-रामनाथ खनाल
कात्तिक कृष्ण पक्ष त्रयोदशी तिथिबाट शुरु भएर शुक्ल पक्ष द्वितिया तिथिसम्म मनाइने महत्वपूर्ण पर्व नै तिहार हो । यमराजले आफ्नी बहिनी यमुनाका घरमा गएर टिका ग्रहण गरी आत्मियता स्वीकार गरी उत्सव मनाएको कारणले यो पाँच दिनलाई पनि यमपञ्चक भन्ने गरिन्छ । यमपञ्चकको पहिलो दिन बिहान घरलाई लिपपोत गरी पवित्र बनाउने वैदिक विधिविधान अनुसार न्यायका राजा यमराजको दूत मानिने कागको पूजा गरी भोजन गराउने प्रचलन छ । हिन्दु परम्परामा कागलाई शुभ र अशुभ समाचार वाहकका रुपमा पनि लिने गरिन्छ ।
साथै यम पञ्चकको अवसरमा सन्ध्याको समयमा आ–आफ्नो आँगनमा दीप जगाउने गरिन्छ । यस्तै आरोग्य तथा सुख समृद्धिका देवता तथा आर्युवेदका पिता धन्वन्तरीको सम्झनामा धन्वन्तरी दिवस पनि यही बेला मनाइन्छ । यमपञ्चकको अवधिभर घरमा दिपावली गर्ने, चोखो खानेकुरा खाने, नुहाई–धुवाई गर्ने गरिन्छ ।
पशुपन्छीको पुजा
तिहार पर्व मानव मात्रको पर्व नभएर यो मानव र पशुपन्छीबीचको पारस्परिक सम्बन्ध मुखरित गर्ने महत्वपूर्ण चाडका रुपमा परिचित छ । ‘तमसो मा ज्योतिर्गमयः’ को भाव उजागर गर्दै अन्धकारबाट उज्यालो जीवनको दिशामा जिन्दगीलाई डोहोर्याउने पर्व नै तिहार हो ।
तिहारको दोस्रो दिन तथा चतुर्दशीको दिनलाई नरक चतुर्दशी भनिन्छ यस दिन हिन्दु महिलाहरुले नजिकैको कुवा, तलाऊ, धारा या पोखरीमा गएर नर्के नुहाउने र टपरीमा दीपप्रज्ज्वलन गर्दै पुजाआजा गर्ने प्रचलन छ । बिहानै महिला–पुरुषले दुवैले सुस्वास्थ्य र दीर्घायुका लागि शरीरमा तेल लगाएर अपामार्गको पात, डाँठ, फूल, फल, गौमुत्र मिश्रित जलले स्नान गरी शरीर चोख्याउने प्रचलन पनि रहेको छ ।
यसै दिन अत्यन्त इमान्दार तथा मालिकको सेवकका रुपमा रहेको ‘भैरव वाहन’ कुकुरको पूजा आजा गरिन्छ । यस दिनलाई कुकुर तिहार पनि भन्ने प्रचलन छ ।
यमपञ्चकको तेश्रो दिन आमावश्या (औँसी)को दिन दिपावली गरी धुमधामसाथका साथ धनधान्य र ऐश्वर्यकी देवी भगवती लक्ष्मी, कुवेर आदीको पूजा गरिन्छ । सोही दिन सवै भन्दा सोझो जनावरको प्रतिक गाईको पुजा आजा गर्ने गरिन्छ । हिन्दु परम्परामा गाईलाई ‘गौमाता’ तथा लक्ष्मी भगवानको प्रतिकको रुपममा मान्ने र पुजा गर्ने प्रचलन छ ।
गाई तिहारको दिन वेलुकी लक्ष्मी पुजा गरेर महिला, युवती तथा बच्चाहरुले भैलो खेल्ने गर्दछन् । ‘भैलिनी आईन् आँगन, गुन्यूँ चोलो मागन हे औँसीको बार गाइतिहारो भैलो’ भन्ने सुरिलो भाकाबाट भैलो आरम्भ गर्दै आशिष दिएर भलिनीहरु विदा माग्ने प्रचलन छ ।
तिहारको चौँथो दिन गोवद्र्धन तथा गोरुको पुजा गर्ने र गाउँघर तिर हलीको पनि पुजा आजा गर्ने प्रचलन छ । त्यसैले यस दिनलाई हलीतिहार अथवा गोरुतिहार भन्ने गरिन्छ । महालक्ष्मी, गणेशसहित ऐश्वर्यका देवताको पूजा गरी लक्ष्मीपूजा र झिलिमिली बत्तिको पर्वका रुपमा पनि दीपावली मनाइन्छ ।
म्हः पुजा एवम् नेपाल सम्वत
तिहारको चौँथो दिन नै नेवार समुदायले आफ्नो शरीरको विशेष पुजाआजा गरी म्हः पुजा मनाउने गर्दछन् । हरेक वर्र्ष नेपाल संवतको कछलाथ्व पारुको दिन आफ्नो शरीरको पुजा गरी वर्षभरी रक्षा स्वास्थ्यका लागी कामना गर्ने प्रचलन छ ।
त्यस दिन घरका सबै सदस्यलाई एक एक वटा मण्डलमा राखिन्छ र पालैपालो शरीरका सबै अंगको पुजा गर्ने चलन छ । पुजा गरी सकेपछी हाँसको अण्डा सगुनको रुपमा खुवाउने गरिन्छ ।
आत्मपूजा, म्हःपूजा आफैभित्र सात्विक, सनातन आत्माको पूजा गर्ने विधान पनि नेपाली मौलिकपन हो । आफू भित्रका विकारहरुलाई हटाएर सत्यता, पवित्रता, शान्ति र उन्नतिमय जीवनका लागि पनि आत्मपूजा गर्नुपर्छ । यो राष्ट्रिय पर्वका रुपमा सबैले शान्ति र आनन्दपूर्वक मनाउनु सबैको कल्याणको कामना गर्नु हाम्रो मौलिकताको जीवन्तता हो ।
त्यस दिन नेवार ‘समदायले न्यु दया भिन्तुना’ अर्थात नयाँ वर्षको शुभकामना आदानप्रदान पनि गर्छन । राष्ट्रिय विभुती शंखधर साख्वाले ११३५ वर्षअघि जनतालाई ऋण मुक्त गराएर त्यसै समयबाट नेपाल संवत जारी गरी नयाँ वर्ष मनाउने चलन छ ।
दिदीवहिनी र दाजुभाइबीच आत्मियता र भ्रातृत्व साटासाट गर्ने पर्व
यमपञ्चक अन्तर्गतको महत्त्वपूर्ण दिन हो ‘भाइ तिहार’ । कात्तिक शुक्ल द्वितीयाका दिन घर–घरमा दिदी–बहिनीहरुले नवग्रह, अष्टचिरञ्जिवी, यम, यमुना, लक्ष्मी एवं आफना दाजु–भाइहरुलाई पूजा गरी भ्रातृत्व आत्मियता, आपसी मैत्री, सद्भाव र करुणामय भावको विकासका लागि भाइपुजा गर्ने गर्दछन् । र दाजुभाइहरुले पनि गच्छे अनुसारको उपहार दिएर दिदीबहिनी प्रतिको माया प्रकट गर्दछन् ।
सूर्यपुत्री यमुनाको निम्तो स्वीकार गर्दै यमराज पाँच दिनसम्म बहिनीका घरमा बसी मीठा–मीठा खानेकुरा खाई, निधारमा सप्तरङगी टीका, गलामा मखमली फूलको माला, कपालमा तेल अनि मूलढोकामा ओखर फोरी मण्डपमा सजिएका कारण पनि यो पर्व महत्वपूर्ण बन्न गएको धार्मिक विश्वास छ ।
दाजु–भाइहरुलाई तेलमिश्रित करुवाको टुटीको जलधाराबाट तीन पटकसम्म परिक्रममा गरी यमुना, यम आदि देवताको पूजा, दीप, कलश, गणेशको पूजासहित भाइहरुलाई विशेष विधिपूर्वक पूजा गरी पान, मसला दिने तथा धूप, बत्ती, वस्त्र, फलफूल, मिष्ठान्न, सगुनसमेत खुवाउने प्रचलन छ ।
उक्त दिन दाजु–भाइहरुलाई प्रसन्न राखी प्रार्थनासमेत गरिन्छ । वर्षभरी भएका सबै द्वेष हटाई दिदी–बहिनीहरुबाट दाजु–भाइहरुले सुखसमृद्धिको आशिर्वाद दिने चलन छ । भाइपूजा गर्नुअघि षष्ठीका देवीसहित मार्कण्डेय, व्यास, बली, हनुमान, परशुराम, कृपाचार्य, द्रोण, प्रह्लाद र यम दण्डाधिकारी समेतको पुजाआजा गर्ने प्रचलन रहिआएको छ ।
असल काम गर्नेलाई ढाडस र खराब काम गर्नेलाई दण्ड गरेर न्यायाधीशको काम गर्ने यम नै हुन् । उनी कालका प्रतीक पनि हुन् ।
पञ्चरङ्गको महत्व
दिदीबहिनीहरुले दाजुभाइको निधारमा लगाइदिने पञ्चरङगी टीकाको पनि आफनो छुट्टै महत्त्व छ । पद्मपुराणमा उल्लेख भए अनुसार सेतो रङ्ग शान्तिको प्रतीक हो । गुरु वृहस्पतिको रङ्ग पहेँलो हो । पहेँलो रङ्गले आध्यात्मिकता र साधनाको संकेत गर्छ । बुधको रङ्ग हरियो वर्णको हो । हरियोले सिर्जनशीलता र विकासको प्रतिनिधित्व गर्छ । नीलो रङगले स्वच्छन्दता निरोगी भावको संकेत गर्छ । आकाशको रङ्ग नीलो छ, समस्त भूमण्डलमा निरोगी भावको विकास होस्, वातावरण सकारात्मक बनोस् भन्ने भाव रहेको छ ।
कालो रङग विरोधी भावको प्रतिनिधित्व गर्छ । जीवनमा कहिल्यै पनि अज्ञानताको भावमा बाँच्न नपरोस् भन्दै सदासर्वदा सत्मार्गमा हिँड्न प्रेरणा दिने धार्मिक कथन छ । बैजनी रङ्गले शुभ, कल्याणको विकासका लागि बैजनी रङ्गको प्रयोग गरिन्छ । रातो रङ्ग मजिठोको पञ्चाङ्गबाट निकालिन्छ । दसैंमा पनि मजिठोको प्रयोग गरिन्छ भने रातो समृद्धि उन्नति, प्रगति, साहस पराक्रम र शूरवीरताको प्रतीक हो । यमपञ्चक पर्वलाई सुख, शान्ति, समृद्धिको लागि मनाइन्छ । तिहारले भवतु सर्वकल्याणंको भावना जागृत गराउँछ ।
यसैबीच, यस वर्षको भाइटीकाको शुभसाइत आउँदो शनिबार विहान ११ बजेर ३५ मिनेटमा रहेको भएपनि उक्त दिनभर टिका लगाउन सकिने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
Published onhttp://nepalpati.com/news/896/tihar-parwa
No comments:
Post a Comment