“वनमा बुटा थोरै छन्, तेरा पोइ धेरै छन्”
काठमाडौं । विसं. १९९० साल माघ २ गते दिउँसो कृष्णकुमारी मिश्र भैंसी चराउन गएकी थिइन् । पुस–माघको धुम्म परेको मौसम, त्यस दिन पनि घाम लागेको थिएन । पानी पर्ला पर्ला जस्तो भए पनि परिहाल्ने छाँट देखाएको थिएन । माइला बाबुका छोरा सँगै थिए, भैँसी चौरीमा चर्न छाडेर मस्त उग्राइरहेको थियो । बालख न परे, उनीहरू पनि चउरमा खेल्न थाले ।
अचानक धर्ती हल्लिए जस्तो भयो । चराचुरुङ्गीहरू आकाशभरि देखिए । चार सेकेन्ड पनि बित्न पाएको थिएन । नजिकैका घरहरू गल्र्यामगुर्लुम ढल्न थाले । भैंसीले बुुर्कुसी मार्यो । माइला बाबुका छोरा अत्ताल्लिएर भुइँमै पल्टिए । नजिकै चिलाउनेको रुख थियो, कहिले त्यसको टुप्पाले भुइँ छोला हुन्थ्यो, फेरि सिधा पर्थ्यो । उनी अचम्मित भइन्– “के भएको होला ?” उनको हंसले ठाउँ छोड्यो । करिब एक मिनेटपछि जमिन हल्लन बन्द भयो, तर धुलो उड्न कम भएन । कुइरीमण्डल धुलोले वारिपारि केही देखिँदैनथ्यो ।
केही बेरमा आत्तिँदै बाबु आइपुगे । एक श्वासमा भने– “तिमीहरू जिउँदै छौ ?”
दुवै हात ठटाउँदै उनले भनिन्, “हामी जिउँदै छौं ।”
दाजुले गाई फुकाएर चराउन लगेका थिए, दिदीले बाख्रा फुकाएको हुनुपर्छ, उनलाई यकिन भएन ।
केही बेरमा उनीहरू पनि रुँदै कराउँदै आइपुगे । रुवाबासी केहीबेर चलिरह्यो ।
उनीहरू त जसोतसो बाँचे । तर बाख्रा, गाईभैंसीको अत्तोपत्तो थिएन । उनलाई थाहा भएसम्म ती बेलुका मात्र टाट्नामा आइपुगे ।
“के टाट्नो हुनु नि, गोठ त भत्किइहाल्यो नि !” उनले हौसिँदै सुनाइन् ।
गाईभैंसी फुकाएकाले कसैलाई केही भएन ।
घर पुगेपछि आमाले सुनाइन्, “हेर छोरी, कत्रो भुइँचालो गयो ! गामभरि मान्छे सोत्तर छन्, कति मरे टुंगो छैन । फेरि फर्कन सक्छ, बाहिरफेर नजाओ है !”
बेलुकातिर पनि सानोतिनो भूकम्प गयो । घर पूरै भत्किएको थिएन । बाबुले बताएअनुसार घरको एक पाखो चर्किएको थियो ।
“तीन महिनासम्म आँगनमा चित्रे गोठ बनाएर बस्यौँ । बस्तुभाउलाई त टाँड मात्रै हालिएको थियो,” उनले थपिन् ।
रसुवाको कालिकास्थान हो उनको माइती । उनलाई थाहा भएसम्म एक घरमा तीन जनासम्मको शव परेको थियो । भोलिपल्ट खोलाको बगरभरि जलाउन लगेका शव देखिन्थे ।
विसं. २०७२ साल वैशाख १२को भूकम्पमा उनी रसुवामै थिइन् । घरबाहिरै भएकाले उनलाई केही भएन । घर भने भत्कियो । एक महिनाभन्दा बढी त बाहिरै बस्नुपर्यो । उनलाई सम्झना भएसम्म उहिले जति विनाश यस भूकम्पले गरेन । घरहरू भत्किए पनि मानिसहरू कमै मरे ।
० ० ०
१९९०को भूकम्पको केही समयमै दिदीको बिहे भयो । भूकम्प जाँदा उनी ६ वर्षकी हुँदिहुन् । दिदीको उमेर पनि आठ वर्षभन्दा माथिको थिएन ।
सानैमा विवाह गरिदिने त्यस वेलाको चलन सम्झँदै उनले भनिन् “बुझ्नुभयो बाबु, उस वेला अहिलेको जस्तो थिएन, स्यानैमा बिहे गर्थे । अहिले जस्तो हुर्किएका छोरीचेली घरमा राखे त पोइल जान्छन् भन्थे, मेरी भाउजूलाई त अन्माउने वेलामा उनकी आमाले दुध चुसाएकी थिइन् रे, पाँच वर्ष पुगेर ६ लाग्दैमा बिहे भएको हो मेरी भाउजूको ।”
“दाइहरू दुर्गाकवच, चण्डी पढ्थे । स्वर निकालेर वाचन गर्थे ।” हामीले हेर्न खोजे “छोरीहरूले पढ्नु हुँदैन, अझ किताबै छुनु हुँदैन । पढेलेखे त पोइल जान्छन्, फेरि कुचो लाउने जातले किन पढ्नु भन्थे !” उनले उति वेलाको क्षण सम्झिइन् ।
दिदीको बिहे गरेको केही वर्षपछि उनको विवाह भयो ।
बिहे हुँदा उनी ११ वर्षकी थिइन् । गाउँलेले ‘छोरी हुर्की, अब बिहे गर’ भनेर भन्न थालेपछि बाबु छोरीका लागि केटा खोज्न निस्किएछन् ।
“अहिले जस्तो घरमा माग्न आउने चलन उति वेला हाम्रा तिर थिएन, छोरी हुर्किएपछि केटा खोज्दै गाउँ–गाउँ चहार्नुपथ्र्यो,” उनले सुनाइन् ।
बाबु केटा खोज्दै नुवाकोटको कबिलास पुगेछन् । कबिलासमा बाबुको मितको घर थियो । ‘कान्लाघरे रोज्जाको केटा छ, उसैलाई दिनुहोस् छोरी’ भनेर मितले सुझाएपछि बाबुले दायाँबायाँ नहेरी हुन्छ भनेर दिएछन् ।
कान्लाघरे ‘गर्भे टुहुरा’ थिए । दुई मुरी धानको बिउ लाग्ने खेत थियो । खोलाको पानी लाग्ने र दुई बाली धान हुने मज्जाको थियो । विवाह भएको दुई वर्ष त उनी माइतमै बसिन् । १३ वर्षको भएपछि घर गइन्, तर उनको घर–बसाइ पनि लामो भएन । मुस्किलले उनी दश–एघार वर्ष मात्रै अन्मिएर गएको घरमा बस्न सकिन् ।
विधिको विडम्बना भनूँ या नियतिको झटारो, उनको २५ वर्षको उमेरमा छोरो जन्मियो, त्यो पनि बाँचेन । जन्मिएको केही समयपछि नै बित्यो ।
लोग्नेले अनेक लाञ्छना लगाएर पिट्ने–कुट्ने गर्थे । ‘मेरो भाग्य यस्तै रहेछ’ भन्दै उनी कुटाइ सहेर पनि ‘घर खाँदै’ थिइन् । अति भएपछि उनी विसं. २००६ सालमा घर छोडेर माइतीकै शरणमा पुगिन् ।
“कोहीसँग बोल्नै हुँदैनथ्यो, बात लगाइहाल्ने । ‘वनमा बुटा थोरै छन्, तेरा ‘पोइ’ धेरै छन्’ भन्दै रातदिन पिट्थे,” यति भन्दाभन्दै लुकाउन खोजिएको उनको आँसु तप्प भुइँमा झर्यो ।
चोलाको फेरले आँसु पुछ्दै उनले थपिन्, “चार वटा जहान थुपारे, माइली खै कताबाट भित्र्याए ? साइँली आफूभन्दा तल्लो जातको ल्याएका थिए । चुरा बेच्दै हिँड्नेकी श्रीमती भगाएर कान्छी बनाए । लोग्नेले त गर्नु लीला गरे ।”
कान्छी त ‘गर्भिणी’ नै भगाएका थिए रे उनले । सबैतिरका गरेर सात–आठ वटा बच्चा जन्मिएका थिए, त्यसमध्ये तीन–चार जना मात्रै बाँचे ।
माइत बसे पनि बेलाबखत घर जान्थिन् । लोग्नेको मन पग्लेला कि भन्ने आस थियो । तर ‘ढुंगो रसाउँदैन’ भन्ठान्दै उनी माइतै फर्कन्थिन् ।
लोग्ने कबिलासबाट बसाइँ सरेर हेटौँडा गएका थिए । केही समयअगि उनको मृत्यु भइसकेको छ । मृत्यु भएको खबर पाएपछि उनले हेटौंडा गएर नै किरिया गरिन् । “जेजस्तो भए पनि आफ्नै लोग्ने हो भनेर किरिया चाहिँ गरें,” उनले सुनाइन् ।
माइली काठमाडौंतिरै थिइन् । रातदिनको कुटाइ सहन नसकेपछि साइँली अन्तै पोइल गइन् । कान्छी कता छिन्, उनलाई थाहा छैन ।
० ० ०
माइत फर्किएपछि उनका दुःखका दिन सकिएनन् । बरु झनै बढे । अर्कैको घर पठाएकी छोरीचेली माइत फर्कनु कहाँ राम्रो मानिन्थ्यो र ? त्यो उनले पनि भोगिन् । बाबुआमा पनि बेलैमा बितिहाले । दाजुका आठ भाइ छोरा र एक छोरी थिए । तर एउटा मात्रै बाँचे । तिनै बाँचेका भदाको शरणमा थिइन् उनी । उमेर छउन्जेल माइतमा हातपाखुरा बजारिन्, नंग्रा खियाइन्, तर उमेर घर्किएपछि उनी हेला–हाँसोकी पात्र बनिन् । आफ्नै भनिएकाहरूले उपेक्षा गर्न थाले ।
“माइती नभनी बलबैँस रित्त्याएँ, बुढेस कालमा आँसुको धारा बगाउँदै बाँच्नुपर्यो,” उनले दुखेसो पोखिन् ।
भदाका आठ भाइ छोरा र एक छोरी छन् । तीमध्ये एक छोराको निधन भइसकेको छ । सात भाइ छोरा र आठ बुहारी पनि भदासँग छैनन् । उनको पनि उमेर घर्किइसकेको छ ।
अचेल छोराबुहारीसँग अलग्गिएर छुट्टै बसेका छन् ।
“के गर्नु ? जति धनसम्पत्ति भए पनि, पढेलेखे पनि मानिसको बुद्धि आउँदो रैन्छ,” उनले गुनासो गरिन् ।
० ० ०
“हेर्नुहोस् बाबु, कानमा लस्करे मुन्द्रा, गलामा नौगेडी र तिलहरी, कानमा टप छपक्कै थियो, ती सप्पै भदालाई सुम्पिएँ । अरू क्यै नभए पनि मलाई पाल्ला नि त भन्ने आशा थियो, तर म यहाँ आउनुपर्यो,” उनले भनिन् ।
अचेल उनी वृद्धाश्रम आइपुगेकी छिन् । परिवारको हेला, हाँसो र उपेक्षाका पात्र बनेका २४० वृद्धवृद्धा उनका साथीसँगी बनेका छन् ।
“कोसँग के कुरा गर्नु ? सबैको उस्तै दुःख र व्यथा छ । आज भेटेका भोलि भेटिन्छन् कि भेटिँदैनन्, टुंगो छैन । आफ्नै पुराना दिन सम्झियो, रोएर दिन बितायो,” उनले बताइन् ।
उनी यहाँ रहरले आएकी होइनन् । त्यसो त आफन्त र घरपरिवार छोडेर वृद्धाश्रममा बस्ने रहर कसलाई पो हुन्छ र !
“रसुवामै मागेर खान्छु, तिमीहरूलाई दुःख दिन्नँ भन्दा पनि वृद्धाश्रम पठाइछाडे,” उनले भनिन् ।
“भदाले उकेरा लगाएर गाउँको सहारामा यहाँ पठायो, पुर्याउन चाहिँ लाजले आएन,” उनले थपिन् ।
उनलाई पुर्याउन गाउँकै एक जना आएको थियो । वृद्धाश्रम जानुभन्दा सडकको पेटीमै बाँकी जीवन व्यतीत गरूँ भन्ने उनलाई नलागेको होइन, तर यो पनि ‘भाग्यकै खेल’ हो भनेर उनी चुपचाप पछि लागिन् ।
गत फागुनमा वृद्धाश्रम आएकी हुन् उनी । आफू जस्तै परिवारबाट प्रताडना बेहोरेकाहरू उनका साथी छन् । उनीहरूसँगै दिन बिताइरहेकी छिन् । “सबैको वेदना सुने पनि आफ्नै व्यथा ठूलो लाग्दो रहेछ,” उनले पीडा पोखिन् ।
उनी अहिले ८८ वर्षकी भइन् । कपाल सेतै फुलेको छ । “कहिलेकाहीँ भदाकी माइली बुहारी भेट्न आउँछिन् । उनका पनि श्रीमान् बितेकाले होला, अलि दुःख देख्छिन्,” उनले सुनाइन् । अस्ति आउँदा पनि बिस्कुट ल्याइदिएकी रहिछे, मैले यहीँ छ, ल्याउनु पर्दैन भनेँ,” उनले भनिन् । पशुपतिको वृद्धाश्रमभित्र उनी बस्ने अगाडि पिपलको बोट रहेछ । उनी त्यहीँ टोलाएर बसिरहन्छिन् ।
० ० ०
बसिरै’छु रुखमुनि यही हो मेरो घर
छोराछोरी कोही छैनन् भगवान्को भर
यति गाउँदा–गाउँदै उनी फेरि भावविह्वल बनिन् । “आमाबाबु भनेका जीवित देवता हुन् बाबु, कहिल्यै रुवाउनु हुँदैन,” उनले थपिन् ।
“उमेरमा मेलापात जाँदा थुप्रै गीत गाउथें नि”, उनी बहकिइन् ।
उनले अगाडि भनिन्, “यहाँ खान–लगाउन दिँदा रहेछन् । बेलाबखत आउने–जानेले मिठाइ, फलफूल पनि ल्याउँछन् । तर आफ्नो घर जस्तो नहुँदो रहेछ ।”
छड्के झोला भिरेकी रहिछिन् । “दुईचार पैसा बोक्न सजिलो हुँदो रहेछ, यहीँ आउने कलेजकी केटीले किनिदिएकी, धेरै त कति हुनु नि, त्यस्तै गोडा छ–एक हजार रुपियाँ छ, तलमाथि भइहाले किरिया गर्न पुग्छ भनेर राखेकी,” पैसा बोक्नुको कारण पनि बताइन् ।
आफू लामो समय बाँचेको पश्चात्ताप छ रे ! “हेर्नुस् न, त्यो कान्छी सौता त लोग्नेभन्दा पनि अगाडि मरी, त्यो कति भाग्यमानी ? तर म अभागी चाहिँ यस उमेरसम्म पनि घिच्चिरहनु परेको छ, अरू बलियाबांगा छन्, आफ्ना भाँडा आफैं माझ्छन्, आफू त आँखा पनि राम्रो देख्दिनँ, न काम नै गर्न सक्छु,” उनले अन्तिममा भनिन् ।
No comments:
Post a Comment