Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

हाइकु लेख्ने कला



By  Unknown     6:48 PM    Labels: 
प्रारम्भ
        चौमासीक हाइकु विशेषाङक बर-भञ्ज्याङगको सम्पादकियमा भनिएका छ । वाक्यलाई केवल ५+ ७ + ५ को शुत्रमा खण्डीत पारेर सोझो अर्थ लाग्ने गरी छुद्र अभिब्यक्ति दिनु हाइकु विद्याको दुरपयोग हो। यो सम्पादकियले हाइकु कविताका सिकारु लेखकहरुलाई हाइकु सम्बन्धि धेरै जानकारी,गहन अध्ययन गर्नुपर्ने 
कुरालाई इङ्गीत गर्दछ । हाइकु लेखनको परम्परा जापानी साहित्यमा १७ शताब्दि मै जापानी हाइकु कविताका आदिकवि मानिने "बासो" द्वारा थालिएको भएपनि नेपालमा भने प्रयोबादी कविता लेखन संगसंगै बि.सं. २०१९ सालमा आएर निबन्धकार शंकर लामिछानेद्वारा भएको देखिन्छ । त्यसपछि अभि सुवेदी,माधवलाल कर्मचार्य,मोहनहिमाशुं थापा आदि हुँदै अघि बढेको नेपाली हाइकु लेखनको परम्परा २०३० पछि तिब्र हुँदै गई २०५० पछि त झनै एउटा सानोतिनो भेल नै चल्न थालेको देखिन्छ भनेर हाइकु सम्वन्धि अध्येता मधुसुदन गिरी लेख्नु हुन्छ ।

१) हाइकुको बाह्य संरचना
        पूर्वीय द्विपदी भन्दा माथिल्लो झण्डै समयापूर्ती शैलीको मुक्तक भन्दा केहि सानो अनुभव हुने हाइकाई वा प्रथमांश ५+ ७ + ५ अक्षरीय होक्कु वा ५ पंक्तियुक्त कविताको अर्थबाहक ताँका अथवा त्यस प्रकारको सामूहिक लेखन क्रमको हास्यात्मक "रेंगा" नामक "वाग्विलास" ले बिस्तार एवम गम्भिरता ग्रहण गरी कालन्तरमा एक स्वतन्त्र कविता मानिन थालिएको जापानी कविताको एक उपविधा हाइकु हो। हाइकु संरचनागत बनौट सम्वन्धमा नाकामुरा कुसाताओ को “हाइकु न्यमोन” लाई आधार मान्दै अघि सारीएका बैशिष्ठ्यगत बुँदाहरु निम्न छन् ।
१.पद्यमयता
२.१७ अक्षरे (५+ ७ + ५)संरचना
३.ऋतुवोधक शब्द
४.प्रतीक
५.यथार्थ चित्रण
६.किरेजी अर्थात बिश्रामवोधक काट्ने अक्षर
       दर्शनका स्तरमा जापानी र अझै पूर्वीय प्रकृति सम्वन्धि जीवन दर्शनलाई प्रस्तुत गर्ने भएकोले हाइकुलाई प्रकृति-काब्य पनि भन्ने गरीएको पाइएको छ । यसैले मौषम सम्वन्धि बिम्व अपरीहार्य ठानीने हाइकुका बिम्वलाई केन्द्रिय बिम्वले केन्द्रकका रुपमा समन्वय गर्ने मान्यता पनि पाइन्छ (नोजु २०४९,५०)।

यसका अतिरिक्त सुक्ष्मता,चित्रात्मकता,सौन्दर्यमयता तथा निर्वैयक्तिक अर्थ बोकेको हाइकुमा सौन्दर्यत्पान एवं पुन आस्वादनार्थ काट्ने अक्षर वा चिन्ह एवं अनुप्रासादिद्वारा नादगत,तालगत एव अर्थगत विश्रामको पनि आयोजना गरिएको हुनुपर्ने मान्यता छ । यस सम्वन्धमा हारुहितो नोजु आश्चार्य बोधक प्रश्नचिन्हबाट नेपालीमा किरेजीको काम लिन सकिने मत प्रस्तुत गर्दछन् (नोजु २०४९,५०)। यसका साथै मूल र सहायक क्रियाको प्रयोग नगरेमा हाइकुको चित्रात्मक र लाक्षणिक स्वभाव झन् प्रभावकारी हुन सक्ने मत प्रस्तुत गरीएको छ (सुवेदी २०४४)।

२.आन्तरिक संरचना
        हाइकुको आन्तरिक संरचना भाव विन्यासको संरचना पनि हो र वितरणको पनि । यस कोणबाट हाइकुलाई हेर्दा भावगत र शब्दगत संयम हाइकुमा अपेक्षित हुन्छ (भण्डारी र्इ.१९८९,)। प्रथम पंक्तिमा विषय प्रवेश,बाँकी दुइमा त्यसको नाटकीकरण गर्ने प्रवृति पनि अन्तरसंरचना अन्तर्गत नै विषयवस्तुगत वितरणमा पर्दछन् । आन्तरिक संरचना सम्वन्धि मान्यताका अगाडी बाह्य संरचना केहि पनि होइन जस्तो लाग्दछ । किनकि हाइकुलाई जमेका तलाउ नभई जीवित क्षणका स्पन्दनशील अभिब्यक्तिका रुपमा लिइन्छ । यसैले हाइकु लेखनमा शब्दलाई भित्ता सजाउन टाँसीएका प्राणहीन पुतली भनिएको पाइन्छ । हाइकु बौद्धिकता र तार्कीकता होइन सतोरी सम वा अन्तर्वोध अपेक्षित हुन्छ । त्यसैले भनिन्छ ,हाइकु टाउको होइन छातीको बाटो आउने गर्दछ । अति सरल,अति नम्र,अति सामान्य र अति संवेदनशील हृदय हाइकुका खेल्ने चौर हुन्,आगन हुन्। अत वक्ता वा स्रोताद्वारा प्रयुक्त शाब्दिक प्रतीक र वस्तुबीचको खालीपन जस्तै हाइकुका आन्तरिक संरचनामा पनि एक प्रकारको खालीपन हुन्छ ,अनन्त सैभावनाको खालीपन । अत वस्तु र वस्तुलाई हेर्ने दृष्टिका बीचको एउटा मानसिक रुपाकृति हो र हाइकु कवि सत्यको त्यहि अमूर्त रुपाकृतिको प्रत्यक्षानुभूति गर्दछ । यसरी हाइकुमा आन्तरिक संरचनाको खालीपन आँखाले देख्न होइन मनले अनुभव गर्न सकिन्छ ।
      
चेतनालाई बुद्धिको सीमादेखि टाढा मनको अति सतही क्रियाकलापद्वारा शान्त र संवेदित तुल्याएर चेतनद्वैततादेखि उच्चतर अद्वैन्दात्मक स्थितिमा अन्तर्बोध प्राप्त गर्ने र प्राप्त गरेर पनि बोधकर्ता अनुपस्थित रहने हाइकुको मर्म र अन्तरसंरचनागत खालीपनबाट निर्मित चित्रात्मकताका सान्निध्यबाट निस्पन्न तेस्रो बस्तुबाट हाइकुको भाव प्रतिपादन हुन्छ (भण्डारी र्इ.१९८९,)। हाइकुहरु जीवत क्षणका स्पन्दशील अभिब्यक्ति हुन्,जमेका तलाउ होइनन् भन्ने मतले पनि हाइकुको अन्तरसंरचनालाई नै इङ्गीत गर्दछ । त्यसैले हाइकुको रुप पूर्वनिश्चित हुन्छ भन्ने भनाई पनि अघि सारिएको पाइन्छ । समग्रमा क्रमहीन सौन्दर्यात्मक वस्तुहरुलाई क्रम मिलाएर प्रस्तुत गर्नु हाइकुको मूल उदेश्य हो (सुवेदी २०४४ )।

केही उदाहरणहरु
पहाडी खोल्सो
सिरुपाते तरेली
तिम्रो सम्झना
     -(क्षेत्रप्रताप अधिकारी)

ताजा सुन्दर
फूल पातमा बसी
कविता हाँस्छ
-      (मञ्जुल)

ढुङ्गाको देवता
यौन क्रिडामा ब्यस्त
पूजा अर्चना
           - (सुनिल पुरी)
      हाइकु थोरै भन्दा थोरै शब्द गरेर तिन हरफमा रचना गरीएको प्रकृतिसंग गहिरो सम्वन्ध राख्ने कविता हो । हाइकुमा समयको लम्वाई नभएर कुनै पलको जीवन्त चित्र हुन्छ । चित्रमा अनन्त सम्भावना हुन्छ । ब्याख्या नगरी सरल संकेतद्वारा भान चेतनालाई कलात्मक ढङ्गले अभिब्यक्ति गर्नु हाइकुको बिशेषता भनेर अर्का हाइकु कविताका अध्येता मनोज न्यौपाने लेख्नु हुन्छ । उदाहरणको लागि हाइकु कविताका आदिकवि मानिने कवि बासो मात्सुको (१६४४-१६९४ इ.)ले लेखेको चर्चित हाइकु यहाँ प्रस्तुत छ ।
फुरुकेइया                     (पुरानो पोखरी)
कावाजु तोविकोमुमु   (फुत्त छयाप्ल्यक्क)
मिभजनुनोओतो        (भ्यागुता)
                  - (अनुवादक - अभि सुवेदी)
      यस हाइकुमा पोखरीको पानीमा भ्यागुता हाम्फाल्दा पानीको शान्ति भङ्ग भएको स्थिति पाठकले आफुभित्र अनुभव गर्दछ । यस हाइकुमा जुन सुक्ष्मता छ सौन्दर्य छ र विशाल भावको स्पन्दन छ । यस हाइकुलाई जापान र अन्य मुलुकमा पनि निक्कै चर्चा परीचर्चा गरेको पाइन्छ । शरुमा जापानमा जन्म भएको हाइकु कविता आज आएर युरोप,अमेरीकामा पनि निक्कै ठुलो लोकप्रिय भईरहेको छ । जापानमा मात्र तीस हजार भन्दा बढी हाइकु कविहरु छन् भन्ने अनुमान गरीन्छ । नेपालमा हाइकु लेखनको प्रारम्भ बि.सं.२०१९ सालमा भएको पाइन्छ । रुपरेखा पूर्णाङक १६ वर्ष अंक ४ (२०१९ भाद्र)मा प्रकाशित शंकर लामिछानेको "सूर्योदय" शिर्षक हाइकु आजसम्म फेला परेको नेपाली भाषामा लेखिएको पहिलो हाइकु हो । उक्त हाइकु निम्न छ ।
माकुरा जाल
झोल्लीएको ओसले
तन्किदै गयो
          शरु शुरुमा जापानी हाइकु कविहरुले पालना गर्ने गरेको ५+ ७ + ५ को अक्षरीय नियम भित्र रचना गरीएको यस हाइकुले निराश शिकारीको प्रतिक्षाको स्पन्दनलाई चित्रण गरेको छ । यहाँ माकुरा जाल आफ्नो अहमताबाट फैलिएको विस्तार हो । आफ्नो अहममा सधै आफ्नो नियन्त्रण हुदैन । त्यसमा प्रकृति शक्ति बलियो हुन्छ । ब्यक्तिले त्यस प्रकृति शक्तिको चापलाई चाहेर पनि नियन्त्रण गर्न सक्तैन । प्रकृति र ब्यक्तिको यस्तै सम्वन्ध यस हाइकुमा प्रस्तुत छ ।
        नेपालमा बीस र तीसको दशकमा धेरै कविहरुले हाइकु लेख्न खोजेको पाइन्छ । त्यस बेला हाइकुको काब्यात्मक धारणा स्पष्ट हुन नसकेर पनि कति तीन हरफे छोटा कवितालाई हाइकु भन्ने वा ठान्ने भ्रम थियो। नेपालमा नेपाली हाइकुको इतिहास चालीसको दशक उल्लेख्य छ । यस दशकमा नेपाली भाषामा हाइकुको काब्यात्मक धारणा प्रकाश पार्ने र जापानी हाइकुलाई नेपालीमा अनुवाद गर्ने क्रम शुरु हुन्छ । बि.सं. २०४४ सालमा डा.अभि सुवेदीको संकलन तथा अनुवादमा साझा प्रकाशनबाट "जापानी हाइकु हिजो र आज" नामक कृति प्रकाशन भएपछि नेपाली कवि तथा पाठकहरुलाई हाइकुको अवधारणा बुझ्ने र जापानी हाइकुको अध्यायन गर्ने मौका प्राप्त भयो। बि.सं. २०५१ सालमा क्षेत्रप्रताप अधिकारी ले संकलन र अनुवाद गर्नु भएको "हिम,जुन,फूल" ले पनि हाइकु प्रेमीहरुका लागि हाइकु बुझ्न थप मौका प्रदान गर्यो । बि.सं. २०५४ सालमा जीवन सुवेदी  को "सुनगाभा" नामक कृति हाइकु संग्रह भनेर प्रकाशित भएको पाइन्छ । त्यसपछि भने धेरै हाइकु नेपाली कविहरुले हालसम्म हाइकु संग्रह प्रकाशन गर्दै आएको पाइन्छ । हामी कहाँ कतिपय कविहरुले हाइकुको काब्यात्मक धारणा नबुझी आफ्ना लघु कवितालाई हाइकुको नाममा प्रकाशीत गर्ने गरेको पाइन्छ । ५+ ७ + ५ अक्षरीय नियम पालना नगरे पनि हुन्छ । यहाँ ५+ ७ + ५ अक्षरीय नियम पालना गर्नुलाई हाइकु लेखनको पहिलो र अन्तिम शर्त मान्ने कविहरु धेरै छन्। तर हाइकुको काब्यात्मक धारणा अनुरुप गहिरो प्रकृति बिम्व वा स्पन्दन हुन जरुरी छ । जसमा थोरै भन्दा थोरै शब्दमा रहेर तिन हरफमा हाइकु लेख्न सकिन्छ । ५+ ७ + ५ अक्षरीय नियम पालना गरेर हाइकुको काब्यात्मक धारणा अनुरुप लेख्न सकियो भने अझ उत्तम हुन्छ । ५+ ७ + ५ अक्षरीय नियम पालना नगरी लेखिएका हाइकुहरु निम्न छन्।
बगैचामा पुरानो पोखरी
लेउ ओढेर वाहिर आउँछ
दारीवाल राणाको मूर्ती
        -(डा.अभि सुवेदी )
छयाम्ल्याङग डुब्छन्
हाइकु सागरमा
टंक सुब्बाजी
        - (डा.मधु माधुर्य)
तिम्रो अनुहार
चन्द्रमा जस्तो चम्किलो
तर अरुलाई आगो झैं पोल्ने
     -(रामदयाल राकेश)
जेन सौन्दर्य चेतनाको स्मरण गराउँने दुइ हाइकु हेरौ।
भँगेरो समाए
ढुकढुक खप्न नसकेर
छोडी दिए
           -(मधुपर्क २०४५साउन)
     यस हाइकुमा भँगेरोको सानो मुटुको ढुकढुकबाट जीवनको स्पन्दन शक्तिलाई साह्रै राम्रो गरी नापीएको छ ।
हिलो तानीरहेको गौथली
सास बढेको
हाम्रो जत्रै
            - (मधुपर्क २०४५साउन डा.अभि सुवेदी)
       यस हाइकुमा गौथलीको सानो परिश्रममा सास बढेको प्रकृति र हामीलाई एक ठाउँमा आवद्ध गर्ने जैविक स्पन्दनलाई सूक्ष्म ढङ्गबाट ब्यक्त गरिएको छ । हाइकु लेख्दा कतिपय ठाउँमा वा अवस्थामा ब्यक्ति अथवा ब्यक्तिको नाम किटान भएर आउँछ । त्यस बेला हाइकु नभनिएर "शेन्यू' भन्ने गरीएको कुरा अमूर्तबोधी दर्शनका प्रवर्तक खगेन्द्र पन्दाक लिम्बु र साहित्यकार आचार्य प्रभा वताउँनु हुन्छ । यस बिषयमा बुझ्नको लागि अन्य खोज तथा अनुसन्धान गर्नु पर्ने हुन्छ । जस्तै
छयाम्ल्याङग डुब्छन्
हाइकु सागरमा
टंक सुब्बाजी
            -(डा.मधु माधुर्य)
अन्त्यमा
         माथी आएका हाइकु सम्वन्धि काब्यात्मक अवधारणाले हाइकु लेख्न र बुझ्नको लागि अवश्य पनि सहयोग पुर्याउँने छ भन्ने कुरामा आशावादी छु । वृहतरुपमा हाइकुको काब्यात्मक धारणा बुझ्न वा जान्नको लागि अन्य हाइकु सम्वन्धि पुस्तकहरु अध्यायन जरुरी देख्दछु ।विना अध्यायन हाइकु लेख्दा लघु कविता मात्र बन्न के बेर ? त्यसैले यदि कसैलाई हाइकुमा विशेष चासो छ भने उसले अध्ययनको बाटो नरोजी हुन्न । धेरै हाइकु लेख्ने कविहरुले हाइकु लेखि रहेका हुँदैनन्। खाली ५+ ७ + ५ अक्षरीय नियम पालना गर्नुलाई पहिलो तथा अन्तिम सर्त मानी रहेका हुन्छन् । त्यसरी हाइकु लेख्दा हाइकुको काब्यात्मक धारणा छोडीन्छ र हाइकु बन्दैन । ५+ ७ + ५ अक्षरीय संरचना भन्दा काब्यात्मक धारणा आउँनु सबै भन्दा महत्वपूर्ण विषय हो।


[साभार:- http://sahityaghar.com/modules/detail.php?ID=6050&modID=1  ]

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment