पर्दाकी प्रधानमन्त्री
जीवन सुख–दुःखको सँगालोमात्र होइन, यो त नियतीको भँगालो पनि हो । र त जिन्दगीको बाटो मौसमजस्तै अनपेक्षित रूपमा बदलिन्छ । त्यसो हुँदैनथ्यो भने गौरी मल्ल अहिले सिनेमाका पर्दामा होइन, अस्पतालका शय्यामा भेटिन्थिन् र बिरामीको उपचारमा खटिएकी हुन्थिन् ।
सानो छँदा नर्स बन्ने उत्कट चाहना र त्यसपछि सैनिक सेवामा प्रवेश गर्ने हुटहुटी पालेकी मल्ल कसोकसो गरी फिल्मी दुनियाँमा ठोकिन आइपुगिन् । नेपाली रजतपटमा आफ्नो मौलिक पहिचान स्थापित गरेकी गौरीको आफ्नै जीवनयात्रा पनि पर्दाका दृश्यभन्दा फरक छैनन् ।
‘वन टेक आर्टिस्ट’को रूपमा चिनिने गौरी नेपाल चलचित्र उद्योगकी सदाबहार कलाकार हुन् । चलचित्र ‘सन्तान’देखि टेलिचलचित्र ‘सिंहदरबार’सम्म आइपुग्दा आफ्ना सबै आकांक्षा चलचित्रले पूरा गरिदिइसकेको उनी सगर्व बताउँछिन् । भन्छिन्, “नेपाली चलचित्र जगतकी म यस्ती भाग्यमानी कलाकार हुँ, जसका हरेक रहर चलचित्रले पूरा गरिदिएको छ ।”
गौरी नेपाली चलचित्र उद्योगका थोरै भाग्यमानी कलाकारमा पर्छिन् । ३० वर्षमा करिब ५५ चलचित्रमा अभिनय पस्किएकी गौरी अभिनीत थुप्रै चलचित्रले इतिहास बनाएका छन् । नेपाली दर्शकमाझ विशिष्ट छाप छोडेका छन् । उनले हिन्दी चलचित्र ‘इस्किया’मा माधुरी दीक्षितसँग पनि अभिनय गरेकी छन् । यही एउटा चलचित्रले उनको अभिनय क्षमता छर्लंग पार्छ ।
० ० ०
०२३ मा काठमाडौंकै बाँसबारीमा जन्मिएकी गौरीको बाल्यावस्था औसत बालबालिकासरह नै बित्यो । औपचारिक शिक्षा बालुवाटारको शिवपुरी माध्यमिक विद्यालयबाट सुरु गरेकी उनले केही समय कान्ती ईश्वरी विद्यालयमा पनि पढिन् । त्यहाँ उनले निमावि तहसम्म मात्रै । प्रवेशिका परीक्षाचाहिँ उपत्यकाबाहिरबाट दिइन् ।
बाबु सेनाका मेजर थिए । जता–जता बाबुको सरुवा हुन्थ्यो, उनको पढाइ त्यहीँ हुन्थ्यो । त्यसपछिको शिक्षा तौलिहवा, पाल्पा र बुटवलमा भयो । विज्ञानमा राम्रो गर्न नसकेकाले उनको नर्स बन्ने इच्छा मनमै बिलाएर गयो ।
बाल्यकालमा उनी निकै डरपोक थिइन् । जुँगा पालेको मान्छे देख्नै हुँदैनथ्यो, सातो जान्थ्यो । हतार–हतार घरभित्र लुक्थिन् । तर, विद्यालय फेरिएझैं उनको स्वभाव पनि फेरिँदै गयो । अलि ठूलो भएपछि उनी निडर र हक्की स्वभावकी भइन् । सानाका सहपाठीहरू अहिले छक्क पर्दै सोध्छन्, “सानामा तँ त्यस्ती थिइस्, अहिले कसरी यस्ती भइस् ?”
सानोमा उनको लेखपढ गर्ने नै रुचि थियो । त्यसका अतिरिक्त उनी कमिक्स खुब पढ्थिन् । एकांकी, पूर्णांकी नाटकहरू त हाउभाउसहित नै पढ्थिन् । नृत्यमा पनि उत्तिकै पारंगत थिइन् । कथा, उपन्यासमा आँखा डुलाउने गर्थिन् । सोमबार भृकुटीमण्डप पुग्दा उनी बैंकर अनिलकेशरी शाहसँग पुस्तक पठनबारे नै गफिँदै थिइन् । उनी भन्दै थिइन्, “म किताबभन्दा पर हुन्थें भने अभिनयमा शायदै यो उचाइ हासिल गर्थें ।”
उनी सानैदेखि ‘फेसियल एक्सप्रेसन’ सहित पुस्तक अध्ययन गर्ने भएकाले दुरुस्त संवाद बोल्न सक्ने भएकी हुन् । “अहिलेको पुस्ता मनमै पढ्छ, मनमै राख्छ र त त्यो कहिल्यै बाहिर आउँदैन,” उनले भनिन् ।
० ० ०
जीवन सोचेजस्तो हुन । गौरी पनि त्यसबाट अलग पात्र होइनन् । उनको जीवनमा कहिल्यै पनि आफैं प्रयास गरेर केही भएको छैन । अगाडि जे आइपर्छ, चुपचाप ग्रहण गर्छिन् । त्यही सफल हुँदै गएको छ ।
उनको मथिंगलमा नर्स बन्ने चाहना थियो । दाजुभाइ नभएकाले बाबुको मनमा उनलाई नर्स बनाउँछु भन्ने नै थियो । त्यससँगै उनी सेनामै प्रवेश गर्ने सोख पनि पालिरहेकी थिइन् । तर, त्यतिबेला अहिलेजस्तो महिलालाई सीधै सेनामा प्रवेश गर्न दिइँदैनथ्यो । डक्टर वा नर्सको जागिरे भएर सेनामा प्रवेश गर्नुपथ्र्यो । सोचेजस्तो भएन । उनी नजानेरै अभिनयमा लागिन् ।
बसुन्धरा भुसालसँग उनी अति नजिक थिइन् । दुवैको बारम्बार भेट भइरहन्थ्यो । त्यसैक्रममा निर्देशक प्रकाश थापाले बसुन्धरासँग चलचित्र ‘सन्तान’का लागि नयाँ कलाकार चाहिएको बताएछन् । बसुन्धराले गौरीलाई भनिन् र उनी अडिसन दिन गइन् । अनुहारका कारण ठाडै रिजेक्ट भइन् ।
संयोग नै मान्नुपर्छ– उनलाई पन्छाउनकै लागि लामो संवाद पढ्न दिइएको थियो । तर, गौरीले त्यो संवाद सजिलै पढेर सुनाएपछि निर्देशक थापा तीनछक परे । पछि अरूले अस्वीकार गर्दा ‘मलाई त्यही केटी’ चाहिन्छ भनेर जिद्दी गर्न थाले । चलचित्र ‘सन्तान’ ०४३ सालमा सुरु भएर ०४४ सालसम्म चल्यो ।
चलचित्रमा उनी अनपेक्षित रूपमै ठोकिन आइपुगेकी थिइन् । कलाकार बन्छु भन्ने भएको भए उनी थिएटर प्रवेश गर्थिन् होला । तर, मनमा कलाकार बन्छु भन्ने नै थिएन । भन्छिन्, “निर्देशकले जे भन्नुभयो, त्यही गरें । जे गरें, दर्शकले अति मन पराइदिनु भयो । मेरो करिअरले बाटो समात्यो ।”
‘चेलीबेटी’, ‘नाता’, ‘सरस्वती’, ‘भीष्म प्रतिज्ञा’, ‘मुकुन्डो’, ‘वसन्ती’सम्म आइपुग्दा उनी निकै खारिइसकेकी थिइन् । त्यसपछि बल्ल सोच्न थालिन्– प्रकृतिले मलाई चलचित्रमा अभिनय गर्नकै लागि पठाएको रहेछ ।
कुनै यस्तो बेला पनि थियो– चलचित्र ‘कन्यादान’ हेरेपछि मानिसहरू गौरीलाई हेरेर भक्कानिन्थे । भावविह्वल हुन्थे र अति स्नेह प्रकट गर्थे । ‘कन्यादान’को जीवन्त अभिनयले उनलाई वास्तविक जीवनमा पनि करुणा राख्नेहरु अनेक थिए ।
० ० ०
उनी मनोक्रान्ति विचारधारबाट प्रभावित छिन् । घाँटीमा कालो रंगको लामो माला पहिरिन्छिन् । योगी विकासानन्दसँग दीक्षा लिएर अध्यात्म र रेकी चिकित्सातर्फ पाइला अघि बढाएकी उनले त्यसबाट आफूलाई अतिसन्तुष्टि मिलेको दाबी गर्छिन् । अमेरिका र जापान बस्दा त्यहाँका साथीहरूमाथि यो विद्या प्रयोग गरेको उनी बताउँछिन् ।
खानेकुराजस्तै अध्यात्म पनि शरीरलाई अत्यावश्यक भएको औंल्याउँदै उनी भन्छिन्, “मानिसहरू बुढेसकाल लागेपछि मात्र धार्मिक हुनुपर्छ भन्ने मान्यता पाल्छन् । तर, त्यसो होइन । यो खाना, निद्रा र पहिरनजस्तै अत्यावश्यक र अनिवार्य कुरा हो ।”
० ० ०
प्रेमबारे त्यति खुल्न नरुचाउने गौरीले प्रेम विवाह नै गरेकी हुन् । सात वर्षे प्रेमलाई लगनगाँठोमा परिणत गरे पनि उनको सम्बन्ध लामो समय टिकेन । सम्बन्धबिच्छेद गरेकै १५ वर्ष बितिसकेको छ । प्रेम र विवाहबारे उनी थप खुलाउन चाहन्नन् । भन्छिन्, “म विगतका कुरामा अल्झिन चाहन्नँ र ती कुराहरू उल्लेख गरिरहनु पनि सान्दर्भिक ठान्दिनँ, मेरो लागि वर्तमान महत्वपूर्ण कुरा हो ।”
उनलाई अन्तरमुखी स्वभावकी मान्नेहरू पनि छन् । र त अन्य नायिकाका झैं प्रेम–वियोगका ‘गसिप’ बाहिर आउँदैनन् । केही मानिस डुंगाजस्तै हुन्छन् । जति अगाडि बढ्छन्, उति विगत मेट्दै जान्छन् । त्यस्तै हुन् गौरी, विगततिर फर्किंनै नचाहने फर्कन्नन् । “मलाई अतीततिर फर्किएर मन एकतमासको बनाउनु छैन,” भन्छिन्, “अहिले जे छु, ठीकै छु । र, यसैमा निकै खुसी छु ।”
‘सिंहदरबार’को चर्चा
कात्तिकमा नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिचलचित्र ‘सिंहदरबार’मा गौरीले प्रधानमन्त्रीको रूपमा अभिनय गरिन् । त्यसपछि उनको चर्चा झनै चुलियो । ‘सर्च फर कमन ग्राउन्ड’द्वारा निर्मित टेलिशृंखला १३ भागसम्म प्रसारण भयो । छिरिङरितार शेर्पाद्वारा निर्देशित टेलिचलचित्रमा उनले प्रधानमन्त्रीको भूमिका अभिनयकै कारण प्राप्त गरेकी थिइन् ।
टेलिशृंखलामा जलवायु परिवर्तनदेखि स्वास्थ्य सेवासम्मका जनजीवनका पाटाहरु समाविष्ट थिए । महिला प्रधानमन्त्री पात्रका कारण मात्रै होइन, गौरीको अभिनय क्षमताका कारण पनि टेलिशृंखलाको चर्चा भयो । यसले महिला प्रधानमन्त्रीबारे मात्रै नभई आमजनतामा महिला नेतृत्वप्रति विश्वास बढाउन र उनीहरुको नेतृत्व स्वीकार गर्ने मनस्थिति बनाउन सहयोग पुर्याएको दाबी गौरीको छ ।
बोल्ड अभिनय, बोल्ड क्यारेक्टरका अतिरिक्त ‘समावेशी अनुहार’का कारण प्रधानमन्त्रीको रोल आफूले पाएको उनको भनाइ छ । “यो सुन्दा हाँसो उठ्न सक्छ, के भनी यसले भन्ने कुरा पनि हुन सक्छ तर यो निकै अर्थपूर्ण कुरा छ, मैले समावेशी अनुहारकै कारण त्यो भूमिका पाएकी हुँ,” उनले भनिन् ।
० ० ०
अहिलेका कलाकारप्रति गौरीलाई विश्वास छ । धेरैजसो कलाकार रंगमञ्चबाट आएकैले उनी कलाकारिताको भविष्य उज्वल देख्छिन् । “अहिले धेरैजसो कलाकारहरू स्टेजबाट आउनुभएको छ, उहाँहरू निकै फाइन हुनुहुन्छ,” गौरी भन्छिन्, “उहाँहरूलाई हामीले दिने मेसेज केही हुँदैन, तथापि तात्कालिक नाफा–घाटामात्र नहेरी यसको वृद्धि विकासमा ध्यान पुर्याउनु पर्छ ।”
नयाँ पुस्ताका कलाकारहरू निकै लगनशील भएर लागिपरेको देखेर गौरीलाई खुसी लाग्छ । यसले नेपाल चलचित्र उद्योगप्रति आशा गर्ने प्रशस्त आधार तयार भएको उनी ठान्छिन् ।
कवि मन
नारी तिम्रो अदभूत कहानी
आँखामा आँशु तर भन्छौ पानी !
दुनियाँभरको पीडा बोक्छौ तर
भन्छौ सजिलो छ जिन्दगानी !!
यी सुन्दर पंक्ति गौरीकै हुन् । यी हरफ उनले नारी दिवसका दिन फेसबुकमा पोस्ट गरेकी थिइन् ।
अर्थात् उनी गजल पनि लेख्छिन्, कविता पनि । कलाकारिताबाट विश्राम लिँदा उनी यस्तै रचनामा होमिन्छिन् । यो पनि उनको सानैदेखिको सोख हो । आफूलाई प्रकृतिप्रेमी भन्न रुचाउने र आफ्ना सिर्जनामा प्रकृतिका सुन्दर विम्ब पोख्न रुचाउने गौरी बेलाबखत लेखिरहन्छिन्, केवल आत्मसन्तुष्टिका लागि । “मलाई लेख्न खास समय र क्षण पर्खनु पर्दैन, किताब निकालेर व्यावसायिक लेखक पनि बन्नु छैन,” उनी भन्छिन्, “लेखेका कुराहरू सामाजिक सञ्जालमा राख्दै जान्छु ।”
उनका कवितामा माया–प्रेम अभिव्यक्त हुँदैनन् ! कविताहरूमा जीवन, मृत्युसँग जोडिएका कुराहरू हुन्छन्, माया प्रेम कमैमात्र अभिव्यक्त गर्छिन् ।
सबै रहर चलचित्रले पूरा गरिदियो
चलचित्र मनोरञ्जनका अतिरिक्त समाज रुपान्तरणको पाटो पनि भएकाले यसैमार्फत आफ्नो भूमिका देखाउन पाएकोमा गर्व छ उनलाई । टेलिसिरियलमा प्रधानमन्त्री भएर खेले पनि राजनीतिमा लाग्ने कुनै चाहना छैन उनको । नर्स, चिकित्सकदेखि प्रधानमन्त्री बन्नेसम्मको चाहना चलचित्रले नै पूरा गरिदिएकाले होला– राजनीतिप्रति उनलाई लगावै छैन । बरु बेलाबखत राजनीति देखेर दिक्कचाहिँ मान्छिन् ।
“देशको नेतृत्व गर्छु भनेर जो–जो आए पनि फोटो फेर्ने भन्दा बढी काम केही भएन,” उनले निराशा पोखिन्, “मुलुकको राजनीतिप्रति सबैले चिन्ता व्यक्त गर्नुहुन्छ, त्यो स्वाभाविकै पनि हो तर हामी सबैमा सकारात्मक सोचको खाँचो छ, आशा गरौं– हाम्रा दिन फेरिनेछन् ।”
No comments:
Post a Comment