अक्षर काका
त्रिभुवन विमानस्थलको उत्तरतर्फ नेपाली सेनाको ब्यारेक अघिल्तिर अफगानिस्तानको काबुल विस्फोटमा मारिएकाहरूका आफन्त शव कुरेर बसिरहेका थिए भने त्यसको ठीक दक्षिणपट्टि त्योभन्दा ठूलो भीड थियो मुलुक छाड्नेको ।
सोमबार अफगानिस्तानको राजधानी काबुलस्थित क्यानेडियन दूतावासमा सुरक्षागार्डका रूपमा कार्यरत १३ नेपाली बम हमलामा मारिए । तिनको शव कुरिरहेका आफन्तजनको आँखामा सपनाको अवसानसँगै आँसुका धारामात्र देखिन्थे ।
काबुलमा जीवन बिसाएका मृतकका आफन्त हातमा माला बोकेर अन्तिम श्रद्धाञ्जलीका लागि एकातिर पर्खिरहँदा अर्कातिर विमानस्थलको मूल ढोकामै विदेश जानेको लाम थियो ।
दुवै पक्षका हातमा माला थिए । एउटा पक्ष विदेश जानेलाई बिदा गर्दै थियो भने अर्को पक्ष अफगानिस्तान विस्फोटमा आफन्त गुमाएर शोक विह्वल थिए ।
विमानस्थलभित्रका यी दुई फरक दृश्यले दिनभर मन बिथोलिरह्यो ।
विदेशिनेहरूको पंक्तिमा १६ वर्षका युवामात्रै होइन तिलचाम्ले कपाल भइसकेका प्रौढ पनि थिए । उनीहरू हातमा राहदानी बोकेर विमानस्थल भित्र छिर्ने पालो पर्खिरहँदा आकाशमाथि नेपाल एयरलाइन्सको जहाज देखियो । जहाजमा सपना पूरा गरेर रमाउँदै फर्किएका नौजवान युवा होइन रित्ता चाहना र उदास अनुहार लिएर फर्किएका २४ जना नेपाली र तीसँगै विदेशी भूमिमा पसिना बगाउँदा बगाउँदै रगत बगाउन बाध्य १२ जनाको शव थियो ।
विदेशिन पंक्तिबद्ध उनीहरू विमानप्रति बेखबरजस्तै देखिन्थे ।
“साँच्ची प्रधानमन्त्री विमानस्थल आउँदैछन् रे नि !,” कतार जाने तरखर गरिरहेका एक युवाले भिडमा आश्चर्य व्यक्त गरे ।
उनको कौतुहल भुइँमा झर्न नपाउँदै सँगै उभिएका अर्का युवाले जवाफ फर्काइहाले, “काबुलबाट लास ल्याउँदै छ रे श्रद्धाञ्जली दिन आउँदै होलान् ।” वाक्य नटुंग्याउँदै उनले पुनः भने, “प्रधानमन्त्री, राष्ट्रपति आएर के भयो र हामीजस्तै गरी देशका नागरिकको विदेशिनुपर्ने बाध्यता रोकिने होइन ।”
विदेशिनु उनको रहर हो या बाध्यता, आवश्यकता हो चाहना ? त्यो त उनीहरू नै जानुन् । जे होस्, त्यहाँका अधिकांश युवाको अनुहारमा विदेशिनु बाध्यताजस्तै देखिन्थ्यो । कारण, भर्खर विवाह बन्धनमा बाँधिएका युवादेखि काखे नानी आफन्तको जिम्मा लगाएर ट्रली गुडाइहेका महिला पनि विदेशिनेको हुलमा प्रशस्तै थिए । ती महिलाको मुहारमा मातृबात्सल्यभन्दा ज्यादा गरिबी र दुःख प्रतिविम्बित थियो ।
पछ्यौरीको सप्कोले आँसु पुछेर बिदाइको अंकमाल गरिरहेका नवयौवनाको विवशता हेर्दै म काबुल घटनामा ज्यान गुमाएका आफन्तहरूको हुलमा मिसिएँ ।
त्यसो त म सशस्त्र द्वन्द्वकालमा पनि एकजना आफन्तको शव बुझ्न ब्यारेक छिरेको थिएँ । दोहोरो मुठभेडमा मारिएका आफन्तको रुवावासी छिचोल्दैभित्र त्यति बेला पनि त्यहाँ पुग्न मलाई हम्मेहम्मे परेको थियो । घटना फरक भए पनि वातावरण उस्तै थियो ।
अविरल झरी र आफन्तको रुवावासीले विमानस्थल परिसर शोकको सागरमा चुर्लुम्म डुवेझैं प्रतीत हुन्थ्यो ।
घटना र दुर्घटनामा पीडितहरू त प्रताडित हुन्छन् नै साथै सञ्चारकर्मीले पनि उत्तिकै हन्डर बेहो्नुपर्छ । प्रियजन गुमाएकाहरू शोकले विह्वल हुन्छन् । उनीहरूकै अघिल्तिर गएर सोध्नु पर्छ – “तपाईं केही बताई दिनुहोस् न !”
रुँदारुँदै थाकेकाहरूसँग हामीलाई भन्ने कुनै शब्द हुँदैन र पनि हामीले आफ्नो धर्म पूरा गर्नैपर्छ । कहिले त लाग्छ– ‘धत् ! कस्तो पेसामा लागिएछ ?’
तर, त्यहाँको दृश्य अलि फरक थियो । पीडाले मर्माहत भए तापनि आफन्तजनले आफ्नो शोक सञ्चारमाध्यमलाई पनि बाँड्न कञ्जुस्याइँ गरेनन् ।
सबैजसो सञ्चारमाध्यमलाई उनीहरू धेरथोर आफ्ना पीडा व्यक्त गरिरहेका थिए । उनीहरूको यो सदाशय र मिडियाप्रतिको समभावप्रति म नतमस्तक भएँ । बरु आफैँ निःशब्द भएँ र मनले भनिरह्यो– अवरुद्ध गलाका अगाडि कसरी उभिने र उनीहरूका अगाडि के जिज्ञासा राख्ने ?
आनाकानी गर्दै थिएँ, अगाडि देखिइन्, जितेन्द्रसिंह थापाकी जीवनसंगिनी सञ्जिता थापा । ६ महिनाको काखे छोरो च्यापेर पतिको शव बुझ्न आएकी उनलाई देखेर मन एक तमासको भयो । उनलाई देख्नेबित्तिकै जो कसैको मन भक्कानिन्थ्यो । उनी अर्धबेहोसजस्तै थिइन् ।
एकालापजस्तै केही भन्दै थिइन्, “ज्योतिषीले असारमा ठूलो दशा छ है भनेका छन् भन्दै पिरोलिइरहनुहुन्थ्यो नभन्दै….,” यति भन्दानभन्दै उनको गला अवरुद्ध भइहाल्यो । उनीसँग थप जिज्ञासा राख्ने आँटै आएन । बरु म आफैँ प्रसंग मोडेर ध्यान अन्तै लगेँ, ‘कम्तीमा राज्यले बेलैमा शव ल्याउन तदारुकता त देखायो ।” उनले भनिन्, “शव त ल्याइदियो अब मलाई न्याय पनि दिलाई दिए हुन्थ्यो ।”
उनको भनाइको तात्पर्य बुझ्दा जितेन्द्र थापाका दुई परिवार रहेछन् । ४१ वर्षका मृतक थापाको सञ्जिता कान्छी पत्नी रहिछन् । जेठी पत्नीसँग अंशको विवाद रहेछ । मानापाथी भरेर बेग्लै बसे पनि सम्बन्ध विच्छेद नभएकाले थप विवाद निम्तन सक्ने संशय सञ्जिताका आफन्तले व्यक्त गरे । यसैकारण पनि सञ्जिताको मनमा थप चोट परेको हुनुपर्छ ।
जितेन्द्रले एक वर्ष इराकमा काम गरेका थिए । सञ्जिताले भनिन्, “हाम्रो जीवन भनेको बंकरमै बस्ने, बंकरमै खाने र बंकरमै सुत्ने हो चिन्ता नलिनू भन्नुहुन्थ्यो तर शोकमा पारेर जानुभयो ।”
त्यस्तै ठूलो बज्रपात परेको थियो नुवाकोटका मधुसुदन कोइरालाको परिवारलाई पनि । पाँच सन्तानमध्ये गत वैशाख १२ को भूकम्पमा दुई सन्तान गुमाएका कोइराला परिवारले काबुल आक्रमणमा अभिभावकै गुमायो । आँसुमा चुर्लुम्म डुबेका उनको आफ्नै परिवार विमानस्थल आउन सकेका थिएनन् । त्यहाँ उनका भाइ भतिजा देखिए । उनीहरूको अनुहारमा पनि आँसुको धारा बगेको थियो ।
मधुसुदनलाई स्मरण गर्दै उनका भाइ श्रीकृष्ण कोइरालाले भने, “मेरो जेठो दाजुको छोरा हो मधुसुदन । उमेरले मसँगैको भए पनि हामी सबैको अभिभावक नै थियो । साह्रै दयालु र कसैको दुःख देख्न नसक्ने ऊ अन्ततः हामी सबैलाई रुवाएर गयो ।” यति भन्दा नभन्दै उनले पनि गहभरी आँसु पारिहाले ।
क्यानेडियन दूतावासमा कार्यरत १ सय ४७ नेपालीमध्ये अधिकांश नुवाकोटका छन् । त्यसो त एउटै गाउँमा २० जनासम्म युवा काबुल पुगेका छन् भन्छन् नुवाकोटका सांसद् बहादुरसिंह लामाका भाइ सिंहराज लामा । त्यसैले पनि त्यहीँका तीन जनाले मृत्युवरण गरे । नुवाकोटका धनबहादुर तामाङ, लिलाबहादुर गुरुङ र मधुसुदन कोइरालाले काबुल आक्रमणमा ज्यान गुमाए । उनीहरूका सबैजसो आफन्त शोक मग्न थिए । सिंहराज धनबहादुरको परिवारलाई सहयोग गर्न आएका रहेछन् । “एक त त्यहाँको जनप्रतिनिधि अर्को छिमेकी गाउँकै मानिस भएकाले सहयोग गर्न आएको हुँ,” उनले आउनुको तात्पर्य खुलाए ।
धनबहादुर पनि अफगान जानु पूर्व इराकमै थिए । सेनाको जागिरबाट सेवानिवृत्त भएलगत्तै उनी इराक हानिएका रहेछन् । विसं. २०६१ भदौ १५ गते इराकमा १२ जना नेपालीको हत्या हुँदा उनी त्यहीँ थिए । जोखिम बढ्दै गएपछि उनी त्यहाँबाट फर्किएको सिंहराज बताउँछन् । अफगान जानुपूर्व धनबहादुर कतारमा थिए ।
यस्तै काभ्रेका चन्द्रबहादुर रानामगरका दुई परिवार पनि शव बुझ्न बिहानैदेखि विमानस्थलमा पुगेको रहेछ । उनीहरू पनि आकाशमा जहाज हेर्दै कति बेला आइपुग्ने हो भनिरहेका थिए । जब आकाशमा विमान देखियो, उनीहरूले डाँको छोडी हाले ।
“सरकारले शव ल्याएर ठूलो सहयोग गर्यो । नत्र हामीले लाशसमेत देख्न पाउँदैन थियौँ,” छोरा अशोक रानामगरले सरकारलाई धन्यवाद दिँदै सहयोगको अपेक्षा गरे, “हाम्रो परिवारको सहारा गुमेको छ, हामीलाई पढ्न सहायता गरिदिए हुन्थ्यो ।” त्यसो त उनकी अर्की छोरी आस्थाले पनि आफू निकै पढ्न चाहेको बताउँदै निःशुल्क पठनपाठनको व्यवस्था मिलाइदिन अनुरोध गरिन् । उनी काठमाडौँको सुकेधारामा रहेको साइपल एकेडेमीमा कक्षा १२ पढिरहेकी छन् ।
यस्तै माग छ नुवाकोटका मधुसुदनको परिवारको पनि । उनका तीन छोराछोरीलाई पठनपाठनमा सघाइदिए राज्यप्रति आभारी हुने उनका भाइ नरहरी कोइरालाले बताए । “कमाउने दाजु बितिहाल्नु भयो, बालबच्चा सानै भएकाले आम्दानीको अरु स्रोत छैन, सरकारले हेरिदिए हुन्थ्यो,” उनले दुखेसो पोखे ।
यी त आफन्तको वियोगमा मर्माहत् बन्न पुगेका केही परिवारजनको करुण आवाज र प्रतिनिधि पीडामात्र हुन् । काबुल आक्रमणमा मारिएका १२ जनाको आफन्त र परिवारजनको वेदना शब्दमा चित्रण गर्न सम्भव छैन । विमानस्थलमा बगेका आफन्तजनको आँसु र उनीहरूको पीडाले जस्को मन पनि भक्कानिन्छ तर यो दारुण शृंखलाको अन्त्य कहिले हुन्छ ? यसको जवाफ भने सायद अहिले कसैसँग छैन ।
अफगानिस्तानमा कति नेपाली कार्यरत छन् त्यसको यकिन तथ्यांक राज्यसँग पनि छैन । कारण एजेन्सीको माध्यमबाट र व्यक्तिगत श्रम स्वीकृति लिएर जानेमात्र होइन भारत र दुबईबाट अवैध रूपमा थुपै्र नेपाली अफगान भूमिमा पुगेका छन् । जोखिमयुक्त ठाउँमा काम गरिरहेका छन् । त्यसकारण पनि आतंकवादी हमलामा पर्न सक्ने र ज्यान गुमाउनसक्ने खतरा जति बेला पनि छ । हत्या, आतंकको शृंखला अफगानिस्तानको लागि नौलो नभएको बताउँछन्, काबुलबाट शव ल्याएकै जहाजमा एअर लिफ्ट लिई फर्किएका २४ कामदार ।
सेनाको ब्यारेकभित्र दुईवटा पालको ‘क्याम्प’ खडा गरिएको थियो । एउटा क्याम्पमा उच्च पदस्थ अधिकारी र श्रद्धाञ्जलीका लागि आएका सरकारी कर्मचारी थिए भने पूर्वतर्फको क्याम्पमा मृतकका आफन्त बस्ने बन्दाबस्त मिलाइएको थियो । त्यही क्याम्पमा देखिए एक हट्टाकट्टा प्रौढ ।
अन्दाजी चालीस वर्षका सत्यनारायण श्रेष्ठ त्यही जहाजमा काबुलबाट फर्किएका थिए । घटनाका बेलिविस्तार लगाउँदै उनले भने, “दूतावासकै लापरवाहीले साथीहरूले ज्यान गुमाउनु पर्यो ।” उनको अनुहार पालुङ्गो सरी ओइलाएको थियो भने आँखा सुन्निएका थिए । उनी बताउँदै थिए, “हामी राति ड्युटी परेकाले बाच्याैं नत्र यसैगरी बाकसमा फर्कनु पर्थ्यो ।”
उनका अनुसार दूतावासदेखि क्याम्पसम्म पुग्न करिब १० मिनेट लाग्छ तर बढी डर त्यति बेलै लाग्थ्यो । ‘सिबिल बस’मा लैजाने ल्याउने नगर भनेर लाख बिन्ती गर्दा पनि दूतावासको कानमा बतास नलागेको घटना हुन पुगेको उनी सुनाउँदै थिए ।
20160622_154215
घटना भएको दिन बिहान बम विस्फोटको आवाज उनीहरूको कानमा पर्यो । साथीहरू मारिए भन्ने पक्का भयो । सँगै खाएका, सुतेका साथीहरूका मुखसमेत देख्न पाएनन् । सहरको परपरसम्म पनि बम विस्फोटको आवाज सुनिएको थियो, त्यसपछि आफूहरूलाई त्यहाँ बस्नै मन नलागेको उनले बताए ।
“एक त पहिलेदेखि नै असुरक्षा महसुस गरिरहेका थियौँ, अर्को सँगैका साथीहरू गुमायौँ, त्यसपछि त्यहाँ बसिरहन उपयुक्त लागेन,” उनले त्यहाँबाट फर्कनुको तात्पर्य खुलाए । उनीहरूलाई दूतावासले सुरक्षाको आश्वासन दिएर अन्तिम समयसम्म पनि घर नफर्कन सुझाइरहेको थियो तर दूतावासकै कारण घटना भइसकेकाले त्यहाँ बस्न उपयुक्त नठानेको उनले बताए ।
फर्कनेकै पंक्तिमा अर्का प्रौढ थिए, कास्की हंशपुर–१ का मणिराम खनाल । उनी सञ्चारमाध्यम सामु काबुलका पीडा व्यक्त गरिरहेका थिए । उनी भनिरहेका थिए, “हामीले सुनेसम्म दूतावासलाई विस्फोटको सूचना आएको थियो । आत्मघाती हमला हुनसक्छ भन्ने पूर्व संकेत दूतावासलाई मिलेको थियो तर उनीहरूले त्यसलाई पूरै वेवास्ता गरे ।”
अफगान भूमि आतंकवादीको क्रीडास्थल हो । त्यहाँ कति बेला बम विस्फोट हुन्छ र कति बेला ज्यान गुमाउनुपर्छ कुनै टुंगो छैन । एउटा सडकमा बम विस्फोटका कारण प्रहरीले सिल लगाइरहेको हुन्छ अर्कातर्फ मजाले व्यापार चलिरहेको हुन्छ । आत्मघाती हमला र बम आक्रमणबाट त्यहाँ नागरिकहरू अभ्यस्त भइसकेको उनीहरूले बताए ।
त्यसदिन गाडीमा २१ जना सवार थिए । बाह्र जना नेपाली र दुई भारतीयको ज्यान गयो । गम्भीर घाइते भएका एक नेपालीको उपचारका क्रममा भारतमा निधन भयो । दूतावासको भित्री सुरक्षाका काम गर्ने अधिकांश नेपाली छन् । त्यहाँ कार्यरत १ ।य ४७ कामदारमध्ये ३३ जना घरबिदामा छन् । तेह्र जनाले ज्यान गुमाए भने २४ फर्किए ।
सुरुमै आग्रह गरेअनुसार बुलेटप्रुफ गाडीको व्यवस्था गरिदिएको भए विस्फोटबाट बच्न सकिने उनीहरूको भनाइ छ । तर हतियार बिसाएर सुरक्षाको प्रत्याभूति दिलाउन अनुनय विनय गर्दा पनि दूतावासले कानमा तेल हालेर बसेकाले अप्रिय घटना भएको उनीहरूको ठहर छ ।
त्यहाँ कार्यरत नेपालीले मासिक ९५० अमेरिकी डलर तलब पाउँछन् । त्यसमध्ये ८५० डलर नेपाल आउँछ भने १०० डलर ‘पकेट मनी’ पाउँछन् । “यति पैसाका लागि झन्डै ज्यान बिसाइएन,” काबुलबाट फर्किएका प्युठानका विक्रम विष्टले बताए ।
फर्कनै लाग्दा दूतावासले ‘सुरक्षामा ध्यान दिन्छौँ, घर नजाओ’ भने पनि दूतावासको कुनै विश्वास नलागेर फर्किएको उनको भनाइ थियो । “विदेशी भूमिमा रगत बगाउनु भन्दा आफ्नै माटोमा पसिना बगाउँछु भनेर फर्किएँ,” उनले सुनाए ।
मृतकका आफन्तको रुवावासीले थप विह्वल बनेका उनीहरूको एउटै आग्रह थियो, “ज्यान रहे धन कमाइन्छ, जोखिम मोलेर विदेश नजानुहोस् ।”
केही समयपछि जस्ताको ‘ट्रस्ट’मुनी लस्करै शव राखेका काठका बाकस ल्याइयो । आफन्तको पासपोर्ट अंकित कफिन देख्नेबित्तिकै उनीहरू शोक विह्वल भए । कोही त्यहीँ घोप्टो परेर डाँको छोड्न थाले । प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधान एवम् परराष्ट्रमन्त्री कमल थापा, श्रम तथा रोजगारमन्त्री दीपक बोहोरालगायत सरकारी अधिकारीले मृतकलाई श्रद्धाञ्जली दिए । परिवारजनलाई सान्त्वना दिए । प्रधानमन्त्रीले पनि सक्दो सहयोग गर्ने वचन दिए पनि उनीहरूका आँखा ओभाएनन् ।
रुवावासी र शोकाकुल वाातावरणकै बीचमा अर्को सवाल उठेको छ — त्यो के भने त्यस घटनामा ज्यान गुमाउने अधिकांश सेना या प्रहरीबाट सेवानिवृत्त भइसकेका छन् । आफ्ना परिवारलाई सुखसयलमा राख्ने रहर सबैलाई हुन्छ तर ‘लोभले लाभ लाभले विलाप’ भन्ने नेपाली उखानलाई पनि मनन गर्नै पर्छ ।
काबुलमा ज्यान गुमाउने कतिपय त युद्धग्रस्त इराकमै समेत बसेर आएका रहेछन् । यस्ता घटनाबाट सरकारमात्र होइन स्वयम् वैदेशिक रोजगारीमा जाने पनि सचेत हुनुपर्छ । जोखिम छ भन्ने थाहा पाउँदापाउँदै पनि आँखा चिम्लेर यसैगरी हाम फालिरहने हो भने हामीले हाम्रा आफन्तहरूको शव बुझिरहनु नै पर्नेछ ।
अर्को विदेश सजिलो छैन भन्ने काबुल घटनाले मात्र होइन विमानस्थलमा ओरालिन दैनिक सरदर सातवटा कफिनले पुष्टि गर्छ । उच्च महत्त्वाकांक्षाले खोरिया बेचेर कोरिया जाने, टार धितो राखेर पनि कतार भासिने चाहना राखिरहँदा हामीले आफन्तको शव यसैगरी सनाखत गरिरहनुपर्नेछ ।
त्यस्तै सरकारले काबुलको घटनास्थलमै ज्यान गुमाएका १२ र उपचारका क्रममा निधन भएका एकजनालाई जनही १० लाख दिने घोषणा गरेको छ, यो स्वागतयोग्य हो । यस्तै मृतकका बालबच्चाको शैक्षिक भविष्यतर्फ पनि राज्यले ध्यान पुर्याउनैपर्छ । यसैगरी जसलाई पर्यो टर्यो होइन यो घटनाबाट वैदेशिक रोजगारीमा जाने सबैले पाठ सिक्नै पर्छ । बेलैमा सचेत बनौँ ।
No comments:
Post a Comment