Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

पत्थरजस्तै कठोर जिन्दगी



By  Unknown     10:26 PM    Labels: 

सम्पत्तिको नाममा केही थान घन र छिनोमात्र हो उनको । त्यसबाहेक अघिल्तिर थुप्रिएका केही पत्थर । घन र छिनोले उनी त्यसैमा आफ्नो सीप खन्याउँछन् । आकर्षक र बुट्टेदार बनाउँछन् । उनले पाषाणसँग लडिबुडी खेल्न थालेको झन्डै १६ वर्ष भयो ।

उनी विगत दुई वर्षदेखि बसुन्धराको सडकछेउमा ढुंगाबाट आफैंले बनाएका सिलौटो, जाँतो, लोहोरो र ओखलको व्यापार गर्दै आएका छन् ।

बिहान १० बजेको भए पनि घाम चरक्क चर्किएको छ । जेठको धूपबाट बच्न छाता त राखेका छन् तर त्यसले के ओताउनू ? असिनपसिन हुँदै उनी पत्थरसँग पौठेजोरी खेलिरहन्छन् ।

म त्यहाँ बसुन्जेल एउटा सिलौटो र लोहोरो तयार पारे ।

“लोहोरो त १५ मिनेटमै बनाउँछु,” छिनोमाथि ह्याम्बर बर्साउँदै सिलौटोलाई अन्तिम आकार दिए ।

भर्खरै बनाइसकेको सिलौटा चाङमा मिसाउँदै थिए, एक जना ग्राहक आइपुगिन् ।

“कति हो सिलौटाको ?” हातले उचाल्दै उनले सोधिन् ।

“पाँच सय हजुर !” पसिना पुछ्दै उनले मूल्य बताए ।

निकैबेर ‘बार्गेनिङ’ गरेपछि चार सय रुपैयाँ तिरेर सिलौटा किन्न युवती राजी भइन् ।

“देख्नुभयो हजुर ? सिलौटा बनाउन जत्ति गाह्रो छ, बेच्न पनि उत्तिकै साह्रो छ !” ठुल्ठूला आँखा पार्दै उनले मतिर फर्किएर भने ।

० ० ०

उनको नाम सुनील कुस्बाडिया हो । उनी सीमान्तकृत कुस्बाडिया समुदायका हुन् । ढुंगा कुँदेर सिलौटा, लोहोरो, खल र जाँतो बनाउनु उनीहरूको पुख्र्यौली पेसा हो ।

यसरी पेट पाल्नेको संख्या यति नै छ भन्ने उनलाई थाहा छैन । “त्यस्तै तीन हजार जति होलान्, सबैको काम सिलौटा बनाउने हो,” उनले सुनाए ।

आमाबाबु पढेलेखेका नभएपछि त्यसको असर सुनीलसम्म आइपर्यो । स्कुलको मुख देख्न पाएनन् । कुस्बाडिया समुदायमा पढाउने चलनै थिएन । आमाबाबुले विद्यालयको सट्टा खोलाको बगर देखाइदिएपछि सुरु भयो उनको पत्थरकला ।
खोलाका किनार दौडिएर बलिया र नटुक्रने ढुंगा छान्नु, त्यसलाई घन, छिनाको सहायताले बान्किलो तुल्याउनु उनको दैनिकी बन्यो । दिनचर्या सूर्य उदाउनुअघि नै सुरु हुन्छ र घाम क्षितिजमा नडुब्दासम्म उनी ढुंगामा हत्केला बजारिरहेका हुन्छन् ।

“बेलामा पढ्न नपाउँदा ढुंगा चोइट्याएर जहानको पेट पाल्नुपर्ने बाध्यता

आइलाग्यो,” ढुंगामा घन बजार्दै उनले सुनाए ।

ढुंगा कुँद्न सजिलो कहाँ छ र !

रगत पसिना बगाउनु पर्छ । तातो घाममा रापिएर निरन्तर ढुंगामा छिनो हानिरहँदा आन्द्रा चुँडिएलाझैं हुन्छ । पैताला चरचरी फुटेर रगत बग्छ । हातमा ठेला नउठेको ठाउँ भेट्टाउन मुस्किल हुन्छ ।

“यी हेर्नुस् न, अस्ति आफैंले हातमा हानें,” घनले लागेको नीलडाम देखाए ।

रात दिन घन बजारेर पनि जीवन उकास्न नसक्दा उनको मन कुँडिन्छ । “कहिले त पेसा नै छोडेर विदेश जाऊँ जस्तै लाग्छ । तर पढेलेखेको छैन । त्यहाँ पनि यस्तै हन्डर र ठक्कर खानुपर्ने त होला भनेर मन बुझाएछु,” उनले भने ।

खेतीकिसानी गरेर परिवार पालूँ भने औंला डोब्ने जग्गा छैन । घरपरिवार भोकै पर्लान् कि भनेर पनि मरिमेट्छन् उनी । फेरि सिलौटा दिनहुँ बिक्री हुन्छ भन्ने पनि छैन । बेचेको दिन त भात खान पाइन्छ, बिक्री नभएको दिन भोकै सुत्नुपर्छ ।

० ० ०

सुनीलकै साथी हुन् विनोदकुमार कुस्बाडिया । उनले पनि यही काम गर्थे । ३७ वर्षकै उमेरमा आठ सन्तानका पिता भइसकेका विनोदले यो पेसाबाट भर्खरै विश्राम लिएका छन् ।

“सिलौटा बनाएर मात्र खान पुगेन, के गर्नु ?” निराश हुँदै उनले सुनाए, “पछि केही होला नि त भन्दै यो उमेरसम्म घिच्चिएँ, तर छोराछोरीको पेट पाल्न नै मुस्किल हुन थालेपछि विदेश जाने सोचाइ पो आयो ।”

काठमाडौंकै एक म्यानपावरमार्फत उनी कतार जाने तरखरमा छन् । १५ दिनजतिमा भिसा आउँछ होला । आफैंले बनाएका केही थान सिलौटा साथी सुनीलको जिम्मा लगाए । साइकलमा बोकेर ल्याएका रहेछन्, त्यस्तै १५ वटा जति सिलौटा र केही थान लोहोरा पनि थिए ।

“दुई सय रुपैयाँमा ढुंगा किनेर सिलौटो बनाएको छु, मलाई दुई सय पचास दिए पुग्छ । तँ चाहिँ राम्रोसँग काम गर है !” सुनीललाई सम्झाउँदै उनी भन्दै थिए, “सँगै यत्तिका वर्ष काम गरियो, माया त लागि हाल्छ नि !”

आजसम्म यी दुवैको उद्देश्य एकै थियो– ढुंगामा छिनो हान्ने, सिलौटा, लोहोरा, जाँतो, खललाई आकार दिने, बेचेर दुई चार सय जम्मा गर्ने र त्यही पैसाले बेलुका चुल्हो सल्काउने ।

तर, विनोदले अचानक लक्ष्य बदले । ढुंगाको काम गरेर सन्तानलाई पनि ढुंगाकै सिरानीमा सुताउनुभन्दा विदेश जाने, पैसा कमाउने र बालबच्चालाई राम्रो स्कुलमा बढाउने सोचाइले घर गर्न थाल्यो ।

“के गर्नु हजुर, पहिलाको जस्तो व्यापार हुनै छाड्यो । मेसिनमा मसला पिस्न थालेपछि त सिलौटा किन्नै छाडे । अलि अलि व्यापार भएको भए म पनि विदेश जान्नथें,” उनले विदेश जानुको तात्पर्य खुलाए ।

त्यसो त सीधा हिसावले व्यापार–व्यवसाय गर्दा पनि आफूहरूले दुःख पाएको गुनासो उनको थियो । “ढुंगा कुटेर खाँदा पनि कहिले नगरपालिका उठाउन आउँछ त कहिले बाटामा राखेको ढुंगै चोरिदिन्छन्,” विनोदले तीतो ओकले, “केही दिनअघि सुनीलका ७० वटा ढुंगा चोरी भए, मेरा पनि ६५ वटा ढुंगा राखेकै ठाउँबाट गायब भए ।”

प्रशासनकहाँ उजुरी गर्न जाँदा ‘बाटामा ढुंगा राखेर बेच्ने अनि चोरी भयो भन्न आउने ?’ भन्दै उल्टै हप्काइ खानुपरेको दुःखेसो पनि पोखे । “सटर भाडामा लिएर बन्द व्यापार गर्न सकेको भए को सडकको पेटीमा घामपानी को सहेर बस्थ्यो होला र ?” आँखाको आँसु लुकाउँदै उनले भने, “नगरपालिका आउँछ, सडकमा व्यापार गर्न पाइँदैन भन्छ, ढुंगा उठाएर लान्छ, एक महिनापछि बल्ल फिर्ता दिन्छ, त्यतिन्जेल हामीले के खाने ?” उनले प्रश्न गरे ।

नगर प्रहरीहरूले उनीहरुको छिनो र घन कति खोसेका छन् कति ! यसरी निरन्तर दुःख दिइरहनु भन्दा एउटा ठाउँ तोकिदिए आफूहरु त्यहीँ बस्ने सुनीलले बताए ।

० ० ०

कुस्बाडिया लोपोन्मुख जाति हो । खेतीकिसानी कम भएकाले यो समुदायका अधिकांश व्यक्तिको पेसा भन्नु नै सिलौटा, जाँतो, लोहोरो र ओखल बनाएर घर गृहस्थी चलाउनु हो । “पितापुर्खाले हामीलाई सिलौटो बनाऊ, सिलौटो बेच, सिलौटो नै खाऊ भन्थे,” सुनील भन्छन्, “हामीले त्यही गर्दै आएका छौं ।”

कुस्बाडिया समुदायको मुख्य बासस्थान भैरहवा, रुपन्देही हो । बुटवल, पाल्पा र चितवनतिर सिलौटा बिक्री कम हुन थालेपछि उनीहरू काठमाडौं पसेका हुन् । काठमाडौंका चावहिल, बसुन्धरा, बनस्थली, जडिबुटीलगायत ठाउँका सडक किनारमा उनीहरूले सिलौटो बेच्छन् ।

एउटा ढुंगा कुँदेर सिलौटाको आकार दिन कम्तीमा तीन दिन लाग्छ । कहिलेकाहीँ भने एकै दिनमा दुई वटा पनि बनाउन सकिन्छ । त्यसरी बनाएका सिलौटा चार सयदेखि चार हजार रुपैयाँसम्ममा बिक्री गर्ने गर्छन् । सिलौटो मूल्य आकार हेरेर तय हुन्छ ।

सुनील ४५ सय रुपैयाँ तिरेर एउटा साँघुरो र अँध्यारो कोठामा बस्दै आएका छन् । कहिलेकाहीँ दिनमा ५ वटासम्म सिलौटा बेच्छन् । कहिले हप्तौंसम्म एउटा पनि बिक्री हुन्न । हिजोआज विद्युतीय उपकरणले बजार निलेपछि उनीहरूका सिलौटामा आँखा पर्नै छाडेका छन् । यही कारणले पेसाबाट विस्थापित हुनेहरूको संख्या बढ्दो छ ।

अरुको भातभान्छा स्वादिष्ट र मसलेदार बनाउने उनीहरूको आफ्नै छाकचाहिँ आँसुको चटनीमा गुज्रिन्छ । सिलौटा कुँद्ने चठ्ठानसरह दुःखमा चोइटिएका छन् उनीहरु । ढुंगा कुँद्दा बडो होसियारी अपनाउनु पर्छ । छिनो हान्दा उछिट्टिएका ढुंगा कतिबेला आँखामा पर्छन्, पत्तै हुन्न ।

उनीहरूको समुदायमा के महिला–पुरुष, के बालक, के वृद्धवृद्धा– सबैले उत्तिकै छिनो र चुम्बी चलाउँछन् । छिनो नचलाए पेट पनि चल्दैन ।

कुशबाडिया लोपोन्मुख जाति भएकाले आफूहरूलाई वैकल्पिक पेसामा स्थापित गराउन उनीहरुले राज्यसँग माग गर्दै आएका छन् । तर, आवाज सानो भएकाले कसैले सुनेका छैनन् । त्यसमाथि सिलौटो बनाउने ढुंगा पनि पाइन छाडेका छन् ।
“पहिले खोलामा सजिलै ढुंगा पाइन्थे, अहिले प्रशासनले दिँदैन,” सुनील भन्छन्, “कतिपय ठाउँमा सामुदायिक वन र स्थानीय संघसंस्थालाई चर्को पैसा तिर्नुपर्छ, सिलौटो बनाउने एउटा ढुंगालाई साढे दुई सय रुपैयाँसम्म तिर्नुपर्छ ।”

जाँदाजाँदै सुनीलले आग्रह गरे, “हाम्रो पेसाबाट सरकारलाई बाधा पुगेको छ भने हामी सडकमा सिलौटा फिँजाएर बस्दैनौं । हैन भने हामीलाई निर्धक्क काम गरेर खाने वातावरण चाहियो ।”

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment