काठमाडौं । नारायणहिटी संग्रहालयको उत्तरपट्टि एउटा पुरानो बस्ती छ, रजकहरूको । यद्यपी घरहरू सबै नयाँ बनिसकेका छन् । कोही अग्ला, कोही मझौला, कोही भुईँ तल्ले, यस्तै । बिचमा सतल र महादेवको मन्दिर पनि छ ।
स्थानीय हरि रजक भन्छन्, “यो शक्तिपिठ हो, स्वस्थानीको ब्रतकथामा उल्लेख भएअनुसार शतिदेवीको फोक्सो पतन भएको ।” त्यसका अलावा इन्द्रजात्राको तेस्रो दिन यहाँ ठूलो मेला पनि लाग्छ ।
“बुद्ध पूर्णिमाको दिन पनि विशेष मेलाको आयोजना हुन्छ”, अर्का युवकले सुनाए ।
सतलमा पूरै डोरी टाँगिएको छ । डोरीमाथि लस्करै लुगा सुकाइएको छ । अस्पताल र होटल रेष्टुराँका जस्ता लाग्ने सेता र हरिया कपडाहरूले टोल झिलिमिली देखिन्छ । तर, यो एकाध देखिइरहने दृष्य होइन । यहाँ यसरी लुगा सुकाउन थालिएको कति भयो त्यहाँका कसैलाई पनि यकिन छैन । लुगा धोएर सुकाउनु र त्यसैबाट जीविकोपार्जन त्यहाँका बासिन्दाहरूको मुख्य ‘कर्म’ बन्दै आएको छ ।
बिहानको सवा आठ बजेको छ । टोलका मानिसहरू कोही बाल्टी, कोही बाटामा भरिभराउ लुगा बोकेर चौरी (अहिले ढुंगा छापेर सत्तल बनाइएको छ) मा भेला भइसकेका छन् । लुगा सुकाउन आउनेमा महिलामात्रै छैनन्, पुरुष पनि उत्तिकै छन् ।
कानमा मुन्द्रा लगाएका, हेर्दा खाइलाग्दा ती युवकले अरूको भन्दा बढी नै लुगा बोकेका छन् । १५/२० मिनेटभित्रै उनले करिब सय जोर लुगा सुकाउन भ्याए ।
आकाशतिर हेरे र लामो स्वास फेर्दै भने, “धेरै दिनपछि आज त घाम लाग्ला जस्तो छ ।”
उनीसँग कुरा गर्न सुरु गर्दा फ्याट्टै भनिहाले, “हाम्रो पेशाको पनि समाचार बन्छ र ! आजसम्म कोही सोधखोज गर्न आए जस्तो लाग्दैन,” उनले गुनासो सुनाइहाले ।
० ० ०
धोवीचौरलाई हिजोआज कैलाशचौर पनि भनिन्छ । कैलाशचौर क्षेत्रमा मात्रै लुगा धोएर जीविकोपार्जन गर्ने रकज परिवारको संख्या झन्डै दुई सय छ । उनीहरू कहिलेदेखि यस्तो काममा आवद्ध भए त्यसको यकिन तथ्यांक र उल्लेखित इतिहास छैन । हिन्दू धर्म ग्रन्थमा उल्लेख भएअनुसार, रावणले सीता हरण गरेर लैजाँदा अरू कसैले देखेको बताएनन् । तर, लुगा धोइरहेको धोवीले देखेको बताएका कारण भगवान् रामले सय जोर लुगा धुँदा एकजोर बढी पाउन् भन्ने बरदान दिए बाहेक यो जाती र पेशासँग जोडिएको अर्को कुनै किम्बदन्ती र किस्सा पनि छैन ।
लुगा धुने उनीहरूको पेशा नै हो । त्यसो त उनीहरू खेतीकिसानी पनि गर्छन् । तर, खेतीकिसानीबाट भन्दा उनीहरूको घरगृहस्थी लुगा धोएरै चलेको छ ।
ती युवकको नाम हो रिजेन रजक । सात वर्षकै उमेरदेखि नै लुगा धुन थालेका हुन् उनले ।
“बाबुबाजे र आमाहरूले धोएको देखेर लुगा पछार्न सिकेँ, पुर्ख्यौली पेशा भएकाले नधोइ धर थिएन,” उनले सुनाए ।
सुरुमा लुगा धुन सजिलो थिएन । त्यसो त लुगा लिन पनि घरघर पुग्नु पर्थ्यो । पैसा नहुने भएकाले अन्नपात ज्यालामा पनि लुगा धुनुपर्थ्यो । नारायणहिटी पछाडी भएकाले राजामहाराजा र तिनका नातेदार तथा राणा परिवारकासमेत लुगा धुन्थे उनीहरू । जस्तोसुकै उच्च ओहोदाका मानिसहरूको लुगा धोए पनि भनेजस्तो पैसा भने पाउँदैनथे ।
“मोहन शमसेरको परिवारको लुगा त अहिले पनि धोइरहेका छौँ,” रिजेनले बताए ।
सानो हुँदा एक जोर लुगा धोए बापत उनले एक/दुई रुपैयाँ पाउँथे । अहिले बढेर ५० देखि १०० रुपैयाँसम्म पुगेको छ तर दुःख उस्तै छ । त्यसो त उनीहरूले मात्रै लुगा धुने भन्ने पनि छैन । विभिन्न ‘ड्राइ क्लिनर्स’ र उनीहरू भन्दा बाहेकका समूदायले पनि त्यसैलाई पेशा बनाउन थालिसेका छन् । र पनि उनीहरूले नै बढी काम पाउँछन् भन्छन् रिजेन ।
“पुर्ख्यौली पेशा भएकाले पनि होला हाम्रै समूदायका मानिसहरूले लुगा धुने काम बढी पाउँछन्,” उनले थपे ।
पहिलाको तुलनामा लुगा धुन पनि सजिलो छ । अहिले विभिन्न मेसिनहरू निर्माण भइसकेका छन् जसबाट १०/१५ मिनेटमै लुगा सफा र चम्किलो तुल्याउन सकिन्छ । विभिन्न केमिकल, साबुन, सोडा प्रयोग गरेर जस्तौसुकै मैलो लुगा धुन पहिलेजस्तो गाह्रो बेहोर्नु पर्दैन ।
“घर परिवारले प्रयोग गरेका मैलो र पुराना कपडाहरू आउँथे,” ढुंगेधारामा पालो कुरेर एकजोर कपडा धोएर तयार पार्न एकहप्ता जति समय लाग्थ्यो । अहिले त १०/१५ मिनेटमै लुगा धुन सकिन्छ,” उनको त्यतिबेलाको क्षण स्मरण गरे ।
सुरुमा लुगा धुन निकै गाह्रो थियो । मैलो र पुराना लुगाहरूलाई सोडामा ढड्याएर घाममा सकाउनु पर्थ्यो । त्यसलाई ढुंगे धारामा लगेर चुट्ने र साबुनले धोइ पखाली गरिन्थ्यो । सेतो कपडालाई अझै चम्किलो बनाउन खरी (एक किसिमको ढुंगा) समेतको प्रयोग हुन्थ्यो । बिहानैको शीतमा राखेर काठको मुंग्रोले लुगाको धार मिलाउनु पर्थ्यो । अहिलेजस्तो आइरन (इस्त्री) गर्ने चलन आइसकेको थिएन ।
राजा त्रिभुवन हुँदै थुप्रै राणा खानदानको लुगा धोएको छ रिजेनको पुर्खाले । पछिल्लो समय व्यक्तिको घर परिवारको लुगा धोएर मात्र हातमुख जोर्न नपुगेपछि विभिन्न होटलहरूको लुगा धुने जिम्मा लिएको उनी बताउँछन् ।
लुगा धुने(लन्ड्री) पेशा निकै व्यस्थित र व्यवसायउन्मुख पनि हुँदै गएको छ ।
अहिले उनले झन्डै १०/१२ जनालाई लुगा धुने, लुगा मिलाउने, पट्याउने काममा रोजगारी दिएका छन् । त्यसले केहीको घरमा चुल्हो बलेको छ । तर, काम गर्न अहिले पनि सजिलो छैन । बरु गाह्रो बन्दै गएको छ । भनेको बेलामा बत्ती नआउने, पानी नपाइने, लुगा सुकाउने ठाउँको अभाव हुनेलगायत अनेकन समस्या बेहोर्न बाध्य छन् उनीहरू ।
त्यसका अलावा काम गरेर खाँदा पनि उपेक्षाको नजर र हेय भावले हेर्नेहरू घटेका छैनन् । लुगा धुने ‘धोवी’ ठान्दा उनीहरूको मन कुँडिन्छ ।
समाजमा सफा भनिएकाहरूको फोहोर र दुर्गन्धित लुगा धोएर सफेद तुल्याउँछन् । उनीहरूले मैलो पखालिदिएका लुगा लगाएर नै उनीहरू ‘सुकिला’ देखिएका हुन् भन्दा फरक पर्दैन ।
जुनसुकै पेशा र कर्मको पनि आफ्नै इज्जत र प्रतिष्ठा हुन्छ । अझ लुगा धुने त उन्नत पेशा हो भन्छन् रिजेन । “पहिलाजस्तो उँचनिच भन्ने जमाना पनि गइसक्यो,” उनले जोड दिए, “सबैले आआफ्नो काम गरेर खाने हो ।”
छेवैमा एकजना बृद्ध थिए । पाका जस्ता देखिने ती पुराना दिन स्मरण गरे, “पहिला यो काम गर्दा निकै हेय भावले हेरिन्थ्यो, यिनीहरू लुगा नै धुन जन्मिएका हुन् जस्तो !”
“हातको छाला खुइल्याएर लुगा धोएर साहू महाजनकहाँ पुर्यायो पैसा दिने बेलमा मुख खुम्च्याउँथे”, उनले त्यसबेलाको दुःख सम्झिए ।
उनले अगाडि भने, “लुगा धोएर खान पुग्दैनथ्यो । सधैँभरी लुगा पनि आउँदैनथ्यो । लुगा नआएको दिन त भोकै सुत्नु पर्थ्यो । खेतीकिसानी गर्न जग्गा प्रशस्त जमिन थिएन ।”
त्यसो त बेला बखत आउने हावा हुरीको भुमरीले लुगा उडाएर कहाँ पुर्याउँथ्यो । हरायो भनेर किनेरै बुझाउनु पर्ने । “पहिला पहिला त यहाँको लुगा उडाएर नारायणहिटी राज दरबारसम्म पुर्याउँथ्यो”, उनले सुनाए ।
अहिले यो पेशा पनि निकै प्रतिस्पर्धात्मक बनिसकेको छ । त्यसो त व्यवसायको दायरा पनि फराकिलो भएको छ । विभिन्न होटल, रेष्टुराँ, स्कुल, अस्पताल, होस्टल, व्यक्तिका घर उनीहरूको लुगा आउने मुख्य स्रोत हो । प्रतिष्पर्धाले गर्दा कम दरमै लुगा धुनेहरूको दौड चलेकाले काम गर्न सजिलो नभएको उनको ठम्याइ छ ।
उपत्यकामा यस्ता पेशामा आवद्ध हुनेहरूको संख्या धेरै छैन । धोवी चौर, लैनचौर, क्षेत्रपाटी धोवीचौर, ढल्को, तम्सिपाखा, पाटन धोवीघाट लगायतका ठाउँमा रजक बस्दै आएका छन् । त्यहाँका बासिन्दाको मुख्य पेशा नै यही हो ।
लुगा धुनका लागि विभिन्न उपकरणहरू निर्माण भइसकेका छन् । लुगा धुने (वासिङ) मेसिनलाई बजारमा डेढलाख रुपैयाँ पर्छ । त्यस्तै निचोर्ने (ड्राइ) मेसिनलाई ४०–५० हजार रुपैयाँसम्म पर्छ । र, अधिकांशले यो पेशालाई व्यवसाय नै बनाइसकेको रिजेनको भनाइ छ ।
No comments:
Post a Comment