जीवन प्रारब्धको खेल हो या नियतिको झेल ? दुबै हो भनेर बुझ्नेहरूको कमी छैन यहाँ । तर, होमबहादुर भण्डारी अर्थ्याउँछन्, जीवन त खहरेको भेल हो, जुन अनपेक्षित रूपमा उर्लन्छ र पत्तै नपाई सुक्छ ।
बा–आमाको अपांगता उनका लागि कतै जिन्दगीको साधक बन्यो त कतै जिन्दगीको बाधक । नियतिले झटारो त उनलाई जन्मँदै हानेको हो नत्र किन पुग्नुपर्थ्यो र बालआश्रममा ? जन्मिएको दुई वर्ष नबित्दै उनी राजधानीको टंगालस्थित राष्ट्रिय बाल मन्दिरमा पुर्याइए । आमाको न्यानो काखमा लुटपुटिँदै दूध चुस्ने उमेरका उनको ओत त्यही बालमन्दिर बन्दै थियो ।
०४१/४२ तिरको कुरा हुनुपर्छ— बाल आश्रममा तात्कालीन रानी ऐश्वर्याको सवारी भयो । आमाको मायाबाट ओझेलिएका र मातृवात्सल्यबाट टाढा रहेका होम, रानी ऐश्वर्याको साडीको फेर समाउन पुगेछन् र ‘आमा’ भन्दै चिच्च्याएछन् । त्यसो त रानी ऐश्वर्यालगायत राजपरिवारका सदस्यहरू बेलाबखत बाल तथा अनाथ आश्रम पुगेर खाद्यान्न, मिठाई र लत्ताकपडा बाँड्ने गरिरहन्थे । रानीको त्यो सवारी होमको जीवनको सूर्योदय बन्न पुग्यो । “भाग्यले डोर्याएछ क्यारे ! मैले आमा भनेर चिच्च्याउँदै रानीको साडीको मुजा समाउन पुगेछु,” उनले भने ।
लगत्तै रानी ऐश्वर्याले काखमा लिइन् र तत्कालै निर्देशन दिइन्, “यो बच्चालाई अहिले नै दरबार लानु र आवश्यक हेरविचार गर्नू ।” त्यसपछि होमको जीवनको दीपक प्रज्ज्वलित भयो र त्यही आलोकमा जिन्दगी अघि बढ्यो । गरिबी, अभाव र विपन्नताले थिल्थिलो बनाएको आमाको कोख र पीडाले भरिएको घरबारमा जन्मिएका होम राजपरिवारको सदस्यको हैसियतमा दरवार प्रवेश गरे ।
उनले बाल्यावस्था सम्झँदै भने, “त्यसको केही वर्षपछि म कान्ती ईश्वरी विद्यालय (राजपरिवारले पढ्ने विद्यालय, अहिले सञ्चालनमा छैन)मा भर्ना भएँ र कखरा सिक्न थालेँ”
उनको दिमागी अवस्था असाध्यै कमजोर थियो र शिक्षकले जति पढाए पनि दिमागमा घुस्दैनथ्यो । कक्षा नियमित त जान्थे तर उत्तीर्ण भने हुँदैनथे । बारम्बार अनुत्तीर्ण भएको देखेर एकदिन राजा वीरेन्द्रले सोधे रे, “होम तिमीलाई अप्ठ्यारो लाग्ने विषय कुन हो ?”
सबै विषय उत्तिकै गाह्रो लाग्ने भएकाले उनी अक्मकाएछन् । केही बेरपछि राजा वीरेन्द्रले आफैं भने रे, “बाल्यावस्थामा मलाई पनि तिमीलाई जस्तै गणित र विज्ञान विषय गाह्रो लाग्थ्यो र ती विषयमा फेल भएको थिएँ । पछि मेहनत गरेँ र तिनै विषयमा प्रथम स्थान पनि ल्याएँ ।”
पढाइ अत्यन्त कमजोर भएकाले उनी त्यसपछि सिफलमा रहेको हिमालयन विद्यामन्दिर भर्ना भए । केही सयम त्यहाँको होस्टलमा बसेर अध्ययन गरे । होस्टलमा बस्दा उनलाई भेट्न निराजन शाह (राजा वीरेन्द्रका कान्छा छोरा) आउँथे ।
सिफलमै श्रुति (राजा वीरेन्द्रकी छोरी) पनि भेट्न आउँथिन् । त्यसो त उनी समय–समयमा टंगालको बालमन्दिरमा पनि पुग्ने गर्थे । यसकारण कि त्यहाँ उनका साथीहरू थिए । “म प्रायः बालमन्दिर गइरहन्थेँ । त्यहाँका आमा र साथीहरू मलाई असाध्यै माया गर्नुहुन्थ्यो । दरबारमा पुगे पनि साथीहरूको आत्मीयतालाई कहाँ चटक्क मायाँ मार्न सकिँदो रहेछ र !”
उनी बालमन्दिरमै थिए । एक दिन श्रुतिले अचम्म बनाइदिइन् । बालमन्दिरमा खेलिरहेको बखत उनलाई खोज्न श्रुति दरबारदेखि एक्लै आइछिन् । चोटाकोठा गर्दा पनि उनलाई नभेटेपछि त्यहाँ रहेका पालेहरूलाई सोधिछिन् । उनले त्यो बेलाको क्षण सम्झँदै भने, “पाले पहरेदारहरूले उनलाई सोधी खोजी गर्दा युवराज्ञी भन्ने थाहा पाएपछि तीनछक परे ।”
बेलायत अध्ययनका लागि गएता पनि उनको र निराजनको दूरी छोट्टिएको थिएन । निराजन बेलायतबाट फर्किएपछि पनि उनलाई भेट्न सिफल आइरहन्थे ।
दरबारमै बसे पनि युवराजधिराज दीपेन्द्रसँग भने उनी नजिक थिएनन् । “दीपेन्द्र गम्भीर स्वभावको हुनुहुन्थ्यो, मैले दरवारमा उहाँलाई त्यति देख्दिनथेँ । अरूले भनेअनुसार उहाँ मिलनसार र निकै दयावान् हुनुहुन्थ्यो रे,” उनले दीपेन्द्रको स्वभाव सम्झँदै भने ।
० ० ०
रानी ऐश्वर्याले धर्मपुत्रको रूपमा दरबार प्रवेश गराएपछि उनलाई सुसारेहरूको जिम्मा लगाइनन् । “कैयौंपटक रानी आफैंले मलाई भात खुवाईबक्सेको सम्झना छ । खाना खान नमान्दा पनि र्याले लगाइदिएर कर गरेरै खाना खुवाइबक्सन्थ्यो,” उनले सम्झिए, “अरूले सोच्थे, राजदरबारमा बसे पनि स्याहारसुसार अर्कैले गर्ने होला । कसै–कसैले त भन्थे, यसलाई पढाइदिएको मात्रै हुनुपर्छ, तर मलाई राजारानीले र राजपरिवारको सदस्यहरूले आफ्नो सन्तानभन्दा पर कहिल्यै राखिबक्सेन ।”
उनी राजपरिवार सदस्यकै हैसियतको सेवा–सुविधामा बाहिर आवतजावत गर्थे । बबरमहलमा डेरा गरी बस्ने बाबाआमा र एसओएस बालग्राममा रहेका माइला भाइलाई भेट्ने समयसमयमा पुग्थे ।
० ० ०
उनी शारीरिक हिसाबले फुलिर्तला थिएनन् । विभिन्न रोगले थलिएका थिए । ०५८ जेठ १८ गते उनी भानुभक्त मेमोरियल स्कुलको छात्रावासमा थिए । त्यस दिन उनलाई लिन निराजन पुगेका थिए । निराजनले उनलाई भने, “होम भोलि शुक्रबार दरबारमा पारिवारिक जमघट छ । तिमीलाई लिन आएको ।”
त्यसपछि उनी निराजनसँग दरबार गए र त्यो रात नारायणहिटीमै बसे ।
भोलिपल्ट जेठ १९ गते राजा वीरेन्द्रले भने, “होम स्वास्थ्यभन्दा ठूलो दुनियाँमा अर्को चिज छैन, तिमी तिलंगा आँखा अस्पताल जाऊ र आँखा जँचाऊ । त्यसपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज गएर स्वास्थ्य पनि जाँच गर र राति भोजमा आऊ ।”
उनले स्मृतिको त्यो कालो दिन सम्झँदै भने, “बुबाले हुकुम भएझैं म तिलगंगा र त्रिवि अस्पताल गएर आँखा र स्वास्थ्य जाँच गरेँ । दौडधूप र चेकजाँचमै दिनमात्र होइन, साँझ पनि बित्यो । म दरबारको गेटमा पुग्दा रातको ९ बजिसकेको रहेछ । नौ बजेपछि सामान्यतयाः दरबारभित्र पस्न मनाही थियो र म फरक्क फर्किएर होस्टल गएँ । र राति त्यहीँ सुतें ।”
अघिल्लो दिनको थकाइले उनी भोलिपल्ट आधादिनसम्म भुसुक्कै निदाएछन् । “उठेर तल के पुगेको थिएँ । होस्टलमा काम गर्ने दिदीले सुनाउनुभयो, हिजो दरबारमा त्यस्तो घटना घटेछ बाबु । तिमी बाहिर नजाऊ ।”
त्यसपछि उनका नौनाडी गले । हेर्दाहेर्दै घाम डुब्यो । ओठतालु सुके । आँखामा अन्धकार छायो । कलकल बगिरहेको जीवनको नदी उराठलाग्दो बगरमा परिणत भयो ।
त्यसअघिको जिन्दगीको एउटा गोरेटो सपनाझैं क्षणभंगुर बन्न पुग्यो । दरबार हत्याकाण्डको तीन दिनसम्म उनी अर्धबेहोस जस्तै भए । क्षणक्षणमा बेहोस हुने र बरबराउने गर्न थाले ।
उनले गहभरि आँसु पार्दै भने, “देशले एउटाअसल अभिभावक गुमायो । तर मैले त आँखा देखाउने बाआमा नै गुमाएको थिएँ । मेरो जिन्दगीको आशा र भरोसाका पात्रहरू सदाका लागि विदा भएका थिए । कहिल्यै नफर्कने गरी ।”
“बाबु तेरो जीवन मेरो पोल्टामा छ, तँ मेरो छोरो होस्, तँलाई काँडाले पनि कोर्न दिन्न”, रानी ऐश्वर्याले भनेका कुराहरू मानसपटलमा अझ तीखो बनेर आउन थाल्यो । राजा वीरेन्द्र पनि मथिंगलबाट हट्न सकेनन् ।
० ० ०
“राजपरिवार हत्याकाण्डको दोष दीपेन्द्रको थाप्लोमा पनि थोपरिने गरिन्छ”, उनले गला अवरुद्ध पार्दै भने, “सबै कुरा त म के जानूँ र ! दीपेन्द्रको स्वभाव बुझेको छु, यो सब उनले गर्नै सक्दैनन् ।”
राजदरबार हत्याकाण्डको बखत उनी २५ वर्षका थिए । अहिले बिहेबारी गरी उनले घरजम गरिसकेका छन् । माइला भाइको आफ्नै बन्दोबस्त छ । कान्छा भाइ भर्खरै विदेशबाट फर्किएका छन् । जन्मदिने बा–आमा पनि आफैंसँग छन् । र, पनि कर्म दिने बाआमा कहिल्यै नफर्किने गरी बाटो लागेकाले पूराना दिन पीडा र याद बनेर पिरोलिरहन्छ सधैंभरि ।
अहिले उनी नेपाल प्रज्ञा प्रतिष्ठानअन्र्तगतको ललित कला प्रतिष्ठानमा कर्मचारीको रूपमा कार्यरत छन् । त्यसैबाट हातमुख जोरिरहेका छन् । जोरपाटीको बेसीगाउँमा एकतले घर पनि बनाएका छन् । त्यसो त राजपरिवारसँगको उनको नाता टुटिसकेको पनि छैन । बेलाबेला नागार्जुनमा बसोबास गर्दै आएका पूर्वराजा ज्ञानेन्द्र भेट्न जान्छन् । दसैंमा केही पैसा पनि दिन्छन् । भन्छन्, “बाबाआमा नै बितेर गएपछि राजपरिवारमा को छ भन्नु र खै ?”
० ० ०
कुनै समय एडीसीसहित सवारी साधन अघिपछि लगाएर हुइँकिने होमबहादुर अचेल साइकलमा ओहोरदोहोर गर्छन् । “जनताको छोरो भएपछि सधैं राजखानदान सरह सुखसयल खोजेर पनि त भएन नि !” उनी भन्छन् ।
त्यसो त उनी सधैं राजा वीरेन्द्रकै भेषमा कोट, पाइन्ट, टोपी, चस्मा पहिरिएर हिँड्छन् । “यो कर्म दिने बुबाप्रतिको सम्मान हो, उहाँले बाटो नदेखाइदिएको भए यहाँसम्म कसरी आइपुग्थेँ र ?”
० ० ०
माओवादी जनयुद्ध उत्कर्षमा पुगेको बखत उनले एकदिन कुरैकुरामा राजा वीरेन्द्रलाई सोधेका थिए, “सरकार माओवादीले युद्ध जिते भने के हुन्छ ?,” वीरेन्द्रले हाँसी–हाँसी जवाफ फर्काएका थिए रे, “जनताकै मन जितेर आउँछन् भने मैले आफ्नो ठाउँ छोडूँला नि !”
देश र जनताका लागि फराकिलो सोंच राख्ने राजा–रानीको दारूण अन्त्य होला भनेर उनले सपनामा पनि चिताएका थिएनन् । “राम्रो गर्नेको भलो नहुने देश कसरी पो उँभो लाग्ला र !” उनले जाँदाजाँदै निराशा पोखे ।
प्रस्तुतिः अक्षर काका
No comments:
Post a Comment