Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

आमाको कविता



By  Unknown     11:37 PM    Labels: 
आमाको कविता

मलाई लेख्नु छ
आमाको कविता
दुःखको असारे हिलो;
पीडाको साउने झरी;
र, व्यथाको भदौरे भेल समेटेर

अनि, पसिनाको बुँदबुँदमा पोखिएका
मेरो खुसीको निम्ति छरेको श्रम;
भविष्य थेगिएको खुला सगर;
खहरे मिसिएर बनेका आकांक्षाको सुदूरसागर;

लेख्नु छ;
धुलेटोमा कोर्न लगाएको
कखराझैँ गाढा अक्षरहरू;
जादुमयी शब्दहरू;
जसले बोलोस्
पीडाका अनन्त भाका
मौलिक र प्राकृत श्वरमा
आफ्नै लय, सुर र तालमा

ताते गराउँदै
डोहोर्याइएको कर्तव्यपथ
अनि मझेरीमा पोतारीसँगै धसिएका;
पोल्टाबाट छरिएका;
पर्मबाट ल्याइएका;
अनि जाँतोमा पिसिएका;
अभावको ठेट्ना मकैहरू;
नुनीला आँसुको चटनीमा;
गुजारीएको छाक;


त्यस्तै,
मेलापात, भारोपर्म;
खर्क, चौरीमा फेरो नपुगेको
घाँसको भारीजस्तै;
दुःखका फेहरिस्तहरू;

आहालमा तैरिएका बेदनाका बिम्बहरू;
हजुरआमाकोे टोकसो, श्रीमतीको बुहार्तन;
माइतमा बिसाइका भारी;
हत्केलामा थमाइएको भाग्यरेखा;

साँच्चै लेख्नु छ,
मेरो चाहनाको लागि पोखिएको अँश्रु बिम्ब;
आफैँका निम्ति हासिँएको रून्चे हाँसो;

फाटेका पैताला;
चिरिएका हत्केला;
कलेटी परेको ओठ;
मुजा परेको मलिन अनुहार जस्तै
कविता
कुरूप र बिद्रुप नदेखिएलान्?!

–रामनाथ खनाल
गोकर्णेश्वर–१३, काठमाडौँ ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment