Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

दुर्व्यसन त्यागेर चिया व्यापार



By  Unknown     8:27 PM    Labels: 

अक्षर काका
मैलो शरीर । झुत्रेझाम्रे । चप्पल लगाएका । कालो वर्ण । दायाँ हातमा भुसेचुल्हो र त्यसमाथि चियादानी बसालेका र तारले बाँधेर झुन्ड्याएका । बायाँ हातमा बाल्टी, त्यसमाथि सत्तरी असीवटा प्लास्टिकका गिलाँस, दुई चारवटा कागती, बिरे नुनको धुलो हालेको बट्टा, स्टिलको कागती निचोर्ने र चिया छान्ने जाली राखेका ।
प्लास्टिकको गिलासमा उनले अलिकति बिरे नुन र थोरै कागती निचारेर हाले र त्यसमाथि चियादानीबाट चिया खन्याए र भने –“दाइ ल लिनुहोस् चिया”,
मैले चिया समाउँदा नसमाउँदै उनले अरू तीनवटा कपमा चिया खन्याए । उनले यसरी चिया बेच्न थालेको १५ दिन जति भयो । बिहान सात नबज्दै चुच्चेपाटीदेखि जोरपाटीसम्म फेरो मारिसक्छन् । “सात बजेसम्म पचास कप जति चिया बेच्छु होला”, उनले थपे ।
उनलाई यसरी देख्न थालेको त्यस्तै छ सात दिन भयो होला । त्यसबीचमा कुरा गर्न मन त पहिले पनि लागेको हो तर, संयोग मिलेको थिएन ।
आज बिहानै भेट भए उनी ।
“दाइ मसँग कुरा गर्नुहुन्छ ?”, एक घुट्को चिया नपिउँदै मैले उनलाई सोधेँ ।
“हुन्छ नि, तर के कुरा गर्नु ?”, उनले बडो टिठ लाग्ने गरी भने । एक हातले कागती निचोर्दै थिए । निचोरिएको कागती झैँ अमिलो पारे अनुहार पनि । चिया बेच्न त हतारै थियो र पनि टुसुक्क बसे र बेलिबिस्तार लगाउन थाले ।
० ० ०
उनको नाम राजु रोक्का हो । अहिले ३३ वर्षका पुग्न लागे । बारा पुर्ख्याैली घर भए पनि उनी काठमाडौंमै जन्मिए ।
आफूले दुःख पाए पनि परिवारलाई दुःख नकटाउने ठानेर उनका बाबुले परिवारलाई काठमाडौं ल्याए ।
काठमाडौंको बाबा बोर्डिङमा पढ्थे उनी । तर, उनी अलि ‘बदमास’ निस्किए । खराब संगतमा लागे । पढ्नभन्दा अर्थोकै गर्न रुचाउँथे उनी । त्यसैले कक्षामा कहिल्यै सजिलै उत्तीर्ण भएनन् । जेनतेन कक्षा नौसम्म पढे ।
साथीहरूको लहैलहैमा उनले चुरोटका साथै गाँजालगायतका लागुपदार्थ पनि प्रयोग गर्न थाले । सुरुमा साथीभाइको देखासिकीमा चुरोट खान थालेका उनी हुँदाहुँदै लागु पदार्थको अम्मली बने । करिब दस वर्ष उनी लागुपदार्थको दलदलमा फसे । पढाएर ठूलो मानिस बनाउने बाबुको सपना लागुपदार्थको अँध्यारोमा हरायो ।
छोराको भविष्य सपार्ने सपना देखेर उनका बाबुले परिवारलाई बाराबाट काठमाडौं ल्याएका थिए । तर, भइदियो त्यसको ठीक उल्टो । छोरो कुलतमा फसेपछि परिवार तनाबमा पर्ने नै भयो । सबैभन्दा बढी चिन्तित बन्न पुगे उनका बाबु । उनी भन्छन्, “मेरै चिन्ताका कारण उहाँ बित्नु भयो ।”
बाबुको मृत्युपछि पनि उनको मति सुध्रिएन । “बरु मृत्युबाट छुड्कारा सजिलै मिल्थ्यो होला तर मैले लागुपदार्थको कुलत त्याग्न सकिन”, उनले त्यति बेलाको अवस्था सम्झँदै भने ।
‘नर्पिन’, ‘डाइजिपाम’, ‘पेनागन’, ‘एविड’लगायत मनोद्दीपक पदार्थ नै उनका प्रिय साथी बन्न पुगे । ती नहुँदा उनलाई छटपटी हुन्थ्यो । तीब्र चिटचिटाहट हुन्थ्यो । वरपर अन्धकारमात्र देखिन्थ्यो । उनी मरेतुल्य हुन्थे ।
लागुपदार्थ खरिद गर्न उनले बाबाको ज्वारीकोट उधारे, आमाको कन्तुर पनि फोरे । घरका भाँडा वर्तनदेखि आमाको गरगहनासम्म उछिट्टयाए । उनले लागुपदार्थ सेवन गर्न सुरु गर्दा एउटा ट्याब्लेटको २५ रुपैयाँ पथ्र्याे रे । तर, अहिले त्यस्तै ट्याब्लेटको १६ सय रुपैयाँसम्म पर्छ रे ।
बेचबिखन गर्ने गिरोहले रक्सौलदेखि लागुपदार्थ ओसार्ने उनी बताउँछन् ।
“त्यहाँबाट दुई सयमा ल्याएर यहाँ १६ सय रुपैयाँसम्ममा बेच्छन्”, उनले भने ।
लागुपदार्थको दुव्र्यसनमात्र होइन उनमा ‘दादागिरी’को चाहना पनि झांगिन थाल्यो । यता कुलतले बिग्रिँदै थिए उता उनी कुटपिट र झैझगडामा पनि सरिक हुन थाले ।
“झगडा नपरेको र कुटाइ नखाएको त दिनै हुँदैनथ्यो, त्यसक्रममा कतिलाई धुलाइ हानियो कति कुटाइ खाइयो त्यसको कुनै हिसाबै छैन”, उनले अगाडि भने ।
उनी दुव्र्यसनीको सानोतिनो नाइकेजस्तै भए । त्यस्तै उनले एकदिन एउटा समूहलाई थर्काए, “यो मेरो टोल हो हिरो बन्छस् ?” त्यो पाकेटमार समूहको नाइके परेछ । भोलिपल्ट आएर गाला चिर्दियो ।
गालाबाट ह्वालह्वाल्ती रगत बग्न थालेपछि उनी आत्तिए । के गरौँ, कसो गरौँ, भयो । “अघिल्लो दिन झ्यापको तालमा भनेको थिएँ, भोलिपल्ट नसोचेको आक्रमण भयो, त्यसपछि भाइहरूले थाहा पाएर अस्पताल पुर्याएछन् र बाँचे”, त्यतिबेलाको सम्झना गर्दै भने ।
० ० ०
कुनै हालतमा लागुपदार्थको पासोबाट बाहिर आउन नसक्ने भएपछि उनकी आमाले सहारा लिइन् सुधार केन्द्रको । उनका चार दुव्र्यसनी साथीहरू मरिसकेका थिए । तीमध्ये धेरैको ‘ओभर डोज’कै कारण मृत्यु भएको थियो । त्यत्तिकै छोडिदिए सायद उनको हविगत पनि भिन्न हुँदैनथ्यो । आमाको मन न हो, उनलाई गुमाउन चाहिनन् र उनी पुर्याइए रिचमन्ड आस्था सुधार केन्द्रमा ।
पटकपटक गरी उनी त्यहाँ दुई वर्ष जति बसे । सुधार केन्द्रमा पुग्दा उनलाई कैयौँ पटक त्यहाँबाट भाग्न मन लाग्यो । उनले बन्धनमा परेजस्तो भयो ।
“सुधार केन्द्रमा पुर्याइएपछि पनि म सुरुमा त सुध्रिइन । धेरै पटक भागेँ । जति पटक भागे पनि आमा र अरू आफन्तले सम्झाउन छाडेनन्”, उनले पुराना कुरा सम्झे ।
सुधार केन्द्रमा लगेपछि जिजीबिषा बलियो हुन थाल्यो । सुधारगृहमा अनेक काममा लगाउँथे । विभिन्न प्रेरणादायी कुरा गर्थे । त्यसले उनलाई कुलतबाट छुट्कारा पाउन निकै सहयोग पुर्यायो ।
० ० ०
सुधार केन्द्रबाट बाहिर निस्किएपछि उनी छाँगाबाट खसेजस्तो भए । उनले सम्झिए – कहाँ छोडेर आएँ मैले मेरो बालापन, पढाइ, यौवन र त्यसबीचका खुसीहरू ।
धत् ! कुलतले सबै थोक गुमाइसकेछु । हुन पनि हो, सम्पत्ति मात्रै होइन उनले कुलतकै कारण बाबु गुमाएका थिए । परिवारलाई आँसुको कुवामा डुबुल्की मार्न बाध्य बनाएका थिए ।
झसंग भए उनी र प्रण गरे – अब विगत बिर्सिएर बाँच्ने प्रण गर्छु । “कुलतमा नफसेको भए कार चढेर हिँड्ने सामथ्र्य बटुल्थेँ होला”, उनलाई लागेको पछुतो मसँग पनि व्यक्त गरे ।
त्यसो त उनका केही साथी कार चढेर हिँड्छन् । देखेर गिज्याउँछन् कि भन्ने उनलाई लाग्छ । अर्कोतिर सँगै लागुपदार्थ प्रयोग गर्ने दुव्र्यसनी अकालमा मरेर गए । तर, उनी त बाँचेका छन् । त्यसैमा खुसी लाग्छ उनलाई ।
० ० ०
बिहे गरेका छन् । आमा पनि बुढी भइसक्नु भएको छ । उनी बिहान डुल्दै चिया बेच्छन् । दिउँसो गाढामा तरकारी बेच्छन् । दुवैमा मनग्ये आम्दानी हुन्छ ।
नौ महिनाकी छोरी छे ! पत्नीले तिनैको स्याहारसुसार र आमाको हेरविचार गर्छिन् । निभ्नै लागेको जिन्दगीको दियोमा वर्तन थपे झैँ भएको छ । भन्छन्, “हिजो परिवारलाई धेरै दुःख दिएँ आज हँसाउने र खुसी बनाउने प्रयत्न गर्दैछु ।”
लागुपदार्थको सेवनका कारण पढाइ, सम्पत्ति गुमाएको र जीवन बिग्रेकोमा भन्दा पनि उनलाई ज्यादा पीर बाबुलाई गुमाएकोमा लागेको रहेछ । “मृत्यु भन्दामाथि त को हुन्थ्यो होला र तै पनि मेरो चिन्ता नथपिएको भए उहाँ केही वर्ष अझै बाँच्नु हुन्थ्यो कि ?”
अहिले बाबुको जिम्मेवारी आफ्नै काँधमा आएपछि बल्ल उनले त्यो जिम्मेवारी महसुस गरेका छन् । “मेरी पनि स्यानी छोरी छे, बिहान उसैको मुख हेरर काममा हिँड्छु । अझै कर्तव्यबोध हुन्छ,” उनले भने ।
पुख्र्याैली घर तराई जाँदा हातमा चिया बेच्दै हिँडेको देखेर उनले त्यसैको सिको गरेका रहेछन् । काठमाडौँमा कसैले त्यसरी चिया बेचेको नदेख्दा उनलाई सुरुमा त अप्ठेरो लागेको थियो तर बिस्तारै बानी परेको उनी बताउँछन् ।
“दैनिक चार पाँच समयसम्म कमाउँछु । भाडा पनि तिर्नु पर्दैन । जति कमाउँछु पत्नीको हातमा लगेर राखिदिन्छु र ऊ पनि खुसी हुन्छे”, उनले थपे । “बुझ्नु भो अचेल त ग्राहकहरु राजु कतिबेला हातमा चिया लिएर आउँछ भनेर पर्खन थालेका छन्,” उनले मुस्कुराउँदै भने ।
गाउँघरका साथीभाइ कमाउनका लागि विदेश हिँडेको देख्दा उनलाई दुःख लाग्छ । उनी भन्छन्, “इमानदार भएर काम गर्ने हो भने विदेशमा कमाउने पैसा नेपालमै कमाउन सकिँदो रहेछ । परिवारसँग बस्न पाइने । सुख, दुःख साट्न पनि पाइने किन जानु विदेश ?”

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment