Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

वास्तवमै दुःखी छन् दाह्री बा !



By  Unknown     5:29 AM    Labels: 

अक्षर काका
झुस्स दाह्री पालेका । मैलिएर खुम्चिएको एकसरो सर्ट भिर्ने । ह्वाङ्लाङ्ग परेको पाइन्ट पहिरिने । पुरानो गोल्डस्टार जुत्ता लगाउने । सधैँ गम्भीर देखिने । यो कुनै चलचित्र या रंगमञ्चको पात्रको हुलिया होइन । यो त नेपाली कला क्षेत्रमा झन्डै ३० वर्षदेखि क्रियाशील चर्चित कलाकारको वास्तविक पहिचान हो । उनी ठ्याक्कै यस्तै आकृतिमा प्रस्तुत भइरहेका छन् र क्रियाशील पनि छन् ।
उनी हुन् – मेरी बास्सैका दाह्री बा अर्थात कलाकार सुरवीर पण्डित ।
बाल्यावस्थादेखिनै यस्तै लथालिङ्गे पाराले अभिनयमा हाम फालेका सुरवीरले हजुरबा बन्ने उमेरसम्म आइपुग्दा पनि आफ्नो पहिचान बदल्न सकेका छैनन् । जीवनलाई फेर्न सकेका छैनन् ।
सानामा निकै उटुङ्ग्या थिए उनी । घरको चामल चोरेर फिल्म हेर्न जान्थे । बास बसेका चराचुरुङ्गीको गुँड भत्काउँथे । बचेरा पोलेर खाइदिन्थे । उदण्ड स्वभाव बदलीएर मिजासिला भएका छन् । तर, गरिबीको दहबाट अभिनय यात्रा प्रारम्भ गरेका थिए यिनले, दाह्री फूल्ने उमेर हुँदा पनि सुखको पारिलो घाम देख्न पाएका छैनन् ।
निर्माता निर्देशकले दिएका हरेक भूमिकालाई उत्तिकै न्याय गर्न खप्पिस सुरवीर आफैँलाई चाहिँ धेरैले न्याय गरेनन् । र त वास्तविक जीवनमा पनि पर्दामा जस्तै दुःखी देखिन्छन् ।
० ० ०
विसं. २०२५ साल फागुन २५ गते शनिबार बूढानीलकण्ठको मुहानपोखरीमा जन्मिएका हुन् उनी । कतिपयले त्यस ठाउँलाई फेदी गाउँ पनि भन्छन् । शिवपुरीको फेदी भएकाले सूर्यको दर्शन गर्न आधा दिन कुर्नुपथ्र्यो । त्यस्तै थियो उनको पारिवारिक अवस्था पनि, सुखको उज्यालो देखेनन् ।
भात खान रहरै थियो । उनी भन्छन्, “श्राद्ध, दसैं, तिहार आदि चाडबाडमा मात्र भातको मुख देख्न पाइन्थ्यो ।” खेतबारी कम थियो । परिवारको आर्थिक अवस्था पनि राम्रो नभएकाले उनले भनेजस्ता खान र लाउन पाएनन् ।
आफूले दुःख पाए पनि सन्तानलाई राम्रो पढाउने उनका बाबुको इच्छा थियो । हजुरआमाको त अझ नाति ‘सेक्सन अफिसर’ नै बनोस् भन्ने थियो । हजुरआमा भन्थिन् –नाति ! तँ सेक्सन अफिसर भएर घोडा चढेर गाउँ ओहोरदोहोर गरेस् है । जोरीपारीलाई देखाउनुपर्छ ।
सबै सन्तानले कहाँ अभिभावकको चाहनाको भारी बोकेर जीवनको यात्रा तय गर्न सक्छन् र ! सुरवीरको पनि पढ्नमा ध्यानै जाँदैनथ्यो ।
बरु साथीसँग लहैलहैमा लागेर उटुङ्ग्याइँ गर्न थाले । स्कुल जाने समय गाउँ डुलेर बिताउँथे । घुम्न मन त लाग्दैनथ्यो तर साथीभाइले भनेपछि हार्न सक्दैनथे । “साथीहरूको चित्त बुझाउन पनि म उनीहरूसँगै हिँड्थे”, उनले बाल्यकालको स्मरण गरे ।
उपद्राहा थिए । साराैँ, भँगेराको गुँड भत्काउने, अर्काको बारीका काँक्रा चोर्ने, फर्सी फुटाउँदै हिँड्ने जस्ता बदमास गर्थे ।
घरै मुनि थियो बूढानीलकण्ठ निम्न माध्यमिक विद्यालय । पढ्न मनै नलाग्ने हुनाले विद्यालय नै जाँदैनथे । उनले त्यहाँ जेनतेन सात कक्षासम्म पढे । आठ कक्षा पढ्न प्रभात माध्यमिक विद्यालय पुगे तर पढाइ बीचमै छाडे । सिद्धिगणेश माध्यमिक विद्यालयबाट विसं. २०४२ सालमा प्राइभेट एसएसलसी त दिए तर उत्तीर्ण हुन सकेनन् । औपचारिक पढाइलाई उनले त्यहीँ बिट मारे ।
० ० ०
पढाइमा भन्दा ज्यादा ध्यान उनको अभिनयमा गयो । सिनेमा हलमा बढी जान्थे । सिनेमा हलमा जान पैसा नहुँदा उनले घरको चामल चोरेर बेचे । दाजुभाइ, दिदीबहिनी पाँच जना जन्मेका भए पनि दुई दाजुभाइको सानैमा निधन भयो । त्यसैले पनि बाबुले उनलाई छाडा छोडिदिए ।
सानो छँदा गाउँमै धान उत्पादकत्व बढाउने तरिका समेटिएको वृत्तचित्र हेरेका थिए । त्यतिबेला बूढानीलकण्ठ मन्दिर परिसरमा रातिको समयमा वृत्तचित्र प्रदर्शन गरिन्थ्यो । उनी रुचिपूर्वक वृत्तचित्र नियाल्थे र त्यस्तै कलाकार बन्छु भन्ने अठोट मनमा पाल्थे ।
वृत्तचित्रमा देखाइएका मानिस र क्षणमै धान फलेका अनेकौं दृश्य देखेपछि उनको बाल मनसमा चलचित्रमा अभिनय गर्ने तीब्र इच्छा पलाउँथ्यो र अठोट लिन्थे –जसरी पनि कलाकार बन्छु ।
विसं २०३५/३६ तिरको कुरा हो । उनका भानिजदाजु लक्ष्मण भण्डारीले भनेछन् –चलचित्र हेर्न जाऊँ । त्यतिबेला ‘सिन्दूर’ भन्ने चलचित्र प्रदर्शन भएको थियो । चलचित्रमा अभिनय गर्ने इच्छा पालेको मानिसले मौका खेर पाल्ने कुरै भएन । उनले त्यो चलचित्र हेरे । चलचित्र हेरेपछि उनको कलाकार बन्ने रहर झनै झांगियो ।
उनले भानिजदाइलाई त्यति बेलै भने – बुझ्नुभो भान्दाइ, म पनि यस्तै कलाकार बन्छु । फिल्म खेल्छु । भान्दाइले जवाफ फर्काएथे – त्यसै कलाकार बनिँदैन बाबु ! कलाकार बन्न त राम्रोसँग पढ्नुपर्छ र प्रशस्त पैसा पनि कमाउनुपर्छ । तँजस्तो गरीबको छोराले कलाकार बन्न गाह्रो छ बाबै ।
तर, उनको मन किन मान्थ्यो र !
त्यो तत्कालीन शाही नेपाली चलचित्र संस्थानले निर्माण गरेको फिल्म थियो । उनी चलचित्र बनाउने संस्था खोज्दै त्यहीँ पुगे र भने – म कलाकार बन्न आ’को, कसलाई भेट्नु पर्ने हो ?
त्यहाँका हाकिमहरूले उनलाई हाँसोमा उँडाए । उसले बनाउँछ तिमीलाई कलाकार, त्यहाँ गएर भन, भन्दै कोठाकोठा चाहर्न लगाए । जुँगाको रेखी समेत नबसेको बालकले कलाकार बन्छु भन्दा पत्याउँथ्यो कसले ?
त्यसको केही समयपछि चलचित्र ‘जीवनरेखा’ निर्माण भई प्रदर्शनमा आयो । कलाकार बन्ने उत्कट चाहना पालेकाले उनी भौँतारिइरहेका थिए । उनले भेट्टाए निर्देशक प्रकाश थापा र मीनाक्षी आनन्दलाई । त्यतिमात्र नभई उनले फिल्ममा खेल्ने कलाकार सबैलाई नबिराई भेटे र आफूलाई कलाकार बनाइदिन अनुनय विनय गरे ।
चलचित्र ‘माइतीघर’मा अभिनय गर्ने माला सिन्हालाई समेत भेटेर उनले आफू कलाकार बन्न हिँडेको बताए । मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य र सन्तोष पन्तलगायत त्यसबेलाका सबै कलाकारलाई भेटेर एउटै कुरा राखे –मलाई जसरी पनि कलाकार बनाइदिनुहोस् ।
इच्छाले डोहोर्याएपछि मानिस ठाउँमै पुग्छ भनेझैं उनको भेट कृष्ण मल्ल र रमेश बुढाथोकीसँग भयो । त्यतिबेला उनीहरू ‘महाभारतका गीतहरू’ भन्ने नाटक रिहर्सलको तयारी गरिरहेका थिए । त्यतिबेलाका जल्दाबल्दा कलाकार थिए शिव श्रेष्ठ । उनले उनको हाउभाउ र अभिनय ध्यानपूर्वक नियालेका रहेछन् । पर्दामा उनले जस्तो अभिनय गर्थे पण्डितले त्यस्तै गरेर देखाएपछि उनीहरूले भने – तिम्रो अभिनय ठीक रहेछ हामी मौका दिऔंला ।
उनीहरूले टेली नाटक ‘को सँग जुधौँ ?’ भन्ने बनाउँदै रहेछन् । सुरवीरले त्यसमा एउटा भूमिका पाउने भए । त्यसबाट उनी उत्साहित भए र ठूलो फड्को मारेको ठाने ।
० ० ०
‘कोसँग जुधौं ?’ टेली नाटकमा उनले चिकित्सकको भूमिका पाएका थिए ।
निर्देशकका नजिकका साथीहरूले नपाएर उनले पाएका थिए त्यो भूमिका । तर, उनले भनेजस्तो अभिनय गर्न सकेनन् । सिंहदरबारस्थित नेपाल टेलिभिजनको स्टुडियोमा सेट तयार पारिएको थियो उनी त ‘नर्भस्’ पो भए । मेकअप गरिएको थियो । मेकअपै बगाउने पसिना चुहियो ।
स्क्रिप्ट नहेरी संवाद बोल्नुपर्ने थियो तर हेरेरसमेत बोल्न सकेनन् । निर्देशक दिक्क भए । उनको अभिनय नमिलेका कारण गीति नाटक नै खल्लो हुन पुग्यो । सुटिङ सक्किएपछि निर्देशकले भने –भाइ तिमी कलाकार बन्न सक्दैनौ । बरु बूढानीलकण्ठ गएर गाईबाख्रा चराऊ ।
तैपनि उनले मल्ल र बुढाथोकीको पिछा गर्न छाडेनन् । उनीहरूलाई दिक्क बनाउने गरी पछ्याइरहे । निरन्तर पछि लागेपछि ‘भै’गो गरिखाओस्’ भन्दै ससाना भूमिका दिन थाले । उनको अभिनय यात्रा आरम्भ भयो ।
० ० ०
उनले अहिलेसम्म ५० वटा ठूलो पर्दाका चलचित्र र २५ वटा जति सानो पर्दाका चलचित्रमा अभिनय गरेका छन् । अनगिन्ती रेडियो नाटकमा आवाज भरेका छन् । मदनदास श्रेष्ठ र स्व. जितेन्द्र महत ‘अभिलाषी’का त उनी निकै प्रिय भए ।
यहाँसम्म आइपुग्न उनले निकै संघर्ष गरेका छन् । अभिनयमा यो उचाइ हासिल गरिसक्दा पनि उनले त्यसको प्रतिफल भने पाउन सकेका छैनन् । रहरैरहरले अभिनयमा छिरेका उनले अहिलेसम्म खासै प्रगति गर्न नसकेको उनकै ठहर छ ।
पढेर र बुझेर लाग्न नसक्दा कला क्षेत्रमा आफू पछि परेको उनको दुःखेसो रहेछ । उनी भन्छन्, “पढेर र बुझेर कलाकारितामा आउन नसक्दा मैले निकै दुःख र हन्डर पाउनु पर्यो ।” त्यसैले कलाकारितामा रुचि राख्नेहरूलाई उनको एउटै अनुरोध छ– बुझेर र पढेरमात्र अभिनयमा आउनुहोस् ।
त्यसो त उनलाई कयाैँ निर्देशक निर्माताले पनि दिनुसम्म दुःख दिएका रहेछन् । सिने क्षेत्रबाट झन्डै तीन लाख रुपैयाँ उठाउन बाँकी छ रे ।
नवनिर्मातादेखि स्थापित निर्माता निर्देशकसँग पनि उसै गरी प्रस्तुत हुने उनको बानीलाई कयौँले कमजोरीका रूपमा लिएका छन् । चलचित्र टेलिचलचित्रमा अभिनय गर्न लगाउने र पारिश्रमिक दिने बेलामा चाहिँ, ‘भोलि भेटौं है’ भन्नेहरू त कति भेटे कति । र त, उनी आर्थिक हिसाबले कहिल्यै सबल भएनन् ।
महिनामा पाँच दिनमात्रै अभिनयका क्षेत्रमा लागेर ठीक गरेँ भन्ने लाग्छ । बाँकी २५ दिन त उनी निराश हुन्छन् रे । आफूसँगै अभिनय गर्नेले काठमाडौंमा घर घडेरी जोडेका छन् तर राजधानीमै ‘छाप्रो’ भएका उनको दैनिकी कहिल्यै सुध्रिएन । उनको हविगत देखेर परिवारले भन्ने गर्छ – सधैं यस्तो पाराले हुँदैन अब अभिनय गर्न छोडिदिनुहोस् ।
ठूलो रहरले अभिनयमा छिरेर उचाइ हासिल गरेका पण्डितलाई कला क्षेत्र चटक्क छोडेर हिँड्न मनै मान्दैन । केही नभए पनि नाम छ । देश विदेशका मानिसले चिनेका छन् । यसैमा मन बुझाउँछन् उनी ।
० ० ०
आफूले अभिनय गरेका चलचित्र टेलीचलचित्र पर्दामा हेर्दा उनी आफैंलाई चित्त बुझ्दैन । कता के नमिलेको, के नपुगेको जस्तो लागिरहन्छ । प्रस्तुति हेरिसकेपछि उनी सोच्छन् – म त कलाकार नै होइन रहेछु । अभिनय गर्न जानेकै पो रहेनछु ।
उनी भन्छन्, “अभिनयमा मैले अझै धेरै गर्न बाँकी छ । सिक्न र जान्न बाँकी अनेकौँ कुरा रहेछन् ।” कलामा जीवन नै समर्पण गरेका पण्डित अगाडि भन्छन्, “वास्तवमा सिकेर कहिल्यै नसकिँदो रहेछ र मानिस कहिल्यै पूर्ण हुन पनि नसक्दो रहेछ ।”
नेपालका ७५ प्रतिशत फिल्म निर्माता गलत नियतका छन् भन्छन् उनी । तिनले कला पनि बुझेका हुँदैनन् र अभिनय गर्ने कलाकारलाई पारिश्रमिक भुक्तानी दिने पनि नियत नभएको उनको ठहर छ । त्यसै कारणले अभिनय गरेवापत उनले सबैभन्दा बढी पारिश्रमिक ३० हजार रुपियाँसम्म मात्र पाएका छन् । ‘बन्दी’ चलचित्र थियो त्यो । रमेश राई निर्माता थिए । उनले स्क्रिप्टको पहिलो लाइन लेख्नेबित्तिकै भनेका थिए– सुरवीर दाइ, एउटा दलितको भूमिका छ । अभिनय गरिदिनुहोस् । विजय केरुङले निर्देशन गरेका थिए उक्त चलचित्र ।
मेरी बास्सैमा अभिनय गर्नु अगाडि उनको अवस्था अत्यन्त नाजुक थियो । महिनाको आठसयदेखि दुईहजारसम्म मात्रै कमाउँथे । अभिनयबाट उनले दाल चामल त परैको कुरा घरमा नुनसमेत किन्ने हैसियत बनाउन सकेका थिएनन् । मेरी बास्सैमा अभिनय गर्न थालेपछि उनको अवस्थामा अलिकति सुधार आयो । घर चलाउन सामान्य सहयोग गर्न समर्थ भए उनी ।
० ० ०
तीन छोरी र एक छोरा छन् उनका । त्यसमध्ये एक छोरीको विवाह भएको छ । बालबच्चाको लालनपालन र शिक्षादीक्षाको खर्च खेतबारी बेचेर चलाउँदैछन् । राम्रो पढेर जागिर खाएको भए आर्थिक अवस्था सुधार्न सकिन्थ्यो होला भन्ने लाग्छ उनलाई । तर अब पछाडि फर्कने अवस्था छैन । तर पनि उनीसँग ठूला सपना छैन । कलाकार बन्छु र धेरै पैसा कमाउँछु भनेर उनी यस क्षेत्रमा आँखा चिम्लिएर हाम फालेका पनि होइनन् । सुरवीर भन्छन् –आफ्नै इच्छाको साधना गर्दा दुःख पाएको हुँ । पश्चाताप किन गर्नु र !
यद्यपि उनलाई बाबुआमाको नजरमा असल छोरो नबनेको, छोराछोरीका लागि असल अभिभावक बन्न नसकेको, इष्टमित्र, नरनाता र समाजको नजरमा अनुकरणीय व्यक्तित्व बन्न नसकेकोमा ग्लानि त छ तर समय निक्कै अघि बढिसक्यो ।
राज्यले कला क्षेत्रको उत्थान गर्न विभिन्न योजना ल्याए पनि यस क्षेत्रमा गलत मान्छेको हालिमुहाली भएकाले विकास हुन नसकेको उनको निष्कर्ष छ । उनी भन्छन्, “कलाकार बन् भनेर कसैले घोक्र्याएर यो क्षेत्रमा ल्याएको हैन । सबै आआफ्नो स्वार्थ सिद्ध गर्न कला क्षेत्रमा आबद्ध भएका हुन् । त्यसकारण यो भएन, त्यो भएन भनेर गुनासो गर्नु बेकार छ ।”
कलाकारलाई राष्ट्रिय परिचयपत्र वितरणलगायत केही योजनाले यस क्षेत्रको भविष्य उज्ज्वल हुने संकेत देखिएको उनी बताउँछन् । कुनै कलाकार बिरामी पर्दा उनीहरूले कलाकार संघको सिफारिसका आधारमा सहयोग पनि पाएका छन् । तर, सिने उद्योगमा गलत नियत भएका व्यक्तिको प्रभुत्व हुँदा कलाकार शोषणमा परेको उनको ठम्याइ छ ।
कलाकारहरूको मूल्याङ्कन हुन नसक्दा कयौँ कलाकारहरू यस क्षेत्रबाट विस्थापित भइरहेका छन् । चेलीलाई नङ्ग्याएर पैसा कमाउन खोज्ने र रातारात हिट बन्न खोज्नेहरूले अनेकौं दुस्साहस पनि गरिरहेका छन् । यस्ता निर्माता र निर्देशकहरूको कारण नेपाली फिल्म क्षेत्र क्रमशः प्रदूषित बन्दै गइरहेको उनको बुझाइ छ । उनी भन्छन्, “राज्यले सिने क्षेत्रमा लगानी गर्नुभन्दा पनि यसमा विकृति, विसंगति भित्र्याउनेलाई कडा कारबाही गरोस्, राम्रो काम गर्ने निर्माता निर्देशकलाई पुरस्कृत गरोस् ।”
० ० ०
अभिनय क्षेत्रमा स्थापित हुन उनले रातभर घोकेर स्क्रिप्ट कन्ठ गरेका छन् । कुनै चलचित्र टेलीचलचित्रमा अनुबन्धित भएपछि उनी तीन चार घन्टामात्रै सुत्छन् । ऐना हेरेर आफूलाई चरित्रको अभिनयमा उतार्छन् । पछिल्लो समय उनी विभिन्न महोत्सवहरूमा सहभागी हुन थालेका छन् । उनलाई महोत्सवहरूमा सहभागी गराउन मेरी बास्सैमा उनकै छोरीको भूमिकामा अभिनय गर्ने निरू खड्काले ठूलो योगदान गरेकी छन् । त्यसबाहेक सन्तोष खनाल, दमन रूपाखेती, पल्पसा डंगोलले पनि उनलाई अभिप्रेरित गरिरहेका छन् ।
अरू सहकर्मी कलाकारले जसरीे देशविदेशका कार्यक्रममा सहभागी हुने खासै मौका पाएका छैनन् । केही वर्षअघि दमन रूपाखेतीसँग मलेसियामा कार्यक्रममा भाग लिएका थिए । त्यसबाहेक उनी अरू देशमा कार्यक्रम लिएर पुगेका छैनन् ।
अन्तिममा दर्शक, श्रोता र पाठकसँग उनको आग्रह छ – केही निर्माता र निर्देशकले न्याय नगरे पनि तपाईं दर्शक, श्रोता, पाठकले मलाई माया गरिरहनु भएको छ । यसमा पूर्णविराम नलागोस् ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment