन्न जेलहरुमा छन्, कति मृत्युको मुखमा पुगेका छन् । त्यसको तथ्यांक समेत सरकारसँग छैन । न सरकारले तिनीहरुलाई रोक्न सकेको छ, न स्वदेशमै रोजगारी सिर्जना गर्नतर्फ अग्रसर देखिन्छ । न युवाहरुमा उद्यमशीलताको विकास गर्न नै सकेको छ । के व्यवस्था फेरिँदैमा मात्रै नागरिकका हरेक कुराहरुमा फेबदल आउँछ ? तिनै युवाहरु जसले भदौ १६ को विध्वंश निम्त्याउन विवश भए, उनीहरुले नै दुइवर्ष पछि भएको लोकतान्त्रिक आन्दोलनमा सडकमा रगत बगाए, अंगभंग भए । कतिले मृत्युवरण समेत गरे । तर तिनीहरुको जीवनमा कहिले गणतन्त्रको पारीलो घाम लाग्छ ? के तिनीहरु विदेशमा गएर रगत पसिना लिलाम गर्नकै लागि परिवर्तनको लडाईँ लडेका थिए ? आन्दोलनको बैसाखी बनेका थिए ? हैन भने तिनीहरुलाई यत्रो अन्याय किन ?
आज निर्दोश युवाहरु जो जायजेथा वेचेर विदेशिएका छन्, स्वदेशमा तिनीहरुको परिवार आँशुको सागरमा डुबुल्की मारिरहेको छ । परिवारहरु विखण्डित भएका छन् तर राज्य तिनीहरुले आत्मा बेचेर पठाएको पैसामा फुरुङ्ग परिहेको छ । आज जेनतेन रेमिट्यान्स (विप्रेषण) मार्फत भित्रिएको केही पैसाले नेपालको अर्थतन्त्र चलायमान हुने अवस्था बनेको छ । तर राज्यले ति विदेशिएका युवाहरुका परिवारको सामाजिक सुरक्षा, विदेशमा मरेका वा अंगभंग भएका र उतै वेपत्ता भएकाका परिवारको सामाजिक सुरक्षाको बारेमा सोच्नु पर्छ कि पर्दैन ? बाहिरिएका ४२ लाख श्रमशक्ति फर्काएर स्वदेशमै उनीहरुको श्रमको उपयोग गर्ने बातावरण निर्माणमा सरकारले अव सोच्ने बेला भएको छ कि छैन ? गर्न सकिने हरेक कुराहरुलाई पनि संक्रमण काल देखाएर पन्छाउने हो भने र बहानाबाजी गर्दै पन्छँदै जाने हो भने अर्को भदौ १६ को कहालीलाग्दो दिनको पुनराबृत्ति छिट्टै हुनेमा शंका नगर्दा हुन्छ । भदौ १६ को कहाली लाग्दो घटनाबाट सवैले पाठ सिकौँ ।
http://www.nepalpationline.com/bhadau-16-agjani-ktm (Published-2071-05-16)
No comments:
Post a Comment