Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

यी हुन् संसार हल्लाउने प्रेमिल जोडीहरु



By  Unknown     2:45 AM    Labels: 
फेव्रुअरी १४ अर्थात प्रणय दिवश । प्रेम शव्द आफैँमा यति विशाल र गहिरो  छ जसलाई सामान्य अर्थमा समेट्न निकै कठिन हुन्छ । यो यति दुर्लभ छ कि सच्चा प्रेम संसारका विरलै मानिसहरूले प्राप्त गर्दछन् । सामान्य शारीरिक आकर्षण र भावनात्मक सामिप्यतालाई पे्रम भनेर अथ्र्याउने प्रचलन बढिरहँदा सच्चा र निश्वार्थ प्रेम ओझेल परेको छ । पाउनु र गुमाउनुलाई मात्र प्रेम भन्न सकिँदैन ।  प्रेम, प्राप्तीको आशक्ति भन्दा पनि त्यागको उच्चतम रूप हो । त्यसो त प्रेममा प्राप्तिको जति अभिलासा हुन्छ त्यो भन्दा बढी विछोडिनु र गुमाउनको पीडा पनि सन्निहित हुन्छ । प्राप्तिमा जती खुसियाली हुन्छ, छोडिनु र तोडिनुमा त्यतीकै दर्द र वेदना पनि ।
प्रेममा उँच–निच, गरीव–धनी, जात–भात, नजिक–टाढा, ठूलो–सानो, अपांग–सवलांगको कुनै सीमा र बन्धन हुँदैन । प्रेम सच्चा हृदयको सुमधुर आवाज पनि हो । अन्तस्करणबाट निस्किएको यो मधुरआवजमा पिरतीको सुभास लुकेको हुन्छ ।
भनिन्छ,  प्रेम अमर हुन्छ, प्रेमी प्रेमीकाहरूका भौतिक शरीरसँगै नभए पनि उनीहरूको मन र माया सधैँ सँगै हुन्छ । संसारमा यस्ता अमर प्रेम कहानीहरू छन् जुन सुन्दा र पढ्दा आङ जिरिङ्ग हुन्छ । हृदयको कम्पन बढ्दछ । संसार हल्लाउने ती प्रेम कहानीहरू कति विवाहमा परीणत भए त कति विवाहपूर्व नै वियोगान्त अन्त्य भयो ।
भनिरहनु परेन प्रेम मानवको सबैभन्दा शक्तिशाली संवेदना हो । प्रेमले जीवनमा खुसी, ज्ञानको प्राप्ति, आफ्नोपनको सुखद् अनुभूति दिन्छ । जब कोही प्रेममा छ, उसले सबैतिर खुसीयाली र प्रेमिल चमक देख्छ । प्रेम सुन्दरताको अर्को उपनाम पनि हो । यद्यपी प्रेमले हृदयको क्रन्दन तथा निराशाहरू पनि ल्याउँछ । जव प्रेममा कुनै प्राप्ति हुँदैन त्यहाँ अनेक उल्झनहरू पनि आउन थाल्दछन् ।
आफूले सबैभन्दा बढी माया गर्नेसित टाढिनुपर्ने स्थिति पनि आउँछ । तर, सफल प्रेमसम्बन्धले सुरूमा दुःखदायी अवस्था काटेपनि कालान्तरमा सुखीहरूको बजार ल्याउँछ । संसार प्रेमले नै भरिएको छ । संसारमा रूमानी प्रेमकथा, उदासिनताका प्रेमकथा, विचित्र प्राप्तिका प्रेमकथा छरिएर रहेका छन् र प्रत्येक भ्यालेन्टाइन तिनका कथाहरू प्रेमिलमनहरूमा अझ गाढा बन्न थाल्दछन् । साहित्यमा बिम्म बनेर प्रवेश गर्दछ । प्रेमीप्रेमिकाबीच एक अर्काका असल प्रेमका परिचायक बन्न थाल्दछ ।

यी हुन् संसार हल्लाउने प्रेमिलजोडिहरू

रोमियो–जुलियट :
कवि तथा नाटककार विलियम शेक्सपियरको रोमियो र जुलियटको प्रेमकथाको चर्चा नगरे सायद संसारका सबै प्रेमहरू फिका देखिन्छन् । रोमियो–जुलियट दुई झगडालु परिवारमा जन्मिएका किशोर–किशोरीको वियोगान्त कथा हो । यी प्रेमिलजोडिहरूको प्रेमरूपी फूलहरू फक्रन खोज्दा खोज्दै अनयासै चुँडिन पुग्दछन् । आफ्नो अमर प्रेमको साक्षी दुनियालाई बनाउन खोज्दा खोज्दै जीवनको धागो चुडिन्छ । उनीहरू सँगै मृत्युवरण गर्न  पुग्दछन् ।
 

पारिवारिक  रस्साकस्सीबीच फूल्दै गरेको उनीहरूको प्रेम कोपिलामा परीणत हुन नपाउँदै चकनाचुर हुन्छ । अन्ततः यी पात्रहरू एकअर्काका लागि मरे पनि उनीहरूले वर्षौंदेखिको पारिवारिक झगडालाई प्रेममा बदल्न सफल हुन्छन् । र, पाठकहरू गमक्क पर्छन्, प्रेमको अन्त्यपछि फेरि प्रेमको जन्म हुन्छ अर्थात् प्रेम कहिल्यै मर्दैन, यसरी नै जन्मिरहन्छ, सदा सदा ।

रोमियो–जुलियटको कथाले आम किशोर–किशोरी तथा युवा–युवतीहरूलाई अनेकौँ प्रतिकूलताहरूकाबीचमा पनि प्रेममा बाँच्न सिकाइरहेको छ । एकअर्कामा हार्दिकता साटा–साट गर्न प्रेरित गरिरहेको छ । धेरैले प्रेमको वास्तविक अनुभूतिलाई यसै कथामार्फत् स्पर्श गरिसकेका छन् । धेरैले अझै रोमियो–जुलियटलाई आफ्नो प्रेम–आदर्श मानिरहेका छन् ।

क्लियोपेट्रा–एन्थोनी:
क्लियोपेट्रा र मार्क एन्थोनीका चाहना, कामुकता र राजनीतिको पराकाष्ठाबाट सिर्जित उच्चतम प्रेम कथा हो । इजिप्ट (मिश्र) की शताब्दीकै सुन्दर युवती क्लियोपेट्राको प्रेमजालमा मार्क एन्थोनी फसेका हुन्छन् । कथामा इजिप्टमाथि रोमनहरूको अशान्त आक्रमण  पूर्णतया राजनीतिक पृष्ठभूमिमा आधारित छ । कोही भन्छन्, क्लियोपेट्राले रोमनहरूको आक्रमणबाट बच्न  र देशलाई राजनीतिक बाटो दिन आफ्नो सुन्दरताको उपयोग गरेकी थिइन् । तर, अन्त्यमा यी दुईबीचको प्रेम अचाक्ली गहि¥याइमा पुगिदिन्छ । उनीहरूको मृत्युसँगै सुन्दर प्रेमयात्राको पनि वियोगान्त अवसान हुन्छ ।

ग्वीनवीर–लान्सलट:
यो प्रेमकथा राजा अर्थरको न्यायालयका सुरवीर योद्धा लान्सलटको हो । उनी रानी ग्वीनवीरको प्रेममा फसेका हुन्छन् । यतिसम्म कि रानीको अपहरण  हुँदा त्यही प्रेमको शक्ति र सम्मोहनको बलमा उनी बडो साहसका साथ अपहरणकारीसँग लड्छन् र रानीलाई छुटाएर ल्याउँछन् ।  यता, ग्वीनवीर पहिल्यै विवाहित हुन्छिन् ।
यो प्रेमकथा राजा अर्थको योद्धाहरू र क्रमशः कमजोर हुँदै गरेको राज्यसित सम्बन्धित छ । रानी ग्वीनवीर सन्यासिनी भएपछि योद्धा लान्सलट पनि तपस्वी बनेर जीवन बिताउँछन् । अन्त्यमा रानी ग्वीनवीरको मृत्यु हुन्छ । यो अर्थरियन विरासतको चर्चित रूमानी प्रेमकथा हो ।

लेनन्–योको :

पप सङ्गीतका हस्ती एवम् तारा जोन लेनन् योको ओनोको जादूमय प्रेममा फस्छन् । केही खराब सोचाइ राख्नेहरू योको ओनोसामु जोन लेनन्को जीवनलाई लिएर बिटल्सको फुटको सन्दर्भ निकाल्ने गर्छन् । अङ्ग्रेजी र जापानी यी दुई प्रेमीहरूले कहिल्यै नछुटिकन खुसीका साथ वर्षौं सँगै बिताएका थिए । सन् १९८० मा जोन लेनन्को दुःखद् मृत्यु भयो र करिब तीन दशकपछिसम्म योको ओनोलाई शोकाकुल भेट्टाइयो ।

ओडिसस–पेनलप:

सायद आजकलका चराहरू ग्रिसेली जोडी ओडिसस र पेनलपको प्रेम, समर्पण र सम्झौताको नियतिलाई बुझ्दछन् । यी जोडीहरू सँगै रहनका लागि करिब २० वर्र्ष पर्खनुपर्दछ । तिनीहरूको विवाहपछि ओडिसस युद्धका लागि पेनलपलाई छोडेर जान्छन् । यता, पेनलप आफ्नो जीवनबाट अउडीसियसलाई हटाउने एक सय आठ प्रतिरोधीहरूसित मुकाविला गर्दै २० वर्र्ष पर्खिन्छिन् । ओडिसस आफ्नो कुमारित्व र प्रेम विनाशर्त दिने जादुगर्नीहरूको लालचबाट पनि बच्छन् र आफूलाई पूरै वर्ष पेनलपको सम्झनामा समर्पित गर्छन् । लामो समयसम्म प्रेमलाई प्रगाढ बनाउन खोज्नेहरूले उनीहरूको प्रेमलाई उदाहरण लिने गर्दछन् ।  सत्य प्रेम साँच्चिकै मूल्यवान र अमर हुन्छ ।

क्याथरिन–पोट्योकिन:
क्याथरिन सन् १७६१ मा जार शासक पिटर तेश्रोकी श्रीमती भएको बताइन्छ । तर, एक वर्षपछि उनी सत्ताच्यूत पारिए । उनलाई आफ्नै सेनाद्वारा मारियो, कत्तिले क्याथरिनले उनलाई मार्न लगाएको आरोप लगाएका छन् । रूसी सैनिक ग्रेगरी पोट्योकिन क्थारिनको सुरक्षाका लागि खटाइएका थिए । 
केही दिनपछि क्याथरिनले पोट्योकिनलाई मन पराउन थालिन्  । पोट्योकिन भद्दा, मोटो र एउटा आँखा मात्र भएका भएपनि उनको प्रेम घटेन । क्याथरिनले विनासङकोच पोट्योकिनलाई विश्वास र प्रेम गरिन् । सन् १७७१ मा उनले पोट्योकिनलाई रूसी राजनेता बनाइदिइन् र उनको सेनाहरूको कमान्डर पनि बनाइदिइन् । यद्यपी यिनीहरूको प्रेम सम्बन्ध १७७६ मा आएर अन्त्य भयो ।  पोट्योकिनले क्यारिनको प्रेमलाई आत्मसात गरे । ५२ वर्षको उमेरमा क्याथरिनको मृत्यु भयो । उनले प्रेमप्राप्तिका लागि जीवनभर एकप्रकारको पागलपन बोकिरहिन्, जो कहिल्यै बिसाउन सकिनन् र त्यसैका कारण उनको देहान्त भयो ।

नेपोलियन–जोसेफाइन:
नेपोलियन बोनापार्ट क्रुर र महत्वाकाङ्क्षी फ्रान्सेली सैनिक थिए । जब यिनले जोसेफाइनलाई भेट्टाए तब उनी प्रेमको पागलझैँ भए । जोसेफाइनलाई  पेरिसको हालसम्मकै सुन्दर महिला मान्ने गरिन्छ । नेपोलियनले ३२ वर्षिया दुई सन्तानकी विधवा आमा जोसेफाइनलाई दृढ निश्चयकासाथ साथी बनाउन चाहे तर सफल भएनन् । नेपोलियन फ्रान्सेली सैनिकका प्रवीण भए पनि सधैँ सुन्दरताका लागि बेपरवाही, भद्धा र फोहोरी, कसैले मन नपराउने प्रवृत्तिका थिए । तर, सन् १७९६ मा जोसेफाइनले आफ्नो मन परिवर्तन गरिन् र यिनीहरू दुईको विवाह भयो । विवाह भएको केही समयपछि नेपोलियन सैनिक अभियानमा लागि परे । यता, जोसेफाइन वेश्यावृत्तिमा लागिन् । जब नेपोलियनले आफ्नो श्रीमतीको गोप्य कर्म थाहा पाए तब उनले सम्बन्धविच्छेदको गर्न खोजे । 

तर, जोसेफाइनले नेपोलियनसमक्ष दयाको भिख मागिन्  । उनी फेरि उनको प्रेममा विभोरित भए र नम्रतापूर्वक उनका सबै गल्तीलाई माफ गरिदिए । जब नेपोलियन शक्तिशाली हुँदै गए तब उनलाई छोरा पाउने निकै चाहना भयो । तर, जोसेफाइन बच्चा जन्माउन नसक्ने भएकी थिइन् । त्यसपछि नेपोलियनले सन् १८०९ मा जोसेफाइनसँग सम्बन्धविच्छेद गरिदिए र अष्ट्रियाकी १८ वर्षिया म्यारी लुयससित अर्काे  विवाह गरे । तर, जोसेफाइनसितको सम्बन्ध विच्छेदपछि नेपोलियनको भाग्य श्रापित जस्तो भयो । नेपोलियनलाई फेरि सम्बन्ध गाँस्न अनुनय–विनय गर्दै सन् १८१५ मा जोसेफाइनको मृत्यु भएको थियो । त्यसपछि विरक्तिएका नेपोलियनले मृत्युको मुखसम्म जोसेफाइनको बगैँचामा रहेको ‘भोइलेट’ फूलको माला लगाइरहे ।

जार निकोलस–एलेक्जेन्ड्रा:
जवान निकोलस दोश्रो रसियन भविष्यको जार हुनेवाला थिए तर उनी सम्मोहनकारी जर्मन राजकुमारी अलेक्जेन्ड्रासित पहिलो नजरमै मोहित भए, प्रेममा फसे । यी दुई जोडी एकअर्कामा समाधिस्थ भएर समग्र राजपरिवारलाई खाल्डामा पारे । उनीहरूको प्रेमसम्बन्ध देशका सबै जनतालाई थाहा थियो । सन् १८९३ पछि निकोलसका बुबाको निधन भयो । केही दिनपछि यिनीहरू दुवैले विवाह गरेर रसियन नेताको मृत्युलाई हाँसोको दृष्टान्त बनाए । जार निकोलस र महारानी एलेक्जेन्ड्रा सुखमय वैवाहिक जीवनलाई बिताउँदै थिए । 

राजपरिवारमा दिनकै खर्चिलो हुन्थ्यो यता, देशका जनताहरू गरिबी, भोक, रोग र शोकसँग जुध्न नसकी मृत्युवरण गर्न बाध्य थिए । सन् १९१७ ताका रसियाका जनताबाट राजपरिवारलाई दिइने सहयोग सबै खोसियो । जनताहरू राजपरिवार विरूद्धको आन्दोलनमा उत्रिए । त्यसपछि निकोलस र उनका सबै परिवारलाई पक्राउ गरेर साइबेरिया लखेटियो । योसँगै तीन सय वर्षको रोमानाभ शासन निकोलस–एलेक्जेन्ड्रा प्रेमकथासँगै अन्त्य भयो ।

अगस्टस–स्पेन्सरः
सन् १९२७ का ताका अमेरिकी विमानचालक चाल्र्स अगस्टस निकै चचिर्त भए, जब उनले एक्लै एटलान्टिक महासागरको यात्रा गरे । लजालु, आत्मसंयमी स्वभावका ल्याटिन अमेरिकी चाल्र्सले मेक्सिकोका लागि अमेरिकी राजदूतकी छोरी एन स्पेन्सर मोरोलाई भेटे । यिनीहरूको प्रणयलीलाले विश्वको ध्यान केन्द्रीत गर्यो । सन् १९२९ मा विवाहसम्बन्ध स्थापित गरेको यो जोडी अमेरिकाको प्रथम सेलिब्रेटी जोडी थियो । 


एनले पनि बिस्तारै विमानहरू उडान थालिन् र उनी अमेरिकाकै प्रथम महिला विमानचालक बनिन् र श्रीमान्सँग विमानमा उड्न थालिन् । उनीहरूले धेरै विमान उडाएर इतिहासमै आफ्नो नाम राखे । सन् १९३० ताका सात महिनाकी गर्भवती उनले श्रीमान् उत्साह तथा प्रेरणबाट वैवाहिक जीवनबारे संस्मरणहरू लेखिन् । उनका १३ वटा किताबहरू पनि प्रकाशित भए, जुन अमेरिकामा अझै चर्चित किताबका सूचीमा पर्छन् । तर, दुर्भाग्य उनीहरूको प्रिय छोराको अपहरणपछि हत्या भयो ।

स्टेइन–एलिस :


पेरिसका अग्रगामी लेखक गरच्युड स्टेइनले ३३ वर्षको उमेरमा एलिस बीलाई देख्नेबित्तिकै मन पराउन थाले । धेरै महान् प्रेमीहरू भाग्यले एक–अर्कासित नजिकिन्छन् । पेरिसमा स्टेइनका परिवार भूकम्पपछि आफ्नो सम्पत्ति कस्तो छ भनेर हेर्न गएका थिए, त्यतिखेर स्टेइनको एलिससँग भेट भयो । स्टेइन क्रान्तिकारी लेखक भए पनि उनी अस्वभाविक र महिलोचित (महिलाले मन नपराउने) प्रवृत्तिका थिए । एलिस स्टेइनकी सचिव भएर काम गरिन् । यी दुई पछि एकअर्कामा समाहित भए । यिनीहरूको अपार्टमेन्ट ट्वान्टीसेभन रू डे, फ्लीउरस हेनरी म्याटिस, पाब्लो पिकासो, अर्नेष्ट हेमिङवे र एफ.स्कट फीट्जेराल्ड लगायतका लेखक तथा कलाकारको भेटिने स्थान बन्न पुग्यो ।

एडवर्ड–सिम्पसनः
बेलायती राज्यका उत्तारधिकारी राजकुमार एडवर्ड निकै सुन्दर थिए । बेलायती इतिहासमा कहिल्यै कसैले नगरेको प्रेम गरेर यिनले जीवनको अध्याय नै परिवर्तन गरे । वालिज सिम्पसन सामान्य अमेरिकी विवाहिता महिला थिइन् । सन् १९३१ मा एडवर्डले एयटा पार्टीमा उनलाई भेटेका हुन् । राजकुमार एडवर्ड उनीसितको चिनजानपछि विनासङकोच विभिन्न पार्टीहरूमा सामेल भए, र बिस्तारै सिम्पसनसित आर्कर्षित हुँदै गए । सन् १९३४ मा सिम्पसनले आफ्नो श्रीमानसित सम्बन्धविच्छेद गरिन् । 

बेलायत संसद् पनि उनीहरूको यस्तो प्रेमलापबाट निकै प्रभावित भयो । सन् १९३६ मा एडवर्डका बुबाको निधन भयो, उनलाई राजाको ठाउँ लिन लगाइयो । तर, दुर्भाग्य उनले सत्तारोहण गर्न मानेनन् । एउटा रेडियोमा ‘आफूले माया गर्ने मान्छेको साथविना राज्यको भार आफ्नो शिरमा नउठाउने’ घोषणा गरे । त्यसपछि उनका भाइ अल्बर्ट राजा जर्ज छैटौँ भए । यता, एडवर्ड–सिम्पसनको जोडीले सामान्यस्तरको विवाह गरेर फ्रान्समा आफ्नो वैवाहिक जीवन बिताए ।

लैला–मज्नु:
लैला धनाढ्य परिवारमा जन्मिएकी थिइन् । उनी राजकुमारी नभए पनि धनाढ्य र सम्भ्रान्त केटासित विवाह गरेर सुखमय जीवन बिताउन चाहन्थिन् । तर, प्रेम हृदयमा जन्मिन्छ र यसलाई बाँध्ने कुनै नियमहरू हुँदैनन् ।  उनी क्वेजसितको प्रेममा परिन् । क्वेजले पनि लैलालाई हृदयदेखि नै चाहन्थ्यो । क्वेज लैलाकै जातको कवि थियो र आफ्नो प्रियसीका निम्ति प्रेमिलकविताहरू सिर्जना गर्दथ्यो । लैलालाई समर्पण गरेर कविताका पंक्तिहरूमा उनका नामहरू राखेर सुनाउँथ्यो । क्वेजका साथीहरूले लैलासितको प्रेमसम्बन्ध थाहा पाएर विभिन्न मजाक गर्ने गर्दथे । तर यी झटारोहरूले, व्यङगहरूले क्वेजलाई छुँदैनथ्यो । ऊ गहिरिएर लैलाको प्रेममा डुबुल्की मारिरहन्थ्यो, एकदिन क्वेज आफ्नो विवाहको प्रस्ताव लिएर लैलाको घर जान्छ । तर, क्वेज गरिब परिवारको केटा हुन्छ । 


लैलाको  बुवाले आफूभन्दा तल्लोस्तरको र सामाजिक अवस्था भएको केटासित विवाह नगरिदिने भन्छन्, झपारेर पठाउँछन् । कारण अरब परम्परामा यसलाई  लिएर उनको वंशमा कलङक फैलन सक्छ भन्ने डर थियो । अब यी दुई प्रेमीहरू एक–अर्कालाई हेर्न, भेट्न बन्देज लगाइन्छ । लैलाको परिवारलाई उनको धनाढ्य केटासित विवाह गरिदिन्छन् । जब क्वेजले लैलाको विवाहको कुरा सुन्छ तब ऊ निकै व्यथित हुन्छ । अरबी मरूभूमिमा भौँतारिन थाल्छ । खाना र पानीविना ऊ मरूमूमिमा लैलाका निम्ति लेखिएका कविताहरू वाचन गर्छ । बालुवामा लठ्ठीले लैलाको नाम लेख्दै हिँड्छ ।

यता, लैला पनि क्वेजसितको अप्रत्यासित प्रेम–विच्छेदले शारीरिक तथा आत्मिक रूपमा प्रभावित हुन्छिन् । उनी आफ्नो श्रीमानसित इराक बसाईं सर्छिन् र अन्त्यमा मछिनर्् । क्वेजका साथीहरू लैलाको मृत्यको समाचार पुर्याउन क्वेजलाई खोज्छन् तर कहीँ कतै भेट्टाउँदैनन् ।
अन्त्यमा, क्वेजलाई लैलाको चिहानमा तीन पंक्तिको कविता खोपेर मरिरहेको भेट्टाउँछन्  । क्वेज लैलाको प्यारमा पागल भयो, त्यसैकारण उसलाई ‘मज्नु’ भनियो ।

हिर–राँझा:
हिर पन्जाबकी अत्यन्तै सुन्दरी युवती थिइन् । राँझा उसको बुवाको प्रिय छोरा थिए तर उनका चार दाजुभाइहरू उनलाई मन पराउँदैन थिए । राँझा खनजोतमा परिश्रमी थियो र यिनीहरूबीच जमिनको बारेमा सधैँ झगडा भैरहन्थ्यो । राँझा अत्यन्तै मनमोहक बासुरी बजाउनमा सिपालु थियो । एकदिन राँझाका दाजुभाइका श्रीमतीहरूले खाना नदिएपछि ऊ घर छोडेर हिँड्छ ।

अन्त्यमा ऊ हिरको गाउँमा आउँछ र उनीसितको प्रेममा पर्छ । हिर आफ्नो बुवाको बस्तुभाउ चराउनका लागि भन्छे, अर्थात् ऊ गोठालो बन्छ । उनी राँझाको बासुरी बजाउने सिल्पदेखि मोहित हुन्छे, उसलाई प्रेम गर्न थाल्छे । उनीहरू लुक्तै छिप्दै धेरै वर्र्ष सम्म भेटघाट गर्छन् । अन्त्यमा हिरको काका कैदोले यो गोप्य रहस्य थाहा पाउँछ र परिवारमा हिरको अर्को केटासित विवाह गरिदिन जिद्दी गर्छ । यता, यो सुनेपछि राँझा तड्पिन्छ र शहर–बजार भौतारिन थाल्छ । उसले बाबा गोरखनाथ भन्ने जोगीलाई भेटेर आफू पनि जोगी बन्छ । उनीहरू अन्त्यमा हिरको गाउँ पत्ता लगाउँछन् । त्यसपछि हिरको परिवारले उनीहरूको विवाह गरिदिन राजी हुन्छन् तर उनको ईष्र्यालु काका कैदोले विवाह भन्दा अगाडि लड्डुमा बिष हालिदिन्छ । यो सुनेर हिरलाई बचाउन राँझा दौडिएर जान्छ तर समय बितिसकेको हुन्छ । ऊ पुग्नुअगावै हिर मरिसकेकी हुन्छे । राँझा फेरि तड्पिन्छ र सोही लड्डु उसले पनि खाइदिन्छ र उसकै छेऊमा प्राण त्याग गरिदिन्छ । हिर र राँझाको शवलाई हिरको गाऊँमा गाडिन्छ । प्रेमीहरू अझै पनि उनीहरूको म्युजियममा डुल्न जान्छन् ।

शाहजहाँ–मुमताज:

सन् १६१२ मा किशोरी अर्जुमन्द बनु बेगमको १५ वर्षीय मुगल सम्राट शाहजहाँसित विवाह भयो । विवाहपछि बेगमको नाम मुमताज राखियो । उनले १४ जना छोराछोरी जन्माइन् र शाहजहाँकी मायालु पत्नी बनिन् । सन् १६२९ मा जब मुमताजको मृत्यु भयो शोकसन्तप्त सम्राटले एउटा स्मारक बनाउन लगाए । करिब २० हजार कामदार र एक हजार हात्ती अनि २० वर्ष लगाएर एउटा स्मारक खडा भयो । त्यसको नाम राखियो ताजमहल । तर, शाहजहाँले योजनाअनुरूप कहिल्यै आफ्ना लागि कालो सिंगमरमर ओछयाएको म्युजियम बनाउन सकेनन् । आफ्नै छोराले उनलाई अपदस्त गरेपछि उनलाई आगरामा बन्दी बनाइयो । त्यहाँ उनी आफ्नो सम्पूर्ण एकान्तिक समय जमुना नदीमा उभिएको आफ्नी रानीको स्मारक ताज महल हेर्ने गर्दथे । अन्त्यमा उनी पनि मरे र उनको लासलाई ताजमहलमा रानीको छेऊमा गाडियो ।

सलिम–अनारकली:
सलीम र अनाकलीको प्रेमलाई सबै प्रेमीहरूले बुझ्नुपर्छ । सलिम मुगल सम्राट अकबरका छोरा थियो । ऊ साधारण तर अत्यन्तै सुन्दरी रखैलसित प्रेममा पर्छ । सलिम अनारकलीलाई देख्नासाथ उनको सुन्दरताबाट मोहित हुन्छ । तर, सम्राट आफ्नो छोरा एउटा साधारण रखैलसित प्रेममा परेको मन पराउँदैनन् । उनी अनारकलीलाई क्रोध, लाञ्छना र यातना दिन्छन् ।

तर, जब सलिमले यो कुरा थाहा पाउँछ तब आफ्नै बाबुका विरूद्धमा लडाईं गर्न तयार हुन्छ । तर, राजकुमारका लागि सम्राटका सैनिकहरू सबैलाई जित्न एकदम मुस्किल पर्छ । ऊ हार्छ र मृत्युलाई अँगाल्छ । जब अनारकलीले आफ्नो प्रेमीले गरेको बलिदानी महसुस गर्छे र जिउँदै उनको आँखैको अगाडि पर्ने गरी ईंट्टाको चिहानमा गाडिन्छे ।
विभिन्न एजेन्सीको सहयोगमा
प्रस्तुती: रामनाथ खनाल

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment