अक्षर काका
भारी बोकेर धन र भोको बसेर धर्म हुँदैन ।
यो लोकोक्ति दोलखा सुन्द्रावती–४ का नरबहादुर थामीको जीवनमा पनि चरितार्थ नभइदिएको भए उनी शायदै काठमाडौंको महाबौद्धमा दिनरात फाटेको नाम्लो बोकेर चहार्नु पथ्र्यो र ‘पटुकी कसेको’ पेट उकास्न बुढ्यौली उमेरमा पनि पसिना बगाउनु पथ्र्यो ।
३० वर्षदेखि आफूभन्दा दोब्बर ठूलो भारी बोकेर काठमाडौंका गल्ली नाप्दा पनि उनले कहिल्यै सुखको पारिलो घाम देख्न पाएनन् । तालु खुइल्याएर अजंगको भारी उचालेरै भए पनि उनले परिवारको मुखमा माड लगाएका छन् । जेनतेन चुल्हो जलाएका छन् । तर, आफू घुत्रुक्क ‘थला बसेको’ दिन के हुने हो, त्यसको टुंगो छैन ।
बिहीबार महाबौद्धमा भेट्दा उनी यही दुखेसो पोख्दै थिए, “सकुन्जेल त भारी बोकूँला, नसकेको घडीमा के गरेर परिवार पाल्ने हो, ज्यादै चिन्ता लागिरहन्छ ।”
छेवैमा उनीसँग अरु भरिया पनि थिए । उनीहरूको पनि उस्तै पिरलो थियो– भारीले शरीर फाट्यो, दुःखले जीवन फाट्यो ।
० ० ०
दोलखाका अतिविपन्न थामी समुदायका हुन् उनी । खेती किसानी गर्न जग्गा–जमिन पर्याप्त नभएकाले उनीमात्र होइन, गावैका मानिसहरूले साहू काढेर जीवन धान्नु पथ्र्यो । चाडबाड र बिहेबटुलो मात्र होइन, दैनिकी नै साहूको ‘निगाह’मा चलाउनुपर्ने भएपछि उनले निधो गरे– सहर जान्छु, उतै मजदुरी गर्छु र जहान परिवारलाई सुख दिन्छु ।
“पढेलेखेको छैन, सहरमा गएर पनि के काम पाइन्छ र ? कोठाभाडा तिर, फेरि दुईतिरको बसाइ, साह्रै चिन्ता लाग्छ । काठमाडौँ जानु पर्दैन, यतै बनिबुतो गरौँला, पैसा कमाएर के नै गर्नु छ र ! एकपेट खाने त हो,” श्रीमतीले नभनेकी पनि होइनन् । तर वर्षैपिच्छे थपिँदै गएको ऋणको बोझ र पारिवारिक दायित्वको भारीले गाउँ बसिरहे अझै उठ्नै नसक्ने गरी थला बसाल्ने देखे । जेठा दाइ सुरुमै भिन्न भइसकेकाले आमाबाबु हेरविचार गर्नुपर्ने जिम्मेवारी पनि उनकै काँधमा थियो । त्यसैले श्रीमतीको आग्रहलाई घरकै कुनामा पन्छाएर झोला बोकी उनी सहर हानिए ।
“घरपरिवारले भन्छन् नि ! केही सकियो भने लौ सकिएछ भने पुगिहाल्यो, कहाँबाट ल्याउने, के गर्ने भन्ने चिन्ता त लोग्ने मानिसलाई पो हुन्छ त ! त्यही कारण काठमाडौँ आए,” उनले सहर आउनको तात्पर्य खुलाए ।
सहर आएपछि पनि जीवन सहज भएन । बरु अनेक बाधा व्यवधान पो आउन थाले । चिनजानका कोही थिएनन्, कसलाई भनेर के काम गर्ने हो, उनलाई पत्तो थिएन । बागबजार आसपास बरालिँदै थिए, कसैले सुनाइदियो– काठका मुढा पल्टाउन महिनावारीमा मान्छे चाहिएको छ ।
दायाँबायाँ नहेरी उनी त्यही मानिसको पछि लागेर कारखाना गए । काम सजिलो थिएन, भीमकाय मुढा पल्टाउनु पर्ने र चिर्न ठिक्क पारिदिनुपर्ने । त्यसबेला अहिलेको जस्तो काठको मुढा चिर्ने आधुनिक यन्त्र, उपकरणहरू थिएनन् । बत्तीबाट काठमा मुढा चिरिन्छ भन्ने उनलाई थाहै थिएन । गाउँतिर हाते आह्रो त उनी पनि चलाउँथे । “त्यतिबेला आह्रोले काठका मुढा चिरिन्थ्यो । मुढा पल्टाउने चार÷पाँच जना थियौँ । मुढे बल लगाएर पल्टाउँदै हामी चिर्ने ठाउँमा पु¥याउँथ्यौँ,” उनले सम्झिए ।
तराईबाट चिरानका लागि ल्याइएका साल, सिसौका काठ पल्टाउन सकिने नै हुँदैनथे । बलियाबांगा भए पनि
अजंगको मुढाले उनलाई लखतरान बनायो । ढाड दुख्ने दीर्घ व्यथा पो लाग्लाजस्तो भयो ।
खान नपाए पनि नपाइयोस् भन्ने ठानेर उनले मुढा पल्टाउने काम पनि छाडे ।
मुढा पल्टाउन नगएपछि अर्को समस्या सँगै निम्तियो– अब सहरमा के गर्ने ?
त्यसपछि उनले केही समय कुल्ली काम गरे । घर बनाउने ठाउँमा बालुवा चाल्ने, इँटा बोक्ने उनको काम हुन्थ्यो । कुल्ली कामबाट पनि पार नलाग्ने छाँट देखेपछि अचानक उनको मनमा विचार आयो– नाम्लो बोकेर डुल्ने र भारी बोकेर गुजारा चलाउने ।
त्यसपछि उनी नाम्लो बोकेर महाबौद्ध क्षेत्र पसे ।
महाबौद्धमा सुरुमा थोक पसल थिएनन् । पसल नभएकाले ग्राहकको आउजाउ हुने कुरा भएन । उनले भारी पाउने अवस्था त झन् छँदै थिएन ।
तर, ०४६ पछि महाबौद्धमा थोक पसलहरू खुलेपछि भने उनले भारी बोक्ने काम पाउन थाले । काम त पाए तर भारी बोक्न कहाँ सजिलो थियो र ! त्यसमाथि स–साना भारीहरू मानिस आफैँ उचाल्न र बोक्न अघि सर्थे । उनीहरूले त ठूला भारीमात्रै पाउँथे । जत्रो भारी बोके पनि पैसा दिन भने मन खुम्च्याइहाल्ने ।
उनले त्यतिबेला १०–१५ रुपैयाँमा भारी बोके । दिनरात, झरी बादल नभनी भारी बोके । जति भारी बोके पनि जीवन उँभो नलागेपछि कहिलेकाहिँ सोच्थे, “आ यस्तो दुःख गरेर खानुभन्दा गाउँमा गएर पाखोबारी खन्छु ।”
तर, गाउँमा पनि केहीसीप नचलेर सहर आएको त हो नि भन्ने तर्कना उठेपछि उनी पुनः कम्मरमा नाम्लो बाँधेर महाबौद्ध पस्थे । यसै गरेर उनले ३० वर्ष बिताए तर अहँ जिन्दगी बदलिएन । जवानी सकियो । प्रौढ पनि ढल्कियो । वृद्ध लयमा उक्लिए । कपाल तिलचाम्ले भयो । अनुहारको रोगन उड्यो । तर, दुःखचाहिँ सग्लै रह्यो । उस्तै पीरव्यथाले पिरोल्न कहिल्यै छाडेन ।
तरतरी पसिना चुहाएर भारी बोक्दा पनि पेटभरि खान नपुग्दा उनलाई कहिलेकाहीँ दिक्क लाग्छ र भरिया पेसा छाडेर अरु नै काम गरौँ भन्ने लाग्छ । तर फेरि उनको मनमा आउँछ– यो बुढेशकालमा कता जानू ?
हत्केलाभरि उठेका ठेला देखाउँदै उनले भने, “अस्ति भर्खर गाउँ गएँ, खोलाको छेउमा सानो टुक्रा खेत छ, धान नफले पनि बाँझो राख्न सकिएन र खनजोत गरी रोपाइँ गरेँ र काठमाडौँ फर्किएँ ।”
० ० ०
गत वर्षको भूकम्पले उनको पनि घर खण्डहर बनाइदियो । वैशाख १२ को भूकम्पले चिरा पारेको थियो, २९ गतेको कम्पले त धुलाम्य बनाइदियो ।
मानिसलाई त केही भएन तर बस्तुभाउ र अन्नपात केही बाँकी रहेनन् । दुःखजिलो गरेर बनाएको घर पनि क्षणभरमै ध्वस्त भएपछि उनी निकै विक्षिप्त बने ।
“भारी बोकेर बल्लतल्ल घर बनाएको थिएँ,” उनले विरह पोख्दै भने, “त्यही पनि भूकम्पले भत्काइदिएपछि अहिले टहरामा बस्नु परेको छ ।”
अरु केही नगरे पनि सरकारले घर बनाउन सहज किसिमले अनुदान देला भन्ने उनलाई ठूलो आश थियो तर विभिन्न बाधा–अड्चन देखाएर रकम दिन ढिलाइ गरेपछि मध्य वर्षामा पनि पाल र चित्राकै सहारामा दिन काट्नु पर्दा उनलाई नमीठो लागेको छ । भन्छन्, “हामीले गाँस देओ त भनेका छैनौं नि ! घर बनाउन सकिएन, अलिकति भए पनि सहायता दिन्छन् कि भनेको, आलटाल गर्दागर्दै वर्ष दिनमात्र होइन, वर्षा पनि बिताइदिए ।”
भूकम्पबाट सर्वस्व गुमाउँदा पनि सरकारले उचित सहयोग नगरेको देख्दा उनलाई लाग्छ, “सरकाले जनताको पीरमर्का कहिल्यै बुझ्दैन, जुन जोगी आए पनि कान चिरेको भनेझैँ उनीहरूलाई कुर्सीभन्दा बढी अरुको माया छैन ।”
उनी तीतो पोख्छन्, “अरु त सरकारलाई गर पनि भन्दैनौँ, सुविस्तासँग घर बनाउन त सहायता दे ! गाउँमा भूकम्पले कसैको घर ठाडो छैन । सबैका धुरी मझेरीमा आइपुगेका छन् । मध्य वर्षा भएकाले पहिरोको उस्तै जोखिम छ । गाउँमा बस्ने अवस्था नै छैन । कति बेला के हुन्छ यसै भन्न सकिन्न ।”
घर माथि अस्ति पनि पहिरो गयो भन्ने सुनेका छन्, के भयो केही थाहा छैन । “सिन्धुपाल्चोकको तातोपानी पनि सखापै पारेको छ तर सरकारलाई कुनै वास्ता छैन,” उनले निराशा पोखे ।
० ० ०
बागबजारको गल्लीमा एउटा सानो कोठा लिएका छन् । पानी, बत्तीको राम्रो सुविधा नभए पनि महिनाको ४५ सय बुझाउँछन् । “सात ठाउँ चहारेर बल्लतल्ल त्यत्तिको कोठा फेला पारेको हजुर, हाम्लाई त नाम्ले भनेर कोठा पनि दिन मान्दैनन्,” उनले सुनाए, “नाम्लेहरू चोर, फटाहा, ठग हुन्छन्, लुटपाट गरेर भाग्न पनि बेर लगाउँदैनन्, फेरि भारी बोकेर महिनामा भाडा कसरी बुझाउन सक्छन् ? भनेर हामीलाई त कोठा नै दिन मान्दैनन्, त्यही भएर कति भरियाहरू त सडक र गल्लीको पेटीमै रात कटाउँछन् हजुर, मैले पनि कोठा नपाउँदा चार दिन मन्दिरकै पेटीमा रात बिताएको छु ।”
भारी बोक्दाको दुःख पनि त्यस्तै छ । भन्छन्, “भरिया खोज्दै आउँछन्, एक–डेढ क्विन्टलसम्मको भारी पनि ‘यति पनि बोक्न सक्दैनौ’ भन्दै बोक्न लगाउँछन् । हामीलाई त मेसिनबराबर नै ठान्छन् । आजकालका मानिसमा दया, धर्म भन्ने कुरा नै छैन, आफ्नो काम फत्ते गर्न पाए पुग्यो !”
ठुल्ठूला भारी उचाल्दा ढाड चड्किएर हिँड्नै नहुने र गानो चलेर चार–पाँच दिन ओछ्यान पर्नुपर्ने समस्या त कति आइलाग्छन् कति । तर, पनि बिहान ८ बजेदेखि राति ८ बजेसम्म उनको थाप्लोमा नाम्लो टुट्दैन । फुर्सद भएपछि उनी महाबौद्धकै गणेश मन्दिरको पेटीमा शरीर बिसाउँछन् र साथीभाइसँग यसो हाँसीमजाक गर्छन् । “यसो मनको दुःख मेटाउन हाँसखेल गरिन्छ, दुःख पाएर नै त यहाँ भारी बोक्न आएका हुन् नि, फेरि भारी बोकेर पनि सुख पाएको छ र ?” उनले थपे ।
महाबौद्ध क्षेत्रमा उनीजस्तै भरियाको संख्या त्यस्तै डेढ सय हाराहारीमा छ । अधिकांश दोलखाका छन् भने केही ओखलढुंगाका पनि छन् । प्रायः होलसेल पसलेकहाँ सामग्री किन्न आउने ग्राहकको भारी बोक्छन् उनीहरू । त्यसका अतिरिक्त कोही चिनजान र नियमित किन्न आउने ग्राहकको पनि भारी बोक्ने गरेका छन् ।
वल्लो गल्लीबाट पल्लो गल्लीसम्म मात्र होइन, कहिले पिठ्युँमा भारी बोकेर कालिमाटी र मैतीदेवीसम्म पु¥याउनु पर्छ । “कालिमाटीसम्म पु¥याएको मुस्किलले २ सय रुपैयाँ पाइन्छ, यतातिर बोकेको त सय पचासमै चित्त बुझाउनु पर्छ,” भावुक हुँदै उनले भने, “कसैले सित्तैमा बोकाउन पाए हुन्थ्यो जस्तो गर्छन्, हामी भरियालाई त यहाँका मान्छेले मान्छे नै गन्दैनन् हजुर !”
एक–दुई दिन आउने, भारी बोकेजस्तो गर्ने र पछि साहूको भारी नै बोकेर भागिदिने भरियासमेत महाबौद्धमा भेटिन्छन् । त्यसैले पनि भरियाप्रति मानिसको नजर राम्रो नभएको उनी ठान्छन् । भन्छन्, “कहिल्यै नदेखिएका पनि भरिया हुँ भन्दै आउँछन् र सामान बोकेर भागिदिन्छन्, त्यसैले नचिनेको मानिसले काम पाउनै गाह्रो छ ।”
भनेको बेला भारी नपाउने मात्र होइन, कहिले त रित्तै हात पनि कोठामा फर्कनुपर्छ । भारी बोकेको दिन पेटमा अन्न पर्छ, अरु दिन भोकै सुत्नु पर्ने बाध्यता छ । कहिलेकाहीँ बिरामी परियो भने त ६–७ दिनसम्म पनि भोकै पर्छन् ।
भारी बोकेर खाँदा पनि सुख नदिनेहरू अनेक छन् । “गल्लीको बाटोमा साहूले ‘त्यहाँ भारी पु¥याएर आइज’ भन्छन् । पु¥या भनेको ठाउँमा गयो, भनेको बेलामा मानिस फेला पर्दैन, बरु लठैतहरू आएर ‘यो त मेरो भारी हो, खै दे’ भनेर लुट्न खोज्छन् । त्यस्ता लठैतहरूको फेला पर्दा कति साथीहरूले त हर्जानासमेत तिरेका छन् । सहरमा त भारी बोक्नेलाई समेत लुट्न बाँकी राख्दैनन् हजुर !” लामो सास तानेर भने । त्यही कारण पनि सोचविचार गरेर मात्रै भारी बोक्ने गरेको उनले सुनाए ।
भारी बोक्दा बोक्दा थकित र गलित देखिने कारण कतिले त भरियालाई ‘गँजडी’, ‘दुव्र्यसनी’ समेत सोच्ने गरेको र भारी दिन हिच्किचाउने गरेको उनी बताउँछन् । त्यही भएर पनि नयाँ मानिसले उनीहरूलाई भारी दिन मान्दैनन् । चिनेका पुराना आए भने उनीहरूको भारी बोक्ने हो । अरुले त दिँदैनन् ।
भारी बोकेर कति कमाइ हुन्छ त ? उनी भन्छन्, “कति कमाउनू हजुर ! दिनमा कहिले २ सय हुन्छ, कहिले हजार रुपैयाँसम्म पनि कमाउँछौँ, कहिले त खाली हात पनि कोठामा फर्कनु पर्छ ।”
मुस्किलले मासिक ९–१० हजार रुपैयाँ कमाउने गरेको उनले सुनाए । “आकाश छुने महँगी, घरको आवश्यकता त्यत्तिले त छेउ पनि पुग्दैन हजुर,” उनी फेरि हाँसे ।
तीन सन्तानका पिता उनी मनमा ठूलो इच्छा पाल्न नहुने तर्क गर्छन् । भन्छन्, “बाउको दुःख देखेर दुई छोराहरूले बाटो समात्लान्, राम्रो पढ्लान् भनेको त त्यतातिर आँखै लगाएनन् । बरु छोरीले घरको दुःख बुझेर पढी, अहिले ब्याचलर गर्दै छे । एक–दुई वर्ष अझै पढाएर त्यसको विवाह गरिदिन्छु र भारी पनि बोक्न छाडिदिन्छु । छोराहरूले जे सुकै गरेर खाऊन् ! यो बुढेशकालमा कति हड्डी घोट्नू ?”
No comments:
Post a Comment