अक्षर काका
काठमाडौँको धर्मपथस्थित गोरखापत्र संस्थानको पहेँलो ढोकाअगाडि ठूलो पीपलको रुख छ । न्युरोडको त्यो पीपलको रुख जहानियाँ राणाशासनको मात्र होइन, प्रजातन्त्र, पञ्चायत, बहुदल र लोकतान्त्रिक गणतन्त्रको साक्षीसमेत हो । मुलुकको परिवर्तनसँग कुनै साइनो–सम्बन्ध नभए पनि पीपलको बोटमा व्यवस्था–परिवर्तनका आयामहरू कुनै न कुनै कोणबाट ठोक्किन आइपुगेकै छन् । र त, शीतल ताप्ने चौतारीमात्र होइन, भलाकुसारीको संगमस्थल पनि बन्न पुगेको छ न्युरोडको पीपलबोट । चौतारोमा चियागफ, राजनीतिक भेटघाट र साहित्यिक बसिबियाँलो समेत हुने गरेको बताउँछन् त्यहाँ पत्रपत्रिका बेच्नेहरू ।
त्यसैसँग साँध जोडिएको छ भूगोलपार्कको । त्यहाँ वि.सं. १९९० सालको भूकम्पमा मारिएकाहरूको सम्झनामा स्मारक पनि बनाइएको छ । त्यो भूगोलपार्कले बटुवालाई छहारी मात्रै दिएको छैन, पार्कवरिपरि चहारेर भोक भर्नेहरूलाई पनि राम्रै शीतलता थपिदिएको छ । र त, भूगोलपार्क सडकका छाया–पात्रहरूको किनाराको साक्षी पनि हो ।
त्यहाँ पत्रिका बेचेर पेट पाल्नेदेखि जुत्ता टल्काएर चुल्हो बाल्नेसम्म भेटिन्छन् । त्यस्तै पात्रमध्ये एकको जीवनचर्या हो यो :
० ० ०
यो उल्लेख गरिरहनुपर्ने विषय होइन, सडकले सत्ता मात्रै दिएको छैन, धेरैका भोक पनि मेटाइदिएको छ । मुलुकका ठुल्ठूला परिवर्तनहरू सडक–संघर्षबाटै भएका छन् । तर, पछिल्लो समय सडक निमुखाहरूको छाक टार्ने गतिलो माध्यम पनि बनेको छ । फुटपाथमा जुत्ता टल्काएर ‘भाग्य चम्काउँदै’ गरेका एक पात्र हुन्– ६२ वर्षीय मीनबहादुर रम्तेल ।
दक्षिणी ललितपुर झरुवारासी स्थायी घर भएका रम्तेलले न्युरोडमै जुत्ता पालिस गर्न र सिलाउन थालेको झन्डै ३० वर्ष भयो । आजसम्म उनको गृहस्थी पुराना जुत्तामा पालिस लगाएर र फाटेका जुत्ता सिलाएरै चलेको छ ।
उनले घरको दुःखले पढ्न पाइएनन् । सानैदेखि गन्हाउने छालासँग खेल्नुपर्यो । स्कुलमा तीन कक्षा मात्र पढ्न पाएका रम्तेलले बामे सर्ने बेलादेखि नै छालाको काम सिके र अहिलेसम्म त्यसैलाई नै जीविकोपार्जनको मुख्य माध्यम बनाएका छन् ।
गाउँमा उनीहरू पाँच घर–परिवार रम्तेल छन् । अहिले भाइ र उनीमात्रै यो पेसामा आबद्ध छन् । अरू खेती–किसानी गर्छन् । भन्छन्, “हाम्रो त औँला डोब्ने जग्गा पनि छैन । जुत्ता नसिलाए मुखमा माड पर्दैन ।”
पहिले–पहिले उनीहरूले घरमै जुत्ता सिलाउँथे । बाबुका हातपाखुरा चलुन्जेल घरमै जुत्ता बनाए । पछि छाला महँगो हुन थाल्यो । काम गरेको ज्याला पनि नउठ्दा जुत्ता बनाउनै छाडे ।
नयाँ–नयाँ जुत्ता कारखानाहरू खुल्न थाले । आधुनिक कारखानामा बनेका आकर्षक जुत्ता लगाउन छाडेर हातले बनाएका जुत्ता बनाउन को आउँथ्यो र ? त्यसैले उनी कामको खोजीमा हिँड्न थाले ।
घरमै छालाका जुत्ता बनाउन सिकिसकेको हुँदा उनले केही समय बाँसबारी छाला–जुत्ता कारखानामा काम गरे । केही समय काम गरेपछि कारखानाले कामदार कटौती गर्न थाल्यो । त्यसपछि उनी सातदोबाटोस्थित ‘नेपाल सुज’ पुगे । त्यहाँ पनि दुई वर्ष जति काम गरेपछि कम्पनी आफैँ बन्द भयो । “नेपाल सुज उद्योगमा हामीले प्रहरीका जुत्ता बनाउँथ्यौँ । पछि कम्पनी सञ्चालकबीच विवाद उत्पन्न भयो र कम्पनी बन्द भयो,” उनले भने, “त्यसपछि म न्युरोडको पेटीमा आइपुगें ।”
० ० ०
उनी भूगोलपार्कमा जुत्ता सिलाएर बस्न थालेको २८ वर्ष भयो । साथीहरूसँगै उनी त्यहाँ आएका हुन् । भूगोलपार्कमा अहिले उनीसँगै १२ जना जुत्ता पालिस गर्ने काम गर्छन् । सबै उपत्यकावरिपरिका हुन् । नजिकै खतिवडा थरका एक व्यक्ति थिए, उनले त न्युरोडमा जुत्ता सिलाउन थालेको ५६ वर्ष भइसकेको रहेछ । सेतै कपाल फुलेका उनी हौसिँदै थिए, “शरीरले साथ दिउन्जेल यो पीपलको रुख छोड्दिनँ ।”
उनीहरूले जुत्ता सिलाउने ठाउँमा अरू थपिन पाउँदैनन् रे ! “नयाँ मानिस आउन पाउँदैनन्, जति पुराना छौँ, त्यति मात्रै हौँ, हामीले त काठमाडौँ महानगरपालिकामा नाम दर्ता गरेका छौँ नि,” मीनबहादुरले सुनाए ।
महानगरमा नाम दर्ता गरेकाले नगर–प्रहरीले उनीहरूलाई दुःख दिँदैनन् । “बाटामा सामान फिँजाएर आवत–जावतमा बाधा पुर्याउनेका सामान मात्रै नगरपालिकाले उठाउँछ,” उनले प्रस्ट पारे ।
पहिले–पहिले त्यति कमाइ हुँदैनथ्यो । “मानिसलाई खानै पुग्दैनथ्यो । पेटभरि खान–लाउन पनि मानिससँग पैसा हुँदैनथ्यो, जुत्ता किन्न सक्ने हैसियत नभएकाले खाली–खुट्टै हिँड्थे, हामीकहाँ आउनेहरू एकदमै कम हुन्थे,” उनी भन्छन्, “अहिले कमाइ राम्रै हुन्छ । धेरै त भन्न मिल्दैन तर दिनको ४ सयदेखि ७–८ सय रुपैयाँसम्म आम्दानी हुन्छ ।”
कुराकानीको अवधिभर उनी हातमा सियो र धागो लिएर काममा खट्न छाडेनन् । हरेक प्रश्नका जवाफ आफ्नै पारामा दिन रुचाउने मीनबहादुरसँग अनेक किस्सा रहेछन् । दुःखका अनेक कथा–व्यथा पनि । भन्छन् “हरेक मानिससँग आफ्नै संघर्ष हुन्छ, कथा–व्यथाहरू हुन्छन्, मलाई मात्रै दुःख पर्यो भनेर पीडा व्यक्त गरेर त हुँदैन नि, जस्तो पनि पचाएर अघि बढ्नुपर्छ र त छोरो मान्छे !”
छोरो मान्छे भनेको जस्ताको तस्तै हुनुपर्ने बताउँदै ‘दुःख पाएँ’ भनेर निराश बन्न नहुने तर्क पनि उनले गरे । र, पनि आफ्नो पीडा भने पोखिहाले, “यो झरीमा बिनाओत जुत्ता सिलाएर बस्नुपरेको छ, रहरले त दुःख बेसाइरहेका छैनौँ नि !”
पुख्र्यौली पेसा भएकाले आफ्नो कामप्रति उनलाई गर्व लाग्छ । भन्छन्, “यहाँ काम नपाएर मानिसहरू बिदेसिएका छन् । घर–परिवार छाडेर परदेशी भूमिमा पसिना बगाउनुपरेको छ । त्यहाँ उनीहरूले यहाँभन्दा पनि हन्डर/ठक्कर पाएका छन् । कति त अकाल मृत्युवरण गर्न पुग्छन्, हामी त यहाँ खुसीले काम गरिरहेका छौँ ।”
० ० ०
अगाडि काठको बाकस छ । त्यहाँ उनले केही थान पालिसका बट्टा र ब्रसहरू बडो राम्रोसँग सजाएर राखेका छन् । केही थान तलुवा र जुत्ताका तुनाहरू पनि रहेछन् । “हाम्रो त सम्पत्ति भन्नु नै यही हो,” उनले सुनाए, “घामपानीले पुरानो भइसक्यो ।”
०५५ सालमा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजू राणा देउवाले जुत्ता पालिस लगाएर बस्ने सबैलाई एक–एक वटा काठको बाकस र छाता सहयोग गरेकी रहिछन् । अहिले ती बाकस पुराना भएर काम नलाग्ने भइसकेका छन् । “सहयोगमा पाएको भएर होला, फाल्न पनि माया लाग्दो रहेछ । हामीलाई यो ‘सुदामाको कनिका’झैँ भएको छ,” उनले भने ।
उनी यहाँ आउँदा दाह्रीसम्म पलाएको थिएन, अहिले कपाल फुलिसक्यो । काठको बाकस के नमक्कियोस् ! हुवावे (मोबाइल ब्रान्ड) कम्पनीले छाता ओताइदिएको छ ।
“अस्ति मोबाइल कम्पनीको बजार हेर्ने मानिस आएर हामीलाई छाता दिए, यसबाट कम्पनीको विज्ञापन भयो अलग कुरा हो, हामीलाई सुविधा पनि त भयो नि,” उनले भने, “छाताले ठूलो पानी भने छेक्दैन । हाम्रो दुःख देखेर कसैले त्रिपाल सहयोग गरेर ओताइदिए हुन्थ्यो नि !”
० ० ०
काम गर्न सजिलो छैन तर उनी हाँसी–हाँसी भन्छन्, “कुर्सीमा बसेर खान पनि गाह्रै हुन्छ, काम गर्दा त अलि–अलि दुःख भइहाल्छ नि, हात बाँधेर कसरी गुजारा चल्छ र ! जुत्ता खुट्दा हातमा सियोले घोच्छ, तातो घाममा सेकिएर जुत्ता पालिस गर्दा पनि तिखा वचन लगाउनेहरू पनि नभएका होइनन्, तर हामी सबै सहन्छौँ । सयमा एक–दुईजनाले त्यसो भने भनेर मन दुखाएर पनि त भएन नि ।”
उनी मुस्कुराए ।
कुराकानीकै क्रममा एकजना महिला आइन् । ती महिला उनकी नियमित ग्राहक पनि हुन् रे ! महिलाका बारेमा प्रस्ट्याउँदै उनले बताए, “बुझ्नुभो बाबु, उहाँ सधैँ आइरहने गाहकी हुुनुहुन्छ, महिना–पन्ध्र दिनमा बाटो काट्नु हुन्न । हाम्रा सम्पत्ति भनेकै उहाँहरू त हो नि ।”
महिलाका हातमा दुई जोर जुत्ता रहेछन् । करिब १५ मिनेटमा उनले ती फाटेका जुत्ता सिलाइसके । महिला सय रुपैयाँ थमाइदिएर खुसी हुँदै बिदा भइन् । महिला ओझेल पर्नेबित्तिकै उनले थपे, “देख्नुभयो बाबु ? कसैले खुसी भएर सय–पचास पनि दिन्छन्, कसैले लागेको ज्याला दिन पनि गाह्रो मान्छन् ।”
उनी फेरि हाँसे ।
नभन्दै त्यस्तै भयो, केहीबेरमा करिब २५ वर्षका एक युवक जुत्ता सिलाउन आइपुगे । हातमा छालाका जुत्ता झुन्ड्याएका उनले सोधे, “बाजे जुत्ता सिलाएको कति हो ?” उनले ८० रुपियाँ लाग्ने बताएपछि युवक फरक्क फर्केर आफ्नै बाटो लागे । लगत्तै मीनबहादुरले भने, “देखिहाल्नुभयो ! कसैलाई त लाग्ने पैसा तिर्न पनि दाँतबाट पसिना आउँछ ।”
० ० ०
उनीकहाँ उच्चपदस्थ सरकारी कर्मचारी पनि जुत्ता पालिस गर्न आउँछन् । त्यसो त नजिकै प्रहरीका पूर्वअधिकारी श्याम थापा थिए । उनले नियमित जुत्ता पालिस गर्न आउने गरेको बताए । “म यहाँ नियमित आउन थालेको १२ वर्ष भयो, प्रहरीसेवामा हुँदा पनि बारम्बार आइरहन्थेँ । सेवानिवृत्त भएपछि पनि आउन छाडेको छैन, अन्त त चित्तै बुझ्दैन,” उनले त्यहाँ आउनुको तात्पर्य खुलाए ।
मीनबहादुर त्यहाँ आउने ग्राहकको सेवामा दिलोज्यान दिन्छन्, भएजति सीप खन्याउँछन् । “ग्राहक भगवान हुन्, यही गरेर हातमुख जोरिरहेको छु । काममा ध्यान त दिनैपर्यो नि,” उनले जोड दिए ।
कुराकानीको अन्तिममा उनले थपे, “आफ्नो पेसाप्रति सबैले गर्व गर्नुपर्छ । काम ठूला–साना हुँदैनन् । आफ्नो पेसाप्रति गौरव गर्न सकिएन भने पछि परिन्छ ।”
सम्बन्धित समाचार
No comments:
Post a Comment