काठमाडौं । वि.सं. २०७१ सालको कुरा हो । फागुनको अन्तिमतिर हुनुपर्छ । बद्री कार्की खाना खाएर आराम गर्न लागेका थिए, कार्यालयको १०१ नम्बरमा फोनको घण्टी बज्यो । “नुवाकोटको सिसडोलमा गाडीमा आगजनी भयो, तुरुन्त आगो नियन्त्रण गर्न आउनुपर्यो ।” फोन गर्ने प्रहरी थिए ।
उनी ड्युटी–अवधिमै थिए । फोनको घण्टी बज्नेबित्तिकै चालक तम्तयार भइहाल्नुपर्थ्यो । त्यस दिन पनि चालकले ढिला गरेनन् । सात/आठ जनाको नेतृत्व गरेर कार्की आगलागीस्थलतर्फ गए ।
सवारी–जाम र अप्ठेरो बाटो छिचोल्दै आधा घण्टापछि उनीहरू घटनास्थलमा पुगे, तर त्यहाँ उनीहरूले नसोचेको घटना भयो ।
नुवाकोटको सिसडोल काठमाडौंको ‘ल्यान्डफिल साइड’ हो । काठमाडौंबाट फोहर लिएर गएको गाडीले बच्चा किचेपछि स्थानीयहरू विरोधमा उत्रिएका रहेछन् । स्थिति प्रहरीको नियन्त्रणबाहिर गइसकेको रहेछ । स्थानीयले फोहर बोक्ने सवारीमाथि आगो लगाइदिएर वातावरण तनाबग्रस्त बनाएका थिए ।
माथि गाडी दनदनी बलिरहेको थियो, तर उनीहरूले तलै अवरोध बेहोरे ।
स्थानीयको अगिल्तिर प्रहरी निरीह जस्तै थियो । लाठी, मुंग्री, ढुंगा हातमा बोकेका स्थानीयले दमकल आएको देख्नेबित्तिकै ‘हान्’, ‘ठोक्’ भन्दै बाटो बथानिहाले । स्थानीयले हानेको ढुंगा लागेर दमकलको अगाडिको सिसा झर्याम्झुरुम् फुट्यो । उनी गाडीको अगिल्लो सिटमा थिए । ज्यान जोगाउन हम्मे–हम्मे पर्यो । ‘आज मरियो’ भन्दै उनी मुन्टो निहुर्याएर गाडीको सिटमुनि कुप्रिए । चालकले नियन्त्रण गुमाएका थिएनन् । अन्य साथीहरू पनि डरले त्राहि माम् हुँदै एक ठाउँमा गुडुल्किएका थिए ।
ढुंगा–प्रहार नरोकिएपछि उनीहरू दमकलको वास्ता नगरी झ्याल खोलेर जंगलतिर कुलेलम ठोके । स्थानीयले के छोड्थे ? उनीहरू जंगलैसम्म लखेट्दै पुगे ।
पछि काठमाडौंबाट थप बल मगाएर प्रहरीले स्थिति नियन्त्रणमा त लियो, तर झन्डै उनीहरूको ज्यान गएन । त्यति वेला स्थानीयवासीले विरोध गर्दै गाडीमा आक्रमण गरी ५ करोड रुपियाँ बराबरको क्षति पुर्याएको महानगर बताउँछ ।
“हामी त्यहाँ अपराध गर्न गएका थिएनौँ ।” उनले भने “आगोले क्षति नपुर्याओस् भनेर उनीहरूकै सुरक्षाका लागि जाँदा हामीमाथि नै आक्रमण–प्रयास भयो ।”
दमकलको आगाडिको सिसा पूरै फुटे पनि अग्निनियन्त्रक, चालक र अन्य सहयोगीलाई केही भएन । उनीहरू बाल–बाल बचे ।
२६ वर्षे सेवा–अवधिको सबैभन्दा दुःखद घटना थियो त्यो, नघट्नुपर्ने घटना घटी नै सकेको थियो । काठमाडौं महानगरपालिकाले बालकको क्षतिपूर्ति पनि दिन्छु भनिरहेको थियो, तर पनि स्थानीयवासीहरू होस गुमाएर हुलहुज्जतमा उत्रिएका थिए । त्यस घटनासँग उनीहरूको कुनै साइनो थिएन, आगो निभाउन गएका उनीहरू अनाहकमा आक्रमणको तारो बने ।
० ० ०
काठमाडौंको जुद्ध सालिकअगाडि र वसन्तपुर दरबारको छेउमा नेपालकै पुरानो जुद्ध वारुण यन्त्रको कार्यालय छ । त्यही कार्यालयका ‘फायर कमान्डर’ हुन् बुद्धि कार्की । विसं. २०४६ सालमा सेवा–प्रवेश गरेका भक्तपुर– चित्तपोलका कार्कीले कति आगलागी नियन्त्रणमा लिए, कति घटनामा उनी सहभागी भए भन्ने कुनै लेखाजोखा छैन । भरभराउँदो जवानीमा सेवा–प्रवेश गरेका कार्कीको कपाल तिलचामले भइसक्यो, तर जुद्ध वारुण दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ । “साल फेरिँदै गयो, तर आफैं काम गरेको कार्यालय त झन् बेहाल पो हुँदै गयो,” अप्ठेरो मान्दै फिस्स मुस्कुराएर उनले सुनाए ।
“सुरुमा आउँदा ५३ जना कर्मचारी थिए, अहिले त जम्माजम्मी २५ जनामा खुम्चिएका छौं,” उनले भने “कार्यालय हेर्नुहोस् न, कस्तो बेहाल छ ?”
हुन पनि गएको वैशाख १२ गतेको विनाशकारी भूकम्पले खन्डहर तुल्याएको वारुण यन्त्रको कार्यालय भूकम्पको १४ महिना भइसक्दा पनि उस्तै छ । पुनर्निर्माण हुन नसकेको मात्र होइन, कहिले सुरु हुने हो भन्ने पनि कुनै टुंगो छैन ।
“हामी त टहरामा बस्ने गरेका छौं, भवन त भूकम्पले भत्काइहाल्यो नि ।” उनले थपे । देशकै पुरानो र काठमाडौंको आगलागी–नियन्त्रणको जिम्मा लिएको वारुण यन्त्र कार्यालयको टिठलाग्दो अवस्थाका उनी साक्षी मात्र होइनन्, भुक्तभोगी पनि हुन् ।
त्यही कार्यालयमा रहेर आगोसँग लफ्फाबाजी खेल्न थालेको २६ वर्ष भएकाले पनि एकैछिन नदेख्दा पनि ‘बद्री कहाँ गएछन् ?’ भनेर उनका सहकर्मीहरू खोजीनीति गर्छन् । मिजासिलो र हँसिलो स्वभावका कारण उनी सबैमाझ उत्तिकै प्रिय छन् र उनको दुःख पनि उस्तै छ । “खान–लाउनकै समस्या नभएको भए आगासित को खेल्थ्यो होला र ?” उनले पीडा पोखिहाले ।
०४४ सालमा प्रवेशिका उत्तीर्ण गरेका उनले केही समय हुलाकमा पनि काम गरे । त्यो छोडेर गोदावरी मार्बलमा ‘सुपरभाइजर’ बन्न पुगेका उनी अन्ततः आगो निभाउने पेसामा ठोकिए ।
भनिन्छ— आगा र खोलाको नजिक नजानू, तर उनी आगासँगै खेल्न रुचाउँछन् । “सुरु–सुरुमा त निकै डर लाग्थ्यो, आगो निभाउन जाने भन्नेबित्तिकै सातो जान्थ्यो, मुटुमा ढ्यांग्रो बजे झैं हुन्थ्यो, अचेल त बानी परिसकेको छ । जस्तै आगाका मुस्लाबीच पुगेर पनि आगो निभाउन सक्ने आत्मविश्वास पलाउँछ, मन अझै दह्रो भएर आउँछ ।” उनले खुलासा गरे ।
तर आगो निभाउन सजिलो छैन । थोरै मात्रै सन्तुलन गुमाइयो र असावधानी अपनाइयो भने ज्यानै जान सक्छ । यस्तो जोखिमको पेसामा कसरी आइपुगे त उनी ?
“नियतिको खेल होला सर, यसभन्दा बढी केही थाहा छैन । जागिर खानुभन्दा अगि मनमा कल्पनासम्म पनि थिएन । आगो निभाउन कतै गएको पनि थिइन । आगलागीका घटना देख्थें, सुन्थें, तर आफू यही पेसामा लागिएला भन्ने सपनामा पनि चिताएको थिइन ।” उनले एकै सासमा बताए ।
० ० ०
आगासँग खेल्नु मृत्युसँग खेल्नु सरह हो । दन्किँदो आगोलाई पानीको फोहोराले नियन्त्रणमा लिनु चानचुने कुरा हुँदै होइन, तर उनले यसलाई सहजताका साथ स्वीकारेको वर्षौं भइसक्यो । जुद्ध वारुण यन्त्रका जमदार उनी त्यहाँका कमान्डर पनि हुन् । पछाडि बसेर आदेश दिने होइन, आफैं दुई नम्बर ‘ब्रन्च पाइप’ समातेर आगो भएतिर फोहोरा बर्साउने हर्ताकर्ता नै हुन् उनी । उनलाई पछाडि बसेर अरूले साथ दिन्छन् ।
यो पेसा मृत्युसँग खेल्नु सरह हो, दर्जनभन्दा बढी पटक उनी स्वयंलाई आगाको लप्काले भेटिसकेको छ । दुई वर्षअगि बागबजारमा भएको आगलागीमा त उनलाई करेन्ट नै लाग्यो ।
“आगो लाग्यो भन्ने खबर आयो । आगो लागेको दश मिनेटभित्रै पुगेका थियौँ । सडकको भित्री गल्लीमा आगो लागेको रहेछ । बिजुलीको लाइन काटिएको छ कि छैन भन्ने होसै भएन, पानीको पहिलो फोहोरा फाल्नेबित्तिकै करेन्टको झड्का लागिहाल्यो, झन्डै मरिएन । पछि बत्तीको लाइन काटेर आगो नियन्त्रणमा लिइयो ।” उनले त्यति वेलाको क्षण सम्झिए ।
आफैंले फालेको पानीको फोहोराले लाग्ने, सानोतिनो आगोले भेट्ने त कति हुन्छन् कति, तर पनि उनी यसैमा सन्तुष्ट भएको बताउँछन् ।
तलब र तलबको ३३ प्रतिशत भत्ताबाहेक उनको अतिरिक्त सेवासुविधा छैन । त्यसैले उनी भन्छन् “आगो निभाएर जसोतसो भात खान सकिएको छ र पनि जीवन खुसी नै छ ।”
कहिलेकाहीं आफन्त र घरपरिवारले बूढो भएकाले आगो निभाउने पेसा छोडिदिन भने पनि उनी आगो निभाउनमै खुसी छन् । बरु यस्तो ‘पवित्र’ र ‘धार्मिक’ पेसामा सरिक हुन पाएकोमा उनी गर्वान्वित हुन्छन् ।
० ० ०
आगो निभाउन जाँदाको अर्को कठिनाइ हो– साँघुरो बाटो । करोडौंको घर बनाए पनि आफ्नै घरअगिल्तिरको बाटोमा इँट्टा समेत नबिछ्याउने मानिसहरूको स्वभावबाट उनी दिक्क रहेछन् । अझ बाटै ढाकेर सवारी पार्किङ गर्ने र जथाभावी उछिन्न खोज्ने चालकको बानीले पनि उनी हैरानै भएका रहेछन् ।
“केही वर्षअगि असनमा ठूलो आगलागीको घटना भयो । साँघुरा बाटाका कारण दमकल भित्रसम्म पुर्याउन सकिएन । त्यहाँ मानवीय क्षति समेत हुन पुग्यो ।” उनी भन्छन् “यो त प्रतिनिधि घटना मात्रै हो, कति ठाउँमा त दमकलै जान सक्दैन । दमकल छिर्न नसकेपछि आगो नियन्त्रणमा लिन सकिँदैन, अनि त क्षति निम्तिने नै भयो ।”
अरू त परै छाडौं, दमकल निकाल्ने ठाउँ जुद्ध सालिकअगाडि नै चालकहरूले ट्याक्सी पार्किङ गरेको देखेर उनलाई उदेक लाग्छ । अत्यावश्यक सेवा र दमकल, एम्बुलेन्सको महत्त्व नै नबुझ्ने सवारी–चालकहरूसित उनी धेरै पटक रिसाएका छन् ।
सुन्दा धेरैलाई अनौठो लाग्न सक्छ– अग्नि–नियन्त्रकसँग विशेष लुगा समेत छैन । उनीहरू साधारण ज्याकेटका भरमा आगो निभाउन जानुपर्छ ।
कार्यालयभित्र झुन्ड्याइएको एक जोर सामान्य लुगा देखाउँदै उनले भने “यही हो– अग्नि–नियन्त्रण गर्न जाँदा हामीले लगाउने लुगा ।” सामान्य आगाले समेत क्षति पुर्याउने जुत्ता लगाएर आगो नियन्त्रण गर्न जाने गरेको उनले सुनाए ।
पछिल्लो समय आगलागीका नयाँ–नयाँ घटना हुन थालेका छन् । तर तिनलाई नियन्त्रित गर्ने नयाँ प्रविधिबारे उनीहरूसँग कुनै ज्ञान छैन । “जागिर खाएपछि सुरुमै मैले सात महिना आधारभूत तालिम लिएको हुँ । त्यो पनि यहीँका पुराना साथीहरूबाट । त्यसबाहेक हामीले कुनै तालिम लिएका छैनौँ । हामी त मुढे बल र अनुभवकै आधारमा आगलागी नियन्त्रणमा लिन्छौं ।” उनले सुनाए ।
यसरी लिइन्छ आगलागी नियन्त्रणमा
घटनाको प्रकृति हेरेर आगलागी नियन्त्रणमा लिने गरेको उनले बताए । हिजोआज विद्युतीय उपकरण, तार सर्ट भएर आगलागीका घटना ज्यादा हुने गरेको उनको भनाइ छ । आगो लागेको खबर सुरुमा १०१ मा आएपछि उनीहरूले लोकेसन टिप्छन् । अनि आगोको प्रकृति सोधेर दमकल लिएर त्यसतर्फ हानिन्छन् ।
दमकलमा पानी अगाडि नै भरिइराखेको हुन्छ । एउटा दमकलमा सातदेखि नौ जनासम्म अग्निनियन्त्रक हुन्छन् । घटनास्थलमा पुगेपछि थप मद्दत चाहिएमा उनीहरूले खबर गर्छन् ।
आगोमा मानिवीय क्षति हुन लागेको छ भने उनीहरू पहिला त्यसलाई प्राथमिकता दिन्छन्, त्यसपछि आगो अन्यत्र नफैलियोस् भन्नेतर्फ उनीहरू सचेत हुन्छन् ।
तेल या घ्यूमा आगो फैलिएको छ भने पानी हालेर नियन्त्रणमा लिन कठिन हुन्छ । त्यसकारण उनीहरू फोम (एक किसिमको तरल र कतिपय अवस्थामा पाउडर) उडाएर आगो नियन्त्रणमा लिन्छन् । ग्यासको आगो निभाउन भने सिसफायर गर्नुपर्ने कार्की बताउँछन् ।
त्यस्तै पुराना घरहरूमा सल्किएको आगो नियन्त्रणमा लिन कठिन हुन्छ । “पुराना घरमा पानीको फोहोरा फाल्दा भत्किने डर हुन्छ, त्यसैले आफैं सुरक्षित हुनुपर्छ ।” उनले सुनाए ।
वारुण यन्त्रसँग २५/३० मिटरका पाइप छन् । सडकबाट भित्र गल्लीमा आगो लागे उनीहरू पाइप जोडेर आगो नियन्त्रणमा लिने प्रयास गर्छन् । “तर धेरै टाढा पुर्याउन सकिँदैन, टाढा जाँदा पानीको वेग कम हुन्छ ।” उनले भने ।
damkal (1)
जुद्ध वारुण यन्त्रसँग अहिले चालू हालतमा तीन वटा दमकल छन् । त्यसबाहेक दुई वटा ल्याडर (अग्ला भवनहरूमा लागेको आगो नियन्त्रणमा लिने उपकरण जसमा पानीको ट्यांकी हुँदैन) र एउटा फायर बाइक पनि छन् ।
दमकल नजाने र स–साना आगलागी नियन्त्रणमा लिन ‘फार बाइक’ प्रयोग गर्ने गरेको उनले सुनाए । बाइकमा पानी हुँदैन, त्यहाँ आगो नियन्त्रणमा लिने ‘डस्ट’को सिलिन्डर राखिएको हुन्छ ।
त्यस्तै भक्तपुरमा एउटा र ललितपुरमा दुई वटा दमकल छन् । आवश्यक पर्दा काठमाडौं, भक्तपुर र ललितपुरले समन्वय गरेर आगो नियन्त्रणमा लिने गर्दछन् ।
स्थानीयले सहयोग गर्दैनन्
केही समयअगि काठमाडौँको अनामनगरमा आगो लाग्यो । सडककै छेउको घरमा आगो लागेको भए पनि अग्निनियन्त्रकलाई भिड पन्छाउन मुस्किल पर्यो । “आगो लागिसकेपछि पीडित बाहेक छरछिमेक रमिते बन्न थाल्छन् । उनीहरूले गर्न सक्ने केही त हुँदैन, तर पनि उल्टै भिड बनिदिन्छन् । सहयोग गर्नुको साटो मोबाइलमा भिडियो खिचेर बस्छन् ।” उनले भने “हामीमा संवेदनशीलता भन्ने नै छैन, दमकल समयमा आइपुगेन भने ‘क्षति भइसकेपछि आउने ?’ भनेर गालीगलोज गर्छन्, तर आफ्नो दायित्व चाहिँ बुझ्दैनन् ।” तर कतिपय स्थानमा भने स्थानीय र उनीहरू मिलेर आगो नियन्त्रणमा लिएका उदाहरण पनि छन् ।
आगो लागिसकेपछि कुवा खन्ने जस्तो छ हाम्रो प्रवृत्ति
“हामीमा घटनाको पूर्वतयारी हुँदैन ।” उनले भने “सानै लापरबाहीले ठुल्ठुला आगलागीका घटना हुन्छन् । तर त्यो हामी आगो लागिसकेपछि मात्रै थाहा पाउँछौं ।”
हुन त आगलागी ‘भवितव्य’ हो, कहाँ, कसरी हुन्छ भन्ने कुनै पूर्वसूचना हुँदैन । तर आगलागीका घटना भवितव्य मात्र नभएर अधिकांश असावधानीकै कारणले हुने उनको बुझाइ छ ।
damkal (11)उनका अनुसार सहरी क्षेत्रमा विद्युतीय उपकरण सर्ट भएर र भान्छामा ग्यास–चुहावटका कारण आगलागीका घटना बढी हुने गर्दछन् । विद्युतीय उपकरण प्रयोग गर्दागर्दै बिजुली गएपछि प्रयोगकर्ताले त्यसलाई निभाउन बिर्संदा आगलागीका घटना घटेका उदाहरणहरू थुप्रै छन् ।
त्यसका अतिरिक्त अगरबत्ती र लामखुट्टे भगाउन सल्काइने धुपका कारण पनि आगो लाग्न सक्छ । त्यसैले उनीहरूले नारा नै बनाएका छन्– “नियन्त्रित आगोले हाँसो ल्याउँछ, अनियन्त्रित आगोले आँसु ल्याउँछ, त्यसैले आगामा हेलचेक्र्याइँ नगरौँ ।” उपभोक्ता यस्ता सामान्य सावधानीबाट कोसौं टाढा छन् ।
जुद्ध वारुण यन्त्रको जीर्णता :
सशस्त्र प्रहरीका ११, गृह मन्त्रालयअन्तर्गतका ११ र महानगरअन्तर्गतका ७ जना कर्मचारी जुद्ध वारुण यन्त्रसँग छन् । काठमाडौंको बढ्दो जनघनत्व र अव्यवस्थित सहरीकरणका अगाडि यो संख्या पर्याप्त होइन । पञ्चायत–कालमै जुद्ध वारुण यन्त्रसँग ५३ जना अग्निनियन्त्रकको दरबन्दी थियो, तर अहिले २५ जना मात्रै छन् । तीमध्ये फायर कमान्डरको संख्या त चार मात्रै हो । उनी एक वर्षपछि सेवानिवृत्त हुँदैछन् र अरूको समयावधि पनि लामो छैन ।
स्थापनाकालमा सेनाको कालीप्रसाद गणले व्यवस्थापन गरेको जुद्ध वारुण यन्त्र
पञ्चायतकालमा अञ्चलाधीशको मातहतमा थियो । कार्कीले त्यहीबाट काम सुरु गरेका हुन् । बहुदलपछि त्यसलाई गृह मन्त्रालयअन्तर्गत राखियो । २०६५देखि भने काठमाडौं महानगरपालिकालाई जिम्मा लगाइएको छ । गृह मन्त्रालयले महानगरलाई हस्तान्तरण गर्ने वेलामा २९ जना कर्मचारी भर्ना गर्ने बुँदामै उल्लेख थियो । तर महानगरले लिएको आठ वर्ष भइसक्दा पनि न त एक जना कर्मचारी भर्ना गरियो न त भएका कर्मचारीहरूलाई तालिमको राम्रो व्यवस्था नै ।
“कहिलेकाहीं विदेशीहरू आउँदा हाम्रो अव्यवस्था देखेर खित्का छोड्छन् ।” उनले भने “विदेशीहरू हाम्रो आगो निभाउने प्रविधि राम्रो नरहेको भन्छन् । तिमीहरू ‘यसो गर उसो गर’ भन्छन्, तर हामीसँग केही छैन । इटालीबाट गाडी आएपछि उनीहरू हामीलाई केही अभिमुखीकरण तालिम दिएर छक्क परेर गए ।” बेलाबखत विदेशबाट तालिमको अवसर पनि आउँछ, तर कहाँ आउँछ, को जान्छ भन्ने बारे उनीहरूलाई केही पत्तो छैन ।
जुद्धशमशेरले विसं. १९९४ सालमा स्थापना गरेको वारुण यन्त्रसँग २००२ सालमै सात दमकल थिए । अहिले मुस्किलले आठ–नौ वटा छन् । त्यसमध्ये पनि चालू हालतको तीन वटा हो । “दुई वटा त निकै पुरानो छन्,” उनले भने, “बाटोमा कति वेला बिग्रन्छन् टुंगो छैन ।” अहिले प्रयोग गरिने दमकलमा दुई हजार लिटरसम्म पानी अटाउँछन् । अग्ला भवनमा आगो निभाउन प्रयोग गरिने ल्याडर दुई वटा छन्, तर तिनको प्रयोग भने नगरिएको कार्की बताउँछन् ।
तीन समूहमा ड्युटी छुट्ट्याइएको छ । खाना खाँदाखाँदै हात नै नचुठी अग्नि–नियन्त्रणमा जानुपर्ने बताउँदै उनले भने “हाम्रो काम ज्यादै संवेदनशील हो । हामीले रात–बिहान भन्न पाउँदैनौँ । फोन आउनेबित्तिकै जस्तो अवस्थामा छौं त्यस्तै अवस्थामा क्रियाशील हुनुपर्छ ।”
अझै छन् जुद्ध शमसेरका पालाका वारुण यन्त्र
जुद्ध शमसेरले वेलायतबाट विसं. १९९४ सालमा बोकाएर ल्याएका दुई दमकल डेनिस र मोरिस अझै जुद्ध वारुण यन्त्रको कार्यालयमा राखिएको छ । “इतिहास होस्, सबैले यसबारेमा थाहा पाउन् भनेर राखिएको हो,” कार्कीले प्रदर्शनीमा राख्नुको तात्पर्य खुलाए । कार्यालयमा उति वेला सञ्चालनमा आएको लहरी पनि राखिएको छ । तर, संरक्षण अभावमा ती जीर्ण जस्तै बनिसेका छन् ।
No comments:
Post a Comment