Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

अपराध गर्नेहरूको रजाइँ, पीडितहरूको जीवन झनै दुःखदायी



By  Unknown     12:10 AM    Labels: 


“दाइ यहाँ त अपराध गर्नेहरूको रजाइँ अनि पीडितहरूको जीवन झनै दुःखदायी हुँदोरहेछ,” यति भन्दा नभन्दै उनका आँखा रसाइहाले । आँखाबाट बगेका आँसु नै उनको पीडा अनुभूत गर्न पर्याप्त थियो । नजिकै आमा पनि बसेकी थिइन् । उनी थप्दै गइन्, “आजसम्म सत्यकुरा बाहिर आउनै सकेन । हामीले मिडियादेखि अदालतसम्म सत्य भनिरह्यौँ तर ती ओझेल परे ।”

प्रशंग हो, तेजाव प्रकरणको । २०७१ फागुन १० गते विहानै ‘फूल’ जस्ता दुई किशोरी निशाना बनाइए । फक्रँदै गरेका नव यौवनाहरूको जीवन तेजावको ज्वालामा झन्डै खरानी भयो । त्यही घटनाबाट प्रताडित एक किशोरी त अझै ओछ्यानमै छिन् । उनी न बाहिर घुमफिर गर्न सक्छिन् न पीडा भूलेर आफ्नो जीवनमा फर्कन नै सकेकी छन् ।

तेजाव छ्यापिएकाले ९० प्रतिशत अनुहार कुरुप बनेको छ । दुबै कान टालिएका छन् । आँखा राम्ररी देख्न सक्दिनन् । घुर्मैलो हुन्छ अगाडिको दृष्य र मथिङ्गलमा घुमिरहन्छ ०७१ फागुन १० गतेको मिर्मिरे बिहान ।

त्यही बिहान हो दुई किशोरी संगीता पुलामी मगर र सीमा बस्नेतमाथि तेजाब हानिएको । प्रवेशिका परीक्षाको तयारी गरिरहेका उनीहरूमाथि जीवन बिकले तेजाव छ्यापेर फरार भए ।

प्रवेशिका परीक्षा नजिकिएकाले ती किशोरी बसन्तपुरमा रहेको ए प्लस ‘इन्ष्टिचयुट’मा ट्युसन पढ्न जान्थे । सदाझैं त्यसदिन पनि उनीहरू ट्युसन पढ्न गएका थिए । धर्तीमा उज्यालो खस्न केही प्रहर बाँकी हुँदो हो । सुरुमै पुगेकी रहिछिन् हिमु, त्यसपछि आइपुगिन् सीमा । सीमाले संगीतालाई आग्रह गरिन्–‘मलाई एकाउन्टको गोश्वासारा भौचर बनाउन आउँदैन सिकाइदेउन ।’ संगीताले गोश्वारा भौचर के कोर्दैथिइन्, अपरिचित भेषमा आएका व्यक्तिले संगीतालाई ताकेर अनुहारमा तेजाव फ्याँकीहाल्यो ।

तेजाव लाग्ने बित्तिकै के गरौं र कसो गरौं भयो । सुरुमा त उनी अत्ताल्लिइन् । हतार हतार घरतर्फ दौडिइन्, अनुहार र दायाँ हात र तिघ्रामा समेत तेजाव परेकाले आगोले पोले झैं भएको थियो । शरीरबाट धुँवा छुटिरहेजस्तो भएको थियो । लुगासँगै छालाका पत्रहरू भुईंमा झर्न थालिसकेका थिए । अनुहार पाउरोटी फुलेझैं भएको थियो । असह्य पीडा थियो, यद्यपी उनी होसमै थिइन् ।

घरमा आइपुग्ने बित्तिकै उनले आमालाई भनिन् –‘अपराधीले मेरो अनुहार बिगारिदियो, भाइलाई बोलाउनुहोस् त्यसलाई जसरी पनि समाउनुपर्छ ।’

आमालाई अझै पत्तो थिएन– छोरीलाई के भयो ?

टोलका मानिसहरूले भने– ‘अपराधीले तेजाब छ्यापेछ ।’ परिवारले उनलाई छिटो छिटोभन्दा छिटो वीर अस्पताल पुर्याए । संगीतालाई पुर्याएको केही बेरमा सीमा पनि त्यहीँ आइपुगिन् । सीमाको पनि निधारको छाला भुईंमा झरीसकेका थिए । नाक र आँखाबीचको भाग तातो आलु खुइलेसरह भएको थियो ।

वीर अस्पतालले नदुख्ने इन्जेक्सन लगाइदियो, तेजाब पखालिदियो र भन्यो– ‘यहाँ उपचार सम्भव छैन, अर्को अस्पताल लैजाऊ ।’

संगीताकी आमा चमेलीलाई अस्पतालबारे केही थाहा थिएन । उनी क्याटरिङमा काम गर्थिन्, क्याटरिङ साहुलाई आफ्नो बिपद् बेलिबिस्तार लगाइन् । र, अस्पताल खोजिदिन आग्रह गरिन् ।

उनले काठमाडौं मेडिकल कलेज, सिनामंगल लैजान सुझाव दिए । लगत्तै सीमा– संगीता सिनामंगल पुर्याइए ।


संगीता फागुन १० गतेदेखि जेठ २६ गतेसम्म अस्पताल बसिन् । सीमा संगीताभन्दा केही समय अगाडि अस्पतालबाट डिस्चार्ज भइन् । उनीहरू दुबैले अस्पतालको शैयाबाटै प्रवेशिका परिक्षा दिए । दुबैले प्रवेशिका परीक्षा उत्तीर्ण गरे । संगीता– सीमा दुबैलाई काठमाडौंको नोवल एकेडेमीले दश जोड दुई निःशुल्क पढाइदिने भयो । तर, सीमा मात्र कलेज जान सकिन् ।

आलो घाऊका कारण संगीताको पढाइ छुट्यो । उनी कोठाको कुनाबाट साथीहरू कलेज गएको दृष्य हेर्न विवश भइन् । “यी हेर्नुहोस् न अनुहार, यस्तो आलो घाऊ लिएर कसरी कलेज जानु, अहिले त अझ यत्तिको भएको, मेरो अवस्था देखेर कलेज नै डरायो र ‘रिस्क’ लिन्नौँ भन्यो,” उनले सुनाइन् ।

हुन पनि कान नटालियोस् भनेर संगीताको कानमा प्लाष्टिकको पाइप राखिएको छ । नाकका पोरा टालिन्छन् भन्ने चिन्ता उत्तिकै छ । नाकको दायाँ पोरामा पनि कानको झैं पाइप हालिएको छ ।

“रुघा लाग्दा असह्य पीडा हुन्छ, स्वास फेर्नै सक्दिन । चिउँडो र घाँटीको छाला जोडिएला भन्ने चिन्ता उस्तै छ,” उनले आफ्नो अप्ठेरो सुनाइन् ।

उनको अवस्था देख्दा जो कसैको मन भक्कानिन्छ । आत्तिन्छन् मान्छेहरू । भित्तामा उनी सग्लो हुँदा खिचिएको तस्विर टाँगिएको छ । बेलाबेला उनी त्यो तस्बिर हेर्छिन् र दुःखी बन्छिन् ।

‘कोही कोहीले मरे पनि हुन्थ्यो भने’
छेवैमा सीमा थिइन् । संगीताकी आमा चमेलीले भनिन्, “यस्ती ‘जून’जस्ती सीमाको के अपराध थियो ? यिनले कसको के बिगार गरिदिएकी थिइन् र जीवनभर डढेको दाग बोकेर हिँड्नुपर्यो ! यसको क्षतिपूर्ति कस्ले तिर्ने ?”
आफ्नी छोरीलाई कसैकसैले ‘यस्तो भएर बाँच्नु भन्दा मरेकी भएनी हुन्थ्यो’ भनेको सुन्दा उनको मन भक्कानिएर आउँछ । “लाख दुःख कष्ट खेपेर हुर्काएको छोरी यस्तो हुँदा कस्को मन रुँदैन ?,” उनले भनिन्, “तर कसै कसैले मन कुँडिने गरी भने ।”

महिलामाथि हुने हरेक घटनामा महिलालाई नै दोषी देख्ने परम्पराले अपराधीहरूले उन्मुक्ति पाउने गरेको चमेलीको ठहर छ । “महिलामाथि जत्रो घटना घटे पनि महिलाकै गल्ती ठहर्याइन्छ,” उनले भनिन्, “त्यसैले पीडकको मनोबल झनै बढिरहेको छ ।”

घटनाको कारण
जीवन विक र उनीहरू एउटै घरको तल्लो माथ्लो फ्ल्याटमा बस्थे । सात वटा कोठाको लागि एउटै शौचालय थियो । शौचालय प्रयोगको विषयमा एक दिन जीवनसँग संगीताको भाइको सामान्य भनाभन भयो । भनाभनकै क्रममा जीवनले संगीताको भाइको कठालो समातेर भने– ‘त सानो मान्छे होस्, दाइको अगाडि हिरो बन्छस् ।’ सामान्य भनाभनले ठूलो रूप लियो र ‘केस’ जनसेवा प्रहरीकहाँ पुग्यो । त्यो भन्दा अगाडि पनि शौचालय प्रयोगको विषयलाई लिएर जीवन जनसेवामा पुगिसकेका थिए ।


पुनः शौचालयकै विषयलाई लिएर प्रहरी कहाँ आएको देखेर प्रहरी पनि आजित हुँदै भने– ‘नाथे ट्वाइलेटको विषयलाई लिएर पनि प्रहरी कहाँ आउँछन् ? घर भाडामा बसेपछि अलि अलि घच्चा त सहनु पर्यो नि !’

जीवनले संगीताको भाइलाई ‘यसलाई त्यत्तिकै छाड्नु हुन्न’ भनेपछि दुबैजना (संगीताको भाइ र जीवन) एक रात जनसेवाको हिरासतमा बिताए र भोलिपल्ट मिलापत्र गरेर छुटे ।

संगीताकाअनुसार जीवनको स्वभाव झगडालू किसिमको थियो । स–साना कुरामा निहुँ खोज्ने उनको बानीका कारण सँगै घर भाडामा बस्नेहरू आजित भइसकेका थिए । झगडा पछि संगीताकी आमाले घरभेटीलाई जीवनको र आफ्नो परिवारमध्ये एकलाई निकाल्न भने पनि घरभेटीले सुनेको नसुन्यै गरिरहे ।

त्यसको केही समयपछि जीवन देखिन छाडे । उनीहरूले सुने– सैनिक सेवामा प्रवेश गर्न दार्जिलिङतिर गएको छ । उनीहरूले वास्ता गरिरहने कुरा पनि भएन । त्यसो त संगीताकी आमा चमेलीसँग जीवनको बाबुको समेत झगडा परेको थियो । उनी रक्सी खान्थे । त्यसैले रक्सीको तालमा निहुँ खोजेका होलान् भनेर आफैं चुप लागेकी थिएन् ।

यति सानो निहुँमा यस्तो जघन्य अपराध घटाउला भनेर उनीहरूले कल्पनासम्म गरेका थिएनन् ।

एक्कासी संगीतामाथि तेजाव आक्रमण भएपछि उनीहरूले सुरुमै जीवनमाथि शंका गरे । तर, उनको परिवारले छोरो भारत गएको छ । भनेपछि उनीहरूको शंका मोडियो तर पनि मन अझै मानिरहेको थिएन । उनीहरूको मनले भन्थ्यो– सबै भेट्न आइसके त्यो चाहिँ किन आउँदैन ?

उनीहरूको शंका सही सावित भयो २६ दिनपछि जीवन पक्राउ परे ।

पीडित नै प्रताडित
१५/१६ वर्षकी छोरी अस्पतालको शैय्यामा जीवन र मरणको दोषाँधमा । काम गरेको दिन चुल्हो बल्थ्यो नत्र भोकै सुत्नु पर्ने । उता अपराधी खोज्नु प्रहरीलाई सघाउनु पर्ने । हैरान थियो संगीताको परिवार । संगीताकी आमा झनै प्रताडित भइन् ।

प्रहरीकहाँ बयान दिन जानुपर्ने । प्रहरीले जहिल्यै ‘तिमीहरूको कोसँग झगडा परेको थियो भन ?’ भन्थ्यो । जीवनको परिवारबाहेक अरु कसैसँग नराम्रो भएको उनीहरूलाई थाहा थिएन । प्रहरी सोध्यो– शंका को– कोसँग छ ? तर, उनीहरूले केही सोँच्नै सकेका थिएनन् ।

प्रहरीले संगीताको भाइलाई पनि नियन्त्रणमा लियो र अनुसन्धान गर्यो । यातना पनि बेहोरे उनले ।

“अपराधपछि त यहाँ पीडित नै प्रताडित हुनुपर्दोरहेछ,” संगीताकी आमाले भनिन्, “प्रहरीलाई बयान दिँदा दिँदा हामी हैरानै भयौँ ।”

लाख कोशिस गर्दा पनि अपराधीको नजिक पुग्न नसेकपछि प्रहरीले उनीहरूलाई सूचना लुकाएको आरोप पनि लगायो ।

बास्तविकता ओझेल पर्यो
पक्राउपछि जीवनले बास्तविकता बताएनन् बरु आफू जातीय विभेदको सिकार भएको भन्दै अपराधकर्मलाई अर्कै रंग पोते । जवकी उनको परिवारलाई उनको थर विक भएको पक्राउ पछि मात्रै थाहा भयो । त्यसभन्दा अघि उनले आफूलाई जीवन खड्का भनेर चिनाउँथे ।

“त्यहाँ बसुञ्जेल उसले सबैलाई म खड्का हुँ भन्थ्यो, हामीले कसरी जातीय भेदभाव गर्न सक्छौँ ? ऊ दलित भन्ने त हामीले पक्राउपछि मात्रै थाहा पाएका हौँ,” चमेलीले थपिन् ।

त्यस्तै जीवनले संगीताले प्रेममा धोका दिएको आरोप पनि लगाएको उनीहरूले सुनेका छन् । जवाफमा संगीताले भनिन्, “म भर्खर १५÷१६ वर्षकी भएँ । म आफैँलाई थाहा छैन कि प्रेम के हो ? फेरि हामीबीच त्यस्तो कुनै कुराकानी भएकै छैन । कसरी प्रेम बस्ने र धोका दिएको हुन्छ ?”

मिडियाले पनि बास्तविकता बुझ्ने कोशिस नगरेको उनीहरूको गुनासो रहेछ । “पीडक पक्षलाई नै प्रोत्साहन गर्ने गरी समाचार आएको पनि देख्यौँ, प्रेममा धोका दिनेलाई एसिड हान्नु ठीकै हो भनेको पनि सुन्यौँ, कतिपयले दलितलाई विभेद गर्र्नु गलत पनि भने । तर यी सबैमा हाम्रो भनाइ चाहिँ कसैले राखेनन्,” चमेलीले दुःखेसो पोखिन् ।

बाटो खोज्दै सीमा
तेजाव आक्रमणको मुख्य निशाना थिइन् संगीता । तर तेजाव सीमाको अनुहारमा पनि पर्यो र अनाहकमा अनुहारको सुन्दरता गुमाउनु पर्यो । “सामान्य डन्डिफोर आउँदा त छ पटक अनुहार हेर्थेँ । तेजावले डढाएको अनुहार जीवनभर बोकेर बस्नुपर्यो,” उनले आफ्नो पीडा सुनाइन् ।


कक्षा ११ को परीक्षा भर्खरै सकेर बसेकी उनी फुर्सदमा राजनीतिक कार्यक्रममा सरिक हुन थालेकी छिन् । “राजनीतिको ट्रेण्ड नबदली समाजमा घट्ने यस्ता घटनाको न्यूनिकरण नहुने ठानेर राजनीतिमा लाग्ने विचार गरेकी हुँ,” उनले राजनीतिमा आवद्ध हुनुको कारण पनि खुलाइन् ।

तेजाबको असरले निधार खुइलिएको छ । गाला र नाककोबीचमा घाऊको खाटा देखिन्छ । “अतीत भुलेर अगाडि बढ्ने प्रयत्नमा छु दाई”, उनले जोड दिइन् ।

त्यसो त उनको पढाइबाट बचेको समय विद्यार्थी राजनीतिमा लगाउने र समाज रुपान्तरणको सम्बाहक बन्ने योजना छ उनको ।

समासेवामै लाग्छु– संगीता
‘स्काफ’ले ढाकेको अनुहार पन्छाउँदै संगीताले भनिन्, “अनुहारको घाउ निको भएपछि म यस्तै समाजसेवामा लाग्छु, भिक्टिम्सहरूको सेवामा डट्छु ।” पढाइ छुटेकोमा उनलाई पछुत्तो छ । “सँगैको साथी कहाँ कहाँ पुगिसके, म घरमा थन्किनु परेको छ,” उनले भनिन् ।

राज्यले सीमा र संगीताको लागि भनेर एक पटक १५ हजार र अर्को पटक एकलाख सहयोग गरेको छ । १५ हजार उपचार खर्च दिएको हो ।

केएमसीमा उपचार गराउँदा संगीताको परिवारको लाखौं सकियो । तीन लाख भन्दा बढी रकम त उनीहरूले नै तिरे । त्यसबाहेक केही व्यक्तिहरुले पनि सहयोगको हात बढाए । अस्पताल प्रशासनले पनि संगीतालाई मृत्युको मुखबाट फर्काउन अहम् भूमिका खेल्यो ।

मृत्युको मुखबाट बँचाएर ल्याएकोमा उनको परिवार खुसी त छ तर संगीताको बाँकी जीवन के होला कसो होला भन्ने चिन्ता उस्तै छ । भित्ताभरी उनले प्राप्त गरेका मेडलहरू झुन्डिएका छन् । संगीताले भनिन्, “म करातेको फस्ट डान हुँ नी । स्पोर्टस्मा केही गर्ने रहर पनि तेजावसँगै डढिहाल्यो !”

अहिले दिनको पाँच हजारको औषधि किन्नुपर्छ । तर त्यो किन्ने हैसियत र क्षमता छैन । दैनिक पाँचहजार खर्च गर्न नसकेपछि उनले सामान्य मलम किनेर लगाउने गरेकी छन् । “क्याटरिङमा काम गर्ने हामीले कसरी यत्रो पैसाको औषधि किन्न सक्छौँ ?,”– आमा चमेलीले भनिन्,“पैसा जुटे अनुहारमा प्लास्टिक सर्जरी गर्ने योजना पनि छ । कसरी पूरा होला र यो सपना !”

डर अझै छ
अदालतले जीवनलाई दश वर्षको कैद सजायँ तोक्दा सीमा र संगीता पनि अदालत परिसरमै थिए । उनीहरूले जीवनलाई त देखेनन् तर सुनेअनुसार जीवनले संगीताको परिवारलाई जेलबाट छुटेपछि पनि बाँकी राख्दिन भनेको छ । त्यही भएर उनीहरूले जीवन रक्षाको लागि सुरक्षा निकायमा उजुरी पनि दिएका छन् । उनीहरू भन्छन्, “सामान्य आवेगमै एसिड हानेर मर्नु न बाँच्नु बनाउनेले भोलि केही नगर्ला भन्ने के छ र ?”

तेजाब छ्याप्नेलाई फाँसी दिइयोस्
संगीताकी आमा भन्छिन्– “तेजाब छ्याप्नु हत्या भन्दा जघन्य अपराध हो । हत्यामा त मानिस एकै पटक मर्छ तर तेजाब छ्यापेर घाइते बनाएको मानिस जीवनभर मर्नुपर्दो रहेछ !”

संगीताको पीडा पनि आमाको जस्तै छ । संगीताले आमाको भनाइमा थपिन्– “भोलि ऊ जेलबाट छुटेर छाती फुलाएर आउँछ । म भने अपराधीझैं अरुको अगाडि शिर निहुर्याएर र मुख छोपेर हिँड्नुपर्छ ।”

तेजाव प्रकरणमा अपराधीहरूले नेपालको फितलो कानुनको फाइदा उठाएको भन्दै उनले पुनः जोड दिइन्– “कानुनको पाना पाना पढेर अपराधकर्म गर्नेहरू छन्, फितलो कानुन भएकैले एसिड हान्न हौसिएका हुन्, तेजाब छ्याप्नेलाई फाँसी दिइएन भने म जस्तै गरी लाखौँ चेली जिउँदै मर्नुपर्छ ।”

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment