Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

कलाकारका हातमा बेल्चा र गैंती



By  Unknown     2:11 AM    Labels: 
मंगलबार हामी धुर्मुस् सुन्तली फाउन्डेसन पुगेका थियौँ । चर्चित हाँस्य कलाकार कुञ्जना घिमिरे सिन्धुपाल्चोकको गिरान्चौर एकीकृत बस्ती निर्माणको धपेडीमा थिइन् । आर्थिक भौतिक सामग्री आफैँ जुटाउनु पर्दा आइपरेका समस्या उनको अनुहारमा छर्लङ्गै देखिन्थ्यो । तथापि उनी निकै खुसी थिइन् । देश विदेशका शुभचिन्तकहरूको प्रशंसाले उनी पुलकित देखिन्थिन् ।
केही बेरपछि मानव बेचबिखन विरुद्धकी अभियन्ता ईन्दिरा सापकोटा आइन् । “यहाँहरूले निकै राम्रो काम गरिरहनु भएको छ । हामी धेरै खुसी छौँ । यो हाम्रो छोराको जन्म दिनको अवसरमा हामीले प्रदान गरेको सानो सहयोग है ।”
उनले १२ हजार एक सय १० रुपैयाँ थमाइदिइन् र उनीहरूको कामको एकछिन् प्रशंसा गरिन् ।
अहिले उनीहरू आफैँ ढुंगा माटो बोकेर बस्ती बनाउन कस्सिएका छन् । उनी अभिनित टेली शृङ्खला ‘मेरी बास्सै’ प्रशारण भइरहेको छ । त्यसका अलावा चेतनामूलक लघु चलचित्र पनि निर्माण भइरहेका छन् । समाजसेवासँगै उनीहरूको कलायात्रा पनि उत्तिकै रफ्तारमा अघि बढिरहेको छ ।
घिमिरेसँग हामीले केही बेर कुराकानी गर्यौँ । कलाकारितादेखि समाजसेवासम्मको यात्रा उनले यसरी खोलिन् :

० ० ०
ललितपुरको दक्षिणी भेग अर्थात चापागाउँमा भएको हो उनको जन्म । तीक्ष्ण बुद्धि, चञ्चले स्वभाव र नृत्यमा विशेष रुची उनको बाल्यावस्थाको विशेषता नै थियो भन्दा फरक पर्दैन । विद्यालयको अभिभावक दिवस होस् या अन्य कुनै कार्यक्रममा कम्मर मर्काइ हाल्ने स्वभावका कारण स्कूलमा छाप परिसकेको थियो–कुञ्जना राम्रो त पढ्छिन् नै त्यो भन्दा राम्रो नाच्छिन् र पछि गएर नृत्यङ्गना बन्छिन् ।
तर, उनको अर्को स्वभाव थियो । बच्चैदेखि कलाकार बन्ने रहरले औधि गाँजेको थियो उनलाई । बज्रबाराही मन्दिर घर नजिकै भएकाले चलचित्र छायाङ्कन भइरहन्थ्यो । चलचित्र छायाङ्कन भएको सुईंको पाउने बित्तिकै कुञ्जना कुद्दै पुग्थिन र अगाडि टुसुक्क बस्थिन् । कारण थियो– सबैभन्दा अगाडि बसे क्यामेराले खिच्छ र चलचित्रमा आफूलाई पनि देखाउँछ । त्यसो त उनलाई आफू अगाडि बस्दा लाग्थ्यो – मलाई पनि क्यामेरामा बोल्न दिए हुन्थ्यो नि । म पनि त्यस्तै अभिनय गर्न सक्थेँ ।
छायाङकनका क्रममा हुने हल्लाखल्लाले उनको मन उद्धेलित हुन्थ्यो । भीडले घेरिएका कलाकार देख्दा आफू पनि यस्तै कलाकार बन्न पाए हुन्थ्यो लागिरहन्थ्यो । र त, आज चलचित्र छायाङ्कन हुँदैछ भन्ने हल्ला सुन्ने बित्तिकै कत्तिखेर स्कूल छुट्टि हुन्छ र सुटिङ हेर्न जाउँला भन्ने ध्याउन्नमा हुन्थिन् उनी ।
चलचित्रमा ज्यादा लगाव बढ्न थालेपछि उनको पढाइ खस्कन थाल्यो । त्यो भन्दा अघि कक्षामा द्वितीय तृतीय भइरहन्थिन्, बिस्तारै ‘पोजिसन’ घट्न थाल्यो । छोरीको पढाइ खस्कन थालेको देखेर अभिभावक चिन्तित थिए । तथापि राम्रो नाच्छे, कतै कलाकार बनि पो हाल्छे की भन्ने आशा उनीहरूलाई थियो । त्यसो त छोरीलाई ठूलो कलाकार बनाउने इच्छा घरपरिवारमा नभएको होइन । त्यसैले होला उनलाई नाच्नका लागि घरपरिवारले नै हौसला जगाउँथ्यो ।
नयाँ चलचित्र प्रदर्शन हुने बित्तिकै हेर्न कुदिहाल्थिन् । बिदाको समयमा डीभी प्लेयरमा चलचित्रका भीसीडीहरू हालेर हेर्ने र ती चलचित्रका नायिकाहरूले गर्ने अभिनय दुरुस्त ऐनामा उतार्ने कोशिस गर्थिन् । उनमा हिरोइन बन्ने एक किसिमको ‘प्यासन’ थियो ।
चलचित्र ‘सक्कली नक्कली’को सुटिङ भइरहेको थियो । चलचित्रमा शम्भु प्रधान, उनकी श्रीमती नुतन प्रधान, छाेरी ईश्वरी प्रधान र छोराले समेत अभिनय गरेका थिए । उनले सोचिन्–चलचित्रमा अभिनय गर्न त आफ्नै परिवार पो चाहिने रहेछ त ! मेरो परिवारको कसैले फिल्म खेलेको थियो भने मैले पनि मौका पाउँथे कि !
चलचित्र, रेडियो, टेलिभिजनमा अभिनय गर्ने र बोल्ने उनको उत्कट चाहनालाई विद्यालयका शिक्षकले पनि बुझेका थिए । त्यसो हुँदा कक्षा सात मै पढ्दा रेडियोमा बोल्ने मौका पाइन् । नेपाल टेलिभिजनको कार्यक्रममा नृत्य कला प्रस्तुत गर्ने अवसर पनि मिल्यो ।
कक्षा नौमा अध्ययन गर्दै थिइन्, कलाकारिता गर्ने रहर रोक्नै नसक्ने गरि अघि बढिरहेको थियो । उनी चलचित्रमा अडिसन दिन पुगिन् । प्रवेशिका परीक्षा दिएर उज्जवल शैक्षिक बाटो कोर्नु पर्ने छोरी सानै उमेरमा चलचित्रमा हाम फाल्न लाग्दा बाआमाले रोक्नु स्वभाविकै थियो । त्यस्तै कक्षामा बारम्बार अनुपस्थित भइरहने, एसएलसी पनि नजिकिइसकेकाले शिक्षकहरू पनि चलचित्रमा अडिसन दिन पठाउँदैनथे । आमाबाबु तथा शिक्षकको आँखा छलेर उनी अडिसन दिन जान्थिन् । के के पाण्डेको ‘चित्कार’ थियो त्यो चलचित्र । अडिसन पास भएर छायाङ्कन सुरु हुने बेलामा प्रवेशिका परीक्षा आइदियो । उनले त्यो चलचित्रमा अभिनय गर्न पाइनन् । एसएलली प्रथम श्रेणीमा उत्तीर्ण गरिन् ।
अन्नततः आइपुगिन् कलाकारितामा नै
भुपेन्द्र पराजुली रेडियो नेपालमा काम गर्थे । संयोगले पराजुलीसँग उनकी सानीआमाको भेट भएछ । सानीआमा कोटेश्वरमा बस्थिन् । सानीआमाले पराजुलीलाई भनिछिन्– मेरी छोरी पनि तपाइँजस्तै रेडियोमा बोल्ने चाहना गर्छिन् । उनलाई अवसर दिनुहोस् न । उनले रेडियो नेपालमा रेडियो नाटकहरू निर्देशन गर्ने मदनदास श्रेष्ठसँग भेट गराइदिएछन् । त्यो विसं. २०६० सालतिरको कुरा हो ।
बोल्ड र मीठासपूर्ण आवाज । फूर्तिली युवती । स्पष्ट वाक्शैली । उनी छनोट नहुने कुरै थिएन । श्रेष्ठले भ्वाइस टेष्ट लिए । उनी उत्तीर्ण भइन् र रेडियो नाटकहरूमा आवाज दिन थालिन् । नृत्यमा पारङ्गत भएकाले विभिन्न स्टेज कार्यक्रम, लघु चलचित्र आदिमा अभिनयको अवसर पाउन थालिन् । इच्छाको साधना नै हो सफलता, उनको कलाकारिताको डोरेटो निर्माण हुन थाल्यो ।
प्रहरीको ‘समर्पण राष्ट्रको लागि’, नेपाली सेनाको ‘माटोले माग्दैन आफैँले दिनुपर्छ’ लगायत थुप्रै टेलिचलचित्रमा उनले अभिनय गर्ने मौका पाइन् । उनको अभिनय कौशल तिखारिँदै थियो ।
र, भेटिए सीताराम
रेडियो नाटकमा आवाज दिने शिलशिलामा दमन रुपाखेतीसँग कुञ्जनाको बारम्बार भेटभइरहन्थ्यो । रेडियो नेपालबाट प्रशारण हुने रेडियो नाटक ‘दिन प्रतिदिन’ त्यतिबेलाको लोकप्रिय रेडियो कार्यक्रम थियो । त्यसमा कुञ्जनाले पनि आवाज दिन्थिन् । त्यस्तै क्रममा ‘लौन सतायो’ भन्ने ‘डमी’ टेलिसिरियल निर्माणको कुरा उठ्यो । कुञ्जना त्यसमा अभिनय गर्थिन् भने सीताराम कट्टेल (धुर्मुस्) र केदार घिमिरे (माग्नेबूढा) निर्माण नियन्त्रकको रूपमा थिए । सीतारामसँगको उनको पहिलो भेट त्यहीँ भएको हो । पछि त्यो टेली चलचित्र पास भएन र प्रशारण पनि भएन । लगत्तै उनीहरूले पुनः अर्को हाँस्य टेलिचलचित्र ‘मेरी बास्सै’ निर्माण सुरु गरे । सीतारामसँगको सहकार्य नियमित रूपमा अघि बढ्यो ।
यसरी कसियो लगन गाँठो
जीवन नसोचेकै परिघटनाको संगालो हो । त्यस्तै भयो कुञ्जना घिमिरेको जीवनयात्रा पनि । कलाकार बन्छु भन्ने त सानैदेखि थियो तर उनलाई डोर्याउने कोही भएन । उनका आफन्त नाता गोताका मानिसहरू चलचित्रमा उद्योगमा थिएनन् । कलाकार बन्ने तीव्र चाहनाका कारण विभिन्न ठाउँमा पुगिन् । अभिनय गरिन् । आवाज दिइन् । त्यस्तैमा भेट भएको थियो सीताराम र केदारसँग ।
संघर्षको हद पार गरेका आएका सीताराम र केदार कामप्रति अत्यन्त लगाव राख्थे । त्यसबाट अत्यन्त प्रभावित थिइन् कुञ्जना । मेरी बास्सैमा धुर्मुस्–सुन्तलीको जोडी जम्दै थियो । आम दर्शकले सीताराम र कुञ्जनालाई धुर्मस् र सुन्तलीको रूपमा चिन्न थालिसकेका थिए । अभिनय यात्राकै दौरानमा मेरी बास्सैको टीमले घुमाउरो पाराले या कतिपय अवस्थामा सिधै जिस्क्याउन थालिसकेको थियो–कुञ्जना, सीताराम पनि संघर्ष गरेरै आएका हुन् । कामप्रति इमान्दार छन् । तिमीहरू बिहे गरेर सँगै यात्रा अघि बढाए हुन्छ ।
तर, भर्खर कलाकारिता यात्रा प्रारम्भ भएकाले उनले त्यतातर्फ ध्यानै दिइनन् । उनीहरूको कुराकानीलाई केवल ‘ठट्टा’को रूपमा बुझिन् । त्यसो त सीतारामले पनि विभिन्न वहानामा प्रेम प्रकट गरिरहेकै हुन्थे । कहिले काँही कुञ्जनाले आफ्नो कुरा नसुन्दा भावनात्मक हिसावले आकर्षित गर्न खोज्थे । संघर्षका हिस्सा थिए सीताराम । त्यसैले उनले आफ्ना दुःखको किस्साहरू सुनाउँथे तर कुञ्जना ठीक उल्टो थिइन् । उनी भन्थिन्–जीवन संघर्षकै आयाम हो । त्यसभन्दा पर रहेर सुखको परिकल्पना गर्नै सकिन्न । फेरि विगत सम्झेर दुःखी र निराश बनिरहने हो भने सुखद् भविष्यको कल्पना कसरी गर्न सकिन्छ ?
भावनात्मक हिसावले अत्यन्त नजिक थिए उनीहरू । दुवै तर्फको परिवारमा आउजाउ पनि हुन्थ्यो । मेरी बास्सै छायाङ्कनकै क्रममा धेरैपटक सीताराम कुञ्जनाको घरमा पुगेका थिए । आमाबाबुसँग कुरा पनि गर्थे । दुवैले एकअर्कालाई निकै सघाउँथे पनि ।
सीतारामको मनमा मायाको अङ्कुरण झांगिइसकेको थियो । तर, कुञ्जनाको ध्यान अभिनयमा ज्यादा भएकाले प्रेम या विवाहपट्टि ध्यानै थिएन । त्यसैले उनी सीतारामलाई सम्झाउँथिन्– हामी सँगै छौँ । भावना आदान–प्रदान भइनै रहेको छ । काम गर्दै जाने क्रममा एक अर्काको मन मिल्यो भने विवाह गर्नु कुनै ठूलो कुरा पनि होइन । यसबारे अहिले नै निर्णय नलिइ हालौँ । सीताराम त्यसमा राजी भएका थिए ।
कक्षा आठमै पढ्दा दिदीको विवाह भइसकेको थियो । उनले परिवारको जिम्मेवारी आफ्नो काँधमा आएको महसुस गरेकी थिइन् । त्यसकारण पनि विवाह गरिहाल्ने मनस्थिति बनाएकी थिइनन् । हुर्किएकी छोरी चेली प्रति अभिभावकको चिन्ता प्रकट हुनु स्वभाविकै थियो, एक दिन बाबुले भने–छोरी अब तिम्रो विवाह गर्नु पर्छ । तिमी तयार छैनौँ भने म घरको तला थप्छु ।
कलाकारिता यात्राले बिस्तारै उचाइ लिइरहेकाले उनको विवाह गर्ने सोच थिएन । उनले बाबुलाई घरको तला नै थप्न भनिन् ।
विसं.२०६५ को दसैंमा सीताराम घर गएका थिए । त्यहाँ उनले ज्योतिषसँग विवाहबारे सल्लाह मागेछन् । ज्योतिषिले भनेछन्–यो सालको मंसिर १४ गते तिम्रो विवाहका लागि उपयुक्त लगन हो । तिमीले मन पराएको केटीको लग्न र तिम्रो लग्नको राम्रो योग मिलेको छ । यो लगन गुमाउँनु हुँदैन ।
त्यसपछि सीतारामले तत्काल कुञ्जनालाई फोन गरेछन् र बेलीविस्तार लगाएछन् । कुञ्जना छाँगाबाट खसेजस्तो भइन् । उनले विवाहबारे केही सोचेकै थिइनन् । घर परिवारलाई पनि बिहे नगर्ने भनेर घरको तल्ला थप्न लगाइसकेकी थिइन् ।
सीतारामले फोन गर्दा आमा नजिकै थिइन्, उनले आमालाई सबै कुरा भनिन् । केही बेर आमाबाबुले सल्लाह गरे । भर्खर कलाकारितामा अघि बढ्दै गरेकी छोरीको विवाह गर्दा भोलि उसलाई समस्या पर्ला कि आमाबाबुको चिन्ता देखियो । आमाबाबुले उनलाई केही भनेन्, आमाबाबुको मन न हो, उनीहरूको अनुहारमा देखिएको त्यो भाव उनले सजिलै बुझिन् ।
सीतारामको घर परिवारको बारेमा उनका बाबाआमा जानकार नै थिए । परिवार ठूलो थियो । पाँच जना छोराछोरी, बाआमा र हजुरआमा समेत गरी आठ जनाको परिवार थियो । जेठी बुहारी बनेर जाँदै थिइन् कुञ्जना । स्वभाविक हिसाबले घर परिवारप्रति जेठो बुहारीको दायित्व बढी हुन्छ । त्यसमै चिन्तित थिए कुञ्जनाको आमाबाबु ।
कुञ्जना र सीताराम दुवैजना मिलेर ‘कन्भिन्स’ गरे । कुञ्जनाले भनिन्–केटा मैले रोजेँ, विवाह यहाँहरूले रोज्नुहोस् । आमाबाबुले आँगन पोलेरै विवाह गर्ने इच्छा देखाए । त्यही सालको मंसिर १४ गते नै सीतारामसँग उनको लगनगाँठो कसियो ।
० ० ०
‘मेरी बास्सै’मा दुवै जनाको अभिनय जम्न थाले पछि थुप्रैले अड्कल काटे– सीताराम र कुञ्जना दम्पती नै हुन् । त्यस्तै केहीले भन्थे–यिनीहरूको विवाह गरिदिए नि हुन्थ्यो । कतारको कार्यक्रममा जाँदा रमाइलो घटना घट्यो । त्यहाँको कार्यक्रम आयोजकले अरु कलाकारका लागि छुट्टाछुट्टै कोठाको प्रवन्ध गरिदिएका रहेछन् तर सीताराम र कुञ्जना विवाहित नै हुन् भनेर एउटै कोठामा सुत्ने व्यवस्था मिलाइ दिएछन् ।
त्यसो त दर्शकले पनि भन्थे–तपाईँहरू सँगै भएको हेर्न चाहन्छौं । त्यसैले उनी भन्छिन्–अहिले हामी कलायात्रामा मात्रै नभएर जीवनमै जोडिनुको पछाडी तिनै दर्शकको माया र आशीर्वाद हो ।
केदार घिमिरेसँगको सम्बन्ध
सीतारामजी र केदारजी दुवै संर्घषका उपमा हुन् । कामभन्दा दोश्रो उनीहरूको स्वार्थ छैन । पछिल्लो समय ‘मिडिया हब’को कारण हामी ‘मेरी बास्सै’मा सँगै नदेखिएका हौं भन्छिन् कुञ्जना । त्यसो त मिडिया हब घाटामा गएपछि केदार घिमिरे आफैंले ‘मेरी बास्सै’ अगाडि नबढाऔं भनेका थिए रे । तर, दर्शकसँगको नाता टुटाउन नचाहेकाले सुख दुःख जे गरेर भए पनि ‘मेरी बास्सै’ अगाडि बढाएको कुञ्जनाको तर्क छ ।
उनी भन्छिन्–काम गर्ने शिलशिलामा मन मुटाव नहुने होइन, उमेर जोश र कतिपय अल्पज्ञानले तिक्तता उत्पन्न पनि हुन सक्छ । तथापी हामीबीच त्यस्तो कुनै कुरा छैन जसले दूरी पैदा गरोस् र भावनात्मक सम्बन्धमा आघात पुर्याओस् ।
आइपुग्यौं समाजसेवामा
नेपालमा उत्तरी गोरखाको बारपाक केन्द्रविन्दु गरी ७.८ रेक्टर स्केलको भूकम्प जाँदा सीताराम र कुञ्जना अमेरिकामा थिए । सरसफाइ दूत समेत भएकाले उनीहरू राजमार्ग सफा राख्न ‘राजमार्ग शौचालय’को एजेन्डा बोकेर अमेरिकामा प्रस्तुति देखाउन पुगेका थिए । उनीहरूलाई सघाएका थिए, नेपाली र नेपालभाषी भुटानी समूदायले ।
सेन्टलुइसमा कार्यक्रम सकेर रातको १२ बजे कोठामा पुगेर निदाउन के आँटेका थिए कुञ्जनाको मोबाइलको घन्टी बज्यो । त्यतीबेला बिहानको २ः४५ बजेको थियो । फोन अस्ट्रेलियामा बस्ने उनकी बहिनीले गरेकी थिइन् । त्यसै गरेकी होलिन् भनेर सुरुमा त उनले वेवास्ता गरिन् तर पुनः घन्टी बजेपछि उनले फोन उठाइन् । बहिनीले अत्ताल्लिएको स्वरमा सुनाइन्–नेपालमा ठूलो भूकम्प गयो । धरहरा, बसन्तपुर, हनुमान ढोकालगायत सबै सम्पदा भत्कियो । थुप्रै मानिस मरेका छन् । उनी ‘सक’ भइन् ।
उनीहरूले अमेरिका जानुभन्दा एकमहिना अगाडि मात्र भूकम्प सम्बन्धि जनचेतना जगाउन मेरी बास्सैमा एउटा भाग तयार पारी प्रशारण गरेका थिए । यही अवस्थामा भूकम्प गए काठमाडौंमा ठूलो जनधनको क्षति हुन्छ, उनले सुनेकी थिइन् । उनले सोचिन्– ठूलो भूकम्प गयो, नेपाल सकियो ।
तत्कालै आमाबाबुलाई सम्पर्क गर्न खोजिन् । लाख कोशिस गर्दा पनि सम्पर्क हुन सकेन । त्यसपछि उनी आत्तिइन् । उनले तत्कालै पशुपति शर्मा, प्रमोद खरेल, सीतारामलाई उठाइन् । उनीहरू पनि आत्तिए । टीभी खोलेर हेर्दा जताततै त्यही दृष्य देखिन्थ्यो । भत्किएका र खण्डहर र त्यहाँबाट निकाल्दै गरेका मानिस बाहेक अरु कुनै दृष्य देखाइएनन् । उनी रुन थालिन् ।
दुई घन्टापछि त्यही बहिनीको सहयोगमा बल्ल घरमा कन्ट्याक भयो । छोरीको अवाज सुनिन्, उनको मन केही हल्का भयो । आवाज त सुनियो तर शरीरमा केही चोटपटक छ कि मनमा चिन्ता रहिरह्यो ।
त्यसको भोलिपल्ट सेन्टलुइसबाट सिराकोस जाने कार्यक्रम थियो । नेपालमा तेत्रो घटना घटेपछि उनीहरूले कार्यक्रम देखाउने अवस्था थिएन । तर, आयोजकले हवाइ टिकटदेखि हलबुकसम्म गरिसकेकाले उनीहरूलाई ‘कन्भिन्स’ गराउनु पर्ने भयो । उनीहरूले आयोजकलाई आग्रह गरे–अर्को पटक आएर कार्यक्रम गर्छौं । नेपालमा भूकम्प गएर ठूलो जनधनको क्षति भएकाले हामी अब प्रस्तुति देखाउन सक्दैनौँ ।
भोलिपल्ट उनीहरू सिराकोस गए । हलमा खचाखच भरिएका दर्शकहरू उनीहरूकै प्रतीक्षामा थिए । उनीहरूले त्यहाँ रहेका भुटानी दर्शकहरूलाई आग्रह गरे–नेपालमा भूकम्प गएकाले हामी प्रस्तुति देखाउन असमर्थ छौँ । एकछिन् सन्नटा छायो । उनीहरूले पनि भने–तपाईंहरू नेपाल फर्कनुहोस् र त्यहाँका पीडितहरूको सेवामा लाग्नुहोस् ।
उनीहरू नेपाल फर्के ।
० ० ०
त्रिभुवन विमानस्थलमा अवतरण गरेपछि उनीहरूले सबैकुरा दुरुस्त देखे । घरहरू पनि भत्किएका थिएनन् । सरासरमा उनी माइत गइन्, त्यहाँ उनकी डेढ वर्षे छोरी थिइन् । छोरी सकुशल देखेपछि छोरीलाई अंगालोमा बेरिन् र खुसीको स्वास फेरिन् ।
केही बेरपछि आमातर्फ ध्यान गयो उनको । वैशाखको धुपमा आमा सिरक ओढेर बसिरहेकी थिइन् । उनलाई आश्चर्य लाग्यो । आमाको भूकम्प जाँदा दराज ढलेर करङको छ वटा हड्डि भाँचिएको रहेछ । उनले धेरै बेरपछि थाहा पाइन्, उनलाई थक्कथक्क लाग्यो–कस्ती म ! पहिला आफ्नै छोरीलाई अंगालो मार्न पुगेँ । माया त उँधो पो बग्दो रहेछ !
भूकम्पले दक्षिणी ललितपुर ध्वस्त बनाएको थियो । चापागाउँ पनि अछुतो थिएन । मानिसहरू घरबाहिर बसिरहेका थिए । उनलाई माइती गाउँको असाध्यै माया लाग्यो । उनले भनिन्–एउटा लामो टहरो बनाइदिन्छु, सबै त्यहीँ बस्नुहोस् । माइतीहरू तयार भएनन् र भने–यहाँ बनाउने पैसाले अन्तै राहत देऊ, हामीभन्दा पीडित अरू नै छन् । उनलाई पनि लाग्यो– मेरो माइती गाउँ बनाउन अरू आउलान् म अ अर्कै गाउँ बनाउँछु ।
भूकम्पको पीडा चौतर्फी थियो । उनीहरूले अमेरिकामा साढे सोह्र लाख रकम जम्मा गरेका थिए ।
नेपाल फर्किए लगत्तै राहत वितरणलाई तीव्रता दिए । त्यही शिलशिलामा उनीहरू सिन्धुपाल्चोकको पिपलडाँडामा पुगे । दाल चामलभन्दा त्यहाँका मानिसहरूले शौचालय बनाइदिन आग्रह गरेपछि उनीहरूले दश वटा शौचालय बनाए । त्यसपछि उनीहरूले विद्यालय पनि बनाए ।
शौचालय र विद्यालय निर्माणपछि उनीहरूको दिमागमा आयो–एकीकृत बस्ती निर्माण गर्ने ।
ठाउँ छनोट गरे, काभ्रेको पहरी गाउँ । भूकम्पबाट प्रताडित अति विपन्न बस्ती थियो त्यो । एकीकृत बस्ती बनाउन सुरुमा उनीहरूले अनुमान गरे–२० घर बनाउन त्यस्तै १५/२० लाख लाग्ला । तर, खर्च अनुमानित गरे भन्दा निकै बढी भयो ।
झन्डै घर बेचिएन
सीताराम र कुञ्जनाले एकीकृत बस्ती बनाउने भनेपछि व्यापक चर्चा भयो तर अपेक्षाकृत पैसा उठेन । बस्ती निर्माण गर्न पहरी गाउँमै बसेकाले हल्लाखल्ला पनि गर्न पाएनन् । यता दैनिक ४० हजार जस्तो खर्च हुने तर पैसा नउठ्ने भएपछि उनीहरू समस्यामा पो परे ।
पैसा सकिन थालेपछि सीताराम घोत्लिएर बसेका थिए । कुञ्जनाले उपाय पहिल्याइन–घर बेच्ने ।
दुई तल्लाका घर थियो । बेचेर आधा एकीकृत बस्तीमा हाल्ने र बाँकी पैसाको एकतले घर बनाउने सोच कुञ्जनाको थियो । उनको कुरामा सीताराम सहमत भए । त्यसपछि त्यो खबर मिडियामा ल्याए ।
देश विदेशबाट फोनका घन्टी बज्न थाले । उनीहरूको कामको सराहना भइरहेको थियो । प्रशंसकहरूले भने–नबेच्नुहोस् घर हामी सघाउँछौं । तपाईँहरू सडकमा आएको हेर्न चाहँदैनौँ । पैसा उठ्न थाल्यो, साढे ६७ लाख लागतमा पहरी बस्ती निर्माण भयो ।
एक वर्षसम्म प्रशंसा भयो तर कसैले पछ्याएनन्
एकीकृत बस्ती निर्माण पछि उनीहरूको उचाइले आकाश छोयो । देशव्यापी चर्चा परिचर्चा भयो । सर्वसाधारणदेखि प्रधानमन्त्रीसम्म पुगेर अवलोकन गरे तर एक वर्षसम्म पनि उनीहरूलाई कसैले पछ्याएनन् । हाम्रो जस्तो “देशमा एकीकृत बस्ती कति आवश्यक भनेर भूकम्पले कान समाएर पाठ पढाएको छ तर त्यसको अनुभूत अझै हुन सकेको छैन”, उनले भनिन् ।
अर्काको प्रशंसा र आलोचना गर्ने तर आफैँ अगुवाई नगर्ने परिपाटी बिग्रएको हो भन्छिन् कुञ्जना । त्यसैले उनीहरू पाँच करोडको अनुमानित लागतमा
सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८को गिरानचौरमा पुनः एकीकृत बस्ती निर्माणको काम सुरु गरेका छन् । देश विदेशबाट सहयोग आउने क्रम जारी छ । यद्यपी त्यो अपर्याप्त छ । अहिलेसम्म ४० लाख जम्मा भएको छ । ६५ घर धुरी निर्माण थालिएकाले लागत रकम अझै बढ्न सक्ने उनीहरूको अनुमान छ । त्यसैले उनले आग्रह गरिन्–हामी राष्ट्र निर्माणमा सरिक भएका छौँ । बिन्ती साथ र सहयोग दिनुहोस् ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment