झमझम पानी परिरहेको छ । आकाशबाट खसेका पानीका थोपा मेरो टाउकोमा तप्प खस्छन्, भुइँमा झर्छन् र बागमतीमा मिसिन्छन् ।
खण्डहर भश्मेश्वर घाट । लस्करै चिता । तर, आज एउटाबाहेक अरु चिता खाली छन् ।
पल्लोछेउको एउटा चितामा शव जलिरहेको थियो । मलामी थोरै थिए या आएर पनि गइसकेका हुन्, ६–७ जना मानिसमात्रै थिए । कोलाहल, भीडभाड र मृत्युशोकमा डुबिरहने पशुपति आर्यघाट सम्भवतः पहिलो पटक शून्य देखें ।
बलिरहेको चिताबाट एक मुस्लो धूँवा निस्कियो, मेरो नाकमा ठोकियो र हावामा हरायो । कस्तो पीरो धूँवा !
पोहोरको भूकम्पबाट खण्डहर बनेको पाटीको भग्नावशेष पन्छाइँदै थियो । “खै कहिले बन्ने हो !” मलामीमध्ये एउटाले अनुहार बिगारेर बोल्यो ।
“इँटा–माटो पन्छाउनै वर्ष दिनभन्दा बढी लाग्यो, जग हाल्न त झन् कति समय लाग्न हो,” फुस्स चुरोटको धूँवा उडाउँदै अर्कोले थप्यो ।
आएको अर्कै कामका लागि हो । म त यहीँ अल्झिएछु । एकछिन पानीले बिथोल्यो । केही बेर त्यहाँको दृश्यले । आर्यघाट पुगेपछि मलाई जीवनको अन्तिम दृश्यले घोच्न थाल्छ । त्यसो त नश्वर शरीर लिएर जन्मिएपछि मृत्यु अनिवार्य सत्य हो । स्वाभाविक/अस्वाभाविक जे–सुकै होस्, मृत्यु प्रिय कुरा कुरा हुँदै होइन । र त, तर्सिन्छन् मान्छेहरू ।
धेरै बेरपछि मैले खोजेका पात्र आए– ज्ञानप्रसाद आचार्य । आर्यघाट आएपिच्छे नै म उनलाई देखिरहन्छु । तर, कुराकानी भने भएको छैन । उनी शव जलाउनेमध्ये सबैभन्दा पुराना हुन्– यत्तिसम्म सुनेको छु ।
“आज त धोती कछाडमा हुनुहुन्न नि !” मैले ‘आइसब्रेक’ गरें ।
“दुई दिन भइसक्यो लाश छुन नपाएको, तपाईं के–को धोती कछाडको कुरा गर्नुहुन्छ ?” उनले प्वाक्कै बोलिहाले ।
धत् म पनि ! खाली चिता देख्दा–देख्दै त्यस्तो सोध्न नहुने ।
“भन्नुस् किन भेट्न बोलाउनु भएको ? लाश जलाइदिनु पर्यो ?” गह्रौ आँखा पारेर उनले सोधे ।
“हैन हैन । आज तपाईंसँग केही कुराकानी गर्छु, मसँग बोल्नु त हुन्छ नि है ?” मैले भेट्नुको तात्पर्य खुलाएँ ।
उनी हत्तपत्त कसैसँग बोल्न मान्दैनन् । त्यसमाथि मनको कुरा खोल्नु त झन् बागमती कञ्चन तुल्याउनुजत्तिकै गाह्रो रहेछ ।
“आऊ नानी यता बसेर कुरा गरौं,” नजिकैको फलैंचामा बोलाए ।
मन ढुक्क भयो ।
० ० ०
उनको घर काठमाडौंकै थानकोट हो । उपत्यका छिर्ने चार भन्ज्याङभित्रकै भए पनि बाल्यावस्थामा निकै दुःख पाए । खान लाउन असाध्यै गाह्रो थियो । आफ्नो जग्गा–जमिन नहुँदा बाबुले सार्वजनिक जग्गामा सानोतिनो छाप्रो बनाएका थिए । हातमुख जोर्नै दुःख भएपछि उनी कामको खोजीमा भौतारिँदै पशुपति आर्यघाट आइपुगे ।
एक सुका भाडामा लहरी चढेर पशुपति आइपुगेका हुन् रे उनी ! पढेलेखेका थिएनन्, काम भेट्टाए– शव जलाउने दाउरा बोक्ने । उमेरले भर्खर १२ टेकेका थिए । एउटा शव जलाउने दाउरा बोकेबापत उनले १२ रुपैयाँ पाउँथे । तर, दाउरा ल्याउन निकै गाह्रो हुन्थ्यो । दाउरा ओसार्ने क्रममा उनी कहिलेकाहीँ शव बोक्न पनि जान्थे ।
वीर अस्पतालदेखि शव बोकेर उनले पशुपतिसम्म पुर्याएका छन् । त्यसबेला धेरैजसो काँठ क्षेत्रका मानिसले पशुपति ल्याएर शव जलाउँथे । मान्छे लगाएर शव जलाउने प्रचलन बसिसकेको थिएन । दाउरा र शव बोक्दा बोक्दै उनले शव जलाउन पनि सिके ।
शव बने साथी
१५–१६ वर्षकै उमेरदेखि शव बोक्ने र जलाउने काममा पोख्त हुन थालेपछि शवहरु नै उनका साथी बने । बिहान उदायचलदेखि अस्तायचलसम्म मात्र होइन, कहिले त मध्यरातसम्म पनि उनी आर्यघाटमै हुन्थे । आर्यघाट उनको घरजस्तै बन्यो । आर्यघाट टेक्दा जुँगाको रेखी बसेको थिएन । अहिले दाह्री फुलिसक्यो । शिरदेखि घाँटीसम्म कालो रौं देख्नै मुस्किल हुन्छ ।
उनलाई आफ्नो पेसाप्रति हीनताबोध कहिल्यै भएन । मानिसको मन न हो– सुरुसुरुमा शव जलाएर कोठामा पुगेको दिन दिगमिग लाग्थ्यो । खाना खान मन लाग्दैनथ्यो । बिस्तारै बानी पर्दै गयो । त्यसैमा अभ्यस्त हुन थाले उनी ।
मनमनै लाग्थ्यो– शव जलाउने जस्तो पवित्र पेसामा लाग्न पाएको छु, खुसी नै हुनुपर्छ । भन्छन्, “मृत्युसंस्कार जीवनको अन्तिम कर्म पनि हो । त्यसो त हिन्दू संस्कारमा शवलाई भगवानसरह नै पुजिन्छ । यही सोचेर म आफूलाई धन्य ठान्छु ।”
सुरुसुरुमा घरपरिवार र इष्टमित्रले उनलाई यस्तो काममा नजान अनेक सल्लाह दिए । परिवारले कैयौंपल्ट शव जलाउने काम छाड्न भने । कतिपय आफन्तले मुर्दा जलाउने भनेर हेयभाव राख्दा उनलाई पीडा हुन्थ्यो ।
तर, पनि उनले यो पेसा छाडेनन् । शव जलाउन त छाडूँला तर त्यसपछि कहाँ जाने ?
यही प्रश्नले उनलाई झस्काउँथ्यो ।
काम खोज्दै पशुपति आइपुगेका ज्ञानप्रसादको दिनचर्या बन्यो– शव जलाउने, चिता तयार गर्ने, मृत शरीरका वस्त्र फुकाउने, दागबत्तीसँगै आगो सल्काएर शवलाई खरानी बनाउने र अस्तु छुट्ट्याएर चिता पखाल्ने ।
“भाग्यले ठोसेपछि बाँसले घोचीघोती मृत शरीरलाई खाग बनाउँदै जीवन बित्यो,” अनुहार खुम्च्याउँदै उनले भने ।
उनले दिनमा तीन वटासम्म शवको दाहसंस्कार गरेका छन् । गरिबदेखि धनीसम्मका शव जलाएका छन् । कतिले दुई–चार सय थमाइदिएका छन् । कतिसँग शव जलाउने पैसासमेत नभएकाले बिनापैसा पनि सद्गत गरिदिएका छन् ।
आगोको लप्कामा रापिएर शव जलाउन सजिलो छैन ।
“हेर्नुस् त, अस्ति आँखीभौं नै डढ्यो,” उनले खौरिएसरह भएको आँखीभौं देखाए ।
“आगोले हात पाखुरा नपोलेको त दिनै हुन्न,” उनी भन्दै थिए, “दुःख भयो भनेर काम छाडी हिँडेको भए जहान छोराछोरी भोकै पर्थे । कष्ट सहेरै भए पनि काम गरिरहेको छु ।”
दुःख गरेर खाँदा पनि दुःख दिने कति छन् कति । आर्यघाटतिर बरालिएर हिँड्नेदेखि मलामीसम्मको हन्डर बेहोरेका छन् उनले ।
हिजोआज बेरोजगार जस्तै
काम सुरु गर्दाताका वीर अस्पतालदेखि काँधका छाला खुइल्याएर शव बोक्दै ल्याएर जलाउँदा उनले ६० रुपैयाँ पाउँथे । अहिले त्यहीँ आएका शव जलाएबपात १०८० रुपैयाँ पारिश्रमिक पाउँछन् । तर, उतिबेला र अहिलेको खर्चमा आकास–पातालजत्तिकै फरक छ । दिनकै काम पाइन्छ भन्ने टुंगो छैन ।
जति शवमा आगो झोसे पनि र रोटीझैं आगोमा सेकिए पनि जीवनका दुःख सकिएनन् । घर बनाउन त परैको कुरा– जग्गासमेत जोड्न सकेनन् । दुई वटा जहान–परिवार छन् उनका । कहिलेकाहीँ त लालाबाला भोकै पनि परे । घाट व्यवस्थापनले सात–सात दिनमा पैसा भुक्तानी गर्छ । हिजोआज त सात दिनमा एउटामात्रै शव जलाएको पैसा पाउँछन् उनले ।
“तीन दिन भयो शव छुन नपाएको,” उनले सुनाए, “त्यत्ति पैसाले के गर्नू ?”
अहिले पशुपति आर्यघाटमा विद्युतीय उपकरणबाट शव जलाइन्छ । मेसिनमा शव जलाउन थालेपछि भष्मेश्वर घाट सुनसान छ । दिनको एउटा–दुइटा शव आउन पनि मुस्किल हुन्छ । मेसिनमा शव जलाउनुभन्दा अघि औसत ३० शव आर्यघाट ल्याइन्थे ।
अहिले ३२ जना शव जलाउने ब्राह्मण, लाश जलाउने दाउरा र जलाएर बाँकी रहेका ठुटा ल्याउने–लैजाने सय कर्मचारी बेरोजगारजस्तै भएका छन् । शव आउन घटेपछि पशुपति क्षेत्र विकास कोष र आर्यघाट व्यवस्थापनले आफूहरूलाई निकाल्न खोजेको दुःखेसो आचार्य पोख्छन् ।
“जीवन नै आर्यघाटमा बिताइयो, रातदिन मुर्दा पोलेर बल, वैंश र उमेर सकियो, खाली हात त कसरी जान सकिन्छ र ?” भिजेका आँखा लुकाउँदै उनले भने, “जुनसुकै पेसा र कामको पनि आफ्नै इज्जत हुन्छ । चालीसौं वर्ष अन्य क्षेत्रमा काम गरेको भए पेन्सन/उपदान पाइन्थ्यो, तर घाट व्यवस्थापनले हामीलाई त्यसै पन्छाउन खोजेको सुनेका छौं ।” टनाटन शव हुँदा रातबिरात नभनी काम गरेकाले आफूहरुलाई सेवा–सुविधासहित बिदा गर्नुपर्ने उनको माग छ ।
मेसिन सस्तो, घाट महँगो
आर्यघाटभन्दा मेसिनमा शव जलाउन सस्तो पर्ने भएकाले त्यसतर्फ आकर्षण बढेको उनी ठम्याउँछन् । आर्यघाटमा एउटा शवको दाहसंस्कार गर्न घ्यु, कपुर, श्रीखण्ड, पराल, दाउराका स–साना मुठा र दुई क्विन्टल दाउरा लाग्छ । एक किलो दाउराको १० रुपैयाँ पर्छ । ब्राह्मण लगाएर शव जलाउने भए घाट व्यवस्थापनलाई १८ सय रुपैयाँ भुक्तानी गर्नुपर्छ । आफैं जलाउने हो भने ६ सय रुपैयाँमात्रै तिरे पुग्छ । तर, दाउराको अलग्गै पैसा बुझाउनुपर्छ । यो भष्मेश्वर घाटको हो ।
ब्रह्मनालको समीप सर्वसाधारणका लागि एउटा चिता छ, जसलाई आर्यघाट भनिन्छ । त्यहाँचाहिँ शव दाह गर्न ३२ सय रुपैयाँभन्दा बढी सेवा शुल्क तिर्नुपर्छ ।
घाटमा शव जलाउन १० हजार रुपैयाँसम्म खर्च लाग्ने भएकाले पनि विद्युतीय मेसिनतिर आकर्षण बढेको आचार्यले सुनाए । विद्युतीय मेसिनका लागि ३ हजार रुपैयाँ भुक्तान गरे पुग्छ । त्यससँगै समयको बचत पनि हुन्छ । आर्यघाटमा एउटा शव खरानी हुन तीनदेखि पाँच घण्टासम्म लाग्छ भने मेसिनमा आधा घण्टामै काम फत्ते हुन्छ ।
परम्परा पछ्याउनेहरू भने अझै पनि आर्यघाटमै आउने गरेको उनी बताउँछन् । “ब्राह्मणद्वारा नै जलाउनु पर्छ, आफ्नो धर्म–संस्कार र परम्परा छाड्नु हुँदैन भन्ने मान्यता राख्नेहरू जलाएरै दाहसंस्कार गर्न रुचाउँछन्,” उनले भने ।
अरुले जे जस्तो रूपमा बुझे पनि उनका लागि शव जलाउनु पवित्र कार्य हो । हिन्दू धर्मग्रन्थमा पनि शव जलाउँदा निकै पुण्य मिल्ने उल्लेख गरिएकाले उनीहरू पेटी, गन्जी र धोती फेरेरै शव जलाउँछन् । दाहसंस्कार सकेर चिता पखालेपछि नुहाइधुवाइ गर्छन् र शरीरमा धारण गरेको यज्ञोपवित (जनै) फेर्छन् ।
“विधि पुर्याई र चोखोनितो नगरी हामी शव छुँदैनौं,” उनले भने ।
ज्युँदासँग डर लाग्छ
मृत शरीर छुन घिनाउने र मृत शरीरसँग डराउनेको भीडमा उनी यस्ता पात्र हुन्, जसलाई ज्युँदा मान्छेसँग डर लाग्छ । “ज्युँदो मानिसले पो दुःख, कष्ट दिन्छ । मृत मानिस त मरेर गइगयो नि, उसले कसरी दुःख दिनू ?” उनले हाँस्दै भने, “रातभर मसानघाटमा बसेर काम गर्दा पनि मलाई डर लागेन । ज्युँदा मान्छे बरु प्रेत र पिचासजस्ता हुन्छन् । मरेका मान्छेले भन्दा यहाँ बाँचेका मान्छेहरूले दुःख दिइरहेका छन् ।”
दैनिक चार–पाँच वटा शव त विदेशबाटै आउँछन् । उमेर पुगेर मृत्यु भएका र अल्पायुमै जीवन गुमाउने थुप्रै मृत शरीरलाई उनले खरानी बनाएका छन् । आर्यघाट हो, मानिसहरू रुवावासी गर्छन् । जस्तै मानिस पनि आर्यघाट पुग्दा विक्षिप्त बन्छ ।
“भर्खर विवाह–बन्धनमा बाँधिएकाको सिन्दुर, पोते र चुरा मागेर श्रीमान्को शवसँगै जलाउनु पर्दा धेरै पटक दुःख र पीडा बोध भएको छ । ओठ निचोर्दा दूध आउने बालकले पितृवात्सल्य गुमाउँदै दागवत्ती दिँदा मन भक्कानिन्छ । मानिसको मन न हो, मेरो पनि आँखाबाट आँसु आउँछ । पैसा कमाउन गएको छोरो बाकसमा बेरिएर फर्किंदा तिनका बा–आमा भक्कानिएर रोएको देखेको छु, कस्तो पेसामा लागिएछ भनेर थकथकी पनि लाग्छ,” उनले एकैसासमा भने ।
विदेशबाट आएका शव जलाउन बढी खर्च लाग्छ । “विभिन्न रसायन र औषधि हालेर ल्याइएको हुन्छ । शवको अघिल्तिर पर्नै गाह्रो हुन्छ । सास फेर्नै सकिँदैन,” उनले भने ।
शव जलाउँदा जलाउँदै जीवनका ६६ हिँउद सकिए । जति दौडधूप गरे पनि मानिस चिता र चिहानभन्दा पर पुग्दैन । चन्द्रमामा पुगेर फर्किए पनि आइपुग्ने घाट नै हो । यही सोचेर उनी सन्तुष्ट छन् । जति धन सम्पत्ति भए पनि, कमाए पनि मानिस रित्तै हात बिदा भएको देखेकाले पैसा कमाउन नसकिएकोमा उनलाई पश्चाताप छैन । हजारौं शवलाई खरानी पारिसकेकाले पनि होला– मृत्युको भय र चिन्ता पनि छैन ।
“म पनि यसैगरी बागमतीमा मिसिने र माटोमा विलय हुने त हो नि भन्ने लाग्छ र जीवनमा प्रगति गर्न सकिएन भन्ने दिमागमै आउँदैन,” जाँदाजाँदै उनले जीवनदर्शन सुनाए ।
No comments:
Post a Comment