बत्तीसपुतलीको आरोहण गुरुकुल नाटकघर भत्किएपछि यसका खम्बा सुनील पोखरेल पनि भत्किए । सन्तानभन्दा बढी कष्टले हुर्काएको गुरुकुल इँटा र सिमेन्टले होइन, सुनीलको पसिना र रगतले ठडिएको थियो ।
तर, अर्काको जमिन आफ्नो पसिनाले कसरी भिज्थ्यो ! भिजे पनि त्यसमा हक कसरी हुन्थ्यो !
सुनील त्यसपछि घरबिनाको सुकुम्बासीजस्तै भए ! नजिकबाट चिन्नेहरु भन्छन्– त्यसपछि उनी अरु कसैका भएनन्, मदिराका भए ।
सम्भवतः अबको एक महिनाभित्र उनले फेरि नयाँ घर पाउनेछन् र फेरि सबैका हुनेछन् ।
० ० ०
धेरै नबोल्ने र सटिक उत्तर दिएर पन्छिने सुनीलसँग अन्तरंग गर्नु पहाड पल्टाउनुजत्तिकै गाह्रो र अप्ठ्यारो काम हो । उनलाई जान्ने र गुरू मान्नेहरू भन्छन्– उनी अन्तर्मुखी स्वभावका छन्, कम बोल्छन् र छोटो वाक्यमा धेरै उत्तर अटाउँछन् ।
नेपालको रंगकर्मलाई उचाईमा पुर्याउन अहोरात्र क्रियाशील सुनील बुधबार काठमाडौंको बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा भेटिए । शिल्पीमा विलियम सेक्सपियरको नाटक ‘अ मिडसमर नाइट्स ड्रिम’ मञ्चन भइरहेको छ, जसलाई उनैले निर्देशन गरेका हुन् । चैत ४ देखि २० गते (आज)सम्म मञ्चन हुने यो नाटक लिएर उनी डेढ वर्षपछि लयमा फर्किने प्रयासमा छन् ।
“आफैंले नाटक सिकाएका विद्यार्थीलाई साथ लिएर यो नाटक गरेको हुँ,” उनी भन्छन्, “यसपटक दर्शकहरुले मलाई फरक भूमिकामा मलाई पाउनुहुनेछ ।”
भारतको नेसनल स्कुल अफ ड्रामामा विद्यार्थी हुँदै पढेको सेक्सपियरको यो सुखान्त प्रेमकथा उनले २० भन्दा बढी नयाँ कलाकारलाई साथ लिएर मञ्चन गरिरहेका छन् । “धेरै गम्भीर विषयवस्तुमा नाटक गरें । केही नयाँ गर्न खोजिरहेको थिएँ । त्यही भएर यो नाटक रोजें,” उनले नाटक चयनबारे प्रष्ट्याए ।
भारतको नेसनल स्कुल अफ ड्रामामा विद्यार्थी हुँदै पढेको सेक्सपियरको यो सुखान्त प्रेमकथा उनले २० भन्दा बढी नयाँ कलाकारलाई साथ लिएर मञ्चन गरिरहेका छन् । “धेरै गम्भीर विषयवस्तुमा नाटक गरें । केही नयाँ गर्न खोजिरहेको थिएँ । त्यही भएर यो नाटक रोजें,” उनले नाटक चयनबारे प्रष्ट्याए ।
० ० ०
नेपाली रंगमञ्चलाई राष्ट्रिय तहमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै उचाइमा पुर्याउन दिलोज्यान दिएका सुनील प्रचारमा रूचि राख्ने मानिस हुँदै होइनन् । त्यसमाथि आफ्नो निजी कुराबारे त उनी मुखै खोल्दैनन् ।
रंगसाधनाको क्षेत्रमा उनी अध्ययनले निकै खारिएका व्यक्तित्व मानिन्छन् । तर, पछिल्लो समय उनी गुमनाम रहे । नाटकमा नदेखिएपछि धेरैले अनुमान लगाए– उनी हराए ।
सबै अनुमान सही हुँदैनन् । उनी हराएका थिएनन् । निरन्तर कला साधनामै दत्तचित्त थिए ।
‘ढुंगो मूर्ति बन्न लाखौं छिनो र हथौडाको चोट सामना गर्नुपर्छ’ भनेझैं उनलाई जिन्दगीमा दुःखहरूले दपेटिरहे । “दुःख त कसको जीवनमा आइलाग्दैन र ? दुःख पाइयो भन्दैमा आँसु झार्दै, बरबराउँदै हिँड्ने ?” उनले आफ्ना दुःख खोल्न त चाहेनन् तर अनुहारबाट पीडाका भाव लुकाउन पनि सकेनन् ।
“जीवनमा पहिलो सन्तान जन्मिँदा र गुरुकुल जन्माउँदा खुसी भएँ, दुःखी भएका क्षण त कति छन् कति ।”
उनले यत्ति भने ।
“जीवनमा पहिलो सन्तान जन्मिँदा र गुरुकुल जन्माउँदा खुसी भएँ, दुःखी भएका क्षण त कति छन् कति ।”
उनले यत्ति भने ।
० ० ०
मदिरा पिउँछन् । रसिक छन् । उनको व्यक्तिगत स्वभावसँग विमति राख्नेहरू त कति छन् कति, यसका पनि आफ्नै कथा र कारण होलान् । तथापि उनी नेपाली रंगमञ्चका महान् हस्ती हुन् । रंग साधक हुन् । कुशल निर्देशक हुन् । एक पूर्ण कलाकार हुन् । र, निरन्तर नेपाली कलासाहित्यको श्रीवृद्धिका लागि अहोरात्र प्रयत्नशील खम्बा !
०२० सालमा पूर्वी नेपालको खोटाङ जिल्लामा जन्मिएका सुनीलले भारतको दिल्लीबाट नाटक विषयमा स्नातक गरेका छन् । औपचारिकभन्दा ज्यादा अनौपचारिक शिक्षामा खारिएका उनी विदेशी लेखकका नाटकलाई अनुवाद गरेर रंगमञ्चमा प्रस्तुत गर्छन् ।
किन विदेशी नाटक ? नेपाली छैनन् ?
“हामीलाई नाटक चाहिएका बेला नेपाली लेखकले लेख्दैनन्,” उनका आफ्नै तर्क छन्, “विदेशी अनुवाद गर्नु बाध्यता हो । फेरि दर्शकले किन विदेशी नाटक गरिस् पनि भनेका छैनन् । नेपाली नाटक भेटेसम्मका त प्रदर्शन गरेकै छौं नि !”
उनले ‘कर्णाली दख्खिन बग्दो छ’, ‘कम्लरीको कथा’जस्ता नेपाली नाटक प्रस्तुत गरेको उदाहरण दिए । नाटक लेखन अस्ताएको सूर्यझैं भयो, तर त्यसैले बढी पोल्यो सुनीललाई । यही पीडाबीच उनले भेटेसम्मका विदेशी नाटक ल्याए । तर, उनी यसलाई अनुवाद नभनी ‘एडप्ट’ भन्न रुचाउँछन् । भन्छन्, “हामी विदेशी नाटकलाई अनुवाद होइन, नेपालीकरण गर्छौं ।”
सामान्य परिवारमा जन्मिएका सुनील रहरैरहरमा नाटक छिरे । विराटनगरमा बद्री अधिकारीले नाटक निर्देशन गर्थे, सुनीलले स–साना रोलमा अभिनय गर्थे । नाटक खेल्न उत्पात रहर लाग्थ्यो । यसैमा भविष्य बनाउँछु भन्ने कहिल्यै सोचेनन् । यही रहरबीच उनी ०३६ सालतिर काठमाडौं खाल्डो छिरे । यहाँ आएपछि उनको भेट चर्चित कलाकार रमेश बुढाथोकीसँग भयो, जसले उनलाई कलायात्रामा हिँडाउन निकै सघाए । रंगकर्मकै दौरान निशा शर्मासँग भेट भयो । थाहै नपाई प्रेम बस्यो । उनैसँग विवाह भयो– ०४७ सालमा ।
श्रीमान् /श्रीमती एउटै क्षेत्रमा हुनुका केही फाइदा छन् भने केही बेफाइदा । यही पेसामा रहँदा उनीहरुबीच एक–अर्कामा असमझदारी छैन । विवाहपूर्व नै गुरुकुलको स्थापना भए पनि त्यसलाई उचाइमा पुर्याउन निशाको ठूलो योगदान रहेको सुनील सगर्व बताउँछन् ।
दर्जनौं नाटकमा अभिनय र त्यत्ति नै संख्यामा निर्देशन गरेका सुनील बन्द गुरुकुल ब्युँताउने अभियानमा जुटेका छन् अहिले । गुरुकुलको छत्रछहारीमा हुर्किएकाहरू लाखापाखा लागिसकेका छैनन् रे !
“एक महिनामै गुरुकुललाई ब्युउँताउँछु,” उनी भन्दै थिए, “जग्गा पनि भेटिइसकेको छ तर अहिले नै सार्वजनिक गर्न मिल्दैन । गुरुकुलको जग अब बलियो हुन्छ, कसैले भत्काउन सक्दैन । हाम्रा कलाकार पनि आफ्नै घरमा फर्किन्छन् ।”
नियमित हुँदै आएको अन्तर्राष्ट्रिय नाटक महोत्सव पनि गुरुकुल बन्द भएपछि ठप्प छ । गुरुकुल सुुचारु भएपछि महोत्सवसँगै हरेक गतिविधि पुरानै लयमा फर्किने उनको विश्वास छ ।
गुरुकुल बन्द हुँदा थुप्रै रंगकर्मीलाई पीडाबोध भयो । केही राजनीतिकर्मीलाई पनि त्यसले नराम्ररी घोच्यो रे ! तिनै नेताको सहयोगमा गुरूकुलले जग्गा पाउने भएको उनले सुनाए । यसले सुनीलको मनमा बिछट्टै उत्साह भरेको छ । जुन नेताले रंगमञ्चलाई वास्ता गरेन, उनीहरुलाई सुनील हात जोडेर आग्रह गर्छन्, “रंगक्षेत्रलाई राम्रो बनाउन सक्नुहुन्न भने कृपया नबिगारिदिनुस् ।”
सरकारले नाट्य क्षेत्रका लागि केही समयअघि नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान भन्ने अलग्गै संस्था गठन गरेको छ । तथापि त्यसले जागिर खुवाउने र ज्वाइँझैं कर्मचारी पाल्नेभन्दा बढ्दा काम गर्न नसकेको आरोप सुनील लगाउँछन् । “त्यसबाहेक प्रतिष्ठानले केही गरेको सुन्नुभएको छ ?” उनले आक्रोश पोखे ।
० ० ०
३० को दशकतिर नेपालमा नाटकको बाढी नै आएको थियो । धेरै नाट्यसंस्था पनि खुले । त्यतिबेला मनोरञ्जनका लागि नाटक सबैभन्दा प्राथमिक विकल्प थियो । बिस्तारै चलचित्र बन्ने क्रम बाक्लिएपछि नाटक ओझेलमा पर्दै गयो ।
तर, सुनीलजस्ता मान्छे पनि थिए, जसले कहिल्यै हरेश खाएनन् । नाटक भन्नेबित्तिकै नाक खुम्च्याउने दर्शकलाई उनले रंगमञ्चसम्म ताने । त्यसकै फलस्वरूप अहिले शिल्पी, मण्डला, सर्वनाम, थिएटर भिलेजजस्ता नाटकघर सधैंजसो हाउसफुल हुन्छन् ।
“यति धेरै संस्थाले नाटकमा काम गरिरहेका छन्, दर्शकहरू रंगमञ्चमा ओइरिरहनुभएको छ,” सुनील भन्छन्, “यस्तो अवस्था देख्दा छाती गर्वले फुल्छ । नेपालको नाट्य भविष्य उज्यालो नै उज्यालो देख्छु म त !”
यद्यपि, परिमाणको तुलनामा गुणस्तर सुध्रिन नसकेको उनी स्वीकार्छन् पनि । “हामी पनि सिक्दैछौं, नाट्य क्षेत्रमा नयाँ–नयाँ प्रविधि विकास भइरहेका छन्, त्यसमा अद्यावधिक हुँदै अघि बढिरहेका छौं,” उनले भने ।
अहिले वर्षमा चार दर्जनजति नाटक मञ्चन हुन्छन् । नाटकमै भविष्य बनाउँछु भनेर हामफाल्नेको संख्या पनि अधिक छ । अध्ययन र अनुभवले निखारिएकाहरू पनि छन् । यही पुस्ताले रंगमञ्चलाई अझै परिस्कृत बनाउँदै उचाइमा पु¥याउने विश्वास उनमा छ ।
त्यससँगै, रंगमञ्चका स्थापित कलाकारले चलचित्रमा पनि तहल्का मच्चाएका छन् । एकसे एक कलाकारले चलचित्रमा प्रभाव जमाइरहँदा रंगमञ्चप्रति निर्देशकको आँखा पर्न थालेको छ । नाट्य क्षेत्रका लागि यो उत्साहजनक ‘टर्निङ पोइन्ट’ हो ।
अनुप बराल, सौगात मल्ल, दयाहाङ राई, दिया मास्के, सरिता गिरी, खगेन्द्र लामिछानेजस्ता रंगमञ्चका कलाकार अहिले नेपाली चलचित्रमा जमेका छन् । “रंग साधनामा लाग्नेहरुले पात्रलाई न्याय दिन सक्छन्, उनीहरुको अभिनय जीवन्त हुन्छ,” सुनील भन्छन्, “त्यसैले चलचित्रमा पनि सफल भएका हुन् ।”
No comments:
Post a Comment