-रामनाथ खनाल
आँगनको डिलमा फक्रेका सयपत्री, मखमली र गोदावरी फूल जस्तै जनमानसमा नयाँ उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारमा हिजोआज मौलिकताको कुनै गन्ध भेटिँदैन । शरदको सामिप्यतामा मुस्कुराउने पर्व तिहार मानवमात्रको चाड होइन । मानव र पशुपन्छीबीचको आत्मियता को साथै हार्दिकता मुखरित गर्ने महत्वपूर्ण पर्व पनि भएकाले यसको चाडहरुमा तिहार छुट्टै महत्व तथा विशिष्ट स्थान ओगट्दछ । तथापी भड्किलो भन्दै गएको चाडपर्वहरुको आवरणसँगै सांस्कृतिक र मौलिकता बेजोड नमुनाको रुपमा रहेको तिहार पर्वको पन सांस्कृति पक्ष खुम्चिन थालेको छ ।
हिजोआज तिहारमा खेलिने द्यौसी–भैलोमा सांस्कृतिक विविधता भेटिँदैन । खैँजेडी, झ्याली, मुर्चुङ्गाको तालमा मौलिक भाकामा गाइने र भट्याइने द्यौसी देख्न नपाइने भैसकेको छ । महिलाहरुले मिठो भाकामा भैलेनी गाउँदै आँगनी चहार्ने परम्परा पनि विस्तारै लोप हुन थालेको छ । त्यसो त तिहार पर्वसँगै द्यौसी–भैलोको आडमा विभिन्न साँस्कृतिक विचलनहरु फस्टाउन थालेका छन् । द्यौसी–भैलोको नाममा गाइने गीत, सांस्कृतिक कार्यक्रमहरुले हाम्रो मौलिकपन र परम्परालाई जर्गेना गर्नुको सट्टा उल्टो अधोगती तर्फ डोहोर्याइरहेको भान हुन्छ ।
शरदको आलकोमा सजिने रंगहरुको पर्व, फूलहरुको पर्व, झिलीमिली बत्तिहरुको पर्व, पशुपन्छीका साथै भातृत्व एवम् भाइचारा र मानवताको भावना प्रकट गर्ने महत्वपूर्ण चाड तिहार सयपत्री, मखमली र गोदावरीको सुवासमा मुस्कुराउँदैन मात्रै पहेँला फाँटहरुमा लहरै झुल्ने धानकाबालाहरु र बारीहरु उन्मुक्त हाँसीरहेका कोदो फापर सँगै मुखरीत हुने गर्दछ ।
बर्षामा गोरुझै जोतिएका र मंसिरमा फाँटहरुमा बाली थन्क्याउन र लगाउन व्यस्त बन्नु पर्ने किसानहरुको थकान मार्ने मौसम पनि हो यो । चाडवाडसँगै स्फुर्तीलो बन्नु पर्ने समय पनि तिहार । साँच्चै यस्ता पर्वहरु घुम्दै फिर्दै नआइदिने होे भने मानव जीवन निरशीलो बन्ने गर्दछ । यस्ता चाडहरुले मानवलाई आशावादी बनाउँछद र भविष्यलाई लक्ष गरेर अगाडि बढ्न प्रेरित पनि गर्दछ । तर तिहार आज भोली द्यौसी–भैलोको नाममा रकम संकलन गर्ने, झिलीमिलो पार्ने नाममा अनावस्यक विजुली खपत गर्ने, पटका भुइँचम्मा पड्काउने दिदीवहिनी या दाजुभाइले एक अर्कालाई उपहार प्रदान गर्ने नाममा अनावश्यक खर्च गर्ने होडबाजी नै चलेको छ । यसले गर्दा तिहारको मौलिकपन हराएको होइन मासिएको प्रतित हुन्छ ।
बुढापाकाहरुले भजनका टुक्का जोड्दै खैजेडीको तालमा द्यौसी भट्याउने र अरुले हो मा हो मिलाएर द्यौसी गाउने मौलिक परम्पराको निरन्तरता नामेट हुन थालेको छ । बरु द्यौसीसँगै पश्चिमा शैलिका गित बजाउने र छोटो बस्त्र पहिरिएर अश्लिल नृत्य गर्ने प्रचलनले बढोत्तरी पाउन थालेको छ । त्यसका साथै राजनीतिक दल र अन्य संघ÷संस्थाले द्यौसी भैलोलाई रकम संकलन गर्ने बैधानीक पर्वका रुपमा उपयोग गर्न थालेका छन् जसका कारण तिहार आउने वित्तिकै डराएर भाग्नु पर्ने परिस्थिति समेत सिर्जना हुन थालेको स्थिति छ ।
द्यौसे तथा भैलेलीलाई गच्छे अनुसारको दक्षीणा दिने चलन पुरानै हो तर घर–घरमा चिठी पठाएर तिहार आउनु भन्दा हप्ता दिन अगावै द्यौसी खेल्न थाल्नु, द्यौसी–भैलोका नाममा तोकेर पैसा माग्नु किमार्थ पनि हाम्रो मौलिक परम्परासँग मेल खाँदैन । तर यो संस्कृतिकै रुपमा भयावह ढंगबाट अघि बढिरहेको छ ।
तिहार पर्व बत्तिहरुको पर्व पनि हो तर हिजो आज तिहार नआउँदै झिलीमिली बत्ति बालेर घर सजाउने होडबाजी नै चलेको छ जसका कारण अनावश्यक बत्ति खपत मात्र भएको छैन यसले ठूला दुर्घटना निम्त्याउने खतरालाई पनि बढाएको छ । दाजुभाइ या दिदीवहिनीलाई कोसेली दिने एक आपसमा उपहार साटासाट गर्नका लागि बजारमा महंगो रुपैयाँ खर्चेर मिठाई खरिद गर्ने परम्परा नै बसेको छ । जसका कारणले घरमा सेलरोटी पकाउने प्रचलन विस्तारै हट्न थालेको छ ।
यसले गर्दा बजारमा मिठाईको अत्यधिक माग हुन थालेको छ । बजारमा मिठाइहरुको उच्च माग हुन थाले पछि मिठाइ पसलेहरुले मिठाई बनाउन प्रयोग हुने सामाग्रीहरुमा अखाद्य पदार्थको मिसाओट गर्न थालेका छन् । जसबाट जनस्वास्थ्यमा प्रतिकुल असर परिरहेको छ ।
त्यस्तै तिहारमा घर सजाउनका लागि फूलहरुको अत्यधिक प्रयोग हुँदा पनि तिहारका लागि फूल विदेशबाट निर्यात गर्नु पर्ने स्थिति निर्माण भएको छ । त्यसले पनि चाडवाडसँगै धेरै रकम विदेशीने गर्दछ । यसरी अनेक खालको सांस्कृतिक विविधता बोकेको र मौलिकता एक उत्कृष्ट नमुनाका रुपमा रहेको नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको परम्परा क्रमशः ओझेल पर्दैछ र भड्किलोपन्मा बढावा आउँदैछ । यसतर्फ हामी सचेत बन्नै पर्दछ ।
Published onhttp://nepalpati.com/news/851/tihar-situation
Published onhttp://nepalpati.com/news/851/tihar-situation
No comments:
Post a Comment