अक्षर काका
काठमाडौं । विसं. २०४५ सालको भूकम्पमा भक्तपुर तहसनहस भएको थियो । पुराना घर भग्नावशेषमा परिणत भएका थिए । महिना यकिन भएन, हाम्रो टोलमा तत्कालीन राजा वीरेन्द्रको सवारी हुँदै रहेछ । गाहिटी टोल भूकम्पले क्षतिविक्षत बनाएको थियो । राजा आउने भएपछि के के न होला र पाइएला भनेर आइमाई, केटाकेटीदेखि लौरो टेकेर बूढाबूढीसम्म लड्दैपड्दै आइपुगेका थिए । तह नै लगाउन नसकिने भिड भयो । त्यतिबेला राजाको सवारी हुने भनेपछि वातावरण नै अर्को हुन्थ्यो । मानिसहरू पन्छाउन स्थानीय स्वयमसेवक त खटिएका थिए तर तिनले हुल तहलगाउन के सक्नु ! बूढाबूढी र बालबालिका किचिएलान्झैँ भए ।
उता बाटो नै ढाकेर भीड थुप्रिएकाले सवारी आवागमनमा अवरोध उत्पन्न भयो । राजाको सवारी हुने बेला भइसक्यो यता भीड पन्छिएको छैन । त्यत्तिकैमा एकजना प्रहरी देखा परे । हातमा लौरो बोकेका ती प्रहरी देख्नेबित्तिकै मानिसहरू आआफ्नो ठाउँमा सतर्क भए । सुइयँ सिट्ठी के बजाएका थिए भीड त क्षणभरमै तितरवितर भयो । त्यही बेला थाहा पाएँ एउटा सिट्ठीमा त्यत्रो तागत हुँदो रहेछ !
० ० ०
त्यसपछि मेरो मनमा प्रहरी सेवामा छिर्ने हुटहुटी चल्न थाल्यो । प्रहरीमा भर्ना खुल्यो कि खुलेन त्यो मेरो चासोको विषय बन्यो । बाबुबाजे मात्रै होइन चिनेका आफन्त पनि प्रहरी सेवामा थिएनन् तर पनि आफ्नो मनमा भने प्रहरीको बर्दी र सिट्ठीले तह लगाएको भिडको दृश्य गहिरोसँग बसेको थियो । नभन्दै विसं. २०४६ सालमा प्रहरी सेवामा भर्ना खुल्यो । प्रहरी सहायक निरीक्षक तहमा आवेदन दिएँ । संयोगवश नाम निस्कियो । तालिम लिन प्रहरीको केन्द्रीय तालिम केन्द्र महाराजगञ्ज गएँ । घरमा हप्कीदप्की लगाएर खाएको मान्छे, त्यहाँ त लाइनमा राखेर पो भात खान दिए । तालिम उस्तै कडा थियो । दुई चारदिन नबित्दै तालिमबाट सुइँकुच्चा पो ठोकु कि लाग्न थाल्यो । मनमा आयो, “के नपुग्दो छ र ? यस्तो दुःख गरेर जागिर खानू ?” तालिम गर्दागर्दै आँखाबाट तरक्क आँसु चुहिन्थ्यो ।
फेरि त्यही प्रहरीले सिट्ठी फुकेको र लट्ठीकै भरमा हजारौँको भीड पन्छाएको दृश्य दिमागमा घुम्थ्यो र तालिमको पीडा भुल्ने प्रयत्न गर्थें ।
उसो त घरकाले पनि जागिर खानु पर्दैन भनेका थिए । यस्तो दुःख भयो भनेर घरमा के भन्नु ? तर जागिर खानुभन्दा पहिला कराँते सिकेको थिएँ । त्यसले तालिम सहज बनाइदियो ।
० ० ०
प्रहरी सेवामा प्रवेश गरेपछि, कहाँ जाने भन्ने निधो थिएन । त्यसबेला सिट्ठी फुक्न आउने पनि ट्राफिक प्रहरी नै रहेछ । त्यसैले म पनि ट्राफिक सेवातिर नै गएँ । अर्को, मलाई कुटपिट गर्न त्यती मन पर्दैनथ्यो । प्रहरीको सिट्टीले भीड हटाउँछ । मानिसको समूह लखेट्छ तर ट्राफिकको सिट्ठीले त गन्तव्य तय गर्छ भन्नेजस्तो मनमा लाग्थ्यो । ट्राफिकले घर कार्यालय जान सहयोग पुर्याउँछ, भन्ने सोचाइ थियो मेरो । विसं. २०४७ साल फागुनमा इन्चार्ज भएर भक्तपुर गएँ । ड्युटीमा खटिएको पहिलो दिन थियो । सहकर्मीहरू सडकमा गाडी चेक गर्दै थिएँ । त्यही मौकामा खल्तीबाट सिट्ठी निकालेर सुइयँ पारेँ । सुर्यविनायकबाट कोटेश्वरतर्फ आइरहेको मालवाहक ट्रक झ्याप्पै रोकियो । त्यसपछि सोचें, सिट्ठीको तागत त ठूलो पो हुँदोरहेछ । वास्तवमा त्यो परीक्षण गरेको थिएँ । चालकले अत्ताल्लिँदै सोधे, “के भयो हजुर ?”
“केही भएको छैन जाऊ,” चालक बाटो लाग्यो । फागुन ८ गतको घटना थियो त्यो ।
० ० ०
विसं. २०५४ सालमा इन्चार्ज भएर कालिमाटी गएको थिएँ । ट्राफिक प्रहरी प्रमुख थिए, ज्ञानेन्द्रविक्रम महत । “सीताराम तिमीले राम्रो गर्न सक्छौ, कालिमाटीका स्थानीय अटेरी छन्, तिनीहरूसँग मिलेरै काम गर है,” भनेर मल्लले मलाई त्यहाँ खटाएका थिए ।
त्यहाँको फुटपाथ व्यापारीले बाटै ढाकेर सडकमा व्यापार/व्यवसाय गरिरहेका थिए । त्यसले आवागमनमा अवरोध त पुर्याएको थियो नै उनीहरूलाई पनि जोखिममा पारेको थियो । कदाचित गाडीको ब्रेक फेल भए उनीहरूलाई किच्ने डर हुन्थ्यो ।
सुरुमा फुटपाथमा व्यापारीलाई तह लगाउँछु भनेर सडक नै ढाकेर व्यापार गर्नेलाई हटाउन थालेँ । तर एउटी महिला साह्रै जिद्दि निस्किइन् । दुई किलो जति गोलभेँडा बीच सडकमै राखेर उनी व्यापार गरिरहेकी थिइन् । सरासर गएर उनको गोलभेँडा पेटीमा राखिदिएँ । उल्टै तिनले त मेरो टाइ समातेर घाँटी पो अँठ्याउन थालिन् । भन्न थालिन्, “मेरो घर परिवारको जिम्मा लिन्छस्, आएको दुई दिनभएको छैन, हामीलाई तह लगाउन खोज्ने ?”
ती महिला मेरो टाइमा झुन्डिएको झुन्डियै भइन् । मेरो सात्तो उड्यो । सास फेर्नै गाह्रो भइसकेको थियो । बल्ल तल्ल उम्किएँ । सिधै कार्यालय गएर महत सरलाई फोन गरेँ । “सर यहाँ त बाटै ढाकेर फुटपाथ व्यापारीले तरकारीलगायत सामग्री बेच्छन् । त्यसले गर्दा सवारी आवागमनमा ज्यादै असुविधा पुगेको छ, हटाउँ भनेर लाग्दा स्थानीयहरू जुलुसै उठेर आए । एउटी महिला त मेरो घाँटीमै झुन्डिइन् । यहाँ त म काम गर्न सक्दिन सा’प !,” एकै स्वासमा यति भनेपछि मल्ल सर त हाँस्न थाल्नुभयो ।
सम्झाउँदै भन्नुभयो, “तिमीले राम्रो काम गर्छौ भनेर पो त्यहाँ पठाएको त, स्थानीयसँग रिसइबी बढाउने गरी होइन मिलेर काम गर, मलाई विश्वास छ, तिमीले यति काम गर्न सक्छौ ।”
उनले त्यति भनेपछि ममा झन् आत्मविश्वास बढ्यो । फुटपाथ नहटाई उनीहरूलाई सम्झाउन थालेँ, “कहाँ मैले तपाइँहरूलाई हटाउन थालेको हुँ र बीच सडकमा व्यापार गर्दा गाडी ब्रेकफेल भएर किच्ला पो भनेर तर्सिएको त, पेटीमा समय हेरेर व्यापार गर्नुहोस् न ।”
यति भनेपछि धेरै मेरो कुरामा सहमत भए । धेरैले मेरो कुरा मानेपछि नमान्नेहरू पनि उनीहरूकै बाटोमा हिँड्न बाध्य भए । ‘नयाँ सई चाहिँदैन, फुटपाथ हटाउन पाइँदैन’ भनेर नाराबाजी गर्न आउनेहरू आफैँ तह लागे । घाटीमा झुन्डिने ती महिला पनि नतमस्तक भइन् । दुई महिना नबित्दै उनीहरूले मलाई ‘सम्मान’ गरे ।
० ० ०
कालिमाटी इन्चार्ज भए पनि हाम्रो उपत्यकाभर नै कार्यक्षेत्र हुन्छ । विसं.२०५७ सालमा सामाखुसीमा तत्कालीन राजा वीरेन्द्रको सवारीको कार्यक्रम थियो । वीरेन्द्र पारिवारिक विवाह भोजमा सरिकहुन सामाखुसीस्थित एक निजी घरमा सवारी हुने कार्यक्रम भएकाले बिहानैदेखि म त्यहीँ तैनाथ थिएँ । मेरो साथमा एकजना प्रहरी निरीक्षक पनि थिए ।
राजा वीरेन्द्रको गाडीमात्र भित्र प्रवेश गराउनुपर्ने र अरु भीआईपीको गाडी बाहिरै पार्क गर्न निर्देशन थियो । सुरुमै आयो तत्कालिन युवराजाधिराज दीपेन्द्र र तत्कालीन शाहज्यादा पारसको गाडी । ती गाडीलाई सरकार यतै पार्क गर्नुहोस् भनेर बाहिरै राखेँ ।
लगत्तै आयो तत्कालीन अधिराजकुमार ज्ञानेन्द्रको गाडी । सँगै थिए प्रहरी निरीक्षक । उनी त फिल्ड नै छोडेर हिँडेछन्, ज्ञानेन्द्र सवार गाडी देख्ने बित्तिकै भनेँ, “सरकार गाडी बाहिरै रोकिबक्स्योस् ।”
ज्ञानेन्द्रले मुन्टो हल्लाएर हुन्छको जनाऊ दिए । मुटु ढक्क फुल्यो । केही गल्ती भएको भए जागिरै जान्थ्यो । त्यो घटना सम्झँदा अहिले पनि मुटु चिसो हुन्छ ।
० ० ०
विसं. २०६८ मंसिरमा ट्राफिक व्यवस्थापनको तालिम लिन जापान गएको थिएँ । तालिम सकिएपछि लगत्तै डीआईजी सा’पलाई फोन गरेँ । उनले भने, “त्यहाँ सिकेको नयाँ कुरा यहाँ लागु गर्नुपर्छ सीताराम के के नयाँ सिक्यौ त ? त्यतिबेला डीआईजी गणेश राई थिए । मैले पनि “अरू त उही हुन्, मादक पदार्थ सेवनबारे नयाँ केही अनुभव हासिल गरेँ । जापानमा मादक पदार्थ सेवनबारे कडा कानुन रहेछ । मापसे गरेर सवारी चलाउनेलाई त यहाँ तीन लाखसम्म जरिवाना हुँदोरहेछ,” मैले यति भनेपछि उहाँले पनि नेपालमा मापसेलाई कडा नियम बनाउने राय व्यक्त गर्नु भयो । नेपाल फर्किएपछि मापसे कारबाही तीव्र पार्यौँ ।
विसं. २०६८ मंसिर १९ गतेदेखि मापसेविरुद्ध अभियान छेड्यौं । अभियानको सुरुको दिन एसएसपी जयबहादुर चन्द दरबारमार्गमा हुनुहुन्थ्यो ।
म ठमेलमा खटिएको थिएँ । एक टेलिभिजन च्यानलले हाम्रो अभियानको प्रत्यक्ष प्रसारण गरिरहेको थियो । रातको नौ बजेको हुँदो हो, ठमेलको एक होटलबाट एउटा कार हामी भएतिर हुँइकिँदै आयो । ‘ब्रेथलाइजर’ नभएकाले मुखले नै सुँघेर उनले मादक पदार्थ सेवन गरेको पत्ता लगाएँ । उनको लाइसेन्स थुत्ने वित्तिकै ‘हाम्रो व्यापार व्यवसाय चौपट पार्यो’ भनेर ठमेलका सबै होटल व्यवसायी उल्टिएर आए । भन्न थाले, “हाम्रो व्यापार व्यवसाय जिम्मा लेऊ, होटलमा रक्सी नबेचेर के बेच्ने ? रक्सी नबेच्दा, माछा, मासु, सितन कसले खान्छ ? हामीले जहान कसरी पाल्ने ?”
व्यापारीले घेरीसकेका थिए, मैले हाँस्दै जवाफ फर्काएँ, ठीक छ तपाईंहरूको व्यापारको जिम्मा हामी लिउँला, “रक्सी खाएर हुने दुर्घटना र दुर्घटनामा ज्यान गुमाउने सवारी चालकहरूको जिम्माचाहिँ तपाइँहरूले लिनुहोस् न त !”
मैले अझै अगाडि भनेँ, “रक्सी खाने तपाइँका ग्राहकमात्र होइनन्, ती कसैका छोरा हुन्, कसैका बाऊ हुन्, कसैका पति पनि हुन् । अकालमा ज्यान गुमाउने ती सबैको जिम्मा तपाइँहरूले लिनुहुन्छ भने रक्सी बेच्नुहोस्, त्यसमा तपाइँका छोराहरु, आफन्तहरू परे भने के गर्नुहुन्छ ?”
त्यसपछि उनीहरू नाजबाफ भए । सुरुकै दिनमा ४८ जना समायौँ र रातभर हिरासतमा राखेर भोलिपल्ट छाडिदियौँ ।
० ० ०
अर्को दिन मापसे चेकिङका लागि ठमेलमा खटिएको थिएँ । रातको त्यस्तै दस बजे एउटा मारुती जिप चर्को लाइट बालेर म भएतिरै आयो, मापसे गरेको संकेत मिलेर मुख सुँघे । अनुमान सही भयो । लाइसेन्स दिनुस् भनेको त, किन दिनु रे ! मैले पनि मापसे गरेर सवारी चलाउन पाइँदैन थाहा छैन भनेँ । फेरि दुर्घटना भए मै पर्छु नि तँलाई के मतलव भनेर कड्कियो ।
पत्नीले मापसे सेवन गरेकी रहिनछन्, उल्टै मलाई सम्झाउन पो थालिन्, “दुई पेग मात्र खाएका हुन् छाडिदिनुस् त ।”
मैले पनि पत्नीलाई हप्काइदिएँ, “अरूका पत्नी लोग्नेलाई रक्सी नखानुहोस् भन्छन्, तपाइँ त कस्ती श्रीमती ? आफ्नो लोग्नेलाई रक्सी पनि खान दिने र गाडी पनि हाँक्न लगाउने, तपाइँ त ठूलो अपराधी पो हुनुहुँदो रहेछ ।”
ऊ सुक्सुकाउन थाली ।
फेरि सम्झाएँ, “ हेर्नुहोस् हजुर, आज एकरात श्रीमान् तपाइँसँग अलग्गिएर केही हुँदैन । मापसे गरेर सवारी चलाउँदा सधैँका लागि छुट्टिनु पर्ने भयो भने ? रक्सी खाएर सवारी चलाउँदा दुर्घटनामा परेर अपांग भए जीवनभर कसरी पाल्नु हुन्छ ? फेरि हामीले हाम्रो लागि मापसे गरेर सवारी नचलाउनुहोस् भनेका हौँ र ? तपाइँ ट्याक्सी चढेर घर जानुहोस् तपाइँका श्रीमान् हामीसँग जानुहुन्छ, भोलि बिहानै पठाइदिउँला ।”
श्रीमती रुँदै घरतिर लागिन् । मैले सोचेँ, “उजाड सिउँदो लिएर अथवा दुर्घटनामा परि अपांग भएका पति लिएर जीवनभर रोइरहनु भन्दा एकछिन् रुनु कता हो कता उत्तम ।”
० ० ०
दरबारमार्गमै मापसे चेकिङ गर्दै थिएँ, एउटा कार हानूँला जसरी आयो । मैले सिट्ठी फुकेँ, सेतो रंगको टोयोटा कार झ्याप्प रोकियो । भित्र
टाइसुट लगाएका उच्च ओहोदाका जस्ता चालक थिए । नजिक नपुग्दै ह्वास्सै रक्सीको गन्ध आइहाल्यो ।
मुख सुँघिरहनु पर्दैनथ्यो, तिनले भलिभाँती रक्सी खाएका थिए ।
लाइसेन्स दिनुस् भनेको त, किन दिनु रे !
अझै उनले थपे, “ यस्तो गरिब देशमा रक्सी शून्य ! सात वर्ष अमेरिका बसेर आएको हुँ म ! त्यहाँ ०.३ सम्म रक्सी खान पाइन्छ । कुरा सुन्यौ ?”
मेरो पनि कन्सिरीका रौं तातिसकेका थिए, भनिदिँए, “यहाँ अमेरिकाको जस्तो बाटो छ ?, साँघुरो र खाल्टाखुल्टीमा चलाउनु पर्छ ? अमेरिकामा लोडसेडिङ हुन्छ ? ट्राफिक नियम पालना नगरी उल्टै ट्राफिकलाई हप्कीदप्की लगाउन पाइन्छ ?” एकोहोरो प्रश्न सोधेपछि उनी आवाक् भए,
गाडी र लाइसेन्स छाडेर पैदलै घर गए ।
हामीले सबैकुरामा विदेशीसँग तुलनामात्रै गरेर हुँदैन, आफ्नो औकात् पनि नाप्नु पर्यो नि । मैले यही कुरा उनलाई बुझाउन खोजेको थिएँ ।
० ० ०
ट्राफिकलाई निकै समस्याको विषय भनेको युवतीहरूको मापसे चेकिङ हो । दरबारबारमार्गमै मापसे चेकिङ गर्दै थिएँ, ठमेलतिरबाट एउटा स्कुटीमा दुईजना युवती लर्खराउँदै आइपुगे ।
स्कुटी रोकेको त, दुईजना नै सम्हालिनै नसक्ने हालतमा रहेछन् । पारदर्शी लुगा र छोटो स्कर्ट पहिरिएका उनीहरूलाई रोक्न त रोकेँ । अर्को संकट पो आइलाग्यो, “अब घर कसरी पठाउने ?”
स्कुटी र लाइसेन्स छोडेर घर जाओ भनेको त, ट्याक्सी भाडा देऊ रे ! फेरि भन्न थाले, “ ट्याक्सीमा जाँदा दिल्लीको जस्तै घटना भयो भने तिमीहरूले जिम्मा लिन्छौ ?”
दिल्लीमा एकजना युवती गाडीभित्रै सामूहिक बलात्कारको सिकार भएकी थिएन् । झट्ट दिमागमा उक्त घटना आयो ।
एउटा ट्याक्सी बोलाएँ र चालकलाई ‘यिनीहरू बस्ने ठाउँसम्म पुर्याइदिनू’ भनेँ । चालकको लाइसेन्स नम्बर र फोटो खिचेर ट्याक्सीमा चढाइदिएँ । अनि चालकलाई भनेँ, “यिनीहरूलाई पुर्याउनेबित्तिकै मलाई फोन गर्नू ।” युवतीहरू पनि खुसी भए । उनीहरूलाई पनि घर पुग्ने वित्तिकै मलाई
फोन गर्नु भन्दै नम्बर दिएँ । बानेश्वर हाइट रहेछ घर, केही बेरपछि फोन आयो, “हामी घर पुग्यौँ, धन्यवाद !”
० ० ०
ड्युटीमा पाटन मंंगलबजार थिएँ । एक जना खाइलाग्दो नेवार केटा रक्सी खाएर हल्लिँदै मोटरसाइकल चलाउँदै रहेछ । सिट्ठी फुकेँ, पर पुगेर रोकियो । नजिकै गएर सोधँ, “रक्सी खाएर सवारी चलाउने ?”
नेवारले रक्सी नखाए दूध खान्छ त ? भनेर पो बम्कियो ! ठुल्ठूलो स्वरले भन्न थाल्यो, “नेवार भएर नेवारी परम्परा नबुझ्ने ? हाम्रो त जन्मिँदा पनि रक्सी चाहिन्छ मर्दा पनि रक्सी नै चाहिन्छ । आज गुठीको भोज थियो, रक्सी नि खाएको छु, छ्याङ पनि खाएको छु, के गर्छौ तिम्ले ?,
बाबुबाजेदेखि खाँदै आएको हो, मैले पनि खाएँ के बिग्रियो ? ”
बाटै जाम हुनेगरी वरपरका मानिस भेला भए । मैले पनि भनेँ, “धेरै ठूला कुरा नगर, हो बाबुबाजेले पनि रक्सी खान्थे तर रक्सी खाएपछि यसरी गाडी चलाएर, मोटरसाइकल चलाएर हिँड्दैनथे । आफ्नो संस्कार मान्नुपर्छ, रीतिरिवाज जोगाउनु पर्छ । आफ्नो परम्परा मान्ने भन्दैमा रक्सी
खाएर सम्हाल्ने नसक्ने गरी हिँड्छन् ? दुर्घटनामा परेर अपांग भयौ, ज्यानै गयो भने के हुन्छ ? यो मेरो लागि हैन तिम्रै लागि भनेको हो ।”
यति भनेपछि ऊ पालुङ्गो जसरी ओइलायो, मोटरसाइकल र लाइसेन्स छाडेर गयो ।
त्यस्तै घटना भयो ग्वार्कोमा । भूकम्प गएको पर्सिपल्ट मापसे चेकिङ गर्यो भनेर त्यहाँको ज्यापू समाजले चक्का जामै पो गर्यो ! त्यतिमात्रै होइन जुलुसै लिएर मेरो अफिस आयो र भन्न थाल्यो, “नेवार टोलमा मापसे चेकिङ किन गर्ने ? जातले पाएको हातले खाएको, नेवारले रक्सी नखाए के खान्छ त !”
त्यसपछि मैले पनि मेट्रो वानमा रहेका विज्ञाननाथ शर्मा र ट्राफिक महाशाखाका जयबहादुर चन्दलाई घटनाको जानकारी गराएँ । उहाँहरूले भन्नु भयो, “चक्का जाम गरुन् कि मरुन् ! एक पाइला पछि नहट्नु । नियमभन्दा माथि कोही छैन । नियमअनुसार गर्नु, कसैलाई नछोड्नु ।”
यति आड पाएपछि कसैको लाइसेन्स दिइन । अन्ततः सीतारामले मान्दैन भनेर आफैँ हार मानेर र बाटो लागे ।
० ० ०
केशरमहल अगाडि ड्युटीमा थिएँ, एउटा नीलो रंगको माइक्रो रातो बत्ती क्रस गरेर अगि बढ्यो । अगाडि कालोकोट लगाएका वकिल रहेछन् । अगाडि जो सुकै होस् के मतलब ! मैले चालकसँग लाइसेन्स मागेँ र रातो बत्तीमा रोकिनुपर्छ भन्ने थाहा छैन भनेर हप्काएँ ।
वकिल पो कराउन थाले, “हतार छ एकचोटीलाई छाडिदिनुस् न ।”
“ए कानुन फुर्सदमा मान्न बनाएको ? तपाइँले कानुन पढेको त्यही हो । अहिले लाइसेन्स नसमाऊ भन्न सक्नेले अघि रातो बत्तीमा चालकलाई रोकिनुपर्छ भनेर किन नभनेको ?”
यति भनेपछि ती वकिल कालोनीलो भए ।
० ० ०
प्रदर्शनीमार्गमा ड्युटीमा थिएँ । घाम चर्किएको थियो । पेटीमा शीतल तापुँ भनेर उभिएको थिएँ, छेवैका एक हुल युवा खुशीयाली साट्दै ‘चस’ गर्दै थिए । के को हाँसो रहेछ भनेर कान थापेको त समूहका एकजना युवा उत्तेजित हुँदै सुनाउँदै थिए, “बिनालाइसेन्स मोटरसाइकलमा तीन जना राखेर पुतलीसडक पार गरेँ !”
ए बाबा निमय कानुन ट्राफिकका लागि मानिदिने हो र ! ती युवाको कुराकानी सुन्दा मेरा कन्सिरीका रौँ ठाडा भए । ट्राफिकले नदेखे जे गरे पनि हुने, प्रहरीले नदेखे जत्रो अपराध गरे पनि हुने, कस्तो चेतना ?
हामी कहाँ कस्तो भयो भने, गाउँघर तिर छोटो दूरीमा पनि बाहिरफेर निस्कनु पर्यो भने छोराले आमालाई भन्छ, “बजारसम्म पुगेर आउनु पर्यो हेल्मेट दिनुस् त ।” आमाले कौसीबाट भन्छिन्, “ट्राफिक छैन किन चाहियो हेल्मेट । त्यसै गए भइहाल्यो नि !”
मोटरसाइकलमा आफू बस्नु छ, यात्रा आफू गर्नु छ । दुर्घटना भए जोखिम आफूलाई हुन्छ तर हेल्मेटचाहिँ ट्राफिकका लागि लगाइदिनु पर्ने ? धत् !
कोटेश्वरमै ड्युटीमा थिएँ, एकजना सहचालकले मलाई फोन गर्यो, “सीताराम सर, मलाई गाडी चालकले कोटेश्वरमा सीताराम छ, कोटेश्वर पुगेपछि चाहिँ बसको ढोका लगाउनु भन्यो ।”
ए ट्राफिकका लागि पो ढोका लगाइदिनु पर्ने, तीव्र गतीमा बस चलाउँदा यात्रु खस्लान् भनेर सुरक्षाको लागि पो ढोका लगाऊ भनेको त । यहाँ त चालकले सहचालकलाई ट्राफिकको अगाडि पो ढोका लगाएझैँ गर भन्दा रहेछन् !
त्यसपछि यात्रु झारेर आएपछि त्यो गाडी चालकलाई कोटेश्वर चोकमै हप्काएँ, “अघि के भनेको रे ! सीतारामको अगाडिमात्रै बसको ढोका लगाऊ भनेर सहचालकलाई अह्राउने ? मेरो लागि ढोका लगाऊ भनेको हो ? यात्रुबारे कुनै चिन्ता छैन ?”
चालक खिस्रिक्क पर्यो ।
० ० ०
लाइसेन्स नलिई सवारी नचलाऊ भनेको आफ्नै छोरोले मानेन । त्यसपछि आफैँ मोटरसाइकल समाएँ र कक्षा लिएर छाडिदिएँ । आफ्नै ज्वाइँलाई पनि कारबाही गर्न बाँकी राखेको छैन मैले । दाइले चिट काट्यो भनेर भाइ धेरैसमय बोलेन । मैले त उनीहरूलाई कारबाही गरेको होइन नि, दुर्घटनाबाट बँचाएको पो हो त । ट्राफिकले आफ्नो लागि कारबाही गर्दैन नि, यहाँ त हित गर्दा पनि अहित गरेको ठान्छन् । मैले अरूको छोराको मोटरसाइकल समाउने अनि मेरो छोराले गल्ती गर्दा चाहिँ छाडिदिने हो भने मैले बर्दी लगाएको के औचित्य ? ट्राफिक अनुशासनले मलाई त्यही सिकाएको हो र ?
आफ्नालाई पनि बाँकी नराखेपछि टोलका मानिसले मलाई कहिल्यै दुःख दिएनन् । कुनै दलका नेता तथा माथिल्लो ओहोदाका व्यक्तिले सवारी नियम मिच्दा छाडिदेऊ भनेर फोन गर्ने आँटै गरेनन् ।
फोन गरे पनि म सुन्नेवाला थिइन, बरु भन्थेँ, “निष्पक्ष गर्छु, कुनै चिन्ता लिनु पर्दैन ।” कारबाही खुकुलो गरेर खुलेआम दुर्घटना हुन दिऊँ, भाउजुबुहारी, आमा दिदीबहिनीको सिउँदो पुछिएको टुलुटुलु हेरुँ ? अहँ मेरो धर्मले दिँदैन । मैले त अरूको जीवन बचाउनै पर्छ । दुर्घटना कम गर्नै पर्छ ।
० ० ०
तत्कालीन डीआईजी विज्ञाननाथ शर्मा हुनहुन्थ्यो । मेरो ड्युटी दरबारमार्गमा थियो । एक दिन सुन्धारा, सहीदगेट गएको त बाटै ढाकेर सवारी रोकेर यात्रु ओराल्दै उकाल्दै गरेको दृश्य देखेँ । साँगुरो बाटो दुवैतिर रोकेर यात्रु उकाल्दा ओराल्दा परसम्म जाम भएको थियो । जाम खुलाएर कार्यालय गएँ र शर्मासरलाई भनेँ, “साप सहीदगेटको पेटी हान्दिऊँ र यात्रु उकाल्नओराल्न बन्द गरिदिउँ ।” उहाँ पनि सहमत हुनुभयो र त्यहाँ यात्रु उकाल्न ओराल्न बन्द गरिदियौँ । त्यस्तै लैनचौर समाज कल्याण परिषदको पर्खाल पनि भत्काएँ र त्यहाँ गणेशको मन्दिर स्थापना गरेँ ।
नागपोखरी– नक्सालको बाटो वान वे गरेँ । जय नेपालदेखि एकेडेमीको मोडसम्मको सडक फराकिलो बनाएँ । नागपोखरीको बाटो वान वे बनाएपछि रवीन्द्रप्रताप शाह सरले भन्नुभयो, “ सीताराम नागपोखरीमा वान वे गर्दा पनि बाटो साँघुरो भयो अब के गर्छौ, आवागमन त सजिलो भएन नि ?”
त्यसपछि नन्दीरात्री स्कुलसँग सल्लाह गरेर त्यहाँको ७८ वर्ष पुरानो पर्खाल भत्काएँ र पश्चिमतर्फ बाटो सहज गरेँ । ७८ वर्षमात्र भएकाले पुरातत्वले भत्काउन दियो । सुनेको थिएँ, सय वर्ष पुरानो भएको भए भत्काउन पाइँदैनथ्यो ।
त्यस्तै पुरानो बर्सपार्क नजिकै विद्युत् प्राधिकरणको सब स्टेसनलाई राष्ट्रिय सभागृह मोडमा सारेँ ।
० ० ०
म ट्राफिक सेवामा खटिएको २६ वर्ष भयो । करिब ३० वर्ष अगि म रत्नपार्क आउँदा पनि ट्राफिकले उसैगरी हातको इसारामा काम गर्नु पर्थ्यो । अरू सुविधा त परै जाओस् अहिले महत्वपूर्ण चोकका १५ वटा ट्राफिक लाइटमध्ये १३ वटा बिग्रेका छन् । आवागमन सहज बनाउन ट्राफिक मरिमेटेर लाग्नुपरेको छ तर त्यो सबै ‘म्यानुअल्ली’ मात्रै हो । ट्राफिक व्यवस्थापनमा नयाँ नयाँ प्रविधि आइसकेको छ हामी भने हात हल्लाएर सिट्ठी फुकेर काम गर्न बाध्य छौँ । चोकमा बसेर गाडीका कर्कश आवाज सुन्दासुन्दै ८० प्रतिशत कान नसुन्ने भइसकेँ । धुवा धुलोले श्वासप्रश्वासमा असर पुर्याएको छ । आँखा धमिलो देख्न थालिसकेँ । हुन त गोली थाप्न तयार भएर देशको सेवामा होमिएको मान्छेले कान सुनिन, आँखा देखिन भनेर के चित्त दुखाउनु ? तर पनि यो गम्भीर विषय हो ।
० ० ०
२०४८ सालमा पनि सवारी नियम उल्लङ्घन गर्नेलाई दुई सय रुपैयाँसम्म जरिवाना थियो । त्यतिबेला उपत्यकाभित्रको सवारी भाडा एक रुपैयाँ थियो । त्यस वेलादेखि यता कति भाऊ वृद्धि भयो होला त्यसप्रति सोचविचारै नगरी त्यसै जरिवाना बढायो भन्नु हुँदैन । फेरि कारबाही नियम नमान्नेलाई मात्रै हो । नियम माने त जति जरिवाना बढाए पनि केही फरक पर्दैन । अन्य देशमा पनि सवारी नियम मिच्नेलाई गम्भीर कारबाही गर्ने प्रचलन छ , हामीकहाँ पनि त्यसको सुरुआत गरिएको हो । मानिसको जीवन जोगियोस्, समयमा गन्तव्यमा पुगून् । आवागमन सहज होस्, यात्रु चालक मर्कामा नपरुन् । अकाल मृत्युवरण गर्न नपरोस् भन्ने हाम्रो ध्येय हो । अन्यथा केही होइन् ।
एउटा रोचक प्रसंग छ, लगनखेलमा एउटा पजेरो रोकेर चालक मस्त गाडीभित्रै सुतिराखेका थिए । ए भाइ, अगाडि साइन बोर्ड हेर त यो ‘नो पार्किङ’ जोन हो भनेको त, चालक भन्छ, “साहुजी सुपरमार्केटमा सामग्री किन्न जानु भएको छ पाँच मिनेट है ।”
पाँच मिनेट कुरेँ र गाडी धनी आएपछि सोधेँ, “ ए सर यो त नो पार्किङ हो, किन गाडी रोक्नु भएको ?”
सवारी धनीले भने, “ए सीताराम पाँच मिनेट त हो नि फेरि के डिस्टर्व भएको छ र ?”
मैले उनको कुरै नसुनी चालकसँग लाइसेन्स मागेँ । गाडी धनीले तत्कालै चालकलाई भने, “दुई सय रुपैयाँको पुर्जी हैन, लाइसेन्स देऊ देऊ ।”
त्यस्तै कलंकी चोकमा पूर्व पश्चिम जाने गाडीका चालकले एक घन्टा रोकेर यात्रु चढाउँदा रहेछन् । एउटा यात्रु चढाउँदा हजार पन्ध्रसय रुपैयाँ कमाउँछन्, उनीहरूलाई तीन सय रुपैयाँ तिर्न के अप्ठेरो भयो र ! त्यसैले पनि ट्राफिक जरिवाना बढाउनु परेको हो ।
यात्रु गुनासो गर्छन्, उपत्यकाभित्रका सार्वजनिक सवारीले भेडाबाख्रासरह यात्रु कोचे । सवारी ऐनअनुसार लामो दूरीमा सिटभन्दा बढी यात्रु राख्न पाइँदैन तर छोटो दूरीमा गाडी बाहिर शरीर निकालेर र छतमा यात्रु राखेर यात्रा गर्न पाइँदैन । ढोका लगाएर जति कोचे पनि हुन्छ । कानुनले नै त्यसो भनेपछि कारबाही गर्न नसकिएको हो । यसलाई सच्याउनुपर्छ ।
० ० ०
बिहान ६ बजेदेखि नै ड्युटीमा खटिन्छु । जहा जाम त्यहाँ सीताराम चाहियो भन्छन् । घर भक्तपुर भए पनि डेरा गरेर यतै बसेको छु । ड्युटीभन्दा मेरो अरू कर्तव्य छैन । श्रीमतीसँग घुम्न नगएको ६ वर्ष भयो । छोरालाई होमवर्क गराउने, पढाउने त मैले गर्दै गरिन । हलमा फिल्म हेर्न नगएको १० वर्ष भएछ । मैले श्रीमतीलाई भनेको छु, “मेरो पहिलो प्राथमिकता ट्राफिक व्यवस्थापन हो है । त्यसपछि मात्रै तिमी पर्छ्यौ ।” सुरुमा त ठुस्स परि । पछि कुरा बुझिछ क्यारे, कचकच गर्दिन ।
उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ट्राफिक एप्स पनि बनाएका छौँ । त्यो मेरै पहलमा बनेको हो । श्रीष कर्माचार्यले निःशुल्क त्यो एप्स बनाइदिएका हुन् । सुरुमा ट्राफिकको छुट्टै भवन थिएन त्यसैले मलाई लाग्यो, जनस्तरबाट सहयोग जुटाएर ट्राफिक कार्यालयको स्थापना गर्नु पर्छ । कालिमाटीबाट सुरु गरेँ । कालिमाटीमा विसं. २०५८ सालमा १२ लाख लागतमा भवन बनाएको हो । त्यसपछि विसं. २०६१ सालमा कोटेश्वरमा ४२ लाखमा भवन तयार भयो, दरबारमार्गमा विसं. २०६८ सालमा ६२ लाख लागतमा भवन बन्यो र अहिले सातदोवाटोमा दुई करोडको लागतमा भवन तयार भइरहेको छ ।
ट्राफिक व्यवस्थापन राम्रो भएन भन्ने गुनासो पनि सुनिन्छ । विसं. २०४८ सालमा दश लाख जनसंख्या हुँदा उपत्यका सवारी संख्या ८४ हजार थियो । अहिले ४ लाख ८० हजार सवारी छन् । जनसंख्या त ४० लाख नाघिसक्यो । ०४८ सालमा महिनामा १२ जनाले ज्यान गुमाउँथे अहिले पनि त्यो संख्यामा खासै वृद्धि भएको छैन । त्यसैले ट्राफिक व्यवस्थापन नराम्रो छैन । प्रविधिमैत्री, सूचनामैत्री कति हुन सक्यो सकेन त्यो बहसको पाटो हुनसक्छ ।
२० वटा ट्राफिक मोटरसाइकल, २० वटा गोप्य क्यामेरा, ठाउँठाउँमा सीसी क्यामेरा परिचालन गरेर हामी ट्राफिक व्यवस्थापनमा खटिएका छौँ । यसमा हाम्रो मात्रै प्रयासले पुग्दैन । सवारी चालक, धनी, नागरिक समाज सबैले आ–आफ्नो ठाउँबाट सघाऊ पुर्याउनुपर्छ । सोच बदलौँ, देश बदलिन्छ ।
No comments:
Post a Comment