हँसाउनेहरू आफैं कति सुखी र खुसी हुन्छन् ? या दुःखको इन्द्रेणी बनेर सबैतिर खुसी छर्छन् ?
यसको उत्तर सजिलो छैन । तर, जितु नेपाललाई हेर्ने हो भने यो प्रश्न उति क्लिष्ट लाग्दैन । उनलाई नजिकबाट चिन्ने र जान्नेहरू अझै चकित पर्छन्– यस्तो दुःखमा हुर्किएको जितुले कसरी हँसाउन सिक्यो ?
हास्य मञ्चमा देखा पर्नुअघिसम्म उनी दुःखकै भँगालोमा थिए । नोकरीका लागि भारत पुगेर माटो सोहोरेको क्षण होस् या प्रस्तुतिका लागि ‘सिनियर कलाकारहरूसँग’ बिन्ती बिसाएको वा ‘हँसाउन सक्दैनस्’ भनेर प्रस्तुतिबाट निकालिएको पल– उनी कहिल्यै बिर्सिन्नन् । बरु, बेलाबखत झनै गाढा भएर आउँछन् । र, त उनी भन्छन्, “जिन्दगी डुंगाजस्तो हिँड्दै पाइला मेट्द जस्तो होइन, आफ्नो विगतले सधैं पछ्याइरहन्छ ।”
अहिले गाईजात्रा महोत्सव चलिरहेको छ । बिहीबारबाट प्रज्ञा प्रतिष्ठानमा सुरु भएको महोत्सव दुई साता चल्नेछ । बिहीबारको जम्काभेटमा उनले हामीलाई हँसाउदा बेहोर्नुपरेका केही दुःखदायी क्षण यसरी बाँडे:
मिति ठ्याक्कै याद भएन । म, सविन राईलगायत प्रस्तुतिका लागि अस्ट्रेलिया पुगेका थियौँ । ४ वटा राज्यमा हामीले निकै राम्रो प्रस्तुति दियौँ । अस्ट्रेलियाका विभिन्न भू–भागमा रहेर विभिन्न पेसा–व्यवसायमा लाग्नुभएका नेपालीहरूलाई हामीले धेरथोर मनोरञ्जन दियौँ । प्रवासमा उहाँहरूले भोग्नुभएका दुःख र पीडालाई हँसाएर भए पनि मल्हम लगायौँ ।
वास्तवमा उहाँहरूको मायाले हामी पुलकित पनि भयौँ । देशको सिमाना नाघेर बाहिर गइसकेपछि देशप्रतिको माया अझै प्रगाढ हुन्छ । प्रस्तुतिका लागि विभिन्न मुलुक जाँदा त्यो हामीले नजिकबाट नियाल्यौँ । अस्ट्रेलियाका ४ वटा राज्यमा हामीले त्यस्तै सद्भाव पायौँ ।
तर, एडिलेड सहरमा सोचेभन्दा फरक भयो । आयोजकले एउटा टिकटसँग एउटा ‘ड्रिंक्स’ सित्तैमा भनिदिएका रहेछन् । डिस्कोथेकमा कार्यक्रम भएकाले अधिकांश मानिसहरू नशाको तालमा थिए । वास्तवमा भन्नुपर्दा त्यहाँ कोही सद्धे हालतमा थिएनन् ।
प्रस्तुतिका लागि स्टेजमा चढेको त एउटा दर्शक भाइले भन्यो, “ह्या जितु दाइ, के बोर गर्न आइ’रा ! कति सुन्नु नेताहरूको उट्पट्याङ गफ ? बरु माइक सविन राईलाई दिनुस् । झ्याप मुडमा उनले दाम्स गीत गाउँछन्, पैसा तिरेपछि झुम्नुपर्यो नि हैन ?”
उसले हैरानै गर्यो। मलाई त के गरौँ, कसो गरौँ भयो । छटपटीकै बीच कार्यक्रम सकाएँ । प्रस्तुति सक्न मलाई हम्मे–हम्मे पर्यो ।
० ० ०
धादिङको माझिमटारमा प्रस्तुति देखाउन पुगेको थिएँ । आजभन्दा झन्डै ४ वर्षअघि तिहारको घटना थियो त्यो । लक्ष्मी पूजाको दिन भएकाले बेलैमा घर पुग्न हतार थियो । नारायणघाटको कार्यक्रम सकेर एक्लै माझिमटार आइपुगेको थिएँ । माझिमटार नआइपुग्दै मुना फोन गरेर भन्थी, “घर कति बेला आउने हो ? लक्ष्मी पूजा गर्ने बेला हुन आँटिसक्यो !”
म सान्त्वना दिन्थेँ, “ह्या बूढी कति फोन गरिरा’की ! आज त अलि पैसा कमाएको छु, म आउँछु नि, नआत्तिकन बस न ।”
‘ल ल’ भन्दै ऊ फोन राख्थी । केही समय नबित्दै फेरि फोन गर्थी र भन्थी “तपाईं नआउने भए त म खाइवरी सुत्दिन्छु ।”
म फेरि ‘बाटामा छु, माला किन्दैछु, कुचो खोज्दैछु’ भन्दै उसलाई सम्झाउने प्रयत्न गर्थें ।
रामचन्द्र काफ्ले, जुनु रिजाल, अञ्जु पन्तहरू क्रमशः प्रस्तुति दिँदै थिए । मैले आयोजकलाई भन्दै थिएँ, “मलाई अलि हतार छ, मेरो पालो अगाडि राखिदिनुस् है !”
गफिँदै गर्दा आयोजकले सोधे, “जितुजी, खाजा के लिनुहुन्छ ?”
‘तपाईंहरूलाई जे सजिलो हुन्छ’ भन्नै लागेको थिएँ, झल्याँस्स सम्झिएँ, आज त लक्ष्मी पूजा, श्रीमती कुरिरहेकी छिन् । त्यसपछि आयोजकलाई भनें, “खाजामा मासुचाहिँ नराखिदिनू है !”
रमाइलो माहोल चलिरहेको थियो ।
म स्टेजमा उक्लनुअघि प्रायः मोबाइल अफ गर्ने गर्छु । त्यसदिन पनि मोबाइल अफ गर्नै लागेको थिएँ, अचानक फोन आयो । ‘बेला हुँदैछ, यो कलचाहिँ उठाउँछु’ भनेर फोन उठाउँदै ‘हेलो’ भनेको त मेरो नौ नाडी खिचिएर आयो ।
फोन गर्नेले भन्यो, “तपाईंको मानिस काठमाडौं बबरमहलको रातो भाले नजिकै दुर्घटनामा पर्नुभएको छ । उहाँले तपाईंको नम्बर दिनुभएको हो, त्यही भएर फोन गरेका हौं । जहाँ हुनुहुन्छ, तपाईं तुरुन्त आउनुस् ।”
मैले आत्तिँदै सोधेँ, “दुर्घटनामा चाहिँ को पर्नुभएको ?”
उसले भन्यो, “महिला हुनुहुन्छ, शायद तपाईंकी श्रीमती पनि हुन सक्नुहुन्छ ।”
कुरा नसक्दै उसले फोन राख्यो ।
यता मलाई छटपटी सुरु भयो । बेहोस होउँला झैँ भयो । पसिनाको धारा छुट्यो ।
मुनालाई फोन गर्छु, लाग्दैन ।
त्यत्तिकैमा उद्घोषकले मेरो नाम उच्चारण गरे । मैले भने, “मेरी श्रीमती दुर्घटनामा परिन्, म अहिले जान सक्दिनँ, कसैलाई गीत गाउन पठाउनुस् ।”
आयोजक अन्योल परे ।
“के भयो दाइ ? अब के गर्ने ?” भन्दै एकजना भाइ रुनै लागेझैं गरे ।
करिब १० मिनेटको अन्तरालमा श्रीमतीसँग सम्पर्क भयो, अवस्था ठीकै रहेछ । उनले भनिन्, “बी एन्ड बी हस्पिटलमा छु । मोटरसाइलले ठक्कर दिएको हो, कम्मर र जिउतिर चोट लागेको छ । पेन ठीकै छ, कार्यक्रम सकेर आउनू ।”
उनले भने पनि मन कहाँ मान्थ्यो र ! छटपटीकै बीचमा स्टेजमा चढेँ ।
स्टेजमा चढिसकेपछि दर्शकलाई न्याय गर्नुपर्ने थियो । त्यो पीडालाई मस्तिष्कमै दबाएर २५ मिनेट दर्शकलाई मनोरञ्जन प्रदान गरेँ । खै के प्रस्तुति दिएँ, त्यो क्षण सम्झँदा अहिले पनि कहाली लाग्छ ।
प्रस्तुति सकेर काठमाडौँ आएँ र सिधै अस्पताल पुगेँ । अवस्था नर्मलै रहेछ । ३ दिनको अस्पताल बसाइपछि मुना डिस्चार्ज भइन् ।
० ० ०
०५३ सालदेखि नियमित गाईजात्रा गर्दै आएको छु । तर, पोहोर गाईजात्रा समारोहमा सरिक हुन पाइनँ । निकै दुःखको क्षण हो त्यो मेरो । म प्रस्तुतिकै लागि अमेरिका जानुपर्यो । तर, मेरो तनमात्र अमेरिका पुग्यो, मन यहीँ गाईजात्रे स्टेजवरपर अल्झिरह्यो । ०५३ सालदेखि नियमित मेरो प्रस्तुति हेर्न आउने दर्शकहरू पनि हुनुहुन्थ्यो । उहाँहरूका लागि निकै अन्याय भयो कि भन्ने अनुभूति भयो ।
कलाकारिता सुरु गरेदेखि नै म स्टेजमा ‘इन्जोय’ गर्छु । स्टेजजत्तिको प्रिय चिज अरु लाग्दै लागेन । त्यसैले होला– यो किसिमको जमघट, दर्शक÷स्रोताको मायाबाट टाढिँदा निकै गाह्रो हुँदो रहेछ ।
० ० ०
०५९ सालतिरको कुरा हुनुपर्छ । सन्तोष पन्त, हेमन्त श्रेष्ठलगायत सिनियर दाइहरूले प्रज्ञा भवन कमलादीमा गाईजात्रा महोत्वस आयोजना गर्नुहुन्थ्यो । त्यसमा मैले र दमनजीले पनि एउटा सानो प्रस्तुति देखाउने अवसर पाएका थियौँ । त्यसमा हामीले एक शो कार्यक्रम गरेका थियौँ । त्यो अति राम्रो भएको थियो । दर्शकहरूले पनि अति रुचाउनुभएको थियो । दोस्रो शोको तयारी गर्दै थियौँ– टिमले भन्यो, “तपाईंको प्रस्तुति काटिएको छ, तपाईंहरू जानुभए हुन्छ ।”
म छाँगाबाट खसेझैं भएँ । दमन पनि दुःखी भए ।
किन काटियो, त्यसमा के कमजोरी थियो ? त्यो आजसम्म हामीले थाहा पाउन सकेनौँ ।
कलाकारिताको सबैभन्दा दुःखद् क्षण हो हाम्रो त्यो । जब म स्टेजमा प्रस्तुतिका लागि उक्लन्छु, मलाई त्यही दिनले घोच्न थाल्छ र राम्रो प्रस्तुतिका लागि तयार बनाउँछ ।
मलाई याद छ, पहिलो शोमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा आउनुभएको थियो । उहाँले समेत हाम्रो प्रस्तुति रुचाउनुभएको थियो । तर, दोस्रो शोबाट हामीले दर्शकलाई हँसाउन पाएनौँ ।
० ० ०
वैशाख १२ को भूकम्पले धेरैको उठीबास लगायो । मेरो गृहजिल्ला सिन्धुपाल्चोकमा त एउटा घर ठाडो रहेनन् । ८ हजारभन्दा बढीले त ज्यानै गुमाए । आधा मानिस त सिन्धुपाल्चोकमै मरे होलान् ।
युनिसेफले १२ वटा जिल्लामा २८ शो गर्न हामीलाई अह्रायो । ‘भन्दै–सुन्दै गाउँ–गाउँमा’ भन्ने कार्यक्रम थियो त्यो ।
सुरुमा त मलाई निकै अप्ठ्यारो भयो । यत्रा मानिसहरू मरेका छन् । यत्रो धनमाल नष्ट भएको छ । मानिसहरू रोइरहेको ठाउँमा गएर के भनेर हँसाउनु ?
निकै द्विविधामा परेँ । तर, हँसाउन गएका ठाउँका मानिसहरू मेरो सोचविपरीत निस्के ।
“घर भत्कियो, आफन्त गुमायौँ, के अब रोएर बसिरहने ?” उनीहरूको त्यस्तो आशयपछि म नतमस्तक भएँ । वास्तवमा मानिसहरू आफ्ना पीडा बिर्सन चाहँदा रहेछन् ।
उनीहरूमध्ये केहीले भन्थे, “हास्यकलाकार छन् र त हामीले पीडा भुलेर हाँस्न पाएका छौँ । नेताहरूले त झन् पीडा बल्झाइदिन्छन् !”
उनीहरूको कुराले म गम्भीर हुन्थेँ ।
० ० ०
तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले भर्खर प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए । उनी प्रधानमन्त्री भएपछि भेट्ने अवसर जुरेको थिएन । नाचघरमा एउटा कार्यक्रम थियो । माओवादी नेता कृष्ण केसी कार्यक्रमका आयोजक थिए ।
संयोगवश प्रचण्ड पनि त्यो कार्यक्रम हेर्न पुगेका रहेछन् । त्यतिबेला तत्कालीन कांग्रेस सभापति स्व. गिरिजाप्रसाद कोइरालाले भन्ने एउटा डाइलग थियो– माओवादी पाकेका आँप हुन्, आफैँ झर्छन् ।
उनले भनेजस्तै प्रचण्ड नेतृत्वको सरकार विघटन भएको थियो । यसै प्रसंगलाई क्यारिकेचरमा उतार्दै मैले सोधेको थिएँ, “यता आँप चिचिला लागेको छैन, कसरी झर्यो त ?”
जवाफमा गिरिजाबाबुकै क्याचिकेचरमा भनेको थिएँ, “हेर्नुस्, यो नेपालको आँपको कुरा होइन । यो त दक्षिणको
आँपको कुरा हो, त्यता पाकिसक्या’छ, त्यही भएर फ्यात्त झर्यो ।”
त्यो कुरा प्रचण्डलाई निकै घत लागेछ ।
उनले पार्टी कमिटीको बैठकमै भनेछन्, “कृष्णजीको नाचघरको कार्यक्रम हेर्न गएको थिएँ, त्यहाँ एकजना पुड्के–पुड्के भाइले मजाले हँसाए । बडो चोटिलो कुरा गरे तिन्ले !”
माओवादी नेता अग्नि सापकोटा मेरो जिल्लावासी हुन् । भेटेर अन्तरंग कुराकानी गर्ने मौका त पाएको थिइनँ तर पनि उनले निकै याद गर्दा रहेछन् । उनले बैठकमै भनेछन्, “ती जितु नेपाल हुन् । र, मेरो जिल्लाका पनि हुन् । तिनले राम्रै हँसाउछन् ।”
अग्नि सापकोटाले पछि मलाई फोनै गरेर भने, “जितु भाइ, तपाईंलाई बधाइ छ, हाम्रो अध्यक्षले बैठकमै तपाईंको प्रशंसा गर्नुभयो ।”
हास्यव्यंग्यले मानिसको मन जित्न सक्दोरहेछ भनेर त्यसपछि मेरो अठोट अझै बलियो भएको हो ।
No comments:
Post a Comment