Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

पूर्वमन्त्री जोशीको बयान : पाइलट बन्ने चाहना थियो, कन्डक्टर बनेँ



By  Unknown     5:19 AM    Labels: 

चन्द्रदेव जोशी
 बिद्रोह गरेर हलो जोतेँ
वि.सं. १९९५ सालमा दार्चुलाको शंकरपुरमा असार ९ गते मेरो जन्म भएको हो । हाम्रो परिवार ज्योतिष हो । त्यसो त हाम्रो पुर्ख्यौली पेसा नै ज्योतिषी हो । कहिलेदेखि हामीले यो पेसा सुरु गर्यौँ, त्यसको कुनै लिखित इतिहास छैन । मैले थाहा पाउँदा हजुरबुबा, बुबा त्यही काम गर्नुहुन्थ्यो । हामीले धुलेटोमा कखरा सिक्न थालेदेखि नै ज्योतिष विद्या सिकेका हौँ । हामी पञ्चाङ्गमात्र हेर्थ्यौँ । फलित ज्योतिष हाम्रो कर्मभित्र पर्दैनथ्यो । चिना, टिपनहरू बनाउने, ग्रह दोष हेरिदिने हाम्रो दैनिकी हुन्थ्यो । चिना, टिपन बनाएबापत खासै आम्दानी पनि हुँदैनथ्यो । त्यतिबेला ग्रह दोष हेराएर पैसा दिने चलन थिएन । गावैँका मानिसहरूको त्यही पेसा हुनाले त्यसैबाट जीवन धान्न मुस्किल नै थियो भन्दा हुन्छ ।

हाम्रो खेतबारी पनि थियो । तर, उब्जनी खासै नहुने । त्यसैले हाम्रो बाल्यकाल निकै दुःखमा बित्यो । बाँझो जमिन खनजोत गर्न सधैँ अप्ठ्यारो हुने । हाम्रो ज्योतिष परिवारमा के मान्यता थियो भने, ज्योतिषहरूले हलो जोत्न हुँदैन । भनेको बेलामा हलो जोत्ने मानिसहरू पनि पाइँदैनथे । हली राख्ने सामथ्र्य थिएन । यसले हामी आजित थियौँ ।

बाँझो जग्गाहरू कोदालो–कोदालीले खनेर पार लगाउन पनि सकिँदैनथ्यो । त्यसैले मेरो मनमा आयो, आ.. जेसुकै होस् गोरु जोत्छु ।

त्यति बेला भर्खर १२ वर्षको थिएँ । अहिले सोच्दा लाग्छ, त्यस बेला मेरो दिमाखमा कसरी आयो होला यस्तो विचार ! वास्तवमा त्यो एक किसिमको विद्रोह नै थियो ।

मैले खेतमा गोरु नारेपछि अरूले जिब्रो काढ्न थाले । घरपरिवार पनि सुरुमा मञ्जुर भएन । मैले गोरु जोतिसकेको थिएँ, पछि आफैंँ ‘कन्भिन्स’ भए ।

शिक्षादीक्षा महाकालीपारि
घरमा ज्योतिष विद्याबाहेक अरु कुरा पढ्ने वातावरण थिएन । पञ्चाङ्ग मिलाउन र ग्रह दशा हेर्न गणित त सिक्नु पर्थ्यो । संस्कृतका श्लोक बाचन, धार्मिक ग्रन्थहरू अध्ययन गर्ने अवसर त थियो तर अरु कसरी पढ्नु ? परिवारले चासो देखायो, जेठा छोरोलाई जसरी पनि पढाउनुपर्छ ।

त्यतिबेला महाकालीपारिबाट भारतीयहरू आएर हामीलाई शिक्षादीक्षा दिन्थे । रुखको फेदमुनि, घरको आँगन पिँढी नै शिक्षा आर्जनको थलो थियो । महाकालीपारिबाट आएका भारतीय शिक्षकहरूले हिँउदे कक्षा पढाउँथे ।

यसलाई हिउँथे कक्षा किन भनिएको भने उनीहरूले दसैँ–तिहारपछिदेखि चैतसम्म पढाउँथे र चैत लागेपछि घरको काम गर्न गाउँ फर्कन्थे । म सानैदेखि पढाइमा तीक्ष्ण थिएँ । एक–दुई वर्ष त्यहीँ पढेँ र महाकालीपारि भारतमा गएर एकै पटक कक्षा पाँचमा भर्ना भएँ । छोराले पढोस् भन्ने परिवारको ठूलो इच्छा थियो । तर, आर्थिक अवस्थाले भारतमा बसेर नियमित शिक्षा आर्जन गर्न दिएन ।

काका पर्ने काशीराम पन्त त्यतिबेला तहविलदार हुनुहुन्थ्यो । उहाँका सन्तान थिएनन् । खै के लहड चलेर हो, उहाँको दिमागमा विद्यालय खोल्ने सोच आएछ । दुई–चार जना भद्रभलाद्मी जम्मा गरेर उहाँले विद्यालय खोल्नुभयो । 

यो सात/आठ सालतिरको कुरा हुनुपर्छ । गाउँमा विद्यालयको स्थापना भयो । विद्यालय त खोलियो तर पढ्ने विद्यार्थी नै भएनन् । आर्थिक अवस्था बलियो भएकाहरू महाकालीपारि पुग्थे, नभएकाहरू पढ्न आउने कुरै भएन । त्यसपछि हामीले घर–घरमा पहेँलो झन्डा (विद्याको रंग, सरस्वतीको प्रतीक) गाड्यौँ र एउटा बच्चा विद्यालयलाई देऊ भनेर पठन संस्कृति सुरू गर्यौँ । सुदूरपश्चिमको त्यो शैक्षिक आन्दोलन पनि थियो । त्यसपछि केही वर्ष त्यही विद्यालयमा पनि पढेँ । आठ कक्षा (त्यसबेला भारतमा जुनियर हाइस्कुल लेबल भनिन्थ्यो) पूरा गरेँ । आर्थिक अवस्था उस्तै भएकाले त्यसैगरी माध्यामिक तह पनि पूरा गरेँ ।

कति दिन त किताब–कापी किन्न पैसा नहुँदा भारतमा ज्यामी र कुल्ली काम पनि गरेको छु । मनमा पढाइप्रतिको उत्कट चाहना तर गोजी रित्तो ! कुल्ली काम नै विकल्प थियो र पढ्ने चाहना पूरा गरेँ ।

भारतीय नागरिक नलेख्दा छात्रवृत्ति पाइन
प्रथम श्रेणीमा मैले माध्यामिक तह सकाएको हुँ । प्रवेशिका परीक्षामा त्यत्रो अंक ल्याएपछि भारतीय विद्यालयले छात्रवृत्ति प्रदान गर्थ्यो । भारतीय नागरिकका लागिमात्र त्यो सुविधा थियो । मलाई थाहा भएसम्म दार्चुला, बैतडीतिरका प्रायः मानिसहरूले त्यतिबेला भारतीय नागरिक लेखेरै त्यो सुविधाको उपभोग गर्थे ।

मलाई पढाउने भारतीय शिक्षक थिए । उनले पनि सुझाए– कलेजको छात्रवृत्ति फारममा भारतीय नागरिक लेख् र निःशुल्क पढ् । तेरो बाउले भिक्षा मागेर तँलाइ क्याम्पस कसरी पढाउन सक्छ ?

तर, मैले ज्यान गए पनि मानिनँ । देशको नाम बदलेर पढ्नुभन्दा बरु अज्ञानी बन्नु बेस ! मेरो मनमा त्यही आयो र बडो मुस्किलले आईएससी सकाएँ । सानैदेखि विद्रोही स्वभावको भएकाले होला, यस्तो बानीले मलाई धेरै ठाउँमा अप्ठ्यारो बनाएको छ । गरिबीभन्दा इमान–जमान ठूलो भन्ने लागिरहन्थ्यो । गरिबी त एकदिन आफैँ दूर होला तर बेचिएको इमान फर्कंदैन भन्ने विचारले घर गरिरहन्थ्यो ।

कांग्रेससँग झुकाव
घरपरिवार ज्योतिष, पढेलेखेको पनि । २०१५ सालको सुरुवाततिर हुनुपर्छ, विश्वेश्वरप्रसाद कोइराला सुदूरपश्चिम पुगेका थिए । उनले दार्चुलाको पनि भ्रमण गरे । त्यतिबेलाको माहोलै अर्को थियो, लगत्तै भएको आम निर्वाचनमा हाम्रो क्षेत्रबाट पनि कांग्रेसले नै विजय हात पार्यो । किसनलाल लेखकले चुनाव जितेका हुन् । उनी बैतडीका थिए ।
गाउँका जिम्मावाल मुखिया, तालुकदार सबै कांग्रेस भएकाले कांग्रेसले सोलोडोलो जित्यो ।

तर, २०१७ साल पुस एक गते राजा महेन्द्रले ‘कु’ गरेर सत्ता हत्याएपछि माहोलै अर्को भयो । गावैँ कांग्रेस भएकाले त्यहाँ पञ्चायत पस्न सकेन । २०१८ सालमा भएको राष्ट्रिय पञ्चायतको चुनाव हाम्रो गाउँमा हुनै सकेन । दुई पटकको प्रयास विफल भएपछि तत्कालीन बैतडी जिल्लाका बडा हाकिम झा थरकाले सेना लगाएर निर्वाचन गरे । तर, कोही मत हाल्न गएनन्, के–के गरेर चुनावको नाटक मञ्चन गरे ।

२०१८ सालमा सुवर्ण शमशेरले सशस्त्र विद्रोहको अगुवाइ गरे । त्यस बेला बझाङका राजा ओमजङ्ग थिए । भारततिरै सल्लाह गरेछन् र सेवानिवृत्त सेना प्रहरीका मानिस भेला पारेर १५–१६ जनाको टुकडी तयार पारेछन् अनि सशस्त्र विद्रोहको तानाबाना बुनेछन् । बझाङ आफ्नै जिल्ला भएकाले उनले निधो गरेछन्, पहिला बझाङ कब्जा गर्ने र त्यसपछि सुदूरपश्चिम पूरै नियन्त्रणमा लिने ।

त्यही सल्लाह गरेर उनीहरू हाम्रो गाउँमा आए । शंकरपुर कांग्रेसको उर्वर भूमि थियो । पञ्चायतले त्यतिबेला हाम्रो गाउँलाई अराष्ट्रिय तत्वको गाउँ भनेर घोषणा गरेको थियो । उनीहरू राति गाउँमा आएछन् र बास बसेछन् ।

गाउँलेहरूले उनीहरूको भव्य स्वागत गरे । त्यतिबेला म विद्यालयमा पढाउथेँ । मेरो आईएससीमात्रको पढाइ भएकाले प्रधानाध्यापक भारतीयलाई राखिएको थियो । तर, प्रशासनिक कामदेखि पठनपाठनसम्मको सबै काम म नै हेर्थेँ । हतियारसहित उनीहरू विद्यालयमा आएर ठूला विद्यार्थी पनि विद्रोहमा सरिक गराउने भन्न थालेँ तर मैले दिइनँ । गाउँका दुई–चार जनालाई टुकडीमा समावेश गरेर उनीहरू बझाङ आक्रमणका लागि हानिए ।

तर, सुराकीले बीचमा नै प्रशासनलाई सुइँको दियो र उनीहरू बैतडी नपुग्दै घेराबन्दीमा परे । सेनाले भीषण गोलाबारी गर्यो । क्याप्टेन ओमजङ्ग त्यहीँ मारिए । अरु थुप्रैको हताहती भयो । सो आक्रमणका कति मारिए भन्ने आजसम्म कसैलाई पत्तो छैन । कति युद्धस्थलमै मारिए । नियन्त्रणमा लिएका कतिलाई सेनाले खाल्डोमा हालेर जिउँदै पुर्यो । नियन्त्रणमा लिएपछि सेनाले पहिला खाल्डो खन्न लगाएर पछि त्यहीँ हालेर अमानवीय यातना दिएर मार्यो भन्ने हामीले सुनेका हौँ । इतिहासको चर्चित ‘बझाङ काण्ड’ आजसम्म गुमनाम बनाइयो । न कांग्रेसले खोजी गर्यो, न कसैले त्यो घटनाको उत्खनन् नै गर्नुपर्छ भन्ने ठान्यो ।

घटनापछि कैयौँले गाउँ छोडे । युद्धकै बखत् महाकालीमा फाल हाल्दा कति नदीमा बगे, कति भारत प्रवासित भए, त्यसको यकिन छैन । महाकाली नदी पार गरेर बाँचेका रामचन्द्र हमाल थिए, पछि तिनलाई काठमाडौँको सेन्ट्रल जेलमा सेनाले क्रुर यातना दिएर मार्यो ।

हाम्रो परिवारमा पनि काका जेल पर्नुभयो । विद्यालयका संस्थापक काशीनाथ पन्त हिरासतमा पुगे । हजुरआमालाई सेनाले नांगेझार बनाएर कुट्यो । प्रहरीहरूले गोप्य रूपमा मलाई पनि भने, अब तँ यहाँबाट भाग् । नत्र तँलाई जिउँदै खाल्डामा पुर्छन् ।

अभिभावकहरू बोलाएर विद्यालय अर्कैलाई जिम्मा लगाएर म त्यहाँबाट विस्थापित भएर काठमाडौँ आए । प्रअलाई पनि अनेक मानसिक तनाव दिएपछि उनले पनि विद्यालय छाडे । संस्थापक नै जेल परेपछि विद्यालय तहसनहस हुने नै भयो ।

र, बनेँ साझाको कन्डक्टर
गाउँबाट विस्थापित भएर पिथौरागढ आएँ । त्यहाँ दुर्गादत्त जोशी र द्ववारिकादेवी ठकुरानीले कांग्रेसको कार्यालय खोलेर बसेका थिए । जोशी र ठकुरानी (०१५ सालको वीपी मन्त्रिमण्डलमा मन्त्री थिए) सँग म झोक्किएँ– यस्तो असफल विद्रोह गर्ने ? सबै मारिए । मर्न बाँकी सबैलाई सेनाले भटाभट मार्दैछ । म त बालबाल बचेर आएँ, अब के गर्छौ ?

उनीहरूले जवाफ दिए– उनीहरूलाई सघाउन अर्को टोली ‘मुभ’ भइसकेको थियो । तर, उनीहरू पहिल्यै घेराबन्दीमा परे । हाम्रो कमजोरी भएकै हो ।

उनीहरूको कुरा नसुनी म काठमाडौँ हिडेँ । काठमाडौँको दुःखको वर्णन गरेर साध्यै छैन । आईएससी त पढेको थिएँ । सर्टिफिकेट हातमा भए पनि मलाई कसैले काम दिएन । काम दिन्छु त भन्थे तर पृष्ठभूमि खोतल्दै जाँदा म अराष्ट्रिय तत्व भएको उनीहरूले पाउँथे र पन्छिन्थे ।

त्यही बेला मैले डा. के आई सिंहलाई पुतलीसडकमा भेटेँ । त्यहाँ उनको कार्यालय थियो । मैले के आई सिंहलाई पनि बेलिस्तिार लगाएँ । उनले जुँगामा ताउ लगाउँदै भने, “मेरो जुँगाले गर्छ क्रान्ति, ती नामर्दहरूले गरिखाँदैनन् ।
शिवराज श्रेष्ठ साझाका जीएम थिए ।

 यस्तो पढेको मान्छे कन्डक्टर बन्न आयो भन्लान् भनेर म आईएससीको सर्टिफिकेट लुकाएर जागिर खान पुगेको थिएँ । श्रेष्ठलाई सबै दुःख कहेपछि उनी मलाई कन्डक्टरमा राख्न राजी भए ।

कन्डक्टर बन्न पनि सजिलो थिएन । तीन महिना तालिम नै लिनुपर्थ्यो । कसरी टिकट् काट्ने, कहाँ घण्टी बजाउने आदि सिकेपछि म कन्डक्टर भएँ । साझामा साढे तीन वर्ष व्यतीत गरेँ ।

साझामा कन्डक्टर थिएँ तर मैले अन्यत्र पनि जागिरका लागि भौँतारिन छाडेको थिइनँ । जहाँ पनि शून्यबाहेक केही हात लागेको थिएन । महिनामा चार–पाँच ठाउँमा आवेदन दिन्थेँ । नाम पनि निस्किन्थ्यो तर नियुक्ति गर्ने बेलामा पञ्चायतसँग सम्बद्ध संघ÷संगठन, भ्रातृ संस्थाहरूको सदस्य नभएकाले फालिन्थेँ । साझाको तलब ८० रुपैयाँ थियो, त्यसले के पुग्नु ?

एक जना सुपकै साथी थिए, मेरो दुर्दशा देखेर उनले युवक संगठनबाट एउटा सिफारिस ल्याइदिएका थिए– निज व्यक्ति राष्ट्रिय युवक संगठनको गाउँस्तरको कार्यकर्ता हो भन्ने बेहोराको ।

त्यतिबेला नवराज सुवेदी युवक संगठनको अध्यक्ष थिए । उनी गाउँ पञ्चायतका हर्ताकर्ता पनि थिए र झगडीया भएकाले मुद्दामामिला मिलाउन काठमाडौं ओहोरदोहोर गरिरहन्थे । तर, आफ्नै हठ र स्वाभिमान दाउमा राख्न नचाहने स्वभावका कारण त्यो सिफारिस पनि मैले कतै पेस गरिनँ ।

यस्तै हठ मैले भारतमा पनि देखाएको थिएँ । भारतीय नागरिक नलेखेकै कारण भारतीय सेनाको सेकेण्ड लेफ्टिनेन्टमा निस्किसकेको नाम पनि काटिएको थियो । त्यतिबेला गुरुङ थरका आफन्त पर्नेले नै मलाई हप्काउनुभएको थियो– यस्तो हठले तिमीले नपाउनु पर्ने दुःख पनि पाउँछौ, बुझ्यौ !

पाइलट बन्ने भूत सवार
साझाको कन्डक्टर थिएँ । त्यतिबेला छड्के झोला भिरेर अस्कल क्याम्पसको बाटो हिँड्थे । सोही समय पाइलटको जाँच दिएँ । हाकिमलाई गएर पढ्ने व्यवस्था मिलाइदिन अनुनय विनय गर्थेँ । तर हाकिम सोध्थे– ह्वाट इज द डिफरेन्ट बिटविन हेलिकोप्टर एन्ड जेट ?

उसको त्यो मलाई अल्झाउने नियतमात्रै थियो । त्यसैले मैले जवाफ दिएँ– सर ! म सुदूरपश्चिममा जन्मिएको मान्छे, मलाई यति धेरै थाहा छैन, गाडी त तराई झरेपछि मात्रै देखेको हुँ । पढ्ने मौका दिनुभयो भने फरक भनेर होइन, उडाएरै देखाइदिउँला नि ! नाम त निकालिदिए तर आँखा कमजोर छ भनेर अन्तिममा फालिदिए ।

तुलसी गिरीलाई पत्र
केही सीप नचलेपछि एकदिन सिंहदरबार पुगेको थिएँ, त्यहाँ सिकायत पुस्तिका देखेँ । त्यहाँ आफ्ना सबै दुःखको फेहरिस्त उतारेँ । के हेर्लान् र भन्ठानेको थिएँ, होइन रहेछ । केही दिनपछि शिक्षा मन्त्रालयमा जानू भनेर पत्र पो आयो । त्यतिबेला मन्त्रिपरिषद्को अध्यक्ष तुलसी गिरी थिए । उनले आफैँ सिकायत पुस्तिका हेर्दा रहेछन् ।

त्यसपछि म शिक्षा मन्त्रालयमा गएँ । त्यसभन्दा अघि नै बर्मामा इन्जिनियरिङ पढ्न जाने मौका मिलिसकेको थियो । तर, त्यहाँको सरकार परिवर्तन भएकाले छनोटमा परिसकेको नाम पनि बोलाएको थिएन ।

शिक्षा मन्त्रालयले नाम आएर पनि बर्मामा जान नपाएकालाई रुस पठाउन लागेको रहेछ । त्यसमा मेरो नाम पनि समावेश भयो ।

रुस जानुपर्छ भनेर रोएँ 
सरकारले रुस त पठाउने भयो तर मलाई किन–किन रुस मन नै पर्दैनथ्यो । कांग्रेस पृष्ठभूमि भएकाले होला, कम्युनिष्टहरू देख्दै रिस उठ्थ्यो । घरमा आएर रोएँ– म मान्छे हुँ, मलाई सरकारले रुस पढ्न पठाउने भयो । म कम्युनिष्टको देश जान्न । तर, साथीभाईले सम्झाएपछि म रुस जान तयार भएँ ।

रुसको रमाइलो प्रसंग छ । हामी लेफ्ट ड्राइभ गर्छौँ तर त्यहाँ राइट ड्राइभ गर्दा रहेछन् । विमानस्थलबाट बाहिरिने बित्तिकै गाडी चढेको त ड्राइभरले दायाँ साइडबाट गाडी हाँक्यो । म त गाडीभित्रबाटै चिच्याउन पुगेंछु– ए ! रङ साइड । त्यहाँ पनि साथीहरूले सम्झाए– यहाँ दायाँ साइडबाटै गाडी चलाइन्छ ।
रुसबाट झण्डै फर्काइएन

पिपल्स फ्रेन्ड्ली युनिभर्सिटीमा अध्ययनको लागि रुस त पुगेको थिएँ । तर, त्यहाँका सरकारी अधिकारीहरूलाई कसले लाइदिएछ– यो त सन्दिग्ध हो, यहाँको सरकारको जासुसी गरिरहेको छ ।

त्यसपछि मलाई अनेक बहाना गरेर रुसबाट नेपालै फर्काउन आँटियो । निहुँ बनाइएको थियो– मलाई टीबी भएको छ । यस्तो बिरामीले पढ्न सक्दैन । काठमाडौँको अनेक संघर्ष र दुःखले मेरो हालत पनि जीर्ण भइसकेको थियो । खोक्दाखोक्दै मुखबाट रगत आउँथ्यो । असह्य पीडा हुन्थ्यो । त्यसपछि मेरो मनमा आयो– अब म बाँचेर काम छैन । मरे हुन्छ म । प्राण त्याग्ने इच्छा पनि नजागेको होइन । साथीहरूले सम्झाउने अनेक प्रयत्न गरे ।

त्यत्तिकैमा कमर शाह भेट भए । उनी नेकपा रायमाझी समूहका पोलिटब्यूरो सदस्य थिए । माक्र्सवादी अध्ययनका लागि उनी रुस पुगेका रहेछन् । मेरो दुःख देखेपछि शाहले त्यहाँको सरकारका प्रतिनिधिसँग कुरा गरे र उपचारको प्रबन्ध मिलाइदिए ।

म विश्वविद्यालयको पोलिक्लिनिकमा पुर्याइएँ । त्यहाँ पुर्याएको चौथो दिनमा एकजना बूढा चिकित्सक आएर सबै चेकजाँच गरे र निष्कर्ष निकाले– तिमीलाई टीबी भएको छैन, तिमीलाई पर्याप्त खाना र आरामको जरुरत छ ।

टर्निङ प्वाइन्ट
कम्युनिष्टको देश जानुपर्यो भनेर आँसु चुहाउने म अन्तिममा आफैँ कम्युनिष्ट बनेँ । वास्तवमा रुस पुगेपछि कम्युनिष्टप्रतिको मेरो धारणा बदलियो । सडकमा राखेका माक्र्स, एंगेल्सका सालिक र तिनलाई देवता मानेको देख्दा उनीहरूको सिद्धान्तप्रति एकाएक कौतुहलता जाग्यो ।

अस्पतालमा बस्दा नर्सहरूको व्यवहार, बिरामीप्रतिको उत्तरदायित्व र लगनशीलता देख्दा मलाई कम्युनिष्टप्रति एकाएक मोह जागृत भयो । बिरामी निको भइसकेपछि कमर शाह र मेरो भेटघाट झनै बाक्लियो । चार–पाँच जना भेला भएर ‘जिन्दगीमा केही नयाँ गर्नुपर्छ’ भनेर माइन्युट नै गर्यौँ । यसको अर्थ हामीले कम्युनिस्ट पार्टीको काम गरिरहेका छौँ भन्ने कसैलाई थाहा नहोस् भन्ने थियो । यसकारण कि हामीसँग अध्ययनका लागि जाने पञ्चायत कांग्रेसमा आबद्ध पनि थिए ।

मैले विश्वविद्यालयमा पढ्दा थुप्रैलाई कम्युनिष्ट बनाएँ । भारत, पाकिस्तान, श्रीलंकालगायत मुलुकका विद्यार्थीहरूलाई कम्युनिष्ट पार्टीको सदस्य बनाएँ । म स्वयंले पनि रसियामा नै कम्युनिष्ट पार्टीको सदस्यता लिएको हुँ ।

नेपाल फर्किएपछि पूर्णकालीन राजनीति
एमई पूरा गरेर म ०२७ सालमा नेपाल फर्किएँ र कम्युनिष्ट पार्टीको विस्तारमा लागेँ । विद्रोही चेत मेरो नेपालमै थियो, रुस पुगेपछि मेरो चक्षु अझै उघारियो । ०२३ सालमा घर बिदामा आएको बेलामै मैले सुदूरपश्चिमा कम्युनिष्टको बिजारोपण गरिसकेको थिएँ । सुदूरपश्चिममा कम्युनिष्ट भित्र्याउने पहिलो व्यक्ति मै हुँ । नेपाल फर्किएपछि मैले पार्टी स्कुल विभाग चलाएँ र सुदूरपश्चिमका जिल्लाहरूमा अभियान चलाएँ । पछि कमर शाह पार्टीको फस्र्टम्यान र म सेकेन्डम्यान भयौँ । २०४८ सालमा कृष्णराज बर्मा, तुलसीलाल अमात्य र विष्णुबहादुर मानन्धरले नेतृत्व गरेको कम्युनिष्ट पार्टीबीच एकता गर्यौँ र नेपाल कम्युनिष्ट पार्टी (संयुक्त) गठन गर्यौँ । ०६३ सालदेखि ०७२ सालसम्म म त्यसको अध्यक्ष भएँ ।

अन्तिममा मन्त्री बनेँ
पहिलो संविधानसभाको निर्वाचनमा हाम्रो पाँच सिट थियो । पार्टीको अध्यक्ष भएकाले दलको नेता पनि मै थिएँ । त्यो बेला पनि सरकारमा सहभागी हुन प्रस्ताव नआएको होइन । प्रचण्ड, माधव नेपाल, झलनाथ खनाल नेतृत्वको सरकारमा सहभागी हुन आएका अनुरोधलाई नकार्दै आएको थिएँ । नेकपा संयुक्त सरकारमा सहभागी नभएको भने होइन, प्रचण्डको पालामा गणेश शाह, माधव नेपालको पालामा ठाकुर शर्मा, झलनाथ खनालको पालामा सुनिल मानन्धर सरकारमा गएका थिए ।

बाबुराम भट्टराईको पालामा भने म आफैँ सरकारमा सहभागी भएँ र भूमिसुधार मन्त्री बनेँ । त्यति बेला संविधान निर्माणको कुरा थियो । वास्तवमा भन्नुपर्दा संविधानमा दस्तखत गर्न म सरकारमा गएको थिएँ, त्यो पनि अन्तिम समयमा । बिडम्बना ! संविधान नबनी संविधानसभा नै विघटन हुने अवस्था सिर्जना भयो ।

१ सय २० दिन मन्त्री भएँ । सरकारको नेतृत्व गरिरहेको पार्टी, तिनका कार्यकर्ताहरूको अनेकन दबाबहरू नआएका होइनन् । तर पनि देश र जनताको पक्षमा केही गरौँ भन्ने थियो र त्यसमा नै केन्द्रित भएँ । नढाँटी भन्नुपर्दा मलाई मन्त्री बन्दा कुनै गौरवबोध भएन । बरु, कहिले त्यहाँबाट हटौँ भन्ने छटपटाहटमात्रै भयो ।

अब राजनीतिमा त्यति सक्रिय हुन्नँ । पत्रपत्रिकामा आफ्नो विचार अभिव्यक्त गर्ने र अध्ययनलाई नै अघि बढाइरहेको छु । यसका अलावा मभित्र साहित्यक कुण्ठा छ । उहिल्यै त्यसलाई कविताको माध्यमबाट अभिव्यक्त गरेको थिएँ, अहिले त्यसलाई किताबाकारमा ल्याउने कोसिसमा लागिरहेको छु ।

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment