Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

अनि बेचिए दुःखीराम



By  Unknown     11:20 PM    Labels: 

– अक्षर काका

“यो इन्द्रावती कता बगेको ?” रमिताले बडो अचम्मको प्रश्न गरी ।

मैले हाँसेरै जवाफ फर्काएँ, “अरे मूर्ख, नदी कता बग्छ, उत्तर कि दख्खिन ?”

उसले गम खाँदै भनी, “यो त उत्तरै बगिरहेछ ।”

साँघुरो बाटोको कान्लामा पिठयूँ अड्याएर मैले जवाफ फर्काएँ, “अग्लो डाँडो र तिम्रो हेराइबीच तालमेल नमिलको मात्रै हो, इन्द्रावतीचाहिँँ आग्नेयतर्फ बगिरहेको छ ।”

तर, ऊ मान्न तयार थिइन । र, अड्डी कस्दै थिई, “तिमी जे भने राम, यो खोलो मास्तिरै बगिरहेको छ ।”

बालहठ् र स्त्री हठका अघिल्तिर केही सीप चल्दैन ! झट्ट पाकाले भनेको कुरा याद आयो ।

म पनि कहाँ मान्नेवाला थिएँ र ! गिज्ज्याएरै भनिदिएँ, “अँ कोसीब्यारेज पनि तिब्बत सिमानातिरै पर्छ होला !”

मैले ठानेँ, ऊ खिस्रिक्क परी होला । यतिबेलासम्म त पालुंगोझैं ओइलाइसकेकी हुनुपर्छ ।

तर, होइन रहेछ । पिपलबोटमा ढाकर बिसाएर सुस्ताइरहेका बाजेको पिठ्युँ हेर्दै उसले मुख एक तमासको बनाइराखेकी रहिछे ।

पुलुक्क ऊतिर हेर्नेबित्तिकै मलाई भनी, “हेर न रामु ! ती बाजेको जिउमा कत्रो घाउ ! के भएको होला है ?”

“पाखा पहाडको ठाउँ, लडे होला नि कतै, अथवा ठूलो चिरफार पो गर्नुपर्यो कि ! त्यस्तो कुरामा पनि टोलाएर हुन्छ त ?” एक टकले वृद्धतर्फ नियालिरहेकी रमितालाई विथोल्ने प्रयत्न गरेँ ।

तर, उसले त्यहाँ पनि आफ्नो पूर्ववत् बानी देखाउन छाडिन ।

बरु भन्न पो थाली, “जाऊँ न रामु, गएर बुझौँ, के भएको रहेछ ती बाजेलाई ? शरीरमा त्यति ठूलो घाउ बोकेर फेरि अजंगको भारी बोक्दै किन ती बाजे उकालो लाग्दैछन् ?”

उसको जिद्दीको अगाडि मेरो केही सीप चलेन र भनेँ, “हुन्छ नि त ।”

ऊ केटाकेटीझैं पुलकित देखिई । अचानक उसको अनुहारमा कान्ति छायो ।

० ० ०

कुइरा आँखा । घुँडा नछोपिने छोटो धोती । पट्पटी फुटेका कुर्कुच्चा । त्यस्तै आकृतिको ओठ । ओठमाथि ठूलो कालो कोठी । च्यातिएर धुजा–धुजा परेको टोपी । हल्का कालो वर्ण । बाजेको हुलिया त्यत्ति हो ।

हामी उनको नजिक पुग्दा उनी ठेट्ना मकैमा फूल छान्दै थिए । बीचका दाँत फुक्लिइसकेका रहेछन् । त्यसैले उनले भुट्दा फूल उठेको मकै छानिरहेका थिए ।

“कहाँ पुग्ने हो नानी बाबुहरू, मकै खान्छौ ?” हामीले भन्दा अगावै उनैले कुराकानी सुरु गरे ।

उनले त्यत्ति नभनेको भए हामीलाई कुरा उप्काउन निकै कठिन पर्थ्यो।

दुुःखीराम आचार्य रहेछ बाजेको नाम । अन्दाजी ५० वर्षका । घर यकिन भएन । शायद उनी मानेखर्कतिरकै हुनुपर्छ । हामीले उनको स्थायी ठेगाना सोध्न अनुपयुक्त ठान्यौँ ।

“वाउ पपकर्न,” रमिताले पारा देखाइहाली ।

“तिम्रो काठमान्डू हैन रमिते, पपकर्न सपकर्न भनेर चिच्याउन,” ओठबाट शब्द फुत्कन आँटिसकेको थियो, मनभित्रै दबाएँ ।

फिँजाएको रुमालमाथिबाट दुई दाना मकै झिकेर के खाएकी थिई, रमिताले दाँत दुख्यो पो भन्न थाली ।

“हामी त्यो उमेरमा दुई घान मकै पोल्टामा हालेर हिँड्थ्यौं, अचेलका युगल ठिटा ठिटीलाई के हुन्छ कुन्नि ! दुई दाना नचपाउँदै बंगारा दुख्यो भन्छन् !” अनुहारमा आश्चर्यको रेखा दौडाउँदै बाजेले प्रश्न गरे ।

“अघि त मुख मिठ्याएर खुब वाउ पपकर्न भन्दै थ्यौ त ! दुई दानामै अघायौ ?” मैले पनि भन्न बाँकी राखिनँ ।

“काठमान्डूको जस्तो हुँदो रहेनछ,” उसले झनै मुख अमिलो पारी ।

“पपकर्नझैं मकै मीठो हुन्थ्यो भने गाउँबाट मान्छे निख्रिएर किन सहर छिर्थे ! फेरि ठेट्ना मकै मीठो हुन त पेट भोकले हुँडल्नु पर्छ, कुरा बुझ्यौ ?” रिसको पारो यसरी सेलाएँ ।

ऊ रिसाएको सिंहिनीझैं देखिई र पलभरमै ती वृद्धको पिठ्युमा आँखा पुर्याई ।

रमिताले निधार खुम्च्याएर बाजेलाई सोधी, “तपाईंको पिठ्युँमा के भएको नि ?”

वर्षौं नधोएझैँ मैलो लाग्ने कमिजको फेरले पिठ्युँ छोप्न खोज्दै बाजेले एकटकले रमिताको अनुहार नियाले ।

उनको मुहारको चमक एक्कासि गायब भयो । अनुहारमा औँसीको रात देखियो । ओठ खङ्ग्रङ्ग देखियो । पुस–माघको महिना भए पनि उनको अनुहारमा वैशाखको धूप छायो । निधारमा पसिनाको बुँद देखापर्यो । उठेर हिँड्न खोजूँलाझैँ गरे । खै के सम्झिए ! कमिजको फेरले पसिना पुछ्दै बेलिबिस्तार लगाउन थाले ।

० ० ०

आज भन्दा नौ वर्षअघिको कुरा हो । मध्यअसारको एक बिहान, झमझम झरी परिरहेको थियो । डोकाको पिँधबाट पानीको धारा चुहाउँदै घाँसको भारी बोकेर घर के पुगेको थिएँ, आँगनको डिल नकाट्दै घरभरि मानिसको भीड देखेँ । मेरो हंशले ठाउँ छोड्यो । मुटुमा ढ्यांग्रो बज्न थाल्यो । आकाश कालोनीलो थियो । एकसरो प्लास्टिक छिचोल्दै पानीको थोप्लाले एकनास हिर्काइरहेको थियो । बेला–बेला बलेसीको तप्किन पिडुँलासम्म आइपुग्थ्यो ।

म आएको देख्नेबित्तिकै गाउँलेले सम्झाइ–बुझाइ पो गर्न थाले । के भएको हो, मैलेचाहिँ पत्तै पाएको थिइनँ ।

जेठा दाजुको गहभरि आँसु देखेँ । उहाँको हात हिलाम्य थियो । धोतीको फेर खुस्किएर भुइँ बढारिरहेको थियो । मलाई सम्झाउन थाल्नुभयो, “जे नहुनु थियो, त्यो भई नै सक्योे, अब चिन्ता लिएर केही हुँदैन भाइ । धन्न परिवारलाई केही भएन । वर्षा लागिसकेकाले सक्दैनस्, भदौ सकिनेबित्तिकै घरको धुरी छा । हामी पनि सकेको मद्दत गरौँला ।”

घरको धुरी अघिल्लो साल नै चुहिएको थियो । वैशाख नलाग्दै पर्न थालेको पानीले सिधै वर्षा जोडेपछि छानामा आँखा लगाउन भ्याएको थिइनँ । पानी चुहिएको चुहियै गरेर घरको एक पाखो गारो लडेछ । घरपछाडि भैंसी बाँधेर घाँस काट्न गएको थिएँ । घरको पाखो ढलेर लाग्दा भैँसी किलोको किलै ठहरै भएछ ।

भोलि भन्दाभन्दै खेतमा खोली पस्छ– बा सधैँ भन्नहुन्थ्यो । चैतमै घर छाएको भए, यो दशा त बेहोर्नु पर्दैनथ्यो । आफूले आफैँलाई सरापेँ । भित्रभित्रै कोपरिएँ । चिथोरिएँ । मुर्मुरिएँ ।

फेरि एकछिनपछि सोचेँ– घर छाउन भनेर नकाटी राखेको खरमा फागुनमा कुनचाहिँ अपराधीले डढेलो लगाइदियो । माग्दा कसैले दिएनन्, कसरी छाउन सक्थेँ छानो ?

घर छाउन भनेर डाँडा, भाटा, साटा ठिक्क नपारेको पनि होइन । चोया पनि काटिसकेको थिएँ । तर, के गर्नु ! खर खोज्दा खोज्दै वर्षा लागिहाल्यो !

“यो सब् तिमीले गर्दा भएको हो, तिमीजस्ता नामर्द पोइले गर्दा नै मैले यो दुख्ख बेहोर्नु पर्यो । जोरीपारी र शत्रू हाँसे,” आँखबाट बलिन्द्र धारा आँसु झार्दै स्वास्नीले एकोहोरो गाली गरिरहेकी थिई ।

“भो नकराऊ बुहारी, उसले पनि जानी–जानी गरेको हो र ? बिगारौँ भन्ने त कसलाई हुन्छ र ? नहुनु पर्ने भइगयो, अब कराएर केही फाइदा छैन,” दाजु बुहारीलाई सम्झाउँदै थिए ।

धान्नी पूर्णेमा तिरौँला भनेर एक महिनाअघि मात्रै २० हजार रुपैयाँमा भैँसी किनेर ल्याएको थिएँ । अघिल्लो साल पनि ब्याउने भैँसी खोरेतले चपाइहाल्यो ।

डोब मासिएकाले बल्लतल्ल साहू मनाएर भैँसी जोडेको थिएँ । त्यही पनि मरेपछि मेरो त उठिबासै लाग्यो । चिच्याएर रुन खोजेँ । फेरि आँखाको आँसु आँखामै दबाएँ ।

पोहोर मरेको भैँसीकै १० हजार ऋण बुझाउन बाँकी थियो । यसपटक त टेक्ने खुड्किलो पनि भत्किएको थियो भने समाउने हाँगो पनि लाछिएको थियो । उता घरको एक पाखै लडेको छ । कता बस्ने, के गर्ने, कुनै टुंगो छैन । स्वास्नी एकोहोरो फलाकिरहेकी छे । छोरो पनि सुक्सुकाउँदै आमाको काखमा पल्टिराखेको छ ।

हे भगवान् ! यो कस्तो भुर्णहत्ते आइलाग्यो मलाई ! डाको छोडेर रोऊँ भने गाउँलेले लाक्षी भन्लान्, नरोऊँ भने बाउ–आमा बितेको बेलामा पनि यत्रो बज्रपात आइलागेको थिएन । दैवले पनि दीनदुःखीलाई सहन सक्ने मात्रै दुःख दिनू नि ! मनमा भगवान्प्रति ठूलो रिस जाग्यो ।

सहन सक्ने मात्रै दुःख परेको भए पो आँखाबाट आँसु नआउनु, कल्पनै नगरेका विपत्ति आइलागेपछि मेरो नौ नाडी फतक्क गल्यो । टेकेको जमिन भासिएलाझैँ भयो ।

घाँसको भारी बोकेर म त उभिएको उभिए पो भएछु । डोको फुत्त मिल्काएर भैँसी पुरिएको ठाउँमा गएँ । गाउँलेले भैँसी उधिनिसकेछन् र खाल्डो खनेर पुर्ने तरखरमा लागिसकेछन् । भैँसी देख्नेबित्तिकै मन बेचैन भो । घाँस देख्नेबित्तिकै जुरुक्क उठ्लाझैँ लाग्यो । ‘आईं….’ गरेर कराउलाझैं जस्तै गरी लम्पसार परिरहेको थियो भैँसी ।

ल्याएको एक महिनामात्रै भए पनि ऊ परिवारको सदस्यजस्तै थियो । कत्रो रहरले र गाउँलेलाई देखाउन ऋण काढेर भैँसी ल्याएको थिएँ मैले ।
स्वास्नीले त भनेकी थिई, “भाखामा भैँसी ल्याउनु पर्दैन ।”

मैले नै जिद्दी गरेर साहुको किलोबाट भैँसी फुकाएको थिएँ । हर्के साहुको किलोबाट दाम्लो खुस्क्याउँदा गर्वले छाती ढक्क फुलेको थियो ।
राँगो लागेको भैँसी ल्याएर वर्षाभरि घाँस खुवाउँछु, हिउँद लागेपछि ब्याउँछ, राम्रो पैसामा बेचेर अघिल्लो भैँसीको पनि ऋण तिर्छु भनेर कत्रो इच्छा पालेको थिएँ ।

आफू ताक्छु मुढो, बञ्चरो ताक्छ घुँडो भनेझैं नियतिले मैमाथि बज्र हान्यो । ऋण तिरुँला भनेर ल्याएको भैँसीले उल्टै थाप्लोमा ऋण थपेर अकाल मर्यो ।

एक मनले सोचें– झुन्डेर मरुँ ।

अर्को मनले भन्यो– धत् ! छोरो मान्छे भएर हरेश खानु हुन्छ ?

मरेको भैँसी तह लगाएपछि छरछिमेकले पारि गाउँबाट कर्मी डाकेर ल्याए । सबै मिलेर भत्किएको घरको पाखो ठड्याउन सकेको सघाए । संयोगले दिउँसो झरी रोकियो र भोलिपल्ट बेलुकासम्म पनि पानी छिट्टयाएन । बेलुकासम्म भत्किएको पाखो पनि जेततेन टालियो ।

घर त टालियो तर मन टालिएको थिएन । बेलुका श्रीमतीले कोदाको ढिँडो अरालिछे । तरकारी रहेछ फर्सीको मुन्टा । एक गाँस मुखमा छिरेन । ढिँडो नकोट्टिएको देखेर श्रीमतीले च्याँठ्ठिई, “मीठो–मीठो खान त तिम्रो औकात हुनुपर्यो नि ! के छ र तिम्रो कमाइ, भएको पकाएको हुँ, खाए खाऊ, नखाए घिच ।”

“नकरा राँड ! केसँग खानू ढिँडो ? बरु गुन्द्रुक पकाएको भए हुन्नथ्यो ?” म झर्किएँ ।

“मुन्टाको स्वादै छैन,” श्रीमतीको वचनले असैह्य भयो ।

ऊ अझै चिच्याई, “भुटुनको थोप्पो छैन । कोल पुगेर तेल ल्याऊ भनेको कानमा बतास लागेको होइन, पानीमा मुन्टा ओइरिएपछि कहीँ मीठो हुन्छ त ?”

भकारीमा तोरीको गेडा छैन । गोजीमा फुट्या कौडी हैन । कसरी ल्याउन सक्थेँ कोलबाट तेल ?

छोरो पनि गाँस मुखमा नहाली जुरुक्क उठ्यो ।

“कमाइ छैन, मिठ्मीठो खानुपर्ने ? यो पनि बाउकै गोता जालाजस्तो छ,” उसले मेरो रिस छोरालाई पनि पोखी ।

हातमुख चुठेर ओछ्यानमा पुगेँ । निद्रा पटक्कै परेन । मनमा के–के तर्कना आइरह्यो ।

चुल्होचौको सकेर श्रीमती ओछ्यानमा आई र बमझैं पड्कन थाली ।

“जान्ने भएर ऋण काढेर ल्याएको भैँसी त मरिहाल्यो । के विचार गरेका छौ ? अझै केही सोच्दैनौ भने म त माइत जान्छु । सक्दिनँ तिमीसँग बस्न । यत्रो ऋण के गरी तिर्छौ अब ?”

“दुःख परेको बेलामा सान्त्वना दिने पो स्वास्नी ! यो त उल्टै थाल खाऊँ न भात खाऊँ बनाउँछे । पख न म पनि त केही सोच्दै छु नि !” आफैँलाई कसले सम्झाउने भएको बेला उसलाई सम्झाउन थालेँ ।

उसले अझै बोली, “अझै कतिन्जेल पर्खने ? पानीमरुवा, लाजशरम छैन है तिमीलाई ? छानो फेर्न नसकेर घरको पाखो भत्कियो, भैँसी मर्यो । अहिले पनि नलागेका घैँटोमा घाम कहिले लाग्छ हँ तिम्रो ?” ऊ रोकिएकी थिइन, मानौँ म अपराधी हुँ । त्यसैगरी ऊ खोर्याइरहेकी थिई ।

“मेरो मनमा पनि तिल, जौं नपाकेको हो र ? पीरले मन भतभती पोलेको छ । पहिला खेत रोपौँ, त्यसपछि सहरमा भारी बोकेर भए पनि हिउँदमा जस्ताको छानो हाल्छु,” आश्वासन दिन छाडिन ।

ऊ रातभरि के–के भनेर कराइरही । त्यसका केही दिनमा रोपाइँ सकियो र रोपाइँ सकेको केही दिनपछि श्रीमतीलाई घर जिम्मा लगाएर सहर हानिएँ ।

म सहर हिँडेपछि पनि उसको अनुहारमा खुसी देखिएन । सोचेँ– मैले पैसा कमाउँछु भनेर उसले पत्याउँदै पत्याइन ।

० ० ०

बर्मा गए कर्मसँगै नेपाल गए कपालसँगै । बाबुले भनेको नसुनेको कहाँ हुँ र ! सहरको झिलिमिलीले पनि मेरो अनुहारमा चमक ल्याउन सकेन । पढेको थिइनँ, साथीहरू काठमाडौँको बसन्तपुर वरिपरि भारी बोक्थे । म पनि त्यही भीडमा मिसिएँ ।

उनीहरू बानी परिसकेका थिए । म थिएँ सिकारु भरिया, त्यसमाथि नयाँ पनि । झन्डै डेढ महिना हनुमानढोका, इन्द्रचोक, महाबौद्ध चहार्दा १० वटा पनि भारी भेटिनँ । त्यतिकैमा वर्षा पनि सकियो । दसैँ आउन लागिसकेकाले पैसा जसरी पनि कमाउनु थियो । फेरि दसैँ खर्च कमाएर मात्र हुँदैनथ्यो । घरको छाना फेर्नु थियो । श्रीमतीलाई नयाँ सारीमात्रै लगिदिन सके ऊ मख्ख पर्थी । छोरो हिँड्ने बेलामा ‘बा मलाई नयाँ पाएँट है’ भनेको पनि कानमा गुन्जिरहन्थ्यो ।

यी सब एकपछि अर्को गरी दिमागमा घुम्न थाले । सोच्दासोच्दै चक्कर लाग्लाझैँ भयो । पेटमा अन्न नपरेको तीन दिन भएको थियो । काम भए पो खान पाउनू ! भारी बोक्न पाएको थिइनँ । काम नभएकाले साथीलाई के दुःख दिनू भनेर उसको कोठमा सुत्नमात्रै जान्थेँ । १० रुपैयाँको तरकारी लैजाने हैसियत पनि थिएन मेरो । उसले के सोच्छ भन्ने लागिरहन्थ्यो ।

पैसा कमाएको दिन भात खान्थेँ नत्र भोकै सुत्थेँ । कहिलेकाहीँ साथीले सोध्थ्यो, “भात खाँदैनस् ?”

मेरो जवाफ हुन्थ्यो, “बाहिरै खाएर आएँ ।” तर, पेट भोकले हुँडलिरहेको हुन्थ्यो ।

दसैँ आउन महिना दिन बाँकी हुँदो हो । यता काम नपाएर छटपटी चलिरहेको थियो । त्यसै घर जाऊँ भने श्रीमतीले बसिखप्न दिन्नथी । मनमा आँधीतुफान चल्न थाल्यो । नौनाडी खिचिएर आए ।

छेवैको होटलमा गएर एक बोतल पानी पिएँ । गोजीबाट चुरोट निकालेर सल्काएँ ।

इन्द्रचोकको पेटीमा नाम्लोको सिरानी लगाएर के ढल्कन खोजेको थिएँ, अचानक आवाज सुनेँ, “माइला दाइ ।”

बोली चिनेकै मानिसको थियो । यसो मुन्टो उठाएको त हाम्रै गाउँको भुवन पो रहेछ ।

उसलाई देख्नेबित्तिकै सोधेँ, “तँ त हट्टाकट्टा भइछस् त, झन्डै नचिनेको ?”

ऊ फिस्स हाँस्यो ।

“अनि दाई घर लड्यो, भैँसी पनि मर्यो भन्ने सुनेको थिएँ । ठूलो दशा लागेछ है ?” उसको अनुहारमा विस्मयका रेखा दौडिए ।

“अँ भाइ, यस्तै भयो,” पीडालाई कोट्ट्याइरहन उचित नठानेर कुराकानी मोड्न खोजेँ ।

उसले फेरि सोध्यो, “कहिले आउनुभयो दाइ ? अनि घरपरिवारलाई के कस्तो छ त ?”

“राम्रै छ भाइ, त्यस्तै महिनादिन जति भयो यतातिर बरालिन आएको ।”

निकै बेर गम खाएपछि उसले मलाई प्रस्ताव गर्यो, “दाजु इन्डियामा राम्रो कमाइ हुने काम छ, जानुहुन्छ त ?”

काम नपाएर मेरो बेहाल भएको छ । उता पैसा नलिई घर जाने अवस्था पनि छैन । बाँधा बसेर भए पनि पैसा कमाऊँजस्तो भइसकेको मलाई भाइको कुराले केही राहत देलाझैँ भयो ।

“कस्तो काम होला भाइ, फेरि दसैँ पनि आउन लागिसक्यो, इन्डिया पुगेर दसैँमा फर्कन नभ्याइएला नि ?” मैले कौतुहलता पोखेँ ।

“काम सजिलै छ दाइ, दसैँसम्म लाग्दैन छोटोसमयको लागि मात्रै, जाने हो ? दाइको दुःख देखेर मात्र भनेको हुँ । नभ्याए म अरुलाई भन्छु,” मेरो जवाफ भुइँमा खस्न नपाउँदै उसले भन्यो ।

“आफूलाई ढुंगा खोज्दा देउता मिलेझैँ भएको छ, दसैँमा आउन नभ्याउने भए पनि म जान राजी छु, दसैंमा फर्कन पाए त खुसी भएर जान्छु नि भाइ,” मेरो जवाफले ऊ फुरुंग देखियो ।

गोजीबाट चुरोटको बट्टा फुत्त निकाल्यो । त्यसबाट दुई खिल्ली चुरोट थुत्यो र त्यसमध्ये एउटा मतिर तेस्र्याउँदै सोध्यो, “लिनुहुन्छ ?”
दुबै हात थापेर चुरोट लिएँ ।

चुरोट सल्काउँदै उसले फेरि थप्यो, “काम सजिलो छ दाइ, कुनै दिक्कत मान्नु पर्दैन ।”

“गाउँतिर पनि तिम्रो चर्चा निकै सुन्याथेँ, समाजसेवा खुबै गर्छौ रे !” मैले पनि उसलाई खुसी पार्न खोजेँ ।

ओठबाट कलात्मक आकारमा चुरोटको धुवाँ मिल्काउँदै उसले थप्यो, “दुःख पाएकालाई सेवा गर्नु नै धर्म हो नि हैन र दाजु ?”

निकैबेर कुराकानी गर्यो । इन्द्रचोकभित्र लगेर समोसा तरकारी पनि खुवायो । धेरै पछि भेटिकाले होला मलाई ऊसँग छुट्टिनै मन लागेन ।
भोलि ठीक यसै समय भेट्ने है भनेर ऊ बिदाबारी भएर गयो ।

भुवन हिँडेपछि मनमा अनेक कुरा खेल्न थाले ।

गर्भे टुहुरो हो भुवन । घरको दुःख खप्न नसकेर बाउले आत्महत्या गर्यो । भुवने जन्मेर ६ महिनाको हुँदानहुँदै आमा पनि अर्कैसँग हिँडी । हजुरआमाले बडो दुख्ख गरेर हुर्काइन्, पढाइन् ।

तीन–चार वर्ष जति भयो गाउँतिर देखिन छाडेको । भुवनेले यत्रो प्रगति गरिसकेछ । मनमनै लख काटेँ– टुहुराको दिन फर्कन्छ भन्थे, हो रहेछ ।

भोलिपल्ट त्यही समयमा एक मिनेट पनि ढिला नगरी भुवन आयो र भन्न थाल्यो, “टिकट लिइसकेको छु, दाजु घरतिर कसैलाई फोनफान गर्नु छ कि ?”

“आ बाबु ! अस्तिमात्र तल्ला घरे माइलो गएर आयो । खोजखाज गरेर भए पनि हजार रुपैयाँ जति पठाइदिएको थिएँ । घरतिर सबैलाई ठिकै रहेछ भन्थ्यो,” मैले घरतिर फोन गर्नु नपर्ने बताएँ ।

“त्यसो भए त भैहाल्यो नि,” चुरोटले तल्ला दाँतमा लेघ्रा बसिसकेको रहेछ, त्यही देखाउँदै ऊ फेरि हाँस्यो ।

“अनि झोला त बोक्नुभएको छैन नि !” म रित्तो हात आएको देखेर उसले आश्चर्य व्यक्त गर्यो ।

“सहरमा मेरो आफ्नो भन्नु एउटा फाटेको नाम्लो थियो, त्यही पनि कोठामै फालेर आएँ,” यसपटक उसको अनुहारमा केही बदलिएको भाव देखापर्यो ।

० ० ०

काठमाडौं खाल्डो पार नगरेको मलाई खै कुन–कुन बाटो भएर हो, उसले बम्बई पुर्यायो । बम्बई काठमाडौंभन्दा १० गुणा झिलिमिली थियो । मनै तरंगित बनाउने । ठूला र अग्ला घर, सफा बाटोघाटो र व्यवस्थित बगानले मनै लोभ्यायो । खै कता–कता हो, उसले धेरै ठाउँ घुमायो पनि ।
त्यस्तै दुई दिनपछि उसले अचम्मको प्रस्ताव लिएर आयो । अग्लो घरको भित्रपट्टि थियो म सुत्ने ठाउँ । खाना, खाजा त्यही आउँथ्यो, शायद होटल/लज हुनुपर्छ । त्यत्रो घरमा पुर्याएको देखेर मैले सोचेँ– काम यतै कतै हुनुपर्छ । तर, त्यस्तो होइन रहेछ ।

जीवनमा लाखौं हन्डर ठक्कर खाएको मान्छे म फेरि अर्को दुःखको सन्निकट थिएँ । अभागी कर्म जता पनि मर्म भनेसरह उसले मलाई सुन्नै नसक्ने प्रस्ताव सुनायो ।

उसैले भन्यो, “हाम्रै गाउँ ठाउँमा सय सवा सय मानिसले मेरो प्रस्ताव मानेका छन् र मालामाल भएका छन् ।”
मान्ने र नमान्ने दोधारमै थिएँ म ।

नमानौँ घरको त्यत्रो दुःखले घँचेटेर सहर हुँदै बम्बई ल्याइसकेको छ । छोरो, श्रीमतीलाई नानामात्रै होइन, ओत लाग्ने घरको छानै फेर्नु छ । मानौँ, आफैँ बेचिएर कसलाई सुख दिनू ?

धेरैबेरको सोच विचारपछि मनले भन्यो, “पैसा ज्यानभन्दा ठूलो कुरा हो । यदि पैसा भएको भए दपेटिएर बम्बई आइपुग्न पथ्र्यो ? फेरि पैसै नकमाई घर गइस् भने श्रीमतीको त नामर्द, हुतिहारा छँदै थिइस्, छोराको पनि झुत्रे र गएगुज्रेको बाऊ बन्छस् । तेल किन्ने पैसा नभएर पानीमा मुन्टा उमालेर खाएको र पैसै कमाउन नसकेकाले बसन्तपुरमा तीन दिन, तीन रात भोकै सुतेको बिर्सिइस् ? खाने मानो त छैन, कसरी छानो फेर्छस् ? अभाव निर्मम हुँदैनथ्यो भने सत्यवादी राजा हरिशचन्द्रले ‘मलाई किन्ने कोही छ ?’ भनेर किन सोध्थे ? परिवन्द परचक्रीभन्दा चर्को हुन्छ । यस्तै पाराले भैँसीको ऋण के गरी तिर्छस् ?”

यावत कुरा मनमा खेलेपछि मुटु बाँधेरै भुवनको प्रस्तावमा ल्याप्चे लगाएँ । ऊ पनि हर्षविभोर भयो । खुसियाली मनाउँदै गोजीबाट चुरोट झिक्यो र सल्कायो । म त्यही चुरोट सल्केसरह निख्रिँदै गए । दाउ हारेको जुवाडेझैँ घोत्लिइरहेँ ।

एक मनले भन्यो, सबै छोडेर आत्महत्या गरूँ । त्यागिदिऊँ प्राण । स्वास्नीका बचनरूपी वाण मन–मस्तिष्कमा तीखो गरी बिझ्न थाले । दिनहुँ नामर्द र हुतिहारा भन्छे, कहिल्यै मीठो वचन बोल्दिन । गरिबको श्रीमती भएपछि अलिअलि घच्चा सहनुपर्छ भन्ने त्यसलाई कहिल्यै आएन भने म किन बाँचूँ ? बारम्बार मनमा कुरा खेलिरह्यो । तर, मर्न कहाँ सजिलो थियो र ? विधाताले लेखेको दुःख नभोगी धर थियो र ?

चार–पाँच दिन के–के परीक्षण भन्दै सहरका विभिन्न ठाउँ घुमायो । छैटौँ दिन बम्बईको अस्पताल पुर्यायो र दुई दिन राख्यो । कागजमा के–के भनेर सही छाप पनि गरायो । पढेको भए पो बुझ्नु ? जहाँ–जहाँ भन्यो, त्यहीँ–त्यहीँ औँठाछाप लगाएँ ।

पहिलो दिन त होसमै थिएँ, दोस्रो दिन के–के भयो केही थाहा छैन । तेस्रो दिन बिहानै ब्युझिएँ । त्यसपछि आफ्नो जिउ देखेर आफैँलाई माया लाग्यो । अस्पतालका नर्स, डक्टरले के भन्ठाने होला भनेर तिनीहरूको मुख पनि हेर्न सकिनँ । उनीहरूले पनि सोधीखोजी गरेनन् । घाउ सफा गर्ने र औषधि तथा मल्हमपट्टी लगाउने बाहेक अरु केही गरेनन् ।

भोक र अभाव साह्रै निर्दयी हुँदो रहेछ । गरिबीकै कारण २० हजार नेपाली रुपियाँमा मैले मेरो मृगौला बेचेँ नानी ! र त्यही पैसाले घरको छाना फेरेँ !

यो कुरा आजसम्म मेरी श्रीमतीलाईसम्म भनेको छैन र कहिल्यै भन्न आवश्यक ठानिनँ । उसले पनि कहिल्यै सोधिन, “यत्रो पैसा दुई महिनामै कसरी कमाइस् ?”

पैसा पाएपछि ऊ केटाकेटीझैँ फुरंग भई, मेरो मन भरंग भयो ।

० ० ०

बाजेको आँखामा भदौको इन्द्रावती उर्लियो । कुराकानी सक्दानसक्दै बाजेका गाला भिजे । कुरा सुनिसक्न रमितालाई गाह्रो भयो । मेरो पनि ओठमुख सुकेकाले नजिकैको तिरतिरे धारोमा पुगेँ र दुइ जलुको पानी खाएँ ।

जुरुक्क उठेर ढाकर पिठ्युँमा राख्नै खोज्दा रमिताले बाजेलाई सोधी, “अनि कस्तो छ त स्वास्थ्य, केही समस्या त छैन नि ?”
अवरुद्ध कण्ठबाट बोले, “डक्टरले १५ वर्ष केही हुँदैन भनेको छ, त्यतिन्जेल त छोरोले पनि कमाउन थाल्ला नि !”

उनको अनुहारमा आफ्नो भन्दा ज्यादा परिवारको चिन्ता देखियो । केही समयपछि बाजे घामको दिशा भएतिर अघि बढे । हामी मानेखर्कको भीर छिचोलेर पुगेर इन्द्रावतीको तीर झरिसक्दा पनि तिनै बाजे आँखाभरि आइरहे ।

@aksharkaka

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment