–रामनाथ खनाल
देश कसले चलाएको होला ? स्वभाविक रुपमा प्रधानमन्त्री, मन्त्रीहरु र सभासद्हरुले चलाई रहेका छन् । देशमा नियमकानून छ नियमनकारी निकाय छ त्यसले नै देश चलाउँछ । सरकारका अंगहरु छन् त्यसले पनि देश सञ्चालनका लागि मार्ग प्रसस्त गर्दछ । सेना छन्, प्रहरीहरु छन् । न्यायालय छ, सवै छ त्यसकारण देश यिनीहरुको सहायतामा चलेको होला । यसो भनेर आफूलाई ढुक्क बनाउने हो भने हामी गम्भीर भ्रममा पर्छौँ ?
सरकार सञ्चालनबाट अवाक भएर सत्ता रुढ नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले सरकार कसले चलाएको छ ? भन्दै व्यवस्थापिका संसद्मै गम्भीर प्रश्न गरिन् । त्यती मात्र नभई उनले सरकार सेनाले चलाएको छ, या पुलिसले चलाएको छ भनेर प्रतिप्रश्न समेत गरिन् ।
सरकारले जनताको होइन आफ्नै गुनासो नसुनेको रोष थियो उनको यद्यपी उनको प्रश्नले सरकार सञ्चालको सुस्तता र जभावना अनुरुप चल्न नसेको तिव्र आक्रोस थियो त्यो ।
उनको प्रश्नलाई मलजल गर्न शुक्रबारको तिन कुनेको दुष्य पर्याप्त थियो । वास्तबमा देश, कार्टेलिङ र सिन्डिकेटमा चलेको छ । देशको शिर देखि पाउ सम्म सिन्डिकेट छ र ठेकेदारी प्रथामा फस्टाएको छ । अझ प्रष्ट भाषामा भन्दा ठेकेदारहरुले चलाएका छन् देश ।
राजधानी काठमाडौँको व्यस्त सडकमा ट्रिपर व्यवासायीहरुले ट्रिपरहरु तेर्स्याएर सरकारको विरोध गर्दै निर्माण सामाग्री निर्वाध रुपमा ओासर पसार गर्न पाउनु पर्ने माग गरे । निर्माण सामाग्री ढुवानी सहज नभएको भन्दै आक्रोस स्वरुप खुल्ला बाटोमा ट्रिपर तेर्स्याउनु परेको उनीहरुको भनाई रहेता पनि उनीहरुले सिर्जना गरेको राज्य आतंकको पराकाष्टा थियो त्यो । तर सरकार रमिते बन्यो र जेनतेन बल प्रयोग गरेर सडक अबरुद्ध भएको पौने पाँच घण्टा पछि आवागमन सुचारु गर्यो । त्यतीञ्जेल नागरिकहरुले पाउनु सम्म दुःख पाइसकेका थिए ।
व्यस्त सडकमा गाडी तेर्स्याएर बाटो अवरुद्ध गर्ने र आवागमन अस्तव्यस्त बनाउने दुस्साहस उनीहरुले कसरी गरे ? उनीहरुको गम्भीर हर्कतका विरुद्ध किन राज्य सुरुमै आक्रामक बन्न सकेन ? कारण राज्य यसैगरी चलेको हिजो देखि आज सम्म ।
जनताले दुःख शुक्रबार मात्र पाएका होइनन् । त्यसो त नेपाली जनताको नियती नै हो भन्दा हुन्छ दुःख पीडा पाइरहने । यहाँ अनेक बहानामा उनीहरुलाई दुःख दिनेहरुको कमी छैन । अस्पताल जाउँ डाक्टर मसाल बोकेर आन्दोलनमा होमीएका छन् । शिक्षालय जाउँ शिक्षाधिकारीहरु अनियमिततामा आरोपामा अड्डा अदालत धाउँदैछन् । कर्मचारी घुस र कमिसन विना पाइला अगाडि बढाउँदैनन् ।
चाडपर्वले छपक्क छोपेको छ । यही मौकामा मिसावट र कालो बजारी गर्नेहरु सलहझै अगाडि बढेका छन् । जताततै मंहगी, अभाव र अनिकालले जनता दोहोरो तेहेरो मारमा परेका छन् तर धिमा गतिको सरकारलाई कुनै मतलव छैन । बाढी पहिरोले जनताको उठिबास लाग्दा समेत राहतको यथोचित व्यवस्थापन गर्न सकेको छैन । राहतका लागि राज्य आफैँ सक्षम हुनुपर्नेमा उठेको राहत रकमको वितरण गर्न पनि सुशील सरकारले अत्यन्तै सुस्तता देखाइरहेको छ । सरकारका मन्त्रीहरु आफ्नै क्याविनेटको विषबमन गर्नै व्यस्त छन् । सरकार साँझेदार दलहरुलाई सत्तारुढ दलको उछित्तो काढ्न नै भ्याई नभ्याइछ । प्रमुख प्रतिपक्षी लगायत विपक्षीदलहरुलाई सदन अवरुद्ध पार्न र विरोधको आवाज घन्काउन मात्रै समय छ । कसले बोलिदिन्छ जनभावना ? कसले सुनिदिन्छ जनताको दुःख र कष्ट । दिनप्रदिन खेप्नु परेको सास्तीले कसलाई मलाई छोएको छ ?
त्यसकारण देश कसैले चलाएको छैन । छ भने तिनै ठेकेदारहरुले । जताततै ब्रम्ह्लुट मच्चाउन पल्किएका अनियमितताका मतियारहरुले नै देश चलाएको हुनु पर्दछ । राज्य हुन्थ्यो भने । जुरे पहिरोका नागरीकहरु पानि चुहिने पाल मुनी भोकभोकै रात कटाउनु पर्दैनथ्यो । बगेका सुर्खेतबासीहरु पीडाका नुनीला आँशु पिएर बाँच्नु पर्दैनथ्यो । दङ्गालीहरु अभावमा छाती पिटी पिटी रुनुपर्दैनथ्यो त्यसकारण सरकार छ भनेर आशाबादी हुनु बेकार छ ।
कहिले लाग्छ शासकहरुको घैँटामा घाम ? कतिञ्जेल राखिरहन्छन् आफ्नो विवेकलाई बन्धक ? अनेक कुकृत्य गरिरहँदा पनि कतिञ्जेल जनताले यिनीहरुलाई माफि गरिरहन्छन् ? के राज्यसत्ता यिनीहरुको बाऊको बपौती हो ? निर्दोश नागरिकहरु अनेकन दुःख कष्टको शिकार भैरहँदा, आँखाबाट अविरल अँश्रुधारा बगाइरहँदा यिनीहरुको ओठमा मुस्कानको वर्षा किन ?
एउटा अवोध चेली बाउ बाटै लुटिँए भने राज्यसँग गुहार मागिरहँदा राज्य किन बोल्दैन ? के यो राज्य आमा दिदी बहिनीहरुको होइन । आमाको काखबाट थुतेर इज्जत लुट्ने पापिष्ट बाउहरुलाई फाँसीको तख्तामा राख्न कुन मानव अधिकारले रोक्छ । बलात्कृत भएर पल पल चेलीहरु मरिरहँदा, दिनदहाडै अस्मिता लुटिँदा र राज्यसँग हारगुहार गरिरहँदा राज्य मौन ब्रत बसिरहेको छ । नाथे, फटाहा, जालीझेली जे सुकै गरेर मारिएको होस् तर त्यसको बिरुद्धमा सदनमा हंगामा मच्चिन्छ, डलरको खेतीमा अनुहार चम्काएका र जिउ डाल सपारेका हरु सञ्चार माध्ययम धाउन सक्छन् तर यहाँका निर्दोश चेलीहरु घरभित्रै असुरक्षित बनिरहँदा, उसले कहीँ कतैबाट न्याय पाउँदिन र बन्न सक्दैन यो राज्य उसको अस्मिताको पहरेदार भने कुर्चीमा टाँसिरहन सरकारका प्रधानमन्त्री, मन्त्रीहरुलाई कुन नैतिकताले दिन्छ ?
गुण्डागर्दीको शैलीमा यातायातमा सिन्डिकेट गरेर जनतालाई तेव्वर बढी भाडा तिर्न बाध्य पार्ने, खाद्य सामाग्रीमा मिसावट गरेर जनतालाई मन्द विष खुवाउने, मोटो रकममा शैक्षिक प्रमाणपत्र वेच्न पल्किएका शिक्षालयका शिक्षाधिकारीहरुलाई के गर्ने ? के तिनीहरुको चंगुलमा परिरहुन् निमुखा जनताहरु ?
जनताको सोझोपनको फाइदा उठाएर अनेक बहानामा लुट्न पल्किएका शासक देखि प्रशासक सम्म, यातायात देखि शिक्षालय सम्मको बर्बरता अन्त्यका लागि जनता आफैँ पनि जाग्नु पर्ने भएको छ , अन्यथा समस्या देखि पन्छिएर भाग्ने हो समस्या अझै झांगिँदै जाने र अपराधीहरुको मनोवल झनै उच्च हुँदै जाने निश्चित छ अतः उठौँ, जागरुक बनौँ र अन्याय अत्याचार गर्नेहरुका विरुद्ध निर्ममता पूर्वक जाइलागौँ ।
No comments:
Post a Comment