Welcome to My Blog!

This is Boxer Template Demo Site
Follow Me

‘पाँच लाख नजुट्दा ३० लाखको अमेरिकी छात्रवृत्ति गुम्ने भो’



By  Unknown     2:41 AM    Labels: 

 अक्षर काका । “दाइ, बाह्रखरीको कार्यालय यहीँ हो ?” ‘ह्वाइटकेन’को सहारामा छामछाम छुमछुम गर्दै बाह्रखरी आइपुगेका तीन दृष्टिविहीन युवालाई देख्नेबित्तिकै सुरुमा त हामी आश्चर्यचकित भयौं– कसरी आइपुगे होलान् यहाँ !

बिनासहयोगी दुई तला चढेर बाह्रखरीको कार्यालयसम्म आइपुग्न पक्कै पनि सहज थिएन ।

“दाइ, हामीले निकै हण्डर र गोता पायौं ? कसैले पनि हाम्रो कुरा सुनिदिएन । तपाईंहरूले सुनिदिनुहुन्छ कि भनेर हामी खोज्दै–खोज्दै धाएरै आयौं । पाँच लाख रुपैयाँको जुगाड गर्न नसक्दा ‘कोलोराडो सेन्टर फर द ब्लाइन्ड’ले उपलब्ध गराएको ३१ हजार २०० अमेरिकी डलर बराबरको छात्रवृत्ति गुम्ने भो !”

असिनपसिन थिए उनीहरू । जिउको पसिनासमेत नओभाई तीमध्ये एकले बेलिबिस्तार लगाइहाले । अरु दुई युवा मूर्तिवत् रूपमा ठिंग उभिइरहेका थिए । उनीहरूको अनुहारमा विभिन्न ठाउँ चहार्दाको हण्डर–ठक्करका प्रतिबिम्बहरू छरपष्टै देखिन्थ्यो ।
० ० ०
“जयराम लामिछाने हो मेरो नाम । काठमाडौँको गोल्डेन गेट कलेजबाट ट्राभल एन्ड टुरिजम विषयमा १२ कक्षाको परीक्षा दिएर रिजल्ट कुरिरहेको छु” उनले आफ्नो परिचय दिए ।

भरतपुर–११ चितवन घर भएका उनी पढाइमा निकै अब्बल रहेछन् । उनको बोलीबचन र प्रस्तुतिबाट पनि यो बुझ्न हामीलाई कठिन भएन । कुराकानीका क्रममा उनले दृष्टिविहीनहरूले भोग्नुपरेका समस्याका अनेक पोकापन्तुरा खोले । सवा घण्टा बसाइका क्रममा उनीहरूले दैनन्दिन भोगेका कुरा सुन्दा हाम्रो आङ सिरिङ्ग भयो ।

उनी जन्मजातै पूर्ण दृष्टिविहीन होइन रहेछन् । जन्मँदा उनको दाहिने आँखा पूर्णतया अन्धकार थियो भने देब्रे आँखाचाहिँ केही धूमिल देखिन्थ्यो ।

परिवारको एक्लो छोरा भएकाले बाबुआमालाई निकै चिन्ता पर्यो ।

“बाआमालाई त कतिले यस्तो आँखा नेदेख्ने छोरोले तिमीहरूलाई के गरी पाल्छ ? अब अर्को बच्चा पनि जन्माओ भनेर उक्साउँथे,” उनले सुनाए, “बाबुआमाको मन हो, अरुले त्यसो भनेको र छोरालाई खिसिट्युरी गरेको देखेर घण्टौँ रोइरहनुहुन्थ्यो ।”

७० प्रतिशत दृष्टि गुमाएरै जन्मिएका उनले जीवनमा अर्को दशा बेहोर्नुपर्ला भनेर सायदै कल्पना गरेका थिए ।
तर, आठ वर्षको उमेरमा ठूलै बज्रपात भयो । स्कुल नजाने भएपछि उनको पूरै दिन खेलेरै बित्थ्यो । लुकामारी खेल्ने क्रममा अचानक दैलोमा ठेस लाग्न पुगेछन् । दुर्भाग्य ! ढोकामा बजारिँदा उनले जुन आँखाले घुर्मैलो संसार चिहाइरहेका थिए, त्यही आँखा पनि सदाका लागि गुमाएछन् । आँखा प्याट्टै फुटेछ उनको !

“आँखामा त ढोकाको छेस्किनी नै अड्किएछ । उपचार गर्न नमिल्ने गरी आँखाको ज्योति सदाका लागि अलप भयो,” उनले घटना सबिस्तार बताए ।

देब्रे आँखाको दृष्टि पनि पूर्ण रूपमा गुमाएपछि उनको जीवनमा अन्धकार छायो । दिउँसै सूर्यास्त भयो । दुःखको अथाह दलदलमा फसे उनी । तर, पनि उनले मन मारेनन् ।

र, दुःखको भवसागरबाट उम्कने प्रयासको खोजीमा अनवरत लागे ।

उनी सुनाउँछन् “दुवै आँखा नदेख्ने भएपछि ममा केही गर्नुपर्छ भन्ने चेतना जागृत हुन थाल्यो । मैले भित्रि मनबाटै अठोट लिएँ अब केही गर्नुपर्छ भनेर । त्यसपछि उनले घरपरिवारलाई पढाइदिनुस् भनेर अड्डी कस्न थाले ।
‘आँखा नदेख्नेले के गरी किताब पढ्छ ? यसलाई पढाएर के हुन्छ ? बेकारका चिन्तामा किन लाग्छौ तिमीहरू ?’ समाजले घरपरिवारलाई सुनाएका यी/यस्ता अनगिन्ति कुतर्कले उनलाई हतोत्साहित नतुल्याएको होइन ।
तर, उनले कसैगरी हिम्मत हारेनन् ।

सुनेका थिए, पोखराको अमरसिंह उच्च माध्यमिक विद्यालयमा दृष्टिविहीनलाई पढ्ने राम्रै व्यवस्था छ । परिवारलाई मनाएर उनी पोखरा हान्निए ।

र, आठ वर्षको उमेरदेखि बल्ल अक्षरारम्भ गरे ।
० ० ०
पोखरा गएपछि उनको मन एकत्रित भयो । पढाइमा दिलोज्यान दिन थाले । दृष्टिविहीनलाई मात्र होइन, दृष्टि भएकाहरूलाई पनि पढाइमा पछार्न पो थाले ।

पढाइमा मात्र होइन, अतिरिक्त क्रियाकलापहरूमा पनि उनलाई कसैले उछिन्न सकेन । उनी सुनाउँछन्, “अध्ययन अवधिमा अमरसिंह उच्च माविमा कुनै त्यस्ता प्रतियोगिता थिएनन्, जहाँ म अब्बल नभएको हुँ, विजेता नभएको हुँ ।”

उनले हरेक प्रतियोगिताहरूमा आँखा देख्नेहरूलाई उछिनिरहे ।

“घरका भित्ताभरि पदक झुन्डिएका छन् । ती पदकहरू मैले आँखा नदेख्नेहरूबीचको स्पर्धामा होइन, सवलांगहरूलाई टपेर हात पारेको हुँ,” उनको गर्विलो हाँसोले कोठा गुञ्जियो ।

०७० सालमा ८१.८ प्रतिशतसहित विशिष्ट श्रेणीमा एसएलसी पास गरे र उच्च शिक्षाको ढोका खोल्न राजधानी हान्निए । त्यहाँ पनि मानिसहरूले नभनेका होइनन्, एसएलसी गरिहालिस्, त्यसभन्दा माथि किन पढ्नुपर्यो र, आखिर तँ आँखा देख्दैनस् !

बाहिरी आँखा पो गुमेको थियो त ! नपढेर भित्रि आँखा पनि गुमाउन चाहँदैनथे उनी । बुझेर पनि बुझ पचाउनेहरूका अघिल्तिर उनी केही भन्दैनथे र चुपचाप लक्ष्यप्रति सदैव दृढनिश्चयी बनिरहन्थे ।

गौतम पोखरेल सिनियर दाजु थिए, अमरसिंह उच्च मावि नै पढेका र दृष्टिविहीन पनि । गौतमले भनेका थिए, गोल्डेनगेटमा छात्रवृत्ति पनि दिन्छ, तिमीले चाहेको ट्राभल एण्ड टुरिजम पनि पढाइ हुन्छ, कसैको कुरा नसुनी यतै आऊ, म सहयोग गरुँला ।

गौतमको यति वचन पाएपछि उनी काठमाडौँ आए । तर, भनेजस्तो कहाँ सजिलो थियो र !

पैदल यात्रुसमेत लडाउला गरी गुड्ने सवारी, मानिसको भीड ठेलमठेल, सवलांगसमेत हिँड्न नसक्ने फुटपाथ, अपांगतामैत्री नभएका संरचनाहरू । यी सबै छिचोल्दै उनी कलेज त पुगे तर, छात्रवृत्तिको लागि छुट्टयाइएको ३० वटा कोटामा पनि दृष्टि भएकासँगै प्रतिस्पर्धा गर्नुपर्ने भयो ।

उनले त्यहाँ पनि सबैलाई टपे र एक नम्बरमा नाम निकाले ।

नाम त निकाले, तर उनले चाहेको विषय पढ्न खोज्दा अरुले अझै प्रतिप्रश्न पो गर्छन्– तिमी आँखा देख्दैनौ, योभन्दा अर्को विषय पढे हुँदैन ? आँखा नदेख्नेले के गरी पर्यटनमा काम गर्छौ ? तिमीलाई कसले जागिर दिन्छ ?
मानवीकी पढे त पढाएर खान्छौ ।

उनलाई ती कुराले असाध्यै घोच्यो ।

के दृष्टि गुमाउनु अभिशाप हो ?

होइन ।

उनी प्रमाणित गर्न अझै कम्मर कसेर लागे ।

उनले ती कुराको वास्ता नै गरेनन् ।

छेवैमा थिए गौतम । “मलाई पनि साइन्स पढ्छु भन्दा कलेजले पत्याएन । पहिलो त्रैमासिक परीक्षामा फेल भए मानवीकीमा झर्नुपर्छ भन्ने सर्तमा साइन्स पढ्न पाएको हुँ । आँखा नदेखेबापत यहाँ त पढाइमा पनि ठगिनुपर्छ दाइ,” उनले पनि आँसु झारुँलाझैँ गरे ।

उनी अहिले रत्नराज्य क्याम्पसबाट मानविकीमा स्नातक गर्दैछन् र अमेरिका जाने तयारीमा छन् ।

कलेजमा अर्को दुःखदायी प्रसंग पनि रहेछ जयरामको । ट्राभल एण्ड टुरिजमको सय पूर्णांकको परीक्षामा उनले ८७ अंक ल्याए ।

सैद्धान्तिक ७५ पूर्णांकमा उनले लेखेरै ६५ ल्याए, तर प्रयोगात्मकचाहिँ कलेजले अरु सबैलाई २५ पूर्णांकमा २५ नै हालेर पठायो, उनलाई २२ मात्रै दियो । परीक्षाफल आउँदा उनले सबैलाई पछि पारे ।

कलेजले पछि ‘रियलाइज’ गरेर भाइ, तिमीलाई हामीले वास्तवमै अन्याय गरेछौँ भन्यो रे पछि । यो कुरा भनिरहँदा उनी भक्कानिएका थिए । अनुहारमा अतिरिक्त अन्धकार छाएको थियो । धरधरी रोए नै ।
० ० ०
एरिक वाइनमेयर उनका आदर्श पुरुष हुन् । २५ अक्टोबर सन् २००१ मा सगरमाथा आरोहण गरेका एरिक पहिलो दृष्टिविहीन सगरमाथा आरोही हुन् । “एरिकले सगरमाथा चढे, मैले जिन्दगीका खुड्किला किन चढ्न सक्दिनँ,” उनी यस्तै सोचेर आत्मविश्वास बटुल्छन् ।

कहिलेकाहीँ कलेजले शिवपुरी हाइकिङ लैजान्थ्यो । सबै साथीहरू हाइकिङका लागि तयार हुन्थे, तर उनले भने मन खुम्च्याउनुपर्ने !

उनले एरिककै उदाहरण दिन्थे, दृष्टिविहीनले सगरमाथा चढिसक्यो, तिमीहरू मलाई शिवपुरी जान पनि रोक्छौ ?
आँखा नदेख्नेबाहेक म तिमीहरू भन्दा के कुरामा कम छु, आँखा नदेखेबापत मैले हिँडडुल गर्न पनि नपाउने ? उनले यसो भनेपछि कलेजका शिक्षकहरू नतमस्तक हुन्थे ।

उनले थपे, “लौ मरोस् भन्दै लैजान्थे ।”

उनले फेरि दुःखका फेहरिस्त सुनाए, “यो त डाँडा चढ्ने कुरा भयो दाइ, दृष्टिविहीनले त गाडी पनि सुविधापूर्वक चढ्न पाउँदैनन् । आँखा नदखे पनि हामी कान मज्जाले सुन्छौं । एक छिनअगाडि रत्नपार्क, सुन्धारा भनिरहेको चालकले हामी देख्नेबित्तिकै अन्त कतै भन्न थाल्छ । सवारीमा अपांगता भएकाहरूलाई सिट आरक्षित गरिएको हुन्छ, तर अर्कै बलियोबांगो ढसमस्स बसिरहेको हुन्छ । यस्ता समस्या त कति छन् कति, कतिमात्रै सुनाउनू !”

सडक पेटीमा दृष्टिविहीनका लागि बाटो बनाइए पनि त्यो कुन खाल्डोमा पुगेर टुंगिएको छ भन्ने पत्तो हुँदैन ।

जथाभावी राखिएका सवारी, पानीका खाल्डाखुल्डीले उनीहरू नपछारिएको र चोटपटक नलागेको दिन नै हुँदैन । लड्न आँटेको देखे भने मानिसहरू हाँस्न थाल्छन् । अहँ ! उनीहरूलाई सहयोगको हात बढाउँदैनन् ।

उनले थपे, “यी त सामान्य घटना हुन्, हामीलाई बौद्धिक भन्नेहरूले नै होच्याउँछन् । तिमीहरूले मोबाइल कसरी चलाउँछौ ? तिमीहरूमा माया प्रेमको भावना हुन्छ कि हुँदैन ? भात कसरी खान्छौ ? शारीरिक समागमको चाहना हुन्छ कि हुँदैन ? भन्नेजस्ता वाहियात प्रश्न सोधेर हामीलाई वाक्कदिक्कै बनाउँछन् !”

जयराम भन्छन्, “वैचारिक अपांगता त हुँदैन, यदि हुन्थ्यो भने यो देशका ९५ प्रतिशत बुज्रुकहरू वैचारिक अपांगमा गनिन्थे ।”
० ० ०
अपांगताप्रति बैंकहरूको दृष्टिकोण पनि उस्तै छ । अपांगहरुको पहुँच नै छैन बैंक/वित्तीय संस्थामा । अपांगता भएका व्यक्तिहरूको खाता नै खोल्न मान्दा रहेनछन् बैंक तथा वित्तीय संघ/संस्थाहरू ।

“अस्ति त एसबीआई बैंकसँग झगडै पर्‍यो । नबिल, इन्भेष्टमेन्ट आदि बैंकले दृष्टिविहीनलाई एटिएम कार्ड नै दिँदा रहेनछन्,” उनले थपे, “‘तिमीहरूको पैसा हरायो भने कसले जिम्मा लिन्छ ?’ भनेर उल्टै हप्काउँदा रहेछन् ! पैसा हरायो भने दृष्टि भएकाहरूको चाहिँ बैंकले जिम्मा लिन्छ त ?”

आदेश बस्याल र गौतम पोखरेल सुनाउँदै थिए, “बैंकले हाम्रो नाममा एटिएम दिन नमानेपछि हामीले भाइको नामको एटिएम बोकर हिँडेको छौं ।”

एटिएम मेसिन र बैंकको संरचना अपांगतामैत्री बनाउन नसकेपछि बैंकले कार्ययोजना नै बनाएर दृष्टिविहीनहरूलाई सुविधाबाट वञ्चित गराएको उनीहरूको गुनासो छ ।

“हामी पढेका दृष्टिविहीनहरूको त यस्तो हविगत छ भने नपढेका दूरदराजका दृष्टिविहीनहरूको हविगत के होला ?” उनीहरूले गम्भीर प्रश्न गरे ।
० ० ०
कलेजमा ट्राभल टुरिजममा अब्बल ठहरिएपछि उनको मथिंगलमा पढाइको हुटहुटी अझै जाग्यो– सामान्य प्रयासमै त मैले सबैलाई पछि पारेको छु भने अलिकति अवसरमा जोड दिएँ भने त माथि पुग्थें कि ?

त्यसो त नेपालमा पाठ्यसामग्री, पाठ्यपुस्तको अभाव हुनेदेखि दैनन्दिन भोग्नुपर्ने कठिनाइले उनी हैरान थिए । पढ्न खोज्दा पनि अवरोध बन्न आएका तगारो कतिमात्रै पन्छाउनु ।

मानविकीबाहेक पढ्न अडियो पुस्तक नपाइने । उता आफूमा ट्राभल टुरिजम पढेर केही गर्ने चाहना झनै झाँगिन थाल्यो । बाहिर गएर देश र अन्य दृष्टिविहीनहरूका लागि केही गर्ने सोच र चाहना तीव्र हुन थालेपछि उनले अमेरिकाको ‘कोलोराडो सेन्टर फर द ब्लाइन्ड’ मा सन् २०१५ मा आवेदन दिए ।

त्यहाँ पनि उनले विश्वभरका दृष्टिविहीनलाई पछि पार्दै नाम निकाले र ३१ हजार २०० अमेरिकी डलरको छात्रवृत्ति पाए । कोलोराडो सेन्टर फर द ब्लाइन्डले बर्सेनि एक जना दृष्टिविहीन विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँछ । उनले सन् २०१७ का लागि त्यो सुविधा हात पारेका हुन् । उनी  पाँच मार्च २०१७ मा इन्स्टिच्युट पुगिसक्नु पर्नेछ ।

 छात्रवृत्तिअनुसार उनले त्यस संस्थामा आठ महिना इन्डिपेन्डेन्ट ट्रेनिङ लिनेछन् र त्यसपछि संस्थाले अध्ययनका लागि विश्वविद्यालयमा ‘रेफर’ गर्नेछ ।

तर, बाधक बन्यो ‘पर्सनल फण्ड’ दुई हजार चार अमेरिकी डलर र त्यति नै बराबरको अमेरिका जान चाहिने लागत ।

त्यसका लागि अहिले उनी कोलोराडो सेन्टर फर द ब्लाइन्डले पठाएको आइ–ट्वान्टी र अन्य  कागजात बोकर सरकारी तथा गैरसरकारी संघ–संस्थाको ढोका ढकढक्याउँदै हिँडिरहेका छन् ।

उनले घरपरिवारमा पनि नभनेका होइनन् । तर, घरमा त पैसा भए पो अमेरिका जाने सपना साकार हुनु ! निमुखा बाबुआमाले के भनून् !

त्यसैबीचमा जयरामले अर्को दुःखदायी प्रसंग उप्काए, “बा ज्याला मजदुरी गर्नुहुन्थ्यो, चितवनकै ओम अस्पतालमा काम गर्दै हुनुहुन्थ्यो । जेनेरेटर स्टार्ट गर्ने क्रममा हात अड्किएर उहाँको दायाँ हातका सबै औँला काटिए । काम गर्न नसक्ने हुनुभयो उहाँ । आमा पनि नाङ्लो पसल थापेर बस्नुहुन्छ । आमाको नाङ्लो व्यापारले म कसरी अमेरिका पुग्नू ?”

“उमेर छँदा आमा दिनको दुई ढलान भ्याउनुहुन्थ्यो । दिनभर सिमेन्ट बोक्नुहुन्थ्यो । दम निस्कियो, अब सक्नुहुन्न । एक जना दिदी थिइन्, उनको पनि विवाह भयो । परिवारको आशा र भरोशा भन्नु ममात्रै हो,” उनले दुःख कहँदै गए ।

“अमेरिका पुगेर फर्किएँ भने बाबुआमाको अनुहारमा खुसी त ल्याउथेँ नै, आम दृष्टिविहीनहरूमा हामीले पनि केही गर्न सक्दा रहेछौं भन्ने भावना जगाउँथे,” उनको अनुहारमा अनायास जुनेली कान्ति छायो ।
० ० ०
निराश भएर भौंतारिरहेका बेला बुबाले सुनाए– अहिले प्रचण्ड प्रधानमन्त्री बनेका छन् । म पनि माओवादी केन्द्रकै कार्यकर्ता हुँ, जान न, गएर दुःखेसो पोख, केही सहयोग गरिहाल्छन् कि । अस्ति कहिले हो, आदित्य दाहाललाई त एक करोड दिए रे !

बाको कुरा सुनेलगत्तै प्रधानमन्त्री कार्यालयमा जाने बाटो खोजे ।

कसैले सुनाइदियो– पार्टी कार्यालयमा गएर मुख्य सचिवलाई भेट । त्यसका लागि बाबुले चितवन पार्टी कार्यालयबाट सिफारिससमेत बनाएर ल्याइदिए ।

उनी सबै कागजात बोकेर पेरिस डाँडा गए र बिन्ति बिसाए ।

उनको कुरा सुनेपछि सिफारिसपत्र लेख्दै पार्टी कार्यालयका सचिवले भने– तपाईं प्रधानमन्त्री कार्यालयमा गएर रमेश मल्ललाई भेट्नुहोस्, उहाँ विद्यार्थी नेता हो, आफ्ना कुरा मज्जाले राख्नुहोस्, उहाँले तपाईंका समस्या बुझ्न सक्नुहुन्छ ।

रमेश मल्ल उनले नाम सुनेका व्यक्ति थिए । उनको भाषणबाट जयराम निकै प्रभावित रहेछन् । उनले सुनाए, “न्याय र समानताका कुरा गर्थे, विद्यार्थीका पीरमर्का बुझ्नुपर्छ भन्थे, उनका कुराबाट म अत्यन्त प्रभावित थिएँ ।”
रमेश मल्ललाई भेटेपछि काम बन्छ भन्नेमा उनी ढुक्क भए । विभिन्न बाधाव्यवधान छिचोल्दै प्रधानमन्त्री कार्यालयमा पुगे र उनले सोधे– रमेश मल्ल हुनुहुन्छ ?

प्रधानमन्त्री कार्यालयमा रहेका एक व्यक्तिले रुखो स्वरमा भने– को रमेश मल्ल ? छैन यहाँ पर जाऊ । लडाउँलाझैँ गरी पर हुत्याइदिए तिनले ।

पहिलो भेटमै निराश पो बनाए !

एकछिनमा रमेश सर नमस्ते भन्दै मानिसहरू ओहोरदोहोर गरेको सुनियो ।
रमेश त त्यहीँ पो रहेछन् !

अनुनय विनय गरेपछि त्यहाँका अधिकारीहरूले प्रधानमन्त्रीको स्वकीय सचिव मल्ल होइन, जनसम्पर्क सल्लाहकार रामदीप आचार्यसँग भेट गराइदिए ।

त्यो भन्दा अगाडि नै उनीहरूको कागजपत्र प्रधानमन्त्री कार्यालयबाटै गायब भयो ।
‘हाम्रो कागजपत्र खै ?’ भन्दा प्रधानमन्त्री कार्यालयका अधिकारीहरूले जवाफ फर्काए– तिमीहरूको कागजात त क्याबिनेटमा पुग्यो ।

उनीहरू ढुक्क भए– मेरो माग मन्त्रिपरिषद्मै सुनुवाइको लागि पुगेको रहेछ, अब त पैसा पाइने भयो !
केको हुनु ? कागजपत्र गायब बनाएर रित्तो हात पठाइदिए ।

आचार्यले पनि ‘म केही गर्न सक्दिनँ’ भने ।

“म सहयोगको लागिमात्रै गएको थिइनँ, एक मिनेटमात्र मेरो गुनासो सुनिदिएको भए तिनीहरूको के जान्थ्यो, हाम्रै मतले तिनीहरू प्रधानमन्त्री भएका होइनन्, ती रमेश के–को विद्यार्थी नेता ? आफू त्यहीँ भएर पनि छैन भन्न लगाउने ! कस्तो संस्कार सिकेछन्, धत् ! यस्ता पनि नेता !” उनले आक्रोश पोखे ।

उनले अगाडि भने, “पैसा पाउने आशमा प्रधानमन्त्री कार्यालय पुगेको म रुँदै–रुँदै फर्किनुपर्‍यो ।”

सिंहदरबारबाटै बाबुलाई फोन गरे– मलाई त सरकारले रित्तो हात फर्काइदियो ।

जवाफमा बाबुले भने,  “छाड्दे बाबु, माओवादी फेरिएछन् र त, ती चाउरिँदैछन्, हाम्रो मत पाएर प्रधानमन्त्री बनिहाले, अब किन हेर्नुपर्‍यो हामीलाई ?”

सरकारमा बस्नेहरूको कार्यशैली देखेर उनको पनि मन अमिलो भयो ।

वास्तवमा त्यो दिन म धेरै रोएँ– उनले सुनाए ।
० ० ०
उनले सहयोगका लागि एनआरएन पनि नगुहारेका होइनन् । उनकी साथी अनुजा गौतममार्फत डेनमार्कको एनआरएनको कार्यक्रमका लागि उनले पावर प्वाइन्ट प्रोजेक्ट नै बनाएर पठाएका रहेछन् ।

१० हजार बढी रुपैयाँ खर्च गरेर उनले रिपोर्ट बनाएर डेनमार्क पठाए । रिपोर्ट देखाएपछि एनआरएनले ३० लाखको प्रतिबद्धता पनि जनाएको थियो ।

पाँच लाख भए पुग्ने ३० लाख नै पाउने भएँ कि क्या हो भनेर उनको मन ढक्क नफुलेको पनि होइन, तर उनी त्यहाँ पनि खिस्रिक्क पर्नुपर्‍यो।

एनआरएनएका उपेन्द्र महतो, जीवा लामिछाने लगायतका व्यक्तिहरूले ‘बिजनेस प्लान ल्याऊ’ भनेपछि उनी चाउरिए ।

पाँच लाखले अमेरिका जान रोकिएको मान्छे कताको एनआरएनलाई व्यावसायिक परियोजना बुझाउँदै बस्नू ? सम्भव हुने कुरै थिएन त्यो ।

त्यस्तै उनी चितवनकै मैयाँदेवी ट्रष्ट पुगे । मोफसलको ठू्लै संस्था हो त्यो । त्यहाँ पुगेर आफ्नो गुनासो राखे । तर, हात लाग्यो शून्य !

विद्यार्थीसँग सुका मोहोर गरी १३ सय र ट्रष्टबाट पाँच सय गरी १८ सय रुपैयाँमात्रै दियो । सहयोगको ठूलो आश लिएर गएको त्यति पैसा पाएपछि लिनु कि नलिनु पो भयो !
० ० ०
रोटरी क्लब र रोट्रयाक्ट क्लबहरू नधाएका होइनन्, तर त्यहाँबाट खासै उपलब्धि हात नलागेपछि उनी कान्तिपुर टेलिभिजन पुगेर समाचार प्रमुख दिलभुषण पाठकलाई भेटेछन् ।

केही दिनअगाडि सृष्टि केसीसँग अन्तर्वार्ता लिएर दृष्टिविहीनको गुनासो र समस्या उत्खनन् गरेको सुनेका उनीहरूले पाठक नै भरपर्दो व्यक्ति ठम्याएका रहेछन् । उनले ‘म पनि सहयोग गरुँला, बाह्रखरी गएर लेनिन बञ्जाडेलाई भेट’ भनेपछि उनीहरू बाह्रखरी आइपुगेका रहेछन् ।

बाह्रखरीसँगको कुराकानी बिट मार्दै भने, “सहयोग पाए पाऔंला, नपाए नपाऔंला तर राज्य र समाजले दृष्टिविहीनप्रति गर्ने व्यवहार, बौद्धिक जगत्को अपांगता भएका व्यक्तिहरूलाई हेर्ने दृष्टिकोण र हाम्रा अतिशय पीडाहरू हुबहु लेखिदिनुहोस् है दाइ !
सहयोगको लागि
खातावालाको नामः जयराम लामिछाने 
खाता नम्बर : २४१००१७५१०३६३
नबिल बैंक चितवन भरतपुर शाखा

About Unknown

Lorem ipsum dolor sit amet, consectetur adipiscing elit. Maecenas euismod diam at commodo sagittis. Nam id molestie velit. Nunc id nisl tristique, dapibus tellus quis, dictum metus. Pellentesque id imperdiet est.

No comments:

Post a Comment