Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

बोलेरै हिट



By  Unknown     1:27 AM    Labels: 

कोही मान्छे बोल्नकै लागि जन्मिन्छन् । बोलेरै मान्छेको मनमा ‘राज’ गर्छन् । अनुहारको भावभंगिमाबाट बाहिर निस्किने हो भने कतिपय यस्ता आवाज भेटिन्छन्, जसलाई सुनिरहूँ जस्तो लाग्छ ।

अच्युत घिमिरे प्रकृतिका त्यस्तै उपहार हुन्, जो बोल्नकै लागि जन्मिए, बोलेर मुग्ध पार्नकै लागि आफूलाई हुर्काए ।

बोल्नेको पीठो पनि बिक्छ भन्ने उखान कतिपय बोल्नेकै लागि ‘फिट’ हुँदैन । यो उखानको उत्पत्ति र यसले दिने अन्तर्यबारे जसले जेसुकै अर्थ लगाओस्– अच्युत बोल्छन् र त बिकेका छन् । उनी सुनिन्छन् मात्रै, देखिँदैनन् कतै । यसकारण अच्युत घिमिरे एउटा आवाजमात्र हो ।

० ० ०

उनको बाल्यकाल औसत बालबालिकासरह बित्यो । काठमाडौंमा जन्मे–हुर्केकाले खासै अभाव र दुःख झेल्नु परेन । पढाइमा पनि उनी निकै अब्बल थिए । बाल्य र किशोरावस्था पढाइलेखाइमै बित्यो । घरायसी काममा पनि उत्तिकै पोख्त थिए । काँठ क्षेत्रमा जन्मिएकाले परिवार खेती–किसानीमै निर्भर थियो । माटोको स्वाद र गन्ध उनले थाहा नपाउने कुरै भएन ।

सानो छँदा ‘पत्रकारिता पनि पेसा हुन्छ ? लेखेर, किताब पढेर पैसा कमाइन्छ ?’ भन्ने लाग्थ्यो । रेडियोमा बोल्ने पनि काम हुन्छ र ? भन्ठान्थे उनी । त्यसैले होला– आम बालकसरह उनको मनमा पनि थियो– राम्रो पढें भने इन्जिनियर बन्छु ।

भीडभाडमा बोल्न उनलाई निकै धक लाग्थ्यो । झन् स्टेजमा चढेर बोल्ने भनेपछि त लगलग काँप्थे ।

रेडियोसँगको नाता
उनी कक्षाका प्रथम विद्यार्थी थिए । एसएलसी दिइसकेपछि उनले आफूसँगै पढेर फेल भएका साथीभाइ र एक ब्याच तलका विद्यार्थीलाई घरमै ट्युसन कक्षा पढाउँथे । ट्युसन पढ्न आफूसरहका मात्रै होइन, ठुल्ठूला विद्यार्थी पनि आउँथे । तीमध्ये एकजना शास्त्रीय संगीतका विद्यार्थी पनि थिए । उनी राम्रो बाजा बजाउँथे । शम्भु योञ्जन थियो उनको नाम । कसैकसैले उनलाई लालवीर योञ्जन पनि भन्थे । उनी नेपालका एकमात्र समयवादक मदनदेव भट्टका शिष्य थिए ।

सांगीतिक प्रस्तुति देखाउन जाने क्रममा उनले एउटा सूचना पढेका रहेछन् । यो विसं. ०५५ तिरको कुरा हो, त्यतिबेला काठमाडौंको तीनचुलेमा एचबीसी एफएम सञ्चालनमा आउन लागेको थियो । उपत्यकाको त्यो पाँचौं एफएम थियो ।

ट्युसन पढ्ने विद्यार्थीहरूले उनको आवाजको प्रशंसा गर्थे । उनीहरुले अच्युतलाई भने, “सर तीनचुलेमा रेडियो खुल्दैछ रे ! तपाईंको बोली यति मीठो छ, दरखास्त हाल्नुस् न !”

उनलाई आफू मीठो बोल्छु भन्ने लाग्दैनथ्यो । फेरि के, कसरी बोल्ने पनि थाहा थिएन । उनले तत्कालै जवाफ फर्काए, “ह्या जान्नँ । मलाई लाज हुन्छ । बोल्नै आउन्न ।”

तर, शम्भु मान्नेवाला थिएनन् । बलियो पनि थिए उनी । जबर्जस्ती तानेरै लगेर फर्म फराए । त्यसको झन्डै नौ महिनापछि नतिजा प्रकाशन गरियो । क्लाउडियो रक्की भन्ने इटालियन नागरिक प्रोजेक्ट म्यानेजर थिए । रक्कीले नै उनलाई छनोट गरे । ६ सय जनाले दरखास्त हालेका थिए । तीमध्ये १०५ को नाम ‘सर्ट लिस्ट’मा पर्यो । अन्तिममा तीन जना बोलाइयो । त्यसमध्ये उनी पनि परे ।

कुवेर चालिसे र देवेन्द्र भट्टराईसँगै उनको पनि नाम निस्किएको हो त्यतिबेला । चालिसे र भट्टराई अहिले पनि पत्रकारिता क्षेत्रमै सक्रिय छन् ।

काठमाडौं आसपासका जिल्लामा एचबीसीको राम्रो छाप बसिसकेको थियो । उनले त्यहाँ पत्रकारिताभन्दा पनि रेडियो कार्यक्रम उत्पादनमा भिज्ने र खारिने मौका पाए । त्यसलाई उजिल्याउन भूमिका खेलेका थिए इटालियन नागरिक रक्कीले । उनलाई नेपाली भाषाको राम्रो ज्ञान थिएन तर पनि कार्यक्रमको गुणस्तरीयतामा विशेष चासो राख्थे । भाषा अनुवाद गर्न लगाएरै भए पनि कार्यक्रमको स्तर नाप्थे ।

त्यतिबेला रेडियो कार्यक्रमलाई कसरी राम्रो बनाउन सकिन्छ भन्नेमा उनीहरूको विशेष ध्यान जान्थ्यो । रक्की करिब तीन वर्षजति बसे । उनले छाडेपछि त्यो ठाउँमा आए हरिशरण लामिछाने । उनी आएपछि एचबीसी समाचारको रफ्तार उत्तिकै अघि बढ्यो ।

र, जन्मियो ‘कथावाचन’
रक्की प्रोजेक्ट म्यानेजर हुँदा नयाँ–नयाँ ढाँचाका कार्यक्रम ल्याउन आग्रह र अभिप्ररित गरिरहन्थे । अच्युतले विभिन्न कार्यक्रमको प्रस्ताव लगे । जुन प्रस्ताव लगे पनि ‘परम्परागत’ भयो भन्दै रक्कीले अर्को प्रस्ताव तयार पार्न भन्थे । अच्युतले १५ वटा जति प्रस्ताव तयार पारे होलान् तर रक्कीले कुनै मन पराएनन् । उनले भन्थे, “तिमीहरू यस्तै कार्यक्रममात्रै तयार पार्छौ, अलि नयाँ सोच न !”
हैरान भइसकेका थिए । एकदिन फ्याट्टै सोचे– रेडियो कथावाचन कार्यक्रम गर्ने । स्क्रिप्ट तयार पारे र डेमो कार्यक्रम पनि बनाए । त्यो सुनेपछि बल्ल रक्की मञ्जुर भए ।

त्यो विशुद्ध नयाँ प्रयोग थियो । रेडियो कार्यक्रमकै इतिहासमा एउटा नवीन प्रस्तुति पनि थियो । हिट्स एफएमबाट डिएर कल्याणले पत्रहरू वाचन गर्थे । त्यसको छुट्टै छाप थियो । तर, गद्य साहित्य वाचनको कार्यक्रम ‘रेडियो वाचन’ नै पहिलो हो । ०५७ को वैशाख–जेठतिरबाट उनले त्यो कार्यक्रम सुरु गरे ।

उनले सुरुमा गुरुप्रसाद मैनालीको ‘नासो’ कथा संग्रहभित्रको ‘चिताको ज्वाला’ वाचन गरे । दोस्रो भैरव अर्यालको निबन्ध पढे । १२–१५ भागपछि मात्रै उनले उपन्यास वाचन सुरु गरेका हुन् ।

‘बुलबुल’को कथा
हरिशरण लामिछानेले पनि डेढ–दुई वर्ष काम गरेपछि एचबीसी छाडे । त्यसपछि प्रकाश थापा नयाँ स्टेसन म्यानेजर भएर आए । उनी हाल अमेरिकामा छन् । अच्युत प्रडक्सन म्यानेजर थिए । त्यस्तै क्रममा थापाले आग्रह गरे, “अच्युतजी एउटा गजलको कार्यक्रम तपाईंले नै चलाउनुपर्यो ।”

‘रेडियो वाचन’ सुरु गरिसके पनि उनलाई गजलको बारेमा आधारभूत ज्ञान थिएन । र, पनि अप्ठ्यारो मानी–मानी भने, “हुन्छ नि दाइ, म कोसिस गर्छु ।”

कार्यक्रम त सुरु गर्ने भनियो तर नाम पो के राख्ने ? बडो असमञ्जसमा परे उनी । रुपेश सिलवाल, उज्ज्वल अधिकारी, दिलीपकुमार ज्योति र देवेन्द्र सुवेदीसँगै बसेर नाम जुराउने प्रयत्नमा लागे । तर, नाम के राख्ने भन्ने अन्योल नै थियो । त्यस्तैमा रुपेशले फ्याट्टै नाम उच्चारण गरे– बुलबुल ।

इरानी चरा बुलबुल इरानीहरूले प्रयोग गर्ने उपमा पनि हो । गजलहरुमा प्रतीकका रूपमा प्रयोग गरिने पदावली पनि हो यो । राति उड्ने र गाउँदै हिँड्ने भएकाले गजल कार्यक्रमको नाम यही उपयुक्त हुने ठाने उनीहरुले ।

‘बुलबुल’ कार्यक्रम भनेपछि सुरु–सुरुमा मानिसहरु हाँस्थे । अहिले देशभरका ५० भन्दा बढी रेडियो स्टेसनबाट ‘बुलबुल’ प्रसारण हुन्छ । यो ‘कमन’ नाम भएको छ । आवाजको दायराभित्र स्रोताहरूलाई निरन्तर बाँधिराखेको छ । अच्युत भन्छन्, “एचबीसीदेखि नै ‘बुलबुल’ सुन्ने स्रोतालाई यसले बाँधिरहन सफल भएको छ । भलै, त्यो समूह सीमित किन नहोस् ।”

यसबाट प्रभावित भएरै अच्युतले सामाजिक सञ्जाल (फेसबुक, ट्विटर)मा समेत नामको पछाडि ‘बुलबुल’ झुन्ड्याएका छन् ।

एसबीसी बन्द भएपछि केही समय उनले एन्टेना फाउन्डेसनमा काम गरे । त्यसपछि उज्यालो ९० नेटवर्कमा जोडिए । अहिले पनि उनी उज्यालोमै छन् । कार्यक्रम सुन्ने स्रोता धेरै भएकाले उज्यालोबाट तिनै कार्यक्रम प्रसारण भयो । ‘रेडियो वाचन’ नाम परिवर्तन भएर ‘श्रुतिसंवेग’ बन्यो भने ‘बुलबुल’ त्यही नामबाट प्रसारण हुँदै आइरहेको छ ।

अब्बल स्वर भएकाले स्टेज कार्यक्रमहरूमा बोल्न आग्रह गर्नेहरू पनि थुप्रै छन् । तर, उनी ती आग्रह स्वीकार गर्दैनन् । यसकारण कि उनी आफ्नो अनुहार देखाउन चाहँदैनन् । औंलामा गन्न सकिने स्टेजमामात्र चढेर प्रस्तुति दिएका छन् ।

अनुहारमा के छ र !
अच्युतका प्रशंसक लाखौं छन् । एचबीसीदेखि उज्यालोसम्म आइपुग्दा उनले १८ वर्ष त रेडियो मै बिताइसके । ‘बुलबुल’ र ‘श्रुतिसंवेग’ धेरै स्रोताको प्रिय कार्यक्रम हो । उनले बाचन गरेका कथा, निबन्ध, उपन्यास आदि गद्य साहित्यका अडियोहरू मोबाइलमा राखेर सुन्ने या सीडीमा सुरक्षित राख्नेहरूको कमी छैन ।

तर, उनी कतै देखिँदैनन् ।

सुमधुर र कोकिल कण्ठ आवाजका धनी अच्युत आफ्नो अनुहार सकेसम्म बाहिर देखाउन चाहँदैनन् । उनले जति प्रशंसक बटुले, त्यो सबै उनको आवाजकै करामत हो । त्यसकारण पनि उनी आफूलाई सकेसम्म भीडमा देखाउन चाहँदैनन् । आवाजले चिनिएको मानिसको अनुहार हेरिरहन आवश्यक छैन भन्छन् उनी । यसो भनिरहँदा उनले एउटा अंग्रेजी भनाइलाई स्मरण गरे– यु विल बी ह्वाट यु आर मेड फर ।

रेडियोमा बोल्ने मानिसको काम स्टुडियोको कुनामा बसेर बोल्ने हो । नदेखिउन्जेल मान्छेको दिमागमा आफ्नै मौलिक तस्बिर भएर बाँचेको हुन्छ । देखिएपछि त उस्तै त हो– दुइटा आँखा, दुइटा हात भएको अरूजस्तै । कस्तो होला भन्ने उत्कण्ठा मान्छेको मनमा जति बाँकी रहन्छ, त्यति नै आफू बाँचिरहन्छु भन्ने लागेर पनि उनी लुकेका हुन् रे ! भन्छन्, “मलाई आफू रेडियोकै लागि बनेको झैं लाग्छ । त्यसैले अनुहार देखाउँदै हिँड्न मन लाग्दैन । अच्युत घिमिरेको आवाज चिनिदिए पुग्छ । अमूर्त स्वरूपमै चिनिरहून् भन्ने लाग्छ ।”

त्यसकारण पनि उनले सामाजिक सञ्जालमा तस्बिर हाल्दैनन् । सभा–समारोहमा सरिक पनि हुँदैनन् । बाह्रखरीका लागि तस्बिर खिच्न आग्रह गर्दा उनले भने, “भो नखिचौं, बरु म आफैं पठाइदिन्छु ।”

आवरणमा प्रयोग गरिएको तस्बिर उनी आफैंले पठाइदिएका हुन् ।

० ० ०

सुरुमा उनी लेखनमा त्यति सक्रिय भएनन् । तथापि उनले एउटा पुस्तकमा ‘गोस्ट राइटिङ’ गरेका छन् । उनको संगत प्रायः लेखक÷साहित्यकारसँग भइरहने हुनाले अब लेखनमा पनि सक्रिय हुने सोचेका छन् । र, आफ्नै पुस्तक लेख्ने जमर्को गर्दैछन् ।

राम्रो आवाज छ उनको तर आवाजमा मीठास ल्याउन कुनै मेहनत गरेका छैनन् । आवाजमा उनको आफ्नै उचाइ छ । यो प्रकृतिकै देन हो । र, त उनी भन्छन्, “म त बोल्नकै लागि जन्मिएको हुँ जस्तो लाग्छ ।”

अचेल चिसो खान नहुने भएको छ उनलाई । त्यसैले आक्कलझुक्कल सभा–समारोहमा जाँदा चिसो पेय पदार्थबाट परै रहन्छन् ।

उनी आफ्नै कार्यक्रमको नियमित श्रोता पनि हुन् । सुरु–सुरुमा आफ्नो कार्यक्रम सुन्दा आफैंलाई चित्त बुझ्दैनथ्यो, अहिले प्रिय लाग्न थालेको छ ।

० ० ०

मानिसहरू ठान्छन्– अच्युतले छानेर स्तरीय रचना/किताबमात्र वाचन गर्छन् । तर, त्यसो होइन रहेछ । उनी आँखालाई नबिझाउने, मनको नाद नबिग्रने र भाषाको बहाव मिलेका रचनालाई उच्च प्राथमिकता दिन्छन् । त्यसबाहेक श्रवणयोग्य रचना नछाडी वाचान गर्छन् । कतिपय उपन्यास सुन्दा मजा आउने हुन्छन्, कतिपय पढ्दा । भन्छन्, “यसकारण मैले ‘श्रुतिसंवेग’मा वाचन नगरेका किताब स्तरहीन् हुन्छन् भन्ने कदापि होइन ।”

‘समय त्रासदी’ सरुभक्तको स्तरीय किताब थियो । मानिसहरूले ‘पागलवस्ती’को प्रशंसा गरे पनि त्यसलाई माथ ख्वाउने पुस्तक लाग्छ उनलाई त्यो । उनले त्यो पुस्तको एउटा भागसम्म मात्र वाचन गरेका छन् । बाँकी भागमा श्रवणमजा नआउने लागेर उनले वाचनै गरेनन् ।

बजारमा हल्ला चलेको भरमा उनले वाचन गर्दैनन् । विवादयुक्त पुस्तकलाई पनि वाचनको पंक्तिमा राख्दैनन् । नियमित स्रोताका सिफारिस पनि पढ्छन् । वाचन गर्नुअघि उनले लेखक र प्रकाशकको अनुमति लिन भने बिर्सिन्नन् ।

अहिलेसम्म कति पुस्तक र रचना वाचन गरियो, त्यसको यकिन तथ्यांक छैन उनीसँग । तथापि पारिजातका ‘शिरीषको फूल’ र ‘परिभाषित आँखाहरू’ तथा बीपी कोइरालाका सबै पुस्तकहरू उनलाई सर्वाधिक मन परेका हुन् । यस्तै स्तरीय किताब लेखियून् भन्ने लाग्छ उनलाई ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment