अक्षर काका । काठमाडौं । काभ्रेको कात्तिके देउरालीमा सोमबार भएको कहालीलाग्दो बस दुर्घटनामा बाँच्न सफल युवती कोपिला गौतम खोज्दै म मंगलबार काठमाडौँको ट्रमा सेन्टर पुगेको थिएँ । इमर्जेन्सी वार्डमा उपचाररत थिइन् कोपिला । तर, उनी तन्दुरुस्तझैँ अरुलाई दुर्घटनाको क्षणबारे बताइरहेकी थिइन् । दुखेको कम्मर हातमा अडेस लगाउँदै उनले दुर्घटनाबारे बताइरहँदा सुन्नेहरू जिब्रो काढ्थे । उनका नजिकै थिए, अर्का घाइते केशव नेपाली । उनी पनि कहालीलाग्दो दुर्घटनामा बाँच्न सफल भएका हुन् । उनको होस ट्रमा सेन्टर आएपछि नै खुलेको हो । उनी भन्दै थिए, “अन्दाजी सय मिटरजस्तो बल्ड्याङ खाँदासम्म होसमै थिएँ, हेर्नुस् न, सर्ट त यसरी च्यातिएछ, म कसरी बाँचें हुँला ?”
कोपिलाको कुरा उनी पनि चाख मानेर सुन्दैथिए । टाउकोमा गम्भीर चोट लागेकाले उनीसँग कुरा गर्नु त्यति उपयुक्त हुँदैनथ्यो । त्यसैले म कोपिलासँग कुरा गर्ने निष्कर्षमा पुगेँ ।
कात्तिके देउराली, ज्यामिरे हो उनको घर । प्रभा क्याम्पसबाट स्नातक सकाएर काठमाडौँको बबरमहलमा रहेको होड्री इन्स्टिच्युटबाट अनमी गर्दै गरेकी कोपिलालाई मैले सोधेँ,
कसरी भयो दुर्घटना ?
कहालीलाग्दो दुर्घटनाको बयान उनकै शब्दमा ।
० ० ०
बिरामी भएर अघिल्लो दिनमात्र अस्पतालबाट डिस्चार्ज भएकी थिएँ । ज्वरो आउन कम भएकै थिएन । बिरामी भएर तंग्रिँदै गरेकाले होला, बुबाले घरमा बोलाउनुभएको थियो, ‘छोरी सोमबारतिर घर आइज है’ भनेर । त्यही भएर म बिहान सवा ७ बजेतिर कोटेश्वर पुगेँ । सुनेको थिएँ, ‘मादनकुँडारी जाने एउटामात्रै बस छ ।’ गाडीको स्टाफ चिनेको हुनाले मैले फोन गरेरै एउटा टिकेट ‘बुक’ गरेकी थिएँ ।
गाडी कोटेश्वर आइपुग्यो, तर गाडीमा खुट्टा हाल्ने ठाउँ थिएन । म सकीनसकी बसमा चढेँ । मैले ‘बुक’ गरेको सिटमा एकजना वृद्ध आमै चढिसक्नु भएको रहेछ । उहाँ पनि कात्तिके देउरालीकै हुनुहुन्थ्यो । वृद्ध मानिसलाई उठाएर आफू बस्न मेरो मनले मानेन । वृद्ध आमैले पनि भन्नुभयो, ‘म बसिहालेँ बा ! अब मिलेर जाऊँ है ।’
दुवै सिटमा बूढी आमै हुनुहुन्थ्यो, म अटाउने ठाउँ थिएन । ड्राइभरको पछाडिपटिको सिट भएकाले म बीचमा यसो ढाड टेकाउन खोजेँ । तर, निकै अप्ठ्यारो भएकोले बस्न सकिनँ । त्यसपछि टिकट बुक गरेको स्टाफलाई भनेँ, “यहाँ बस्न अप्ठ्यारो भयो, अर्को सिट मिलाइदिनुस् ।” स्टाफले मलाई गाडीको पछिल्लो सिट मिलाइदिनु भयो, म त्यहीँ बसेँ ।
गाडी काठमाडौंबाटै ‘प्याक’ भएर आएको थियो । तर, बनेपामा पुगेर पनि सामान हाल्यो । २०–२५ बोरा चामल, केही बोरा मैदा र छतमा भेटनरी औषधिहरू पनि हालेको जस्तो लाग्छ । जे होस्, सामान र मानिसले बस पूरै खचाखच थियो ।
बनेपामा मानिसहरू पनि चढे । मलाई सम्झना भएसम्म बनेपा पुग्दानपुग्दै छतमा मानिसहरू बस्न थालिसकेका थिए ।
बस १२ बजे दोलालघाट पुगेको थियो । त्यहाँ चालक तथा यात्रुहरूले खाना खाए, केहीले नास्ता लिए । मलाई ज्वरो आइरहेको थियो । दोलालघाट पुगेपछि रिंगटा चल्लाजस्तो पनि भयो, खाना खान सकिनँ । करिब आधा घण्टा त्यहाँ अलमल भयो ।
सबैले खाना खाइसकेपछि चालकले गाडी स्टार्ट गरे । तर, गाडी स्टार्ट हुन सकेन । चार–पाँच पटकको प्रयासमा पनि गाडी स्टार्ट नभएपछि चालकले सहचालकलाई भने, ‘गाडी धकेल्नुपर्यो ।’
पुरुष यात्री र गाडीका स्टाफ मिलेर गाडी पछाडि धकेलेर स्टार्ट गरे । गाडीले रफ्तार बढायो । मानिसहरू चढ्ने र ओर्लने क्रम चलि नै रहेको थियो । कोलाती पुगेपछि गाडी केही बेर अडियो । टाउको दुखेकाले म त्यहाँ उत्रिएँ र पानी किनेर खाएँ ।
खहरे खोलामा पुगेपछि मेरो स्कुलको साथी प्रतीक्षा चौलागाईं चढी । ऊ चढेको तीन मिनेट बित्न पाएको थिएन, उकालो बाटोमा गाडीको स्टार्ट एक्कासि बन्द भयो । यात्रुहरूले के भयो, कसो भयो भन्न थाले । केही भएको होइन भन्दै ड्राइभर गाडी स्टार्ट गर्न कोसिस गरिरहेका थिए, तर उनको प्रयास सफल हुन सकेन । गाडी पछाडि पो गुड्न थाल्यो । मैले सोचेँ, ‘तल लगेर स्टार्ट गर्ने रहेछ क्यारे !’
ड्राइभर चिच्याउँदै सहचालकलाई भन्दै थिए, ‘तल झरेर ओट हाल’
सहचालकले ओट राख्न नभ्याउँदै गाडी झारमा चिप्लिएर बल्ड्याङ खाइहाल्यो । छतका मानिसहरू हावामा उडेको देखेँ, त्यसपछि केही सम्झना छैन । होसमा आउँदा म त चामलको बोरामाथि पो रहेँछु । छाती असह्य दुखिरहेको थियो । छातीमा आफैँले हल्का मसाज गरेँ, रगडेँ । त्यसपछि थोरै राहतको महसुस भयो । सबै अंग छामेँ, निधार, कम्मर, टाउकोको पछाडिबाहेक अन्यत्र खासै घाउ लागेको रहेनछ । त्यसपछि झोला खोजेँ, झोला पनि नजिकै फेला पर्यो ।
अचानक बुबाको याद आयो । हत्त न पत्त झोला खोलेर मोबाइल निकालेँ । मोबाइल पनि केही भएको रहेनछ । तर, ‘नेटवर्क’ थिएन । काम लाग्छ भनेर दुइटा सिमकार्ड हालेको थिएँ । एनसेलमा चाहिँ टावर देखायो । तत्कालै बाबालाई फोन गरेँ, ‘बस दुर्घटनामा पर्यो । तर, म सकुशल छु, क्यै चिन्ता नलिनू !’
बाबा अतालिँदै हुनहुन्थ्यो, तर फोन काटियो ।
त्यसपछि सम्झना आयो, ‘प्रतीक्षा खै ?’
नजिकै हेरेको त ऊ छटपटाई रहेकी रहिछे । उसलाई आफूतिर तानेँ । ऊ ऐयाआत्था गरिरहेकी थिई ।
वरिपरिको दृष्य वर्णन गर्न सकिने नै थिएन । कसैको टाउको नभएको, कसैको हातखुट्टा नभएको शवहरू यत्रतत्र छरिएका थिए । घाइतेहरू पनि बोल्न सक्ने हालतमा नै थिएनन् । करिब १५ मिनेट भएको हुँदो हो, स्थानीयहरू पनि दगुर्दै आए । नजिकैको गाउँ ठूलो थिएन, तर पनि उनीहरू ज्यान फालेर उद्धारमा जुट्न थाले ।
एक जना दाइ मेरो नजिकै आउनुभयो र सोध्नुभयो, ‘नानी ! तिमी ठीक छौ ?’ मैले भनेँ– म त ठीक छु । त्यसपछि अचानक दिमागमा आयो, ‘मेरो झोलामा पेनकिलर छ, काटेको घाउमा लगाउने मल्हम छ, ब्यान्डेज पनि छ । घाइतेहरूको उपचार गर्छु भनेर उपचार गर्न थालेँ । तर, मैले सोचेजस्तो अवस्था थिएन । हातखुट्टा नभएका अंगभंग भएका घाइतेलाई मेरो प्राथमिक उपचारले के गर्न सक्थ्यो ! र पनि म होस नगुमाई उनीहरूको सेवामा जुटेँ । रगतपच्छे भएकाहरूको रगत पुछ्दै मल्हम लगाएँ, । उनीहरूलाई पेनकिलर दिएँ । ३०–४५ मिनेटमा प्रहरीहरू आइपुगे । अन्यत्र गाउँबाट पनि मानिसहरू आए, भीड बढ्यो ।
उद्धारमा खटिएकाहरूले मलाई पनि भीरबाट माथि पुर्याए र घाइते सबैलाई माथि लगे । मसँग ‘आइब्रुफिन’ पनि थियो, ‘बढी दुखेकालाई यो खुवाउनू’ भनेर त्यो पनि उनीहरूलाई दिएँ ।
अचानक यसो हात हेरेको त मेरो हातबाट पनि रगत बगिरहेको पो रहेछ ! स्वास्थ्यकर्मीहरूलाई भनेँ, “मेरो हातको औँठी निकालेर ‘ब्यान्डेज’ गरिदिनू, म पनि घाइतेलाई सहयोग गर्न सक्छु ।”
तर, उनीहरूले सकेनन्, आफैँले ‘ब्यान्डेज’ बाँधेँ ।
केही बेरपछि आकाशमा हेलिकप्टर देखियो । तर, अवतरण गर्न सकेन र फर्कियो । केही क्षणपछि हेलिकोप्टर माथि थोरै समथर ठाउँमा अवतरण भयो । हेलिकप्टरले घाइतेमध्ये अधिकांशको उद्धार गर्यो । केहीलाई एम्बुलेन्समा राखेर पठाइयो । र, म काठमाडौं आएँ ।
मेरो सिटमा बसेकी आमै रहनुभएन
मैले बुक गरेको सिटमा बसेकी हजुरआमा रहनुभएन । दुवै हजुरआमाको घटनस्थलमै निधन भयो । त्यतिमात्र होइन, मैले गाडीको पछाडि सिटमा बस्दा पनि एकजना आन्टीलाई सिट छोडेकी थिएँ, उहाँ पनि बित्नुभएको सुनेँ । उहाँलाई सिट छाडेर म चामलको बोरामा बसेकी हुँ ।
गाडीले सुरुमा दुई बल्ड्याङ खायो र त्यसपछि एकपल्ट खोँचमा पुग्यो । त्यसैले पनि बढी क्षति हुन पुग्यो ।
छतमा पनि मानिसहरू टन्नै थिएँ, त्यसमध्ये विनोद चौलागाईं मैले चिनेका हुन् । उनी बाँच्न सफल भए । अरुको अवस्था के छ, कुनै पत्तो छैन । गाडी दुर्घटनापछि सबैले चालकलाई नै दोष दिएको सुनेँ, तर चालकले गाडी र यात्रु बचाउन लाख कोसिस गरेका हुन् । उनको अवस्था के छ, थाहा छैन । सुनेकी छु– उनी गम्भीर घाइते छन् । सहचालकको अवस्था के छ, त्यो पनि थाहा छैन । मृत्यु हुनेमा अधिकांश कात्तिके देउरालीकै छन् । त्यसमध्ये वडा नम्बर ३ का बढी परेका छन् । बस दुर्घटनाले टोलै शून्य बनायो ।
जति गुनासो गरे पनि बाटो बनेन
यात्रुको चाप र कच्ची बाटोलाई दुर्घटनाको कारक ठानिन्छ तर त्यहाँका बासिन्दाको बाध्यतालाई कसैले बुझ्दैन । मादनकुँडारीसम्म दिनको एउटा गाडी जान्छ । त्यसैमा कोचिएर नगए गन्तव्यमा पुगिँदैन । बल्ल–बल्ल गाडी चढ्यो, कतिबेला मरिन्छ भन्ने कुनै टुंगो छैन । यो अवस्थाको दोषी को ? यसको निर्क्यौल हुनैपर्छ । नत्र अहिले काभ्रेमादुर्घटना भयो, भोलि अन्त होला । दुर्घटनाको एक–दुई दिन सबैलाई चासो लाग्छ, चिन्ता पनि देखिन्छ, त्यसपछि त्यसको पीडा भोग्नेलाई मात्रै पर्छ । अतः सम्बन्धित निकायको यसमा ध्यान जानैपर्छ । सोमबारको दुर्घटना कोशीपारीको सबैभन्दा भयानक दुर्घटना हो । यसबाट पाठ नसिक्ने हो भने यो सुरुवातमात्रै हुन सक्छ । हुन त यसभन्दा अघि पनि दुर्घटना नभएका होइनन्, तर घटना घटे र त्यत्तिकै सेलाए ।
स्थानीयले पटक–पटक कुरा नउठाएका होइनन्, बाटो बनाउन आग्रह नगरेका होइनन्, दुर्घटनाबारे सचेत नगराइएको पनि होइन तर कसैको कानमा बतास लागेन र यो दुःखद् दिन बेहोर्नुपर्यो ।
अनमी पढेर ठीक गरेछु
डरलाग्दो दुर्घटनामा परेँ । जीवनको सबैभन्दा दुःखद् क्षण हो यो मेरो । अनमी पढेकाले होला, मलाई केही पनि लागेन । ममा राम्रै आत्मविश्वास रहेछ, ‘आफू बाँचेँ र अब अरुलाई बचाउनुपर्छ ।’
मैले सक्दो कोसिस गरेँ । केही बेरमा बुबा दगुर्दै आइपुग्नु भयो छोरी उपचार गरिरहेको देखेर उहाँको मन पनि ढुक्क भयो । यदि मैले अनमी नपढेको भए आत्तिएर बेहोस हुन्थेँ कि ! घटना सहन सक्दिनथेँ कि ! त्यही भएर म ‘बेटर’ छु ।
दुर्घटनाको कारण
दुर्घटनाको मुख्य कारण गाडीको खराबी नै हो । मादनकुँडारी हिँडेको गाडीले दोलालघाटजस्तो पिच बाटोमै स्टार्ट बन्द भएर दुःख दिएको थियो । त्यसका अलावा बाटो र यात्रुको चाप पनि हुन् । मैले अघि नै भनिसकेँ, दुर्घटनाका विविध कारण औँल्याएर त्यहाँका बासिन्दाको बाध्यता ओझेलमा पार्नु हुँदैन । गाडी छैन, जाँदैन भनेपछि जति भीड भए पनि यात्रुहरू त्यही गाडी चढ्न खोज्छन्, त्यो उनीहरूको बाध्यता हो । यात्रु आफैँमात्र गाडी चढ्दैनन्, उनीहरूले सामान पनि लैजान खोज्छन् । त्यसले पनि गाडीलाई भार ज्यादा पर्छ ।
यो बाटो निकै पछि सञ्चालनमा आएको हो । कात्तिके देउराली पुग्न अरु बाटोभन्दा यो ६/७ किलोमिटर छोटो पर्छ । त्यही भएर पनि यो रुटमा गाडी चल्छ । मेरो भनाइ के हो भने कि बाटो खन्नु भएन, बाटो खन्नुको अर्थ सवारी चल्नु र आवागमन सहज हुनु हो, यसैलाई मनन गरेर सडकको स्तारोन्नति गरिनुपर्छ ।
No comments:
Post a Comment